मैले शैतान र उसका दूतहरू सर-सल्लाह गर्दै गरेको पनि देखें । उसले उसका दूतहरूलाई भन्दै थियो, “जाओ र ती ख्रीष्टको दोस्रो आगमन पर्खिने र परमेश्वरका आज्ञा पालन गर्ने जति सबलाई जालमा हाल । अहिले सब मण्डली सुतिरहेका बेलामा दाउ छोपिहाल । तर ......... ती विश्राम दिन (शबाथ-दिन) पालन गर्नेहरूलाई पो खोई कसो गर्नुपर्ने ? तिनीहरूले ता हाम्रो विरूद्धमा काम गर्दै र हाम्रा शिकारहरू पनि भटाभट खोस्दै लगेर परमेश्वरको त्यो व्यवस्था पालन गराउँदैछन्, जसलाई हामी घृणा गर्छौं । अब जाओ, र ती जमीन र पैसाका मालिकहरूलाई चिन्तारूपी मद्य पिलाएर लट्ठ बनाइदेओ । तिनीहरूको तन-मन ती सम्पत्तिहरूमै लगाइदिनसक्यौ भने अझै पनि तिनीहरू हातमा आउनसक्छन् । तिनीहरूको मनमा ख्रीष्टको राज्यको भन्दा रूपियाँ-पैसाको बेसी फिक्री हालिदेओ र सत्य भन्नेचाहिँ उनीहरूको हृदयमा वास गर्नै नदेओ । तिनीहरूका आँखामा संसार नै असल, सुन्दर र आकर्षक देखा परोस्, ताकि तिनीहरूले यसैलाई बढ्ता प्रेम गरून् । तिनीहरूले विभिन्न ठाउँहरूमा आत्मिक सभाहरू राखे भने ता हामीलाई खतरा हुन्छ । तसर्थ सावधान होओ र तिनीहरूका बीचमा जतिसक्दो विभ्रान्ति पैदा गर । तिनीहरू बीचको प्रेमलाई विच्छेद पारिदेओ । ती सेवकहरूलाई पनि निरूत्साहित पारिदेओ; तिनीहरू हाम्रा विरोधी हुन् । तिनीहरूमा पनि रूपियाँ-पैसाको लोभ हालेर कष्ट देओ, जसद्वारा तिनीहरूको साहस र उत्साह सेलाउँदै जान्छ । तिनीहरूलाई छोड्दै नछोड़ । तिनीहरूलाई चारैतिरबाट घेरेर आकर्षित गर्नसक्यौ भने तिनीहरू हाम्रा हातमा त आउँछन् आउँछन्; त्यतिमात्र नभएर अरूहरूका सामने तिनीहरूको प्रभावकारी गवाही पनि बिग्रनेछ ।” 1BP 184.1
त्यसपछि मैले देखें - शैतानका योजनाहरू सफल हुँदै गयो । परमेश्वरका जनहरूले सभा ठहराए तापनि शैतान र उसका दूतहरूले त्यसमा वाधा-विघ्नहरू हालिदिँदै उनीहरूका मनमा तिनीहरूनै सल्लाहकार भई काम गर्नथाले । दाज्यू-भाइ र दिदी-बहिनीहरूको स्वाभाविक कमजोरीको फाइदा उठाईकन शैतानले उनीहरूमा विभिन्न प्रकारले काम गर्नथाल्यो । उनीहरूको मनमा अलिकति पनि लोभ र स्वार्थको भावना रहेको छ भने उनीहरू शैतानमाथि पूर्णतः विजय हुन सक्तैनन्, र शैतानले आईकन उनीहरूको मनबाट त्यो उदारतालाई हटाइदिन्छ र उनीहरू भन्नथाल्छन्, “आः ! कत्ति पो भलाई गर्नु हौ ? भलो गर्दा-गर्दा वाक्कै लागिसक्यो ।” तर ख्रीष्टले उनीहरूलाई शैतानको शक्ति र दासत्वबाट छुटाउनको लागि उनीहरूका निम्ति गर्नुभएको त्यो महान् बलिदानलाई चाहिँ उनीहरूले बिर्सन्छन् । 1BP 185.1
यहूदा इस्करियोतिको त्यो लोभी र स्वार्थी भावनाको फाइदा उठाईकन शैतानले तिनलाई मरियमले येशूको शिरमा बहुमूल्य सुगन्धित अत्तर खन्याएकोमा यसो भन्दै गनगन गर्नलाई सुऱ्यायो, “केको यत्रो बर्बादी ? यो ता बेचेर गरीबलाई दिनसकिने थियो !” वास्तवमा तिनले गरीबहरूको ख्याल गरेका थिएनन्, तर त्यति उदारचित्तले प्रशस्त मात्रामा ख्रीष्टलाई भेटी चढ़ाएकोमा तिनी जलेका मात्रै थिए । त्यही लालचले गर्दा तिनले ख्रीष्टलाई थोरै चाँदीका सिक्कामा पनि बेचिपठाएका थिए । त्यस्तै गरी ‘हामी ख्रीष्टको बाटो हेर्दछौं’ भन्नेहरूमध्ये पनि मैले कतिजना यहूदा इस्करियोतिहरूलाई देखें । तिनीहरूलाई शैतानले आफ्नो मुट्ठीमा ल्याइसकेको पत्तै छैन । परमेश्वरले त्यस्तो लोभ-लालच र स्वार्थीपनलाई धूलोको एउटा कण जति पनि मन पराउनुहुन्न । अनि त्यस्ताहरूको प्रार्थना र उपदेशलाई उहाँले घृणा गर्नुहुन्छ । शैतानले ता उसको समय जति नजिक-नजिक आएको देख्छ, त्यति नै तिनीहरूलाई झन् स्वार्थी र लोभी बनाउँदै जान्छ, र तिनीहरू त्यसरी शैतानको पासोमा परेपछि शैतान रमाउँदै तिनीहरूको मूर्खता देखेर हाँस्छ । त्यसपछि तिनीहरूको त्यस्तो नीच कामलाई नै लगेर ख्रीष्ट येशू र उहाँका दूतगणका सामु शैतान र उसका दूतहरूले देखाउँदै उहाँहरूलाई भन्नेछन्, “ई; ख्रीष्टका अनुयायीहरूका काम ! यिनीहरू ता स्वर्गमा उठाइन तयार छन् ।” 1BP 185.2
त्यसरी शैतानले तिनीहरूको पथभ्रष्टतालाई याद राखिराखेर त्यस्ता कामहरूका विरोधमा बोल्ने बाइबलसित दँजाइदिँदै र स्वर्गका दूतगणलाई दिक्क पार्नालाई तिनीहरूका कुकर्महरू देखाउँदै भन्छन्, “यिनीहरू ता ख्रीष्ट र उहाँका वचनका अनुयायीहरू नै हुन् त ! के यिनीहरू ख्रीष्टको बलिदान र उद्धारका फल होइनन् र ?” तब स्वर्गदूतहरू विरक्त मानेर फर्कनेछन् । परमेश्वरले आफ्ना लोकहरूलाई आफ्ना कर्त्तव्यमा निष्ठावान् रहिरहेका चाहनुहुन्छ, तर भलाइ गर्नु र उदारचित्तले दिनु वाक्क मान्नेहरूसित परमेश्वर पनि वाक्कै मान्नुहुन्छ । मैले यो पनि देखें, कि परमेश्वर उहाँका तथाकिथत लोकहरूले अलिकति पनि स्वार्थीपन देखाउँदा साह्रै दुःखित हुनुहुँदोरहेछ । उनीहरूका निम्ति ता ख्रीष्ट येशूले आफ्नो अमूल्य प्राण पनि अर्पण गरिदिनुभएको थियो । यहूदाले आफ्ना प्रभुलाई बेचे झैं उनीहरूले पनि जाबो अलिकति सांसारिक धन- उपलब्धिको लागि आफ्नो उत्तम मनोवृति एवम् उदारतालाई बेचिपठाए । त्यस्ताहरू सब परमेश्वरका लोकहरूदेखि भूस निफनिएझैं निफनिनेछन् । स्वर्ग चाहनेहरूले आफ्नो क्षमताले भियाएसम्म स्वर्गीय नियम पनि पालन गर्नुपर्छ अनि आफ्नो स्वार्थसिद्धिलाई तिलाञ्जलि दिएर मौका हुँदा-हुँदा एक-अर्काको भलाइ गर्दै अघि बढ्नुपर्छ । येशू ख्रीष्ट पक्का नमुना हुनुहुन्छ, जसले संसारमा हुनुहुँदा निस्वार्थ जीवन बिताउँदै परोपकारको नमुना छोड़िराख्नुभयो । 1BP 186.1