Go to full page →

४. पाप स्‍वीकार SB 38

“आफ्‍ना पापहरू लुकाउनेको उन्‍नति हुँदैन, तर जसले ती स्‍वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ ।” हितोपदेश २८:१३ । SB 38.1

परमेश्‍‍वरको कृपा प्राप्‍त गर्ने शर्तहरू साधारण, निष्पक्ष र विवेकशील छन् । हामीले पापदेखि क्षमा प्राप्‍त गर्नका निम्ति कुनै पीडावहा काम गर्नुपर्नेछ भनी परमप्रभु माग राख्‍नुहुन्‍न । स्‍वर्गमा रहनुहुने परमेश्‍‍वरमा हाम्रो आत्मालाई सुम्पिनका निम्ति वा हाम्रो पाप प्रायश्‍चित्त गर्नका निम्ति हामीले लामो थकानयुक्त तीर्थयात्राहरूमा जानु वा कष्‍टदायक तपस्याहरू गर्नु आवश्‍‍यक छैन; तर जसले आफ्‍ना पापहरू स्‍वीकार गर्छ र तिनलाई त्याग्‍ने गर्दछ, त्यसले कृपा पाउँछ । SB 38.2

प्रेरित भन्दछन्, “यसकारण तिमीहरू एकले अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर । तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर ।” याकूब ५:१६ । परमेश्‍‍वरमा आफ्‍ना पापहरू स्‍वीकार गर्नुहोस्, केवल उहाँले मात्र पाप क्षमा गर्न सक्‍नुहुन्छ, र एक अर्काका सामु आफ्‍ना भुलचुकहरू स्‍वीकार गर्नुहोस् । यदि तपाईंले आफ्‍नो मित्र वा छिमेकीप्रति केही हानि पुऱ्याउनुभएको छ भने, तपाईंले आफ्‍नो भुल स्‍वीकार गर्नुपर्नेछ, र तपाईंलाई सित्तैमा क्षमा गर्नुचाहिँ तपाईंको मित्र वा छिमेकीहरूका कर्तव्य हुन आउँछ । त्यसपछि तपाईंले परमेश्‍‍वरमा क्षमा माग्‍नुपर्नेछ, किनकि जुन भाइमाथि तपाईंले आघात पुऱ्याउनुभएको थियो ऊ परमेश्‍‍वरको सम्पत्ति हो, र उसलाई चोट पुऱ्याउने क्रमद्वारा तपाईंले उसको सृष्‍टिकर्ता र उद्धारकर्ताको विरुद्धमा पाप गर्नुभएको छ । यो मुद्दा हाम्रा साँचो मध्यस्थ, हाम्रा महान् प्रधान पूजाहारी येशू ख्रीष्‍टकहाँ लगिन्छ, जो “हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो,” र जो “हाम्रा दुर्बलताका भावनाहरूद्वारा प्रभावित बन्‍नुहुन्छ,” र पापको हरेक दागलाई शुद्ध पार्न सक्षम हुनुहुन्छ । हिब्रू ४:१५ । SB 38.3

आफ्‍नो दोष स्‍वीकार गर्ने क्रममा ज-जसले आफ्‍नो आत्मालाई परमेश्‍‍वरको सामु नम्र तुल्याएका छैनन्, तिनीहरूले वास्तवमा स्‍वीकृतिको पहिलो शर्तलाई अझै पनि पूरा गरेका छैनन् । यदि हामीले त्यस पश्‍चात्तापको बारेमा महसूस गरेका छैनौं, र आत्माको नम्रता र चूर्णताका साथ आफ्‍ना दुष्‍टतालाई घृणा गर्दै पाप स्‍वीकार गरेका छैनौं भने हामीले कदापि पनि पाप क्षमाको खोजी गरेका छैनौं; र यदि हामीले कदापि खोजी नै गरेका छैनौं भने हामीले कदापि परमेश्‍‍वरबाट शान्ति प्राप्‍त गरेका छैनौं । हृदयलाई सत्य वचनका शर्तहरूसित मञ्‍जुर हुनेगरी नम्र तुल्याउन राजी नभएकै कारण हामीले अतितका पापहरूबाट क्षमा प्राप्‍त गर्न सक्दैनौं । यस विषयमा स्पष्‍ट निर्देशनहरू दिइएका छन् । सार्वजनिक वा व्यक्तिगत तवरले गरिएको पाप स्‍वीकारलाई हृदयदेखि नै महसूस गरिएको तथा मुक्तकण्ठले व्यक्त गरिएको हुनुपर्छ । यो काम पापी व्यक्तिबाट जिद्दीका साथ माग गरिनुहुन्‍न । यो काम ठट्‌यौली तथा लापरवाही ढंगले गरिनुहुन्‍न, र जुन मानिसहरूमा पापको घृणित स्‍वभावको बारेमा बुझ्‍न सक्‍ने चेतना नै छैन ती मानिसहरूमाथि यस कामको निम्ति जर्बजस्ती गरिनुहुन्‍न । पाप स्‍वीकार भित्री आत्माको प्रस्फुटन हो, यसले असीमित करुणामय परमेश्‍‍वर सम्मको मार्ग फेला पार्दछ । भजनसंग्रहका लेखक भन्दछन्, “चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।” भजनसंग्रह ३४:१८ । SB 39.1

साँचो पाप स्‍वीकार सदा निश्‍चित तवरको हुन्छ, र विशेष पापहरूलाई स्‍वीकार गर्दछ । ती यस्ता स्‍वभावका हुन सक्छन् जुन केवल परमेश्‍‍वरको सामु मात्र लगिनुपर्नेछ; ती यस्ता दोषहरू हुन सक्छन् जुन चोट सहिरहेका मानिसहरूकै सामु स्‍वीकार गरिनुपर्छ; वा ती सार्वजनिक स्‍वभावका हुन सक्छन् जसलाई सार्वजनिक रूपमै स्‍वीकार गरिनुपर्छ । तर सबै पाप स्‍वीकार निश्‍चित र संक्षिप्‍त हुनुपर्छ, र पापहरूका निम्ति तपाईं दोषी हुनुहुन्छ ती सबैलाई स्‍वीकार गरिनुपर्छ । SB 40.1

शमूएलको समयमा इस्राएलीहरू परमेश्‍‍वरदेखि भौतारिन पुगेका थिए । तिनीहरू पापका परिणामहरू भोग्दै थिए किनकि तिनीहरूले परमेश्‍‍वरमाथिको विश्‍‍वास गुमाएका थिए, राज्य शासन गर्ने उहाँको शक्ति र ज्ञान सम्बन्धी आफ्‍ना विवेक गुमाएका थिए, साथै उहाँको उद्देश्‍‍यलाई रक्षा तथा सिद्ध गर्ने उहाँको सामर्थ्यमाथि आत्म-विश्‍‍वास पनि गुमाएका थिए । तिनीहरू जगतका महान् शासकदेखि तर्किए र आफू वरिपरिका राज्यहरू झैँ राजाद्वारा शासन गरिने इच्छा राखे । तिनीहरूले शान्ति प्राप्‍त गर्नु अघि यो निश्‍चित पाप स्‍वीकार गरे; “हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं ।” १ शमूएल १२:१९ । जुन पापकै निम्ति तिनीहरूलाई दोषी ठहराइएको थियो त्यसैलाई स्‍वीकार गर्नु आवश्‍‍यक थियो । तिनीहरूका अकृतज्ञताले स्‍वयं तिनीहरूकै आत्मालाई पिरोल्यो र तिनीहरूलाई परमेश्‍‍वरदेखि अलग पाऱ्यो । SB 40.2

साँचो पश्‍चात्ताप र सुधारविना पाप स्‍वीकार परमेश्‍‍वरको सामु स्‍वीकारयोग्य हुनेछैन । जीवनमा त्यहाँ केही निश्‍चित परिवर्तनहरू आउनुपर्छ; जे-जति सबै कुराहरू परमेश्‍‍वरको निम्ति घृणित छन् तिनलाई हटाइनुपर्छ । यही नै पापप्रति गरिने वास्तविक शोकको परिणाम हुनेछ । हामीले आफ्‍नो तर्फबाट गर्नुपर्ने कार्यको बारेमा प्रस्टसाथ यसरी प्रस्तुत गरिएको छ; “आफूलाई धोएर चोखो पार । मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ ! खराबी गर्न छोड । भलाइ गर्न सिक ! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधुवाको पक्षमा बोलिदेओ ।” यशैया १:१६, १७ । “यदि त्यसले कर्जामा राखेको धितो फर्काइदियो, आफूले चोरेर लगेको माल फर्काइदियो, र जीवन दिने विधिहरू मान्यो र दुष्‍ट्याइँ गरेन भने, त्यो निश्‍चय नै बाँच्‍नेछ, त्यो मर्नेछैन ।” इजकिएल ३३:१५ । जीवनमा पश्‍चात्तापको कार्यको बारेमा पावलले यसरी बताएका छन्, “यस ईश्‍‍वरीय शाोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्‍न गराएको छ—आफैलाई निर्दाेष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्‍ने कस्तो इच्छा ! सबै कुरामा तिमीहरूले आफैलाई निर्दाेष भएको साबित गरेका छौ ।” २ कोरिन्थी ७:११ । SB 41.1

जब पापले नैतिक अनुभूतिलाई अचेत तुल्याइदिन्छ तब गलत कार्यमा संलग्‍न व्यक्तिले आफ्‍नो चरित्रको त्रुटिहरूका बारेमा बुझ्‍न सक्दैन न त आफूले गरेको दुष्‍टताको भयानक रूपको बारेमा चाल पाउन नै सक्दछ; र उसले स्‍वयं आफैंलाई पवित्र आत्माको दोषसिद्ध शक्तिको वशमा नसुम्पेसम्म ऊ आफ्‍नो पापप्रति आंशिक अन्धकारमै रहनेछ । उसले गरेका पश्‍चात्तापहरू साँचो तथा गम्भीर हुँदैनन् । आफ्‍नो पापप्रति जनाउने हरेक स्‍वीकृतिप्रति आफ्‍नो सिलसिलाको बहाना स्‍वरूप उसले एक क्षमायाचना थप्‍ने गर्दछ र यो घोषणा गर्दछ कि यदि कुनै त्यस्ता निश्‍चित परिस्थितिहरू उत्पन्‍न नभएका भए ऊ ती कार्यहरूमा संलग्‍न हुनेथिएन जसको निम्ति उसलाई हप्काइएको छ । SB 42.1

निषेधित फल खाए पश्‍चात् आदम र हव्‍वा लाज र त्रासको भावनाद्वारा ग्रसित बन्‍न पुगेका थिए । शुरुमा तिनीहरूका एउटै विचार आफ्‍नो पापको बहाना कसरी बनाउने र भयानक मृत्युदण्डबाट कसरी बच्‍ने भन्‍ने बिषयमा केन्द्रित रहेको थियो । जब परमप्रभुले तिनीहरूका पापको विषयमा सोध्‍नुभयो तब आदमले केही दोष परमेश्‍‍वरमाथि र केही स्‍‍त्रीमाथि लगाउँदै यसरी जवाफ दिए: “जुन स्‍‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ ।” स्‍‍त्रीले चाहिँ दोष सर्पमाथि लगाउँदै यसो भनिन्, “सर्पले मलाई छल गऱ्यो, र मैले त्यो खाएँ ।” उत्पत्ति ३:१२, १३ । किन तपाईंले सर्प बनाउनुभयो ? किन तपाईंले त्यसलाई अदनको बगैंचामा आउने अनुमति दिनुभयो ? आफ्‍नो पापको निम्ति बनाइएका बहानाहरूमार्फत यिनै प्रश्‍नहरू सूचित भए र यसरी तिनीहरूका पतनको जिम्मेवारी परमेश्‍‍वरमै आरोपको रूपमा लगाईंदैथियो । आत्म-सफाइको भावना झूटको पिताबाट [शैतानबाट] उत्पन्‍न भएको थियो र यो भावना आदमका सारा सन्तानहरूमार्फत प्रकट हुँदै आइरहेको छ । यस प्रकारका पाप स्‍वीकारहरू ईश्‍‍वरीय आत्माद्वारा प्रेरित भएका होइनन् र परमेश्‍‍वरको सामु स्‍वीकारयोग्य हुनेछैनन् । साँचो पश्‍चात्तापले मानिसलाई आफ्‍नो दोषको बोझ स्‍वयं आफैं उठाउन तथा छल वा पाखण्डीपनविना नै यसलाई स्‍वीकार्नेतर्फ डोऱ्याउनेछ । यस्तो व्यक्ति महसूल उठाउने मानिसझैँ स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्दै कराउनेछ, “हे परमेश्‍‍वर, म पापीमाथि दया गर्नुहोस्” र ज-जसले आफ्‍नो पाप स्‍वीकार गर्नेछन् तिनीहरू धर्मी ठहराइनेछन्, किनकि येशूले पश्‍चात्तापी आत्माको पक्षमा आफ्‍नो रगतको बिन्ती चढाउनुहुनेछ । SB 42.2

परमेश्‍‍वरको वचनमा उल्‍लेखित साँचो पश्‍चात्ताप र नम्रताका उदाहरणहरूले एक यस्तो पाप स्‍वीकारको भावना प्रकट गर्दछ जसमा पापको निम्ति कुनै बहाना वा आत्म-सफाइको निम्ति कुनै प्रयास हुँदैन । पावलले स्‍वयं आफैंलाई ढाकछोप गर्ने प्रयत्‍न गरेनन्; त्यसको सट्टा आफ्‍नो दोषलाई घटाउने प्रयत्‍न नगर्दै उनले आफ्‍नो पापलाई यसको सबैभन्दा कालो रङ्गद्वारा पोते । उनी भन्दछन्, “र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ । अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्‍‍वास त्याग गराउने चेष्‍टा गर्थें । तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ ।” प्रेरित २६:१०, ११ । “पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्‍ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ” भनी घोषणा गर्न उनी हिचकिचाउँदैनन् । १ तिमोथी १:१५ । SB 43.1

साँचो पश्‍चात्तापद्वारा वशमा पारिएको नम्र र चूर्ण हृदयले परमेश्‍‍वरको प्रेम तथा कलवरीको मूल्यको बारेमा केही बुझ्‍न सक्‍नेछ; र जसरी एक पुत्रले आफ्‍नो प्रेमिलो पिताको सामु पाप स्‍वीकार गर्दछ, त्यसरी नै एक साँचो पश्‍चात्तापी व्यक्तिले आफ्‍ना सबै पापहरू परमेश्‍‍वरकहाँ ल्याउनेछ । र यसरी लेखिएको छ, “यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गऱ्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्‍‍वासयोग्य र धर्मी हुनुहुन्छ ।” १ यूहन्‍ना १:९ । SB 44.1