Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - ३६
    याकूबको संकष्‍टकाल

    परमेश्‍‍वरका जनहरू आफ्‍ना शहर र गाउँहरू छोड़ेर एकजुट भईकन निर्जन ठाउँहरूहुँदा बस्‍न थालेका मैले देखें । उनीहरूलाई स्‍वर्गदूतहरूले नै खाने र पिउने कुराहरूको प्रबन्ध गर्दारहेछन्, तर यता ती दुष्‍टहरू भोक र तिर्खाले आकुल भइरहेका थिए । त्यसपछि पृथ्वीका मानिसहरूले एकत्रित भईकन सर-सल्‍लाह गर्नथाले र तिनीहरूका वरिपरि शैतान र उसका दूतहरू पनि आफ्‍ना काममा व्यस्त थिए । मैले देशका विभिन्न भागहरूमा एउटा लिखित घोषणापत्रका प्रतिलिपिहरू पठाइएका देखें, जसमा यस्तो उर्दी घोषित गरिएको थियो, “तिनीहरूले (अर्थात् सन्तहरूले) आफ्‍नो हठधर्म छोड्‍दैनन्, अनि शबाथ-दिन-(विश्राम दिन) लाई छोड़ेर सप्‍ताहको पहिलो दिनलाइ पालन गर्दैनन् भने तिनीहरूलाई झ्यालखानको सजाय नदिएर एकैचोटि मृत्यु-दण्ड दीइयोस् ।” तर त्यस्तो समयमा पनि ती सन्तहरू शान्त रहीकन परमेश्‍‍वरमाथि नै भरोसा राखेर उहाँको प्रतिज्ञालाई दावा गर्दै बाँच्‍ने उपायका निम्ति प्रार्थना गरिरहेका थिए । त्यो उर्दी घोषित हुनुभन्दा पहिले पहिले पनि कतिचोटी दुष्‍टहरूले उनीहरूलाई मार्न झम्टे, तर स्‍वर्गदूतहरूले योद्धा मानिसहरूका रूपमा उनीहरूका पक्षमा लड़िदिएका थिए । परमप्रधान परमेश्‍‍वरका सन्तगणलाई नाश गर्न पाउनु नै शैतानले आफ्‍नो ठूलो सफलता र विजय ठानेको थियो, तर प्रभुले आफ्‍ना लोकहरूका रक्षार्थ आफ्‍ना दूतगण खटाउनुभयो, कारण ती वरिपरिका अन्यजातिहरूका दृष्‍टिमा आफ्‍ना लोकसँग बाँधेको करार पूरा गर्नुमै परमेश्‍‍वरको महिमा थियो ।1BP 207.1

    केही क्षणपश्‍चात् ती सन्तहरूका चेहरामा फेरि उदासीनताको कालो बादल छाएको देखियो । ती दुष्‍ट पृथ्वीवासीहरूले यिनीहरूलाई फेरि घेरेछन् भनेर मैले लख काटिहालें । कतिजनाले त परमेश्‍‍वरले ‘हामीलाई अब दृष्‍टहरूकै हातमा मर्नलाई छोड़िदिनुभएको हो कि क्‍या हो’ भन्ने पनि सम्झें । तर उनीहरूका आत्मिक आँखा खुलेका भए आफ्‍ना वरिपरि स्‍वर्गदूतहरूले पहरा दिँदै घेरिराखेका देख्‍ने थिए ।1BP 208.1

    त्यसपछि ती सन्तहरूलाई मार्न भनी शैतानिक दूतहरूको दलले ती क्रोधित दुष्‍टहरूको जमातलाई हतार लगाइरहेको थियो । तर ती पवित्र र शक्तिशाली स्‍वर्गदूतहरूको भीड़बाट पार भएर ती सन्तहरूसम्म पुग्‍नु तिनीहरूका लागि सम्भव नै थिएन । ती स्‍वर्गदूतहरूले गर्दा तिनीहरू अघि बढ्‍न सकेनन् र शैतानिक दूतहरू पनि पछि हटे । ती सन्तहरूका निम्ति बड़ो तनाउपूर्ण र भयावह स्थिति थियो । त्यसैले उनीहरूले दिनरात परमेश्‍‍वरलाई पुकारिरहेका थिए । बाहिरबाट हेर्दा उनीहरूका निम्ति बाँच्‍ने उपाय नै देखिँदैन थियो । त्यही देखेर दुष्‍टहरूले खुच्‍चिङ मच्‍चाउँदै उनीहरूलाई भने, “खोइ तिमीहरूका परमेश्‍‍वरले तिमीहरूलाई हाम्रा हातदेखि बचाएको ? खोइ तिमीहरू स्‍वर्गमा उठाइएर तिमीहरूको ज्यान बाँचेको ?” तर ती परमेश्‍‍वरका लोकले सुनेर पनि नसुनेझैं गरे । उनीहरू याकूब झैं परमेश्‍‍वरसित प्रार्थनाद्वारा मल्‍लयुद्ध गरिरहेका थिए । स्‍वर्गदूतहरूले ता उनीहरूलाई छुटकारा दिन खोजिरहेका थिए, तर प्रधान दूतले फेरि पनि उनीहरूलाई रोकीकन भने, “यिनीहरूले अझै केही समयसम्म धैर्य धारण गरेर त्यो प्याला पिउनैपर्छ, र त्यो बप्‍तिस्मा लिनैपर्छ ।” तब ती दूतहरूले विश्‍‍वासयोग्यतापूर्वक सन्तगणको रक्षार्थ पहरा दिँदै रहे । त्यसपश्‍चात् परमेश्‍‍वरका जनहरूको छुटकाराको निम्ति परमेश्‍‍वरको सामर्थ्य पनि प्रकट हुने बेला आइपुग्यो । परमेश्‍‍वर आफैले पनि ती दुष्‍टहरूका सामने आफ्‍नो नाउँको बदनाम भएको चाहनुहुन्नथ्यो; किनकि आफ्‍नो नाउँको महिमाकै निम्ति उहाँले उनीहरू हरेकलाई छुटकारा दिनुहुन्छ, जसले धैर्यपूर्वक उहाँको बाटो हेर्छ र जसको नाम पुस्तकमा लेखिएको छ ।1BP 208.2

    त्यसपछि फेरि दृष्‍टान्तस्‍वरूप मलाई नूह बाजेपट्टि लगे, जो परमेश्‍‍वरको दृष्‍टिमा विश्‍‍वासयोग्य थिए। मुसलधारे पानी बर्स्यो र भल-बाड़ी आएर डुबाउ हुनथाल्यो । नूह र उनको परिवार मात्रै जहाजभित्र पस्‍न पाए र परमेश्‍‍वर स्‍वयम्‌ले जहाजको ढोका बन्द गरिदिनुभयो । नूहले पनि त्यस जमानाका पृथ्वीवासीहरूलाई चेतावनी नदिएका थिएनन्, तर तिनीहरूले उनको कुरालाई हाँसोमा उड़ाउँदै गिल्‍ला गरे । अनि जब-जब पानीले जमिन भरिँदै गयो र मानिसहरू डुब्‍नलागे, तब तिनीहरू आफैले त्यो जहाज - जसको बिषयमा तिनीहरूले खूब खिल्‍ली उड़ाएका थिए - पानीमाथि माथि तैरिँदै गरेको र नूह साथै उनको परिवार त्यसभित्र सुरक्षित रहेका देखे । त्यस्तै गरी परमेश्‍‍वरका जनहरूले पनि - जसले संसारलाई आउनेवाला परमेश्‍‍वरको क्रोधको बारेमा चेतावनी दिए - छुटकारा पाउनेछन् । उनीहरूले पनि विश्‍‍वासयोग्यतापूर्वक पृथ्वीवासीहरूलाई चेतावनी दिएका छन् । परमेश्‍‍वरले दुष्‍टहरूद्वारा आफ्‍ना ती जनहरूलाई नाश हुन दिनुहुन्न, जोहरूले धैर्यपूर्वक उहाँको महिमित आगमनको बाटो हेर्छन् र त्यो जनावरको सामु झुक्दैनन् र त्यसको छाप लिँदैनन् । यदि ती दुष्‍टहरूले परमेश्‍‍वरका जनहरूलाई मार्न पाएका भए परमेश्‍‍वरका घोर विरोधी शैतान र उसका सब दूतहरू अति सन्तुष्‍ट हुनेथिए । अनि त्यतिञ्‍जेलसम्म धैर्यसाथ आफ्‍ना प्रिय प्रभुको बाटो हेर्ने सन्तहरूमाथि त्यो अन्तिम संग्राममा प्रबल भईकन उनीहरूमाथि अधिकार जमाउन पाएको भए शैतानले कस्तो धुमधामले विजयोत्सव मनाउने थियो होला ! तर परमेश्‍‍वरको जनहरूको स्‍वर्गमा उठाइने कुरालाई गिल्‍ला र उपहास गर्नेहरूले पनि परमेश्‍‍वरले आफ्‍ना लोकप्रति यति ख्याल राखेर उनीहरूलाई उद्धार गरी आफ्‍नो महिमा लिनुभएको आफ्‍नै आँखाले देख्‍नेछन् ।1BP 209.1

    जब सन्तहरूले आफ्‍ना शहर र गाउँ-घर छोड़ेर हिँड़े, तब ती दुष्‍टहरू उनीहरूका पिछा लागे, अनि उनीहरूलाई मार्न भनी तरवार उजाएका मात्र के थिए, तिनीहरूका तरवार भाँचिएर परालको त्यान्द्रो झैं कामै नलाग्‍ने भए । त्यसरी परमेश्‍‍वरका दूतहरूले उहाँका जनहरूको निम्ति ढाल भईकन रक्षा गरे, किनकि उनीहरूले छुटकाराको लागि निरन्तर परमेश्‍‍वरलाई पुकारिरहे र उनीहरूको पुकारा परमेश्‍‍वरको सिंहासनसम्म पुग्यो ।1BP 210.1