Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - ९
    येशू क्रूसमा टाँगिनुभएको

    पिलातसले परमेश्‍‍वरका पुत्रलाई मानिसहरूका हातमा सुम्पिदिइसकेपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍न लगे । कोर्रा र मुक्‍काहरूका प्रहारले शिथिल भइसकेको थियो उहाँको शरीर । त्यसैमाथि उहाँलाई तिनीहरूले त्यो क्रूस बोकाए, जसमाथि उहाँलाई तिनीहरूले काँटी ठोकेर झुन्ड्‍याई मार्न लागिरहेका थिए । त्यो क्रूस बोक्दा-बोक्दै उहाँ बेहोस हुनुभयो । तिनीहरूले उहाँलाई तीनपल्टसम्म त्यो गह्रौँ क्रूस बोकाए, तर तीनैपल्ट उहाँ बेहोस हुनुभयो । तब तिनीहरूले एकजना मानिसलाई पक्रे, जसले गुप्‍त रूपले उहाँमाथि विस्‍वास गरेको थियो, तर खुल्‍लमखुल्‍ला चाहिँ ग्रहण गरेको थिएन । अनि उसैलाई तिनीहरूले त्यो क्रूस बोकाएर त्यस घातक स्थलसम्म पुऱ्याउन लगाए । तिनीहरूले उहाँलाई जहाँ जहाँ लगे, त्यहीँ-त्यहीँ पल्टनका पल्टन स्‍वर्गदूतहरू क्रमबद्ध रूपमा पङ्‌क्ति बाँधेर माथि-माथि उड़ी उहाँलाई पछ्‌याइरहेका थिए । कतिजना चेलाहरू पनि शोकविव्हल भई धुरू धुरू रूँदै र उहाँलाई पछ्‌याउँदै कलभरीतिरै लागे ।1BP 56.1

    केही दिनअघि मात्र उहाँ विजयी राजाजस्ता भईकन गधामाथि चढ़ेर यरूशलेममा पस्‍नुभएको अनि उनीहरूले ‘परमधाममा होसन्ना !’ भनी विजय-नारा लाउँदै बाटामा आफ्‍ना वस्‍‍त्रहरू र खजुरका डालाहरू ओछ्‌याएको त्यो मनोरम घटना उनीहरूले सम्झे । त्यसबेला साँच्‍चै उहाँले इस्राएलको राज्यमाथि शासन गर्न थाल्‍नुहुने रहेछ भन्ने उनीहरूले सम्झे । त्यसबेला उनीहरू हर्षले उल्‍लसित हुँदै येशूलाई पछ्‌याइरहेका थिए भने यस बखत उनीहरू नै भयभीत अनि निरूत्साहित भएर सुस्तरी-सुस्तरी पाइला चाल्दै उहाँका पछि-पछि हिँडिरहेका थिए, जो अपमानित भएर अनि नीच तुल्याइएर क्रूसमा मरिदिन जाँदैहुनुहुन्थ्यो ।1BP 56.2

    त्यहाँ मरियमले पनि - जसको कोखबाट उहाँ जन्म ग्रहण गर्नुभयो - आफ्‍नो प्यारो छोराको त्यस्तो बेहाल देखेर आफ्‍नो मुटु चिरा-चिरा परेको महसुस गरिरहेकी थिइन् । तर त्यस्तै निराशामा पनि तिनले उहाँको चेलाहरूले झैं उहाँले आफ्‍नो आश्‍चर्यकर्म गर्ने शक्ति प्रयोग गरेर ती ज्यानमाराहरूका हातदेखि स्‍वयम्‌लाई मुक्त गराउनुहुन्छ होला भनेर आशा पनि गरेकी थिइन् । उहाँले त्यसरी आफूलाई क्रूसमा टाँग्‍न दिनुहुन्छ भन्ने ता तिनले सोच्‍न पनि सकेकी थिइनन् ।1BP 57.1

    हेर्दाहेर्दै तिनीहरूले सब कुरा तयार पारे, अनि येशूलाई त्यस क्रूसमाथि तेर्स्याए । मार्तोल र काँटीहरू पनि तयार पारिए । चेलाहरूका मुटुको धड्‍कन अझ तीव्र हुनथाल्यो । झन् आफूले जन्माएको छोरालाई क्रूसमाथि तेर्स्याएर हात र खुट्टामा काँटी ठोकेको त्यो मार्मिक दृश्‍‍य हेर्न ता परै जाओस्, काँटी ठोकिएको शब्द पनि सुन्दा कुन आमाको नारी हृदयले सहन सक्‍ला ? त्यसैले उहाँका कोमल हात र खुट्टाहरूमा काँटी ठोकिएको आवाज पनि तिनका कानमा नपरोस् भनेर येशूका चेलाहरूले तिनलाई घटनास्थलदेखि केही टाढामा लगे । पीड़ाले गर्दा येशू छट्‍पटाउनुभयो । ओठमा कलेटी पऱ्यो अनि निधारबाट पसिनाको धारा छुट्यो, तर पनि उहाँ गनगनाउनुभएन । उहाँले त्यो असह्‌य पीड़ा भोगिरहनुभएको देखेर केही क्षण शैतान रमाए तापनि अर्कोपट्टि उसलाई आफ्‍नो राज्य हराउने र आफ्‍नो पनि अन्त अवश्‍‍यम्भावी ठहरिएको कुराले भयभीत र चिन्तित तुल्याइरहेको थियो ।1BP 57.2

    येशूलाई क्रूसमा काँटी ठोकेर अड्‍याइसकेपछि तिनीहरूले त्यो क्रूस जुरूक्‍क उठाए, र त्यसको निम्ति खनिएको खाडलभित्र यति जोरसित गाड़े, कि त्यो झट्‍कोले गर्दा काँटी ठोकिएका प्वालहरूबाट मासु तन्केर च्यातिनसाथ साथै उहाँको पीड़ा पनि चरम सीमामा पुगको उहाँले अनुभव गर्नुभयो । तिनीहरूको उद्देश्‍‍य नै थियो उहाँलाई सकेसम्म कष्‍ट र दुःख दिएर मार्ने । अनि तिनीहरूले उहाँका साथमा दुइजना चोरहरूलाई पनि - एकजनालाई दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि क्रूसमा झुन्डयाइदिए । तर त्यहाँ आकाश र पातालको भिन्नता के थियो भने, ती चोरहरूले आफूलाई क्रूसमा टँगाउनेहरूका हातदेखि फुत्कन सकेसम्म संघर्ष गरे भने येशूले नाम्रतापूर्वक स्‍वयम्‌लाई समर्पण गर्नुभयो । अनि फेरि ती चोरहरूले आफूलाई क्रूसमा टँगाउनेहरूलाई सरापे, तर येशूले ती आफ्‍ना वैरीहरूका निम्ति यसो भनी प्रार्थना गरिदिनुभयो, ‘हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गरिरहेछन्, सो यिनीहरूलाई थाह छैन ।’ उहाँले शारीरिक पीड़ा मात्रै सहन गर्नुभएन, तर सारा संसारको पापको भार पनि आफैले वहन गर्नुभयो ।1BP 58.1

    येशू क्रूस्म्मा टँगाइनुभएपछि त्यहाँबाट भएर हिँड्‍नेहरूले पनि आफ्‍ना टाउका हल्‍लाई-हल्‍लाई यसो भनी उहाँलाई निन्दा गरे, “ए मन्दिर भत्काउने र तीन दिनमा बनाउने, आफैलाई बचा त ! यदि तँ परमेश्‍‍वरकै पुत्र होस् भने क्रूसबाट ओर्ली आइज ।” शैतानले पनि त्यस उजाड़स्थानमा उहाँ अर्थात् ख्रीष्‍टलाई त्यसरी नै भनेको थियो, ‘यदि तिमी परमेश्‍‍वरका पुत्र हौ भने ......।’ मुख्य पूजाहारीहरू, बूढ़ा प्रधानहरू र शास्‍‍त्रीहरूले उहाँलाइ खिसी गर्दै भने, ‘यसले अरूलाई ता बचायो, तर आफूलाई चाहिँ बचाउन सक्‍तैन । यदि यो इस्राएलको राजा हो भने अहिले क्रूसबाट ओर्ली अओस्, र हामी विस्‍वास गरौँला’ त्यसरी यहूदीहरूका शासकहरूले ‘यदि यो परमेश्‍‍वरको पुत्र हो भने आफैलाई बचाओस्’ भनी उहाँलाई खिसी गरेको देखी त्यहीँ घटनास्थल माथिबाट हेरिरहेका स्‍वर्गदूतहरू दुखित भए, र गएर येशूलाई तिनीहरूका हातदेखि मुक्त गराउन खोजे, तर उनीहरूलाई अनुमति दीइएन ।1BP 58.2

    आफू क्रूसमा झुण्डिरहनुहुँदाको त्यो भयानक पीड़ामय अवस्थामा पनि ती आफ्‍नी जननीलाई उहाँले भुल्‍नुभएन । अनि ती आमाले पनि असह्य पीड़ामा तड्‍पिरहनुभएको छोरालाई छोड़ी कति पनि टाढा जान सकेकी थिइनन् । अनि उहाँले आखिरमा मानिसभित्र अन्तर्निहित हुनुपर्ने दया र सहानुभूति आदिको पाठ सिकाउँदै शोकविव्हल रहेकी आमापट्टि हेर्नुभयो, त्यसपछि आफ्‍नो प्यारा चेला यूहन्नापट्टि सङ्केत गर्दै उहाँले आफ्‍नी आमालाई भन्नुभन्यो, ‘नारी, हेर तिम्रो छोरो !’ त्यसपछि फेरि यूहन्नालाई भन्नुभयो, ‘हेर, तिम्री आमा !’ अनि त्यही बेलादेखि यूहन्नाले तिनलाई आफ्‍नो घरमा ल्याएर (आफ्‍नै आमा जस्तो गरी) राखे ।1BP 59.1

    घोर व्यथा र पीड़ा सहँदा-सहँदा येशू तिर्खाउनु भयो, तर तिनीहरूले घाउमाथि नून-चूक छरिदिए झैं उहाँलाई पानीको सट्टामा सिर्का र पित्त पिलाइदिए । स्‍वर्गदूतहरूले पनि आफ्‍ना अतिप्रिय अधिनायकलाई क्रूसमा टँगाइएको त्यो मार्मिक दृश्‍‍यलाई हेर्न नसकी आफ्‍ना अनुहार छोपे । सूर्यले पनि त्यो भयानक दृश्‍‍यलाई हेर्ने सकेन । अन्तमा येशू ती घातकहरूको पनि मुटु कम्पित तुल्याउने गरी यसो भन्दै जोरले कराउनुभयो, ‘अब पूरा भयो ।’ तब मन्दिरको पर्दा आफैआफ टुप्पोदेखि फेदसम्म च्यातियो, भूकम्प गयो र चट्टानहरू फाटे । धरतीमाथि घोर अन्धकार छायो । जब येशूले प्राण पनि त्याग्‍नुभयो, तब चेलाहरूको आशा पनि सबै हराएजस्तो देखियो । उहाँका धेरैजना अनुयायीहरूले उहाँले शासना भोग्‍नुभएको र प्राण त्याग गर्नुभएको देखेर अत्यन्तै शोकविह्वल भए ।1BP 59.2

    तर त्यति भएर पनि शैतान त्यति रमाएन, जति अघि सधैं रमाउँथ्यो, किनकि उसले त्यस उद्धारको योजनालाई भताभुङ्गै पार्ने आँट गरेको थियो; तर उक्त योजनाको जग यति गहिरो र मजबुत बसालिएको थियो, कि उसको त्यहाँ केही सीप लागेन । येशूको मृत्युद्वारा उसलाई ‘अब मेरो अन्त अवश्‍‍यै हुनेरहेछ अनि मेरो राज्य पनि खोसिएर येशूलाई नै दिइने रहेछ;’ भनी थाह भयो । तब उसले आफ्‍ना दूतहरूसित सर-सल्‍लाह गऱ्यो । परमेश्‍‍वरका पुत्रविरूद्ध तिनीहरूको केही सीप नलाग्दा अब येशूका अनुयायीहरूपट्टि खनिनुपर्छ, र उहाँका अनुयायीहरूका निम्ति उहाँले मूल्य तिरीकन किन्नु भएको त्यो अमूल्य उद्धार कसैलाई प्राप्‍त गर्न दिनै हुँदैन भन्ने मतो गरे । यसो गर्नाले पनि उसले परमेश्‍‍वरको योजनाविरूद्ध व्यवधान खड़ा गर्न सक्‍ने भयो । भरशक्‍य मानिसलाई येशूसित सम्पर्कमै आउन नदिने प्रयास जारी राख्‍ने भयो । किनकि जत्तिले येशूद्वारा पाइने उद्धार (मुक्ति)-लाई अस्‍वीकार गर्छन्, तिनीहरूले आफ्‍नै पाप भोग्‍नुपर्छ भने जत्तिले येशू ख्रीष्‍टको रगतद्वारा छुटकारा पाई विजयी भएका छन्, उनीहरूका पाप चाहिँ उही शैतानमाथि नै खनिनेछन्, जसबाट पापको उत्पत्ति भएको थियो ।1BP 60.1

    संसारमा अनि शरीरमा हुनुहुँदा पनि येशू कहिल्यै भव्य र शानदार ढाँचामा रहनुभएन । उहाँको नम्र र आत्मत्यागि जीवनसित ऐश - आराम र सांसारिक मान - इज्‍जत खोज्‍ने ती पूजारीहरू र बूढ़ा प्रधानहरूको जीवन पटक्‍कै मेल खाँदैन थियो । अनि उहाँको त्यस्तो आत्मसंयमी एवम् पवित्र जीवन तिनीहरूका निम्ति चुनौती नै भइरहको थियो । किन ? कारण तिनीहरूमा पाप थियो । तिनीहरूले, अर्थात् जसले उहाँको नम्रता एवम् पवित्रताको घोर उपेक्षा गरे, तिनीहरूले नै एक दिन उहाँलाई अपार स्‍वर्गीय महिमामा देख्‍नेछन् । उहाँका ती रक्त-पिपासु वैरीहरू, जसले त्यस न्यायालयमा उहाँलाई घेरिरहेका थिए, र यति कठोर भएर ‘यसको रगत हामी र हाम्रा सन्तानमाथि परोस्’ भन्दै कराइरहेका थिए, तिनीहरूले त्यो दिन उहाँलाई महिमान्वित राजाको रूपमा देख्‍नेछन् । साथमा सबै स्‍वर्गदूतहरूले पनि उहाँको अर्थात् मारिएर पनि पुनः बौरी उठी सामर्थ्यशाली विजेता बन्नुभएको थुमाको जयजयकार, महिमा र प्रशंसाका गीतहरू गाउनेछन् । त्यतिबेला जाबो क्षुद्र र निकृष्‍ट मानिसले त्यति महान् महिमाका राजाको मुखमा थुक्दा त्यस विरोधी भीड़ले ‘वाह ? ठीक पाऱ्यौ है’ भनी रमाउँदै करायो । तर ज्ञातव्य रहोस्, तिनीहरूले जुन उहाँको मुखमा क्रूरतापूर्वक मुक्‍का लगाए र थुके, त्यही मुखमण्डललाई एक दिन तिनीहरूले दिउँसोको घामभन्दा चहिकलो देख्‍नेछन्, र भयातुर भएर भाग्‍न र लुक्‍न खोज्‍नेछन् । अघि ता तिनीहरूले खूब रमाउँदै उहाँको उपहास गरेका थिए, तर त्यस दिनचाहिँ तिनीहरूले उहाँका निम्ति आलापविलाप गर्नेछन् । जब उहाँले क्रूसमा काँटीहरूले छेड़िएका आफ्‍ना हत्केलाहरू देखाइदिनुहुनेछ, तब ती हत्केलामा ठोकिएका काँटीका दागहरूले नै मानिसको उद्धारका निम्ति येशूले कति धेरै दाम तिर्नुभएको रहेछ, सो बताउनेछन् । अनि जसले चाहिँ उहाँको अर्थात् जीवनदाता प्रभुको कोखामा भाला हाने, तिनीहरू आफैले त्यो भालाले रोपिएको दाग देख्‍नेछन्, र पछितो गर्दै छाती पिटी-पिटी विलाप गर्नेछन् । उहाँलाई क्रूसमा टँगाएको बेलामा उहाँको शिरमाथि ‘यहूदीहरूका राजा’ भनी लेखिएको देखेर उहाँका रक्त-पिपासु विरोधीहरूले चिढ़िँदै आपत्ति जनाएका थिए । तर त्यो दिन तिनीहरूले पनि उहाँलाई महिमा र राजकीय प्रतापले परिपूर्ण हुनुभएको अनि उहाँको पोशाक र जाँघमा ‘राजाहरूका राजा, प्रभुहरूका प्रभु’ भनी सजीव अक्षरमा लेखिएका देख्‍न पर्नेछ । उहाँ क्रूसमा झुण्डिरहनुभएको बेला तिनीहरूले चर्को स्‍वरले कराई-कराई उहाँलाई गिल्‍ला गर्दै भनेका थिए, ‘यदि यो इस्राएलको राजा हो भने क्रूसदेखि ओर्ली अओस्, तब देखेर हामी विश्‍‍वास गरौंला ।’ तर जब तिनीहरूले उहाँलाई राजकीय प्रताप र अख्तियारका साथमा देख्‍नेछन्, तब उहाँको अपार महिमाद्वारा चकित भएर साँच्‍चै ‘परमप्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी मानिलिन तिनीहरू विवश हुनेछन् । त्यतिबेला तिनीहरूले उहाँ इस्राएलका राजा हुनुहुन्छ भन्ने कुराको प्रमाण खोज्‍ने छैनन् अर्थात् आफै थाह पाउनेछन् ।1BP 60.2

    जब येशूले ‘अब पूरा भयो’ भन्दै ठूलो सोरले कराईकन प्राण त्याग्‍नासाथ भूकम्प भएको, चट्टानहरू फाटेका र धरतीमाथि अन्धकार छाएको वहाँका ती शत्रुहरूले देखे तब तिनीहरू आत्तिए र लगलग काँप्‍नथाले । चेलाहरूले पनि त्यो अपूर्व र अनौठो घटना देखेर अचम्मै माने, तर पनि तिनीहरूको जुन आशा-प्रत्याशा थियो, त्यो सब चूर भयो । त्यसरी घृणित र तिरस्कृत भएर परमेश्‍‍वरका पुत्र मर्नुपर्छ भन्ने ता तिनीहरूले सोचेकै थिएनन् । त्यसो हुँदा ती चेलाहरू शोकविव्हल र हतोत्साहित भएर एकान्तमा विलाप गरिरहे । अब यहूदीहरूले हामीलाई पनि मार्ने हुन् कि भनेर उनीहरू त्राहि-त्राहि भइरहका थिए । कतै येशूले हामीलाई भ्रममा पो पारेका हुन् कि भन्ने शङ्कापूर्ण विचार पनि उनीहरूका मनमा आउनथाल्यो । अरूको ता के कुरा, उहाँकै आमाको विश्‍‍वास ढलपलाउन लाग्यो ।1BP 62.1

    येशूमाथि आफ्‍नो विश्‍‍वास र आशा विलीन भएर गए तापनि येशूलाई चेलाहरूले खूबै प्रेम गरेका हुनाले उहाँको मृत देहलाई श्रद्धा र बड़ो आदरपूर्वक लैजान चाहे, तर त्यो कसलाई, कसरी मागेर लैजानुपर्न, उनीहरू बड़ो असमञ्‍जसमा परिरहेका थिए । आखिरमा अरिमथियाका यूसुफ नाम भएका एकजना प्रतिष्‍ठित सल्‍लाहकार, जो आफै पनि येशूका साँचो चेला थिए, तिनले अन्य यहूदीहरूले थाहै नपाई सुटुक्‍कै पिलातसकहाँ गएर येशूका मृत देह मागे । त्यस निम्ति तिनी यस कारणले खुलेआम जान सकेनन्, किनकि यहूदीहरूले उहाँलाई यति द्वेषपूर्ण र घृणित दृष्‍टिले हेरेका थिए, कि तिनीहरूले उहाँलाई कुनै विशिष्‍ट जग्गामा (कब्रिस्तानमा) राख्‍न नदेलान् कि भनेर चेलाहरू डराइरहेका थिए । यूसुफको अनुरोधमा पिलातसले येशूको मृत देह लैजाने अनुमति दिए । जब उहाँको शरीर क्रूसदेखि तिनीहरूले झारे, तब उनीहरूको खाटा बसिसकेको घाउ पनि फेरि बल्झे झैँ उनीहरू पुनः शोकविव्हल भएर बिलाप गर्नथाले । त्यसपछि उहाँको शरीरलाई यूसुफले मिहिन सुती कपड़ामा लपेट्‍न लगाए, र आफ्‍नै लागि बनाइराखेको नयाँ कब्रमा राखिदिए। अनि ती स्‍‍त्रीहरू, जो सधैं अरू बेला पनि उहाँका अनुयायीहरू भएर आइरहेका थिए, उहाँको प्राण गइसकेपछि पनि उनीहरू उहाँकै छेउमा बसिरहे र उहाँलाई कब्रमा सुरक्षितसाथ राखिएको नदेखेसम्म उनीहरू त्यहाँदेखि हट्‍दै हटेनन् । उहाँलाई कब्रमा राखेपछि ती विरोधीहरूले उहाँको शरीर निकाली लैजान नसकून् भनेर एउटा ठूलो गह्रौं ढुङ्गा गुड्‌याएर चिहानको मुखमा राखे । तर मैले देख्ताहुँदि चाहिँ उनीहरूले डराउनुपर्ने केही आवश्‍‍यकतै थिएन, किनकि उहाँलाई राखिएको त्यस कब्र वरिपरि ता एक पल्टनै स्‍वर्गदूतहरूले बड़ो सतर्कतासाथ पहरा दिइरहेका थिए अनि कति बेला उहाँलाई अर्थात् महिमाका राजालाई त्यस मृत्यु एवम् चिहानरूपी बन्दीगृहदेखि मुक्त गराउन पाऔँ भनी आदेश मात्र पर्खिरहेका थिए ।1BP 63.1

    ख्रीष्‍ट फेरि बौरी उठेर तिनीहरूको बन्धनदेखि उम्किहाल्‍नुहुन्छ कि भन्ने डरले उहाँका ती घातक शत्रुहरूले पिलातसकहाँ आएर भने, “हजुर, त्यसले ‘म तीन दिनमा बौरी उठ्‍नेछु’ भनेको छ । त्यसैले तीन दिनसम्म त्यसको चिहानमा पहरा राखियोस्, नत्र ता त्यसका चेलाहरूले सुटुक्‍कै आएर त्यसलाई लैजालान् र ‘बौरी उठ्‍यो’ भनेर भन्‍लान् ।” तब पिलातसले तिनीहरूलाई सशत्र सिपाहीहरू दिएर, चिहानको मुखमा मोहर (सिल) ठोके र चिहानमा पहरा खटाए ।1BP 64.1