ख्रीष्टको स्वर्गारोहणपछि उहाँका चेलाहरूले बड़ो सामर्थ्यसाथ उहाँ मुक्तिदाता हुनुहुन्छ, जो हाम्रै निम्ति क्रूसमा बलि भई मर्नुभयो अनि फेरि बौरी उठ्नुभयो भनी प्रचार गरे । उनीहरूले रोगीहरूलाई निको पारे । एकजना ता आमाको गर्भदेखिकै लङ्गड़ो मानिस सम्पूर्ण रूपले निको भएर सबै मानिसहरूका सामुन्ने हिँड्दै, उफ्रँदै र परमेश्वरको प्रशंसा गर्दै उनीहरूसँगै मन्दिरभित्र पस्यो । त्यो कुरा चारैतिर फिँजियो, र मानिसहरू ती चेलाहरूका वरिपरि खचाखच भीड़ लाग्नथाले । त्यो लङ्गड़ो मानिस निको भएको कुरामा धेरै मानिसहरू ताजूप मानेर उसलाई हेर्न दौड़े । 1BP 80.1
येशू मर्नुभएपछि मुख्य पूजाहारीहरूले अब कुनै आश्चर्यकर्म हुनेछैन अनि अब सबै ठण्डा हुनेछन्, र मानिसहरूले बनाएको रीति-विधितिरै तिनीहरू फर्कनेछन् भन्ने सोचे । तर के प्रभुको काम रोकिन्छ र ? तिनीहरूकै बीचमा ती चेलाहरूले आश्चर्यकर्महरू गरे, र मानिसहरू ताजूप मान्दै उनीहरूलाई हेरेका-हेरेकै भए । ‘येशूलाई क्रूसमा झुन्ड्याई मारिसकेर पनि चेलाहरूले कहाँबाट यो शक्ति पाएका हुन्’ भनी तिनीहरूले आश्चर्य प्रकट गर्नथाले । उहाँ संसारमा हुनुहुँदा ता उहाँका चेलाहरूले पनि उहाँबाट शक्ति पाएर आश्चर्यकर्म गर्लान्, बरु गुरुलाई नै मारिसकेपछि आश्चर्यकर्मै बन्द हुनसक्ला भन्ने तिनीहरूको सोचाइ थियो । मानिसहरू जिल्लै परिरहेका देखेर पत्रुसले भने, “हे इस्राएलीहरू हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ ? अब्राहाम, इसहाक र याकूबका परमेश्वर, अर्थात् हाम्रा पुर्खाका परमेश्वरले आफ्ना पुत्र येशूको महिमा गराउनुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोड़िदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो । अनि पवित्र र धर्मी जनलाई अस्वीकार गरीकन एउटा ज्यानमारालाई छोड़िदिने माग गर्नुभयो । र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मरेका(हरू)बाट बिउँताउनुभयो, जसका विषयमा हामी साक्षी (गवाही) छौं ।” पत्रुसले फेरि भने, “येशूमाथि विश्वास राख्नाले नै यो मानिस, जो पहिला लङ्गड़ो थियो, पूर्ण तौरले निको हुनसकेको हो ।” तर मुख्य पूजाहारीहरू र अरु बूढ़ा प्रधानहरूले यी कुरा सहनसकेनन् र उनीहरूमाथि हात हालेर उनीहरूलाई थुनामा राखे । त्यति गरेर पनि हजारौं मानिसहरूले ती चेलाहरूबाट एकै वचन सुनेर उहाँमाथि विश्वास गरे । यो देखेर मुख्य पूजाहारीहरू सब झन् घबराउनथाले । कतै मानिसहरूलाई आफूहरूपट्टि फर्काई ल्याउनसकिन्छ कि भनेर तिनीहरूले येशूलाई मारे, तर समस्या झन् जटिल हुनगयो । उनीहरूले तिनीहरूलाई येशूलाई मारेको कुरामा खुलेआम दोष देखाइदिँदा त्यो कुरा बढ़ेर एक कान, दुई कान, मैदान पो हुने हो कि भनेर तिनीहरू त्राहि-त्राहि हुनथाले । अनि मानिसहरूले पनि हामीलाई के सोच्दा हुन् भनेर सोच्नथाले । तसर्थ तिनीहरूले येशूका चेलाहरूलाई पनि मार्ने विचार गरे, तर त्यसो गर्दा पनि मानिसहरूले तिनीहरूमाथि नै आइलागेर ढुङ्गाले प्रहार गर्लान् कि भन्ने डरले साहस गरेनन् । तब तिनीहरूले महासभा अगाड़ि ल्याइएका चेलाहरूलाई बोलाइपठाए । त्यहाँनेर ती मानिसहरू पनि थिए, जसले ती धर्मी जन अर्थात् येशूलाई ‘मारिदेऊ’ भनेर आवाज उठाएका थिए । तिनीहरूले पत्रुसलाई ‘तिमी पनि येशूका एकजना चेला हौ’ भन्दाहुँदि तिनले डरले शपथ खाँदै र धिक्कार्दै ‘म ता होइनँ’ भनी येशूलाई इन्कार गर्दै गरेको पनि तिनीहरूले सुनेका थिए । तसर्थ तिनीहरूले पत्रुसलाई फेरि डर देखाउन खोजे, तर पत्रुस भने बद्लिसकेका थिए । एकपल्ट तिनले उहाँलाई तिनीहरूको डरले इन्कार गरे तापनि पछिबाट तिनलेनै उहाँको नाउँलाई उच्च र महिमित तुल्याए । त्यस्ता कायरता यानि डर भन्ने ता पत्रुसको हृदयदेखिन् दूर भइसकेको थियो, र तिनले पवित्र आत्माको सामर्थ्य र साहससाथ निडर भएर तिनीहरूलाई भने, “जुन नासरतका येशूलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, जसलाई परमेश्वरले मुर्दाबाट बिउँताउनुभयो, उहाँकै नाउँद्वारा यो मानिस यहाँ तपाईंहरूका सामुन्ने निको भएर उभिएको छ ।” पत्रुसले फेरि भन्दै गए, “यो त्यही ढुङ्गो हो जसलाई तपाईं, निर्माताहरूले रद्द गर्नुभएको थियो, जो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ । नता अरु कसैमा मुक्ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्छौ ।” 1BP 80.2
पत्रुस र यूहन्नाको त्यस्तो साहस देखेर मानिसहरू चकित भए । उनीहरू येशूका साथमा बसउठ गरेका हुनाले नै त्यस्ता भएका होलान् भन्ने मानिसहरूले सम्झे, किनकि उनीहरूको नम्रता र निर्भयता येशूकै जस्तो देखिए, जसले आफूलाई खेदो गर्ने शत्रुहरूसित त्यस किसिमको निर्भयता देखाउनुभएको थियो । जब पत्रुसले येशूलाई इन्कार गरिसके, तब उहाँले पत्रुसलाई एकचोटि कृपापूर्ण तर उदास नजरले हेर्नुभयो, अनि त्यही हेराइले पत्रुसलाई कायल बनायो । पछि तिनले बड़ो साहसपूर्वक ती मानिसहरूकै सामु आफ्ना प्रभुलाई स्वीकार गरे । तब प्रभुले पनि तिनलाई सहृदय ग्रहण गर्नुभयो र आशिष् पनि दिनुभयो । अनि प्रभुले पत्रुसलाई स्वीकार्नुभएको प्रमाणस्वरूप पत्रुस पवित्र आत्माले भरिए । 1BP 82.1
मुख्य पूजाहारीहरूले ख्रीष्टका चेलाहरूलाई जति नै द्वेष र घृणा गरे तापनि बाहिर चाहिँ प्रकट गर्नसकेनन् । तिनीहरूले ख्रीष्टका ती चेलाहरूलाई महासभादेखि बाहिर निस्कन लगाए, र तिनीहरूले आपसमा यसो भन्दै सल्लाह गर्नथाले, “यिनीहरूलाई चाहिँ के गर्नुपर्ने हो ? किनकि यिनीहरूले गरेको यो आश्चर्यकर्मबारे ता सबै यरूशलेमवासीहरूले पनि थाहा पाइसके, र हामी ‘होइन’ भन्नसक्तैनौं ।” कारण त्यो कुरा फिँजियो भने तिनीहरूको महत्व हराउने र तिनीहरूलाई येशूको हत्याको आरोप लाग्ने डर थियो । केही सीप नलाग्दा तिनीहरूले येशूका चेलाहरूलाई ‘आइन्दा येशूको नाममा कुरै नगर, नत्रभने मरौला’ भन्दै धम्की दिए । तर पनि पत्रुसले नडराईकन भने, “हामीले देखेका र सुनेका कुराका विषयमा नभनी सक्तैनौं ।” 1BP 77.1
जतिजना रोगी र पीड़ितहरू चेलाहरूकहाँ ल्याइए, ती सबलाई उनीहरूले येशूकै सामर्थ्यद्वारा निको पार्दै गए । त्यो देखेर झन् मुख्य पूजाहारीहरू, फरिसी र शास्त्रीहरू आत्तिए । सैकड़ौं मानिसहरूले ख्रीष्ट मुक्तिदातालाई ग्रहण गरे । तब तिनीहरूले रीसले चूर भएर उनीहरूलाई कैद गरे । ‘अब पो ठीक पऱ्यो’ भन्दै शैतान र उसका दूतहरू रमाए । तर परमेश्वरका दूतहरूले गईकन झ्यालखानका ढोकाहरू खोलिदिए र उनीहरूलाई बाहिर ल्याएर भने, “जाओ, र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ ।” यो आदेश मुख्य पूजाहारीहरूको हुकुमविरुद्ध थियो । अर्को दिन सभा राखियो र ती कैदी प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए । अनि हाकिमहरूले गएर झ्यालखानाका ढोकाहरू खोलेर हेर्दा तिनीहरूले खोजेका कैदीहरू त्यहाँ थिएनन् । त्यसपछि तिनीहरू फर्की आएर महापूजाहारी र बूढ़ा प्रधानहरूलाई यो खबर दिए, “हामीले झ्यालखान ता सुरक्षित साथ थुनिएको, र पालेहरू ढोकाहरूमा भएकै देख्यौं; तर ढोका उघारेर हेर्दा भित्र कोही मानिसलाई भेट्टाएनौं ।” त्यसपछि फेरि अर्को एकजनाले आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई थुनामा राख्नुभएको थियो, उनीहरू ता मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन् ।” तब हाकिमहरूका साथमा कप्तान गईकन उनीहरूलाई बलजफत नगरीकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए । अनि जब तिनीहरूले उनीहरूलाई ल्याएर महासभाको अगाड़ि उभाए, तब प्रधान पूजाहारीले उनीहरूलाई सोधे, “के हामीले तिमीहरूलाई यस (येशू) नाउँमा चाहिँ शिक्षा नदिनू भनेर कड़ा आज्ञा दिएका थिएनौं र ? हेर, तिमीहरूले ता तिमीहरूको शिक्षाले सारा यरूशलेम नै भरिसक्यौ, र त्यस मानिसका रक्तपातको दोष हामीमाथि ल्याउन खोज्दछौ ।” 1BP 77.2
तिनीहरू, परमेश्वरलाईभन्दा मानिसहरूका प्रशंसा रूचाउने कपटीहरू थिए । तिनीहरूका हृदय कठोर थिए, त्यसैकारण ती प्रेरितहरूले गरेका अजिब सामर्थ्यका कामहरू देखी तिनीहरूमा ईर्ष्या र क्रोध मात्रै जाग्यो । तिनीहरूलाई थाह थियो यदि ती चेलाहरूले येशूको बारेमा अनि उहाँ क्रूसमा टाँगिनुभएको, बौरी उठ्नुभएको र स्वर्गारोहण हुनुभएको कुराको प्रचार गरे भने तिनीहरूमाथि दोष लाग्ने थियो र तिनीहरू उहाँका हत्याराहरू ठहरिने थिए भनेर । तिनीहरूले आफ्ना पाप-क्षमाका निम्ति येशूको रगतलाई स्वीकार गर्नु ता परै जावस्, तर तिनीहरूले यसो भन्दै उत्तेजित भएर कराएका थिए, “बरु उसको रगत हामीमाथि र हाम्रा सन्तानमाथि परोस् ।” 1BP 84.1
मानिसहरूले भनेका कुरा मान्नुभन्दा परमेश्वरको आज्ञा मान्नु उचित छ भनी ती प्रेरितहरूले निडरतासाथ भने । पत्रुसले भने, “हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई बिउँताउनुभयो, जसलाई तपाईंहरूले काठमा झुन्ड्याएर मार्नुभएको थियो । परमेश्वरले इस्राएलको पश्चात्ताप र पापहरूको क्षमाको लागि उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्ना दाहिने बाहुलीले उच्च पार्नुभयो । अनि यी सबै कुराका हामी गवाही छौं, र त्यसैगरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरू जत्तिलाई दिनुभएको छ ।” यो सुनेर ती हत्याराहरू रिसले चूर भए, र प्रेरितहरूलाई मारेर उनीहरूको रगतले आफ्ना हात रँगाउने विचार गरे । तिनीहरूले उनीहरूलाई मार्ने सल्लाह मिलाइरहेका थिए, त्यसै बेला परमेश्वरका एक जना दूत गमलिएलकहाँ गईकन तिनलाई मुख्य पूजाहारी र अरु शासकहरूका सामु यसो भन्न लगाए, “यी मानिसहरूबाट अलग हुनुहोस् र यिनीहरूलाई छोड़िदिनुहोस्; किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो मेटिनेछ । तर यदि यो परमेश्वरबाटै हो भनेता तपाईंहरूले यसलाई मेटाउन सक्नुहुन्न, नत्रता तपाईंहरू परमेश्वरको विरुद्धमा उठेका ठहरिनुहोला ।” त्यसरी शैतानिक दूतहरूले पूजाहारीहरू र बूढ़ा प्रधानहरूलाई प्रेरितहरूलाई मार्न सुऱ्याए, तर परमेश्वरले उनीहरूको पक्षमा आवाज उठाईकन तिनीहरूलाई रोक्न आफ्ना दूत पठाउनुभयो । 1BP 85.1
येशूका ती चेलाहरू अर्थात् प्रेरितहरूको काम ता सिद्धिएकै थिएन । उनीहरूले देखेका र सुनेका कुराहरूको गवाही दिनु अर्थात् येशूका निम्ति साक्षी हुनालाई उनीहरू राजाहरूका सामु उभिनु परेको थियो । मुख्य पूजाहारीहरू र अरु बूढ़ा प्रधानहरूले उनीहरूलाई छोड्न ता छोड़े, तर छोड्नभन्दा अघि उनीहरूलाई पिट्दै ‘आइन्दा येशूको नाउँमा बोलौला, खबरदार !’ भनी चेतावनी दिए । तब उनीहरू उहाँको प्रिय नाउँको खातिर शासना भोग्नु पाएकोमा आफ्नो सौभाग्य सम्झी रमाउँदै र परमेश्वरको प्रशंसा गर्दै सभाघरदेखि निस्केर आए । त्यसपछि पनि उनीहरूले मन्दिरमा र घर-घरमा येशू नामको प्रचार गर्दै सेवाकार्यलाई जारी राखे । मानिसहरूले उनीहरूलाई आफ्ना घरमा पनि निम्त्याउँथे । त्यसरी परमेश्वरको वचन दिन दुई गुणा र रात चार गुणा बढ्दै र फैलँदै गयो । 1BP 85.2
शैतानले मुख्य पूजाहारीहरू र फरिसीहरूलाई उल्क्याईकन रोमी सिपाहीहरूलाई घूस दिन लगाएर ‘येशूलाई उसकै चेलाहरूले हामी निदाएका बेलामा सुटुक्कै चोरी लगेका हुन्’ भनी झूटा अफवाह फैलाएर येशूको बौरिउठाइको सत्य घटनालाई मानिसहरूले थाह नपाऊन् भनेर तिनीहरूले दबाउने कोशिश गरे, तर त्यसलाई सत्य प्रमाणित गर्न गवाहीहरूको ओइरो लाग्दा त्यसमा पनि तिनीहरूको केही सीप चलेन । 1BP 86.1
अनि मैले देखें, उहाँको बौरिउठाइजस्तो सत्य र अत्यन्त महत्त्वपूर्ण घटना-विवरणको सुरक्षा र संरक्षणको निम्ति स्वर्गदूतहरू खटाइए, कारण त्यही अभूतपूर्व घटनाले नै चेलाहरूलाई स्थिर राख्न लङ्गरको काम गर्नुपरेको थियो अनि गर्नु पनि परेको छ । 1BP 86.2
पवित्र आत्मा ती प्रेरितहरूमाथि उत्रनुभयो, जोहरू ख्रीष्ट क्रूसमा मर्नुभएको, बौरी उठ्नुभएको र स्वर्गारोहण हुनुभएको घटनाका साक्षी थिए, र त्यही घटनाको सत्यता नै इस्राएलको आशाको आधार बन्नु थियो । सबैले उहाँ, संसारका मुक्तिदातालाई नै आफ्ना आशाका एकमात्र आधार मानेर उहाँले नै आफ्नो प्राण बलिदान गरीकन खोलिदिनुभएको सत्य मार्गमा हिँड्दै परमेश्वरको व्यवस्था पालन गरेर बाँच्नु थियो । जुन भलाई र आश्चर्यका कामहरू गर्दा यहूदीहरूले प्रभु येशूसित दुश्मनी गरेर उहाँलाई मारेका थिए, त्यही कामहरू गर्नालाई उहाँले चेलाहरूलाई पनि शक्ति र अधिकार दिनुभयो । त्यसैले उनीहरूले पनि उनै येशू नाउँद्वारा दुष्टात्माहरू धपाए, र धेरै आश्चर्यकर्महरू गरे, जुन येशू नाउँलाई दुष्टहरूले घृणा गरेका थिए, तर उहाँको मृत्यु र बौरिउठाइको अवधिभरि यस्तो ज्योति र महिमा झल्किरह्यो, जसद्वारा पनि उहाँ नै संसारका मुक्तिदाता हुनुहुन्थ्यो र हुनुहुन्छ भन्ने कुरा कहिल्यै नचुक्नेगरी प्रमाणित हुँदछ । 1BP 86.3