Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ४. शैतानका पासोहरू

    (अंग्रेजी पुस्तक अध्याय ३२ पृष्‍ठ ५१८)

    ख्रीष्‍ट र शैतानको बीचमा लगभग छ हजार वर्षदेखि भइरहेको महान् विवाद अब चाँडै नै अन्त्य हुनै लागेको छ; र ख्रीष्‍टले मानिसका खातिर गर्नुभएको कामलाई पराजय गर्न र मानिसहरूलाई उसको पासोमा जकड्‍नका लागि दुष्‍ट जनले अब उसका प्रयासहरू दुई गुणा बढाउँछ । मुक्तिदाताको मध्यस्थताको काम र पापको बलिदान अन्त्य नभएसम्म उसले मानिसहरूलाई अन्धकार र अपश्‍चात्तापमा पक्रिराख्‍ने उद्देश्‍‍य पूरा गर्ने प्रयास गर्दछ ।MBA 37.1

    जब उसको शक्ति प्रतिकार गर्ने कुनै विशेष प्रयत्‍न गरिँदैन, र चर्च र संसारमा हेलचेक्राइँ फैलिरहको हुन्छ, तब शैतानले केही चिन्ता गर्दैन; किनभने जसलाई उसले आफ्‍नो इच्छामा कैदी बनाइरहेको छ तिनीहरूलाई गुमाउने कुनै खतरा नै छैन । तर जब अनन्त थोकहरूतर्फ ध्यानाकर्षित हुन्छ र जब मानिसहरूले प्रश्‍न गरिरहेका हुन्छन्, “मैले उद्धार पाउनका लागि के गर्नुपर्छ ?” तब ऊ ख्रीष्‍टको शक्तिको विरूद्धमा उसको शक्ति दजाउँदै र पवित्र आत्माको प्रभाव विपरीत काम गर्दै मैदानमा उत्रन्छ ।MBA 37.2

    धर्मशास्‍‍त्र घोषणा गर्दछ कि कुनै समयमा, जब परमेश्‍‍वरका दूतहरू परमप्रभुको सामु उपस्थित भएका थिए तब तिनीहरूको माझमा शैतान पनि आयो, (अय्यूब १:६) अनन्त राजाको सामु दण्डवत गर्न होइन, तर धर्मीको विरूद्धमा आफ्‍नो निन्दाजनक लक्ष्यहरू अगाड़ि बढ़ाउन आएको थियो । जब मानिसहरू परमेश्‍‍वरको सेवा गर्न भेला हुन्छन् तब त्यो त्यही लक्ष्य लिएर उपस्थित हुन्छ । उसले अदृश्‍‍य रूपमा आराधकहरूका दिमागहरूलाई नियन्‍‍त्रण गर्नका लागि सम्पूर्ण मेहनत लगाएर काम गरिरहेको हुन्छ । एक सिपालु सेनापतिले झैँ उसले आफ्‍ना योजनाहरूका पूर्व व्यवस्थापन गर्दछ । जब उसले परमेश्‍‍वरका समाचारवाहकले धर्मशास्‍‍त्र तलाश गरिरहेको देख्‍छ, तब उसले पनि मानिसहरूका सामु प्रस्तुत गर्नका लागि त्यो विषयको टिप्पणी गर्दछ । त्यसपछि उसले आफ्‍नो सम्पूर्ण चतुरता र धूर्तता प्रयोग गरेर परिस्थितिहरूलाई यस्तो तरिकाले नियन्‍‍त्रण गर्छ, ताकि उसले जसलाई त्यो विषयमा बहकाइरहेछ तिनीहरूसम्म त्यो सन्देश पुग्‍न नसकोस् । त्यो चेतावनीको अति नै आवश्‍‍यक पर्ने व्यक्ति अन्य व्यापारिक कारोबारमा जान बाध्य पर्नेछ, जहाँ उसको उपस्थितिको अत्यन्तै जरूरी परेको हुन्छ, वा अरू कुनै पनि माध्यमहरूबाट वचन सुन्न बाधा भएको हुन्छ, जुन उसका लागि जीवन दिने कुरा प्रमाणित हुन सक्थ्यो ।MBA 37.3

    फेरि, आत्मिकी अन्धकारले मानिसहरूलाई छोपेको कारण परमप्रभुका दासहरू थकित भएको शैतानले देख्‍छ । अवहेलना, हेलचेक्रयाइँ, र आलस्यको मोहलाई तोड्‍न दैवीय अनुग्रह र शक्ति प्राप्‍तिका निम्ति तिनीहरूको निरन्तर प्रार्थना उसले सुन्छ । त्यसपछि ताजा जोशका साथ उसले आफ्‍ना सीपहरू प्रयोग गर्छ । उसले मानिसहरूलाई भोकको विलासिता वा अन्य कुनै प्रकारका आत्म-सन्तुष्‍टिका कुराहरूमा परीक्षा दिन्छ, र यसरी तिनीहरूका चेतनाहरूलाई सुताउँछ, त्यसर्थ जुन कुरा तिनीहरूले सिक्‍न अति नै आवश्‍‍यक पर्छ तिनीहरू सो सिक्‍न असफल हुन्छ ।MBA 38.1

    शैतानले जसलाई प्रार्थना र धर्मशास्‍‍त्रको खोजीमा अवहेलना गराउन सक्छ तिनीहरू सबैमाथि उसका आक्रमणहरूद्वारा ऊ विजय हुनेछ भनी उसलाई राम्ररी थाहा छ । त्यसकारण उसले दिमागलाई व्यस्त पार्ने यथाशक्‍य उपायहरू आबिष्कार गर्दछ । त्यहाँ पहिलेदेखि नै भक्तिको भेष धारण गर्ने एक दर्जा छन्, जोहरू सत्यताका ज्ञान प्राप्‍त गर्न लगनशील छैनन्, बरु जुन मानिसहरूसँग तिनीहरू सहमति जनाउँदैनन् तिनीहरूको चरित्रको खोट वा विश्‍‍वासको गल्ती खोज्‍नतर्फ पो लाग्छन्, यसरी तिनीहरूले त्यही कुरालाई आफ्‍नो धर्म बनाउँछन् । यस्ताहरूचाहिँ शैतानका दाहिने बाहुलीका सहायकहरू हुन् । भाइहरूलाई दोष लगाउनेहरू थोरै छैनन्, र जब परमेश्‍‍वरले काम गर्नुहुन्छ र उहाँका दासहरूले उहाँलाई सत्य श्रद्धा प्रदान गर्छन् तब तिनीहरू पनि सदैव क्रियाशील हुन्छन् । जसले सत्यतालाई माया गर्छन् र पालन गर्छन्, तिनीहरूका व्यवहारहरू र शब्दहरूमा झूटो रङले रङ्गाउनेछन् । सबभन्दा उत्सुक, जोशिलो, र आत्म-इन्कार गर्ने ख्रीष्‍टका दासहरूलाई पनि तिनीहरूले ठगिएका र ठगाहाको रूपमा वर्णन गर्नेछन् । प्रत्येक सत्य र भद्र कार्यलाई कुव्याख्या गर्ने, व्यङ्ग्यत्मक कुरा फैल्याउने र अनुभवहीन दिमागहरूमा शंका उब्‍जाउने त तिनीहरूको काम नै हो । जुन कुरा शुद्ध र धर्मी छ तिनीहरूले त्यसलाई पनि सोच्‍न सक्‍ने प्रत्येक तरिकाबाट दुगर्न्धित र भ्रमपूर्ण रूपमा नीच ठहऱ्याउने प्रयास गर्नेछन् ।MBA 38.2

    तर ती कुराहरूको विषयमा कोही पनि ठगिनु आवश्‍‍यक छैन । तिनीहरू कसका छोराछोरी हुन्, तिनीहरूले कसका अनुसरण गर्छन्, र तिनीहरूले कसका काम गर्छन् भनी सजिलै देख्‍न सकिन्छ । “तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ ।” मत्ती ७:१६ । तिनीहरूका कार्य शैतानको जस्तै छ, जो विषाक्त झूटो दोष लगाउने व्यक्ति हो, “भाइहरूलाई दोष लगाउने ।” प्रकाश १२:१० ।MBA 39.1

    महान् ठगाहाले मानिसहरूलाई पासोमा पार्नका लागि कुनै न कुनै तथा हरकिसिमका झूटहरू प्रकट गर्ने धेरै माध्यमहरू तयारी गरेको छ—त्यसले जसमाथि सर्वनाश ल्याउन चाहन्छ तिनीहरूका विभिन्न रुचिहरू र क्षमताहरूअनुसार अपधर्महरू तयारी पारेको छ । शंका र अविश्‍‍वासमा उत्साह दिने पाखण्डी र अपरिवर्तनीय थोकहरू चर्चमा ल्याउने उसको योजना हो; र जसले परमेश्‍‍वरको काम विकास भएको हेर्न चाहन्छन् र त्यसका साथै तिनीहरू आफै पनि विकास हुन चाहन्छन् उसले तिनीहरू सबैलाई बाधा गर्नेछ । धेरैजना जसले परमेश्‍‍वर वा उहाँको वचनमाथि वास्तविक विश्‍‍वास गर्दैनन् र तिनीहरू सत्यताका कुनैकुनै सिद्धान्तहरूमा त सहमति जनाउँछन् र इसाईजस्तै जिउँछन्, र यसरी तिनीहरूले आफ्‍ना झूटहरूलाई धर्मशास्‍‍त्रीय सिद्धान्तहरूको रूपमा प्रस्तुत गर्न सक्षम हुन्छन् ।MBA 39.2

    मानिसहरूले परिणामहीन अवस्थामा विश्‍‍वास गर्छन् भन्ने विचारचाहिँ शैतानको सबभन्दा सफलताजनक भ्रमहरूमध्ये एक हो । जसले सत्यतालाई प्रेमसाथ स्‍वीकार गर्दछ त्यसले उसको हृदय पवित्र पार्दछ भनी उसलाई थाहा छ; त्यसकारण उसले निरन्तररूपले झूटा शिक्षाहरू, दन्त्यकथाहरू, अर्को सुसमाचार त्यसको सट्टामा राख्‍न खोजिरहेछ । सुरुदेखि नै परमेश्‍‍वरका दासहरूले झूटा शिक्षकहरूको विरूद्ध तर्क गर्दै आएका छन्, तिनीहरूले दुराचारी मानिसहरूसँग मात्र होइन, तर हृदयप्रति घातक झूटहरूका शिक्षकहरूसँग पनि तर्क गरे । जसले मानिसहरूलाई परमेश्‍‍वरको वचनबाट भड्‍काएका थिए, एलिया, यर्मिया र पावलले तिनीहरूलाई दृढता र निडरतासाथ विरोध गरे । त्यो निरपेक्षता जसले उचित धार्मिक विश्‍‍वासलाई निरर्थक ठान्छन्, ती सत्यका पवित्र रक्षकहरूका निम्ति सो आकर्षक थिएन ।MBA 39.3

    इसाई संसारमा पाइने धर्मशास्‍‍त्रका अनिश्‍चित र रोचक वर्णनहरू, र धार्मिक विश्‍‍वासको विषयमा धेरै विवादयुक्त शिक्षाहरूले दिमागहरू अलमल्‍ल पार्दछन् जुन हाम्रो महान् शत्रुको काम हो ताकि तिनीहरूले सत्यता थाहा नपाओस् । अनि इसाईजगतका चर्चहरूका माझमा भएको अमेल र विभाजनको एक प्रमुख कारणचाहिँ यही हो, कि कुनै न कुनै मनपर्ने शिक्षाको समर्थनमा धर्मशास्‍‍त्रलाई हेरफेर गर्ने चलन प्रायः बढिरहेको छ । उहाँको इच्छाको ज्ञान प्राप्‍त गर्नका लागि नम्र हृदयकासाथ परमेश्‍‍वरको वचन सावधानपूर्वक अध्ययन गर्नुभन्दा बरु धेरैजनाले कुनै अमिल्दो वा मौलिक कुराहरू मात्र पत्ता लगाउने प्रयास गर्दछन् ।MBA 39.4

    गलत सिद्धान्तहरू वा अन्य चलनहरू कायम राख्‍नका लागि कति जनाले धर्मशास्‍‍त्रका अनुच्छेदहरूलाई वाक्‍य प्रसङ्गबाट निकाल्‍नेछन्, शायद एक पदको आधालाई तिनीहरूको धारणा प्रमाणित गर्न उद्धरण गर्नेछन्, जबकि बाँकी रहेका अंशले चाहिँ विपरीत अर्थ देखाउनेछ । सर्पको चतुरतामा तिनीहरू आफैलाई लुकाउनका लागि छुट्टा-छुट्टै उच्‍चारणहरूमा आफ्‍नै शारीरिक इच्छाहरू पूरा गर्न ती वाक्‍यांशहरूको विशलेषण गर्दछन् । यसरी धेरैजनाले जानीजानी परमेश्‍‍वरको वचन दुरूपयोग गर्दछन् । अरू जसको कल्पना क्रियाशील छ, तिनीहरूले पवित्र लेखका सङ्केतहरू र चिन्हहरू पक्रन्छन् र धर्मशास्‍‍त्रको गवाहीलाई त्यसको आफ्‍नै अनुवादकको रूपमा मान्यता नै दिंदैनन् र तिनीहरूका आफ्‍नै मनोरञ्‍जनात्मक कुराअनुसार वर्णन गर्दछन्, र त्यसपछि तिनीहरूले आफ्‍ना परिकल्पनाहरूलाई बाइबलको शिक्षाको रूपमा प्रस्तुत गर्दछन् ।MBA 40.1

    जब प्रार्थनापूर्ण, नम्र, सिक्‍ने आत्माविना नै धर्मशास्‍‍त्रको अध्ययनमा प्रवेश गरेको हुन्छ, तब सबभन्दा स्पष्‍ट र साधारण साथै सबभन्दा कठिन पदहरूको वास्तविक अर्थ पनि बाङ्गिन पुग्‍नेछ । धर्मशास्‍‍त्रका यस्ता भागहरू रोमन क्‍याथोलिक अगुवाहरूले तिनीहरूका उद्देश्‍‍यको उत्तम अनुकूलतामा छान्दछन्, र तिनीहरूले आफ्‍नै विचारअनुसार वर्णन गरेर यी कुराहरू मानिसहरूका सामु प्रस्तुत गर्दछन्, जबकि तिनीहरूले मानिसहरूलाई बाइबल अध्ययनको सौभाग्यबाट साथै तिनीहरूका आफ्‍नै निम्ति त्यसका पवित्र सत्यताहरू बुझ्‍नबाट बञ्‍चित गर्दछन् । सम्पूर्ण बाइबल मानिसहरूका सामु जस्तो छ त्यस्तै प्रस्तुत गर्नुपर्दछ । तिनीहरूका सामु धर्मशास्‍‍त्रको शिक्षालार्ई यस्तो घिनलाग्दो कुव्याख्या गरिनुभन्दा त बरु तिनीहरू बाइबलको शिक्षादेखि बञ्‍चित रहनु नै उत्तम हुन्छ ।MBA 40.2

    बाइबलचाहिँ सृजकको इच्छा जान्न चाहनेहरूका निम्ति एक अगुवा स्‍वरूप रचना गरिएको थियो । परमेश्‍‍वरले मानिसहरूलाई अगमवाणीको निश्‍चित वचन प्रदान गर्नुभयो; स्‍वर्गदूतहरूसाथै ख्रीष्‍ट आफै पनि दानिएल र यूहन्नाकहाँ चाँडै हुन आउने कुराको समझ दिन आउनुभयो । हाम्रा मुक्तिका महत्‍वपूर्ण विषयहरू रहस्यमय रूपमा छोड़िएका थिएनन् । ती कुराहरू सत्यताका ईमानदार तलाशीेहरूलाई दोधार पार्न र कुबाटोतर्फ लैजान प्रकट भएका थिएनन् । परमप्रभुले हबकूक अगमवक्ताद्वारा भन्नुभयो: “यो दर्शन लेख ! पाटीहरूमाथि यसलाई सफासँग लेख, यसैले कि जसल यो पढ्‍छ, त्यो दगुरोस् !” हबकूक २:२ (KJV) । प्रार्थनापूर्ण हृदय लिएर अध्ययन गर्नेहरू सबैका निम्ति परमेश्‍‍वरको वचन स्पष्‍ट छ । प्रत्येक सत्य ईमानदारी मानिस सत्यताको ज्योतिमा आउनेछ । “धर्मीहरूमाथि ज्योति प्रकाशमान हुन्छ ।” भजनसंग्रह ९७:११ । कुनै पनि चर्चका सदस्यहरूले सत्यतालाई लुकिएको गाड्‍धन झैँ उत्सुकतासाथ खोजी गरेको छैन भने त्यो पवित्रतामा विकसित हुनै सक्दैन ।MBA 40.3

    निरपेक्षता भन्ने भनाइद्वारा मानिसहरू तिनीहरूको दुश्‍‍मनका युक्तिहरूतर्फ अन्धो भएका छन्, जबकि ऊचाहिँ आफ्‍नो उद्देश्‍‍य पूरा गर्न सँधैभरि दृढतासाथ काम गरिरहेछ । जब उसले बाइबलको सट्टामा मानविक कल्पनाहरू राख्‍न सफल हुन्छ, तब परमेश्‍‍वरको व्यवस्था हटेको हुन्छ, र चर्चहरू पापको दासत्‍वमा परेका हुन्छन् जबकि तिनीहरूले चाहिँ स्‍वतन्‍‍त्रता दाबी गर्दछन् ।MBA 41.1

    वैज्ञानिक अनुसन्धानहरू धेरैका लागि सराप भएका छन् । परमेश्‍‍वरले संसारमा विज्ञान र कलाका अनुसन्धानहरूमार्फत ज्योतिको बाढ़ी बहने मौका दिनुभएको छ; तर सबभन्दा महान् दिमागहरू पनि, यदि परमेश्‍‍वरको वचनले तिनीहरूको अनुसन्धानमा अगुवाइ नगरेको भए, विज्ञान र प्रकाशका सम्बन्धहरू छानबिन गर्ने प्रयत्‍नहरूमा अलमल्‍ल हुन्छन् ।MBA 41.2

    भौतिक र आत्मिक दुवै कुराहरूमाथि मानविक ज्ञान चाहिँ अल्प र अपूर्ण नै छ; त्यसकारण धेरैजना विज्ञानका शिक्षाहरू धर्मशास्‍‍त्रका वाक्‍यहरूसित मिलाउन असमर्थ हुन्छन् । धेरैजनाले केवल शिक्षाहरू र परिकल्पनाहरू वैज्ञानिक तथ्यहरूका रूपमा स्‍वीकार गर्छन्, र परमेश्‍‍वरको वचनचाहिँ “विज्ञान” नामक झूटो विज्ञानद्वारा जाँचिनुपर्छ भनी तिनीहरू विचार गर्छन् । १ तिमोथी ६:२० । सृष्‍टिकर्ता र उहाँका कामहरू तिनीहरूका समझभन्दा टाढा छन्; र तिनीहरूले यी कुराहरू प्राकृतिक व्यवस्थाहरूद्वारा वर्णन गर्न सक्दैनन्, त्यसकारण बाइबलको इतिहासलाई विश्‍‍वासयोग्य ठान्दैनन् । पुरानो र नयाँ नियमको अभिलेखको निर्भरताप्रति शंका गर्नेहरू प्रायजसो एक खुड्‍किल्‍ला तल झर्छन् र तिनीहरूले परमेश्‍‍वरको अस्तित्‍वलाई संदेह गर्छन् र अनन्त शक्तिको गुणचाहिँ प्रकृतिलाई दिन्छन् । तिनीहरूले आफ्‍ना लङ्गर छोड़िदिन्छन् र तिनीहरू अभक्तिका चट्टानहरूमाथि बजारिन छोड़िन्छन् ।MBA 41.3

    यसरी धेरैजना विश्‍‍वासबाट कुबाटोतिर लागेर दियाबलसद्वारा बहकिएका छन् । मानिसहरू तिनीहरूका सृष्‍टिकर्ताभन्दा पनि बुद्धिमानी बन्ने प्रयास गरेका छन्; अनन्त युगहरूभरि कहिले पनि प्रकट नहुने रहस्यहरू मानविक दर्शनशास्‍‍त्रद्वारा अनुसान्धान गर्ने र वर्णन गर्ने प्रयास गरेका छन् । यदि परमेश्‍‍वरले आफ्‍नै विषयमा र उहाँका उद्देश्‍‍यहरूको विषयमा प्रकट गर्नुभएका कुराहरू नै मानिसहरूले अनुसन्धान गरेको भए तथा बुझेको भए, तिनीहरूले यहोवाका यस्ता महिमा, ऐश्‍‍वर्य, र शक्तिको दृश्‍‍य प्राप्‍त गर्ने थिए कि तिनीहरूले आफ्‍नै अभाव महसुस गर्ने थिए र आफ्‍नै निम्ति र छोराछोरीहरूका निम्ति प्रकट भएको प्रकाशमा नै तिनीहरू सन्तुष्‍टि हुने थिए ।MBA 41.4

    जुन कुराहरू परमेश्‍‍वरले प्रकट गर्नुभएकै छैन र त्यो उहाँले हामीलाई बुझोस् भन्ने इन्छा पनि राख्‍नुभएको छैन त्यही कुराहरूमा मानिसहरूका दिमागहरूले अनुमान र अनुसन्धान गरिरहेका छन्, त्यही नै शैतानका प्रमुख भ्रमहरूमध्ये एक हो । यसरी नै लुसिफरले स्‍वर्गमा उसको स्थान गुमायो । परमेश्‍‍वरका सम्पूर्ण गुप्‍त उद्देश्‍‍यहरू विश्‍‍वाससाथ ऊसँग परामर्श नगरेको कारण ऊ असन्तुष्‍टि भयो, र ऊ उच्‍च पदमा कार्यरत भएतापनि उसले आफ्‍नो कामको बारेमा प्रकट भएको सम्पूर्ण कुरालाई वास्ता गरेन । उसले आफ्‍नो आदेशको अधीनमा भएका स्‍वर्गदूतहरूका मनमा पनि उस्तै असन्तुष्‍टि जगाएर तिनीहरूको पतन गरायो । अब उसले मानिसहरूका मनहरूमा त्यस्तै आत्मा हालिदिने र परमेश्‍‍वरका प्रत्यक्ष आज्ञाहरू भङ्ग गराउने प्रयास गर्दछ ।MBA 42.1

    जो बाइबलका सीधा र धारिला सत्यताहरूलाई स्‍वीकार गर्न तयार छैनन् तिनीहरूले सँधै रमणीय दन्त्यकथा खोजिरहेका छन् जसले तिनीहरूको विवेकलाई शान्त पार्दछ । जति कम आत्मिकी, कम आत्म-इन्कारजनक र कम नम्रतापूर्ण सिद्धान्तहरू प्रकट गरेका हुन्छन्, तिनीहरूले त्यति नै मन लगाएर स्‍वीकार गर्छन् । यी मानिसहरूले तिनीहरूका शारीरिक इच्छाहरूलाई सन्तुष्‍ट पार्न विवेकशील शक्तिहरूलाई भ्रष्‍ट पार्दछन् । हृदयको पश्‍चात्तापसाथ तथा दैवीय अगुवाइका लागि उत्सुक प्रार्थनासित धर्मशास्‍‍त्र खोजी गर्नुको सट्टामा तिनीहरूले आफ्‍नै घमण्डमा आफैलाई अति बुद्धिमानी ठान्छन्, र तिनीहरूलाई भ्रमदेखि बचाउने कुनै सुरक्षा नै छैन । शैतान हृदयको इच्छा पूर्ति गर्न तयार छ, र उसले सत्यताको स्थानमा कपट राख्दछ । यसरी पोपतन्‍‍त्रले मानिसहरूका दिमागहरूमाथि त्यसको शक्ति प्राप्‍त गऱ्यो; प्रोटेस्टेन्टहरूले पनि त्यही मार्ग पछ्‌याइरहेछन्, किनकि सत्यतामा क्रूस पनि समावेश भएको हुन्छ र तिनीहरूले त्यसलाई इन्कार गर्छन् । जसले संसारबाट फरक हुन नपरोस् भनी सुविधा र अभिप्राय अध्ययन गर्न परमेश्‍‍वरको वचनलाई बेवास्ता गर्छन्, तिनीहरू सबै धार्मिक सत्यताको सजाययुक्त अपधर्ममा छोड़िनेछन् । जसले जानीजानी सत्यता अस्‍वीकार गर्दछन् तिनीहरूले प्रत्येक कल्पनात्मक झूट स्‍वीकार गर्नेछन् । जसले एक छललाई त्राससाथ हेर्दछ त्यसले सजिलै अर्को पनि स्‍वीकार गर्नेछ । जसले “सत्यतालाई प्रेम गर्न र त्यसरी बाँच्‍न इन्कार गरे” प्रेरित पावल त्यस्ता वर्गहरूको विषयमा बोल्दै यसरी घोषणा गर्छन्: “यसैकारण तिनीहरूले झूटा कुरामा विश्‍‍वास गरून् भनेर परमेश्‍‍वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ, ताकि सत्यमाथि विश्‍‍वास नगर्ने, तर अधार्मिकतामा आनन्द मनाउने सबै जना दोषी ठहरिऊन् ।” २ थेसलोनिकी २:१०-१२ । हामीले कस्ता सिद्धान्तहरू स्‍वीकार गर्छौं भनी हाम्रो सामु भएको यस्तो चेतावनीद्वारा हामी आफै सावधान हुनुपर्ने आवश्‍‍यकता प्रकट भएको छ ।MBA 42.2

    महान् ठगाहाको सबभन्दा सफलताजनक साधनहरूमध्ये भूत आत्माको विश्‍‍वासका झूटा शिक्षाहरू र छलपूर्ण अचम्मलाग्दा कामहरू पनि हुन् । उसले ज्योतिमय स्‍वर्गदूतको भेष धारण गरेर शंका नगरिएका ठाउँहरूमा जाल थाप्छ । यदि मानिसहरूले तिनीहरूको समझका लागि परमेश्‍‍वरको किताब मात्र उत्सुक प्रार्थनासाथ पढेको भए, तिनीहरू झूटा शिक्षाहरू स्‍वीकार गर्न अन्धकारमा छोड़िने थिएनन् । तर तिनीहरूले सत्यतालाई अस्‍वीकार गरेपछि तिनीहरू छलको शिकार भएर पतन हुन्छन् ।MBA 43.1

    अर्को खतराजनक झूटो सिद्धान्तचाहिँ यो हो कि जसले ख्रीष्‍टको दैवीयतालाई अस्‍वीकार गर्दछ, यस संसारको आगमन पूर्व उहाँको कुनै अस्तित्‍व नै थिएन भनी त्यसले दाबी गर्दछ । बाइबलमाथि विश्‍‍वासको दाबी गर्ने ठूलो दर्जाले पनि यस शिक्षालाई बड़ो हर्षसाथ स्‍वीकार गरेका छन्; तापनि यसले हाम्रा मुक्तिदाता र पिताको सम्बन्ध, उहाँको दैवीय चरित्र र उहाँको पूर्व-अस्तित्‍वको विषयमा भएका सबभन्दा स्पष्‍ट वाक्‍यहरूलाई प्रत्यक्षरूपमा प्रतिकार गर्दछ । धर्मशास्‍‍त्र अति नै अनिश्‍चित ढङ्गले नबङ्ग्याएसम्म यो स्‍वीकार्य हुनै सक्दैन । यसले मुक्तिको काममा मानिसहरूको समझलाई गिराउने मात्र होइन, तर जुन बाइबलमाथि भएको विश्‍‍वास परमेश्‍‍वरले प्रकाशको रूपमा प्रदान गर्नुभएको छ त्यसको जरासमेत काटिदिन्छ । जब यो अझै खतरा बन्दैजान्छ, तब यसलाई सामना गर्न पनि त्यति नै कठिन हुँदैजान्छ । यदि मानिसहरूले ख्रीष्‍टको दैवीयताको बारेमा प्रेरणात्मक धर्मशास्‍‍त्रको गवाही इन्कार गर्छन् भने तिनीहरूसँग त्यो विषयमा विवाद गर्नु भनेको व्यर्थ हो; किनकि विवाद जत्ति नै निर्णायक भएपनि त्यसले तिनीहरूलाई चित्त बुझाउन सकिँदैन । “जो मानिस आत्मिक छैन, त्यसले परमेश्‍‍वरका आत्माका कुराहरू ग्रहण गर्दैन । किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्‍न सक्दैन, किनकि ती कुराहरू आत्मिकी रीतिले मात्र चिन्न सकिन्छ ।” १ कोरिन्थी २:१४ । जसले यस्ता झूट अपनाउँछन् तिनीहरू कसैले पनि ख्रीष्‍टको चरित्र अथवा कार्य, वा परमेश्‍‍वरले मानिसको मुक्तिका खातिर गर्नुभएको महान् योजना बारे वास्तविक समझ पाउने छैनन् ।MBA 43.2

    व्यक्तिगत प्राणीको रूपमा शैतानको कुनै अस्तित्‍व छैन; धर्मशास्‍‍त्रमा प्रयोग गरिएको नामचाहिँ केवल मानिसहरूका दुष्‍ट विचारहरू र इच्छाहरूलाई प्रतिनिधि गर्न प्रयोग गरिएको हो भन्ने विश्‍‍वास अझै अर्को चतुर र हानिकारक झूटो विश्‍‍वास हो जुन वेगसँग फैलिरहेछ ।MBA 43.3

    प्रत्येक व्यक्तिको मृत्युमा नै ख्रीष्‍टको दोस्रो आगमन हुन्छ भन्ने शिक्षा यति व्यापकरूपमा प्रख्यात् पुल्पिटहरूबाट गुञ्‍जेको थियो, जुनचाहिँ आकाशका बादलहरूमा उहाँको व्यक्तिगत आगमनबाट मानिसहरूका दिमागहरू भड्‍काउने एक साधन मात्र हो । शैतानले वर्षौंदेखि यसरी नै भनिरहेको छ, “हेर, उनी भित्री कोठाहरूमा छन्” (मत्ती २४:२३-२६); र यस छललाई स्‍वीकार गरेर धेरै जना मानिसहरू हराएका छन् ।MBA 44.1

    फेरि, प्रार्थना आवश्‍‍यक छैन भनी सांसारिक बुद्धिले सिकाउँछ । विज्ञानका मानिसहरूले दाबी गर्दछन् कि त्यहाँ वास्तविक प्रार्थनाको उत्तर हुनै सक्दैन; कि यो त एक व्यवस्था भङ्ग पो हुन्थ्यो, र अचम्मलाग्दो काम, अचम्मलाग्दा कामहरू त झन छँदैछैनन् । तिनीहरू यसरी भन्छन्, ब्रमाण्ड निश्‍चित नियमहरूले चलेको छ, र परमेश्‍‍वर आफैले यी व्यवस्थाहरू विपरीत केही गर्नुहुन्न । त्यसरी तिनीहरूले परमेश्‍‍वरलाई उहाँको आफ्‍नै व्यवस्थामा बाँधिनु भएको छ भनी वर्णन गर्दछन्—जस्तो कि दैवीय व्यवस्थाहरूको परिचालनद्वारा दैवीय स्‍वतन्‍‍त्रता हटाउन सकिन्छ । यस्ता शिक्षाहरू धर्मशास्‍‍त्रको गवाही विरोध छन् । के ख्रीष्‍ट र उहाँका प्रेरितहरूद्वारा अचम्मलाग्दा कामहरू भएनन् र ? त्यही दयालु मुक्तिदाता आज पनि जिउँदो हुनुहुन्छ, जसरी उहाँ मानिसहरूका माझमा दृश्‍‍य रूपमा हिँड्‍नुहुँदा उहाँले विश्‍‍वासको प्रार्थना सुन्नुहुन्थ्यो, त्यसरी नै उहाँ आज पनि सुन्न तयार हुनुहुन्छ । प्राकृतिकले दैवीयसँग सहकार्य गर्दछ । विश्‍‍वासको प्रार्थनामा उत्तर प्रदान गर्ने पनि परमेश्‍‍वरको योजनामध्ये एक हो, जुन हामीले यसरी मागेनौं भने उहाँले हामीलाई त्यो प्रदान गर्नुहुन्न ।MBA 44.2

    इसाईजगतका चर्चहरूले अगण्य झूटा सिद्धान्तहरू र मनोरञ्‍जात्मक विचारहरू प्राप्‍त गरिरहेका छन् । परमेश्‍‍वरको वचनद्वारा निर्धारित सीमादर्शकहरूमध्ये एउटा मात्र हटाउँदा त्यसबाट आउने खराब प्रतिफलहरू अनुमान गर्न असम्भव छ । थोरै जसले यो काम गर्ने आँट गर्छन्, तिनीहरूले पनि कुनै न कुनै सत्यतालाई अस्‍वीकार गरेकै हुन्छन् । बहुसंख्याले त झन एकपछि अर्को गर्दै सत्यताका सिद्धान्तहरू हटाउँछन्, अन्तमा तिनीहरू साँच्‍चै नै नाष्‍तिक बन्छन् ।MBA 44.3

    प्रख्यात धर्मशास्‍‍त्रीय झूटहरूले धेरै मानिसलाई शंकामा पुऱ्याएका छन्, त्यसो नभए तिनीहरू धर्मशास्‍‍त्रका विश्‍‍वासी हुने थिए । जुन सिद्धान्तहरूले कुनै व्यक्तिको न्याय, कृपा, र परोपकारीको चेतनालाई अपराध गर्दछ उसले त्यस्ता कुराहरू स्‍वीकार गर्न असम्भव छ; र यी कुराहरू बाइबलका शिक्षाहरूको रूपमा प्रकट हुँदछ, त्यसकारण उसले त्यसलाई परमेश्‍‍वरको वचन स्‍वरूप स्‍वीकार गर्न इन्कार गर्दछ ।MBA 44.4

    अनि शैतानले यही लक्ष्यलाई पूरा गर्ने प्रयास गर्दछ । उसले परमेश्‍‍वर र उहाँको वचनमाथि राखिएको भरोसा नष्‍ट पार्दछ किनकि उसको सबभन्दा मनपर्दो कार्य अर्को कुनै पनि छैन । शैतान नै शंकालुहरूका विशाल फौजको शिर हो, र उसले मानिसहरूलाई उसका दर्जाहरूमा फसाउन उसको शक्तिको चरमसीमाका साथ काम गर्दछ । शंकालु प्रवृत्ति प्रचलित भइरहेछ । त्यहाँ एक ठूलो समूह छ जसले परमेश्‍‍वरको वचन—किनकि यसले पाप देखाउँछ र दोष दिन्छ—र त्यसको लेखकलाई उस्तै कारणले अविश्‍‍वास गर्दछ । जो यसका आवश्‍‍यकताहरूलाई पालन गर्न तयार छैनन् तिनीहरूले यसको अधिकारलाई परास्त गर्ने प्रयास गर्दछन् । तिनीहरूले बाइबल त पढ्‍छन्, वा पवित्र पुल्पिटदेखि प्रस्तुत भएका त्यसका शिक्षाहरू पनि सुन्छन्, किनकि तिनीहरू धर्मशास्‍‍त्र वा प्रवचनमा दोष मात्र खोज्‍न चाहन्छन् । धेरैजना आफैलाई निर्दोष ठहराउन वा बहाना निकाल्‍न आफ्‍नो कर्तव्यको बेवास्ता गर्दै नाष्‍तिक हुन्छन् । अरूहरूले घमण्ड र आलस्यका कारण आलोचनात्मक सिद्धान्तहरू अपनाउँछन् । तिनीहरूले प्रयत्‍न र आत्म-इन्कार गर्नुपर्ने कुनै आदरयोग्य काम गरेर आफैलाई प्रसिद्ध पार्न सक्दैनन् किनकि तिनीहरू धेरै सुखविलास-प्रेमी छन्, तापनि तिनीहरूले बाइबललाई आलोचना गर्नेद्वारा उच्‍च बुद्धिका निम्ति इज्‍जत हासिल गर्ने लक्ष्य राख्‍छन् । त्यहाँ यस्ता धेरै कुराहरू छन् जुन दैवीय बुद्धिद्वारा प्रकाशित नभएसम्म सीमित दिमागले बुझ्‍न असमर्थ छ; त्यसकारण तिनीहरूले आलोचना गर्ने मौका पाउँदछन् । धेरैजनाले महसुस गर्दछन् कि अविश्‍‍वास, शंका, र नाष्‍तिकताको पक्षमा उभिनु एक असल कुरो हो । तर त्यहाँ निष्कपटता देखा परेतापनि यस्ता मानिसहरू भित्रपट्टि चाहिँ आत्म-निर्भरता र घमण्डद्वारा जकड़िएका पाइनेछन् । धेरैजना धर्मशास्‍‍त्रबाट अरूका दिमागहरूलाई अलमल्‍ल पार्ने केही कुरा पत्ता लगाउन मन पराउँछन् । कतिजना प्रथम पटकमै आलोचना गर्छन् र गलत प्रसङ्गतर्फ सोच्‍न थाल्छन्, किनकि तिनीहरू विवाद मात्र गर्न मन पराउँछन् । तिनीहरूले यो कुरा महसुस गर्दैनन् कि यसरी आफैलाई शिकारीको पासोमा अल्झाइरहेका छन् । तर तिनीहरूले खुल्‍लमखुल्‍ला अविश्‍‍वास व्यक्त गरेको कारण आफ्‍नो स्थान कायम राख्‍नैपर्छ भनी महसुस गर्छन् । यसरी तिनीहरूले अभक्तिहरूसँग मिलाप गर्छन् र आफैले स्‍वर्गको ढोका बन्द पार्छन् ।MBA 45.1

    परमेश्‍‍वरले उहाँको वचनमा त्यसको दैवीय चरित्रको विषयमा पर्याप्‍त प्रमाण दिनुभएको छ । त्यहाँ हाम्रा मुक्तिको विषयमा महान् सत्यताहरू स्पष्‍ट प्रकट भएका छन् । जसले यसलाई ईमानदारसाथ खोज्छन् तिनीहरू सबैलाई पवित्र आत्माको सहयोग प्रतिज्ञा गरिएको छ ताकि प्रत्येक मानिसले आफ्‍नै निम्ति यी सत्यताहरू बुझ्‍न सकोस् । परमेश्‍‍वरले मानिसहरूलाई एउटा बलियो जग प्रदान गर्नुभएको छ जसमा तिनीहरूका विश्‍‍वास बसालिनुपर्छ ।MBA 45.2

    तापनि मानिसहरूका सीमित दिमागहरूले असीमित जनका योजनाहरू र अभिप्रायहरू पूर्णरूपले बुझ्‍न असमर्थ छ । हामीले परमेश्‍‍वरलाई अनुसन्धान गरेर कहिले पनि पाउन सक्दैनौं । हाम्रो दुःसाहसी हातले त्यो पर्दा उठाउने प्रयास कहिले पनि गर्नु हुँदैन जहाँ उहाँले आफ्‍ना ऐश्‍‍वर्य छोप्‍नुहुन्छ । प्रेरित आश्‍चर्यचकित भई भन्छन्: “उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने !” रोमी ११:३३ । उहाँले अहिलेसम्म हामीप्रति गर्नुभएका व्यवहारहरू र लक्ष्यहरू हामी बुझ्‍न सक्छौं जसद्वारा उहाँ परिचालित हुनुहुन्छ, ताकि हामीले अनन्त शक्तिसँग सम्बन्धित असीमित प्रेम र कृपा थाहा पाउन सकोस् । हाम्रा स्‍वर्गका पिताले सबै थोक बुद्धि र धार्मिकतामा आज्ञा गर्नुहुन्छ, र हामी असन्तुष्‍टि र अविश्‍‍वासी बन्नु हुँदैन, तर उहाँलाई श्रद्धापूर्वक समर्पित भई दण्डवत गर्नुपर्छ । हामीले जति जान्न आवश्‍‍यक छ उहाँका ती सबै अभिप्रायहरू उहाँले हामीलाई प्रकट गर्नुहुनेछ, र त्यसबाहेक, हामीले सर्वशक्तिमान् हातलाई भरोसा गर्नैपर्छ जसको हृदय मायाले भरिपूर्ण छ ।MBA 46.1

    परमेश्‍‍वरले विश्‍‍वासका निम्ति प्रचुर प्रमाण दिनुभएतापनि उहाँले अविश्‍‍वासका सबै बहानाचाहिँ कहिले पनि हटाउनुहुनेछैन । जसले तिनीहरूका शंका झुण्ड्‌याउनका लागि अङ्कुशेहरू खोज्छन् तिनीहरूले पाउनेछन् । अनि जसले प्रत्येक बाधाहरू नहटेसम्म र शंकाको कुनै मौका नभएसम्म परमेश्‍‍वरको वचन स्‍वीकार गर्न र पालन गर्न इन्कार गर्छन्, तिनीहरू कहिले पनि ज्योतिमा आउने छैनन् ।MBA 46.2

    परमेश्‍‍वरप्रति शंकाचाहिँ अपरिवर्तित हृदयको स्‍वभाविक विकास हो, जुनचाहिँ उहाँप्रति दुश्‍‍मनी हो । तर विश्‍‍वास त पवित्र आत्माबाट प्रेरित हुन्छ, र जब यसलाई माया गरेर अपनाएको हुन्छ तब यसको विकास हुन्छ । एक निर्णायक प्रयासविना कोही पनि विश्‍‍वासमा बलियो हुन सक्दैन । जसरी अविश्‍‍वासलाई प्रेरित पारेको हुन्छ त्यसरी सो बलियो हुन्छ; र यदि मानिसहरू तिनीहरूका विश्‍‍वास कायम राख्‍न परमेश्‍‍वरले दिनुभएका प्रमाणहरूमाथि विचार गर्नुको सट्टामा आफैले प्रश्‍न र झूटो खण्डनलाई अनुमति दिन्छन् भने तिनीहरूका शंकाहरू निरन्तरसाथ अझै निश्‍चित भइरहेका तिनीहरूले थाहा पाउनेछन् ।MBA 46.3

    तर जसले परमेश्‍‍वरका प्रतिज्ञाहरूमा शंका गर्छन् र उहाँको अनुग्रहको भरोसालाई अविश्‍‍वास गर्छन्, तिनीहरूले उहाँलाई अनादर गरिरहेका हुन्छन्; र तिनीहरूको प्रभावले अरूलाई ख्रीष्‍टतर्फ डोऱ्याउनुपर्ने थियो, तर तिनीहरूलाई उहाँदेखि टाढ़ा धपाउँछ । तिनीहरू फल नफल्‍ने बोटहरू हुन्, जसले तिनीहरूका बेकम्मा हाँगाहरू ठूला र लामा पार्छन्, र अरू बिरूवाहरूमा आउने घामको ज्योति छेक्छन्, र तिनीहरूलाई ओइलाइदिन्छन् र छायाँको चिसोमा मार्छन् । यी मानिसहरूका जीवनकार्य नै तिनीहरूको विरूद्धमा सदाका निम्ति गवाही हुनेछ । तिनीहरूले शंका र संदेहका बिउहरू रोपिरहेछन् जसले निश्‍चय नै एक कटनी उत्पादन गर्नेछ ।MBA 46.4

    जो ईमानदारसाथ शंकाहरूबाट स्‍वतन्‍‍त्र हुन चाहन्छन्, तिनीहरूले अपनाउने त्यहाँ एउटा मात्र उपाय छ । जुन कुराहरू तिनीहरूले बुझ्‍न सक्दैनन्, ती कुराहरूको विषयमा शंका गर्नु र झूटो दोष लगाउनुभन्दा बरु तिनीहरूमाथि पहिलेदेखि नै चम्केको ज्योतिमा नै ध्यान दिओस्, तब तिनीहरूले अझै ठूलो ज्योति प्राप्‍त गर्नेछन् । तिनीहरूको समझमा स्पष्‍ट बनाइएको कुराको प्रत्येक कर्तव्य तिनीहरूले पूरा गरून्, त्यसपछि जुन कुरा अहिले शंकाजनक छ, सो तिनीहरू बुझ्‍न र समाधान गर्न सक्षम हुनेछन् ।MBA 47.1

    शैतानले सत्यताको उस्तै नकल प्रकट गर्न सक्छ, जो भ्रममा पर्न तयारी छन्, साथै जसले सत्यताबाट माग राखेको बलिदान र आत्म-इन्कार गर्न अस्‍वीकार गर्दछन् त्यसले तिनीहरूलाई बहकाउँछ; तर जसले ईमान्दारसाथ जस्तोसुकै अवस्थामा पनि सत्यता जान्ने इच्छा गर्दछ, त्यस्तो मानिसलाई उसले आफ्‍नो शक्तिको अधीनमा राख्‍न असम्भव हुन्छ । ख्रीष्‍ट नै सत्यता र “ज्योति” हुनुहुन्छ, “जसले यस संसारमा आउने हरेक मानिसलाई उज्यालो पार्नुहुन्छ ।” यूहन्ना १:९ (KJV) । मानिसहरूलाई सबै सत्यतामा डोऱ्याउन सत्यताको आत्मा पठाइएको छ । अनि परमेश्‍‍वरका पुत्रको अधिकारमा यसरी घोषणा गरिएको छ: “खोज त तिमीहरूले भेट्टाउनेछौ ।” “यदि कुनै मानिसले परमेश्‍‍वरको इच्छा पालन गर्न चाहन्छ भने, मेरो शिक्षा परमेश्‍‍वरतर्फबाट हो, कि मेरो आफ्‍नै तर्फबाट हो सो उसले जान्नेछ ।” मत्ती ७:७; यूहन्ना ७:१७ ।MBA 47.2

    ख्रीष्‍टका अनुयायीहरूले षड्‌यन्‍‍त्रहरूको विषयमा थोरै मात्र जान्दछन् जुन शैतान र उसका दलहरूले तिनीहरूको विरूद्धमा बनाइरहेछन् । तर जो स्‍वर्गमा बस्‍नुहुन्छ, उहाँले आफ्‍नो गहिरा योजनाहरू पूरा गर्न यी सबै युक्तिहरूमाथि शासन गर्नुहुनेछ । परमप्रभुले उहाँका मानिसहरूलाई परीक्षाको अग्‍निमय कष्‍टमा पर्ने अनुमति दिनुहुन्छ, उहाँले तिनीहरूको निराश र कष्‍टमा मनोरञ्‍जन लिनुहुन्न, तर यो प्रक्रिया तिनीहरूका अन्तिम विजयका लागि आवश्‍‍यक छ । उहाँको आफ्‍नै महिमाअनुसार तिनीहरूलाई परीक्षाबाट बचाउन सक्‍नुहुन्न; किनकि कष्‍टको प्रमुख उद्देश्‍‍य नै दुष्‍टका सबै प्रलोभनहरूप्रति प्रतिकारको तयारी गर्नु हो ।MBA 47.3

    यदि तिनीहरूले चुर्ण र पश्‍चात्तापी हृदयसाथ तिनीहरूका पापहरू स्‍वीकार गर्छन् र त्याग्छन्, र तिनीहरूले विश्‍‍वासमा उहाँका प्रतिज्ञाहरू दाबी गर्छन् भने, न दुष्‍ट मानिसहरू, नता दुष्‍ट आत्माहरूले नै परमेश्‍‍वरको काममा बाधा गर्न, वा उहाँका मानिसहरूबाट उहाँको उपस्थितिको रोक लगाउन सक्छ । प्रत्येक परीक्षा, प्रत्येक विपरीत प्रभाव, चाहे प्रत्यक्ष वा गुप्‍त होस्, सबैलाई सफलतापूर्वक प्रतिकार गर्न सकिन्छ, “‘नता बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।” जकरिया ४:६ ।MBA 47.4

    “परमेश्‍‍वरको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका प्रार्थनातिर खुला हुन्छन्, ... यदि तिमीहरू भलाइको निम्ति उत्साहित छौ भने, तिमीहरूको हानि गर्ने को हुन्छ र ?” १ पत्रूस ३:१२-१३ । जब बालम, प्रशस्त इनामहरूको प्रतिज्ञाद्वारा लोभियो र उसले इस्राएलको विरूद्धमा जादू गऱ्यो, र परमप्रभुलाई बलिदान चढाएर उहाँका मानिसहरूमाथि सरापको विन्ती गऱ्यो, तब जुन तिनले घोषणा गर्न चाहेको थियो, परमेरश्‍‍वरको आत्माले त्यो दुष्‍टता निषेध गर्नुभयो, र बालम आश्‍चर्यचकित भई यसो भन्न बाध्य भयो: “परमेश्‍‍वरले नै नसराप्‍नुभएकालाई मैले कसरी सराप्‍नु ? परमप्रभुले नै धम्की नदिनुभएकालाई मैले कसरी धम्की दिनु ?” “मेरो मृत्यु धर्मात्माको जस्तो होस्, र मेरो अन्त तिनैको जस्तो होस् ।” जब फेरि बलिदान चढाइयो, तब भक्तिहीन अगमवक्ताले घोषणा गऱ्यो: “हेर्नुहोस्, आशिष् दिनलाई मैले आज्ञा पाएको छु; अँ, उहाँले आशिष् दिनुभएको छ; र म त्यसलाई उल्टाउन सक्दिनँ । उहाँले याकूबमा कुनै अधर्म देख्‍नुभएको छैन, न ता उहाँले इस्राएलमा कुनै टेढ़ापना नै देख्‍नुभएको छ; परमप्रभु उसका परमेश्‍‍वर उसको साथमा हुनुहुन्छ, र राजाको ललकार उनीहरूको बीचमा छ ।” “निश्‍चय नै याकूबलाई लाग्‍ने कुनै टुनामुना छँदैछैन, इस्राएलको विरूद्धमा कुनै जोखना छैन । ‘परमेश्‍‍वरले कस्तो विचित्रको कार्य गर्नुभएको छ’ भनी याकूब र इस्राएलको विषयमा अब भनिनेछ ।” अझै तेस्रो पल्ट वेदीहरू खड़ा गरियो र फेरि पनि बालमले सराप्‍ने प्रयास गऱ्यो । तर अगमवक्ताका अनिच्छुक ओठहरूबाट परमेश्‍‍वरको आत्माले उहाँका चुनिएकाहरूको उन्नति घोषणा गर्नुभयो, र तिनीहरूका शत्रुहरूको मूर्खता र निन्दालाई हप्काउनुभयो: “तिमीहरूलाई आशिष् दिने हरेक आशिषित होस् । तिमीहरूलाई सराप दिने हरेक श्रापित होस् ।” गन्ती २३:८, १०, (२०, २१ KJV), २३; २४:९ ।MBA 48.1

    यो समयमा इस्राएलका मानिसहरू परमेश्‍‍वरप्रति बफादारी थिए; जबसम्म तिनीहरू उहाँको व्यवस्थामा आज्ञाकारी रहे, तबसम्म तिनीहरूको विरूद्धमा पृथ्वी वा नरकको कुनै शक्तिले जित्‍न सकेन । तर जुन सराप बालमले परमेश्‍‍वरका मानिसहरूमाथि दिने अनुमति पाएको थिएन, अन्तमा उसले तिनीहरूलाई पापमा फसाएर सराप्‍न सफल भयो । जब तिनीहरूले परमेश्‍‍वरका आज्ञाहरू भङ्ग गरे, तब तिनीहरू उहाँबाट विच्छेद भए, र तिनीहरू विनाशकारीको शक्ति महसुस गर्न छोड़िए ।MBA 48.2

    जो ख्रीष्‍टमा रहन्छ त्यो सबभन्दा कमजोरी भएपनि अन्धकारका दलहरू त्यससँग प्रतिष्पर्धा गर्न असक्षम हुन्छन्, र उसले आफैलाई खुल्‍लमखुल्‍ला प्रकट गरेको थियो भने उसलाई पत्ता लगाउने थिए र प्रतिकार गर्ने थिए भन्ने कुरा शैतानलाई राम्ररी जानकारी छ । त्यसकारण उसले क्रूसका सिपाहीहरूलाई तिनीहरूको बलियो किल्‍लाबाट खिँच्‍ने प्रयास गर्दछ, जबकि ऊ आफ्‍ना शक्तिहरूसँग लुकेर बस्छ, यदि कोही उसको भूमिमा आउने आँट गर्छन् भने तिनीहरूलाई विनाश गर्न तयारी भइबस्छ । त्यसैले परमेश्‍‍वरमाथि नम्र भरोसा राखेर अर्थात् उहाँका सबै आज्ञाहरूप्रति आज्ञाकारी रहेर मात्र हामी सुरक्षित हुन सक्छौं ।MBA 49.1

    प्रार्थनाविना कोही व्यक्ति एक दिन अथवा एक घण्टा पनि सुरक्षित छैन । विशेष गरी हामीले परमप्रभुलाई उहाँको वचन बुझ्‍ने बुद्धिका निम्ति विन्ती गर्नुपर्छ । यहीँ नै परीक्षाकर्ताका चतुरताहरू प्रकट भएका छन् जुन माध्यमहरूद्वारा उसलाई सफलतापूर्वक प्रतिकार गर्न सकिन्छ । पदहरूमा आफ्‍नै व्याख्याहरू प्रस्तुत गरेर धर्मशास्‍‍त्र उद्धरण गर्न शैतान शिपालु छ, जसलाई हाम्रो ठक्‍कर खाने ढुङ्गा बनाउने आशा गर्छ । हामीले हृदयको नम्रतासाथ बाइबल अध्ययन गर्नुपर्छ, परमेश्‍‍वरमाथि भएको भरोसा कहिले पनि गुमाउनु हुँदैन । हामीले शैतानका युक्तिहरूको विरूद्धमा निरन्तर रक्षा गर्दै विश्‍‍वासमा निरन्तर यो प्रार्थना गर्नुपर्छ: “हामीलाई परीक्षामा नपार्नुहोस् ।”MBA 49.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents