Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ७. युसुफको चिहानमा

    अन्तमा येशूले विश्राम लिनुभयो । लज्‍जा र यातनाले भरिपूर्ण लामो दिनको अन्त्य भयो । जसै अस्ताउँदै गरेको सूर्यले शबाथ-दिनलाई निम्त्यायो तब परमेश्‍‍वरको पुत्र युसुफको चिहानको स्तब्धतामा सुत्‍नुभयो । उहाँले आफ्‍नो कार्य पूरा गर्नुभएकोले शान्तपूर्वक हात खुम्‍च्याई शबाथ-दिनको पवित्र घडीभर विश्राम लिनभयो ।PAP 140.1

    आदिमा परमेश्‍‍वर पिता तथा पुत्रले सृष्‍टिको कार्य पूरा गर्नुभए पश्‍चात् शबाथ-दिनमा विश्राम लिनुभएको थियो । जब “आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए” (उत्पत्ति २:१), तब सृष्‍टिकर्ता तथा सारा स्‍वर्गीय अस्तित्‍वहरूले त्यस महिमित दृश्‍‍यप्रतिको चिन्तनद्वारा खुशी मनाए । “त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्‍वर्गीयजनहरू रमाहटले कराए ।” अय्यूब ३८:७ । अब येशूले उद्धारको कार्यदेखि विश्राम लिनभयो; र यद्यपि उहाँलाई प्रेम गर्ने मानिसहरू पृथ्वीमा शोक व्यक्त गर्दैथिए तर स्‍वर्गमा चाहिँ हर्ष व्याप्‍त थियो । स्‍वर्गीय जनहरूका निम्ति भविष्यको प्रतिज्ञा महिमित तवरको थियो । एक पुनः स्थापित सृष्‍टि, उद्धार गरिएको मानवजातिले पापमाथि विजय हासिल गरेपश्‍चात पतन हुन सक्‍ने थिएन,-जुन परिणाम ख्रीष्‍टले पूर्ण गर्नुभएको कार्यमार्फत आउन सक्‍नेथियो त्यस परिणामलाई परमेश्‍‍वर तथा स्‍वर्गदूतहरूले देखे । यस दृश्‍‍यसित उहाँले विश्राम लिनुभएको दिनको असीमित सम्बन्ध छ । “उहाँका काम सिद्ध छन्;” र “परमेश्‍‍वरले जे गर्नुहुन्छ त्यो सधैंभरि नै रहिरहन्छ ।” व्यवस्था ३२:४; उपदेशक ३:१४ । “परमेश्‍‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्‍जेल” (प्रेरित ३:२१) सृष्‍टिको शबाथ-दिन, जुन दिनमा येशूले युसुफको चिहानमा विश्राम लिनुभयो, सो दिन अझपनि विश्रामको दिन तथा आनन्दको दिन हुनेछ । स्‍वर्ग तथा पृथ्वी “एक शबाथदेखि अर्को शबाथसम्म” (यशैया ६६:२३) । स्तुतिगानमा एकत्रित हुनेछन् जब बचाइएका सारा मानिसहरू परमेश्‍‍वर तथा थुमाको आराधना गर्नका निम्ति निहुरिनेछन् ।PAP 140.2

    ख्रीष्‍टलाई क्रूसमा चढाइएको दिनको अन्तिम घटनाक्रममार्फत भविष्यवाणी पूरा हुनआएको बारेमा तथा ख्रीष्‍टको ईश्‍‍वरत्‍वले ल्याएको नयाँ साक्षीको बारेमा ताजा प्रमाण दिइएको थियो । जब क्रूसदेखि अन्धकार हट्‍नपुगेको थियो, तथा मुक्तिदाताले अन्तिम मृत्युको पुकार गरिसक्‍नुभएको थियो तब तत्कालै यसो भनिएको अर्को वाणी आयो, “साँच्‍चै, यिनी परमेश्‍‍वरका पुत्र रहेछन् ।” मत्ती २७:५४ ।PAP 141.1

    यी शब्दहरू कुनै कानेखुसी रूपमा बोलिएको थिएनन् । यो आवाज कहाँबाट आएको रहेछ भन्दै सबै मानिसहरूका नजर त्यसतर्फ फर्किएका थिए । यो कसको आवाज थियो त ? यो आवाज रोमी कप्‍तानको थियो । मुक्तिदाताको ईश्‍‍वरीय धैर्यताले, तथा उहाँको ओंठमा विजयको पुकारका साथ उहाँको अचानकको मृत्युले यस अन्यजाति कप्‍तानलाई प्रभावित तुल्याएको थियो । चोटै चोटले भरिएको क्रूसमा टाँगिएको उहाँको शरीरमा त्यस कप्‍तानले परमेश्‍‍वरको पुत्रको स्‍वरूपलाई चिन्यो । उसले आफ्‍नो विश्‍‍वासलाई स्‍वीकार नगरी बस्‍न सकेन । यसप्रकार हाम्रो उद्धारकर्ताले स्‍वयम् आफ्‍नै आत्माको प्रसव वेदनालाई देख्‍नु पर्ने थियो भन्ने पुनः अर्को प्रमाण दिइएको थियो । उहाँको मृत्युको दिनमा रोमी पहरेदारका नायक, मुक्तिदाताको क्रूस बोक्‍ने व्यक्ति तथा उहाँको छेवैमा क्रूसमा टाँगिएको चोर जस्ता तीन व्यक्तिहरूले आ-आफ्‍ना विश्‍‍वासको घोषणा गरेका थिए जुन मानिसहरूका बीचमा अधिक भिन्नता थियो ।PAP 141.2

    साँझपख कलवरीमा अलौकिक सन्नाटा छायो । भीड तितर बितर हुनपुगे, र धेरै मानिसहरू बिहानको तुलनामा अघिकमात्रामा आत्मादेखि नै परिवर्तित भएको अवस्थामा यरुशलेमतर्फ फर्के । कैयौं मानिसहरू ख्रीष्‍टप्रतिको घृणाका कारण नभई उत्सुकताका कारण क्रूसमा चढाइएको दृश्‍‍य हेर्न भेला भएका थिए । तैपनि पूजाहारीहरूले उहाँमाथि लगाएका आरोपहरूमाथि तिनीहरूले विश्‍‍वास गरे अनि ख्रीष्‍टलाई एक अपराधीको रूपमा हेरे । अस्‍वाभाविक उत्तेजनाका साथ तिनीहरू उहाँविरुद्ध गालीगलौज गर्ने क्रममा भीडमा सामेल हुनपुगेका थिए । तर जब पृथ्वीमा अन्धकार छायो, र जब तिनीहरू स्‍वयम् आफ्‍नै अन्तरात्मादेखि दोषी ठहरिए तब तिनीहरूले आफ्‍ना महा भूलको बारेमा दोषी महसुस गरे । त्यस भयानक अन्धकारमाझ कुनै उपहास वा खिल्‍लीपूर्ण आवाज आएन; र जब अन्धकार हटेर गयो तब तिनीहरू गम्भीर मौनताका साथ आ-आफ्‍ना घर फर्के । तिनीहरू विश्‍‍वस्त थिए कि पूवजाहारीहरूका आरोप तथ्यहीन थिए, कि येशू बहाना बनाउनुहुनेवाला हुनुहुन्न; र जब केही हप्‍तापछि पत्रुसले पेन्तिकोसको दिनमा प्रचार गरे तब ख्रीष्‍टमा परिवर्तित भएका हजारौं मानिसहरूमध्ये तिनीहरू पनि सामेल थिए ।PAP 142.1

    तर यहूदी नेताहरू आफूले देखेका घटनाहरूद्वारा समेत परिवर्तित भएका थिएनन् । येशूप्रति तिनीहरूका मनमा भएको घृणामा कुनै कमी आएको थिएन । येशूलाई क्रूसमा टाँगिएको समयमा पृथ्वीलाई ढाकेको अन्धकार अहिले पूजाहारी तथा शासकहरूका मनलाई अझैपनि ढाकिरहेको अन्धकारभन्दा बढी घनघोर थिएन । ख्रीष्‍टको जन्मको समयमा ताराहरूले समेत उहाँलाई चिनेका थिए, तथा उहाँ सुतिरहनुभएको गोठसम्म बुद्धिमानी मानिसहरूलाई डोऱ्याएका थिए । स्‍वर्गदूतहरूले उहाँलाई चिनेका थिए र बेथलेहेमको मैदानमा उहाँको स्तुति गाएका थिए । समुद्रले पनि उहाँको आवाजलाई चिनेको तथा उहाँको आज्ञालाई पालन गरेको थियो । रोग तथा मृत्युले उहाँको अधिकारलाई चिनेका थिए र उहाँको सामु तिनका शिकारलाई समर्पण गरेका थिए । सूर्यले उहाँलाई चिनेको थियो, र उहाँको वेदनायुक्त मृत्युको दृश्‍‍यप्रति आफ्‍नो उज्‍ज्‍वल अनुहारलाई लुकाएको थियो । चट्टानहरूले उहाँलाई चिनेका थिए र उहाँको पुकारप्रति टुक्रिंदै काँप्‍नपुगेका थिए । निर्जीव प्रकृतिले ख्रीष्‍टलाई चिनेको थियो, र उहाँको ईश्‍‍वरत्‍वको गवाही दिएको थियो । तर इस्राएलका पूजाहारी तथा शासकहरूले परमेश्‍‍वरको पुत्रलाई चिनेका थिएनन् ।PAP 143.1

    पूजाहारी तथा शासकहरू वेचैन थिए । ख्रीष्‍टलाई मृत्युको मुखसम्म पुऱ्याउने कार्यद्वारा तिनीहरूले आफ्‍ना उद्देश्‍‍यलाई पूरा गरेका थिए; तर आफूले अपेक्षा राखेका विजयको महसुस गरेका थिएनन् । उनीहरूका त्यस प्रत्यक्ष विजयको घडीमा समेत तिनीहरू अब के हुने हो भन्ने शंकाहरूका कारण हैरान थिए । तिनीहरूले उहाँको यस पुकारलाई सुने, “अब सिद्धियो ।” “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु ।” यूहन्ना १९:३०; लूका २३:४६ । तिनीहरूले चट्टान चकनाचुर भएको देखेका थिए, भीषण भुइँचालोको महसुस गरेका थिए, र तिनीहरू वेचैनी तथा असजिलोपनको महसुस गर्दैथिए ।PAP 143.2

    ख्रीष्‍ट यस संसारमा रहनुहुँदा मानिसहरूका बीचमा उहाँको जुन प्रभाव थियो त्यसप्रति तिनीहरू ईर्ष्यालु थिए; र तिनीहरू उहाँको मृत्युमा समेत ईर्ष्यालु थिए । तिनीहरू ख्रीष्‍ट जीवित रहनुहुँदा भन्दा उहाँको मृत्युप्रति बढी भयभीत थिए । उहाँलाई क्रूसमा चढाइएको दृश्‍‍य हेर्न उपस्थित मानिसहरूका ध्यान भड्‍किन पुग्‍ने पो हो कि भन्ने भय उनीहरूमा व्याप्‍त थियो । तिनीहरू त्यस दिनको कार्यको परिणामप्रति भयभीत देखिन्थे । तिनीहरू कुनै परिस्थितिमा पनि उहाँको शरीरलाई शाबथ-दिनमा क्रूसमा झुण्डीरहन दिनेछैनन् । अब शबाथ-दिन हुनेवाला थियो, र त्यसरी उहाँको शरीरलाई क्रूसमा राखि छोड्‍नु भनेको शबाथ-दिनको पवित्रतालाई उल्‍लङ्घन गर्नु सावित हुनेथियो । यसै कुरालाई बहाना बनाउँदै यहूदी अगुवाहरूले मृत्युको शिकार बन्नपुग्‍नु भएको ख्रीष्‍ट तथा दुई चोरलाई तुरुन्तै मारियोस् र सुर्यास्त हुनुअघि नै तिनीहरूका मृत शरीरलाई हटाइयोस् भनी पिलातससँग अनुरोध गरे ।PAP 144.1

    पिलातस पनि तिनीहरूजस्तै शबाथ-दिनमा येशूको मृत शरीर क्रूसमै रहिरहोस् भनी अनिच्छुक थियो । पिलातसको स्‍वीकृति प्राप्‍त गरिएपछि ती दुई चोरहरूलाई छिटै मार्नका निम्ति तिनीहरूका खुट्टा भाँच्‍चियो; तर त्यस समय येशूको मृत्यु भइसकेको थियो । यसप्रकार परमेश्‍‍वरको थुमाको बलिदान मार्फत निस्तार-चाडको व्यवस्था पूरा हुनआएको थियो, “तिनीहरूले भोलिपल्ट बिहानसम्म त्यसबाट केही पनि बाँकी नराखून् । त्यसको कुनै हाड पनि नभाँचून् । निस्तार-चाडको सबै नियमअनुसार तिनीहरूले मानून् ।” गन्ती ९:१२ ।PAP 144.2

    पूजाहारी तथा शासकहरू ख्रीष्‍टलाई मृत भेट्टाउँदा आश्‍चर्यचकित भए । क्रूसको मृत्यु एक सुस्त प्रक्रिया थियो; यसरी क्रूसमा टाँगिने व्यक्तिको जीवन कहिले समाप्‍त भयो भनी निर्धारण गर्नु कठिन कार्य थियो । क्रूसमा टाँगिएको छ घण्टाको अवधीभरमै कुनै व्यक्ति मर्नु भनेको कहिल्यै नसुनिएको कुरा थियो । पूजाहारीहरूले येशूको मृत्युको बारेमा निश्‍चित गर्न चाहेका थिए, र तिनीहरूका सुझावअनुसार एक सिपाहीले मुक्तिदाताको कोखामा भालाले घोंच्यो । यसरी चोट पारिएको उहाँको शरीरदेखि रगत तथा पानीको दुई स्पष्‍ट धारा बहे । हेर्नेजति सबैले यस दृश्‍‍यलाई देखे, र युहन्ना यस घटनालाई यसरी निश्‍चयपूर्वक वर्णन गर्दछन्, “सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोंच्यो, र तुरुन्तै रगत र पानी निस्क्‍यो । तिमीहरू पनि विश्‍‍वास गर्न सक भनी यो देख्‍नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ । उहाँको कुनै पनि हड्डी भाँचिनेछैन भन्ने धर्मशास्‍‌त्रको वचन पूरा होस् भनी यी कुरा हुन आए ।” पुनः अर्को ठाउँमा धर्मशास्‍‌त्र यसरी बताउँदछ, “जसलाई तिनीहरूले घोंचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन् ।” यूहन्ना १९:३४-३७ ।PAP 145.1

    पुनरुत्थानपछि ख्रीष्‍ट क्रूसमा मर्नुभएन, उहाँ केवल बेहोस मात्र हुनुभएको थियो, र केही समयपछि पुनः होसमा आउनुभयो भनी पूजाहारी तथा शासकहरूले हल्‍ला फैलाए । अर्को खबरअनुसार चिहानमा गाडिएको शरीर वास्तविक हाड र मासुको शरीर नभई शरीरको रूप मात्र थियो । रोमी सिपाहीहरूका कार्यले यस अवास्तविक कुरालाई झुट्टा सावित गऱ्यो । उहाँको मृत्यु भइसकेको कारण तिनीहरूले उहाँको खुट्टा भाँचेका थिएनन् । तिनीहरूले पूजाहारीहरूलाई सन्तुष्‍ट पार्ने हेतुले उहाँको कोखामा भाला घोंचेका थिए । यदि अझसम्म पनि उहाँको मृत्यु नभएको भए त्यस भालाको चोटले तत्काल मृत्यु ल्याउन सक्‍नेथियो ।PAP 145.2

    येशूको मृत्युको कारण त्यस भालाको प्रहार, वा क्रूसको पीडा थिएन । मत्ती २७:५० तथा लूका २३:४६ मुताविक आफ्‍नो मृत्युको समयको उहाँको त्यस तीखो पुकार, र उहाँको कोखादेखि बहेको रगत तथा पानीको धाराले उहाँ असह्‍य वेदनाका कारण मर्नुभएको थियो भन्ने कुरालाई घोषणा गर्दछ । उहाँको हृदय मानसिक वेदनाका कारण छिया छिया हुनपुगेको थियो । यस संसारको पापले नै उहाँलाई मारेको थियो ।PAP 146.1

    ख्रीष्‍टको मृत्युको साथ साथै उहाँका चेलाहरूका आशाहरू पनि मरे । तिनीहरूले उहाँको बन्द आँखा, झुकेको शिर, रगतद्वारा लट्टिएका कपाल, तथा काँटी ठोकिएका हात गोडातर्फ हेरे, र तिनीहरूका वेदना अवर्णनीय तवरको थियो । अन्तिम पलसम्मै तिनीहरूले उहाँ मर्नुहुन्छ भन्ने कुरामाथि विश्‍‍वास गरेका थिएनन्; र उहाँ वास्तवमै मर्नुभयो भन्ने कुरालाई तिनीहरूले मुश्‍‍किलले विश्‍‍वास गरे । शोकको बोझले दबिनपुगेका कारण तिनीहरूले यसै दृश्‍‍यको बारेमा भविष्यवाणी गरिएको उहाँका शब्दहरूलाई स्मरण गर्न सकेनन् । उहाँले भन्नुभएका कुनै कुराले पनि तिनीहरूलाई अहिले शान्त्‍वना प्रदान गरेन । तिनीहरूले क्रूस तथा यसको रक्ताम्य शिकारलाई मात्र देखे । नैराश्‍‍यका कारण भविष्य अन्धकार देखिन्थ्यो । येशूप्रति तिनीहरूमा भएको विश्‍‍वास मरिसकेको थियो; तर तिनीहरूले आफ्‍ना परमप्रभुलाई यसभन्दा पहिले यसरी कहिल्यै प्रेम गरेका थिएनन् । यसभन्दा पहिले तिनीहरूले कहिल्यै पनि उहाँको श्रेष्‍ठता तथा आफ्‍ना जीवनमा उहाँको उपस्थितिको खाँचोको बारेमा महसुस गरेका थिएनन् ।PAP 146.2

    मृत्युमा समेत ख्रीष्‍टको शरीर उहाँका चेलाहरूका निम्ति अति अमूल्य थियो । तिनीहरूले सम्मान उहाँको दफन गर्ने इच्छा गरेका थिए तर सो काम कसरी पूरा गर्ने भनी तिनीहरूलाई थाहा थिएन । येशूलाई रोमी सरकारविरुद्ध राजद्रोहको अपराधमा दोषी ठहराइएको थियो र यस अपराधका कारण मृत्युदण्ड दिइएका अपराधीहरूलाई विशेषरूपमा उपलब्ध गरिएको चिहानमा गाडिने गरिन्थ्यो जुन चिहान केवल यस्तै अपराधीहरूका लागि तोकिएको हुन्थ्यो । चेला यूहन्ना गालीलका स्‍‌त्रीहरूका साथ क्रूस वरिपरि नै प्रतिक्षा गरिरहेका थिए । तिनीहरूले आफ्‍ना परमप्रभुको मृत शरीरलाई भावनारहित सिपाहीहरूद्वारा जथाभावी गरिन तथा सम्मानरहित चिहानमा गाडिनका निम्ति त्यत्तिकै छोडेर जान सकेनन् । तैपनि तिनीहरूले यसलाई रोक्‍न सकेनन् तिनीहरूले यहूदी अधिकारीहरूदेखि कुनै निगाह प्राप्‍त गर्न सकेनन्, र तिनीहरूसँग पिलातसको सामु पनि कुनै प्रभाव थिएन ।PAP 147.1

    यस आपतकालिन घडीमा अर्मितियाको युसुफ तथा निकोदिमस चेलाहरूलाई मद्दत गर्न आए । ती दुबैजना यरुशलेमको उच्‍च परिषदका सदस्य थिए र तिनीहरू पिलातससँग परिचित थिए । ती दुबै व्यक्तिहरू सम्पन्न तथा प्रभावशाली थिए । येशूको मृत शरीरलाई सम्मान दफन गरिनुपर्छ भनी ती दुबैले अठोट लिएका थिए ।PAP 147.2

    युसुफ साहसपूर्वक पिलातसकहाँ गई येशूको मृत शरीर पाउँ भनी बिन्ति गरे । येशूको साँच्‍चै नै मृत्यु भएको छ भन्ने कुरालाई पिलातसले पहिलोपटक सुन्यो । क्रूसको घटनाको बारेमा पिलातस कहाँ बाझिँदो खबरहरू पुुगेको थियो, तर उसलाई ख्रीष्‍टको मृत्युको जानकारीदेखि बञ्‍चित राखिएको थियो । उहाँको मृत शरीरको बारेमा ख्रीष्‍टको चेलाहरूले गर्न सक्‍ने छलको बारेमा पूजाहारी तथा शासकहरूले पिलातसलाई चेतावनी दिइसकेका थिए । युसुफको अनुरोध सुनिसकेपछि पिलातसले क्रूसको प्रमुख पहरेदार रोमी कप्‍तानलाई बोलाइपठायो, र येशूको मृत्युको वास्तविकताको बारेमा जानकारी लियो । पिलातसले पनि युसुफको मौखिक वक्तव्यलाई पुष्‍टि गर्दै रोमी कप्‍तानदेखि कलवरीको घटनाक्रमका बारेमा ज्ञान हासिल गऱ्यो ।PAP 148.1

    युसुफको अनुरोधलाई स्‍वीकार गरियो । जब यूहन्ना आफ्‍नो गुरुको दफनको बारेमा दुविधामा परिरहेका थिए तब युसुफ ख्रीष्‍टको मृत शरीर लैजाने पिलातसको आदेशका साथ फर्किए भने निकोदेमस चाहिँ उहाँको शरीरमा लगाउनका निम्ति करिब तेत्तिस किलो मूर्र र एलवा मिश्रित द्रव्यका साथ आए । सारा यरुशलेमको सवार्धिक सम्मानयुक्त व्यक्तिहरूले समेत मृत्युमा त्यति धेरै सम्मान प्राप्‍त गरेको थिएन । यी धनी शासकहरू पनि आफ्‍ना गुरुको दफनप्रति तिनीहरू जत्तिकै उत्सुक देख्दा चेलाहरू आश्‍चर्य चकित बन्नपुगे ।PAP 148.2

    जब मुक्तिदाता जीवित हुनुहुन्थ्यो तब युसुफ तथा निकोदेमस दुबैले उहाँलाई खुलारूपमा स्‍वीकार गरेका थिएनन् । तिनीहरूका यस कदमले तिनीहरुलाई यरुशलेमको उच्‍च परिषदको सदस्यतादेखि वहिष्कार गर्नेछ भन्ने कुरा तिनीहरूलाई थाहा थियो, र तिनीहरूले यस महासभाको सदस्यको हैसियतले आफूूमा निहित प्रभावद्वारा उहाँको रक्षा गर्ने आशा राखेका थिए । तिनीहरूले यसमा केही समयसम्म सफलता हासिल गरेको भान हुन्थ्यो; तर कपटी पूजाहारीहरूले ख्रीष्‍टप्रति तिनीहरूका निगाह देख्‍नसाथ तिनीहरूका योजनाहरूलाई विफल तुल्याइदिए । तिनीहरूका अनुपस्थितिमा येशूलाई दोषी ठहराई क्रूसमा चढाइनका निम्ति हस्तान्तरण गरिएको थियो । अब ख्रीष्‍टको मृत्यु भइसकेको हुनाले तिनीहरूले उहाँप्रतिको आफ्‍नो सम्बन्धलाई लुकाएनन् । जब चेलाहरू आफूलाई उहाँको चेलाका रूपमा प्रकट गर्न डराइरहेका थिए भने युसुफ र निकोदेमस चाहिँ साहसपूर्वक तिनीहरूलाई मद्दत गर्न सरिक भए । यतिखेर ती धनी तथा प्रतिष्‍ठित मानिसहरूका मद्दतको ठूलो खाँचो थियो । तिनीहरूले आफ्‍ना गुरुका निम्ति ती कार्यहरू गर्न सक्‍नेथिए जुन कुरा गर्न असहाय चेलाहरूका निम्ति असम्भव थियो; र तिनीहरूका धन तथा प्रतिष्‍ठाले ती चेलाहरूलाई पूजाहारी तथा शासकहरूका शत्रुभावदेखि ठूलो परिमाणमा बचाएको थियो ।PAP 149.1

    तिनीहरूले विस्तारै श्रद्धापूर्वक स्‍वयम् आफ्‍नै हातद्वारा येशूको मृत शरीरलाई क्रूसदेखि हटाए । जब तिनीहरूले उहाँको शरीरमा भएका चोटहरूलाई देखे तब तिनीहरूका आँखा सहानुभूतिको आँसुले भरिनपुगे । युसुफसँग चट्टान कोपेर बनाइएको निजी चिहान थियो । उनले सो चिहान स्‍वयम् आफ्‍नै निम्ति जोगाइराखेका थिए; तर सो चिहान कलवरीको नजिकै भएकोले उनले यसलाई येशूको निम्ति तयार पारे । उहाँको शरीरलाई निकोदेमसले ल्याएको मसलाका साथ होशियारीपूर्वक कपडाद्वारा बेरियो र मुक्तिदातालाई चिहानतर्फ लगियो । त्यहाँ तीन चेलाहरूले उहाँको गोडालाई सीधा पारे, र चोटले भरिएको हातलाई धड्‍कनरहित छातीमाथि राखे । गालीली स्‍‌त्रीहरू आफ्‍नो निर्जिव प्रिय गुरुलाई जे जति सेवा गर्न सकिन्छ सो गर्नका निम्ति त्यहाँ आएका थिए । तब तिनीहरूले चिहानको प्रवेशद्वार भारी ढुङ्गा गुडाइएको देखे, र मुक्तिदातालाई विश्राम गर्नका निम्ति छाडियो । ती स्‍‌त्रीहरू अन्तिम पलका लागि क्रूस तथा ख्रीष्‍टको चिहानमा उपस्थित थिए । जब बेलुकीको समय भयो, मरियम मग्दालिन तथा अन्य स्‍‌त्रीहरू आफ्‍ना प्रिय गुरुको दुर्भाग्यप्रति शोकका साथ आँसु बहाउँदै उहाँको चिहानमा वरिपरि टहलिरहे । “अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे ।” लूका २३:५६ ।PAP 149.2

    त्यहि शबाथ-दिन शोकाकुल चेलाहरूका साथसाथै पूजाहारी, शासक, धर्मगुरु, तथा अन्य मानिसहरूका निम्ति अविस्मरणीय दिन थियो । तयारीको दिन बेलुकिपख घाम अस्ताउनासाथ शाबाथ-दिनको शुरुवात भएको संकेत दिने तुरहीको आवाज आयो । शताब्दीऔंदेखि मनाइँदै आएको निस्तार चाड अहिले पनि मनाइयो, जबकि यस चाडले औंल्याएको परमप्रभु भने दुष्‍ट हातद्वारा मारिनुभयो, र युसुफको चिहानमा गाडिइनुभयो । शबाथ-दिनमा मन्दिरको चोक उपासकहरूद्वारा भरियो । गोलगथाको प्रधान पूजाहारी पनि मन्दिरमा उपस्थित थिए जो आफ्‍नो भव्य पूजाहारी बस्‍‌त्रद्वारा सुसज्‍जित थिए । सेतो फेटाले सुसज्‍जित पूजाहारीहरूले मन्दिरमा आफ्‍ना कार्य सम्पादन गरे । तर पापको निम्ति साँढे तथा बोकाहरूका रगतको बलि चढाइदै गर्दा त्यहाँ उपस्थित केही मानिसहरूले असजिलोपनको महसुस गरे । रूपले प्रतिरूप फेला पारेको छ तथा संसारको पापका खातिर असीमित बलिदान गरिएको छ भन्ने कुराप्रति तिनीहरू अनभिज्ञ थिए । यसरी वैधिक सेवाकाइ गर्नुको कुनै महत्‍व छैन भनी तिनीहरूलाई थाहा थिएन । यस भन्दा पहिला कहिल्यै पनि यो वैधिक सेवाकाइलाई यति बाझिँदो भावनाका साथ हेरिएको थिएन । तुरही र अन्य सांगितिक वाद्यवादन तथा भजन गाउने मानिसहरूका आवाज साविकको जस्तै चर्को तथा स्पष्‍ट थिए । तर सर्वत्र अनौठोपनको भावना छायो । एकपछि अर्को गर्दै धेरैले त्यस अचम्मको घटनाको बारेमा सोधपुछ गरे । यस समयसम्म महा पवित्रस्थानलाई अनाहुत प्रवेशदेखि पवित्ररूपमा रक्षा गरिदैआइएको थियो । तर सो महा पवित्रस्थान हरेक आँखाको सामु खुला थियो । शुद्ध सूती कपडाद्वारा बनेको सुनौलो, रातो, तथा कलेजीे भारी पर्दा टुप्पादेखि फेदसम्मै च्यातिएको थियो । जुन स्थानमा येहोवेले उहाँको महिमा प्रकट गर्नका निम्ति प्रधान पूजाहारीसँग भेट्‍ने गर्नुहुन्थ्यो, परमेश्‍‍वरको पवित्र दर्शन-भेटको कोठा अब हरेक आँखाका सामु खुला थियो,-जुन स्थानलाई परमेश्‍‍वरले यस उप्रान्त मान्यता दिनुभएन । पूजाहारीहरूले वेदीको सामु मलिन भावनाका साथ सेवाकाइ गरेका थिए । महा पवित्रस्थानको पवित्र रहस्यलाई यसरी खुला प्रकट भएपछि तिनीहरूका मनमा आउँदो विपत्तिको भय छायो ।PAP 150.1

    कैयौं मानिसहरू कलवरीको दृश्‍‍यले उब्‍जाएका बिचारहरूमा डुब्‍नपुगेका थिए । क्रूसको घटनादेखि पुनरुत्थानको घटनामा कैयौं मानिसहरू आफूले मनाइरहेका निस्तार चाडको पूर्ण अर्थको बारेमा बुझ्‍न, येशू आफूले दाबी गर्नुभएअनुसारको अस्तित्‍व हुनुहुन्न भनी प्रमाण फेला पार्न; तथा केही मानिसहरू चाहिँ शोकाकुल हृदयका साथ उहाँ नै साँचो मसिह हुनुहुन्छ भन्ने प्रमाणको खोजी गर्दै निरन्तररूपमा पवित्रशास्‍‌त्रमा अगमवाणीहरूका खोजी गर्दैथिए । भिन्नाभिन्नै उद्देश्‍‍यहरूका साथ खोजी गरिएता पनि बितेका केही दिन पहिले घटेका घटनाक्रमहरूमा भविष्यवाणी पूरा हुनआएको थियो, तथा क्रूसमा टाँगिनुभएको येशू नै संसारको उद्धारकर्ता हुनुहुन्छ भन्ने उही सत्यतामाथि सबै मानिसहरू विश्‍‍वस्त थिए । पूजाहारी तथा अन्य धेरै मानिसहरू ख्रीष्‍टको वास्तविक चरित्रप्रति विश्‍‍वस्त भएका थिए । तिनीहरूका भविष्यवाणीदेखि खोजी गर्ने क्रम व्यर्थै सावित भएनन्, र उहाँको पुनरुत्थानपछि तिनीहरूले उहाँलाई परमेश्‍‍वरको पुत्रको रूपमा स्‍वीकार गरे ।PAP 151.1

    जब निकोदेमसले क्रूसमा टाँगिनुभएको येशूलाई देखे तब उनले उहाँले जैतुनको डाँडामा बोल्‍नुभएका निम्‍न शब्दहरूलाई याद गरे: “जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ र जस-जसले उहाँमाथि विश्‍‍वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” यूहन्ना ३:१४, १५ । त्यस शबाथ-दिनमा जब ख्रीष्‍ट चिहानमा हुनुहुन्थ्यो तब निकोदेमसले चिन्तन गर्ने अवसर पाएका थिए । उनको मन अझ प्रष्‍ट हुनपुगे, र येशूले बोल्‍नभएका शब्दहरू अब रहस्यमयी सावित भएनन् । निकोदेमसले मुक्तिदाता जीवित रहनुहुँदा उहाँसित सम्बन्ध नगाँसेका कारण धेरै कुरा गुमाएका छन् भनी उनले महसुस गरे । उनले अब कलबरीको घटनाक्रमलाई स्मरण गरे । उहाँका हत्याराहरूका निम्ति ख्रीष्‍टको प्रार्थनाले तथा क्रूसको मृत्युको सामना गरिरहेको चोरको बिन्तिप्रति उहाँको जवाफले महासभाको त्यस शिक्षित सदस्यको हृदयलाई छोयो । उनले मुक्तिदाताको वेदनातर्फ पुनः नजर लगाए; र एक विजेताले जस्तो “अब सिद्धियो” भन्ने उहाँको अन्तिम पुकारलाई उनले सुने । उनले भुइँचालोद्वारा कम्पन भएको पृथ्वी, अन्धकार आकाश, मन्दिरको च्यातिएको पर्दा, चकनाचुर हुनपुगेका चट्टानहरूलाई देखे र यसप्रकार उनको विश्‍‍वास सदाको लागि स्थापित हुनपुग्यो । जुन घटनाले चेलाहरूका आशाहरूलाई चकनाचुर पारेको थियो त्यसैले युसुफ र निकोदेमसलाई येशूको ईश्‍‍वरत्‍वको बारेमा विश्‍‍वस्त तुल्यायो । तिनीहरूका भयलाई दृढ तथा अविचलित विश्‍‍वासको साहसले जितेको थियो ।PAP 152.1

    ख्रीष्‍टलाई यसरी चिहानमा गाडिनुअघि उहाँले यति धेरै मानिसका ध्यानलाई आकर्षित गर्नुभएको थिएन । आफ्‍ना रीतिअनुसार मानिसहरूले आफ्‍ना बिरामी तथा पीडित नातेदारहरूलाई मन्दिरको चोकमा ल्याई नासरतको येशूको खोजी गर्ने गर्दथे । कैयौं मानिसहरू उहाँको खोजी गर्दै धेरै टाढाबाट आएका थिए किनकि उहाँले धेरैलाई निको पार्नुभएको तथा मरेकाहरूलाई जीवित तुल्याउनु भएको थियो । हामीलाई निको पार्नुहुने ख्रीष्‍ट चाहियो भन्ने पुकार सर्वत्र सुनिन्थ्यो । यसै अवसरमा कुष्‍ठरोगको लक्षण देखिएका मानिसहरूलाई पूजाहारीहरूले जाँच गरेका थिए । कैयौं मानिसहरू आफ्‍ना पति, पत्‍नी वा सन्तानहरूले कुष्‍ठरोगी भनी पुकारेका सुन्न बाध्य थिए, र तिनीहरूले आफ्‍ना घर परिवार तथा मित्रहरूलाई त्यागेर अपरिचित मानिसहरूका सामु “अशुद्ध, अशुद्ध !” भनी चेतावनी दिनुपर्ने थियो । नासरतको येशूको जुन हितैषी हातहरू घृणित कुष्‍ठरोगीलाई निको तुल्याउनका निम्ति ती रोगीहरूलाई छुन समेत पछि हटेका थिएनन् तिनै हातहरू अहिले उहाँको छातीमा पसारिएका थिए । उहाँका जुन ओंठहरूले एक कुष्‍ठरोगीको बिन्तिलाई “म इच्छा गर्छु, तिमी निको भइजाऊ” (मत्ती ८:३) भन्ने सान्त्‍वनाका साथ जवाफ दिनुभएको थियो ती ओंठहरू अहिले शान्त थिए । कैयौंले सहानुुभूति तथा छुटकाराका लागि प्रधान पूजाहारी तथा शासकहरूसँग गुहारेका थिए, तर ती सबै पुकार व्यर्थ ठहरिए । तिनीहरूले पुनः आफ्‍ना सामु जीवित ख्रीष्‍ट होस् भनी निधो गरे । हठी उत्सुकताका साथ तिनीहरूले उहाँको माग गरे । तिनीहरू फिर्ता जान चाहँदैनथे । तर तिनीहरूलाई मन्दिरको चोकदेखि लखेटियो, र आफ्‍ना बिरामी नातेदारहरूका साथ मन्दिर प्रवेश गर्ने माग गर्दै अघि बढेका भीडलाई हटाउनका निम्ति सिपाहीहरूलाई प्रवेशद्धारमा तैनाथ गरिएको थियो ।PAP 153.1

    मुक्तिदातादेखि चङ्गाइदान पाउन आएका मानिसहरू निराश बन्नपुगे । गल्‍लीहरू शोकाकुल मानिसहरूद्वारा भरिनपुगेका थिए । येशूको चङ्गाइदानको हातबिना बिरामी मानिसहरू मर्दैथिए । मानिसहरूले व्यर्थैमा वैद्यहरूका परामर्श लिदैथिए; युसुफको चिहानमा गाडिएको येशूको जस्तो त्यहाँ कसैको पनि दक्षता थिएन ।PAP 154.1

    पीडित मानिसहरूका शोकाकुल पुकारले हजारौंको मनमा यो विश्‍‍वास जगायो कि यस संसारदेखि महान् ज्योति बिलाएर गएको छ । ख्रीष्‍टबिना पृथ्वी कालोपन तथा अन्धकार मात्र थियो । “क्रूसमा चढाउनुहोस्” भनी चिच्याएका असंख्य मानिसहरूले आफूमाथि आइलागेको विपत्तिको बारेमा चाल पाए, र यदि उहाँ जीवित रहनुभएको भए तिनीहरूले उत्सुकतापूर्वक “हामीलाई येशू दिनुहोस्” भनी पुकार्नेथिए ।PAP 154.2

    जब येशूलाई पूजाहारीहरूद्वारा मृत्युदण्ड दिइएको छ भनी मानिसहरूले सुने तब उहाँको मृत्युको बारेमा सोधपुछ गरियो । उहाँको पुर्पक्षको विवरणलाई यथाशक्‍य गोप्य राखिएको थियो; तर उहाँलाई चिहानमा गाडिएको चर्चा भने हजारौं ओंठबाट सुन्न सकिन्थ्यो, र उहाँको उपहासपूर्ण पुर्पक्षको खबर तथा पूजाहारी र शासकहरूका अमानवीय व्यवहारको बारेमा सर्वत्र हल्‍ला फैलिनपुगेको थियो । बुद्धिमानी मानिसहरूले ती पूजाहारी तथा शासकहरूलाई मसिहको बारेमा पुरानो करारमा उल्‍लेखित भविष्यवाणीहरूका बारेमा व्याख्या गर्न आव्हान गरेको थिए, र जवाफस्‍वरूप झूटो विवरण प्रस्तुत गर्ने क्रममा तिनीहरू पागल मानिसजस्तै बन्नपुगे । ती पूजाहारी तथा शासकहरूले ख्रीष्‍टको पीडा तथा मृत्युको बारेमा औंल्याउने भविष्यवाणीहरूका बारेमा व्याख्या गर्न सकेनन्, र प्रश्‍न गर्ने धेरै मानिसहरू पवित्रशास्‍‌त्रका वचनहरू पूरा हुन आए भनी विश्‍‍वस्त भएका थिए ।PAP 155.1

    पूजाहारीहरूले जुन बदला मिठो हुन्छ भनी ठानेका थिए सो अहिले तिनीहरूका निम्ति तीतो सावित भइसकेको थियो । तिनीहरूलाई थाहा थियो कि तिनीहरू मानिसहरूका कठोर निन्दाको सामना गर्दैछन्; तिनीहरूलाई यो पनि थाहा थियो कि जुन मानिसहरूलाई तिनीहरूले येशूको विरुद्धमा भड्‍काएका थिए ती मानिसहरू अहिले आफ्‍ना लज्‍जास्पद कार्यदेखि भयभीत थिए । पूजाहारीहरूले येशूलाई मानिसहरूका सामु एक छलीको रूपमा विश्‍‍वस्त पार्ने कोशिस गरेका थिए; तर यो प्रयास व्यर्थ ठहरियो । तिनीहरूमध्ये केहीले लाजरसलाई मृत्युदेखि ब्युँताइएको देखेका थिए । ख्रीष्‍ट मृतकदेखि ब्युँतिनुहुनेछ र तिनीहरूका सामु प्रस्तुत हुनुहुनेछ भन्ने भयका साथ तिनीहरू काँप्‍नपुगे । तिनीहरूले उहाँसँग आफ्‍नो जीवन बलिदान गर्ने तथा पुनः वापस लिने शक्ति छ भनी उहाँले गर्नुभएको दाबीलाई सुनेका थिए । “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” भनी उहाँले बताउनुभएको कुरा उनीहरूले सुनेका थिए । यूहन्ना २:१९ । यरुशलेमतर्फको अन्तिम यात्रामा येशूले उहाँका चेलाहरूलाई भन्नुभएका कुराहरू यहुदाले ती मानिसहरूलाई यसरी बताएको थियो: “हामी यरुशलेमतिर जाँदैछौं, अब मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्‍‌त्रीहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन् । उसलाई गिल्‍ला गर्न, कोर्रा लाउ, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‍नेछ ।” मत्ती २०:१८, १९ । जब तिनीहरूले यी शब्दहरू सुने तब तिनीहरूले खिल्‍ली उडाएका तथा उपहास गरेका थिए । तर अहिलेसम्म ख्रीष्‍टका भविष्यवाणीहरू पूरा हुनआएका छन् भनी अहिले तिनीहरूले याद गरे । उहाँले तेस्रो दिनमा बौरीउठ्‍नेछु भनी भन्नुभएको थियो, र यो पनि पूरा हुन आउनेछैन भन्ने साहस कसले गर्ने ? तिनीहरूले यी चिन्तनहरूलाई रोक्‍ने इच्छा गरेका थिए, तर त्यसो गर्न सकेनन् । तिनीहरूका पिता, शैतानलेझैं तिनीहरूले पनि यस कुरालाई विश्‍‍वास गरे अनि काम्‍नपुगे ।PAP 155.2

    उत्तेजनाको उन्माद हटिसकेको हुनाले तिनीहरूका मनमा ख्रीष्‍टको स्‍वरूपले प्रवेश पायो । तिनीहरूले उहाँलाई उहाँका शत्रुहरूका सामु शान्त तथा शिकायतबिना उभिनुभएको, तथा तिनीहरूका खिल्‍ली दुर्व्यवहारबीच चुप लागेर बस्‍नुभएको देखे । उहाँको पुर्पक्ष तथा क्रूसमा चढाइएको सारा घटनाक्रमहरू तिनीहरूका मनमा अझ यस प्रबल विश्‍‍वास साथ उत्पन्न भए कि तिनीहरूले उहाँ नै परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भनी विश्‍‍वास गरे । तिनीहरूले यो महसुस गरे कि उहाँ कुनै पनि समय जो अपराधी ठहराइनुभएको थियो अब अरूलाई अपराधी ठहराउन, दोषी ठहराइनुभएको अरूलाई दोषी ठहराउन, तथा जो मारिनुभएको थियो अब उहाँका हत्याराहरूदेखि इन्साफले माग गर्न तिनीहरूका सामु खडा हुनुहुनेछ ।PAP 156.1

    तिनीहरूले शबाथ-दिनमा कमैमात्र विश्राम गर्न सके । यद्यपि तिनीहरू अपवित्र भइने डरका कारण अन्यजातिका दैलोमा टेक्‍ने गर्दैनथे, तैपनि तिनीहरूले ख्रीष्‍टको मृत शरीरको बारेमा सल्‍लाह गर्न एक सभाको आयोजना गरे । तिनीहरूका बिचारमुताविक मृत्यु तथा चिहानले आफूले क्रूसमा टाँगेको ख्रीष्‍टलाई थाम्‍नुपर्नेछ । “मूख्य पूजाहारीहरू, र फरिसीहरू पिलातसकहाँ भेला भए, र भने, हजुर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‍नेछु’ भनेको थियो । यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्‍यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्‍लो धोखा पहिलोभन्दा अझ नराम्रो हुनेछ । पिलातसले तिनीहरूलाई भने, तिनीहरूको आफ्‍नै पहरा छँदैछ । जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख ।” मत्ती २७:६२-६५ ।PAP 157.1

    पूजाहारीहरूले चिहानलाई सुरक्षित पार्नका निम्ति निर्देशन दिए । चिहानको गुफाको प्रवेशद्धारलाई ठूलो ढुङ्गाद्वारा ढाकिएको थियो । त्यस ढुङ्गालाई तिनीहरूले सिक्रीले बाँधे जुन सिक्रीको टुप्पोलाई विशाल चट्टानमा गाँसिएको थियो जसमाथि रोमी लालमोहर लगाइएको थियो । त्यस लालमोहरलाई नतोडिकन सो ढुङ्गालाई हटाउन सकिनेथिएन । त्यस चिहानमाथि कसैले हस्तक्षेप नगरोस् भनी त्यहाँ एक सय सिपाहीहरूलाई तैनाथ गरिएको थियो । पूजाहारीहरूले ख्रीष्‍टको मृत शरीरलाई चिहानमै राख्‍नका निम्ति यथाशक्‍य प्रयत्‍न गरे । उहाँको मृत शरीरलाई चिहानमा यसरी लालमोहरका साथ सुरक्षित राखिएको थियो कि मानौं उहाँ सदाको लागि त्यस चिहानमै रहनुपर्नेछ ।PAP 157.2

    यसप्रकार कमजोर मानिसहरूले परामर्श दिए तथा योजना गरे । ती हत्याराहरू आफ्‍ना व्यर्थ सावित हुने चेष्‍टाहरूका बारेमा अनभिज्ञ थिए । तर तिनीहरूका कार्यद्वारा परमेश्‍‍वरको महिमा हुनगुपुगेको थियो । ख्रीष्‍टको पुनरुत्थानलाई रोक्‍न गरिएका चेष्‍टाहरू नै पुनरुत्थानको पक्षमा सबैभन्दा विश्‍‍वासनीय तर्क थिए । चिहान वरिपरि जति नै बढी संख्यामा सिपाहीहरू तैनाथ गरिनेछन् त्यति नै उहाँको पुनरुत्थानको साक्षी अझ मजबुत बन्नपुग्‍नेछ । ख्रीष्‍टको मृत्युभन्दा सैकडौं वर्षअघि पवित्र आत्माले भजन संग्रहका लेखकमार्फत यसो भन्नुभएको थियो, “जाति-जातिहरू किन षड्‍यन्‍‍त्र रच्छन्, र मानिसहरू किन व्यर्थका जाल रच्छन् ? परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू आपसमा सल्‍लाह गर्छन् । ... स्‍वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्‍नुहुन्छ, परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ ।” भजन २:१-४ । रोमी पहरेदार तथा रोमी हातहतियार जीवनदाता परमप्रभुलाई चिहानभित्र कैद राख्‍न शक्तिहीन थिए । उहाँको छुटकाराको समय नजिक आइपुगेको थियो ।PAP 158.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents