Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १०. इम्माउसको बाटोमा

    लूका २४:१३-३३ मा आधारित ।

    पुनरुत्थानको बेलुकीपख दुई चेलाहरू यरुशलेमदेखि आठ मीलको दूरीमा अवस्थित इम्माउस नामक एक सानो शहरतर्फ जाँदैथिए । ती चेलाहरूले ख्रीष्‍टको कार्यमा कुनै महत्‍वपूर्ण भूमिका निभाएका थिएनन्, तर उनीहरू उहाँमाथि साँचोरूपमा विश्‍‍वास गर्दथे । तिनीहरू त्यस शहरमा निस्तार चाड मनाउन जाँदैथिए, र त्यहाँ भर्खरै घट्‍नपुगेको घटनाक्रमद्वारा तिनीहरू निकै व्याकुल बन्नपुगेका थिए । तिनीहरूले चिहानदेखि ख्रीष्‍टको शरीर हटाइएको बारेमा बिहानपख खबर सुनेका थिए, साथै स्‍‌त्रीहरूले स्‍वर्गदूतहरू तथा येशूलाई देखेका बारेमा विवरण पनि सुनेका थिए । ती चेलाहरू अब ध्यान तथा प्रार्थना गर्नका निम्ति आ-आफ्‍ना घर फर्कंदैथिए । तिनीहरू शोक व्यक्त गर्दै ख्रीष्‍टको पुर्पक्ष तथा क्रूसको घटनाक्रमको बारेमा बातचीत गर्दै अघि बढिरहेका थिए । यसभन्दा पहिला तिनीहरू यति धेरै मात्रामा निरुत्साहित बनेका थिएनन् । तिनीहरू आशारहित तथा विश्‍‍वासरहित अवस्थामा क्रूसको छायामा हिँडिरहेका थिए ।PAP 181.1

    तिनीहरू आफ्‍नो यात्राक्रममा केही दूरी पार नगर्दै तिनीहरूसित एक अपरिचित व्यक्ति सामेल हुनपुग्यो, तर तिनीहरू आफ्‍ना खिन्नता तथा बेचैनीपनमा यति तल्‍लीन थिए कि तिनीहरूले त्यस अपरिचित व्यक्तिलाई ध्यानपूर्वक अवलोकन गरेनन् । तिनीहरूले आफ्‍ना मनमा कुराहरू व्यक्त गर्दै कुराकानीको क्रमलाई जारी राखे । तिनीहरू ख्रीष्‍टले दिनुभएको त्यस शिक्षाको बारेमा तर्क गर्दैथिए, जसलाई बुझ्‍न तिनीहरू असक्षम भएका थिए । जब तिनीहरू भर्खरै घट्‍नपुगेका घटनाहरूका बारेमा बातचीत गर्दैथिए तब येशूले तिनीहरूलाई शान्त्‍वना दिने इच्छा व्यक्त गर्नुभयो । उहाँले तिनीहरूका शोकलाई देख्‍नुभएको थियो; र तिनीहरूका मनमा “के यो व्यक्ति जसले आफूलाई शर्ममा पार्ने अनुमति दिनुभयो के उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ त ?” भनी उब्‍जिएका अमिल्दो तथा व्याकुल बिचारहरूका बारेमा बुझ्‍नुभयो । तिनीहरूले आफ्‍ना शोकलाई थाम्‍न सकेनन् र यसकारण रुन थाले । येशूलाई थाहा थियो कि तिनीहरूका हृदय प्रेमद्वारा उहाँप्रति बाँधिनपुगेका छन्, र उहाँले तिनीहरूका आँसु पुछ्‌ने तथा तिनीहरूका मनलाई आनन्द तथा प्रसन्नताद्वारा भरिपूर्ण तुल्याउने इच्छा गर्नुभएको थियो । तर सर्वप्रथम उहाँले तिनीहरूलाई एक यस्तो शिक्षा दिनुपर्नेछ जसलाई तिनीहरूले कदापि भुल्‍ने छैनन् ।PAP 181.2

    उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू हिंड्‍दै आपसमा के बहस गरिरहेका छौ ? तिनीहरू उदास भएर टक्‍क अडिए । ती दुईमध्ये क्‍लेओपासले उहाँलाई जवाफ दिए, यरुशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेको छ तपाईलाई थाहा छैन ?” तिनीहरूले उहाँलाई आफ्‍ना गुरुप्रति उनीहरूका मनमा उत्पन्न भएको निराशाका बारेमा यसरी बताए, “उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्‍‍वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो;” तर “मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे ।” निराशाद्वारा पीडित हृदयका साथ तथा काँप्दैगरेका ओंठका साथ तिनीहरूले थप यसो भने, “इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं । यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो ।”PAP 182.1

    चेलाहरूले ख्रीष्‍टका वचनहरूलाई स्मरण गर्न नसक्‍नु तथा उहाँले भविष्यवाणी गर्नुभएका घटनाहरू घट्‍नपुगेका बारेमा बुझ्‍न नसक्‍नु एक आश्‍चर्यजनक कुरा थियो ! उहाँको प्रकाशनको अन्तिम भाग पनि पहिलो भागजस्तै पूरा हुन आउनेछ, र उहाँ तेश्रो दिनमा पुनःबौरिउठ्‍नुहुनेछ भन्ने कुरालाई तिनीहरूले बुझेनन् । तिनीहरूले स्मरण गर्नुपर्ने कुरा यही थियो । पूजाहारी तथा शासकहरूले यसलाई भुलेनन् । “भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातस कहाँ भेला भए, र भने, हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‍नेछु’ भनेको थियो ।” मत्ती २७:६२, ६३ । तर चेलाहरूले यी वचनहरूलाई याद गरेनन् ।PAP 183.1

    “उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्‍‍वास गर्दैनौं । के ख्रीष्‍टले यी कष्‍टहरू भोग्‍नु र आफ्‍नो महिमामा प्रवेश गर्नु आवश्‍‍यक थिएन र ?” चेलाहरू उक्त अपरिचित व्यक्ति को रहेछ भनी अचम्ममा परे जसले तिनीहरूका आत्मालाई छेड्‍न सक्‍नुहुन्छ, र यति उत्सुकता, कोमल करुणा, तथा आशाका साथ बोल्‍न सक्‍नुहुन्छ । ख्रीष्‍ट धोखामा पर्नुभएको दिन पश्‍चात अहिले पहिलो पटक तिनीहरूको आशाको महसुस गर्न थाले । तिनीहरू बारम्बार उत्सुकताका साथ आफ्‍ना मित्रहरूलाई हेर्ने गर्देथे, र आफूले सुनेका उहाँका वचनहरू ख्रीष्‍टका वचनहरूजस्तै थिए भनी बिचार लिए । तिनीहरू आश्‍चर्य चकित बन्नपुगेका थिए, र तिनीहरूका हृदय आनन्दमयी आशाका साथ धड्‍किन थाले ।PAP 183.2

    ख्रीष्‍टले बाइबल इतिहासको अल्फाका रूपमा मोशाको समयदेखि नै सारा पवित्र शास्‍‌त्रभरी स्‍वयम् आफ्‍नै बारेमा सविस्तार वर्णन गर्नुभयो । यदि उहाँले तिनीहरूलाई पहिले नै आफ्‍नो बारेमा अवगत गराउनुभएको भए तिनीहरूका मन सन्तुष्‍ट हुनेथियो । यसरी आनन्दको पूर्णतामा तिनीहरूले अन्य कुनै कुराको तिर्सना गर्ने थिएनन् । तर तिनीहरूले प्रतिरूप तथा पुरानो नियममा उल्‍लिखित भविष्यवाणीहरूले उहाँकै गवाही दिंदछन् भनी बुझ्‍नु आवश्‍‍यक थियो । यिनै गवाहीहरू माथि तिनीहरूका विश्‍‍वास आधारित भएको हुनुपर्दछ । ख्रीष्‍टले तिनीहरूलाई विश्‍‍वस्त पार्न आश्‍चर्य काम गर्नुभएन, तर पवित्रशास्‍‌त्रका कुराहरूलाई व्याख्या गर्नु नै उहाँको प्रथम कार्य थियो । तिनीहरूले उहाँको मृत्युलाई आफ्‍ना सारा आशाहरूका विनाशको रूपमा लिएका थिए । अब उहाँले भविष्यवक्तामार्फत यही नै तिनीहरूका विश्‍‍वासको सबैभन्दा मजबुत प्रमाण हो भनी देखाउनुभयो ।PAP 184.1

    ती चेलाहरूलाई सिकाउने क्रममा ख्रीष्‍टले पुरानो नियम उहाँको जीवनको उद्देश्‍‍यप्रति एक गवाहीको रूपमा महत्‍वपूर्ण छ भनी देखाउनुभयो । कैयौं कथित इसाईहरूले पुरानो करार अब उपयुक्त छैन भनी दावी गर्दै यसलाई पन्छाउने गर्दछन् । तर यो ख्रीष्‍टको शिक्षा होइन । उहाँले पुरानो नियमलाई यति बढी मान्यता दिनुभयो कि एक समय उहाँले यसो भन्नुभयो, “मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्‍‍वास गर्नेछैनन् ।” लूका १६:३१ ।PAP 184.2

    आदमको समयदेखि संसारको अन्त्यको समयसम्मै पुर्ख्यौली तथा अगमवक्ताहरूमार्फत बोल्‍नुहुने ख्रीष्‍टकै वाणी हो । नयाँ करारझैं पुरानो करारमा पनि मुक्तिदाता स्पष्‍टरूपमा प्रकट हुनुभएको छ । अतीतको भविष्यसूचक प्रकाशले नै नयाँ करारमा ख्रीष्‍टको जीवन तथा शिक्षाहरूलाई स्पष्‍टता तथा सुन्दरतामा प्रकट गर्दछ । ख्रीष्‍टका आश्‍चर्य कामहरू उहाँको ईश्‍‍वरत्‍वको प्रमाण हुन्; तर पुरानो करारको भविष्यवाणीलाई नयाँ करारको इतिहाससित तुलना गर्ने क्रमद्वारा उहाँ नै संसारको उद्धारकर्ता हुनुहुन्छ भन्ने अझ मजबुत प्रमाण मिल्दछ ।PAP 185.1

    ख्रीष्‍टले पवित्रशास्‍‌त्रको भविष्यवाणीद्वारा तर्क गर्नुहुँदै उहाँका चेलाहरूलाई उहाँले मानवरूपमा कुन भूमिका निभाउनुपर्नेछ भन्ने विषयमा सही भाव दिनुभयो । ख्रीष्‍टले मानिसहरूका इच्छामुताविक सिंहासन तथा संसारिक शक्ति ग्रहण गर्नुपर्नेछ भन्ने ती चेलाहरूमा जुन आशा थियो त्यो वास्तवमा भ्रमयुक्त आशा थियो । यसले उहाँ सर्वोच्‍च ओहदादेखि सबैभन्दा तुच्छ ओहदासम्म ओर्लनुको सही हेक्‍काप्रति दखल पुऱ्याउनेछ । ख्रीष्‍टका चेलाहरूका बिचारमा हरेक अवस्थामा शुद्ध तथा सत्य हुनुपर्छ भन्नु नै ख्रीष्‍टको मनसाय थियो । उहाँको लागि जुन पीडाको कचौरा तोकिएको थियो त्यसको बारेमा तिनीहरूले जतिसक्दो बढी मात्रामा बुझ्‍नुपर्नेछ । उहाँले तिनीहरूलाई देखाउनुभयो कि जुन भयानक विवादको बारेमा तिनीहरूले बुझ्‍नसकेका थिएनन् सो विवाद संसारको उत्पत्ति अगावै गरिएको करारको समाप्‍ति थियो । जसरी व्यवस्था उल्‍लघ्ङन गर्ने हरेक व्यक्ति पापमा लागिरहेको खण्डमा मर्नुपर्नेछ त्यसैगरी ख्रीष्‍ट पनि मर्नुपर्नेछ । यो घटना घट्‍नैपर्ने थियो, तर यो हारमा नभई महिमित, अनन्तको विजयका साथ अन्त्य हुनुपर्ने थियो । संसारलाई पापदेखि बचाउनका निम्ति हरेक प्रयास गरिनुपर्नेछ भनी येशूले तिनीहरूलाई बाताउनुभयो । उहाँका चेलाहरूले पनि उहाँले जस्तै जीवन व्यतित गर्नुपर्नेछ, र उहाँले जस्तै तिव्रता तथा लगनशीलताका साथ काम गर्नुपर्नेछ ।PAP 185.2

    यसरी ख्रीष्‍टले उहाँका चेलाहरूसित बातचीत गर्नुभयो र पवित्रशास्‍‌त्र बुझ्‍न सकून् भनी तिनीहरूका मन खोल्‍नुभयो । चेलाहरू थकित थिए, तर वार्तालापको क्रममा मन्दी आएन । मुक्तिदाताको ओंठदेखि जीवन तथा आश्‍‍वासनका वचनहरू आए । तिनीहरूका आँखा अझ पनि उहाँमाथि केन्द्रित थिए । जब उहाँले तिनीहरूलाई यरुशलेमको पराजयको बारेमा बाताउनुभयो, तब तिनीहरूले रुँदै त्यस अभागी शहरतर्फ हेरे । तर तिनीहरूले अहिलेसम्म तिनीहरूका सहयात्री को हो भनी शंका गरेनन् । ख्रीष्‍टले स्‍वयम् आफैलाई अर्कै व्यक्तिको रूपमा संकेत गर्नुभएकोले तिनीहरूका वार्तालापको बिषय नै तिनीहरूकै साथमा हिंडिहरनुभएको छ भनी तिनीहरूले बिचार समेत गरेनन् । तिनीहरूले उहाँ महान् भोजमा सामेल भई घर फर्कने मानिसहरूमध्ये एक हुनुहुन्छ भनी बिचार गरे । ढुङ्गेनी बाटोमा उहाँ ती चेलाहरू जस्तै सर्तकताका साथ अघि बढ्‍दैगर्नु भयो, र केही विश्राम लिनका निम्ति तिनीहरूसँगै रोकिनुभयो । यसप्रकार तिनीहरू पहाडी बाटोमा अघि बढ्‍दै गरे, र चाँडै नै परमेश्‍‍वरको दाहिने हाततर्फ स्थान ओगट्‍नेवाला ख्रीष्‍ट जसले “स्‍वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ” भनी बोल्‍नसक्‍नुहुन्थ्यो उहाँ तिनीहरूसँगै हिंड्‍नुभयो । मत्ती २८:१८ ।PAP 186.1

    यात्राको दौरान सुर्यास्त भइसकेको थियो, र तिनीहरू आ-आफ्‍नो विश्राम स्थल पुग्‍नुअघि खेतमा काम गरिरहेका खेतालाहरूले आफ्‍ना काम छाडेर घर फर्किसकेका थिए । जब चेलाहरू आ-आफ्‍ना घरमा पस्‍नै लागेका थिए तब त्यस अपरिचित व्यक्ति (येशू) आफ्‍नो यात्राको क्रमलाई जारी राख्‍नुहुने जस्तो देखा पर्नुभयो । तर चेलाहरू उहाँप्रति आकर्षित बन्नपुगेका थिए । तिनीहरूका आत्मा उहाँदेखि अझ बढी कुरा सुन्नका निम्ति भोकाएका थिए । तिनीहरूले भने, “हामीसँगै बस्‍नुहोस् ।” उहाँले तिनीहरूका निमन्‍‍त्रणालाई अस्‍वीकार गर्नुभएझैं देखिन्थ्यो, तर तिनीहरूले उहाँलाई “किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ” भन्दै बिन्ति गर्दै कर गरे, र ख्रीष्‍टले यस अनुरोधलाई स्‍वीकारगर्नुभयो र “उहाँ तिनीहरूसँग बस्‍नलाई घरभित्र पस्‍नुभयो ।”PAP 187.1

    यदि चेलाहरूले आफ्‍नो निमन्‍‍त्रणालाई जिद्दीपूर्ण रूपमा कर नगरेका भए तिनीहरूले आफ्‍ना सहयात्री वास्तवमा बौरिउठ्‍नुभएको परमप्रभु हुनुुहुन्छ भनी चिन्ने थिएनन् । ख्रीष्‍टले कसैलाई पनि उहाँको संगति पाउनका निम्ति कर गर्नुहुन्न । जो जतिलाई उहाँको आवश्‍‍यकता पर्दछ तिनीहरूप्रति उहाँले स्‍वयम् आफै चाख लिनुहुन्छ । उहाँ निम्‍नस्तरको घरमा पनि सहर्ष प्रवेश गर्नुहुनेछ र शोकले भग्‍न हृदयलाई प्रसन्न तुल्याउनुहुनेछ । तर यदि मानिसहरू स्‍वर्गीय पाहुना ख्रीष्‍टको बारेमा बिचार गर्न वा उहाँलाई तिनीहरूसँगै बस्‍नका निम्ति बोलाउन बेवास्ता गर्ने गर्दछन् भने उहाँ त्यहाँबाट अघि बढ्‍दै जानुहुनेछ । यसप्रकार धेरैले हानि बेहोर्ने गर्दछन् । जसरी ती चेलाहरूले ख्रीष्‍टसँगै हिड्‍ने क्रममा समेत उहाँलाई चिनेनन् त्यसरी नै कैयौं मानिसहरूले उहाँलाई चिनेका छैनन् ।PAP 187.2

    बेलुकीको साधारण भोजन (रोटी) तयार गरियो । रोटीलाई पाहुनाको सामु राखियो जसले टेबुलमा प्रधान स्थान ओगट्‍नु भएको थियो । अब उहाँले भोजनलाई आशिष दिनका निम्ति आफ्‍नो हात पसार्नुभयो । चेलाहरू आश्‍‍यर्च चकित भए । तिनीहरूका सहयात्रीले आफ्‍नो हातलाई त्यसरी नै पसारे जसरी तिनीहरूका गुरुले (ख्रीष्‍टले) पसार्ने गर्नुहुन्थ्यो । तिनीहरूले पुनः हेरे, र नभन्दै तिनीहरूले उहाँको हातमा कीलाको चिन्ह देखे । ती दुबै एकैपटक यसरी बोले, “उहाँ प्रभु येशू नै हुनुहुन्छ ! उहाँ मृतकबाट जीवित भइउठ्‍नुभएको छ ।”PAP 188.1

    तिनीहरूले उहाँको गोडामा लम्पसार पर्दै उहाँको आराधना गर्न उठे, तर उहाँ तिनीहरूका दृष्‍टिदेखि बिलाउनुभयो । तिनीहरूले उहाँलाई राखिएको चिहानमा हेरेका थिए, र एक आपसमा यसरी वार्तालाप राखेका थिए, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍‌त्रको अर्थ खोल्‍नुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएनन् र ?”PAP 188.2

    तर अरूलाई बाँड्‍नका निम्ति यति महान् खबर हुदाँहुँदै तिनीहरू त्यही बसेर कुरा गरिरहन सक्‍नेछैनन् । तिनीहरूका थकान तथा भोक हटेर गए । तिनीहरूले आफ्‍ना भोजनलाई त्यागेर खुशीका साथ त्यसै पल त्यही बाटो हुँदै शहरमा भएका अन्य चेलाहरूलाई खबर सुनाउन हतार-हतार अघि बढे । यात्रा गरिने बाटोको कुनै भाग अलि असुरक्षित स्थान थिए, तर तिनीहरू ठाडो उकालोमा चढे, अनि चिल्‍लो ढुङ्गाहरूमा चिप्‍लँदै अघि बढे । तिनीहरूले यो कुरा थाहा पाएका छैनन् तथा देखेका छैनन् कि तिनीहरूलाई स्‍वयम् ख्रीष्‍ट नै रक्षा गर्दैहुनुन्छ जो केही समय पहिला तिनीहरूकै साथमा यात्रा गर्नुभएको थियो । तिनीहरू हातमा लठ्ठी समाउँदै अझ छरितो रूपमा अघि बढ्‍ने साहस गरे । तिनीहरूले बाटो बिराए, तर केही समयपछि पुनः बाटो फेला पारे । कहिले दौडने त कहिले लड्‍ने क्रममा साथ तिनीहरू अघि बढे र सारा यात्रा क्रममा अदृश्‍‍य सहयात्री, (ख्रीष्‍ट) तिनीहरूकै साथमा हुनुहुन्थ्यो ।PAP 188.3

    रात अन्धकार थियो, तर धार्मिकताको सूर्य तिनीहरूमाथि चम्किरहेको थियो । तिनीहरूले स्‍वयम् आफैलाई एक नयाँ जगतमा भएझैं महसुस गरे । तिनीहरूका मन आनन्दले प्रफुल्‍लित थियो । तिनीहरूले अब उहाँ एक मृत अस्तित्‍व हुनुहुन्छ भनी शोक मानेनन् । “ख्रीष्‍ट बौरिउठ्‍नुभयो” भन्दै तिनीहरूले बारम्बार दोहोऱ्याए । यही सन्देश तिनीहरू शोकाकुल मानिसहरू कहाँ पुऱ्याउँदैछन् । ती चेलाहरूले आफूले इम्माउसको यात्राक्रममा भोगेका अनुभवलाई अन्य मानिसहरूलाई पनि सुनाउनुपर्नेछ । तिनीहरूलाई बाटोमा कसले साथ दिए भन्ने कुरालाई तिनीहरूले अरूलाई पनि बताउनुपर्नेछ । तिनीहरूले संसारलाई दिइएको सबैभन्दा महान् सन्देश बोकेका छन्, एक यस्तो शुभ सन्देश जसमाथि मानवजातिका आशाहरू त्यस समयको लागि मात्र नभई अनन्तसम्मै निर्भर रहेका छन् ।PAP 189.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents