Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    १२. शंकाबारे के गर्ने

    धेरै मानिसहरू विशेषगरी इसाई जीवनमा परिपक्‍व नभएका मानिसहरू कहिलेकाहीँ नास्तिकताका सुझावहरूद्वारा विचलित हुने गर्दछन् । बाइबलमा त्यहाँ धेरै यस्ता कुराहरू छन् जुन तिनीहरूले वर्णन गर्न तथा बुझ्‍न समेत सक्दैनन्, र शैतानले यस्तै कुराहरूलाई लिएर पवित्रशास्‍‍त्र परमेश्‍‍वरको प्रकाशन हो भन्‍ने विषयमा तिनीहरूका विश्‍‍वासलाई डगमगाउनका निम्ति प्रयोग गर्दछ । उनीहरू प्रश्‍न गर्दछन्, “सत्य बाटोलाई मैले कसरी चिन्‍ने ? यदि बाइबल साँच्‍चै नै परमेश्‍‍वरको वचन हो भने म यी शंका तथा व्याकुलताहरूदेखि कसरी मुक्त हुन सक्‍नेछु त ?”SB 125.1

    परमेश्‍‍वरले हाम्रो विश्‍‍वासको आधारको रूपमा यथेष्‍ट प्रमाणहरू नदिईकन हामीलाई विश्‍‍वास गर्न कर गर्नुहुन्‍न । उहाँको अस्तित्‍व, उहाँको चरित्र, उहाँको वचनको सत्यता, यी सबै कुराहरू गवाहीद्वारा स्थापित छन् जसले हाम्रो विचारशक्तिलाई आकर्षित तुल्याउँदछ र यो गवाही भरपुर छ । तैपनि परमेश्‍‍वरले कदापि शंकाको सम्भाव्यतालाई हटाउनुभएको छैन । हाम्रो विश्‍‍वास प्रर्दशनमाथि नभई प्रमाणमाथि अडिएको हुनुपर्छ । शंका गर्न चाहनेहरूले सो गर्ने अवसर पाउनेछन्; जबकि सत्यतालाई साँचो रूपमा जान्‍न चाहनेहरूले प्रशस्त प्रमाणहरू फेला पार्नेछन् जसलाई तिनीहरूले आफ्‍नो विश्‍‍वासको आधार बनाउन सक्‍नेछन् ।SB 125.2

    सीमित मन भएको मानिसलाई असीमित परमेश्‍‍वरको चरित्र तथा कामहरूका बारेमा पूर्णरूपले बुझ्‍नु असम्भव छ । सबैभन्दा बुद्धिमान् व्यक्ति, वा सबैभन्दा शिक्षित व्यक्तिको निम्ति पनि त्यस पवित्र अस्तित्‍व सदा रहस्यको विषय बनिरहनेछ । “के तपाईं परमेश्‍‍वरको रहस्यको गहिराइलाई बुझ्‍न सक्‍नुहुन्छ ? के तपाईं सर्वशक्तिमान्‌को सीमालाई जाँच्‍न सक्‍नुहुन्छ ? त्यो त स्‍वर्गभन्दा अग्‍लो छ, तपाईं के गर्न सक्‍नुहुन्छ ? त्यो त चिहानभन्दा गहिरो छ, तपाईं के जान्‍न सक्‍नुहुन्छ ?” अय्यूब ११:७, ८ ।SB 125.3

    प्रेरित पावल भन्दछन्, “आहा ! परमेश्‍‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो ! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने !” रोमी ११:३३ । तर यद्यपि “उहाँको वरिपरि बादल र घोर अन्धकार छन्, धार्मिकता र न्याय उहाँको सिंहासनका जग हुन् ।” भजनसंग्रह ९७:२ । हामीप्रति उहाँको व्यवहार तथा जुन उद्देश्‍‍यहरूद्वारा उहाँ परिचालित हुनुहुन्छ सो हामी अहिलेसम्म बुझ्‍न सक्दछौं, ताकि असीमित शक्तिसँग एकत्रित बन्‍न पुगेका असीमित प्रेम र कृपा हामी बुझ्‍न सक्‍नेछौं । हामी उहाँका उद्देश्‍‍यहरूका बारेमा त्यति नै परिमाणमा जान्‍न सक्‍नेछौं जुन परिमाणमा जान्‍नु हाम्रो भालाइको निम्ति छ; र यसभन्दा पर हामीले जुन हात सर्वशक्तिमान् छ, र जुन हृदय प्रेमले भरिपूर्ण छ त्यसमाथि अझ पनि भरोसा राख्‍नुपर्नेछ ।SB 126.1

    परमेश्‍‍वरको वचनले पनि यसको पवित्र लेखकको चरित्रले झैँ यस्ता रहस्यहरू प्रस्तुत गर्दछन् जुन सीमित मानवजातिद्वारा कदापि पूर्णरूपमा बुझ्‍न सकिने छैन । संसारमा पापको प्रवेश, ख्रीष्‍टको अवतारयुक्त जीवन, पुनर्जन्म, पुनरुत्थान तथा बाइबलमा प्रस्तुत गरिएका कैयौं अन्य विषयहरू यस्ता रहस्यहरू हुन् जुन मानिसको बुद्धिद्वारा वर्णन गर्न वा पूर्णरूपले बुझ्‍न नसकिनेगरी गहन छन् । तर हामीले परमेश्‍‍वरका विधिका रहस्यहरूलाई बुझ्‍न सक्दैनौं भन्दैमा उहाँको वचनमाथि शंका गर्नुपर्ने हामीसँग कुनै कारण नै छैन । यस प्राकृतिक संसारमा पनि हामी निरन्तररूपमा यस्ता रहस्यमय कुराहरूद्वारा घेरिएका छौं जुन हामी उचित रूपले बुझ्‍न पनि सक्दैनौं । सबैभन्दा सुक्ष्म जीवात्माहरूले पनि एक यस्तो रहस्य प्रस्तुत गर्दछ जुन कुरा वर्णन गर्न सबैभन्दा बुद्धिमान् दार्शनिकहरू पनि असमर्थ छन् । त्यहाँ सर्वत्र विचित्र कुराहरू छन् जुन हाम्रो ज्ञानको पहुँचदेखि टाढा छन् । यसको मतलब के आत्मिक संसारमा पनि हामीले उचितरूपले बुझ्‍न नसक्‍ने रहस्यमय कुराहरू भएको कारण हामी आश्‍चर्यचकित बन्‍नुपर्नेछौं त ? कठिनाइ त पूर्णरूपले मानव मस्तिष्कको कमजोरी र संकिर्णतामा रहेको छ । परमेश्‍‍वरले पवित्रशास्‍‍त्रमा तिनका पवित्र स्‍वभावको बारेमा यथेष्‍ट प्रमाण दिनुभएको छ, र उहाँको विधिका सबै रहस्यमय कुराहरूलाई बुझ्‍न सक्दैनौं भन्दैमा हामीले उहाँको वचनमाथि शंका गर्नुहुँदैन ।SB 126.2

    पत्रुस बताउँदछन् कि धर्मशास्‍‍त्रमा, “कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले...उल्टापाल्टा पार्छन्, र आफ्‍नै विनाश ल्याउँछन् ।” २ पत्रुस ३:१६ । पवित्रशास्‍‍त्रमा रहेका कठिनाइहरूलाई नास्तिकहरूले बाइबल विरुद्ध एक बहसको रूपले लिने गर्दछन्; तर यसको विपरीत तिनले वचनको ईश्‍‍वरीय प्रेरणाको मजबुत प्रमाणलाई स्थापित गर्ने गर्दछन् । यदि यसमा परमेश्‍‍वरको बारेमा कुनै विवरण सामावेश नभई, जुन कुरा हामी सजिलै बुझ्‍न सक्दछौं सो मात्र समावेश भएको भए, यदि उहाँको महानता र गौरवलाई सीमित बुद्धि सामर्थ्यद्वारा बुझ्‍न सकिने भए बाइबलले ईश्‍‍वरीय अधिकारको अचूक प्रमाणहरू धारण गर्नेथिएनन् । बाइबलमा प्रस्तुत गरिएका महान् तथा रहस्यमय विषयहरूले यही नै परमेश्‍‍वरको वचन हो भनी मानिसमा विश्‍‍वास जगाउनुपर्नेछ ।SB 127.1

    बाइबलले सत्यतालाई सरलताका साथ तथा मानव हृदयको खाँचो तथा अभिलाषाहरूसित पूर्णरूपले योग्य हुनेगरी खोल्‍ने गर्दछ, र यस तथ्यताले ठूला विद्वानहरूलाई आश्‍चर्यचकित तथा मोहित तुल्याएको छ, जबकि यसले नम्र तथा अशिक्षित व्यक्तिहरूलाई मुक्तिको मार्ग फेला पार्नका निम्ति सक्षम तुल्याउँदछ । तैपनि यी सरल रूपमा वर्णन गरिएका सत्यताहरूले यति उच्‍च, विस्तृत तथा मानिसको समझशक्तिको पहुँचदेखि असीमितरूपले टाढाका विषयहरूलाई सामवेश गरेका छन् कि हामी यी कुराहरूलाई केवल यसकारण स्‍वीकार गर्न सक्दछौं किनकि परमेश्‍‍वरले नै यी कुराहरूबारे घोषणा गर्नुभएको छ । यसरी उद्धारको योजना हाम्रो सामु खुल्‍ला राखिएको छ, ताकि प्रत्येक व्यक्तिले पश्‍चात्तापद्वारा परमेश्‍‍वरतर्फ र विश्‍‍वासद्वारा हाम्रा परमप्रभु येशू ख्रीष्‍टतर्फ चाल्‍नुपर्ने आफ्‍नो कदमलाई देख्‍न सक्‍नेछ, र यसरी परमेश्‍‍वरद्वारा नियुक्त गरिएका उपायद्वारा बच्‍न सक्‍नेछ । तैपनि यी सजिलैसँग बुझ्‍न सकिने सत्यताहरू मुनि उहाँको महिमालाई लुकाउने रहस्यहरू छन्—यस्ता रहस्यहरू जसले अनुसन्धान गर्ने मस्तिष्कलाई पराजित गर्दछ, तर इमानदारीपूर्वक सत्यताको खोजी गर्ने व्यक्तिलाई श्रद्धा तथा विश्‍‍वासद्वारा प्रेरित गर्दछ । जति नै बढ्‍तारूपले उसले बाइबल अध्ययन गर्ने गर्दछ तब यही नै जीवित परमेश्‍‍वरको वचन हो भन्‍ने विषयमा उसको विश्‍‍वास अझ गहिरो बन्दै जान्छ, र ईश्‍‍वरीय प्रकाशको गौरवको सामु मानव तर्क झुक्‍नैपर्छ ।SB 128.1

    हामीले बाइबलका महान् सत्यताहरूलाई पूर्णरूपले बुझ्‍न सक्दैनौं भनी स्‍वीकार्नुको अर्थ सीमित मन असीमित परमेश्‍‍वरको बारेमा बुझ्‍नमा अपर्याप्‍त छ भनी स्‍वीकार्नु हो; कि मानिसले आफ्‍नो सीमित ज्ञानद्वारा सर्वज्ञानी परमेश्‍‍वरको उद्देश्‍‍यहरूका बारेमा बुझ्‍न सक्दैन ।SB 129.1

    नास्तिक तथा अधर्मीहरूले यसको रहस्यमयहरूलाई उचितरूपले बुझ्‍न नसक्‍ने हुनाले तिनीहरूले परमेश्‍‍वरको वचनलाई इन्कार गर्ने गर्दछन्; र जो-जति बाइबलमाथि विश्‍‍वास राख्‍ने गर्दछन् तीमध्ये सबै नै यस विषयको खतरादेखि स्‍वतन्‍‍त्र छैनन् । प्रेरित भन्दछन्, “भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्‍ट र अविश्‍‍वासी हृदयले तिमीहरूलाई जीवित परमेश्‍‍वरबाट टाढ़ा नलैजाओस् ।” हिब्रू ३:१२ । बाइबलका शिक्षाहरूलाई ध्यानपूर्वक अध्ययन गर्नु र पवित्रशास्‍‍त्रमा प्रकट भए जति “परमेश्‍‍वरका गहिरा-गहिरा कुराहरू” खोजी गर्नु आसल हो । १ कोरिन्थी २:१० । जबकि, “प्रकट नभएका कुराहरू परमप्रभु हाम्रा परमेश्‍‍वरका हुन् ।” तर प्रकट भएका कुराहरू हाम्रा निम्ति हुन् । व्यवस्था २९:२९ । तर मनको जाँच्‍ने शक्तिहरूलाई नष्‍ट पार्नु शैतानको काम हो । बाइबल सत्यताको बारेमा गरिने चिन्तनमा एक निश्‍चित अभिमान मिसिएको हुन्छ, तसर्थ जब मानिसहरू आफ्‍नो सन्तुष्‍टिमुताबिक पवित्रशास्‍‍त्रको हरेक भागलाई वर्णन गर्न असमर्थ हुन्छन् तब तिनीहरू धैर्यहीन बन्‍न पुग्दछन् र पराजित भएको महसूस गर्दछन् । तिनीहरूले प्रेरित वचनलाई बुझ्दैनन् भनी स्‍वीकार्नु तिनीहरूका निम्ति अति नै अपमानजनक कुरा सावित हुन्छ । जब परमेश्‍‍वरले तिनीहरूलाई सत्यता प्रकट गर्नका निम्ति उचित समय ठान्‍नुहुनेछ तबसम्म तिनीहरू धैर्यतापूर्वक प्रतीक्षा गर्न राजी हुँदैनन् । तिनीहरूलाई पवित्रशास्‍‍त्र बुझ्‍नमा सक्षम तुल्याउनका निम्ति स्‍वयं आफ्‍नै सीमित मानव बुद्धि पर्याप्‍त छ भनी तिनीहरू महसूस गर्दछन्, र सो प्राप्‍त गर्न असफल भएका कारण तिनीहरूले यसको अधिकारीलाई वास्तवमा इन्कार गर्ने गर्दछन् । यो कुरा साँचो हो कि बाइबलमा आधारित भनी प्रचलितरूपले विश्‍‍वास गरिएका कैयौं तर्क तथा सिद्धान्तहरूले सिकाउने कुरामा कुनै आधार छैन, र साँच्‍चै नै सारा प्रेरित वचनको तात्पर्यदेखि विपरीत छन् । कैयौं मानिसहरूका निम्ति यही नै शंका र अन्योलको कारण बन्‍न पुगेको छ । तर वास्तवमा यी शंका र अन्योलको दोष परमेश्‍‍वरको वचनमाथि होइन तर मानिसहरूद्वारा ल्याइएको यसको विकृतिमा निहित छ ।SB 129.2

    सृष्‍टिएका अस्तित्‍वहरूका निम्ति परमेश्‍‍वर तथा उहाँका कार्यहरूका बारेमा पूर्ण ज्ञान प्राप्‍त गर्न सम्भव भएको खण्डमा त्यस बिन्दुमा पुगिसके पश्‍चात् तिनीहरूका निम्ति त्यहाँ सत्यताको थप खोजी गर्ने स्थान नै हुनेथिएन, ज्ञानमा वृद्धि आउनेथिएन, र मन वा हृदयको विकास हुनेथिएन । यस उप्रान्त परमेश्‍‍वरको स्थान उच्‍च हुनेथिएन; र ज्ञान तथा प्राप्‍तिको चरमविन्दुमा पुगिसकेपश्‍चात् मानिसको अघि बढ्‍ने क्रम रोकिनेथियो । हामी परमेश्‍‍वरप्रति धन्यवाद प्रकट गरौं किनकि यस्तो हुन आएन । परमेश्‍‍वर असीमित हुनुहुन्छ; उहाँमा “ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन् ।” कलस्सी २:३ । सारा अनन्तकालसम्मै मानिसहरूले निरन्तररूपमा खोजी गर्न तथा सिक्‍न सक्‍नेछन् तैपनि उहाँको ज्ञान, भलाइ र शक्तिको खजानालाई कदापि रिक्त पार्न सक्‍नेछैनन् ।SB 130.1

    परमेश्‍‍वरले वचनका सत्यताहरू यस संसारमा पनि आफ्‍ना जनहरूका सामु प्रकट भइरहोस् भन्‍नु नै उहाँको उद्देश्‍‍य हो । ज्ञान प्राप्‍त गर्नका निम्ति त्यहाँ केवल एकमात्र उपाय छ । जुन पवित्र आत्माद्वारा परमेश्‍‍वरको वचन दिएको थियो; केवल उहाँको प्रकाशद्वारा मात्र हामी परमेश्‍‍वरको वचनलाई बुझ्‍न सक्‍ने अवस्थामा पुग्‍न सक्छौं । “परमेश्‍‍वरका विचार परमेश्‍‍वरका आत्माबाहेक कसैले बुझ्दैन ।” “किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्‍नुहुन्छ, परमेश्‍‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ ।” १ कोरिन्थी २:११, १० । उहाँका चेलाहरूका निम्ति मुक्तिदाताको प्रतिज्ञा यसप्रकार थियो, “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोऱ्याउनुहुनेछ ।...जे मेरो हो, त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ ।” यूहन्‍ना १६:१३, १४ ।SB 131.1

    मानिसले आफ्‍नो तर्क शक्तिहरूका प्रयोग गरून् भनी परमेश्‍‍वर इच्छा राख्‍नुहुन्छ र बाइबल अध्ययनले बाहेक अन्य कुनै पनि अध्ययनले मनलाई मजबुत तुल्याउन तथा उच्‍च पार्न सक्‍नेछैन । जुन तर्क मानव स्‍वभावको कमजोरी र त्रुटिको वशमा छ त्यसलाई श्रेय स्थान दिनुदेखि हामी सावधान हुनुपर्नेछ । यदि पवित्रशास्‍‍त्र हाम्रो विवेकमा धमिलो नहोस् तथा सरलभन्दा सरल सत्यतालाई बुझ्‍न सकौं भनी हामी चाहन्छौं भने सिक्‍नका लागि तयार रहँदै र पवित्र आत्माको सहायताको निम्ति बिन्ती गर्दै हामीमा एक सानो बालकको झैँ निष्कपटता र विश्‍‍वास हुनुपर्नेछ । परमेश्‍‍वरको शक्ति र ज्ञानप्रति प्रकट हुने हाम्रो चेतना, तथा उहाँको महानताको बारेमा बुझ्‍ने हाम्रो असमर्थताले हामीमा नम्रताको भावना उत्पन्‍न गर्नुपर्नेछ, र हामीले उहाँको वचनलाई त्यही भयका साथ खोल्‍नुपर्नेछ जसरी हामी पवित्र भयका साथ उहाँको उपस्थितिमा प्रवेश गर्ने गर्दछौं । जब हामी बाइबल अध्ययन गर्ने गर्दछौं तब तर्कले यसभन्दा उच्‍च स्तरको अधिकारलाई स्‍वीकार्नुपर्नेछ, र हृदय तथा बुद्धि “म हुँ” भन्‍नुहुने महान् परमेश्‍‍वर सामु झुक्‍नुपर्नेछ ।SB 131.2

    त्यहाँ प्रत्यक्षरूपले कठिन वा अस्पष्‍ट कैयौं यस्ता कुराहरू छन् र ज-जसले यी कुराहरू बुझ्‍नका निम्ति माग गर्दछन् परमेश्‍‍वरले तिनीहरूका निम्ति स्पष्‍ट र सरल तुल्याइदिनुहुनेछ । तर पवित्र आत्माको अगुवाइविना हामी पवित्रशास्‍‍त्रलाई सदा बंग्याउने वा तिनको गलत अर्थ लाउने खतरामा पर्न सक्‍नेछौं । कैयौं बाइबल अध्ययन लाभरहित सावित हुन सक्छन् र कैयौं अवस्थाहरूमा एक निश्‍चित हानि सावित हुन्छन् । जब परमेश्‍‍वरको वचनलाई श्रद्धा र प्रार्थनाविना खोलिन्छ, जब ध्यान र प्रेम परमेश्‍‍वरमाथि केन्द्रित रहेको हुँदैन, वा उहाँको इच्छासित मेल खाएको हुँदैन तब मन शंकाहरूद्वारा धमिलो बन्‍न पुग्दछ र यसरी बाइबल अध्ययन गर्ने क्रममै नास्तिकताको भावना मजबुत बन्दै जान्छ । शत्रुले विचारलाई आफ्‍नो नियन्‍‍त्रणमा लिँदछ र उसले गलत व्याख्याहरूका सुझाव दिँदछ । जब मानिसहरू वचन र कार्यमा परमेश्‍‍वरमा एक हुने प्रयत्‍न गर्दैनन्, तब तिनीहरू जति नै शिक्षित किन नहोऊन् तर पवित्रशास्‍‍त्रलाई बुझ्‍ने मामलामा भुल गर्न सक्‍नेछन्, तिनीहरूका व्याख्यामाथि भरोसा राख्‍न सुरक्षित हुनेछैन । जुन मानिसहरू पवित्रशास्‍‍त्रलाई विसंगति फेला पार्ने दृष्‍टिका साथ हेर्ने गर्दछन् तिनीहरूमा आत्मिक अर्न्तदृष्‍टि हुँदैन । विकृत दृष्‍टिका कारण जुन कुरा वास्तवमा स्पष्‍ट र सरल छन् उनीहरू ती कुराहरूप्रति शंका र अविश्‍‍वास गर्ने धेरै कारणहरू देख्‍ने गर्दछन् ।SB 132.1

    मानिसहरूले जति नै लुकाउने कोशिस गरेतापनि कैयौं अवस्थाहरूमा शंका र नास्तिकताको वास्तविक कारण नै पापप्रतिको प्रेम हो । घमण्डी तथा पापप्रति झुकेको व्यक्तिलाई परमेश्‍‍वरको वचनका शिक्षा तथा बन्देजहरू स्‍वागत योग्य हुँदैनन्, र जो-जति यसका मार्गहरूलाई पालन गर्न अनिच्छुक रहन्छन्, तिनीहरू यसको अधिकारमाथि शंका गर्न तयार रहन्छन् । सत्यतासम्म पुग्‍नको निम्ति हामीमा सत्यता जान्‍ने निष्कपट इच्छा हुनुपर्दछ र हृदयदेखि नै यसलाई पालन गर्ने चाहना हुनुपर्दछ । जो-जति यस्तो उत्साहका साथ बाइबल अध्ययनका निम्ति अघि बढ्‍दछन् तिनीहरूले यही नै परमेश्‍‍वरको वचन हो भनी प्रचुर प्रमाण फेला पार्नेछन्, र यसरी तिनीहरूले यसका सत्यताहरूलाई बुझ्‍नेछन् जुन सत्यताले तिनीहरूलाई मुक्तिको मार्ग फेला पार्न सक्‍नेगरी बुद्धिमान् तुल्याइदिनेछ ।SB 133.1

    ख्रीष्‍टले भन्‍नुभयो, “यदि कुसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा...थाहा पाउनेछ ।” यूहन्‍ना ७:१७ (KJV)। जुन कुरा तपाईं बुझ्‍न सक्‍नुहुन्‍न त्यसमाथि प्रश्‍न गर्नु तथा निहुँ खोज्‍नुको सट्टा जुन प्रकाश अहिले नै तपाईंमाथि चम्किरहेको छ त्यस प्रकाशतर्फ ध्यान दिनुहोस्, र तपाईंको जीवनमा अझ ठूलो प्रकाश चम्कनेछ । जे-जति कर्तव्यहरू तपाईंको समझशक्तिको निम्ति प्रष्‍ट तुल्याइदिएका छन् तिनलाई ख्रीष्‍टको अनुग्रहद्वारा पूरा गर्नुहोस्, र जुन कुरामाथि तपाईं अहिले शंका गर्नुहुन्छ त्यही कुराहरू तपाईं कुनै दिन बुझ्‍न तथा पूरा गर्नमा समर्थ बन्‍नुहुनेछ ।SB 133.2

    अनुभवको प्रमाण अति शिक्षित तथा अति अशिक्षित मानिसहरूका निम्ति, अर्थात् सबैका निम्ति खुल्‍ला छ । परमेश्‍‍वर स्‍वयं हामी आफैंले नै उहाँको वचनको वास्तविकता र उहाँको प्रतिज्ञाहरूका सत्यतालाई प्रमाणित गर्नका निम्ति हामीलाई आमन्‍‍त्रण गर्नुहुन्छ । “परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ” भनी उहाँ हामीलाई आज्ञा दिनुहुन्छ । भजनसंग्रह ३४:८ । अन्य मानिसहरूका वचनमाथि भरोसा राख्‍नुको सट्टा हामीले स्‍वयं आफैंले चाखेर हेर्नुपर्नेछ । उहाँ घोषणा गर्नुहुन्छ, “माग, अनि तिमीहरूले पाउनेछौ ।” यूहन्‍ना १६:२४ । उहाँका प्रतिज्ञाहरू पूरा हुनेछन् । ती कहिल्यै विफल भएका छैनन् न त कदापि विफल नै हुनेछन् । र जसै हामी येशूको नजिक आकर्षित बन्दै जान्छौं र उहाँको प्रेमको पूर्णतामा आनन्द मनाउँदछौं तब उहाँको उपस्थितिको प्रकाशमा हाम्रा शंका तथा अँध्यारोपनहरू हटेर जानेछन् ।SB 134.1

    प्रेरित पावल भन्दछन् कि परमेश्‍‍वरले “हामीलाई अन्धकारको राज्यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नुभएको छ ।” कलस्सी १:१३ । जुन व्यक्ति मृत्युदेखि जीवनमा पार भएको छ त्यसले “परमेश्‍‍वर सत्य हुनुहुन्छ भन्‍ने कुराको प्रमाण दिन्छ ।” यूहन्‍ना ३:३३ । उसले यसरी साक्षी दिनेछ, “मलाई सहायता चाहिएको थियो जुन सहायता मैले येशूमा पाएँ । सबै खाँचोहरू जुटाइएका छन्, मेरो आत्माको भोकलाई तृप्‍त पारिएको छ; र बाइबल मेरो निम्ति अहिले येशू ख्रीष्‍टको प्रकाशन हो । म किन ख्रीष्‍टमाथि विश्‍‍वास गर्दछु त ? किनकि उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ । किन म बाइबलप्रति विश्‍‍वास गर्दछु त ? किनकि मैले यसलाई मेरो आत्माको निम्ति परमेश्‍‍वरको वाणीको रूपमा फेला पारेको छु ।” बाइबल सत्य छ, र ख्रीष्‍ट परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भन्‍ने विषयमा हामीसँग गवाही हुन सक्छ । हामीलाई थाहा छ कि हामीले धुर्ततासँग रचिएका दन्त्य कथाहरूलाई अनुसरण गरिरहेका छैनौं ।SB 134.2

    पत्रुस विश्‍‍वासी जनहरूलाई यसरी उपदेश दिँदछन्, “हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‍दैजाओ ।” २ पत्रुस ३:१८ । जब परमेश्‍‍वरका जनहरू अुनग्रहमा बढिरहेका हुन्छन्, तब तिनीहरूले उहाँको वचनलाई अझ प्रष्‍टरूपमा बुझ्‍ने शक्ति निरन्तररूपमा प्राप्‍त गरिरहनेछन् । तिनीहरूले यसको पवित्र सत्यताहरूमा नयाँ ज्योति र सौन्दर्य देख्‍न सक्‍नेछन् । यो कुरा मण्डलीको इतिहासमा युगौं युगदेखि सत्य ठहरिँदै आएको छ र यसरी यो क्रम अन्त्यसम्म नै जारी रहनेछ । “धर्मीको चाल प्रभातको प्रथम चमकजस्तै हो, त्यो मध्यदिन नहोउञ्‍जेल झन्-झन् चहकिलो हुँदैजान्छ ।” हितोपदेश ४:१८ ।SB 135.1

    विश्‍‍वासद्वारा हामीले भविष्यतर्फ हेर्न सक्‍नेछौं र बौद्धिक विकासको निम्ति, मानव सामर्थ्य ईश्‍‍वरीय सामर्थ्यसित एक हुन पुगोस् र आत्माका हरेक शक्ति ज्योतिको मुहानसित प्रत्यक्ष सम्पर्कमा आओस् भनी परमेश्‍‍वरको प्रतिज्ञालाई ग्रहण गर्न सक्‍नेछौं । हामीले आनन्द मनाउन सक्‍नेछौं किनकि जुन कुराले हामीलाई अन्योल तुल्याएको थियो त्यही कुरालाई परमेश्‍‍वरको निगाहद्वारा प्रष्‍ट तुल्याइनेछ, बुझ्‍न नसकिएका कठिन कुराहरूले व्याख्या पाउनेछन्; र जहाँ हाम्रो सीमित मनले केवल व्याकुलता र भग्‍न उद्देश्‍‍यहरू मात्र फेला पार्ने गर्दथ्यो त्यहाँ हामीले सबैभन्दा पूर्ण तथा सुन्दर एकता देख्‍नेछौं । “अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्‍छौं, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्‍नेछौं । अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्‍नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु ।” १ कोरिन्थी १३:१२ ।SB 135.2