मानिसहरूको मनलाई ख्रीष्टदेखि मानिसतर्फ खिच्ने शैतानको युक्ति ता चल्दै आइरहेको छ । परमेश्वरका पुत्रलाई धरि शैतानले परीक्षा गऱ्यो, तर सफल हुन सकेन । आखिरमा पतित मानिसमै उसले बढ़ी सफलता हासिल गर्न सक्यो । त्यो कसरी भयो भने - प्रथमतः ख्रीष्टिय शिक्षालाई बिगार्नमा ऊ सफल भयो । पोपहरू र पादरीहरूले आफै उच्च स्थानहरू ओगटेर साधारण मानिसहरूलाई पाप-क्षमाका लागि ख्रीष्टको शरण पर्न नसिकाएर उनीहरूका शरण पर्न सिकाए । सत्य वचनद्वारा उनीहरूको दोष जाहेर नहोस् भनेर उनीहरूले ती मानिसहरूलाई बाइबलदेखि अलग राखे । त्यसरी मानिसहरू ठगिए । पोपहरू र पादरीहरू नै ख्रीष्टका प्रतिनिधिहरू हुन् भनेर तिनीहरूलाई सिकाए, जब कि उनीहरू वास्तवमा शैतानका प्रतिनिधिहरू थिए, अनि उनीहरूलाई दण्डवत् गर्नेहरूले शैतानलाई दण्डवत् गरिरहेका थिए । मानिसहरूले बाइबलको खोजी गरे, तर तिनीहरूले परमेश्वरको वचन पढ़ेर आध्यात्मिक ज्ञान प्राप्त गरेकाले उनीहरूको दोष जाहेर हुने हुनाले उनीहरूले यो कुरा खतरनाक सम्झे, र तिनीहरूलाई उनीहरूमाथि नै भरोसा राखीकन उनीहरूबाटै परमेश्वरको मुखारविन्दबाट उहाँको वाणी सुनेझैं सुन्नू भनेर सिकाए । उनीहरूले त्यो अधिकार चलाउन खोजे, जुन अधिकार परमेश्वरको मात्रै हो । अनि यदि कसैले यो कुरो ठीक होइन भनेर संशोधन ल्याउन खोजे, तिनीहरूसित नै उनीहरूले द्वेष राख्न थाल्थे र तिनीहरूको हत्या गर्न समेत उनीहरू अग्रसर हुन्थे । अनि मैले देखें - शैतान विशेष गरी त्यतिबेला रमायो, जति बेला सत्यतामा निष्ठावान् रहने ख्रीष्टियानहरू धेरै संख्यामा मारिए । 1BP 111.1
उनीहरूले परमेश्वरको अनमोल बाइबललाई यति घृणा गरे, कि उनीहरूले संसारदेखि यसको अस्तित्व मेटाइदिन पनि भरमग्दुर प्रयास नगरेका थिएनन् । मृत्यु-दण्डको धम्की दिँदै बाइबल पढ्न निषेध गरियो, अनि यस पवित्र शास्त्रका पानाहरू भेटाएजति सबै जलाइए । तर पनि परमेश्वरले आफ्नो वचनको रक्षा गर्नुभयो, अर्थात् उहाँले आफ्नो वचन हराएर वा नष्ट भएर जान दिनुभएन, बरु अन्तिम दिनहरूमा यति बिघ्न बाइबलका प्रतिलिपिहरू बढ़ेर गए कि ती प्रत्येक ख्रीष्टिय परिवारका निम्ति पर्याप्त भए । जब बाइबलको अभाव थियो, त्यस समयमा ख्रीष्टका लोकहरूका लागि बाइबल बड़ो किम्मती थियो र सतावटमा परेकाहरूले यसबाट ढाढस र सान्त्वना पाउँथे । ती समयमा बड़ो डरसरी गुप्तमा बाइबल पढ़िन्थ्यो । त्यसरी लुकी-लुकी पढ्न पाउँदा परमेश्वरलाई नै भेट्न पाइएको विश्वासीहरूले महसुस गर्थे । त्यही पनि विरोधीहरूले थाह पाए भने उनीहरूलाई कि ता अचानुमा राखेर टुक्रा-टुक्रा पार्थे, कि ता कालकोठरीमा थुनेर केही खान-पिउन दिँदैनथिए र उनीहरू त्यहाँ भोकैले मर्थे । 1BP 112.1
उद्धारको त्यो योजनालाई शैतानले रोक्न सकेन । ख्रीष्ट क्रूसमा मरीकन पनि तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो । त्यसो हुँदा शैतानले उहाँको क्रूसमा मरण र बौरिउठाइको कुरालाई दबाउन नसकिने देखेर यही कुरालाई आधार बनाईकन अर्को युक्ति रच्यो । उसले ख्रीष्टमा विश्वास गर्नेहरूलाई ख्रीष्ट क्रूसमा मर्नासाथ साथै यहूदीहरूका बलिदान र भेटी चढ़ाउने व्यवस्था पनि समाप्त भएको हो भनेर विश्वास दिलाउन आफ्ना दूतहरू पठायो । 1BP 112.2
मैले धेरैलाई शैतानको यो जालमा फँसेका देखें । परमेश्वरको पवित्र व्यवस्थालाई पाउमनि दबाएको देखेर समस्त स्वर्गमा ठूलो हलचल मच्चियो । ख्रीष्ट लगायत समस्त स्वर्गीय सेना परमेश्वरको व्यवस्थासित चिरपरिचित थिए भने उहाँको व्यवस्था ख्रीष्टले अदलबदल गर्नु वा मेटाउनुहुन्न भनी उनीहरू जान्दथे । त्यही व्यवस्था उल्लङ्घन गरेर मानिस पापी ठहरियो, अनि मानिसको यस्तो पतित र आशाहीन अवस्था देखेर स्वर्गै उदास भयो, र ख्रीष्ट येशू मानिसको पापको निम्ति क्रूसमा बलि हुनुपऱ्यो । यदि परमेश्वरको व्यवस्था मेटिनसक्ने भए मानिसको उद्धारको निम्ति ख्रीष्ट मर्न पर्ने नै थिएन । ख्रीष्टको मरणले परमेश्वरको व्यवस्था भङ्ग ता गरेन, बरु अझ बढ़ी कदर गऱ्यो । यदि ख्रीष्टिय मण्डलीले स्थिर रहेर पवित्रता कायम राखेको भए शैतानले उनीहरूलाई भड्काएर परमेश्वरको व्यवस्थालाई पाउमनि दबाउन लाउन सक्ने नै थिएन । त्यस्तो साहसिक योजनाद्वारा शैतानले स्वर्ग अनि पृथ्वीमा हुने परमेश्वरको राज्यको जगमाथि नै आक्रमण गरेको थियो । विद्रोह गरेको कारणले नै शैतानलाई स्वर्गबाट निकालिएको थियो । परमेश्वरले आफ्नो व्यवस्था परिवर्तन गरुन् र आफू बाँचौला भन्ने शैतानले चाहेको थियो; तर समस्त स्वर्गीय सेनाहरूका सामु परमेश्वरले शैतानलाई भन्नुभयो, “मेरो व्यवस्था कदापि अदलबदल हुन सक्तैन ।” अरुलाई पनि परमेश्वरको व्यवस्थाविरुद्ध वागी तुल्याउन सके उनीहरूलाई अवश्यै आफ्नो मुठ्ठीमा ल्याउन सक्नेछु भनी शैतानले निश्चय गरेको थियो; किनकि परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्ने हरेक व्यक्ति अवश्यै मर्नेछ भनेर शैतानलाई विदितै थियो । 1BP 113.1
त्यसपछि शैतानले अझै अगाड़ि बढ्ने निर्णय गऱ्यो, र आफ्ना दूतहरूलाई भन्यो, “अझै पनि कतिजना त परमेश्वरको व्यवस्थाका विषयमा अत्युत्कण्ठित हुना कारण उनीहरूलाई यस जालमा फँसाउन सकिन्न, अनि दश आज्ञाहरू पनि यति सरल र सुबोध छन् कि यी आज्ञाहरू पढ्नेहरू धेरैले हामी ता अझै अन्धै रहेछौं भनेर बुझ्नेछन् । त्यसो हुँदा चौथो आज्ञालाई, जसबाट जीवित परमेश्वरको दर्शन प्राप्त हुन्छ, त्यसलाई बिगार्न आवश्यक छ ।” त्यसपछि उसले शबाथ-दिन (विश्रामदिन)लाई बदली गर्न अनि स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वरको दर्शन दिलाउने आज्ञालाई पल्टाइदिन आफ्ना प्रतिनिधिहरू पठायो, र ख्रीष्टको महिमित बौरिउठाइको सम्बन्धमा शैतानले उनीहरूलाई यसो भन्यो, “ख्रीष्टले हप्ताको पहिलो दिनमा बौरी उठेर शबाथ-दिनलाई सातौं दिनदेखि पहिलो दिनमा सार्नुभएको छ ।” त्यस प्रकारले ख्रीष्टको बौरिउठाइलाई शैतानले चातुर्यपूर्वक आफ्नो स्वार्थसिद्धिका लागि गलत अर्थ लगाइदियो । यस कुरालाई पनि तथाकथित ख्रीष्टिय जनले सत्य मानेर अँगालेकाले शैतान र उसका दूतहरू रमाए । यद्यपि यी सब भूल-भ्रान्तिहरूले ख्रीष्टको दोस्रो आगमनसम्मै राज्य गरिरहलान्, तथापी परमेश्वर गवाहीरहित हुनुहुन्न । उहाँसित पर्याप्त मात्रामा सत्य र विश्वासयोग्य गवाहीहरू थिए अनि छन्, जसले सतावटका अन्धकारमय समयावधिभरि पनि परमेश्वरका सब आज्ञाहरू पालन गर्दै नै आएका थिए । 1BP 113.2
महिमाका राजा ख्रीष्टले असह्य पीड़ा सहेर मर्नुपरेको देख्ता स्वर्गदूतहरू चकित भएका मैले देखें । तर उहाँ, जो जीवन र महिमाका पनि प्रभु हुनुहुन्छ, मृत्युको बन्धनलाई चुँड़ालेर विजयी भईकन निस्कनु स्वर्गीय दूतगणका निम्ति कुनै आश्चर्यकै कुरा भएन । दुई घटनाहरूमध्ये कुनै एउटालाई विश्रामदिन सम्झनु हो भने एउटाचाहिँ उहाँ क्रूसमा टाँगिनुभएको दिन हुनुपर्छ । मैले देख्ताहुँदि यी घटनाहरूमध्ये पनि कुनैले पनि परमेश्वरको व्यवस्थालाई अदलबदल गर्ने वा मेटाउने ता देखिनँ; बरु यिनीहरूले ता अझ उहाँको व्यवस्थाको अपरिवर्तनीयतालाई पुष्टि गर्ने पो देखें । हुन ता यी दुवै घटना संस्मरणीय नै छन् । प्रभु-भोजद्वारा हामी रोटी टुक्र्याएर र दाखरस वितरण गरेर उहाँको दोस्रो आगमन नभएसम्म उहाँ क्रूसमा मारिदिनुभएको घटनालाई स्मरण गर्दछौं । यसरी प्रभु-भोजको कार्यक्रम राखेर उहाँले हाम्रा निम्ति क्रूसमा सहनुभएको पीड़ा, कष्ट र मृत्युलाई आलो सम्झना गर्छौं, अनि बप्तिस्माद्वारा उहाँसँग गाड़िएको र नयाँ जीवनको चालमा हिँड्नलाई जलरूपी चिहानदेखि निस्केर उहाँको बौरिउठाइलाई साङ्केतिक रूपले स्मरण गर्दछौं । मलाई दर्शनमा यो पनि बताइएको थियो, कि परमेश्वरको व्यवस्था नयाँ पृथ्वीमा पनि युगानुयुगसम्म रहिरहने छ । सृष्टि हुँदा, जब पृथ्वीका जगहरू बसालिँदै थिए, तब परमेश्वरका पुत्रहरू साथै समस्त स्वर्गाय सैन्यदलले सृष्टिकर्ताको सृजना-कौशललाई देखेर बड़ो हर्षसाथ उहाँको तारिफ गरे । त्यतिबेलैदेखि शबाथ-दिनको प्रारम्भ भएको हो । सृष्टि गर्ने काम शुरु गरेको छैटौं दिन बितेपछि सातौं दिनमा उहाँले आफ्ना सब कामबाट विश्राम गर्नुभयो, अनि उहाँले सातौं दिनमा आफ्ना कामबाट विश्राम लिनुभएको कारणले सातौं दिनलाई उहाँले आशिष् दिईकन पवित्र तुल्याउनुभयो । 1BP 114.1
मनुष्यको पतन हुनुभन्दा पहिल्यै अदन बगैंचामा यो शबाथ-दिनको संस्थापन भएकोले समस्त स्वर्गीय सैन्यदल साथै आदम र हव्वाले पनि यसको पालन गर्थे । परमेश्वरले सातौं दिनमा विश्राम लिनुभयो, अनि यसलाई आशिष् दिईकन पवित्र पार्नुभयो, र दर्शनद्वारा मलाई यो पनि बताइयो, कि शबाथ-दिन कहिल्यै बन्द हुनेछैन, तर बाँचेका सन्तगण साथै समस्त स्वर्गीय सैन्यदलले महान् सृष्टिकर्ताको सम्मानार्थ अनन्त-अनन्तसम्म यो पालन गरिरहनेछन् । 1BP 115.1