Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १. मानिसप्रति परमेश्‍‍वरको प्रेम

    प्रकृति तथा प्रकाशले समानरूपमा परमेश्‍‍वरको प्रेमको साक्षी दिन्छ । स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍‍वर पिता जीवन, ज्ञान र आनन्दको मुहान हुनुहुन्छ । प्रकृतिका अद्‌भुत तथा सुन्दर वस्तुहरूतर्फ हेर्नुहोस् । मानिसहरूका मात्र होइन तर सम्पूर्ण प्राणीहरूका खाँचोहरू तथा प्रसन्‍नताप्रति तिनीहरूका अद्‌भुत संयोजनको बारेमा विचार गर्नुहोस् । घाम र पानी जसले पृथ्वीलाई प्रसन्‍न तुल्याउँदछ तथा ताजा पार्दछ, डाँडाकाँडा, र समुद्र एवं समतल भूमि सबैले हामीसँग सृष्‍टिकर्ताको प्रेमको बारेमा बोल्दछन् । परमेश्‍‍वरले नै आफ्‍ना सबै प्राणीहरूका दैनिक आवश्‍‍कताहरू जुटाउनुहुन्छ ।SB 1.1

    यसैले त भजनसंग्रहका लेखक भन्दछन्— “सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ । तपाईंले आफ्‍नो मुट्ठी खोल्‍नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्‍ट पार्नुहुन्छ ।” भजनसंग्रह १४५:१५, १६ ।SB 1.2

    परमेश्‍‍वरले मानिसहरूलाई पूर्णरूपमा पवित्र र सुखी प्राणी बनाउनुभएको थियो । यो निर्मल पृथ्वी जसै सृष्‍टिकर्ताको हातबाट अस्तित्‍वमा आयो, तब यसले नाशको अनिष्‍टकारक प्रभाव वा सरापको छाया धारण गरेको थिएन । परमेश्‍‍वरको व्यवस्था उल्‍लंघन गर्ने क्रमले नै कष्‍ट तथा मृत्युलाई निम्त्यायो, तैपनि पापद्वारा उत्पन्‍न हुने सङ्‌कटहरूमाझ पनि परमेश्‍‍वरको प्रेम प्रकट भइरहेको छ । मानिसको पापको कारण नै परमेश्‍‍वरले भूमिलाई सराप दिनुभयो भनी लेखिएको छ । उत्पत्ति ३:१७ । काँडा र सिउँडी—सङ्‌कट र परीक्षाहरू जसले उसको जीवनलाई परिश्रम तथा फिक्रीले भरिपूर्ण तुल्याउँदछ—वास्तवमा यी सबै परमेश्‍‍वरको योजनामुताबिक पापले ल्याएको विनाश र पतनदेखि उसलाई माथि उचाल्‍ने प्रक्रियामा प्रशिक्षण दिलाइनका निम्ति तथा उसकै भलाइको निम्ति नियुक्त गरिएको थियो । यद्यपि यो संसार, पतित अवस्थामा छ, तैपनि यहाँ सर्वत्र शोक, विपत्ति भने छैन । स्‍वयं प्रकृति आफैंमा पनि आशा र सान्त्‍वनाका सन्देशहरू छन् । त्यहाँ काँडाहरूका माझमा फूल छन्, र काँडाहरू गुलाफद्वारा ढाकिएका छन् ।SB 1.3

    प्रत्येक कोपिलामा, बढ्‍दै गरेका प्रत्येक घाँसका टुप्पामा “परमेश्‍‍वर प्रेम हुनुहुन्छ” भनी लेखिएका छन् । आफ्‍ना खुशीमय गीतहरूका साथ वातावरणलाई गुञ्‍जायमान तुल्याउने सुन्दर चरा-चुरुङ्गीहरू, हावालाई सुगन्धित तुल्याउने रङ्गीचङ्गी फूलहरू, जीवित हरिया पातहरूका साथ वन जंगलका अग्‍ला रूखहरू—यी सबैले हाम्रा परमेश्‍‍वरको कोमल, पैतृक फिक्री तथा आफ्‍ना सन्तानरूलाई खुशी राख्‍ने उहाँको इच्छाको गवाही दिँदछन् ।SB 2.1

    परमेश्‍‍वरको वचनले उहाँको चरित्र प्रकट गर्दछ । स्‍वयं उहाँ आफैंले आफ्‍नो असीमित प्रेम तथा दयाको बारेमा घोषणा गर्नुभएको छ । जब मोशाले “अब मलाई तपाईंको महिमा देखाउनुहोस्” भनी प्रार्थना गरे तब परमप्रभुले यसरी जवाफ दिनुभयो “म तेरै सामुन्‍ने मेरो सारा श्रेष्‍ठता देखाउनेछु ।” प्रस्थान ३३:१८, १९ । यही नै उहाँको महिमा हो । परमप्रभु मोशाको सामु गुज्रनुभयो, र यसरी घोषणा गर्नुभयो, “परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍‍वर, जो क्रोध गर्नमा ढीलो, र प्रेम र विश्‍‍वस्ततामा प्रशस्त हुनुहुन्छ । उहाँले हजारौं हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्नुहुन्छ ।” प्रस्थान ३४:६, ७ । उहाँ “रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त” हुनुहुन्छ, किनकि “उहाँ कृपा गर्नमा खुशी हुनुहुन्छ ।” योना ४:२; मीका ७:१८ ।SB 2.2

    परमेश्‍‍वरले हाम्रो हृदयलाई स्‍वर्ग र पृथ्वीका असंख्य चिन्हहरूद्वारा उहाँको हृदयसित बाँध्‍नुभएको छ । प्रकृतिका वस्तुहरूबाट, र यस संसारमा मात्र बुझ्‍न सकिने गहिरा र कोमल बन्धनहरूमार्फत उहाँले स्‍वयं आफैंलाई हामीकहाँ प्रकट गर्न चाहनुभएको छ । तैपनि यी कुराहरूले अपूर्णरूपमा मात्र उहाँको प्रेमलाई प्रकट गर्दछ । यी सबै प्रमाणहरूका बाबजुद शैतानले मानिसहरूका मनलाई अन्धो तुल्याइदियो, तसर्थ तिनीहरूले परमेश्‍‍वरतर्फ डरको दृष्‍टिले हेरे, तिनीहरूले उहाँलाई क्रूर तथा अक्षमाशील ठाने । शैतानले मानिसहरूलाई परमेश्‍‍वरको बारेमा एक कडा इन्साफ गर्ने अस्तित्‍वको रूपमा कल्पना गर्नेतर्फ डोऱ्यायो—जो कठोर न्यायाधीश, निर्दयी तथा अत्याचारी ऋणदाता हुनुहुन्छ । उसले सृष्‍टिकर्तालाई एक यस्तो अस्तित्‍वको रूपमा चित्रण गरेको छ जो मानिसहरूका भुल र गल्तीहरू बारे जान्‍नका निम्ति ईष्यालु दृष्‍टिकासाथ हेर्दैहुनुहुन्छ, ताकि उहाँले तिनीहरूलाई दण्ड दिन सक्‍नुहुनेछ । संसारलाई परमेश्‍‍वरको असीमित प्रेम प्रकट गर्नुभई यही अन्धकार हटाउनका निम्ति नै येशू मानिसहरूसँग बस्‍न आउनुभयो ।SB 3.1

    परमेश्‍‍वरको पुत्र परमेश्‍‍वर पितालाई प्रकट गर्नुका निम्ति स्‍वर्गबाट आउनुभयो । “परमेश्‍‍वरलाई कसैले कहिल्यै देखेको छैन । पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ ।” यूहन्‍ना १:१८ । “पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, र पुत्रबाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ ।” मत्ती ११:२७ । जब एक चेलाले “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्” भनी बिन्ती गरे तब येशूले यसरी जवाफ दिनुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्‍न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस् ?’” यूहन्‍ना १४:८, ९ ।SB 4.1

    येशूले यस संसारमा आफ्‍नो जीवनोद्देश्‍‍यको बारेमा वर्णन गर्नुहुँदै यसो भन्‍नुभयो, “परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ । कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍‍त्र गराउनका निम्ति ।” लूका ४:१८ । यही नै उहाँको कार्य थियो । उहाँ भलाइको काम गर्दै तथा शैतानद्वारा पीडित भएका मानिसहरूलाई निको पार्दै हिँड्‍नुभयो । उहाँ हिँड्‌डुल गर्नुहुने सारा गाउँहरूमा रोगको कारण कहीँपनि विलाप हुँदैनथ्यो किनकि उहाँले ती सबैलाई निको पार्नुहुन्थ्यो । उहाँको कार्यले नै उहाँको स्‍वर्गीय अभिषेकको प्रमाण दिने गर्दथ्यो । उहाँको जीवनको हरेक क्रियाकलापमा प्रेम, दया, र करुणा प्रकट हुने गर्दथे, र उहाँको हृदय मानिसका सन्तानहरूप्रति कोमल सहानुभूतिद्वारा भरिपूर्ण हुने गर्दथ्यो । मानिसका खाँचोहरूलाई पूरा गर्न सकियोस् भन्‍ने उद्देश्‍‍यका साथ नै उहाँले मानव स्‍वभाव धारण गर्नुभयो । सबैभन्दा गरीब तथा नम्र मानिसहरू पनि उहाँको सामु आउनदेखि डराएनन् । स-साना बालबालिकाहरू पनि उहाँप्रति आकर्षित हुने गर्दथे । तिनीहरू उहाँको काखमा बस्‍न तथा प्रेम र कृपाले भरिपूर्ण विचारमग्‍न मुहारतर्फ एकटक लगाएर हेर्न मन पराउँथे ।SB 4.2

    येशूले सत्यताको एक शब्दलाई पनि दबाउनुभएन, तर यसलाई सदा प्रेमपूर्वक बताउनुभयो । मानिसहरूसँगको वार्तालापमा उहाँले सर्वाधिक निपुणता तथा विचारशील नम्र ध्यानको प्रयोग गर्नुभयो । उहाँ कदापि कठोर बन्‍नुभएन, कदापि अनावश्‍‍यक रूपमा एक रूखो वचन पनि बोल्‍नुभएन, कुनै एक संवेदनशील व्यक्तिलाई कदापि अनावश्‍‍यक पीडा दिनुभएन । उहाँले मानवजातिको दुर्बलताको निन्दा गर्नुभएन । उहाँले सदा प्रेमपूर्वक सत्य बोल्‍नुभयो । उहाँले पाखण्डीपन, अविश्‍‍वास र पापलाई तिरस्कार गर्नुभयो; तर जब उहाँले आघातपूर्ण भर्त्सनाको वचन बोल्‍नुहुन्थ्यो तब उहाँले आँसुपूर्ण बोली उच्‍चारण गर्नुहुन्थ्यो । उहाँ यरुशलेमको निम्ति रुनुभयो, जुन शहरलाई उहाँले प्रेम गर्नुहुन्थ्यो, जसका निवासीहरूले उहाँलाई बाटो, सत्य र जीवनको रूपमा ग्रहण गर्न इन्कार गरे । तिनीहरूले उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गर्न इन्कार गरे, तर उहाँले तिनीहरूमाथि कृपा दृष्‍टि राख्‍नुभयो । उहाँको जीवन आत्म-त्याग र अरूहरूका निम्ति एक ध्यानपूर्ण फिक्री भरिपूर्ण थियो । उहाँको दृष्‍टिमा प्रत्येक आत्मा बहुमूल्य थिए । जब कि उहाँ सदा स्‍वर्गीय मान मर्यादाद्वारा भरिपूर्ण हुनुहुन्थ्यो, उहाँ परमेश्‍‍वरको परिवारको प्रत्येक सदस्यप्रति सबैभन्दा कोमल स्‍नेहद्वारा झुक्‍नुभयो । सम्पूर्ण मानवजातिमा उहाँले पतित आत्माहरू देख्‍नुभयो जसलाई बचाउनु नै उहाँको जीवनोद्देश्‍‍य थियो ।SB 5.1

    ख्रीष्‍टको जीवनमार्फत प्रकट भएमुताबिक उहाँको चरित्र यही हो । यही नै परमेश्‍‍वरको चरित्र हो । परमेश्‍‍वरको हृदयबाट नै ख्रीष्‍टमा प्रकट भएको ईश्‍‍वरीय करुणाका धाराहरू मानिसका सन्तानहरूतर्फ बहने गर्दछन् । करुणामय मुक्तिदाता येशू नै परमेश्‍‍वर हुनुहुन्थ्यो, जो “स्‍वयम् शरीरमा प्रकट हुनुभयो ।” १ तिमोथी ३:१६ ।SB 6.1

    हामीलाई उद्धार गर्नका निम्ति नै येशू जिउनुभयो, कष्‍ट भोग्‍नुभयो र मर्नुभयो । उहाँ “अफसोसमा परेको मानिस” बन्‍नुभयो, ताकि हामी सदासर्वदाको आनन्दको भागीदार बन्‍न सक्‍नेछौं । परमेश्‍‍वरले अनुग्रह र सत्यताले पूर्ण आफ्‍नो प्रिय पुत्रलाई अतुलनीय महिमाको जगतदेखि पापद्वारा नाश र अनिष्‍ट भएको, तथा मृत्यु र सरापको छायाबाट अन्धकार बन्‍न पुगेको यस संसारमा आउने अनुमति दिनुभयो । परमेश्‍‍वरले आफ्‍नो पुत्रलाई उहाँको प्रेमको हृदयलाई तथा स्‍वर्गदूतहरूका श्रद्धालाई त्याग्‍न, र लाज, अपमान, उपहास, घृणा र मृत्यु सहनका निम्ति अनुमति दिनुभयो । “हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं ।” यशैया ५३:५ । उहाँलाई उजाडस्थानमा, गेतसमनीमा, तथा क्रूसमा हेर्नुहोस्; परमेश्‍‍वरको निष्कलङ्क पुत्रले हाम्रो पापको बोझ आफूमाथि बोक्‍नुभयो । उहाँ जो परमेश्‍‍वरसित एक हुनुहुन्थ्यो, उहाँले आफ्‍नो हृदयमा पापले मानिस र परमेश्‍‍वरको बीचमा उत्पन्‍न गर्ने त्यो भयानक विच्छेदको महसूस गर्नुभयो । यसले उहाँको ओठबाट यी वेदनायुक्त पुकार उत्पन्‍न गराए, “हे मेरा परमेश्‍‍वर, हे मेरा परमेश्‍‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ ?” मत्ती २७:४६ । पापको बोझ, यसको औधिपनको भावना र परमेश्‍‍वरदेखि उहाँको आत्माको विच्छेदले नै परमेश्‍‍वरको पुत्रको हृदय तोडेको थियो ।SB 6.2

    तर यो महान् बलिदान परमेश्‍‍वरको हृदयमा मानिसप्रतिको प्रेम उत्पन्‍न गर्नका निम्ति वा बचाउने कार्यप्रति उहाँलाई राजी तुल्याउनका निम्ति गरिएको थिएन । यस्तो कदापि थिएन ! “परमेश्‍‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो ।” यूहन्‍ना ३:१६ । पिताले हामीलाई प्रेम गर्नुहुन्छ, महान् प्रायश्‍चित्तको कारणले गर्दा होइन, तर उहाँले प्रायश्‍चित्त प्रदान गर्नुभयो, किनकि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । ख्रीष्‍ट एक यस्तो माध्यम हुनुहुन्थ्यो जसमार्फत परमेश्‍‍वरले यस पापमय संसारमा आफ्‍नो असीमित प्रेम खन्याउन सक्‍नुभयो । “ख्रीष्‍टमा हुनुभएर परमेश्‍‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो ।” २ कोरिन्थी ५:१९ । परमेश्‍‍वरले आफ्‍नो पुत्रसँगै कष्‍ट भोग्‍नुभयो । गेतसमनीको वेदनामा, तथा कलवरीको मृत्युमा, असीमित प्रेमले भरिपूर्ण हृदयले हाम्रो उद्धारको मूल्य चुकाउनुभएको थियो ।SB 7.1

    येशूले भन्‍नुभयो, “पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्‍नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु ।” यूहन्‍ना १०:१७ । यसको अर्थ यही हो कि, “मेरो पिताले तिमीहरूलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले तिमीहरूलाई उद्धार गर्नका निम्ति मैले आफ्‍नो जीवन अर्पण गरेकोमा मलाई अझ बढ्‍तारूपमा प्रेम गर्नुहुन्छ । तिमीहरूका स्थानमा जमानी बसी, आफ्‍नो जीवन अर्पण गरी, तिमीहरूका उत्तरदायित्‍व तथा अपराधहरूलाई वहन गरी म आफ्‍नो पिताको प्रियपात्र बन्‍न पुगेको छु; किनकी मेरो बलिदानद्वारा परमेश्‍‍वर धर्मी ठहराइनुहुन्छ, तथा येशूमा विश्‍‍वास गर्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ ।”SB 7.2

    परमेश्‍‍वरको पुत्रले बाहेक अरू कसैले पनि हामीलाई मुक्ति दिलाउन सक्‍नेथिएन, केवल उहाँले मात्र परमेश्‍‍वरको बारेमा घोषणा गर्न सक्‍नुहुनेथियो । येशूलाई मात्र परमेश्‍‍वरको प्रेमको उचाइ र गहिराइको बारेमा थाहा थियो, केवल उहाँले मात्र यसलाई प्रकट गर्न सक्‍नुहुनेथियो । पतित मानिसहरूका पक्षमा ख्रीष्‍टले गर्नुभएको असीमित बलिदानले भन्दा अरू कुनै पनि कुराले नाश भइरहेको मानवजातिप्रति परमेश्‍‍वरको प्रेमलाई व्यक्त गर्न सक्‍नेथिएन ।SB 8.1

    “परमेश्‍‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍नो एकमात्र पुत्र दिनुभयो ।” परमेश्‍‍वरले उहाँलाई मानिसहरूका बीचमा बस्‍नमात्रै दिनुभएन, तर तिनीहरूका पापहरू उठाउन, र तिनीहरूका निम्ति बलिदानको रूपमा मर्न दिनुभयो । उहाँले पापमा डुबेका मानवजातिका खातिर नै ख्रीष्‍ट दिनुभयो । ख्रीष्‍टले स्‍वयं आफैंलाई मानवजातिका हित तथा आवश्‍‍यकताहरू प्रति अभिन्‍न सवूत गर्नुपर्नेथियो । उहाँ परमेश्‍‍वरसित एकै हुनुहुन्थ्यो र उहाँले स्‍वयं आफैंलाई मानवजातिसित एक यस्तो बन्धनद्वारा जोड्‍नुभएको छ जसलाई कहिल्यै पनि टुटाउन सकिँदैन । “तिनीहरूलाई भाइ भन्‍नमा येशू शर्माउनुहुन्‍न ।” हिब्रू २:११ । उहाँ हाम्रा बलि, हाम्रा अधिवक्ता, हाम्रा दाज्यू हुनुहुन्छ, जसले परमेश्‍‍वर पिताको सिंहासन अघि हाम्रो मानव रूप धारण गरी, अन्तकालदेखि नै आफूले उद्धार गर्नुभएका वंशसँग एक हुँदै आउनुभएको छ—जो मानिसका पुत्र हुनुहुन्छ । मानिस पापको विनाश र अवनतिबाट माथि उठ्‍न सकोस्, ताकि उसले परमेश्‍‍वरको प्रेमलाई प्रतिबिम्बित गर्न सकोस् तथा पवित्रताको आनन्द बाँड्‍न सकोस् भनी उहाँले यी सबै कार्यहरू सम्पादन गर्नुभयो ।SB 8.2

    हाम्रा उद्धारको निम्ति चुकाइएको मूल्यले तथा हाम्रा स्‍वर्गीय पिताले आफ्‍नो पुत्रलाई हाम्रा खातिर मृत्युको मुखमा धकेल्‍नुभई जुन असीमित त्याग गर्नुभयो, यसले ख्रीष्‍टमार्फत हामी के बन्‍न सक्छौं भन्‍ने उच्‍च धारणाहरू पैदा गराउनेछ । जब प्रेरित यूहन्‍नाले नाश भइरहेको मानवजातिप्रति प्रकट गरिएको परमेश्‍‍वर पिताको प्रेमको उचाइ, गहिराइ, तथा चौडाइ देखे, तब उनी भक्ति तथा श्रद्धाद्वारा पूर्ण भए र यस प्रेमको महानता र कोमलताको बारेमा व्यक्त गर्ने उचित शब्द फेला पार्न असफल भई उनले संसारलाई यसतर्फ हेर्नका निम्ति आव्हान गरे । “हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍‍वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि ।” १ यूहन्‍ना ३:१ । यस वचनले मानिसको कति ठूलो महत्‍व देखाउँदछ; पापको कारण मानवजाति शैतानको दास बन्‍न पुगेका छन् । ख्रीष्‍टको प्रायश्‍चित्तको बलिदानप्रतिको विश्‍‍वासद्वारा आदमका सन्तानहरू परमेश्‍‍वरका सन्तान बन्‍न सक्‍नेछन् । ख्रीष्‍टले मानव स्‍वभाव धारण गर्नुभई मानवजातिलाई माथि उठाउनुभयो । पतित मानिसहरूलाई त्यस स्थानमा राखिएको छ जहाँ तिनीहरू ख्रीष्‍टसँगको सम्बन्धद्वारा वास्तवमा “परमेश्‍‍वरका सन्तान” भनी कहलाइने योग्य बन्‍न सक्छन् ।SB 9.1

    यस प्रकारको प्रेम बेजोड छ । हामी स्‍वर्गीय राजाका सन्तान हौं ! अति बहुमूल्य प्रतिज्ञा ! सबैभन्दा गहनरूपमा मनन गरिनुपर्ने एक बिषय ! जुन संसारले उहाँलाई प्रेम गरेन त्यही संसारको निम्ति परमेश्‍‍वरको एक अनुपम प्रेम ! यस विचारमा आत्मालाई अधीनमा पार्न सक्‍ने एक शक्ति छ र मनलाई परमेश्‍‍वरको इच्छाको बन्धनमा ल्याउँदछ । क्रूसको प्रकाशमा जति नै बढी मात्रामा हामी ईश्‍‍वरीय चरित्रको बारेमा अध्ययन गर्ने गर्दछौं त्यति नै बढी मात्रामा हामी दया, कोमलता, तथा न्याय र इन्साफसँग माफी एकबद्ध भएको देख्दछौं, र त्यति नै बढ्‍तारूपमा हामी त्यस प्रेमको बारेमा असंख्य प्रमाणहरू फेला पार्दछौं जुन असीमित छ र जसको कोमल करुणा कुनै एक आमाको आफ्‍नो भौतारिएको छोराप्रति प्रकट हुने व्याकुल करुणाभन्दा कैयौं गुणा बढी छ ।SB 10.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents