Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ११. सङ्‌कष्‍टको घड़ी

    (अंग्रेजी पुस्तक अध्याय ३९ पृष्‍ठ ६१३)

    “अनि त्यस समयमा तिम्रो जातिका सन्तानहरूको पक्षमा खड़ा हुने ती महान् प्रधान माइकल खड़ा हुनेछन्; अनि यस्तो सङ्‌कष्‍टको समय हुनेछ, जो कुनै जातिको उत्पत्ति भएको समयदेखि त्यस बेलासम्म कहिल्यै भएको हुँदैन; अनि त्यस समयमा तिम्रो जाति—हरेक जन, जसको नाम पुस्तकमा लेखिएको पाइनेछ, छुटाइनेछ ।” दानिएल १२:१ (KJV) ।MBA 137.1

    तेस्रो स्‍वर्गदूतको सन्देशको अन्त भएपछि दोषी पृथ्वीका बासिन्दाहरूका खातिर कृपाले विन्ती गर्दैन । परमेश्‍‍वरका मानिसहरूले तिनीहरूका काम गरिसकेका छन् । तिनीहरूले “पछिल्‍लो वर्षा,” “परमप्रभुको उपस्थितिबाट शीतलता” प्राप्‍त गरेका छन्, र तिनीहरू अगामी सङ्‌कष्‍टको घड़ीका लागि तयारी छन् । स्‍वर्गदूतहरू स्‍वर्गमा यता र उता दौड्‍दैछन् । एउटा स्‍वर्गदूत पृथ्वीबाट फर्कन्छन् र तिनको काम पूरा भएको घोषणा गर्छन्; संसारमाथि अन्तिम जाँच आउनै लागेको छ, र ज-जसले आफैलाई दैवीय विधानहरूमा बफादारी प्रमाणित गरेका छन् तिनीहरू सबैले “जीवित परमेश्‍‍वरको मोहोर” प्राप्‍त गरेका छन् । त्यसपछि येशूले माथिको पवित्रवासस्थानको मध्यस्थ-कार्य समाप्‍त गर्नुहुन्छ । उहाँले आफ्‍ना हातहरू उठाएर चर्को सोरले भन्नुहुन्छ, “अब सिद्धियो;” जब उहाँले सो गम्भीरतासाथ घोषणा गर्नुहुन्छ तब समस्त स्‍वर्गीय दूतहरूले आ-आफ्‍ना मुकुट निकालेर राख्‍छन्: “जो अधर्मी छ, त्यो अझै अधर्मी होओस्; अनि जो अशुद्ध छ, त्यो अझै अशुद्ध होओस्; अनि जो धर्मी छ, ऊ अझै धर्मी होओस्; अनि जो पवित्र छ, ऊ अझै पवित्र होओस् ।” प्रकाश २२:११ (KJV) । जीवन वा मृत्युको प्रत्येक मुद्दाको निर्णय भइसकेको छ । ख्रीष्‍टले उहाँका मानिसहरूको प्रायश्‍चित गर्नुभएको छ र तिनीहरूका पापहरू मेटाउनु भएको छ । उहाँका जनताहरूको सङ्ख्या पुगिसकेको छ; “राज्य, प्रभुत्‍व र सम्पूर्ण आकाशमनिका राज्यहरूको महानता” मुक्तिको उत्तराधिकारीहरूलाई प्रदान गर्ने समय आउनै लागेको छ, र राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा येशूले नै शासन गर्नुपर्नेछ ।MBA 137.2

    जब उहाँ पवित्रवासस्थानबाट निस्केर जानुहुन्छ, तब पृथ्वीका बासिन्दाहरूमाथि अन्धकारले ढाक्दछ । त्यो डरलाग्दो समयमा धर्मीहरू एक पवित्र परमेश्‍‍वरको अघि कुनै मध्यस्थताविना नै जिउनुपर्नेछ । दुष्‍टमाथि भएको नियन्‍‍त्रण हटिगएको हुन्छ, र अन्तिमसम्म पश्‍चात्ताप नगर्ने मानिसहरूलाई शैतानले पूर्ण नियन्‍‍त्रणमा लिएको हुन्छ । परमेश्‍‍वरको धैर्य समाप्‍त भएको हुन्छ । संसारले उहाँको कृपालाई अस्‍वीकार गरेको हुन्छ, उहाँको प्रेमलाई घृणा गरेको हुन्छ, र उहाँको व्यवस्थामाथि कुल्‍चीमिल्‍ची गरेको हुन्छ । दुष्‍टहरूले तिनीहरूका पश्‍चात्ताप गर्ने अवसर गुमाएका हुन्छन्; परमेश्‍‍वरको आत्मालाई नियमितरूपमा प्रतिकार गरेको कारण अन्तिममा उहाँ हटेर जानुभएको हुन्छ । दैवीय अनुग्रहको रक्षाविना दुष्‍ट जनबाट सुरक्षित हुन सकिँदैन । त्यसपछि शैतानले पृथ्वीका बासिन्दाहरूलाई एक अन्तिम ठूलो सङ्‌कष्‍टमा डुबाउनेछ । जब परमेश्‍‍वरका दूतहरूले मानविक रिसको प्रचण्ड हुरी छोड़िदिन्छन्, तब सबै लड़ाइँका साधनहरू सर्वत्र विस्फोटन हुनेछन् । त्यसपछि समस्त संसार प्राचीन यरूशलेमको विनाशभन्दा पनि डरलाग्दो विनाशमा पर्नेछ ।MBA 138.1

    मिश्रीहरूका सबै जेठा छोराहरू एउटै स्‍वर्गदूतद्वारा नष्‍ट भए र देशभरि विलाप फैलियो । जब दाऊदले जनगणना गरेर परमेश्‍‍वरको विरूद्ध काम गरे तब एउटा स्‍वर्गदूतले डरलाग्दो विनाश ल्याए, र त्योचाहिँ तिनको पापको सजाय थियो । जब परमेश्‍‍वरले आज्ञा गर्नुहुन्छ तब पवित्र स्‍वर्गदूतहरूले जुन विनाशकारी शक्ति प्रयोग गर्दथे, दुष्‍ट दूतहरूले पनि अनुमति पाएको खण्डमा त्यही शक्ति प्रयोग गर्नेछन् । त्यहाँ शक्तिहरू तयारी छन्, र सर्वत्र सर्वनाशका लागि दैवीय अनुमति मात्र प्रतीक्षा गरिरहेका छन् ।MBA 138.2

    ज-जसले परमेश्‍‍वरको व्यवस्थालाई आदर गर्दछन् तिनीहरूलाई नै संसारमाथि आउने इन्साफहरूको कारक स्‍वरूप दोष लगाउँछ, जस्तै: डरलाग्दा प्रकृतिका हलचलहरू, लड़ाइँ र मानिसहरूको बीचमा रक्तपात जसले पृथ्वीलाई वेदनाले भरेको हुन्छ । दुष्‍टहरूलाई अन्तिम चेतावनीको शक्तिले क्रोधित पारेको छ; ज-जसले यो सन्देश प्राप्‍त गरेका छन् तिनीहरू सबै जनाको विरूद्धमा तिनीहरू क्रोधित भएका छन्, त्यति मात्र नभई शैतानले अझै ठूलो प्रचण्डतासाथ घृणा र सतावटको आत्मा उत्तेजित पार्नेछ ।MBA 138.3

    जब अन्तमा परमेश्‍‍वरको उपस्थिति यहूदी जातिहरूबाट हटेर गयो तब पूजाहारीहरू र मानिसहरूले सो थाहै पाएनन् । शैतानको नियन्‍‍त्रणमा सबभन्दा डरलाग्दा र घिनलाग्दा रिसहरूद्वारा तिनीहरू चलेका थिए, तापनि तिनीहरू आफैलाई परमेश्‍‍वरका चुनिएका जनहरू नै भनी ठाने । त्यो मन्दिरमा सेवाहरू निरन्तर भइरहे; त्यसका दूषित वेदीहरूमा बलिदानहरू अझै पनि चढाउँदथे, र परमेश्‍‍वरका प्रिय पुत्रको रगतका दोषीहरू र उहाँका सेवकहरू र प्रेरितहरूलाई हत्या गर्न चाहने मानिसहरूमाथि दैनिक रूपमा दैवीय आशिष् विन्ती गरिन्थ्यो । त्यसरी नै जब पवित्रवासस्थानको अपरिवर्तनीय निर्णय घोषणा गरिसकेको हुन्छ र संसारको गन्तव्य सदासर्वदाका निम्ति निर्धारित भइसकेको हुन्छ, तब पृथ्वीका बासिन्दाहरूलाई सो थाहा हुनेछैन । मानिसहरूले कृतिम धर्महरूलाई निरन्तरता दिनेछन्, अन्तमा तिनीहरूबाट परमेश्‍‍वरको आत्मा हटिसकेको हुन्छ; दुष्‍टको राजकुमारले उसका घातक योजनाहरू पूरा गर्न जुन शैतानिक जोश तिनीहरूभित्र उत्साहित पार्नेछ सो परमेश्‍‍वरको जोश अनुरूप देखिनेछ ।MBA 138.4

    जब इसाईजगतभरि शबाथको विषयचाहिँ विशेष विवादको केन्द्रविन्दु हुन्छ, तब धार्मिक र सरकारी अधिकारीहरू एकमत हुन्छन् र तिनीहरूले आइतबारको नियम लागू गर्छन्, र अल्प संख्याले मात्र प्रचलित मागलाई अटलतासाथ इन्कार गर्छन् र तिनीहरूलाई नै विश्‍‍वव्यापी अभिशापको केन्दीकरण बनाउनेछ । यस्तो दबाब आउनेछ कि जोजो चर्चको विधि र राज्यको व्यवस्थाको विरोध उभिन्छन् ती अल्प संख्यालाई बाँकी राख्‍नु हुँदैन; किनकि सम्पूर्ण राज्यहरू गोलमोल र व्यवस्थाबिहीन हुनुभन्दा त बरु तिनीहरूले कष्‍ट भोग्‍नु नै असल हुन्छ । अठार सय वर्षअघि “मानिसहरूका शासकहरूले” ख्रीष्‍टको विरूद्ध एउटै विवाद प्रस्तुत गरेका थिए । कपटी कैयाफाले भन्यो, “सारा जाति नष्‍ट नहोस् भनेर यस जनताका निम्ति एकजना मानिस मर्नु नै हाम्रा लागि फाइदा छ ।” यूहन्ना ११:५० (KJV) । यो विवाद फेरि पनि निर्णायक जस्तै देखा पर्नेछ; र जसले चौथो आज्ञाको शबाथलाई पवित्र राख्दछ, अन्तमा, तिनीहरूको विरूद्ध एउटा आदेश घोषणा हुनेछ, र तिनीहरू कड़ा सजायको योग्य भएझैँ तिनीहरूलाई निन्दा गर्नेछ र निर्धारित समयपछि मानिसहरूलाई तिनीहरूको हत्या गर्न स्‍वतन्‍‍त्रता प्रदान गर्नेछ । जसले सम्पूर्ण दैवीय विधानहरूको आदर गर्दछन्, प्राचीन संसारमा [युरोप] रोमी धर्मले अनि वर्तमान् संसारमा [अमेरिका] पतित प्रोटेस्टेन्ट धर्मले तिनीहरूको विरूद्धमा एउटै गोहो पैल्याउनेछ ।MBA 139.1

    त्यसपछि परमेश्‍‍वरका मानिसहरू यस्तो कष्‍ट र नैराश्‍‍यको दृश्‍‍यमा डुब्‍नेछन् कि जसलाई अगमवक्ताले याकूबको सङ्‌कष्‍टको समयद्वारा वर्णन गरेका थिए । “परमप्रभु यसो भन्नुहुन्छ: ‘हामीले थरथराहटको आवाज सुन्यौं—एउटा डरको आवाज, शान्तिको आवाज होइन । ... सबै अनुहारहरूको रङ उडे़को छ । हाय ! त्यो दिन कति डरलाग्दो छ ! यसैले त्योजस्तो अरू कुनै दिन छैन; त्यो ता याकूबको सङ्‌कष्‍टको समय हो; तर त्यसबाट ऊ बचाइनेछ ।”” यर्मिया ३०:५-७ (KJV) ।MBA 139.2

    जुन रात याकूबले एसावको हातबाट बाँच्‍नका लागि प्रार्थनामा लडन्त गरे, त्यो तिनको घोर संतापको रात थियो जसले सङ्‌कष्‍टको समयमा परमेश्‍‍वरका मानिसहरूले पाउने अनुभवलाई प्रतिनिधित्‍व गर्दछ । (उत्पत्ति ३२:२४-३०) । जुन आशिष् बुवाले एसावका निम्ति निर्दिष्‍ट गरेका थिए सो प्राप्‍त गर्नका लागि तिनले छल गरे, त्यसकारण तिनी आफ्‍नो दाजुको घातक धम्कीबाट आफ्‍नो ज्यान बचाउन तर्सेर भागे । तिनी धेरै वर्षसम्म घरबाट बहिष्कृत अवस्थामा रहेपछि परमेश्‍‍वरको आज्ञानुसार तिनका पत्‍नीहरू र छोराछोरीहरू, बगालहरू र बथानहरू लिएर आफ्‍नो मातृ भूमितर्फ यात्रा सुरु गरे । तिनी देशको सीमानासम्म मात्र के आइपुगेका थिए, एसाव लड़ाकूँहरूको एक समूह लिएर आफूतिर आइरहेको खबरले तिनलाई अति नै आतङ्‌कित तुल्यायो, र निश्‍चय नै तिनले बदला लिने निर्णय गरेका थिए । याकूबको समूहचाहिँ हतियारहीन र सुरक्षाहीन थियो, र हिंसा र संहारमा असाह्‌य शिकार भई ढल्‍नै लागेको जस्तो देखिन्थ्यो । अनि चिन्ता र डरको बोझमाथि थप चकनाचूर पार्ने आत्म-घृणाको भारी पनि थपिएको थियो, किनकि तिनको आफ्‍नै पापले गर्दा यो खतरा आएको थियो । तिनको आशा परमेश्‍‍वरको कृपामा बाहेक अरू कसैमा पनि थिएन, तिनको सुरक्षा भन्नु नै प्रार्थना मात्र हुन सक्थ्यो । यद्यपि तिनले दाजुप्रति गरेको गलतको प्रायश्‍चित गर्न र आउनै लागेको खतरालाई फर्काउन आफ्‍नो पक्षबाट यथाशक्‍य केही पनि बाँकी राखेनन् । त्यसरी नै ख्रीष्‍टका चेलाहरू, जब तिनीहरू सङ्‌कष्‍टको समयको नजिक आइपुग्छन्, तिनीहरू आफैले मानिसहरूको सामु उचित ज्योति राख्‍ने, मतभेद् शान्त पार्ने, र विवेकको स्‍वाधीनतामाथि आउनै लागेको खतरादेखि बचाउने प्रत्येक प्रयास गर्नुपर्छ ।MBA 140.1

    तिनका चिन्ताहरू परिवारबाट लुकाउनका निम्ति तिनले तिनीहरूलाई अगाड़ि नै पठाउँछन्, र याकूबचाहिँ एकलै परमेश्‍‍वरसँग मध्यस्थता गर्न पछाड़ि बस्छन् । त्यहाँ तिनले आफ्‍नो पाप स्‍वीकार गर्छन् र तिनका खातिर परमेश्‍‍वरले गर्नुभएका कृपाप्रति आभारी भई मानिलिन्छन्, जबकि तिनका पिताहरूसँग बाँधेको करार तथा बेथेलको रात्रि दर्शनमा अर्थात् तिनको निर्वासित देशमा तिनीसँग गरिएका प्रतिज्ञाहरूका निम्ति तिनले गहिरो नम्रतासाथ विन्ती गर्छन् । तिनको जीवनको सङ्कटको घड़ी छ; अब सम्पूर्ण कुरा जोखिममा छ । अन्धकार र एकान्त ठाउँमा तिनले परमेश्‍‍वरको सामु आफैलाई नम्र पारेर प्रार्थना गरिरहेछन् । अचानक एउटा हातले तिनको कुममा च्याप्पै पक्रन्छ । कोही शत्रुले तिनको प्राण खोजिरहेको होला भनी तिनी विचार गर्छन्, र तिनको आक्रमणधारीसँग तिनले सम्पूर्ण निराशाको बलसाथ लड़न्त गर्छन् । उज्याला हुनै लाग्दा त्यो बिरानो व्यक्तिले आफ्‍नो अमानविक शक्ति प्रयोग गर्छन्; तिनको छुवाइले गर्दा त्यो बलियो मान्छे पनि पक्षघात् भए जस्तो देखिन्छ, र तिनी असाह्‌य भई रुँदै र विन्ती गर्दै तिनको रहस्यमय विरोधीको घाँटीमा लड्‍छन् । अब याकूबलाई थाहा हुन्छ कि जससँग तिनले लड़ाइँ गरे तिनी ता करारको दूत पो रहेछ । तिनी अपाङ्ग भएर सबभन्दा तीखो दुखाइको कष्‍ट सहेतापनि तिनले आफ्‍नो उद्देश्‍‍य भने छोड्‍दैनन् । तिनले आफ्‍नो पापको चिन्ता, पछुतो र कष्‍ट लामो समयसम्म भोगिरहेछन्; अब तिनले क्षमाको भरोसा पाउनुपर्नेछ । त्यो दैवीय पाहुना जानै लागेको जस्तो देखिन्छ; तर याकूबले आशिष् माग्दै तिनलाई पक्रिरहन्छन् । स्‍वर्गदूतले अनुरोध गर्दछन्, “मलाई जान देओ; किनकि उज्यालो हुँदैछ;” तर अग्रगामी यसो भन्दै चिच्याउँछन्, “जबसम्म तपाईंले मलाई आशिष् दिनुहुन्न, तबसम्म म तपाईंलाई जान दिनेछैनँ ।” कस्तो विश्‍‍वास, कस्तो दृढता, र लगनशीलता यहाँ प्रदर्शन भएको छ ! यदि त्यो अभिमानी, दुःसाहसी दाबी भएको भए याकूब तुरून्तै नष्‍ट हुने थियो; तर जसले आफ्‍नो कमजोरीपन र अयोग्यता स्‍वीकार गर्छन् त्यो आश्‍‍वासन तिनकै लागि थियो, तापनि एक करार स्थिर राख्‍ने परमेश्‍‍वरको कृपामाथि भरोसा गर्नुपर्दछ ।MBA 140.2

    “स्‍वर्गदूतसँग उसले कुश्‍‍ती लड्‌यो र प्रबल भयो ।” होशे १२:४ । यो पापपूर्ण तथा गलतपूर्ण मरणशीलले स्‍वर्गका ऐश्‍‍वर्यलाई नम्रता, पश्‍चात्ताप र आत्म-समर्पणद्वारा पराजित गरे । तिनले परमेश्‍‍वरका प्रतिज्ञाहरू कम्पसाथ समातिरहेका थिए, र असीम प्रेमको हृदयले पापीको विन्तीलाई इन्कार गर्न सक्दैनथ्यो । तिनको विजयको प्रमाण देखाउन तथा अरूलाई तिनको उदाहरण अनुसरण गर्नतर्फ उत्प्रेरित गर्न तिनको नाम परिवर्तन भयो जसले तिनको पापको सम्झना दिलाउँदथ्यो, अब तिनको विजयको स्मरणमा परिणत भयो । याकूब परमेश्‍‍वरसँग विजय भयो भन्ने वास्तविकताचाहिँ एक यस्तो भरोसा थियो कि अब तिनी मानिससँग पनि विजय हुने थियो । त्यसपछि तिनी आफ्‍नो दाजुको रिस सामना गर्न डराएनन्, किनकि तिनको सुरक्षा परमप्रभु नै हुनुहुन्थ्यो ।MBA 141.1

    शैतानले याकूबलाई तिनको पापको कारण तिनको विनाशको अधिकार दाबी गर्दै परमेश्‍‍वरका दूतहरूको सामु दोष दिएको थियो; त्यसले एसावलाई तिनको विरूद्धमा युद्धयात्रा गर्न प्रयोग गरेको थियो; शैतानले अग्रगामीको लामो रातको लड़न्तभरि तिनलाई निराश पार्ने र परमेश्‍‍वरप्रति भएको भरोसा तोड्‍नका लागि तिनको दोषप्रति सचेत गराउने भरमग्दुर प्रयास गऱ्यो । याकूबलाई झण्डै हताशमा डुबायो; तर तिनलाई थाहा थियो कि स्‍वर्गको सहायताविना तिनी अवश्‍‍य नै मर्नै पर्ने थिए । तिनले सदाचारितासाथ तिनको महान् पाप पश्‍चात्ताप गरेका थिए, र तिनले परमेश्‍‍वरको कृपाका लागि विन्ती गरे । तिनी आफ्‍नो लक्ष्यबाट फर्कने थिएनन्, तर तिनले त्यो दूतलाई बलियोसाथ समाते र तिनले विजय नपाएसम्म गहिरो, कष्‍टदायी सोरले विन्ती गरे ।MBA 141.2

    जसरी शैतानले एसावलाई याकूबको विरूद्धमा युद्धयात्रा गर्न प्रभावित पाऱ्यो, त्यसरी नै सङ्‌कष्‍टको समयमा परमेश्‍‍वरको मानिसलाई नष्‍ट गर्न उसले दुष्‍टलाई पनि मच्‍चाउनेछ । जसरी त्यसले याकूबलाई दोष दियो त्यसरी नै उसले परमेश्‍‍वरका मानिसहरूको विरूद्धमा दोषहरू थुपार्नेछ । उसले संसारलाई आफ्‍ना जनता सरह ठान्दछ; तर परमेश्‍‍वरको आज्ञा पालन गर्ने अल्प समूहले उसको सर्वोच्‍चतालाई प्रतिकार गरिरहेको हुन्छ । यदि उसले तिनीहरूलाई पृथ्वीबाट नामेट पार्न सक्थ्यो भने ता उसको विजय पूर्ण हुन्थ्यो । उसले देख्‍छ कि तिनीहरूलाई पवित्र स्‍वर्गदूतहरूले सुरक्षा दिइरहेछन्, र तिनीहरूको पाप क्षमा भएको त्यसले अनुमान गर्छ; तर माथि भएको पवित्रवासस्थानमा तिनीहरूका मुद्दाहरू निर्धारित भएको कुरा उसलाई थाहै छैन । त्यसले पापहरूको ठीक जानकारी प्राप्‍त गरेको छ, तिनीहरूलाई त्यसैमा फसाएको छ, र त्यसले ती कुराहरू परमेश्‍‍वरको सामु जतिसक्दो बढाइचढाइ ज्योतिमा प्रकट गर्दछ, यी मानिसहरू पनि आफैझैँ परमेश्‍‍वरको अनुग्रहबाट बञ्‍चित हुने लायकका छन् भनी वर्णन गर्दछ । उसले घोषणा गर्दछ कि परमप्रभुले न्यायसाथ तिनीहरूका पापहरू क्षमा दिएर ऊ र उसका दूतहरूलाई चाहिँ नष्‍ट गर्न सक्‍नुहुन्न । उसले तिनीहरूलाई उसको शिकारको रूपमा दाबी गर्दछ र तिनीहरू नष्‍ट पारिनलाई उसको हातमा सुम्पिनुपर्ने माग गर्दछ ।MBA 142.1

    जब शैतानले परमेश्‍‍वरका मानिसहरूलाई तिनीहरूका पापहरूको कारणले दोष दिन्छ, तब परमप्रभुले उसलाई तिनीहरूको घोर जाँच गर्ने अनुमति दिनुहुन्छ । तिनीहरूका परमेश्‍‍वरप्रति भएको भरोसा, तिनीहरूका विश्‍‍वास र दृढता कठोरतासाथ जाँचिनेछ । जब तिनीहरूले विगतका कुराहरूमा पुनर्विचार गर्छन्, तब तिनीहरूका आशाहरू हराउँछन्; किनकि तिनीहरूका सम्पूर्ण जीवनहरूमा असल ता थोरै नै देख्‍छन् । तिनीहरू आफ्‍ना कमजोरीपन र अयोग्यतालाई पूर्णरूपले जान्दछन् । शैतानले तिनीहरूका मुद्दाहरू आशाहीन छन् र तिनीहरूको दोषको दाग कहिले पनि धोएर जानेछैन भन्ने विचारद्वारा तर्साउने प्रयास गर्दछ । यसरी उसले तिनीहरूका विश्‍‍वास नष्‍ट पार्ने आशा गर्दछ ताकि तिनीहरू उसका परीक्षाहरूमा परोस् र परमेश्‍‍वरप्रति भएको बफादारिताबाट फर्कोस् ।MBA 142.2

    तिनीहरू परमेश्‍‍वरका मानिसहरूको विनाशमा लागी परेका शत्रुहरूद्वारा घेरिएतापनि तिनीहरूले भोगेको संताप सत्यताका खातिर त्यति भयानक सतावट हुँदैन; तिनीहरूले बरु प्रत्येक पाप पश्‍चात्ताप गरेका छैनन् कि, तथा तिनीहरूमा भएका कुनै दोषले गर्दा मुक्तिदाताको प्रतिज्ञा पूरा गर्न असफल होला कि भनी डर मात्र हुन्छ: “म पनि तिमीलाई परीक्षाको घड़ीबाट जोगाउनेछु, जुनचाहिँ पृथ्वीमा बस्‍नेहरूलाई जाँच्‍नाका निम्ति सारा संसारमाथि आउनेछ ।” प्रकाश ३:१० । यदि तिनीहरूले क्षमाको भरोसा प्राप्‍त गर्न सक्थे भने तिनीहरू यातना वा मृत्युबाट धरि डराउँदैनथे; तर यदि तिनीहरू अयोग्य प्रमाणित भएर तिनीहरूका आफ्‍नै चरित्रको खोटको कारणले जीवन गुमाउछन् भनेता परमेश्‍‍वरको पवित्र नाम निन्दित हुने थियो ।MBA 142.3

    तिनीहरूले चारैतिर राजद्रोहका षड्‌यन्‍‍त्रहरू सुन्छन् र विद्रोहको क्रियाशील कार्य देख्‍छन्; र तिनीहरूभित्र एक गहिरो इच्छा, एक आत्माको तृष्णा जागृत भएको हुन्छ, ताकि यो महान् पतन समाप्‍त भएको होस् र दुष्‍टको दुष्‍टता अन्त्य भएको होस् । तर जब तिनीहरूले परमेश्‍‍वरलाई विद्रोहको काम रोक्‍न विन्ती गर्दछन् तब आत्म-निन्दाको तीक्ष्ण चेतना जागृत हुन्छ किनकि तिनीहरू आफैमा शक्तिशाली दुष्‍टको वेगलाई प्रतिकार गर्ने र हटाउने केही शक्ति हुँदैन । तिनीहरूले महसुस गर्छन् कि यदि सबै क्षमताहरू सदा ख्रीष्‍टको सेवामा प्रयोग गरेको भए, र बलदेखि बलमा अगाड़ि बढ़ेको भए तिनीहरूको विरूद्धमा शैतानका शक्तिहरू कमै मात्र विजय हुने थिए ।MBA 143.1

    तिनीहरूले परमेश्‍‍वरको सामु विगतका धेरै पापहरूको पश्‍चात्तापलाई देखाउँदै र मुक्तिदाताको प्रतिज्ञालाई विन्ती गर्दै आफैलाई इन्कार गर्दछन्: “मसँग मेलमिलाप गर्नलाई त्यसले मेरो बल समातोस् ! अँ, त्यसले मसँग मेलमिलाप गरोस् !” यशैया २७:५ (KJV) । तिनीहरूका प्रार्थनाहरूको उत्तर तुरून्तै आएन भने पनि तिनीहरूको विश्‍‍वासचाहिँ असफल हुँदैन । तिनीहरूले व्यग्र चिन्ता, आतङ्क र हताश सहनु परेतापनि आफ्‍नो मध्यस्थता गर्न छोड्‍दैनन् । जसरी याकूबले स्‍वर्गदूतलाई समातेका थिए त्यसरी नै तिनीहरूले पनि परमेश्‍‍वरको शक्तिलाई समात्छन्; र तिनीहरूका आत्माको भाषाचाहिँ: “जबसम्म तपाईंले मलाई आशिष् दिनुहुन्न, तबसम्म म तपाईंलाई जान दिनेछैनँ ।”MBA 143.2

    यदि याकूबले जेष्‍ठ अधिकार प्राप्‍त गर्ने छलको पाप पहिले नै पश्‍चात्ताप नगरेको भए परमेश्‍‍वरले तिनको प्रार्थना सुन्नुहुने थिएन साथै कृपापूर्णसाथ तिनको जीवन बचाउनुहुने थिएन । त्यसर्थ सङ्‌कष्‍टको समयमा, यदि परमेश्‍‍वरका जनहरूका अपश्‍चात्तापी पापहरू तिनीहरूका सामु देखिन्छन् भने तिनीहरूका डर र संतापको यातना तथा तिनीहरू व्याकुल हुने थिए; तिनीहरूको हताशले विश्‍‍वासलाई कमजोरी पार्ने थियो, र परमेश्‍‍वरसँग छुटकाराका निम्ति विन्ती गर्ने तिनीहरूमा साहस नै हुँदैनथ्यो । तर तिनीहरूमा अयोग्यताको गहिरो चेतना भएतापनि तिनीहरूभित्र प्रस्तुत नभएको कुनै पनि गलत लुकिएको हुँदैन । तिनीहरूका पापहरूको न्याय पहिले नै भइसकेको हुन्छ र ती मेटिसकेका हुन्छन्, र तिनीहरूले फेरि सम्झन सक्दैनन् ।MBA 143.3

    शैतानले धेरै जनालाई यस्तो विश्‍‍वास दिलाउँदछ कि परमेश्‍‍वरले तिनीहरूका जीवनको सानोतिनो अविश्‍‍वासीपनलाई वास्ता गर्नुहुन्न; तर परमप्रभुले याकूबप्रति गर्नुभएको व्यवहारबाट देखाउनुभयो कि उहाँले दुष्‍टतालाई कुनै रीतिले पनि समर्थन गर्नुहुन्न वा सहन गर्नुहुन्न । जसले पापहरू लुकाउने वा बहाना बनाउने प्रयास गर्दछन् र ती पापहरू स्‍वर्गका पुस्तकहरूमा पश्‍चात्तापहीन र क्षमाहीन स्‍वरूप टिप्पणी गरिएका हुन्छन्, र शैतानले तिनीहरू सबैमाथि विजय प्राप्‍त गर्नेछ । तिनीहरूको जति नै उच्‍च धर्म-विश्‍‍वास र आदरर्णीय पद भए पनि परमेश्‍‍वरको दृष्‍टिमा तिनीहरूका काम त्यति नै दुःखमय हुन्छ र तिनीहरूको महान् दुश्‍‍मनको विजय त्यति नै निश्‍चित हुन्छ । जसले परमेश्‍‍वरको दिनका निम्ति तयार गर्न ढिलाइ गर्दछन्, तिनीहरूले सङ्‌कष्‍टको समयमा वा कुनै पनि आगामी दिनहरूमा सो प्राप्‍त गर्न सक्‍नेछैनन् । यस्ताहरू सबैका अवस्था आशाहीन हुन्छ ।MBA 144.1

    ती इसाई नामक मानिसहरू जो अन्तिम डरलाग्दो संघर्षसम्म तयारीविना नै आइपुग्छन्, तिनीहरूले आफ्‍नो नैराश्‍‍यमा जलिरहेका संतापका शब्दहरूले पापहरू स्‍वीकार गर्नेछन्, जबकि दुष्‍टहरू तिनीहरूका निराशमा हर्षित हुनेछन् । यी पाप स्‍वीकारहरूचाहिँ एसाव र यहूदाको जस्तै हुन्छन् । जसले यसरी स्‍वीकार गर्छन् तिनीहरूले अधर्मको परिणामले गर्दा विलाप गर्दछन्, तर त्यसको दोषका निम्ति चाहिँ होइन । तिनीहरूले कुनै सत्य पछुतोको महसुस गर्दैनन्, दुष्‍टतालाई केही घृणा गर्दैनन् । तिनीहरूले आफ्‍नो डर र सजायद्वारा पाप स्‍वीकार गर्छन्; तर प्राचीनको फारोझैँ, यदि इन्साफहरू रोकिएको भए तिनीहरू फेरि स्‍वर्गलाई चुनौती दिन फर्कने थिए ।MBA 144.2

    याकूबको इतिहास पनि एउटा यस्तो भरोसा हो कि परमेश्‍‍वरले पापमा बहकिएका र परिक्षित भएका र धोका पाएकाहरूलाई इन्कार गर्नुहुनेछैन, तर तिनीहरू उहाँकहाँ सत्य पश्‍चात्तापसाथ फर्कनुपर्छ । जब शैतानले यो दर्जालाई नष्‍ट पार्ने प्रयास गर्दछ, तब परमेश्‍‍वरले जोखिमको समयमा तिनीहरूलाई सान्त्‍वना दिन र बचाउन उहाँका स्‍वर्गदूतहरू पठाउनुहुनेछ । शैतानका आक्रमणहरू हिंस्रक र निर्णायक छन्, त्यसका छलहरू भयङ्कर छन्; तर परमप्रभुका आँखा उहाँका जनहरूमाथि छ, र तिनीहरूका पुकारहरू उहाँको कानले सुन्छ । तिनीहरूको कष्‍ट भयङ्कर छ, भट्टीका ज्‍वालाहरूले तिनीहरूलाई भष्म पार्न खोजेको जस्तो देखिन्छ; तर सुनुवारले तिनीहरूलाई आगोमा खारिएको सुन जस्तै निकाल्‍नेछ । तिनीहरूका सबभन्दा कड़ा कष्‍टको समयावधिमा पनि परमेश्‍‍वरको प्रेम उहाँका छोराछोरीहरूका लागि अति नै उज्‍ज्‍वल उन्नतिका दिनहरू जस्तै बलियो र कोमल हुन्छ; तर तिनीहरूलाई आगोको भट्टीमा राख्‍नचाहिँ आवश्‍‍यक नै छ; तिनीहरूको सांसारिक स्‍वभाव भष्म हुनुपर्छ ताकि ख्रीष्‍टको प्रतिरूप पूर्णरूपमा प्रतिबिम्बित हुन सकोस् ।MBA 144.3

    हाम्रो सामु भएको निराश र वेदनाको समयमा विश्‍‍वासको आवश्‍‍यकता पर्नेछ जसले थकितपन, ढिलाइ र भोक सहन सक्छ—जुन विश्‍‍वास कठोर परीक्षामा पनि स्थिर रहन्छ । त्यो समयको तयारीका लागि सबैलाई अनुग्रहको समयावधि प्रदान गरिएको छ । याकूबले विजय प्राप्‍त गरे किनकि तिनले अथक प्रयास गरे र तिनी निर्णायक भए । तिनको विजयचाहिँ अतियाचना प्रार्थनाको शक्तिको प्रमाण हो । जसले परमेश्‍‍वरका प्रतिज्ञाहरूलाई बलियो गरी समात्छन्, जसरी तिनले समातेका थिए, र उत्सुक र अथक प्रयास गर्छन् जसरी तिनले पनि गरेका थिए, तिनीहरू सबैले सफलता हासिल गर्नेछन् जसरी तिनले पनि हासिल गरेका थिए । जोजो आत्म-इन्कार गर्न, परमेश्‍‍वरको अघि वेदना भोग्‍न, उहाँको आशिष्‌का लागि लामो र उत्सुक प्रार्थना गर्न तयारी छैनन्, तिनीहरूले सफलता हासिल गर्नेछैनन् । परमेश्‍‍वरसँग लड़न्त गर्नु—कति थोरैले मात्र यसको अर्थ जान्दछन् ! कति थोरै मानिसहरूले मात्र तिनीहरूका प्रत्येक शक्ति नतन्किएसम्म इच्छाको तीव्रतासाथ त्यसलाई परमेश्‍‍वरको पछि लगाएका छन् । जब कुनै भाषाले व्यक्त गर्न नसकिने निराशका छालहरू ती निवेदकहरूमाथि बजारिन्छन्, तब कति थोरैले मात्र परमेश्‍‍वरका प्रतिज्ञाहरूको विश्‍‍वासलाई नछोड़िकन पक्रन्छन् ।MBA 145.1

    जसले वर्तमानमा थोरै विश्‍‍वास प्रयोग गर्दछन् तिनीहरू शैतानका छलहरूको शक्तिमा पर्ने र विवेकलाई बाध्य पार्ने आदेशको अधीनमा पर्ने भयानक खतरामा छन् । तिनीहरूले जाँच सहन गरेतापनि तिनीहरू सङ्‌कष्‍टको समयमा अझै गहिरो निराश र वेदनामा डुब्‍नेछन्, किनकि तिनीहरूले कहिले पनि परमेश्‍‍वरमाथि भरोसा राख्‍ने आदत् बनाएका छैनन् । जुन विश्‍‍वासका पाठहरू तिनीहरूले सिक्‍ने वास्तै गरेनन्, तिनीहरू डरलाग्दो नैराश्‍‍यको दबाबमा ती सिक्‍न बाध्य हुनेछन् ।MBA 145.2

    अब हामी परमेश्‍‍वरसँग उहाँका प्रतिज्ञाहरूको प्रमाणद्वारा परिचित हुनुपर्दछ । स्‍वर्गदूतहरूले प्रत्येक उत्सुक र सदाचारी प्रार्थनाको दर्ता गर्छन् । हामीले परमेश्‍‍वरसँग वार्तालाप गर्न लत्याउनु हुँदैन, बरु स्‍वार्थी सन्तुष्‍टताहरू त्याग्‍नुपर्छ । उहाँको सहमतविना धन-सम्पत्तिहरू, आदरहरू, सुखविलास र मित्रताहरू आर्जन गर्नुभन्दा त उहाँको सहमतअनुसार अत्यन्तै घोर दरिद्रता, सबभन्दा ठूलो आत्म-इन्कार नै उत्तम हुन्छ । हामीेले प्रार्थनामा समय बिताउन अति आवश्‍‍यक छ । यदि हामीले आफ्‍ना दिमागहरूलाई सांसारिक उद्देश्‍‍यहरूमा डुबाउँछौं भने परमप्रभुले हामीबाट आफ्‍ना सुन, घरहरू र उर्वरा भूमिहरूका मूर्तिहरू हटाएर हामीलाई समय प्रदान गर्न सक्‍नुहुन्छ ।MBA 145.3

    यदि युवाहरूले परमेश्‍‍वरको आशिष्‌रहित मार्गमा प्रवेश गर्न इन्कार गरेको भए तिनीहरू पापमा फस्‍ने थिएनन् । यदि संसारमा अन्तिम गम्भीर चेतावनी दिने समाचारवाहकहरूले उत्साहहीन, इच्छाहीन र अल्छी तरिकाले होइन तर याकूबले झैँ जोशपूर्ण साथ र विश्‍‍वासका साथ परमेश्‍‍वरको आशिष्‌का लागि प्रार्थना गर्छन् भने तिनीहरूले यसो भन्न सक्‍ने यस्ता धेरै ठाउँहरू पाउने थिए: “मैले परमेश्‍‍वरलाई आमने-सामुन्ने देखेको छु, र पनि मेरो प्राण बचेको छ ।” उत्पत्ति ३२:३० । स्‍वर्गले तिनीहरूलाई परमेश्‍‍वर र मानिसहरूसँग विजयी राजकुमारहरूझैँ ठान्ने थियो ।MBA 146.1

    “कहिले नभएको सङ्‌कष्‍टको समय” अब चाँडै नै हामीमाथि आउनै लागेको छ; हामीलाई यस्तो अनुभव आवश्‍‍यक पर्नेछ जुन हामीले अहिले प्राप्‍त गरेका छैनौं र धेरै जना यसलाई प्राप्‍त गर्न अति नै अल्छे छन् । प्रायः जसो वास्तविक सङ्‌कष्‍टभन्दा त्यसको अनुमानचाहिँ झन ठूलो हुन्छ; तर यो हाम्रो सामु भएको विपत्तिको घड़ीमा यो सत्य हुनेछैन । त्यसको सबभन्दा स्पष्‍ट वक्तव्यले पनि अग्‍निमय कष्‍टको महत्‍व वर्णन गर्न सक्दैन । त्यो कष्‍टको घड़ीमा प्रत्येक मानिस परमेश्‍‍वरको अघि एकलै उभिनुपर्नेछ । “त्यस देशमा नूह, दानिएल र अय्यूब नै भए तापनि, प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको कसम ! उनीहरूले न छोरालाई छुटाउन सक्‍ने थिए, न छोरीलाई; उनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राणहरू मात्र छुटाउने थिए ।” इजकिएल १४:२० (KJV) ।MBA 146.2

    अब, जबकि हाम्रा प्रधान पूजाहारी हाम्रा निम्ति प्रायश्‍चित गरिरहनुभएको छ, त्यही घड़ी ख्रीष्‍टमा हामी पूर्ण हुने प्रयास गर्नुपर्छ । हाम्रा मुक्तिदाता कुनै सोच-विचारद्वारा पनि परीक्षामा फस्‍नुभएन । जब शैतानले मानविक हृदयहरूमा पाइला राख्‍ने कुनै ठाउँ पाउँदछ; तथा कुनै पापपूर्ण अभिलाषालाई आश्रय दिएको हुन्छ, तब त्यही माध्यमहरूद्वारा त्यसका परीक्षाहरूले तिनीहरूको शक्ति प्रयोग गर्ने चेष्‍टा गर्दछन् । तर ख्रीष्‍टले आफ्‍नै विषयमा घोषणा गर्नुभयो: “यस संसारको शासक आउँदैछ, अनि ममा त्यसको केही पनि छैन ।” यूहन्ना १४:३० । शैतानले परमेश्‍‍वरका पुत्रमाथि विजय प्राप्‍त गर्न सक्‍ने त्यस्तो केही पनि पाउन सक्दैन थियो । उहाँले आफ्‍ना पिताका आज्ञाहरू पालन गर्नुभएको थियो, र शैतानले उसको फाइदाका लागि प्रयोग गर्न सक्‍ने कुनै पाप उहाँमा थिएन । जो सङ्‌कष्‍टको समयमा उभिएका भेटाउनेछन् तिनीहरूको पनि यस्तै अवस्था हुनुपर्दछ ।MBA 146.3

    हामीले ख्रीष्‍टको प्रायश्‍चितयुक्त रगतमा विश्‍‍वास गरेर यो जीवनमै हामीबाट पाप अलग गर्नुपर्दछ । हाम्रा बहुमूल्य मुक्तिदाताले उहाँसँग सम्बन्ध जोड्‍न, हाम्रो कमजोरीपन उहाँको सामर्थ्यमा, हाम्रो अन्‍जानपन उहाँको बुद्धिमा, हाम्रो अयोग्यता उहाँको योग्यतामा एकत्र पार्न निमन्‍‍त्रणा गर्नुहुन्छ । परमेश्‍‍वरको दयालु कार्यचाहिँ एक पाठ्‌शाला हो जसमा हामीले येशूको दीनता र नम्रता सिक्‍नुपर्छ । परमप्रभुले हामीलाई सजिलो र आनन्दमय देखिने हाम्रो इच्छाअनुसारका मार्गहरू हामी अघि कहिले पनि राखिदिनुभएको छैन, तर सँधै उहाँले हाम्रो अगाड़ि जीवनका सत्य लक्ष्यहरू राख्‍नुहुन्छ । ती माध्यमहरूसँग मिलेर सहकार्य गर्नुचाहिँ हाम्रो उत्तरदायित्‍व हो जुन स्‍वर्गले हाम्रा चरित्रहरू दैवीय ढाँचामा परिवर्तन गर्न प्रयोग गर्दछ । यदि तिनीहरूले यस कामलाई लत्याउँछन् वा स्थगित राख्‍छन् भने तिनीहरूका प्राणहरू ठूलो जोखिममा हुन्छ ।MBA 146.4

    प्रेरित यूहन्नाले दर्शनमा एक चर्को सोर स्‍वर्गमा कराइरहेका सुने: “पृथ्वी र समुद्रका बासिन्दाहरूलाई हाय ! किनकि शैतान रिसले आगो भएर तल तिमीहरूकहाँ आएको छ, किनकि त्यससँग समय छोटो छ भनी त्यसलाई थाह छ ।” प्रकाश १२:१२ (KJV) । स्‍वर्गीय सोरले आश्‍चर्यसाथ उच्‍चारण गरेका दृश्‍‍यहरू भयङ्कर छन् । जसरी शैतानको समय अल्प हुँदै जान्छ त्यसरी उसको क्रोध बढ्‍दै जान्छ, र सङ्‌कष्‍टको समयमा त्यसको छल र विनाशको काम चरमविन्दुमा पुग्‍नेछ ।MBA 147.1

    अप्राकृतिक तरिकाका डरलाग्दा दृश्‍‍यहरू, अचम्मलाग्दो काम गर्ने भूतहरूको शक्तिका चिन्हहरू चाँडै नै आकाशमा देखा पर्नेछन् । पृथ्वीका राजाहरू र सारा संसारका मानिसहरूलाई भ्रममा पार्न भूतहरूका आत्माहरू जानेछन्, र स्‍वर्गीय प्रशासनको विरूद्धमा शैतानको अन्तिम संघर्षमा ऊसँग एकत्रित हुन दबाब गर्नेछन् । यी माध्यमहरूद्वारा शासकहरू र जनताहरू उस्तै गरी बहकिनेछन् । मानिसहरू आफै ख्रीष्‍टको रूप धारण गरेर आउनेछन्, र संसारको मुक्तिदातालाई मात्र सुहाउने शिर्षक र सेवाका दाबी गर्नेछन् । तिनीहरूले अचम्मलाग्दो निको पार्ने कामहरू गर्नेछन् र धर्मशास्‍‍त्रका गवाहीहरूको विरोधमा स्‍वर्गबाट प्रकाश पाएका दाबी गर्नेछन् ।MBA 147.2

    छलको महान् नाटकमा प्रमुख कार्यको रूपमा शैतान आफै ख्रीष्‍टको रूप धारण गरेर आउनेछ । चर्चले त्यसका आशाहरूका पूर्णताको रूपमा लामो समयदेखि मुक्तिदाताको आगमनलाई प्रतीक्षा गरेको दाबी गरेको छ । अब महान् ठगाहाले ख्रीष्‍टको आगमनलाई नकल गर्नेछ । शैतानले आफैलाई पृथ्वीका विभिन्न भागहरूमा चम्किलो रोशनीको ऐश्‍‍वर्य प्राणीझैँ मानिसहरूका माझ प्रकट गर्नेछ, त्यो प्रकाशमा यूहन्नाद्वारा गरिएको परमेश्‍‍वरको पुत्रको वर्णन अनुरूप आउनेछ । प्रकाश १:१३-१५ । मरणशील आँखाहरूले कहिले नदेखेको महिमा त्यसको वरिपरी हुनेछ । हावामाथि विजयको आवाज गुञ्‍जिनेछ: “ख्रीष्‍ट आउनु भएको छ ! ख्रीष्‍ट आउनु भएको छ !” जसरी ख्रीष्‍ट यस पृथ्वीमा हुँदा उहाँका चेलाहरूलाई उहाँले आशिष् दिनुहुन्थ्यो त्यसरी नै उसले आफ्‍ना हात उठाएर तिनीहरूमाथि आशिष् घोषणा गर्नेछ र मानिसहरूले त्यसको सामुन्ने लम्पसार परेर आराधना गर्नेछन् । उसको सोर मधुरो र धीमा, तापनि लयपूर्ण हुनेछ । नरम, दायालु सुरहरूमा उसले कुनै-कुनै त्यस्तै अनुग्रहकारी स्‍वर्गीय सत्यताहरू प्रस्तुत गर्नेछ जुन मुक्तिदाताले उच्‍चारण गर्नुभएको थियो; उसले मानिसहरूका रोगहरू निको पार्नेछ, र त्यसपछि उसले ख्रीष्‍टको नकल चरित्रमा शबाथलाई आइतबारमा परिवर्तन गरेको दाबी गर्नेछ, र सबैलाई उसले आशिषित पारेको दिनलाई पवित्र राख्‍ने आज्ञा गर्नेछ । जसले सातौं दिन लगातार पवित्र राख्दछन्, तिनीहरूले उसको नाम निन्दा गरेको छ किनकि ज्योति र सत्यतासाथ तिनीहरूकहाँ पठाइएको उसका दूतहरूलाई अस्‍वीकार गरेका छन् भनी घोषणा गर्नेछ । योचाहिँ बलियो र झण्डै सर्वनियन्‍त्रित छल हो । जसरी सामरियाका बासिन्दाहरू सानादेखि ठूलासम्म भीड़का भीड़ मानिसहरूले ती मन्‍‍त्रतन्‍‍त्रहरूमा ध्यान दिए, र सिमोन मगसद्वारा यसो भन्दै बहकिए: यी “परमेश्‍‍वरका महान् शक्ति हुन् ।” प्रेरित ८:१० ।MBA 147.3

    तर परमेश्‍‍वरका मानिसहरू बहकिने छैनन् । यो झूटो ख्रीष्‍टका शिक्षाहरू धर्मशास्‍‍त्र अनुरूप छैनन् । उसका आशिष्‌हरू पशु र त्यसको मूर्तिलाई पूजा गर्नेहरूमाथि घोषणा भएका हुन्छन्, त्यही मानिसहरू जसमाथि बाइबलले घोषणा गर्दछ कि परमेश्‍‍वरको केही नमिसाई तयार गरिएको क्रोध खन्याइनेछ ।MBA 148.1

    अनि त्यति मात्र नभएर, यता शैतानलाई ख्रीष्‍टको दोस्रो आगमनको तरिका नकल गर्ने अनुमति दिइएको छैन । मुक्तिदाताले उहाँका मानिसहरूलाई यस छलको विरूद्धमा चेतावनी दिनुभएको छ, र उहाँको दोस्रो आगमनको तरिका स्पष्‍टरूपमा पूर्ववाणी गर्नुभएको छ । “झूटा ख्रीष्‍टहरू र झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र ठूला-ठूला चिन्हरू र चमत्कारहरू देखाउनेछन्; यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन् । ... यसकारण तिमीहरूलाई तिनीहरूले ‘हेर, उनी उजाड़स्थानमा छन्’ भनी भने भने तिमीहरू निस्केर नजाओ; ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनी भने भने विश्‍‍वास नगर । किनभने जसरी बिजुली पूर्वबाट निस्केर पश्‍चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ ।” मत्ती २४:२४-२७, ३१; २५:३१; प्रकाश १:७; १ थेसलोनिकी ४:१६, १७ (KJV) । यो आगमनलाई नकल गर्न सक्‍ने सम्भावना नै छैन । यो विश्‍‍वव्यापीरूपमा थाहा हुनेछ—सारा संसारले देख्‍नेछ ।MBA 148.2

    जोजो धर्मशास्‍‍त्रका मेहनती विद्यार्थीहरू भएका छन्, र जसले सत्यताको माया प्राप्‍त गरेका छन् तिनीहरू मात्र संसारलाई कैदी पार्ने शक्तिशाली छलबाट सुरक्षित हुनेछन् । बाइबलको गवाहीबाट तिनीहरूले ठगाहालाई उसको छलमा पत्ता लगाउनेछन् । सबैलाई जाँचको समय आउनेछ । परीक्षाको चाल्‍नोद्वारा वास्तविक इसाई प्रकट हुनेछ । के परमेश्‍‍वरका जनहरू तिनीहरूका ज्ञानेन्द्रियहरूको प्रमाणलाई अर्पण नगर्न अहिले नै उहाँको वचनमाथि बलियोसाथ स्थापित भएका छन् त ? के तिनीहरू यस्तो सङ्‌कष्‍टमा पनि बाइबल र बाइबलमा मात्र अडिग रहन्छन् त ? शैतानले त्यो दिनमा उभिनका लागि आवश्‍‍यक तयारी प्राप्‍त गर्न यथाशक्त प्रतिबन्ध गर्नेछ । उसले यस्तो प्रबन्ध मिलाउनेछ कि तिनीहरूका मार्गलाई बन्द पार्नेछ, तिनीहरूलाई सांसारिक सम्पत्तिले अल्झाई दिनेछ, र गह्रो र थकितपूर्ण भारी बोकाउनेछ ताकि यस जीवनका चिन्ताहरूले तिनीहरूका हृदयहरू भरियोस् र तिनीहरूमाथि कष्‍टको दिन चोरझैँ आइपरोस् ।MBA 148.3

    जब आज्ञा पालन गर्नेहरूको विरूद्धमा विभिन्न इसाईजगतका शासकहरूले आदेश जाहेर गर्नेछन्, तब सरकारी सुरक्षा हटाइनेछ र तिनीहरूका विनाश गर्न चाहनेहरूका हातमा तिनीहरू छोड़िनेछन्, त्यसपछि परमेश्‍‍वरका जनहरू शहरहरू र गाउँहरूबाट समूहहरूमा जम्मा भएर अति उजाड़ र दुर्गम क्षेत्रहरूतिर वास गर्न भाग्‍नेछन् । धेरैले पहाड़हरूका किल्‍लाहरूमा शरणस्थान पाउनेछन् । पिडमन्ट उपत्यकाहरूका इसाईहरूझैँ तिनीहरूले पृथ्वीका उच्‍च स्थानहरू आफ्‍ना पवित्रवासस्थान बनाउनेछन् र “चट्टानहरूका गढ़ीहरू” का निम्ति परमेश्‍‍वरलाई धन्यवाद दिनेछन् । यशैया ३३:१६ । तर सबै जातिहरू र दर्जाहरूका धेरै जना उच्‍च र नीच, धनी र गरीब, कालो र गोरो सबभन्दा नराम्रो अन्याय र क्रूर दासत्‍वमा फालिनेछन् । परमेश्‍‍वरका प्रिय जनहरूले थकित दिनहरू बिताउनेछन्, साङ्‍लाहरूमा बाँधिनेछन्, र जेलमा थुनिनेछन्, मृत्यु-दण्डमा पर्नेछन्, र कति जना शायद अन्धकार र अरुचिकर कालकोठरीहरूमा भोकले मर्न छोड़िनेछन् । तिनीहरूका वेदनाहरू सुन्न कुनै मानविक कान खुल्‍ला रहँदैन; कुनै पनि मानविक हातले तिनीहरूलाई सहायता गर्न तयार छैन ।MBA 149.1

    के परमप्रभुले उहाँका जनहरूलाई यो जाँचको घड़ीमा बिर्सनुहुनेछ र ? के उहाँले जलप्रलयभन्दा अगाड़िका संसारमाथि न्याय आइपर्दा विश्‍‍वासयोग्य नोआलाई बिर्सनुभएको थियो र ? जब मैदानका शहरहरूलाई भष्म पार्न स्‍वर्गबाट आगो बर्सेको थियो तब के उहाँले लोतलाई बिर्सनुभयो र ? के उहाँले मिश्रमा भएका मूर्तिपूजकहरूको बीचमा योसेफलाई बिर्सनुभयो त ? इजबेलले बालका अगमवक्ताहरूको विनाशको कसम खाएर धम्कि दिएको बखत के उहाँले एलियालाई बिर्सनुभयो र ? के उहाँले यर्मियालाई तिनको जेल घरको अँध्यारो र उदास खाल्डोमा बिर्सनुभयो र ? के उहाँले तीन प्रतिष्‍ठित व्यक्तिहरूलाई आगोको भट्टीमा बिर्सनुभयो र ? अथवा दानिएललाई सिंहको खोरमा बिर्सनुभयो र ?MBA 149.2

    “सियोनले भन्यो: ‘परमप्रभुले मलाई त्याग्‍नुभएको छ; अनि मेरो प्रभुले मलाई बिर्सनुभएको छ ।’ के कुनै स्‍‍त्रीले आफ्‍नो दूध चुस्‍ने बालकलाई बिर्सन सक्छे, र आफ्‍ना गर्भको छोरामाथि नटिठाउली ? अँ, यिनीहरूले बिर्सन सक्छन्, तर मचाहिँ तँलाई बिर्सनेछैन । हेर्, मैले तँलाई आफ्‍ना हत्केलाहरूमा खोपेको छु ।” यशैया ४९:१४-१६ (KJV) । सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ ।” जकरिया २:८ (KJV) ।MBA 150.1

    शत्रुहरूले तिनीहरूलाई जेलहरूमा खाँदेपनि कालकोठरीहरूका पर्खालहरूले ख्रीष्‍ट र तिनीहरूका आत्मा बीचको वार्तालाप विच्छेद गर्न सक्दैनन् । एक जना हुनुहुन्छ, जसले तिनीहरूका सम्पूर्ण कमजोरीपनहरू देख्‍नुहुन्छ, जो प्रत्येक कष्‍टसँग चिरपरिचित हुनुहुन्छ उहाँ पृथ्वीका समस्त शक्तिहरूभन्दा पनि उच्‍च हुनुहुन्छ; र स्‍वर्गदूतहरू तिनीहरूका उदासी जेलका कोठाहरूमा स्‍वर्गबाट ज्योति र शान्ति लिएर तिनीहरूलाई भेट्‍न आउनेछन् । जेलचाहिँ एक दरबारझैँ हुनेछ; किनकि प्रशस्त विश्‍‍वास भएकाहरू त्यहाँ बस्छन्, निराशजनक पर्खालहरू स्‍वर्गीय ज्योतिले उज्यालो हुनेछ, जसरी पावल र सिलास फिलिप्पीको कालकोठरीमा मध्यरातमा प्रार्थना गर्दै र प्रशंसा गाइरहेका थिए ।MBA 150.2

    जसले परमेश्‍‍वरका जनहरूलाई अत्याचार गर्न र ध्वंश गर्न खोजिरहेका छन् तिनीहरूमाथि उहाँका इन्साफहरू आइपर्नेछन् । उहाँले दुष्‍टहरूप्रति गर्नुभएको सहनशीलताले मानिसहरूलाई अधर्ममा प्रोत्साहन दिन्छ, तर धेरै ढिलो भएतापनि तिनीहरूको सजाय निश्‍चित र डरलाग्दो नै हुनेछ । “परमप्रभु पराजिम पहाड़मा झैँ उठ्‌नुहुनेछ; गिबोनको बेंसीमा झैँ उहाँ क्रोधित हुनुहुनेछ, आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्नलाई, र आफ्‍नो कार्य, आफ्‍नो अद‌्भूत कार्य पूरा गर्नलाई ।” यशैया २८:२१ (KJV) । हाम्रा कृपामय परमेश्‍‍वरलाई सजाय दिने कामचाहिँ अनौठो काम हो । “प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको कसम ! दुष्‍टको मृत्युमा मलाई पटक्‍कै आनन्द छैन ।” इजकिएल ३३:११ (KJV) । “परमप्रभु, परमप्रभु परमेश्‍‍वर दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो अनि करुणा र सत्यताले भरपूर ! ... अधर्म, अपराध र पाप क्षमा गर्नुहुने ।” तापनि उहाँले “दोषीलाई कुनै रीतिले निर्दोष नठहराउनुहुने ।” “परमप्रभु रिसाउनमा ढिलो हुनुहुन्छ, अत्यन्तै शक्तिशाली हुनुहुन्छ र दोषीलाई कुनै रीतिले निर्दोष ठहराउनुहुन्न ।” प्रस्थान ३४:६, ७; नहूम १:३ (KJV) । धार्मिकताका डरलाग्दा कुराहरूद्वारा उहाँले आफ्‍नो दबिएको व्यवस्थाको अधिकारलाई निर्दोष साबित गर्नुहुनेछ । अपराधीमाथि आइपर्ने बदलाको प्रचण्डतामा न्याय पूरा गर्न प्रभु हिचकिचाउनुहुन्छ, त्यसद्वारा न्यायको कार्य थाहा पाउन सक्छ । जुन जातिसँग उहाँले लामो समयसम्म सहनुहुन्छ, र जसलाई उहाँले परमेश्‍‍वरको अभिलेखमा त्यसको अधर्मको नाप नभरिएसम्म प्रहार गर्नुहुनेछैन, त्यसले अन्तिममा कृपासँग नमिसाएको क्रोधको कचौरा पिउनेछ ।MBA 150.3

    जब ख्रीष्‍टले पवित्रवासस्थानमा उहाँको मध्यस्थताको काम बन्द गर्नुहुन्छ, जसले पशु र त्यसको मूर्तिलाई पूजा गर्छन् र त्यसको छाप लिन्छन् तब तिनीहरूका विरूद्धमा आउनै लागेको केही नमिसाएको क्रोध खन्याइनेछ । (प्रकाश १४:९, १०) । परमेश्‍‍वरले इस्राएललाई बचाउन लाग्‍नुभएको बेलामा मिश्रमाथि जस्तो विपत्तिहरू परेका थिए परमेश्‍‍वरका जनहरूको अन्तिम बचावभन्दा अलिक अगाड़ि संसारमाथि त झन अझै डरलाग्दा र प्रचण्ड न्यायहरू आइपर्नेछन् । ती भयभीत आपद्‍हरूलाई वर्णन गर्दै प्रकाशक भन्दछन्: “त्यस पशुको निशान लिने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूमा खराब र कष्‍टपूर्ण घाउ-खटिरा निस्क्‍यो ।” समुद्र “मरेको मानिसको रगतजस्तै भयो, र समुद्रमा हरेक जिउँदो प्राणी मऱ्यो ।” अनि “नदीहरू र पानीका मुहानहरू ... रगत भए ।” यस्ता डरलाग्दा कष्‍टहरू भएपनि परमेश्‍‍वरको न्याय पूर्णरूपले निर्दोष ठहरिन्छ । परमेश्‍‍वरको दूत घोषणा गर्दछन्: “तपाईं धर्मी हुनुहुन्छ, हे प्रभु, ... किनभने तपाईंले यसरी न्याय गर्नुभएको छ । किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्ताहरूको रगत बहाएका छन्, अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; किनकि तिनीहरू यसका योग्य छन् ।” प्रकाश १६:२-६ (KJV) । परमेश्‍‍वरका जनहरूलाई मृत्युको दोषी ठहराएर तिनीहरूका आफ्‍नै हातले रगत बगाएझैँ वास्तवमा तिनीहरू नै त्यसको दोषी ठहरिएका छन् । त्यसरी नै ख्रीष्‍टले उहाँको समयका यहूदीहरूको विषयमा घोषणा गर्नुभयो कि तिनीहरू हाबिलको दिनदेखि रक्तपात भएका सबै पवित्र मानिसहरूका रगतका दोषी छन्; किनकि तिनीहरूले यी अगमवक्ताहरूका हत्याराहरूको त्यही आत्मा लिएका थिए र त्यस्तै काम गर्न खोजिरहेका थिए ।MBA 151.1

    निम्‍नलिखित विपत्तिमा सूर्यलाई “मानिसहरूलाई आगोले खहऱ्याउने” शक्ति दियो । अनि “भारी रापले गर्दा मानिसहरू खहरिए ।” प्रकाश १६:८, ९ (KJV) । अगमवक्ताहरूले यो डरलाग्दो समयमा पृथ्वीको अवस्थालाई यसरी वर्णन गर्छन्: “जमिनले विलाप गर्दछ; ... किनभने खेतबारीको फसल नष्‍ट भएको छ । ... मैदानका सबै रूखहरू ओइलिएका छन्; किनकि मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको छ ।” “बीउहरू तिनका डल्‍लाहरूमनि सडे़, भण्डारहरू उजाड़ भए, ... पशुहरू कति कराउँछन् ! गाई-बस्तुका बथानहरू आत्तिएका छन्; किनकि तिनीहरूका निम्ति खर्क छैन् । ... पानीका नदी-नालाहरू सुकेका छन्, र आगोले उजाड़स्थानका खर्कहरू भष्म पारेको छ ।” “त्यस दिन मन्दिरका गीतहरू बदलेर रोइकराइहरू बन्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ; हरेक ठाउँमा धेरै लासहरू हुनेछन्; तिनीहरूले तिनलाई चुपचाप फालिदिनेछन् ।” योएल १:१०-१२, १७-२०; आमोस ८:३ (KJV) ।MBA 151.2

    यी विपत्तिहरू विश्‍‍वव्यापीरूपमा हुँदैन नत्रता पृथ्वीका बासिन्दाहरू पूर्णरूपमा नामेट हुने थिए । तापनि मरणशील मानिसले जानेको भन्दा अत्यन्तै डरलाग्दा आपत्तिहरू हुनेछन् । प्रायश्‍चितको समयको अन्त हुनुभन्दा अघि मानिसहरूमाथि परेका सम्पूर्ण न्यायहरू कृपासँग मिसिएका हुन्छन् । ख्रीष्‍टको याचनात्मक रगतले पापीलाई त्यसको दोषको पूर्ण नाप पर्नदेखि बचाएको छ; तर अन्तिम न्यायमा क्रोध कृपासँग नमिसाइ खन्याइनेछ ।MBA 152.1

    त्यो दिनमा भीडौँले परमेश्‍‍वरको कृपाको आश्रय चाहना गर्नेछन् जसलाई तिनीहरूले लामो समयसम्म घृणा गरेका छन् । “परमप्रभु परमेश्‍‍वर भन्नुहुन्छ, ‘यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु—जुनचाहिँ नता अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ । मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्‍नेछन् । तर तिनीहरूले त्यो पाउनेछैनन् ।’” आमोस ८:११-१२ ।MBA 152.2

    परमेश्‍‍वरका जनहरू कष्‍टमुक्त हुनेछैनन्; तर जब सतावट भोग्दै र निराश सहँदै तिनीहरू अभाव र खानाको कमीले कष्‍ठित हुन्छन् तब तिनीहरू नष्‍ट हुन छोड़िनेछैनन् । जुन परमेश्‍‍वरले एलियालाई वास्ता गर्नुभयो उहाँले आत्म-बलिदान गर्ने उहाँका छोराछोरीहरूलाई बेवास्ता गर्नुहुन्न । जसले तिनीहरूका शिरका कपाल गन्ती गर्नुहुन्छ उहाँले तिनीहरूलाई वास्ता गर्नुहुन्छ, र तिनीहरू अनिकालको समयमा तृप्‍त हुनेछन् । जहाँ दुष्‍टहरू भोक र महामारीले मरिरहेका हुन्छन्, त्यहाँ स्‍वर्गदूतहरूले धर्मीहरूलाई सुरक्षा दिएर तिनीहरूका आवश्‍‍यकताहरू पूरा गरिदिनेछन् । “जो धार्मिकतासाथ हिँड्‍दछ” त्यसका लागि प्रतिज्ञा यही हो: “त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन ।” “गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पानी हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्‍नेछ । तर म परमप्रभुले तिमीहरूलाई जवाफ दिनेछु । म इस्राएलका परमेश्‍‍वरले तिनीहरूलाई त्याग्‍नेछैनँ ।” यशैया ३३:१५, १६; ४१:१७ ।MBA 152.3

    “चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्‍जाओस्, खोरमा भेड़ा बाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,” परमेश्‍‍वरका भय मान्नेहरूले “रमाहट” गर्नेछन् र तिनीहरूका परमेश्‍‍वरको मुक्तिमा आनन्द मनाउनेछन् । हबकूक ३:१७, १८ ।MBA 152.4

    “परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ । दिउँसो घामले तिम्रो हानि गर्नेछैन, नता जूनले राती तिम्रो कुनै हानि गर्नेछ । परमप्रभुले तिमीलाई सब विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ ।” “निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ । उहाँले तिमीलाई आफ्‍ना प्वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ । उहाँको विश्‍‍वासनीयता [सत्यता] तिम्रो ढाल र पर्खाल हुनेछ । तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उडे़र आउने वाणदेखि डराउनेछैनौ, नता अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ । एक हजार जना तिम्रो नजीक लोट्‍लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजीक त्यो आउनेछैन । तिमीले आफ्‍ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ । यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्थान बनायौ भने—परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजीक कुनै विपत्ति आउनेछैन ।” भजनसंग्रह १२१:५-७; ९१:३-१० ।MBA 153.1

    तापनि मानविक दृष्‍टिमा, परमेश्‍‍वरका जनहरूले अघिका शहिदहरूले झैँ तिनीहरूका गवाही आफ्‍नै रगतले मोहोर लगाउनु नै पर्ने अवस्था देख्‍नेछन् । तिनीहरू आफै डराउन थाल्छन् कि प्रभुले तिनीहरूलाई शत्रुहरूको हातदेखि पतन हुन छोड़िदिनुभएको छ । योचाहिँ मानसिक तनावको डरलाग्दो समय हो । तिनीहरूले परमेश्‍‍वरसँग बचावटका लागि दिन रात पुकार्नेछन् । दुष्‍टहरू हर्षित हुन्छन्, र उपहासजनक चित्कार सुनिन्छ: “अब तिमीहरूको विश्‍‍वास कहाँ छ ? यदि तिमीहरू साँच्‍चै उहाँका जनहरू भएको भए किन परमेश्‍‍वरले तिमीहरूलाई हाम्रो हातबाट बचाउनुहुन्न ?” तर प्रतिक्षारत जनहरूले येशू कलवरी क्रूसमा मरिरहनुभएको कुरा सम्झन्छन् र प्रधान पूजाहारीहरू र शासकहरू गिल्‍ला गर्दै कराइरहेको सम्झना गर्दछन्: “यसले अरूलाई बचायो; आफैलाई चाहिँ यसले बचाउन सक्दैन । यो इस्राएलको राजा हो भने अब क्रूसबाट ओर्ली आओस्, र हामी यसलाई विश्‍‍वास गर्नेछौं ।” मत्ती २७:४२ (KJV) । याकूब जस्तै सबैजना परमेश्‍‍वरसँग लड़न्त गरिरहेका हुन्छन् । तिनीहरूका मुहारले आन्तरिक संघर्ष व्यक्त गर्दछ । प्रत्येक मुहार पहेलो देखिन्छ । तापनि तिनीहरूले उत्सुक मध्यस्थता गर्न छोड्‍दैनन् ।MBA 153.2

    यदि मानिसहरूले स्‍वर्गीय दृष्‍टि पाएको भए तिनीहरूले अत्याधिक सामर्थ्यशाली स्‍वर्गदूतहरूका दलहरू ख्रीष्‍टका धैर्यको वचनलाई पालन गर्नेहरूका वरिपरी तैनाथ भएका देख्‍ने थिए । सहानुभूतियुक्त स्‍नेहसाथ स्‍वर्गदूतहरूले तिनीहरूका व्याकुलतालाई देखेका छन् र तिनीहरूका प्रार्थनाहरू सुनेका छन् । तिनीहरूका जोखिमबाट हटाउन तिनीहरूका कप्‍तानको वचन प्रतिक्षा गरिरहेछन् । तर तिनीहरूले अझै पनि केही समयसम्म प्रतिक्षा गर्नुपर्नेछ । परमेश्‍‍वरका मानिसहरूले त्यो कचोैरा पिउनुपर्नेछ र त्यही बप्‍तिस्मा लिनुपर्नेछ । तिनीहरूका अति दुःखदायी ढीलाइ नै तिनीहरूका विन्तीहरूको उत्तम जवाफ हो । जब तिनीहरूले परमप्रभुलाई काम गर्न भरोसासाथ प्रतिक्षा गर्ने प्रयास गरिहेका हुन्छन्, तब तिनीहरूले विश्‍‍वास, आशा र धैर्य प्रयोग गर्न सिक्छन्, जुन तिनीहरूको धार्मिक अनुभवको अवधिमा कमै अभ्यास गरेका थिए । तापनि चुनिएकाहरूका खातिर सङ्‌कष्‍टको समय घटाइनेछ । “के परमेश्‍‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र ? ... म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ ।” लूका १८:७, ८ । मानिसहरूले सोचेको भन्दा पनि चाँडै नै अन्त्य आउनेछ । गहुँ जम्मा पारिनेछ र परमेश्‍‍वरको ढुकुटीका लागि बिटा बाँधिनेछ; सामाहरू विनाशको आगोका लागि दाउराको बिटोजस्तै बाँधिनेछन् ।MBA 153.3

    ती स्‍वर्गीय पालेहरूले तिनीहरूका पहरेदारको कार्यमा विश्‍‍वासयोग्यसाथ निरन्तर कर्तव्य निर्वाह गर्छन् । तिनीहरूका शत्रुहरूले आज्ञा पालन गर्नेहरूलाई मृत्युदण्ड दिन सक्‍ने विश्‍‍वव्यापी आदेशको समय निर्धारित हुनुभन्दा अगाड़ि नै कुनै-कुनै ठाउँहरूमा तिनीहरूका ज्यान लिने प्रयास गर्नेछन् । तर प्रत्येक विश्‍‍वासयोग्य प्राणको वरिपरी पहरा गरेका शक्तिशाली पहरादारद्वारा कोही पनि छिर्न सक्‍नेछैन । कति जनालाई शहरहरू र गाउँहरूबाट भाग्‍नेक्रममा आक्रमण गर्नेछन्; तर तिनीहरूका विरूद्धमा खड़ा भएका तरवारहरू परालजस्तै टुक्रिनेछन् र शक्तिहीन भई खस्‍नेछन् । अरूहरूलाई स्‍वर्गदूतहरूद्वारा लड़ाकूँको रूपमा सुरक्षा गरिनेछ ।MBA 154.1

    परमेश्‍‍वरले सारा युगहरूमा उहाँका पवित्र दूतहरूद्वारा उहाँका मानिसहरूका खातिर सहायता गर्ने र बचाउने काम गर्नुभएको छ । स्‍वर्गीय प्राणीहरूले मानिसहरूका कामहरूमा क्रियाशील भूमिका खेलेका छन् । तिनीहरू बिजुली चम्केझैँ चम्किलो पोशाकमा देखा परेका छन्; तिनीहरू मानिसहरूजस्तै बटुवाहरूको पोशाकमा आएका छन् । स्‍वर्गदूतहरू परमेश्‍‍वरका मानिसहरूकहाँ मानिसको रूपमा देखा परेका छन् । तिनीहरू थकित भएझैँ दिउँसो फलाँटको वृक्षमुनि विश्राम गरेका छन् । तिनीहरूले मानविक घरहरूमा अतिथिसत्कारहरू स्‍वीकार गरेका छन् । तिनीहरू रात परेको अवास्थामा अलमल्‍लमा परेका यात्रीहरूका अगुवा भएका छन् । तिनीहरूले आफ्‍नै हातद्वारा वेदीमा आगो बालेका छन् । तिनीहरूले जेलका ढोकाहरू खोलेका छन् र परमप्रभुका दासहरूलाई स्‍वतन्‍‍त्र पारेका छन् । तिनीहरू स्‍वर्गीय कवच धारण गरेर मुक्तिदाताको चिहानबाट ढुङ्गा गुड़ाउन पनि आएका थिए ।MBA 154.2

    स्‍वर्गदूतहरू मानिसको रूपमा प्रायःधर्मीका भेलाहरूमा जान्छन्; र तिनीहरू दुष्‍टहरूका भेलाहरूमा पनि जान्छन्, जसरी तिनीहरूले परमेश्‍‍वरको सहनशीलताको सिमाना नाघेका छन् कि छैनन् भनी निश्‍चित गर्न र तिनीहरूका कार्यहरूका टिप्पणी गर्न सदोममा गए । परमप्रभु कृपामा खुशी हुनुहुन्छ; र उहाँले आफ्‍ना सेवा गर्ने थोरै जनहरूका खातिर भएपनि विपत्ति रोक्‍नुहुन्छ र भीड़हरूको शान्ति अझै बढ़ाइदिनुहुन्छ । परमेश्‍‍वरको विरूद्धमा भएका पापीहरूले कम नै बुझ्छन् कि तिनीहरू थोरै विश्‍‍वासीहरूप्रति आफ्‍नो जीवनको खातिर कति ऋणी छन् जसलाई तिनीहरूले गिल्‍ला गर्न र अत्याचार गर्न हर्षित हुन्छन् ।MBA 155.1

    यस संसारका शासकहरूले थाहा नपाएपनि प्रायः तिनीहरूका परिषद्‍हरूमा स्‍वर्गदूतहरू नै वक्ता भएका छन् । मानविक आँखाहरूले तिनीहरूलाई देखेका छन्; मानविक कानहरूले तिनीहरूका आव्हानहरू सुनेका छन्; मानविक ओठहरूले तिनीहरूका सुझावहरूको विरोध गरेका छन् र तिनीहरूका सल्‍लाहहरूलाई ठट्टा गरेका छन्; तिनीहरूले मानविक हातहरूबाट अपमान र अत्याचारको सामना गर्नुपरेका छन् । यी स्‍वर्गीय सन्देशवाहकहरू परिषद् सभा र न्यायालयमा मानविक इतिहाससँग घनिष्‍ठ परिचित भएको देखा परेका छन्; तिनीहरूका सबभन्दा सक्षम र भाषणकलामा पोख्त रक्षकहरूले भन्दा पनि अत्याचारमा परेकाहरूको मामलालाई विन्ती गर्न तिनीहरू अझै सक्षम प्रमाणित भएका छन् । तिनीहरूले उद्देश्‍‍यहरूलाई पराजित गरेका छन् र दुष्‍टहरूलाई रोकेका छन् जसले परमेश्‍‍वरको कामलाई ठूलो रूपमा बाधा दिने थिए र उहाँका जनहरूमाथि ठूलो कष्‍ट ल्याउने थिए । जोखिम र वेदनाको घड़ीमा “परमेश्‍‍वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।” भजनसंग्रह ३४:७ ।MBA 155.2

    परमेश्‍‍वरका जनहरूले उत्कट चाहनासाथ तिनीहरूका आउनेवाला राजाका चिन्हहरूका प्रतीक्षा गर्दछन् । जसरी पहरेदारहरूलाई सम्बोधन गरिएका छ, “रातको खबर के छ ?” तुरून्तै जवाफ यसरी दिइएको छ, “बिहानी आउँछ, र रात पनि आउँछ ।” यशैया २१:११, १२ । पहाड़का टाकुराहरूमाथि बादलहरूमा ज्योति चम्किरहेछ । चाँडै नै उहाँको महिमा प्रकट हुन गइरहेछ । धार्मिकताको सूर्य उदाउनै लागेछ । बिहान र रात दुवै आइसकेको छ—धर्मीको अनन्त दिनको आरम्भ, र दुष्‍टमाथि अनन्त रात आउँदैछ ।”MBA 155.3

    जसरी संघर्ष गरिरहेका जनहरूले परमेश्‍‍वरको सामु तिनीहरूका विन्ती प्रस्तुत गर्दछन् त्यसरी तिनीहरूलाई अदृश्‍‍यदेखि विभाजन गर्ने पर्दा लगभग हटिएको जस्तो देखिन्छ । आकाश अनन्त दिनको प्रभातसाथ चम्कन्छ, र स्‍वर्गदूतहरूका गीतहरूको धुनजस्तै यस्ता शब्दहरू कानमा पर्दछन्: “तिम्रो बफादारितामा दृढ भई खड़ा होओ । सहायता आउँदैछ ।” शक्तिशाली विजेता ख्रीष्‍टले एक अमरत्‍व महिमाको मुकुट उहाँका थकित सिपाहीहरूलाई पसार्नुहुन्छ; र अलिकति उघ्रेको ढोकाबाट उहाँको सोर आउँछ: “हेर, म तिमीहरूसँग छु । नडराओ । तिमीहरूका सबै दुःख म जान्दछु; मैले तिमीहरूका चिन्ताहरू बोकेको छु । तिमीहरू अपरिचित शत्रुहरूसँग लड़ाइँ गरिरहेका छैनौ । मैले तिमीहरूका खातिर लड़ाइँ लड़िसकेको छु, र मेरो नाममा तिमीहरू विजयीहरूभन्दा पनि ज्यादा छौ ।”MBA 156.1

    बहुमूल्य मुक्तिदाताले हाम्रो आवश्‍‍वकताको समयमा नै सहायता पठाउनुहुन्छ । स्‍वर्ग जाने मार्ग उहाँको गोड़ाका पाइलाहरूले अर्पण गरिसकेका छन् । हाम्रो गोड़ालाई घाउ पार्ने प्रत्येक काढ़ाहरूले उहाँको गोड़ालाई पनि चोट पारिसकेका छन् । हामीले बोक्‍नुपर्ने प्रत्येक क्रूस उहाँले अघि नै बोकिसक्‍नुभएको छ । परमप्रभुले मानिसलाई शान्ति प्रदान गर्नका लागि संघर्षहरू आउन दिनुहुन्छ । सङ्‌कष्‍टको समय परमेश्‍‍वरका मानिसहरूलाई एक डरलाग्दो अग्‍निमय परीक्षा हो; तर यो समयमा चाहिँ प्रत्येक सत्य विश्‍‍वासीले माथिको कुरालाई हेर्नुपर्छ, र उसले विश्‍‍वासद्वारा प्रतिज्ञाको धनुष उसको वरिपरी देख्‍न सकिन्छ ।MBA 156.2

    “परमप्रभुले मोल तिरेर छुट्‌याउनुभएकाहरू फर्केर आउनेछन् । तिनीहरू सियोनमा गीत गाउँदै पस्‍नेछन्; र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्द हुनेछ । तिनीहरूले आनन्द र हर्ष प्राप्‍त गर्नेछन् । अनि शोक सुस्केरा दूर हुनेछ । तिमीहरूलाई सान्त्‍वना दिने म नै हुँ । मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस् ? आकाशलाई फैल्याउनुहुने र पृथ्वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस् ? झुकेर लत्रक्‍क परेका कैदीहरू चाँडै़ मुक्त हुनेछन् । तिनीहरू झ्यालखानको खोरभित्र मर्नेछैनन्, नता तिनीहरूलाई खानेकुराको कमी हुनेछ । किनकि म परमप्रभु तेरा परमेश्‍‍वर हुँ, जसले समुद्रलाई [विभाजन गर्छ] घोल्छ, र छालहरू गर्जन्छन् । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छ ।” यशैया ५१:११-१६ ।MBA 156.3

    “यसैकारण यो कुरा सुन्, तँ दुःखित र मात्तिएकी, तर दाखमद्यले त होइन । तेरा परमप्रभु, तेरा परमेश्‍‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्छ, उहाँ यो भन्नुहुन्छ: ‘हेर, मैले तेरो हातबाट त्यो धरमराइदिने कचौरा लिएको छु, त्यो मेरो क्रोधको कचौरा ! तैंले त्यो फेरि कहिल्यै पिउनेछैनस् । म त्यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, “घोप्‍टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं ।” अनि तैंलेचाहिँ आफ्‍नो पीठ भुइँ र हिँड्‍ने सड़कजस्तै तुल्याइदिइस् ।’” यशैया ५१:२१-२३ ।MBA 157.1

    परमेश्‍‍वरले आगामी युगहरूमा नजर लगाउनुभयो जुन उहाँका जनहरूले सामना गर्नुपर्ने सङ्‌कष्‍टमा निर्धारित भएको थियो, जबकि पृथ्वीका शक्तिहरूले तिनीहरूको विरूद्धमा युद्ध गर्नेछन् । बहिष्कृत कैदीझैँ तिनीहरू पनि भोक र आतङ्कद्वारा आउने मृत्युदेखि डराउनेछन् । तर पवित्र जन, जसले इस्राएलको सामु लाल समुद्रलाई विभाजन गर्नुभयो, उहाँले नै शक्तिशाली सामर्थ्य प्रकट गर्नुहुनेछ, र तिनीहरूको बन्धन तोड्‍नुहुनेछ । “‘जुन दिन म मेरो निजी धन बनाउनेछ, तिनीहरू मेरा हुनेछन्,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । ‘जसरी कुनै मानिसले आफ्‍नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्‍नेछु ।’” मलाकी ३:१७ । यदि यो समयमा ख्रीष्‍टका विश्‍‍वासयोग्य साक्षीहरूले रगत बगाएको भए पनि परमेश्‍‍वरका निम्ति कटनी उत्पादन गर्ने शहिदहरूका रगत रोपिएको बीउ जस्तै हुनेथिएन । तिनीहरूका भक्ति अरूलाई सत्यतातर्फ विश्‍‍वास दिलाउने गवाही हुनेथिएन; किनकि तिनीहरूले कड़ा हृदयसाथ फर्केर नआउने गरी कृपाका छालहरू फर्काएका छन् । यदि धर्मीहरू तिनीहरूका शत्रुहरूका शिकार बन्न छोड़िए भने त्यो अन्धकारको राजकुमारले एक विजय प्राप्‍त गर्नेथियो । भजनसंग्रहको लेखक भन्दछन्: “सङ्‌कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ ।” भजनसंग्रह २७:५ । ख्रीष्‍टले भन्नुभएको छ: “हे मेरो प्रजाहो, आओ, आफ्‍ना कोठाहरूभित्र पस, र आफ्‍नोपछि आफ्‍ना ढोकाहरू थुन; क्रोध नहटुञ्‍जेल, थोरै क्षणसम्म लुकिबस ! किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनलाई परमप्रभु आफ्‍नो ठाउँबाट निस्केर आउनुहुन्छ ।” यशैया २६:२०-२१ (KJV) । उहाँको आगमनलाई धैर्यसाथ प्रतीक्षा गर्नेहरू र जीवनको पुस्तकमा लेखिनेहरूको मुक्ति महिमित हुनेछ ।MBA 157.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents