Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ९. काम र जीवन

    परमेश्‍‍वर नै ब्रह्माण्डको निम्ति जीवन, ज्योति, र आनन्दको मुहान हुनुहुन्छ । जसरी सूर्यबाट प्रकाशको किरण उत्पन्‍न हुन्छ, र जसरी एक जीवित पानीको मुहानबाट पानीको मूल फुटेर आउँछ त्यसरी नै परमेश्‍‍वरद्वारा सृष्‍टि गरिएका थोकहरूमा उहाँदेखि नै आशिष्‌को खोला बग्दछ । र जुन मानिसको हृदयमा परमेश्‍‍वरको जीवन रहेको हुन्छ, यो प्रेम र आशिष्‌का रूपमा अन्य मानिसहरूसम्म बहनेछ ।SB 88.1

    पतित मानवजातिलाई उठाउन र उद्धार गर्न नै हाम्रो मुक्तिदाताको आनन्दमय कार्य थियो । यसको निम्ति उहाँले आफ्‍नो जीवनलाई प्रिय ठान्‍नुभएन, तर अपमानलाई केही जस्तो नठानी क्रूसको कष्‍ट भोग्‍नुभयो । यसरी नै स्‍वर्गदूतहरू पनि अरूहरूका खुशीका निम्ति काम गर्ने क्रममै सदा व्यस्त छन् । यही नै तिनीहरूको आनन्द हो । जो दुःखी छन् र हरेक तवरले चरित्र तथा श्रेणीमा न्यून छन् यस्ता व्यक्तिहरूलाई सेवा गर्नका निम्ति जुन स्‍वार्थी व्यक्तिले यसलाई अपमानजनक सेवाको रूपमा लिने गर्दछन्, यही कामलाई नै पापरहित स्‍वर्गदूतहरूले पूरा गर्नेछन् । ख्रीष्‍टको आत्म-बलिदान पूर्ण प्रेमको आत्मा नै एक यस्तो आत्मा हो जसद्वारा स्‍वर्ग व्याप्‍त छ र यसको परमानन्दकै सार हो । यही आत्मा ख्रीष्‍टका चेलाहरूमा पनि हुनेछ र यसलाई प्राप्‍त गर्नु नै तिनीहरूका कार्य हुनेछ ।SB 88.2

    जब हृदयमा ख्रीष्‍टको प्रेम स्थापित भएको हुन्छ, तब सुगन्धित बास्‍नालाई झैँ त्यसलाई पनि लुकाउन सकिनेछैन । जो-जतिसँग हामी सम्पर्कमा आउँदछौं ती सबैले यसको पवित्र प्रभावलाई महसूस गर्नेछन् । हृदयमा रहेको ख्रीष्‍टको आत्मा मरुभूमिको एक पानीको मूल जस्तै हो, जुन सबैको प्यास मेटाउनको निम्ति बहन्छ र जो-जति नाश हुन लागेका छन् तिनीहरूलाई जीवनको पानी पिउनको निम्ति उत्सुक तुल्याउँदछ ।SB 89.1

    जसरी येशूले मावनजातिको आशिष् तथा उत्थानको निम्ति काम गर्नुभयो त्यसरी नै हामीले पनि उहाँप्रति प्रेम प्रकट गर्दै सोही रीतले काम गर्ने इच्छा गर्नेछौं । यसले हामीमा हाम्रा स्‍वर्गीय पिताको निगरानीमा रहेका उहाँद्वारा सृष्‍टि गरिएका सबै प्राणीहरूप्रति प्रेम, कोमलता, तथा करुणाको भावना पैदा गर्दछ ।SB 89.2

    यस पृथ्वीमा मुक्तिदाताको जीवन एक सजिलो तथा स्‍वयं आफ्‍नै बारेमा चिन्तन गर्ने प्रकारको थिएन, तर उहाँले पतित मानवजातिको मुक्तिको निम्ति दृढ, उत्सुक तथा अथक प्रयासका साथ परिश्रम गर्नुभयो । डुँडदेखि कलवरीसम्मै उहाँले आत्म-त्यागको मार्ग अपनाउनुभयो, र उहाँले उत्साहपूर्ण कार्य, कष्‍टदायक यात्रा तथा थकानयुक्त फिक्री र परिश्रमदेखि छुटकारा पाउने चेष्‍टा गर्नुभएन । उहाँले भन्‍नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्‍वरूप आफ्‍नो प्राण दिन आयो ।” मत्ती २०:२८ । यही नै उहाँको जीवनको एक महान् उद्देश्‍‍य थियो । यसबाहेक अन्य सबै कुराहरू उहाँको निम्ति दोस्रो दर्जाका तथा तुच्छ कुरा थिए । परमेश्‍‍वरको इच्छालाई पालन गर्नु तथा उहाँको काम पूरा गर्नु नै येशूको निम्ति सर्वथोक थियो । उहाँको परिश्रममा स्‍वयं तथा आत्म-अभिरुचिको कुनै स्थान थिएन ।SB 89.3

    तसर्थ, जो-जति ख्रीष्‍टको अनुग्रहको भागीदार हुन् तिनीहरू कुनै पनि तवरको बलिदान गर्न तयार हुनेछन्, ताकि जसका निम्ति उहाँ मर्नुभयो तिनीहरू पनि स्‍वर्गीय उपहारको हिस्सेदार बन्‍न पाउनेछन् । तिनीहरूले यस संसारलाई अन्य व्यक्तिहरूका लागि बस्‍न उचित स्थान तुल्याउनका निम्ति सक्दो योगदान गर्नेछन् । यही भावना नै वास्तविक रूपमा परिवर्तित भएको आत्माको निश्‍चित फल हो । कुनै व्यक्ति ख्रीष्‍टमा आउनसाथ उसको हृदयमा आफूले येशूमा कस्तो बहुमूल्य मितत्रा पाएको छ भनी अरूहरूलाई बताउने एक इच्छा पैदा हुनेछ; र उद्धार गर्ने तथा पवित्र तुल्याउने सत्यतालाई उसको हृदयभित्र बन्द राख्‍न सकिनेछैन । यदि हामी ख्रीष्‍टको धार्मिकताद्वारा पहिराइएका छौं र उहाँको सदा रहिरहने आत्माको आनन्दद्वारा भरिपूर्ण छौं भने हामीले आफ्‍नो मनको शान्तिलाई थामेर राख्‍न सक्‍नेछैनौं । यदि हामीले परमप्रभु भलो हुनुहुन्छ भनी चाखेका तथा देखेका छौं भने हामीसँग अरूलाई बताउनका निम्ति केही कुरा अवश्‍‍य हुनेछन् । जसरी फिलिपले मुक्तिदातालाई आफ्‍नो जीवनमा भेट्टाए पश्‍चात् अन्य मानिसहरूलाई उहाँको उपस्थितिमा ल्याए सोहीरूपले हामीले पनि अरूलाई ख्रीष्‍टको उपस्थितिमा ल्याउनेछौं । हामीले तिनीहरूका सामु ख्रीष्‍टमा रहेका आकर्षणहरूको बारेमा तथा आउनेवाला संसारका नदेखिएका वास्तविकताहरूका बारेमा बताउने प्रयत्‍न गर्नेछौं । जुन मार्गमा येशू हिँड्‍नुभयो हाम्रो मनमा पनि त्यही मार्ग पछ्‌याउने एक तीव्र इच्छा हुनेछ । हामीमा एक उत्सुक तिर्सना हुनेछ र यसरी हाम्रा आसपासका मानिसहरूले “संसारको पाप उठाइलैजाने परमेश्‍‍वरका थुमा”-लाई देख्‍नेछन् । यूहन्‍ना १:२९ ।SB 90.1

    अन्य मानिसहरूलाई आशिष् प्रदान गर्ने हेतुले गरिएको परिश्रमले स्‍वयं आफैंमाथि प्रतिज्ञा स्‍वरूप आशिष् ल्याउँदछ । परमेश्‍‍वरले हामीलाई उद्धारको योजनामा हामीद्वारा निभाइनका निम्ति एक भूमिका दिनुको उद्देश्‍‍य पनि यही थियो । उहाँले मानिसलाई ईश्‍‍वरीय स्‍वभावको भागीदार बन्‍ने तथा सोही आशिष् आफ्‍ना छरछिमेकीहरूकहाँ फैलाउने विशेषाधिकार प्रदान गर्नुभएको छ । यही नै परमेश्‍‍वरले मानवजातिलाई प्रदान गर्न सक्‍नुहुने सर्वाेच्‍च सम्मान तथा सबैभन्दा महान् आनन्द हो । यसरी प्रेमले भरिपूर्ण परिश्रममा लागिपरेका मानिसहरू आफ्‍ना सृष्‍टिकर्ताको सर्वाधिक नजिक ल्याइनेछन् ।SB 91.1

    परमेश्‍‍वरले सुसमाचार फैलाउने तथा अन्य सारा प्रेमपूर्ण सेवाका कार्यहरू स्‍वर्गदूतहरूलाई जिम्मा दिन पनि सक्‍नुहुनेथियो । उहाँको उद्देश्‍‍य पूरा गर्नलाई उहाँले अन्य कुनै उपाय अपनाउन सक्‍नुहुनेथियो । तर आफ्‍ना असीमित प्रेमद्वारा उहाँले हामीलाई उहाँसँगै, ख्रीष्‍ट र स्‍वर्गदूतहरूसँग सह-कामदार बनाउने रोजाइ गर्नुभयो, ताकि हामीले यस निस्‍वार्थ सेवाबाट प्राप्‍त हुने आशिष्, आनन्द तथा आत्मिक उन्‍नति अरूलाई पनि बाँड्‍न सक्‍नेछौं ।SB 91.2

    ख्रीष्‍टका दुःखहरूमा सहभागी बनी हामी करुणामा उहाँसँगै एक बन्‍न पुग्दछौं । अरूको भलाइका निम्ति गरिने हरेक आत्म-बलिदानपूर्ण कार्यले प्रदान गर्ने व्यक्तिको हृदयमा परोपकारको भावनालाई मजबुत तुल्याउँदछ, र उसलाई संसारको उद्धारकर्तासँग अझ नजिकको सम्बन्धमा ल्याउँदछ, र यसरी “उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक ।” २ कोरिन्थी ८:९ । र यसरी हामी आफ्‍नो जीवनमा ईश्‍‍वरीय योजना पूरा गर्दछौं तब मात्र हाम्रो निम्ति जीवन आशिष्‌मय बन्‍न सक्‍नेछ ।SB 91.3

    ख्रीष्‍टले आफ्‍ना चेलाहरूका निम्ति बनाउनुभएको रूपरेखामुताबिक तपाईंले पनि काम गर्दै जानुभयो र उहाँको निम्ति आत्माहरू जित्‍नुभयो भने तपाईंले अझ गहिरो अनुभव तथा ईश्‍‍वरीय कुराहरूप्रति अझ बढी ज्ञानहरू हासिल गर्ने खाँचोको महसूस गर्नुहुनेछ, र धार्मिकताको निम्ति भोका, प्यासा बन्‍नुहुनेछ । तपाईंले परमेश्‍‍वरसँग बिन्ती गर्नुहुनेछ, र तपाईंको विश्‍‍वास मजबुत बन्‍नेछ, र तपाईंको आत्माले मुक्तिको कुवादेखि अझ बढ्‍तारूपमा पानी पिउनेछ । विरोध तथा परीक्षाहरूका सामना गर्ने क्रमले तपाईंलाई बाइबल र प्रार्थनातर्फ डोऱ्याउनेछ । तपाईं ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‍दै जानुहुनेछ र एक प्रचुर अनुभव हासिल गर्नुहुनेछ ।SB 92.1

    अरूका निम्ति गरिने निस्‍वार्थ परोपकारी श्रमले गम्भीरता, स्थिरता तथा चरित्रमा ख्रीष्‍टको जस्तै सुन्दरता ल्याउँदछ, र यसको मालिकलाई शान्ति र प्रसन्‍नता प्रदान गर्दछ । अभिलाषाहरू उच्‍च बन्‍न पुग्दछन् । सुस्तीपन वा स्‍वार्थीपनका निम्ति त्यहाँ कुनै स्थान हुनेछैन । ज-जसले यसरी इसाई अनुग्रहको प्रयोग गर्ने गर्दछन्, तिनीहरू बढ्‍दै जानेछन् र परमेश्‍‍वरको निम्ति काम गर्न मजबुत बन्‍नेछन् । तिनीहरूसँग प्रष्‍ट आत्मिक अनुभवहरू, एक स्थिर बढ्‍दो विश्‍‍वास तथा प्रार्थनामा एक बढ्‍दो शक्ति हुनेछन् । तिनीहरूका आत्मालाई परमेश्‍‍वरको आत्माले प्रभावित तुल्याएपछि ईश्‍‍वरीय स्पर्शको जवाफस्‍वरूप आत्मा परमेश्‍‍वरको आत्माको पवित्र सम्बन्धमा आउँदछ । यसरी जो-जति अरूका भलाइका खातिर निस्‍वार्थ रूपले परिश्रम गर्ने गर्दछन् तिनीहरूले निश्‍चितरूपमा स्‍वयं आफ्‍नै मुक्तिको निम्ति काम गरिरहेका हुन्छन् ।SB 92.2

    अनुग्रहमा बढ्‍ने एकमात्र उपाय भन्‍नु नै जुन कामका निम्ति ख्रीष्‍टले हामीलाई आदेश गर्नुभएको छ यसलाई निस्‍वार्थरूपले पूरा गर्नु हो, र ज-जसलाई हाम्रो मद्दतको खाँचो छ तिनीहरूलाई हाम्रो सामर्थ्यले भ्याएसम्म मद्दत गर्दै तथा आशिष् प्रदान गर्दै काममा लाग्‍नु होे । व्यायमद्वारा नै शक्ति आउँदछ; कार्यकलाप नै जीवनको एक शर्त हो । ज-जसले अनुग्रहद्वारा प्राप्‍त हुने आशिष्‌हरूलाई निष्क्रियरूपले ग्रहण गर्दै इसाई जीवन कायम राख्‍ने प्रयत्‍न गर्दैछन्, ख्रीष्‍टको निम्ति केही पनि गर्दैनन्, यस्ता व्यक्तिहरू काम नै नगरी खाँदै जीवन विताउने प्रयास गरिरहेका छन् । प्राकृतिक संसारमा झैँ आत्मिक संसारमा पनि यसले सदा पतन तथा विनाश निम्त्याउने गर्दछ । जुन व्यक्तिले आफ्‍नो हात गोडाहरूका व्यायम गर्नुमा अस्‍वीकार गर्दछ उसले छिट्टै तिनको प्रयोग गर्न सकिने सारा शक्ति नै गुमाउन सक्‍नेछ । यसरी नै जुन इसाईले परमेश्‍‍वरद्वारा प्राप्‍त शक्तिलाई प्रयोग गर्नेछैन, ऊ ख्रीष्‍टमा बढ्‍न असलफल बन्‍ने मात्र होइन, तर आफूले पाएको शक्ति पनि गुमाउनेछ ।SB 93.1

    ख्रीष्‍टको मण्डली नै मानिसहरूका मुक्तिका निम्ति परमेश्‍‍वरद्वारा नियुक्त गरिएको माध्यम हो । संसारमा सुसमाचार फैलाउनु नै मण्डलीको काम हो । र यो दायित्‍व सबै इसाईहरूका काँधमा आइपरेको छ । प्रत्येकले आफ्‍नो दक्षता र मौकाअनुसार मुक्तिदाताको यस आदेशलाई पूरा गर्नुपर्नेछ । हामीलाई प्रकट गरिएको ख्रीष्‍टको प्रेमले हामीलाई ती सबै व्यक्तिहरूप्रति ऋणी बनाउँदछ जसले उहाँलाई चिन्दैनन् । परमेश्‍‍वरले हामीलाई ज्योति दिनुभएको छ तर स्‍वयं आफ्‍नै निम्ति मात्र होइन तर उहाँलाई नचिन्‍ने मानिसहरूमाथि छर्नका निम्ति दिनुभएको छ ।SB 94.1

    यदि ख्रीष्‍टका चेलाहरू कर्तव्यप्रति सचेत रहेका भए आज अन्यजातिहरू माझ हजारौं हजार प्रचारकहरू हुनेथिए । र जो-जति सबै यस काममा व्यक्तिगतरूपमा सहभागी बन्‍न सक्दैनथे तिनीहरूले अझैपनि आफ्‍ना आयआर्जन, सहानुभूति र प्रार्थनाहरूद्वारा यसलाई आड दिन सक्‍नेथिए । इसाई राष्‍ट्रहरूमा आत्माहरूप्रति अझ गम्भीर तवरको श्रम गरिनेथियोे ।SB 94.2

    ख्रीष्‍टको निम्ति काम गर्नलाई अन्यजातिहरू माझ जानैपर्ने वा घर परिवार छोड्‍नु पनि पर्नेछैन, चाहे हाम्रो निम्ति त्यहाँ काम तोकिएको किन नहोस् । हामीले सोही काम पारिवारिक बन्धनमा, मण्डलीमा तथा जो-जतिसँग हामी संगत गर्दछौं र व्यापार गर्दछौं तिनीहरू माझ पनि गर्न सक्‍नेछौं ।SB 94.3

    यस पृथ्वीमा मुक्तिदाताको जीवनको अधिकांश भाग नासरतको एक सिकर्मीको पसलमा धैर्यतापूर्वक परिश्रम गर्ने क्रममै बितेको थियो । जब जीवनदाता परमप्रभु अपरिचित तथा सम्मानविना नै किसान र मजदुरहरूका बीचमा काँधमा काँध जुधाउँदै हिँड्‍नुभयो तब सेवा गर्ने स्‍वर्गदूतहरू उहाँसँगै उपस्थित हुने गर्दथे । उहाँले आफ्‍नो यस सामान्य पेशामा परिश्रम गर्ने क्रममा त्यही रूपले ईमानदारपूर्वक आफ्‍नो जीवनोद्देश्‍‍य पूरा गर्दैहुनुहुन्थ्यो जसरी उहाँले बिरामीलाई निको पार्नुहुँदा वा गालीलको आँधीवेरीयुक्त समुद्रको छालमाथि हिँड्‍नुहुँदाखेरि पूरा गर्नुभएको थियो । तसर्थ सबैभन्दा साधारण कामकाजहरूमा तथा जीवनका सबैभन्दा न्यून अवस्थाहरूमा पनि हामी येशूसँगै हिँड्‍न तथा काम गर्न सक्दछौं ।SB 94.4

    प्रेरित पावल भन्दछन्, “जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्‍‍वरसँग रहिरहोस् ।” १ कोरिन्थी ७:२४ । एक व्यापारीले आफ्‍नो व्यापार ईमान्दारपूर्वक परमप्रभुको महिमा हुनेगरी सञ्‍चालन गर्न सक्‍नेछ । यदि ऊ ख्रीष्‍टको साँचो चेला हो भने उसले आफूले गर्ने हरेक कार्यमा आफ्‍नो धर्म वहन गर्नेछ र मानिसहरूका सामु ख्रीष्‍टको आत्मा प्रकट गर्नेछ । एक यन्‍‍त्र बनाउनेवाला ख्रीष्‍टको परिश्रमी र विश्‍‍वासयोग्य प्रतिनिधि बन्‍न सक्दछ जसरी उहाँले पनि गालीलका डाँडा वरिपरि एक साधारण जीवन बिताउँदै परिश्रम गर्नुभयो । ज-जसले येशूको नाम धारण गर्दछन् तिनीहरूले यसरी काम गर्नुपर्दछ कि उसका असल कार्यहरूलाई देखेर अन्य व्यक्तिहरू आफ्‍ना सृष्‍टिकर्ता र उद्धारकर्ताको महिमा गर्नेतर्फ डोऱ्याउनेछन् ।SB 95.1

    धेरैले अन्य मानिसहरू आफूभन्दा अधिक उपहार तथा उपलब्धिले पूर्ण भएको कारण देखाउँदै आफ्‍ना प्रतिभाहरू ख्रीष्‍टको सेवामा अर्पित गर्नुदेखि बहाना बनाउने गर्दछन् । विशेषरूपले प्रतिभावान् व्यक्तिहरूले मात्र आफ्‍ना सामार्थ्यहरूलाई परमेश्‍‍वरको सेवामा एकत्रित गर्नुपर्नेछ भन्‍ने विचारधारा प्रचलित रहँदै आएको छ । कैयौंले प्रतिभाहरू केवल कुनै एक निगाह गरिएका वर्गहरूलाई मात्र दिइन्छ र अर्को वर्गलाई चाहिँ परिश्रम तथा ईनाममा सहभागी बन्‍नका निम्ति बोलाइएका छैन भन्‍ने विचार लिने गर्दछन् । तर दृष्‍टान्तमा यसरी प्रस्तुत गरिएको छैन । घरका मालिकले आफ्‍ना नोकरहरूलाई बोलाए, र उनले सबैलाई काम दिए ।SB 96.1

    जीवनका सबैभन्दा साधारण कर्तव्यहरूलाई पनि हामी “प्रभुको सेवा गरेजस्तै” निर्वाह गर्न सक्‍नेछौं । कलस्सी ३:२३ । यदि हाम्रो हृदयमा परमेश्‍‍वरको प्रेम छ भने सो तथ्यता हाम्रो जीवनमा प्रकट हुनेछ । ख्रीष्‍टको सुगन्धित वासनाले हामीलाई घेर्नेछ, र हाम्रो प्रभाव उच्‍च बन्‍नेछ तथा यसले आशिष् ल्याउनेछ ।SB 96.2

    परमेश्‍‍वरको काममा लाग्‍नु अघि तपाईंले कुनै विशेष अवसरहरूका प्रतीक्षा गर्नु वा असाधारण सामर्थ्यहरूका आशा राख्‍नुपर्दैन । संसारले तपाईंको बारेमा के ठान्‍नेछ भनी तपाईंले चिन्तन गर्नु आवश्‍‍यक छैन । यदि तपाईंको जीवन नै आफ्‍नो विश्‍‍वासको शुद्धता र निष्कपटताको गवाही हो, तथा तपाईं अन्य मानिसहरूलाई भलाइ गर्ने इच्छा राख्‍नुहुन्छ भन्‍ने कुरामा तिनीहरू विश्‍‍वस्त हुन्छन् भने यस अवस्थामा तपाईंका प्रयत्‍नहरू पूर्णरूपले व्यर्थमा जाने छैनन् ।SB 96.3

    येशूका सबैभन्दा नम्र तथा गरीब चेलाहरू पनि अरूका निम्ति आशिष्‌का माध्यम बन्‍न सक्‍नेछन् । तिनीहरू केही विशेष भलाइका काम गर्दछौं भन्‍ने कुरा चाल नपाएका हुन सक्छन्, तर तिनीहरूका अचेत प्रभावद्वारा तिनीहरूले आशिष्‌का तरङ्गहरू उत्पन्‍न गर्न सक्‍नेछन्, जुन विस्तार हुँदैजानेछन्, र तिनीहरूले ती धन्यका परिणामहरूका बारेमा अन्तिम इनामको दिनसम्म नै थाहा नपाउन पनि सक्‍नेछन् । केही महान् कार्य गर्दैछौं भन्‍ने विषयमा तिनीहरूले महसूस गर्दैनन्, र थाहा पनि पाउँदैनन् । तिनीहरूले सफलताको बारेमा व्याकुल बन्दै स्‍वयं आफैंलाई थकित तुल्याउनुपर्नेछैन । तिनीहरूले परमेश्‍‍वरले निर्धारित गर्नुभएको कार्यलाई विश्‍‍वसनीय ढंगले सम्पादन गर्दै शान्तिपूर्वक अघि मात्र बढ्‍नुपर्नेछ, र तिनीहरूका जीवन व्यर्थैमा खेर जानेछैन । तिनीहरूका आत्मा ख्रीष्‍टका स्‍वरूपमा वृद्धि हुँदै जानेछ; तिनीहरू यस जीवनमा परमेश्‍‍वरको सहकर्मी हुन् र यसरी अझ उच्‍चस्तरीय कामका निम्ति तथा आउनेवाला जीवनको छायारहित आनन्दका निम्ति स्‍वयं आफैंलाई योग्य तुल्याउँदैछन् ।SB 97.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents