धर्मशास्त्रको सबै पदहरूभन्दा यो घोषणाचाहिँ दोस्रो आगमनको विश्वासको जग र केन्द्रीय खम्बा भएको छ: “दुई हजार तीन सय दिनसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” दानिएल ८:१४ (KJV)। प्रभुको शीघ्र आगमनमा विश्वास गर्नेहरू सबै यी शब्दहरूसँग चिरपरिचित थिए। आफ्नो विश्वासको प्रमुख शब्दको रूपमा हजारौँले आफ्ना ओठहरूद्वारा यस अगमवाणी दोहोऱ्याए। सबैले महसुस गरे कि तिनीहरूका सबभन्दा उज्ज्वल अपेक्षाहरू र सबैभन्दा मुटुभित्रका आशाहरू त्यहाँ भएका घटनाहरूमा निर्भर थिए। यी अगमवाणीका दिनहरू १८४४को शरद् ऋतुमा अन्त हुन्छ भनी देखाइएको थियो। इसाई संसारका अरू मानिसहरू साथै दोस्रो आगमनका प्रतीक्षारत विश्वासीहरूले पनि पृथ्वी वा पृथ्वीको केही भागलाई नै पवित्रस्थानको रूपमा हेर्ने गर्दथे। तिनीहरूले बुझे कि पवित्रस्थानको शुद्धीकरण भनेको नै पृथ्वीको शुद्धीकरण हुनु थियो, जुनचाहिँ अन्तको महान् दिनको आगोद्वारा हुनेथियो, र जुन घटना दोस्रो आगमनमा हुनेथियो। यसकारण येशू १८४४मा यस पृथ्वीमा फर्कनुहुनेथियो भनी तिनीहरूले निष्कर्ष निकाले। MBND 147.1
तर तोकिएको समय बित्यो र परमप्रभु देखा पर्नुभएन। विश्वासीहरूलाई थाहा थियो कि परमेश्वरको वचन असफल हुनै सक्दैन; अगमवाणीको वर्णन पो गलत हुनुपर्छ; तर गलतचाहिँ केमा भयो त? धेरैजसोले १८४४मा २३०० दिनहरूको अन्त्य भयो भन्ने कुरालाई इन्कार गर्नेद्वारा विचार नगरी यो समस्याको गाँठो काटिदिए। तिनीहरूले सोचेका समयमा ख्रीष्ट आउनुभएन भन्नुबाहेक यसको लागि अरू कुनै कारण दिन सकेनन्। यदि १८४४मा यो अगमवाणीका दिनहरूको अन्त्य भएको भए आगोद्वारा पृथ्वीको शुद्धीकरणद्वारा पवित्रस्थान शुद्ध गर्न ख्रीष्ट फर्केर आउनुहुनेथियो भन्ने विषयमा तिनीहरूले विवाद गरे; र त्यति बेला उहाँ आउनुभएन, त्यसकारण ती दिनहरू अन्त भएको हुन सक्दैन। MBND 147.2
यो निष्कर्षलाई स्वीकार गर्दा पहिलेको अगमवाणीका अवधिहरूको हिसाबलाई त्याग्नुपर्दथ्यो। जब अर्तासास्तले ४५७ बि.सी. को शरद् ऋतुमा यरूशलेमको पुनर्स्थापना र पुनर्निर्माणको लागि दिएको आदेश लागू भयो तब २३०० दिनहरूको सुरुवात भयो भन्ने कुरा पत्ता लगाइएको थियो। जसरी यसलाई सुरुवातको मितिको रूपमा लिइयो, त्यसरी नै दानिएल ९:२५-२७मा भएको समयको अवधिमा पूर्ववाणी गरिएका सम्पूर्ण घटनाहरूको पूर्णतामा पूर्ण मिलाप देखियो। मसीह, अर्थात् अभिषिक्त जन नआउञ्जेलसम्म उनन्सत्तरी हप्ताहरू, २३०० वर्षहरूको पहिलो ४८३ वर्षहरू हुनेथियो; र पवित्र आत्माद्वारा भएको ख्रीष्टको बप्तिस्मा र अभिषेक निर्धारण गरिएको कुरा २७ ए.डी. मा ठ्याक्कै पूरा भयो। सत्तरीऔँ सातको बीचमा मसीह [अभिषिक्त जन] काटिनुपर्नेथियो। उहाँको बप्तिस्मा भएको साढे तीन वर्षहरूपछि अर्थात् ३१ ए.डी. को बसन्त ऋतुमा ख्रीष्टको क्रूसमा मृत्यु भयो। सत्तरी हप्ताहरू वा ४९० वर्षहरू विशेष गरी यहूदीहरूलाई दिइएको थियो। यो राष्ट्रले उहाँका चेलाहरूलाई अत्याचार गर्नेद्वारा ख्रीष्टलाई अस्वीकार गरेर मोहोर लगाए र चेलाहरू अन्यजातितिर गए, यसरी ३४ ए.डी. मा त्यो अवधिको अन्त भयो। २३०० वर्षहरूको पहिलो ४९० वर्षहरूका अवधि यसरी समाप्त भयो, त्यसपछि अझै १८१० वर्षहरू बाँकी थियो। ३४ ए.डी. देखि १८४४सम्म हिसाब गर्दा १८१० वर्षहरू पुग्दछ। स्वर्गदूतले भने, “त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ।” पहिले सबै अगमवाणीका विशेषताहरू निर्धारित समयमा नै निसन्देह पूरा भएका थिए। MBND 148.1
यसरी गन्ती गर्दा सबै कुरा स्पष्ट र मिलेको नै थियो, तर १८४४मा शुद्ध हुने भनिएको पवित्रस्थानको कुरामा चाहिँ कुनै पनि घटना घटेको देखिएन। त्यस समयमा ती दिनहरूको अन्त्य भयो भन्ने कुरा इन्कार गरे भने सम्पूर्ण विषयवस्तु अन्योलमा जाकिनेथियो, र निश्चित अगमवाणीको पूर्णताबाट स्थापित भएका सिद्धान्तहरूलाई परित्याग गर्नुपर्नेथियो। MBND 148.2
तर पमेश्वरले आफ्ना मानिसहरूलाई महान् दोस्रो आगमनको कार्यमा डोऱ्याउनुभएको थियो; त्यस कार्यमा उहाँको शक्ति र महिमा सक्रिय थियो र उहाँले त्यसलाई अन्धकार र निराशामा अन्त हुन, झूट र कट्टरपन्थी उत्तेजना स्वरूप निन्दाको पात्र बन्न त्यत्तिकै छोड्नुहुनेथिएन। उहाँले आफ्नो वचन शङ्का र अनिश्चिततामा समावेश हुन छोड्नुहुन्नथ्यो। यद्यपि धेरै जनाले अगमवाणीका अवधिहरूका अघिल्लो समयको हिसाबलाई त्यागे र त्यसमाथि आधारित कार्यको सठीकपनालाई इन्कार गरे भने अरूचाहिँ पवित्रशास्त्र र परमेश्वरको आत्माको गवाहीद्वारा समर्थन गरिएको विश्वास र अनुभवका तथ्यहरूलाई त्याग्न अनिच्छुक भए। तिनीहरूले आफ्नो अगमवाणीको अध्ययनमा अर्थ खोल्ने असल सिद्धान्तहरू अनुकरण गरेका थिए भनी तिनीहरूले विश्वास गरे र तिनीहरूले प्राप्त गरिसकेको सत्यता थामिराख्नुपर्ने र बाइबलीय अनुसन्धान कार्यमा लागी पर्नुपर्ने कर्तव्य तिनीहरूको थियो। उत्सुक प्रार्थनासाथ तिनीहरूले आफ्नो विश्वास पुनर्विचार गरे र तिनीहरूका गल्तीहरू पत्ता लगाउन पवित्रशास्त्र अध्ययन गरे। जब तिनीहरूले आफ्नो अगमवाणीका अवधिहरूको समय हिसाबमा कुनै गल्ती पाएनन्, तब त्यसले तिनीहरूलाई पवित्रस्थानको विषयमा अझै गहिरो परीक्षण गर्नतर्फ अगुवाइ गऱ्यो। MBND 148.3
तिनीहरूको अनुसन्धानमा तिनीहरूले पत्ता लगाए कि पृथ्वी नै पवित्रस्थान हो भन्ने प्रचलित धारणा कायम राख्नका लागि धर्मशास्त्रमा कुनै प्रमाण छैन; तर बाइबलमा तिनीहरूले पवित्रस्थानको स्वभाव, स्थान र सेवाकार्यको विषयमा पूर्ण स्पष्टीकरण भेट्टाए; पवित्र लेखकका गवाहीहरूमा एकदमै स्पष्ट र प्रशस्त गरी लेखेको छ कि त्यहाँ उक्त विषयमा प्रश्न पनि सोध्न आवश्यक छैन। हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावल भन्दछन्: “पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए। एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्थान भनिन्थ्यो। दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। सन्दूकमाथि कृपा-आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए।” हिब्रू ९:१-५। MBND 149.1
पावलले यहाँ कुरा गरेको पवित्रस्थानचाहिँ मोशाले परमेश्वरको आज्ञाअनुसार बनाएको भेट हुने पाल थियो जुन पृथ्वीमा सर्वोच्चको निवासस्थान थियो। “म तिनीहरूका मध्यमा बस्नलाई तिनीहरूले मेरो लागि एउटा पवित्रस्थान बनाऊन्” (प्रस्थान २५:८) भनिने निर्देशनचाहिँ परमेश्वरसँग पर्वतमा भएको समयमा मोशालाई दिएको थियो। इस्राएलीहरू उजाड़-स्थानद्वारा यात्रा गरिरहेका थिए, र भेट हुने पाल यस्तो तरिकाबाट निर्माण गरिएको थियो कि त्यो एक ठाउँदेखि अर्को ठाउँमा सार्न सकिन्थ्यो; तापनि त्यो अत्यन्तै भव्य संरचना थियो। यसका पर्खालहरू ठाडो पारिएका फल्याकहरूले बनेका थिए जुनचाहिँ सुनले मोहोरिएको थियो र चाँदीका आधारहरूमाथि राखेको थियो, जबकि त्यसका छानाचाहिँ पर्दाहरू अथवा छोप्नेहरूका पत्रहरूबाट बनाइएको थियो, बाहिरी पर्दाचाहिँ छालाहरूको थियो, सबभन्दा भित्रचाहिँ सुन्दर तरिकाले बनाएको करूबका चित्रहरू भएको मुलायम मलमलको थियो। होमबलिको वेदी भएको बाहिरी चोकबाहेक भेट हुने पालमा नै पवित्रस्थान र महा-पवित्रस्थान भनिने दुई वटा कोठाहरू थिए, जुन एक महङ्गो र सुन्दर पर्दाले विभाजन गरिएको थियो; पहिलो कोठोको प्रवेशद्वार पनि त्यस्तै किसिमको एक पर्दाले बन्द गरिएको थियो। MBND 149.2
पवित्रस्थानभित्र दक्षिणतिर सात वटा बत्ती भएको एउटा सामदान थियो, जसले रात-दिन पवित्रस्थान उज्यालो पारिरहन्थ्यो; उत्तरतिर रोटीको टेबिल राखिएको थियो; र पवित्रस्थान र महा-पवित्रस्थानलाई छुट्याउने पर्दा अगाड़ि सुनौलो धूपको वेदी थियो, जहाँबाट सुगन्धित धूपको बादल इस्राएलीहरूको प्रार्थनाको साथ परमेश्वरको सामु दैनिकरूपमा माथि गइरहन्थ्यो। MBND 150.1
महा-पवित्रस्थानमा सुनले मोहोरिएको बहुमूल्य काठबाट बनाइएको एउटा सन्दूक थियो, जसमा परमेश्वरले लेख्नुभएको दश आज्ञाका दुई वटा शिला-पाटीहरू सुरक्षित राखिएको थियो। सन्दूकमाथि पवित्र बाकसको ढकनी स्वरूप एउटा कृपा-आसन थियो, जुनचाहिँ कामदारको भव्य सीपको एक नमूना थियो, दुवै छेउतिर एक-एक वटा करूबले ढाकेका थिए र ती निखुर सुनले बनेका थिए। यस कोठामा भएको करूबहरूको बीचमा महिमाको बादलको रूपमा ईश्वरीय उपस्थिति प्रकट भएको थियो। MBND 150.2
कनानमा हिब्रूहरू बसोबास गरेपछि भेट हुने पालको सट्टामा सोलोमनको मन्दिर स्थापना भयो, जुन स्थायी संरचना र ठूलोरूपमा भए तापनि अनुपातको रूपमा उस्तै थियो, र उस्तै गरी सजाइएको थियो। ७० ए.डी. मा रोमीहरूद्वारा विनाश नभएसम्म दानिएलको समयमा भएको उजाड़ अवस्थामा बाहेक पवित्रस्थान यस्तै अवस्थामा अवस्थित थियो। MBND 150.3
पृथ्वीमा भएको यो मात्रै यस्तो पवित्रस्थान हो, जसको विषयमा बाइबलले जानकारी दिँदछ। यो प्रथम करारको पवित्रस्थान भनी पावलद्वारा घोषणा गरिएको थियो। तर के नयाँ करारमा चाहिँ पवित्रस्थान छैन त? MBND 150.4
हिब्रूको पुस्तक फेरि पल्टाउँदाखेरि सत्यताका खोजी गर्नेहरूले दोस्रो अथवा नयाँ करारको पवित्रस्थानको अस्तित्वलाई पत्ता लगाए, जुन कुरा पहिले नै उद्धृत भएको पावलको वचनमा प्रकट गरेको थियो: “पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए।” [हिब्रू ९:१]। “पनि” भन्ने शब्दको प्रयोगद्वारा यो कुरा देखायो कि पावलले पहिले यो पवित्रस्थान उल्लेख गरेको छ। अघिल्लो अध्यायको सुरुतिर तिनीहरूले फेरि पल्टाएर पढे: “अब हामीले भन्न चाहेको कुराचाहिँ यही हो: हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। मानिसले होइन, तर परमप्रभुले खड़ा गर्नुभएको पवित्रस्थान, साँचो पवित्र वासस्थानमा उहाँ सेवक हुनुहुन्छ।” हिब्रू ८:१, २। MBND 150.5
यहाँ नयाँ करारको पवित्रस्थान प्रकट गरिएको छ। पहिलो करारको पवित्रस्थान मानिसद्वारा स्थापना भएको, अर्थात् मोशाद्वारा बनाइएको थियो; योचाहिँ मानिसद्वारा होइन तर परमेश्वरद्वारा स्थापना भएको हो। त्यस पवित्रस्थानमा पृथ्वीका पूजाहारीहरूले आफ्ना सेवकाइहरू गर्थे भने यस पवित्रस्थानमा चाहिँ ख्रीष्ट, अर्थात् हाम्रा महा-प्रधान पूजाहारी परमेश्वरको दाहिनेपट्टि सेवकाइ गर्नुहुन्छ। एउटा पवित्रस्थान पृथ्वीमा थियो, अर्को चाहिँ स्वर्गमा छ। MBND 151.1
त्यति मात्र नभएर, मोशाले बनाएको भेट हुने पालचाहिँ एउटा नमूनाअनुसार बनाइएको थियो। परमेश्वरले तिनलाई निर्देशन दिनुभयो: “मैले तँलाई देखाउने नमूनाबमोजिम पवित्र वासस्थान र त्यसका सबै सामानहरू तैंले बनाउनू।” फेरि यसरी आदेश दिइयो, “पर्वतमा तँलाई देखाएको नमूनाबमोजिम तैंले होश गरी ती बनाउनू।” प्रस्थान २५:९, ४०। पावल भन्दछन् कि पहिलो भेट हुने पालचाहिँ “त्यस समयका निम्ति एउटा दृष्टान्त थियो,” (KJV) जसमा भेटी र बलिहरू चढाइन्थ्यो; यसका पवित्रस्थान “स्वर्गीय कुराहरूका नमूना” थियो; व्यवस्थाअनुसार उपहार चढाउने पूजाहारीहरूले “स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा” गर्दथे, र साथै “ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ।” हिब्रू ९:९, २३; ८:५; ९:२४। MBND 151.2
येशूले हाम्रो पक्षमा सेवाकार्य गर्नुभएको स्वर्गको पवित्रस्थानचाहिँ ठूलो सकल हो; मोशाले बनाएको पवित्रस्थान यसैको नमूना थियो। परमेश्वरले पृथ्वीको पवित्रस्थानका निर्माताहरूमा आफ्नो आत्मा हालिदिनुभयो। त्यसको संरचनामा शिल्पकारहरूद्वारा प्रर्दशन भएको दक्षतामा ईश्वरीय बुद्धिको प्रकाशन भएको थियो। पर्खालहरूमा विशाल सुनको झलक थियो, सुनौलो सामदानको सात दियाहरूबाट हरेक दिशातर्फ ज्योति परावर्तन गरेको थियो। रोटीका टेबिल र धूपको वेदी टल्काइएको सुनजस्तै चम्किरहेका थिए। सिलिङ्गको रूपमा रहेको निलो, प्याजी र रातो धागोले बुनेको स्वर्गदूतको चित्रहरू भएको सानदार पर्दाले त्यस दृश्यमा अझै सुन्दरता थपेको थियो। दोस्रो पर्दाको पारिपट्टि पवित्र शिकाईना थियो अर्थात् परमेश्वरको महिमाको दृश्य प्रदर्शन भएको थियो, जसको सामुन्ने प्रधान पूजाहारीबाहेक अरू कोही पनि प्रवेश गरेर जीवित रहन सक्दैनथियो। MBND 151.3
पृथ्वीको भेट हुने पालको अनुपम महिमाले स्वर्गीय मन्दिरका महिमाहरू मानवीय दृश्यमा प्रतिबिम्बित गरेको थियो, त्यहीँ नै ख्रीष्ट, हाम्रा अग्रदूत परमेश्वरको सिंहासन अगाड़ि हाम्रो पक्षमा सेवकाइ गर्नुहुन्छ। राजाहरूका राजाको निवासस्थान, जहाँ हजारौँ-हजारले उहाँको सेवा गर्दछन्, र दस हजार गुणा दस हजार उहाँको सामु उभिन्छन् (दानिएल ७:१०); अनन्त सिंहासनको महिमाले भरिएको त्यो मन्दिर, जहाँ चहकिला अभिभावक शेराफिमहरूले आराधना गर्दा आफ्नो अनुहार ढाक्छन्, त्यो मन्दिरचाहिँ मानिसको हातबाट निर्माण गरिएका सबभन्दा सानदार संरचनामा त्यसको विशालता र महिमाको अस्पष्ट प्रतिबिम्ब मात्र भेट्न सक्थ्यो। यद्यपि पृथ्वीको पवित्रस्थान र यसका सेवकाइहरूद्वारा स्वर्गीय पवित्रस्थान र मानिसको उद्धारका लागि त्यहाँ अघि सारिएको महान् कार्यको विषयमा महत्वपूर्ण सत्यताहरू सिकाइएको थियो। MBND 152.1
स्वर्गको पवित्रस्थानका पवित्र ठाउँहरूलाई पृथ्वीमा भएको पवित्रस्थानको दुई भागहरूले प्रतिनिधित्व गरेका छन्। दर्शनमा प्रेरित यूहन्नालाई स्वर्गको परमेश्वरको मन्दिरको दृश्य प्रदान गरिँदा, “त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका” तिनले देखे। प्रकाश ४:५। तिनले एउटा स्वर्गदूत देखे, जसले “सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेको सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।” प्रकाश ८:३। यहाँ अगमवक्ताले स्वर्गको पवित्रस्थानको पहिलो कोठा हेर्न अनुमति पाए; र त्यहाँ तिनले “आगोका सात वटा बत्तीहरू” र “सुनको वेदी” देखे, जसलाई पृथ्वीको पवित्रस्थानको सुनौलो सामदान र धूपको वेदीले प्रतिनिधित्व गरेको थियो। फेरि “परमेश्वरको मन्दिर खोलियो” (प्रकाश ११:१९), र तिनले भित्रपट्टिको पर्दाभित्र पवित्रहरूको पवित्र देखे। यहाँ मोशाद्वारा बनाइएको परमेश्वरको व्यवस्था राख्ने पवित्र बाकसद्वारा प्रतिनिधित्व गर्ने “करारको सन्दूक” तिनले देखे। MBND 152.2
यसरी ज-जसले यस विषयमा अध्ययन गरे तिनीहरूले स्वर्गमा एक पवित्रस्थान छ भन्ने कुराको निर्विवाद प्रमाण पत्ता लगाए। मोशाले आफूलाई देखाइएको एक नमूनाबमोजिम पृथ्वीमा एउटा पवित्रस्थान बनाए। पावल सिकाउँछन् कि त्यो नमूनाचाहिँ स्वर्गको साँचो पवित्रस्थानको थियो। यूहन्ना गवाही दिन्छन् कि तिनले स्वर्गमा त्यो देखे। MBND 153.1
परमेश्वरको निवासस्थान अर्थात् स्वर्गमा भएको मन्दिरमा धार्मिकता र न्यायले उहाँको सिंहासन स्थापना भएको छ। महा-पवित्रस्थानमा उहाँको आज्ञा छ, जुन सत्यताको महान् नियमद्वारा सम्पूर्ण मानवजाति जाँचिएका हुन्छन्। व्यवस्थाका शिला-पाटीहरू सुरक्षित राखिएको सन्दूकलाई कृपा-आसनले छोपिएको छ, जसको सामु ख्रीष्टले पापीहरूको खातिर आफ्नै रगत लिएर बिन्ती गर्नुहुन्छ। यसरी मानवको उद्धारको योजनामा न्याय र कृपाको संयोजनलाई प्रतिनिधित्व गरेको छ। अनन्त बुद्धिले मात्रै यस्तो संयोजनको युक्ति सृजना गर्न सक्नुहुनेथियो र अनन्त शक्तिले मात्रै पूरा गर्न सक्नुहुनेथियो; यो एउटा यस्तो एकता हो जसले सम्पूर्ण स्वर्ग नै आश्चर्य र आराधनाले भरिँदछ। पृथ्वीको पवित्र वासस्थानमा श्रद्धापूर्वक कृपा-आसनतिर तल हेरिरहेका करूबहरू थिए, ती करूबहरूले स्वर्गको मण्डलीले मुक्तिका कार्यहरूप्रति गरेको चिन्तनमननलाई प्रतिनिधित्व गर्दछ। स्वर्गदूतहरूले हेर्न चाहने कृपाको रहस्य यस्तै हो, कि उहाँले पश्चात्तापी पापीलाई धर्मी ठहऱ्याउनुहुँदा र उहाँले पतित जातिसँग आफ्नो सम्बन्ध पुनः प्रारम्भ गर्नुहुँदा पनि परमेश्वर न्यायी हुन सक्नुहुन्छ; र ख्रीष्टले अनगिन्ती भीडहरूलाई विनाशको पातालदेखि उठाउनको लागि तल निहुरन सक्नुहुन्छ र तिनीहरूलाई कहिल्यै पनि पाप नगरेका स्वर्गदूतहरूसँग समावेश गराउन र सदासर्वदा परमेश्वरको उपस्थितिमा रहन उहाँको आफ्नो धार्मिकताको निष्खोट वस्त्र पहिऱ्याउन सक्नुहुन्छ। MBND 153.2
मानिसको मध्यस्थकर्ता स्वरूप ख्रीष्टको कार्यचाहिँ जसको नाउँ हाँगा हो, उहाँको विषयमा दिएको जकरियाको सुन्दर अगमवाणीमा प्रस्तुत गरेको छ। अगमवक्ता भन्छन्, उहाँले नै परमप्रभुको मन्दिर बनाउनुहुनेछ, र उहाँ महामहिमाले पहिऱ्याइनुहुनेछ, र उहाँ [पिता]-को सिंहासनमा विराजमान भएर राज्य गर्नुहुनेछ, र त्यो सिंहासनमा उहाँ एउटा पूजाहारी हुनुहुनेछ। अनि दुवैको बीचमा शान्तिको सल्लाह हुनेछ। जकरिया ६:१२, १३। MBND 153.3
उहाँले नै परमप्रभुको मन्दिर बनाउनुहुनेछ। उहाँको बलिदान र मध्यस्थताद्वारा परमेश्वरको मण्डलीको जग र निर्माता दुवै ख्रीष्ट नै हुनहुन्छ। प्रेरित पावलले उहाँलाई “मुख्य कुने-ढुङ्गो”-को रूपमा प्रस्तुत गरेका छन्; “उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।” एफिसी २:२०-२२। MBND 154.1
उहाँ महामहिमाले पहिऱ्याइनुहुनेछ। पतित मानवजातिको मुक्तिको महिमा ख्रीष्टकै हो। उद्धार पाएका जनहरूको भजन अनन्त युगहरूभरि यस्तै हुनेछ: “हामीलाई प्रेम गर्नुहुने र आफ्नो रगतले हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुहुने, ... उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्।” प्रकाश १:५, ६। MBND 154.2
उहाँ [पिता]-को सिंहासनमा विराजमान भएर राज्य गर्नुहुनेछ, र त्यो सिंहासनमा उहाँ एउटा पूजाहारी हुनुहुनेछ। अहिले उहाँको “महिमामय सिंहासनमा” बस्नुहुनेछैन; महिमाको राज्य अहिलेसम्म प्रवेश भएको छैन। उहाँको मध्यस्थकर्ताको कार्य समाप्त नभएसम्म परमेश्वरले “उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन” दिनुहुनेछैन, त्यो यस्तो राज्य हुनेछ जुन कहिल्यै “अन्त्य हुनेछैन।” लूका १:३२, ३३। एक पूजाहारीको रूपमा ख्रीष्ट अहिले पितासँग उहाँको सिंहासनमा बस्नुभएको छ। प्रकाश ३:२१। उहाँ अनन्त र स्व-अस्तित्व जनसँग सिंहासनमा हुनुहुन्छ, उहाँले नै “हाम्रा निर्बलताहरू” बोक्नुभयो, “र हाम्रो दुःख” भोग्नुभयो, जो “हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो,” ताकि “परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।” “कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ।” यशैया ५३:४; हिब्रू ४:१५; २:१८; १ यूहन्ना २:१। उहाँको मध्यस्थताचाहिँ एक निष्खोट जीवन, एक घोचिएको र भाँचिएको शरीरबाट भएको हो। चोट लागेका हातहरू, छेड़िएको कोखा, बिगारिएको खुट्टाले पतित मानिसको खातिर वकालत गर्दछ, जसको मुक्ति साँच्चै नै अपार मूल्यद्वारा किनिएको थियो। MBND 154.3
अनि दुवैको बीचमा शान्तिको सल्लाह हुनेछ। पिता र पुत्रको समान प्रेम नै पतित जातिको उद्धारको मूल हो। उहाँ जानुभन्दा अगाड़ि येशूले उहाँका चेलाहरूलाई भन्नुभयो: “म तिमीहरूका निम्ति पितासँग बिन्ती गरिदिनेछु भनी तिमीहरूलाई भन्दिनँ, किनभने पिता आफैले तिमीहरूलाई माया गर्नुहुन्छ।” यूहन्ना १६:२६, २७। “स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो।” २ कोरिन्थी ५:१९। अनि माथि भएको पवित्रस्थानको सेवकाइमा दुवै बीच शान्तिको सल्लाह हुनेछ। “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:१६। MBND 154.4
पवित्र वासस्थान के हो? भन्ने प्रश्नको उत्तर पवित्रशास्त्रमा स्पष्ट दिइएको छ। बाइबलमा “पवित्रस्थान” भन्ने भनाइले स्वर्गीय कुराहरूको नमूनाबमोजिम मोशाले बनाएको पवित्र वासस्थानलाई पहिले देखाउँछ; र दोस्रो रूपमा त्यसले पृथ्वीको पवित्रस्थानले प्रतिनिधित्व गरेको स्वर्गीय “साँचो पवित्र वासस्थान”-लाई देखाउँछ। ख्रीष्टको मृत्युमा साङ्केतिक सेवाकार्य अन्त्य भयो। स्वर्गको “साँचो पवित्र वासस्थान”-चाहिँ नयाँ करारको पवित्रस्थान हो। दानिएल ८:१४को अगमवाणी यो समय अवधिमा पूरा भयो, त्यसैकारण जुन पवित्रस्थानतर्फ केन्द्रित गर्दछ त्यो नयाँ करारको पवित्रस्थान हुनुपर्छ। २३०० दिनहरूको अन्तमा अर्थात् १८४४मा धेरै शताब्दीहरूदेखि पृथ्वीमा कुनै पवित्रस्थान नै थिएन। त्यसकारण “दुई हजार तीन सय दिनसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ” भनिने अगमवाणी स्वर्गको पवित्रस्थानलाई नै देखाउँछ भन्ने कुरामा कुनै शङ्का नै छैन। MBND 155.1
तर सबभन्दा महत्वपूर्ण प्रश्नको उत्तर बाँकी रहन्छ: पवित्रस्थानको शुद्धीकरण भनेको के हो त? पृथ्वीको पवित्रस्थानसँग सम्बन्धि एक यस्तो सेवाकाइ थियो जुन धर्मशास्त्रको पुरानो करारमा उल्लेख गरिएको छ। तर स्वर्गमा शुद्ध गर्नुपर्ने त्यस्तो केही कुरा हुनसक्छ र? हिब्रू ९मा पृथ्वी र स्वर्ग दुवै पवित्रस्थानको शुद्धीकरणको विषयमा स्पष्टसँग सिकाइएको छ। “व्यवस्थाअनुसार रगतले प्रायः सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन। यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू [जनावरको रगत] चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पऱ्यो” (हिब्रू ९:२२, २३) अर्थात् ख्रीष्टको अनमोल रगत। MBND 155.2
नकल र सकल सेवाकार्य दुवैमा रगतद्वारा शुद्धीकरण सम्पन्न गरिनुपर्छ; अघिल्लोमा जनावरको रगतले; पछिल्लोमा ख्रीष्टको रगतले; यो शुद्धीकरण रगतद्वारा नै किन हुनुपर्दछ भन्ने कारण स्वरूप पावल भन्दछन्, कि रगत नबगाईकन क्षमा हुन सक्दैन। क्षमा, अर्थात् पाप हटाउने कार्यचाहिँ सम्पन्न हुनुपर्छ। तर पृथ्वी वा स्वर्गको पवित्रस्थानसँग पापको सम्बन्ध कसरी हुन सक्थ्यो र? यो कुरा साङ्केतिक सेवाकार्यको सम्बन्धद्वारा सिक्न सकिन्छ; किनकि पृथ्वीमा सेवाकाइ गर्ने पूजाहारीहरूले “स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा” गर्दथे। हिब्रू ८:५। MBND 156.1
पृथ्वीको पवित्रस्थानको सेवाकार्यमा दुई विभागहरू थिए; पूजाहारीहरूले दैनिकरूपमा पवित्रस्थानमा सेवाकार्य गर्दथे, जबकि प्रधान पूजाहारीले वर्षमा एक पल्ट पवित्रस्थानको शुद्धीकरणका लागि महा-पवित्रस्थानमा प्रायश्चित्तको विशेष कार्य प्रस्तुत गर्दथ्यो। प्रत्येक दिन पश्चात्तापी पापीले आफ्नो बलिदान भेट हुने पालको ढोकामा ल्याउँथ्यो र आफ्ना हातहरू त्यस पशुको टाउकोमाथि राखेर आफ्नो पाप स्वीकार गर्दथ्यो, यसरी सङ्केतद्वारा आफूबाट त्यो पाप निर्दोष बलिमा सारेको देखाउँदथ्यो। त्यसपछि त्यो पशु मारिन्थ्यो। प्रेरित भन्दछन्, “रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।” “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ।” लेवी १७:११। भङ्ग भएको परमेश्वरको व्यवस्थाले अपराधीको जीवनको माग गर्दछ। जस्को दोष त्यस पशुले बोकेको हुन्थ्यो त्यही पापीको अधिकार गुमिसकेको जीवनलाई प्रतिनिधित्व गर्ने रगत नै पूजाहारीले पवित्रस्थानमा लगेर पर्दाको अघिल्लो पट्टि छर्किदिन्थ्यो; जुन पर्दापछाड़ि पापीले भङ्ग गरेको व्यवस्था राखिएको सन्दूक थियो। यस विधिबाट रगतको माध्यमद्वारा त्यो पाप पवित्रस्थानमा सारेको देखाइयो। कहिलेकाहीँ रगतलाई पवित्रस्थानमा लैजाँदैनथियो; तर त्यसको मासु पूजाहारीहरूले खान्थे, जसरी मोशाले हारूनका छोराहरूलाई निर्देशन दिएर भने: “समुदायको अधर्म बोक्न ... भनी परमेश्वरले यो तिमीहरूलाई दिनुभएको हो।” लेवी १०:१७ (KJV)। दुवै विधिहरूले पश्चात्तापीहरूबाट पाप पवित्रस्थानमा सारिएको उस्तै-उस्तै सङ्केत गऱ्यो। MBND 156.2
वर्षभरि दिन प्रतिदिन यस्ता कार्य भइरह्यो। यसरी इस्राएलका पापहरू पवित्रस्थानमा सरे, र ती हटाउन एउटा विशेष कार्यको आवश्यक थियो। प्रत्येक पवित्र भाग [कोठा]-को लागि प्रायश्चित्त गर्नू भनी परमेश्वरले आज्ञा दिनुभयो। “यसरी इस्राएलीहरूका अशुद्धि, अपराध र तिनीहरूका जम्मै पापको कारणले महा-पवित्रस्थानका निम्ति त्यसले प्रायश्चित गरोस्। तिनीहरूका अशुद्धिको बीचमा भएको भेट हुने पालको निम्ति पनि त्यसले त्यसै गरोस्।” त्यसले वेदीको लागि पनि प्रायश्चित्त गर्नुपर्नेथियो, “इस्राएलीहरूको अशुद्धिबाट वेदीलाई शुद्ध र पवित्र गरोस्।” लेवी १६:१६, १९। MBND 157.1
प्रायश्चित्तको महान् दिनमा वर्षको एक पल्ट पूजाहारी पवित्रस्थानलाई शुद्ध गर्न महा-पवित्रस्थानमा प्रवेश गर्थ्यो। त्यस कार्यद्वारा वार्षिक सेवकाइ सम्पन्न हुन्थ्यो। प्रायश्चित्तको दिनमा दुईवटा बोका भेट हुने पालको ढोकामा ल्याइन्थ्यो र तिनीहरूको बीचमा चिट्ठा लगाइन्थ्यो, “एउटा परमप्रभुको निम्ति र अर्कोचाहिँ छाड़ा छोडिने बोकाको निम्ति।” लेवी १६:८। परमप्रभुको बोकाको रूप चिट्ठामा पर्नेलाई चाहिँ मानिसहरूको पाप-बलि स्वरूप मारिन्थ्यो। पूजाहारीले त्यसको रगत पर्दाभित्र ल्याउँदथ्यो र त्यसलाई कृपा-आसनमाथि र कृपा-आसन अगाड़ि छर्कंदथ्यो। पर्दा अगाड़ि भएको धूपको वेदीमाथि पनि त्यो रगत छर्कनुपर्दथ्यो। MBND 157.2
“अनि हारूनले आफ्ना दुवै हात जिउँदो बोकाको टाउकोमा राखोस्, र इस्राएलीहरूका सारा अधर्म, अपराध र पाप स्वीकार गरेर बोकाको टाउकोमाथि राखिदिओस्। त्यसले ती पापहरू बोकाको टाउकोमा राखेर त्यसलाई अघिबाट खटाइराखेको मानिसको साथ उजाड़-स्थानमा पठाइदिओस्। यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्।” लेवी १६:२१, २२। त्यो छाड़ा छोडिएको बोका इस्राएलीहरूको छाउनीमा फेरि आउँदैनथ्यो र जुन मानिसले त्यसलाई लगेको हुन्थ्यो उसले छाउनीमा फर्कनुभन्दा अगाड़ि नै बग्ने खोलाको पानीले नुहाउनुपर्दथ्यो र लुगा धुनुपर्दथ्यो। MBND 157.3
परमेश्वरको पवित्रता र पापप्रति भएको उहाँको घृणाको विषयमा इस्राएलीहरूमाथि प्रभाव पार्न यो सम्पूर्ण विधिको प्रतिपादन गरिएको थियो; र त्यति मात्रै नभएर तिनीहरू अपवित्र नभईकन पापसँग सम्पर्कमा आउन सक्दैनथ्यो भन्ने कुरा बुझाउन सो गरिएको थियो। तिनीहरूका प्रायश्चित्तको कार्य भइरहेको समयमा प्रत्येक व्यक्तिले आ-आफ्नो प्राणलाई इन्कार गर्न आवश्यक थियो। सबै व्यवसायहरूबाट अलग रहनुपर्दथ्यो, र इस्राएलको सम्पूर्ण समुदायले परमेश्वरको सामु प्रार्थना, उपवास र हृदयको गहिरो खोज गर्दै गम्भीर नम्रताका साथ त्यो दिन बिताउनुपर्दथ्यो। MBND 158.1
प्रायश्चित्तको विषयमा साङ्केतिक सेवकाइद्वारा महत्वपूर्ण सत्यताहरू सिकाइएका छन्। पापीको सट्टामा एक बदला स्वीकार गरिएको थियो; तर पशुको रगतद्वारा पाप ढाकिँदैनथ्यो। एउटा उपाय उपलब्ध गराइयो जसद्वारा त्यो [पाप] पवित्रस्थानमा सारिएको थियो। रगत चढ़ाउनेद्वारा पापीले व्यवस्थाको अधिकारलाई स्वीकार गरिएको हुन्थ्यो, यसरी आफ्नो पाप स्वीकार गरिएको हुन्थ्यो, र आउने वाला एक मुक्तिदातामाथि विश्वास गरेर क्षमा प्राप्त गर्नका लागि आफ्नो इच्छा प्रकट गरिएको हुन्थ्यो; तर ऊ व्यवस्थाको दोषबाट पूर्णरूपमा फुक्का भने भइसकेको हुँदैनथ्यो। प्रायश्चित्तको दिनमा समुदायबाट बलि प्राप्त गरेर प्रधान पूजाहारीले त्यो बलिको रगत लिएर महा-पवित्रस्थानमा प्रवेश गर्दथ्यो, र त्यसका दाबीहरू सन्तुष्टि पार्न त्यो रगत व्यवस्थाको ठीक माथि कृपा-आसनमा छर्कदथ्यो। त्यसपछि उसको मध्यस्थकर्ताको पद्धतिअनुसार उसले त्यो पाप आफूमाथि धारण गर्दथ्यो र त्यसलाई पवित्रस्थानबाट बोकेर लैजान्थ्यो। उसले छाड़ा छोडिने बोकामाथि आफ्ना हातहरू राखेर ती सबै पापहरू स्वीकार गर्दथ्यो, यसरी साङ्केतिकरूपमा ती आफूदेखि त्यस बोकामा सार्दथ्यो। त्यसपछि त्यो बोकाले ती बोकेर टाढा लैजाँदथ्यो र ती पापहरू सदाका लागि मानिसहरूबाट अलग भयो भनी विश्वास गरिन्थ्यो। MBND 158.2
“स्वर्गका चीजहरूका नमुना र छाया”-अनुसार गरिएको सेवाकार्य यस्तै नै थियो। जुन सेवाकार्य पृथ्वीको साङ्केतिक पवित्रस्थानमा गरिन्थ्यो सोही स्वर्गीय साँचो पवित्रस्थानको सेवाकार्यमा गरिन्छ। उहाँको स्वर्गारोहणपछि हाम्रा उद्धारकर्ताले हाम्रा प्रधान पूजाहारीको रूपमा आफ्नो कार्य सुरु गर्नुभयो। पावल भन्दछन्: “ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ।” हिब्रू ९:२४। MBND 158.3
सम्पूर्ण वर्षभरि पूजाहारीले “पर्दा भित्रै” अर्थात् पवित्रस्थानको पहिलो कोठामा सेवाकार्य गर्दथ्यो, जुन पर्दाले ढोकाको रूप दियो र पवित्रस्थानलाई बाहिरी आँगनबाट छुट्यायो, त्यही सेवाकार्यले ख्रीष्ट उहाँको स्वर्गारोहणमा प्रवेश गर्नुभएको सेवकाइको कामलाई देखाउँछ। परमेश्वरको सामु पापबलिको रगत र इस्राएलको प्रार्थनाका साथ माथि पठाइने धूप चढाउने चाहिँ दैनिक सेवकाइमा पूजाहारीको काम थियो। त्यसरी नै ख्रीष्टले पापीहरूको खातिर आफ्नो रगतको बिन्ती पिताको सामु चढाउनुभयो, र उहाँको आफ्नै धार्मिकताको बहुमूल्य बास्ना, पश्चात्तापी विश्वासीहरूका प्रार्थनाहरूका साथ उहाँको सामु प्रस्तुत गर्नुभयो। स्वर्गमा भएको पवित्रस्थानको पहिलो कोठामा हुने सेवकाइ यस्तै थियो। MBND 159.1
येशू तिनीहरूको नजरबाट माथि उचालिने बेला ख्रीष्टका चेलाहरूले विश्वासद्वारा उहाँलाई त्यहाँ पछ्याए। यहाँ तिनीहरूको आशा केन्द्रित भयो; पावल भन्दछन्, “हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ, जहाँ हाम्रा पक्षमा अग्रदूत भएर ... येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।” “बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँका निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो।” हिब्रू ६:१९, २०; ९:१२। MBND 159.2
अठार शताब्दीहरूसम्म यो सेवकाइको कार्य पवित्रस्थानको पहिलो कोठामा निरन्तरता भइरह्यो। ख्रीष्टको रगतले पश्चात्तापी विश्वासीहरूको खातिर वकालत गऱ्यो, पितासँग तिनीहरूको पाप क्षमा र स्वीकारलाई सुरक्षित बनाए तापनि तिनीहरूको पाप अझैपनि अभिलेखका पुस्तकहरूमा बाँकी थियो। जसरी उदाहरणीय सेवकाइमा वर्षको अन्त्यमा एउटा प्रायश्चित्तको कार्य हुन्थ्यो, त्यसरी नै मानिसको उद्धारको लागि ख्रीष्टले गर्नुहुने कार्य पूरा हुन अघि पवित्रस्थानबाट पाप हटाउनको लागि प्रायश्चित्तको एउटा कार्य हुन्छ। यो त्यही सेवकाइ हो जुन २३०० दिनहरू सकिएपछि सुरुवात भयो। जसरी दानिएल अगमवक्ताले अगमवाणी बोले, त्यही समयमा, हाम्रा प्रधान पूजाहारी महा-पवित्रस्थानमा उहाँको गम्भीर कार्यको अन्तिम भाग पूरा गर्नका निम्ति पवित्रस्थान शुद्ध गर्न प्रवेश गर्नुभयो। MBND 159.3
जसरी प्राचीनकालमा मानिसहरूका पापहरू विश्वासद्वारा पापबलिमाथि राखिदिन्थे र त्यसको रगतको माध्यमद्वारा पृथ्वीको पवित्रस्थानमा साङ्केतिकरूपमा सारिन्थे, त्यसरी नै नयाँ करारमा पश्चात्तापीका पापहरू विश्वासको माध्यमद्वारा ख्रीष्टमाथि राखिन्छन् र वास्तवमा स्वर्गीय पवित्रस्थानमा सारिन्छन्। जसरी पृथ्वीमा भएको पवित्रस्थानको साङ्केतिक शुद्धीकरणचाहिँ त्यसलाई अशुद्ध बनाउने पापहरूलाई हटाउनेद्वारा पूरा हुन्थ्यो, त्यसरी नै त्यहाँ अभिलेखमा राखिएका पापहरू हटाउने वा मेटिदिनेद्वारा स्वर्गीय पवित्रस्थानको वास्तविक शुद्धीकरण पूरा हुनेछ। तर यो समाप्त हुनुभन्दा अगाड़ि क-कसले पापको पश्चात्ताप र ख्रीष्टमा विश्वास गर्नेद्वारा उहाँको प्रायश्चित्तका लाभहरू उठाउने हक पाएका छन् वा छैनन् भन्ने कुरा निश्चित गर्नका लागि अभिलेखका पुस्तकहरू जाँच्न आवश्यक छ। त्यसकारण पवित्रस्थानको शुद्धीकरणको प्रक्रियामा छानबिनको कार्य वा एक इन्साफको कार्य पनि समावेश भएको हुन्छ। ख्रीष्टले आफ्ना मानिसहरूलाई उद्धार गर्न आउनुभन्दा अगाड़ि नै यो कार्य सम्पादन गरिएको हुनुपर्दछ; जब उहाँ आउनुहुन्छ, हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल उहाँसँग छ। प्रकाश २२:१२। MBND 159.4
यसरी ज-जसले अगमवाणीको वचनको ज्योतिलाई अनुसरण गरे, तिनीहरूले १८४४मा अर्थात् २३०० दिनहरूको अन्तमा ख्रीष्ट पृथ्वीमा आउनुभएको होइन, तर उहाँको आगमनभन्दा अगाड़ि गरिनुपर्ने प्रायश्चित्तको अन्तिम कार्य स्वर्गीय पवित्रस्थानको महा-पवित्रस्थानमा सम्पादन गर्न उहाँ प्रवेश गर्नुभयो भन्ने कुरा तिनीहरूले बुझे। MBND 160.1
यो कुरा पनि देखियो कि पापबलिले ख्रीष्टलाई एक बलिको रूपमा प्रतिनिधित्व गऱ्यो र प्रधान पूजाहारीले ख्रीष्टलाई एक मध्यस्थकर्ताको रूपमा प्रतिनिधित्व गऱ्यो भने छाड़ा हुने बोकाले शैतानलाई पापको सृजकको रूपमा प्रतिनिधित्व गऱ्यो, जसमाथि अन्त्यमा सच्चा पश्चात्तापीहरूका पापहरू राखिनेछ। जब प्रधान पूजाहारीले पापबलिको रगतको तागतद्वारा पवित्रस्थानबाट पापहरू हटाउँथ्यो, तब ती पापहरूलाई उसले छाड़ा छोडिने बोकामाथि राखिदिन्थ्यो। जब ख्रीष्ट, उहाँको आफ्नै रगतको तागतद्वारा उहाँको सेवाकार्यको अन्त्यमा स्वर्गीय पवित्रस्थानबाट आफ्ना मानिसहरूका पापहरू हटाउनुहुन्छ, तब ती पापहरूलाई शैतानमाथि राखिदिनुहुनेछ, जसले इन्साफको कार्यन्वयनमा अन्तिम दण्ड़ भोग्नैपर्छ। छाड़ा छोडिने बोकालाई एकलास ठाउँतिर पठाइदिइन्थ्यो, इस्राएलको समुदायको बीचमा फेरि कहिल्यै नआउने गरी पठाइन्थ्यो। त्यसरी नै शैतानलाई परमेश्वर र उहाँका मानिसहरूको सामुन्नेबाट सदासर्वदाको लागि निर्वासित गरिनेछ, र पाप र पापीहरूको अन्तिम विनाशमा उसलाई उसको अस्तित्वबाट नै मेटिदिनेछ। MBND 160.2