Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - १४
    शावलको जीवन-परिवर्तन

    ख्रीष्‍ट येशूको सुसमाचार प्रचार गर्ने पुरुषहरू र स्‍‍त्रीहरूलाई पक्री बाँधेर यरुशलेममा ल्याउन अधिकार-पत्र लिएर शावल दमस्कसतर्फ सवार भइरहेका थिए । त्यो देखेर वरिपरि शैतानिक दूतहरू रमाइरहेका थिए । तर बाटामा जाँदैगर्दा अचानक स्‍वर्गबाट तिनका वरिपरि ज्योति चम्कँदा ती शैतानिक दूतहरू भागे, र शावल दङ्गै भुइँमा पछारिए । त्यतिखेर तिनले यसो भन्दै गरेको आवाज सुने, “हे शावल, शावल, तिमी किन मलाई सताउँछौ ?” शावलले सोधे, “प्रभु, तपाईं को हुनुहुन्छ ?” अनि यसो भनी उत्तर आयो, “म उही येशू हुँ, जसलाई तिमीले सताउँदैछौ। काँड़ालाई लात हान्नु साह्रो छ है ।” अनि लगलग काँप्दै र आश्‍चर्यचकित हुँदै शावलले भने, “हे प्रभु, मबाट तपाईं के चाहनुहुन्छ अर्थात् म के गरूँ ? ” तब प्रभुले जवाफ दिनुभयो, “उठेर शहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ ।”1BP 92.1

    शावलका साथमा जानेहरू पनि शब्द मात्रै सुनेर कोही पनि नदेख्ता अकमक्‍क परेर उभिरहे । ज्योति चम्कन छोड़िसकेपछि शावल उठे, र आँखा उघारेर हेर्दा तिनले त्यहाँ कोही देखेनन्, कारण अकस्मात् तेजोमय ज्योति चम्केपछि तिनले देख्‍नै छोड़े । त्यसो हुँदा तिनीहरूले तिनलाई हातमा समाती डोऱ्याएर दमस्कसमा ल्याए, अनि तीन दिनसम्म तिनी दृष्‍टिहीन रहे र तिनले केही खाएनन् र केही पनि पिएनन् । त्यसपछि प्रभुले आफ्‍ना दूतलाई उही मानिस अर्थात् हननियाकहाँ पठाउनुभयो, जसलाई पक्रेर झ्यालखानमा हाल्‍ने विचारले नै शाउल हिँड़ेका थिए । अनि ती दूतले गएर हननियालाई दर्शन दिई भने, “ए हननिया, उठ र ‘सीधा’ नामक गल्‍लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाउल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्, अनि तिनले दर्शनमा हननिया नाउँ भएका एकजना मानिस भित्र आएर तिनले दृष्‍टि पाऊन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्।”1BP 92.2

    यो कति भ्रम ता होइन भनी मनमा प्रश्‍न गर्दै हननिया एकछिनसम्म अनकनाए र शाउलको विषयमा आफूले सुनेका कुराहरू सुनाउनथाले । तर प्रभुले भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँको साक्षी हुन तिनी मेरा निम्ति एक छानिएका पात्र हुन् । किनकि मेरो नाउँको खातिर तिनले कति धेरै कष्‍ट भोग्‍नुपर्छ, सो म तिनलाई देखाउनेछु ।”1BP 93.1

    तब हननिया प्रभुको निर्देशानुसार गएर त्यस घरमा पसे, र शाउलमाथि तिनले आफ्‍ना हात राखीकन भने, “भाइ शाउल, तिमी आउँदैगर्दा जुन प्रभु तिमीकहाँ बाटामा देखा पर्नुभयो, उहाँले नै तिमीले दृष्‍टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ ।” त्यसपछि तुरन्तै तिनी देख्‍ने भए, अनि उठेर बप्‍तिस्मा लिए । त्यसपश्‍चात् तिनले सभाघरहरू हुँदा गएर येशू नै परमेश्‍‍वरका पुत्र ख्रीष्‍ट हुनुहुँदो रहेछ भनी प्रचार गर्नथाले । तिनलाई त्यसरी प्रचार गरिरहेका देखेर मानिसहरू छक्‍कै परेर यसो भन्दै आपसमा कुरा गर्नथाले, “यो नाउँ लिने जत्तिलाई यरुशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने उही होइन र ?” तर शाउल अरु बढ़ी शक्तिशाली हुँदैगए, र यहूदीहरूलाई निरूत्तर बनाई अकमक्‍कै पारे । अनि पवित्र आत्माको सामर्थ्यमा तिनले आफ्‍नो अनुभव बताए । त्यसभन्दा अघि शाउलले येशूको विरोध गरेको र येशूमाथि विश्‍‍वास गर्नेहरूलाई खोजी-खोजी पक्रेर लगी तिनीहरूलाई मार्न सुम्पिदिएको कुरा त सबैलाई विदितै थियो । त्यसरी तिनको अप्रत्याशित र आश्‍चर्यजनक परिवर्तनले गर्दा धेरैले येशूमाथि विश्‍‍वास पनि गर्नथाले । अनि शाउलले भने, “मैले ख्रीष्‍टका विश्‍‍वासीहरू - के पुरुष के स्‍‍त्री - सबलाई बाँधेर लगी झ्यालखानमा थुन्दै र मृत्युसम्म सताउँदै थिएँ, अनि त्यही उद्देश्‍‍य लिएर म दमस्कसतर्फ जाँदैगर्दा अकस्मात् स्‍वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्‍यो, र येशू स्‍वयम् मकहाँ प्रकट भईकन उहाँ नै परमेश्‍‍वरका पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्नुभयो । शाउलले निर्भयसाथ ख्रीष्‍ट प्रचार गरे, साथै तिनमा यस्तो प्रभावशाली प्रतिभा यानि विशेषता पनि थियो । त्यो के हो भने, - पहिलो ता तिनलाई शास्‍‍त्रको राम्रो ज्ञान थियो । त्यसमाथि पनि तिनी ख्रीष्‍टमा आइसकेपछि ख्रीष्‍टका सम्बन्धमा भएका भविष्यवाणीहरू तिनलाई अझ छर्लङ्गै गरी प्रकाशित भयो, जसले गर्दा तिनलाई सत्य के हो र कुन हो - प्रमाणित गरी देखाउन अनि भूल अर्थ लाइएका र दुरुपयोग गरिएका शास्‍‍त्रका कुराहरूलाई सच्‍च्याउन तिनलाई सुविधा भयो । अनि पवित्र आत्माले नै प्रेरित भएर तिनले आफ्‍ना श्रोतावर्गलाई बड़ो स्पष्‍ट र प्रभावशाली ढङ्गमा शास्‍‍त्रका भविष्यवाणीहरू कसरी ख्रीष्‍ट येशूको पहिलो आगमन (जन्म), उहाँको शासन, उहाँको मृत्यु र उहाँको पुनरुत्थान भएका थिए, जो पूरा भए भनी प्रमाणित गरी बताइदिए ।1BP 93.2