Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ५. समर्पण

    परमेश्‍‍वरको प्रतिज्ञा यसप्रकार छ, “जब तिमीहरूले आफ्‍ना सारा हृयदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खेाजेर पाउनेछौ ।” यर्मिया २९:१३ ।SB 45.1

    सारा हृदय परमेश्‍‍वरमा सुम्पिएको हुनुपर्छ, अन्यथा हामीमा कदापि त्यो परिवर्तन आउनेछैन जसद्वारा हामी उहाँको स्‍वरूपमा पुनः स्थापना गरिनुपर्छ । स्‍वभावैद्वारा हामी परमेश्‍‍वरदेखि विरानो हुन पुगेका छौं । पवित्र आत्माले हाम्रो आस्थाको बारेमा यसरी वर्णन गर्नुभएको छ; “अपराध र पापहरूद्वारा मरेको ।” “सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ ।” “चोट नभएको कहीँ छैन ।” हामी शैतानको पासोमा फसेका छौं, “तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्‍नलाई कैदी बनाएको छ ।” एफिसी २:१; यशैया १:५, ६; २ तिमोथी २:२६ । परमेश्‍‍वर हामीलाई निको पार्न तथा छुटकारा दिलाउन चाहनुहुन्छ । तर यसको निम्ति एक पूर्ण परिवर्तन, तथा हाम्रो सारा स्‍वभावमा पुनर्नवीकरण आउनुपर्ने हुनाले हामीले स्‍वयंलाई पूर्णरूपले उहाँमा समर्पित गर्नुपर्नेछ ।SB 45.2

    स्‍वयं विरुद्धको संघर्ष नै अहिलेसम्म लडिएको युद्धहरू मध्यकै एक ठूलो युद्ध हो । स्‍वयंलाई त्याग्‍न तथा सम्पूर्ण कुरा परमेश्‍‍वरको इच्छामा सुम्पनका निम्ति एक संघर्षको आवश्‍‍यकता पर्दछ; तर आत्मालाई पवित्रतामा पुनर्नवीकरण गरिनु अघि यो परमेश्‍‍वरको अधीनमा भएको हुनुपर्छ ।SB 45.3

    परमेश्‍‍वरको शासन शैतानले प्रकट गरेझैँ अन्धो अधीनता र तर्कहीन नियन्‍‍त्रणमा आधारित छैन । यसले मन र अन्तरात्मालाई याचना गर्दछ । आफूले रच्‍नुभएको मानवजातिको निम्ति सृष्‍टिकर्ताको निमन्‍‍त्रणा यसप्रकार छ, “अब आओ, हामी सँगसँगै बसेर आफ्‍ना कुराको छलफल गरौं ।” यशैया १:१८ । परमेश्‍‍वरले आफ्‍ना जनहरूका इच्छाशक्तिमाथि जबर्जस्ती गर्नुहुन्‍न । जुन भक्ति स्‍वेच्छिक रूपले वा बुद्धीमानीसाथ चढाइएको हुँदैन सो उहाँले ग्रहण गर्न सक्‍नुहुनेछैन । केवल जबर्जस्ती तवरको समर्पणले मन र चरित्रको वास्तविक विकासमाथि अवरोध उत्पन्‍न गर्दछ; यसले मानिसलाई एक यन्‍‍त्रतुल्य मात्र बनाउँदछ । सृष्‍टिकर्ताको अभिप्राय वास्तवमा यो होइन । उहाँको इच्छा यही हो कि मानिस, जो उहाँको रचना गर्ने शक्तिको सर्वोत्कृष्‍ट कार्य हो, सम्भावित सबैभन्दा उच्‍च विकासको शिखरसम्मै पुग्‍नुपर्छ । उहाँ हाम्रो सामु आशिष्‌को उचाइ प्रस्तुत गर्नुहुन्छ र उहाँकै अनुग्रहद्वारा त्यस आशिष्‌को उचाइतर्फ डोऱ्याउने इच्छा राख्‍नुहुन्छ । स्‍वयं आफैंलाई उहाँमा समर्पण गर्नका निम्ति उहाँ हामीलाई आमन्‍‍त्रण गर्नुहुन्छ, ताकि उहाँले आफ्‍नो इच्छा हामीमार्फत पूरा गर्न सक्‍नुहुनेछ । पापको बन्धनदेखि मुक्त हुने वा नहुने र परमेश्‍‍वरको सन्तानहरूका साथ महिमित स्‍वतन्‍‍त्रताको भागीदार बन्‍ने वा नबन्‍ने भन्‍ने रोजाइ गर्ने काम हाम्रै हातमा छ ।SB 46.1

    हामीले स्‍वयं आफैंलाई परमेश्‍‍वरमा समर्पण गर्ने क्रममा ती सबै कुराहरूलाई अनिवार्यरूपमा त्याग्‍नुपर्छ जसले हामीलाई उहाँदेखि अलग पार्नेछ । त्यसैकारण हाम्रा मुक्तिदाता भन्‍नुहुन्छ, “तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन, त्यो मेरो चेला हुन सक्दैन ।” लूका १४:३३ । जे-जति कुराले मानिसको हृदयलाई परमेश्‍‍वरदेखि अलग पार्दछ ती सबैलाई त्यागिनुपर्छ । कैयौं मानिसहरूका निम्ति धन-सम्पत्ति नै मूर्ति हो । पैसाप्रतिको मोह र धन-सम्पत्तिप्रतिको अभिलाषा एक यस्तो सुनको साङ्‍ला हो जसले तिनीहरूलाई शैतानसँगै बाँध्‍ने गर्दछ । कुनै अर्को वर्गका मानिसहरूले चाहिँ प्रतिष्‍ठा र सांसारिक गौरवको भक्ति गर्दछन् । कसैको लागि स्‍वार्थी ऐश र उत्तरदायित्‍वदेखि स्‍वतन्‍‍त्रता नै मूर्ति बन्‍न पुग्छ । तर यी दासत्‍वका बन्धनहरूलाई तोडिनुपर्छ । हामी आधा परमप्रभुको र आधा संसारको बन्‍न सक्दैनौं । यदि हामी यस हालतमा छौं भने कदापि परमेश्‍‍वरको जन होइनौं ।SB 46.2

    त्यहाँ यस्ता मानिसहरू छन् जो परमेश्‍‍वरको सेवा गर्छु भनी विश्‍‍वास राख्दछन्, जबकि तिनीहरू उहाँको आज्ञापालन गर्न, उचित चरित्र निर्माण तथा मुक्ति प्राप्‍त गर्नका निम्ति स्‍वयं आफ्‍नै प्रयत्‍नहरूमाथि भरोसा राख्‍ने गर्दछन् । तिनीहरूका हृदय ख्रीष्‍टप्रतिको प्रेमको गहिरो भावनाद्वारा प्रभावित भएका छैनन्, तर तिनीहरूले इसाई जीवनको कर्तव्यहरूलाई त्यस रीतिद्वारा निर्वाह गर्ने प्रयत्‍न गर्दछन् कि मानौं तिनीहरूले स्‍वर्गमा प्रवेश पाउनका निम्ति परमेश्‍‍वरले तिनीहरूबाट ती कर्तव्यहरूका माग गर्नुहुन्छ । यस प्रकारको धर्म शून्यसरह हुन्छ । जब ख्रीष्‍ट हृदयमा बास गर्नुहुन्छ तब आत्मा उहाँको प्रेमद्वारा तथा उहाँमा प्राप्‍त भएको संगीपनको आनन्दद्वारा यति मात्रामा भरिनेछ कि यो उहाँमै समाहित हुनेछ, र उहाँप्रतिको ध्यानमा स्‍वयं आफैंलाई भुलिनेछ । ख्रीष्‍टप्रति प्रकट हुने प्रेम नै कार्यको लागि आवश्‍‍यक पर्ने उर्जा सावित हुनेछ । ज-जसले परमेश्‍‍वरको समेट्‍ने प्रेमलाई महसूस गर्दछन् तिनीहरूले परमेश्‍‍वरका चाहनालाई पूरा गर्नका निम्ति कति सानो योगदान गर्न सकिन्छ भनी प्रश्‍न गर्दैनन्, तिनीहरूले सबैभन्दा तल्‍लो स्तरको खोजी गर्दैनन्, तर त्यसको सट्टा तिनीहरूले उद्धारकर्ताको इच्छासित सबैभन्दा पूर्ण सामञ्‍जस्य प्राप्‍त गर्ने लक्ष्य राख्दछन् । उत्सुक आकांक्षाका साथ तिनीहरूले सबै कुरा समर्पण गर्दछन् र जुन कुराको तिनीहरू खोजी गर्दछन् त्यसको मूल्यको अनुपातमै चाख प्रकट गर्दछन् । यस प्रकारको गहिरो प्रेमविना नै ख्रीष्‍टमाथि विश्‍‍वास गर्छु भन्‍नु केवल एक बोली, सुख्‍खा, औपचारिकता, तथा कठिन झमेलाका रूपमा मात्र सावित हुनेछन् ।SB 47.1

    के ख्रीष्‍टमा सबैथोक समर्पण गर्नु एक अति नै ठूलो बलिदान हो भनी तपाईं महसूस गर्नुहुन्छ ? “ख्रीष्‍टले मलाई के दिनुभयो ?” भनी स्‍वयं आफैंलाई प्रश्‍न गर्नुहोस् । हाम्रो उद्धारको निम्ति परमेश्‍‍वरको पुत्रले सबैथोक—जीवन, प्रेम समर्पण गर्नुभयो तथा कष्‍ट सहनुभयो । त्यस महान् प्रेमकोे अयोग्य पात्रका हैसियतले कतै हामीले आफ्‍नो हृदयलाई उहाँदेखि थामिराखेका त छैनौं ? हाम्रो जीवनको प्रत्येक पलमा हामी उहाँको अनुग्रहको आशिष्‌का भागीदार बन्दै आएका छौं, र यसैकारण पनि जुन अबोधता र दुर्दशाको त्यस गहिराइबाट हामी बचाइएका छौं त्यसको बारेमा पूर्णरूपले बुझ्‍न सक्‍नेछैनौं । उहाँलाई हाम्रो पापले छेडेको छ, के हामी उहाँतर्फ हेरेर अझैपनि उहाँका सबै प्रेम र बलिदानलाई घृणा गर्न इच्छुक हुनेछौं त ? महिमाको परमप्रभुको असीमित अपमानको दृष्यमा के हामी केवल संघर्ष र आत्म-हीनताद्वारा मात्र जीवनमा प्रवेश गर्न सक्‍नेछौं भनी गनगनाईरहने त ?SB 48.1

    कैयौं अहंकारी व्यक्तिहरूका प्रश्‍न यसप्रकार छ, “परमेश्‍‍वरले मलाई स्‍वीकार गर्नुभएको आश्‍‍वासन पाउनु अघि नै म किन पश्‍चात्ताप र अपमानपूर्ण अवस्थामा पर्ने ?” यसको जवाफस्‍वरूप म तपाईंको ध्यान ख्रीष्‍टतर्फ मोड्‍न चाहन्छु । उहाँ पापरहित हुनुहुन्थ्यो र योभन्दा पनि बढी उहाँ स्‍वर्गको राजकुमार हुनुहुन्थ्यो; तर सारा मानवजातिको पक्षमा उहाँ पाप बनाइनुभयो । “ऊ अपराधीहरूको गन्तीमा गनियो । किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गऱ्यो ।” यशैया ५३:१२ ।SB 49.1

    तर जब हामी सबैथोक त्याग्दछौं तब हामीले वास्तवमा के त्यागेका हुन्छौं त ? येशूको आफ्‍नै रगतद्वारा शुद्ध पारिन र उहाँको अनुपम प्रेमले बचाइनको लागि हामीले पापद्वारा दुषित बन्‍न पुगेको हृदय मात्र त्यागेका हुन्छौं । तैपनि मानिसहरूले सबै कुरा त्याग्‍न कठिन छ भन्‍ने गर्दछन् ! म यो कुरा बोलिएको सुन्‍न तथा लेख्‍न पनि लज्‍जित छु ।SB 49.2

    जुन कुरा हाम्रा लागि हितकार छन् ती कुरा हामीद्वारा त्यागिएको परमेश्‍‍वर इच्छा राख्‍नुहुन्‍न । उहाँले जे-जति सबै थोक गर्नुहुन्छ ती सबैमा उहाँका सन्तानहरूका भलाइ चाहनुहुन्छ । जो-जतिले ख्रीष्‍टलाई रोजेका छैनन् ती सबैले यो कुरा बुझ्‍न सकेका भए कति असल हुनेथियो कि जुन कुराको तिनीहरू स्‍वयं आफैं खोजी गर्दछन् उहाँसँग तिनीहरूलाई दिनका निम्ति योभन्दा कैयौं गुणा असल कुराहरू छन् । जब कुनै व्यक्तिले परमेश्‍‍वरको इच्छा विपरीत सोचाई राख्‍ने तथा व्यवहार गर्ने गर्दछ तब उसले स्‍वयं आफ्‍नै आत्मालाई ठूलो हानि तथा अन्याय गरिरहेको हुन्छ । जुन मार्गमा हिँड्‍नदेखि उहाँले निषेध गर्नुभएको छ त्यस मार्गमा साँचो आनन्द पाउन सकिँदैन, जसलाई कुन कुरा असल छ भनी थाहा छ र जसले आफ्‍ना सृष्‍टिको भलाइका निम्ति योजनाहरू बनाउनुहुन्छ । अपराधको मार्ग विपत्ति र विनाशको मार्ग हो ।SB 49.3

    परमेश्‍‍वर आफ्‍ना सन्तानहरूले दुःख भोगेको देख्‍न प्रसन्‍न रहनुहुन्छ भन्‍ने सोचाई राख्‍नु एक भुल हो । सारा स्‍वर्ग मानिसको सुख हेर्नमा उत्सुक छ । हाम्रा परमेश्‍‍वर पिताले आफ्‍ना कुनैपनि जनहरूका निम्ति आनन्दका मार्गहरू बन्द गर्नहुन्‍न । ईश्‍‍वरीय योजनाहरूले हामीलाई ती अतिभोगहरूलाई त्याग्‍नका निम्ति आव्हान गर्दछ जसले दुःख र निराशा ल्याउन सक्‍नेछ, जसले हाम्रो लागि खुशी र स्‍वर्गको ढोका बन्द गर्नेछ । संसारको मुक्तिदाताले मानिसहरूलाई तिनीहरूका दरिद्रता, अपूर्णता र दुर्बलताका साथ जुन अवस्थामा तिनीहरू छन् त्यही अवस्थामा ग्रहण गर्नुहुन्छ र उहाँले तिनीहरूका पाप धुने तथा उहाँको रगतद्वारा उद्धार गर्ने मात्र होइन तर ज-जसले उहाँको जुवा आफूमाथि लिन र उहाँको बोझ उठाउन सहमती जनाउनेछन्, उहाँले ती सबैका आकांक्षाहरूलाई तृप्‍त पनि पार्नुहुनेछ । जो-जति जीवनको रोटीका निम्ति उहाँमा आउँदछन् तिनीहरूलाई शान्ति र विश्राम दिनु नै उहाँको उद्देश्‍‍य हो । उहाँले हामीद्वारा केवल ती कर्तव्यहरू निर्वाह गरिएको देख्‍न चाहनुहुन्छ जसले हाम्रा कदमहरूलाई परमानन्दको चुचुरो तर्फ डोऱ्याउनेछन् जुन कुरा अनाज्ञाकारीहरूले कदापि हासिल गर्न सक्‍नेछैनन् । हामी भित्र महिमाको आशा ख्रीष्‍टको बास भएपश्‍चात् हाम्रो जीवन साँचो आनन्दले भरिपूर्ण हुनेछ ।SB 50.1

    “मैले कसरी स्‍वयं आफैंलाई परमेश्‍‍वरमा अर्पण गर्ने ?” भनी कैयौंले प्रश्‍न गर्दैछन् । तपाईं स्‍वयं आफैंलाई उहाँमा समर्पण गर्न चाहनुहुन्छ, तर तपाईं नैतिक शक्तिमा दुर्बल हुनुहुन्छ, शंकाको दासत्‍वमा पर्नुभएको छ, र आफ्‍नो पापपूर्ण जीवनको बानीहरूका नियन्‍‍त्रणमा हुनुहुन्छ । तपाईंका प्रतिज्ञा र संकल्पहरू बालुवाका डोरी समान छन् । तपाईं आफ्‍ना विचार, आवेग तथा मोहहरूलाई नियन्‍‍त्रित गर्न सक्‍नुहुन्‍न । तपाईंका तोडिएका प्रतिज्ञाहरू तथा जफत गरिएका धितोहरूका स्मृतिले तपाईंको आत्म-विश्‍‍वासलाई कमजोर पार्दछ र तपाईंलाई परमेश्‍‍वरले स्‍वीकार गर्न सक्‍नुहुनेछैन भन्‍ने भावना तपाईंमा पैदा गर्नेछ, तर तपाईं निराश हुनुपर्नेछैन । तपाईंले इच्छाशक्तिको वास्तविक शक्ति के हो भनी बुझ्‍नु आवश्‍‍यक छ । निर्णय गर्ने वा रोजाइ गर्ने शक्ति नै मानव स्‍वभावलाई शासन गर्ने शक्ति हो । सबै कुरा इच्छा शक्तिको उचित कार्यकलापमा निर्भर रहन्छ । परमेश्‍‍वरले मानिसलाई जुन रोजाइ गर्ने शक्ति दिनुभएको छ त्यसलाई तिनीहरूले प्रयोग गर्नुपर्नेछ । तपाईंले आफ्‍नो हृदय परिवर्तन गर्न सक्‍नुहुन्‍न, तपाईंले स्‍वयं आफ्‍नै प्रयासद्वारा हृदयको प्रेम परमेश्‍‍वरलाई दिन सक्‍नुहुन्‍न; तर तपाईंले उहाँको सेवा गर्ने रोजाइ गर्न सक्‍नुहुन्छ । तपाईंले उहाँलाई आफ्‍नो इच्छाशक्ति दिन सक्‍नुहुन्छ, त्यसपछि उहाँको असल अभिप्राय अनुसार इच्छा गर्न र काम गर्न उहाँले तपाईंमा काम गर्नुहुनेछ । यसरी तपाईंको सारा स्‍वभाव नै ख्रीष्‍टको आत्माको वशमा ल्याइनेछ, तपाईंको प्रेम उहाँमै केन्द्रित हुनेछ र तपाईंका विचारहरू उहाँसित मेल खानेछन् ।SB 51.1

    भलाइ र पवित्रताको इच्छा राख्‍नु असल नै हो, तर तपाईंले यो विचारलाई बीचमै रोक्‍नुभएको खण्डमा ती व्यर्थै ठहरिनेछन् । धेरै मानिसहरू इसाई बन्‍ने आशा तथा इच्छा प्रकट गर्ने क्रममै नाश हुनेछन् । तिनीहरू आफ्‍नो इच्छाशक्तिलाई परमेश्‍‍वरमा समर्पण गर्ने अवस्थासम्म आउँदैनन् । तिनीहरू वर्तमानमा इसाई बन्‍ने रोजाइ गर्दैनन् ।SB 52.1

    इच्छाशक्तिको उचित प्रयोगद्वारा तपाईं जीवनमा एक पूर्ण परिवर्तन ल्याउन सकिन्छ । आफ्‍नो इच्छाशक्तिलाई ख्रीष्‍टमा अर्पण गर्नुभएको खण्डमा तपाईंले सबै प्रधानताहरू तथा अन्य कुनै शक्तिहरूभन्दा उच्‍च शक्तिका साथ मित्रता गाँस्‍नुहुनेछ । तपाईंले स्‍वर्गबाट एक यस्तो शक्ति प्राप्‍त गर्नुहुनेछ जसले तपाईंलाई अडिग राख्‍नेछ र परमेश्‍‍वरमाथि निरन्तरको समर्पणद्वारा तपाईं विश्‍‍वासको नयाँ जीवन व्यतित गर्न सक्षम बन्‍नुहुनेछ ।SB 52.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents