Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १२. परमेश्‍‍वरका जनहरूका उद्धार

    (अंग्रेजी पुस्तक अध्याय ४० पृष्‍ठ ६३५)

    जब परमेश्‍‍वरका व्यवस्थाहरूलाई कदर गर्नेहरूबाट मानविक व्यवस्थाहरूले सुरक्षा गर्न छोड़िदिन्छन्, तब विभिन्न देशहरू एकसाथ मिलेर तिनीहरूलाई नष्‍ट गर्न तयारी गर्नेछन् । जब आदेशअनुसार निर्धारित समय नजीक आउँछ, तब मानिसहरूले त्यो घृणित धर्म पन्थलाई जरैसमेत उखाल्‍ने षड्‌यन्‍‍त्र गर्नेछन् । एकै रातमा निर्णायक प्रहारले हिर्काउने दृढ निर्णय गर्नेछन्, जसले असहमत र हप्कीको आवाजलाई पूर्णरूपले शान्त पार्नेछन् ।MBA 159.1

    परमेश्‍‍वरका मानिसहरू—कोही जेलका कोठाहरूमा, कोही जङ्गलहरू र पहाड़हरूको एकान्त ठाउँमा शरण लिँदै लुकेर बसेका हुन्छन्—अझै पनि दैवीय सुरक्षाको निम्ति विन्ती गर्छन्, जबकि प्रत्येक ठाउँहरूमा हतियारधारी मानिसहरूका दलहरू दुष्‍ट आत्माहरूका सेनाहरूद्वारा प्रेरित भएर तिनीहरूले मृत्युको कार्य तयार गरिरहेका हुन्छन् । यही नै समयमा अति चरमताको घड़ीमा इस्राएलका परमेश्‍‍वर उहाँका चुनिएकाहरूका उद्धारका निम्ति खड़ा हुनुहुनेछ । परमप्रभु भन्नुहुन्छ; “पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ । परमप्रभुको पर्वत, अर्थात् इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई ... रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ । रिसको झोँक, भष्म गर्ने आगोको ज्‍वाला, र गड्‌याङगुडुरुङ र आँधी बेहरी र असिनासहित परमप्रभुले मानिसहरूलाई आफ्‍नो प्रतापको वाणी सुन्न र आफ्‍नो बाहुबलको चमक देख्‍न लगाउनुहुनेछ ।” यशैया ३०:२९, ३० ।MBA 159.2

    विजय, उपहास र अभिशापको आवाजसाथ दुष्‍ट मानिसहरूका घुँइचोहरू तिनीहरूका शिकारमाथि जाइलाग्‍न तयार हुन्छन्, जब, हेर, एक निष्पट्ट अँध्यारो, अर्थात् रातको अन्धकारभन्दा पनि गहिरो अन्धकारले पृथ्वीलाई छोप्छ । त्यसपछि परमेश्‍‍वरको सिंहासनदेखि महिमासाथ चम्किएको एउटा इन्द्रेणीले आकाशको एक छेउदेखि अर्को छेउसम्म प्रार्थना गरिरहेका प्रत्येक दललाई घेरेको जस्तो देखिन्छ । रिसाहा भीड़हरू अचानक छक्‍क पर्छन् । तिनीहरूका उपहासजनक चित्कारहरू हराएर जान्छन् । जसप्रति तिनीहरूको हत्यारा रिस थियो सो अब बिर्सेको हुन्छ । तिनीहरूले परमेश्‍‍वरको करारको चिन्हलाई डरलाग्दो पूर्वज्ञानसाथ हेरिरहन्छन् र तिनीहरू त्यो अत्यन्तै उज्‍ज्‍वलताबाट लुक्‍ने इच्छा गर्छन् ।MBA 159.3

    परमेश्‍‍वरका जनहरूले एक स्पष्‍ट र सुरिलो आवाजले यसो भनिरहेका सुन्छन्, “यतामाथि हेर,” र तिनीहरूले उनीहरूका आँखाहरू आकाशतिर उठाएर हेर्दा तिनीहरूले प्रतिज्ञाको धनुष देख्दछन् । अन्तरिक्षलाई छोपेको कालो र रिसाहा बादलहरू हटेका हुन्छन्, र तिनीहरूले पनि स्टिफनसले झैँ दृढतासाथ माथि स्‍वर्गतिर हेर्छन् र परमेश्‍‍वरको महिमा र मानिसका पुत्र आफ्‍ना सिंहासनमाथि विराजमान् हुनुभएको देख्‍छन् । तिनीहरूले उहाँको दैवीय आकारमै उहाँको अपमानका चिन्हहरू देख्‍छन्; र तिनीहरूले उहाँको ओठबाट आफ्‍ना पिता र पवित्र स्‍वर्गदूतहरूको अगि यसरी अनुरोध गर्नुभएको सुन्छन्: “म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून् ।” यूहन्ना १७:२४ । फेरि सङ्गीतमय र विजयपूर्ण एक स्‍वरले यसो भनिरहेको सुनिन्छ: “पवित्र, निर्दोष, निर्मल, तिनीहरू आउँछन् ! तिनीहरू आउँछन् ! तिनीहरूले मेरो धैर्यको वचन पालन गरेका छन्; तिनीहरू स्‍वर्गदूतहरूका माझमा हिँड्‍नेछन्,” र ज-जसले आफ्‍ना विश्‍‍वास दृढतासाथ थामिराखे, तिनीहरूका पहेलो र काँप्दै गरेका ओठहरूबाट विजयको कराइ उच्‍चारण हुन्छ ।MBA 160.1

    उहाँका मानिसहरूलाई उद्धार गर्न परमेश्‍‍वरले मध्यरातमा उहाँको शक्ति प्रदर्शन गर्नुहुन्छ । घाम त्यसको पूरा शक्तिमा चम्किरहेको देखिन्छ । चिन्हहरू र अचम्मलाग्दा कार्यहरू चाँडै़ नै एकपछि अर्को गर्दै आउँछन् । दुष्‍टहरूले त्यो दृश्‍‍यलाई भय र चकितसाथ हेर्छन् भने धर्मीहरूले तिनीहरूको उद्धारका सङ्केतहरू गम्भीर आनन्दसाथ हेर्छन् । प्रकृतिमा भएका सम्पूर्ण थोकहरू आ-आफ्‍ना मार्गदेखि हटेका जस्तो देखिन्छन् । खोलाहरू बग्‍न छोड्‍छन् । काला, बाक्‍ला बादलहरू मड़ारिदै आउँछन् र एक-अर्कामा ठोकिन्छन् । क्रोधित आकाशको बीचमा एक अवर्णनीय महिमित तथा सफा अन्तरिक्षबाट धेरै पानीहरूको आवाज जस्तै यसो भन्ने परमेश्‍‍वरको सोर आउँछ: “अब सिद्धियो ।” प्रकाश १६:१७ ।MBA 160.2

    त्यो आवाजले आकाश र पृथ्वी थर्काइदिन्छ । त्यहाँ यस्तो शक्तिशाली भूकम्प हुन्छ, “यति भयानक भूकम्प कि पृथ्वीमा मानिसहरूको उत्पत्ति भएदेखि यसो कहिल्यै गएको थिएन ।” प्रकाश १६:१८ । आकाश खुला र बन्द भइरहेको जस्तो देखिन्छ । परमेश्‍‍वरको सिंहासनबाट आएको महिमा बादलद्वारा घरीघरी चम्किरहेको देखिन्छ । हावामा निगालो हल्‍लिएझैँ पहाड़हरू हल्‍लिन्छन्, र फुटेका चट्टानहरू जथाभाबी छरपष्‍ट भएका हुन्छन् । त्यहाँ आँधी-बेहरी आएझैँ गर्जनको आवाज सुनिन्छ । समुद्र त्यसको प्रचण्डतामा उर्लिएको हुन्छ । विनाशको कार्यमा भूतहरू चिच्याएझैँ त्यहाँ भूमरीको आवाज सुनिन्छ । समस्त पृथ्वी समुद्रका छालहरूझैँ माथि-तल भइरहन्छ । त्यसको सतह टुक्रिँदै जान्छ । त्यसको जग नै नष्‍ट भइरहेझैँ देखिन्छ । पहाड़का श्रृङ्खलाहरू डुबिरहेका हुन्छन् । निर्वासित टापुहरू हराउँछन् । सदोमझैँ दुष्‍टताले भरिएका बन्दरगाहहरू पानीको प्रचण्डताले निलिएका हुन्छन् । महान् बेबिलोन परमेश्‍‍वरको सम्झनामा आएको छ ताकि “उहाँले आफ्‍नो क्रोधको भयानक मद्यले भरिएको कचौरा त्यसलाई पिउन” दिन सकोस् । ठूला-ठूला असिनाहरू, प्रत्येक “एक-एक सय किलोग्रामको असिना”-ले विनाशको काम गरिरहेका हुन्छन् । प्रकाश १६:१९, २१ । पृथ्वीमा भएका सबभन्दा घमण्डी शहरहरू तल खसालिएका हुन्छन् । ऐश्‍‍वर्यपूर्ण महलहरू, जसमा संसारका महान् मानिसहरूले तिनीहरूकै महिमाका लागि सम्पत्ति उड़ाएका थिए, ती सब तिनीहरूकै नजरमा भत्किएर विनाश भइरहेका हुन्छन् । जेलका कोठाहरू दुइ भाग भई टुक्रिन्छन्, र तिनीहरूका विश्‍‍वासका खातिर कैदीमा परेका परमेश्‍‍वरका जनहरू स्‍वतन्‍‍त्र हुन्छन् ।MBA 160.3

    चिहानहरू खुलिन्छन्, “पृथ्वीका धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि ।” दानिएल १२:२ । परमेश्‍‍वरले उहाँको व्यवस्था पालन गर्नेहरूसँग शान्तिको करार बाँध्‍नुहुनेछ र तेस्रो स्‍वर्गदूतको सन्देशमा विश्‍‍वास गरी मरेकाहरू सबै जना सो सुन्न चिहानबाट महिमित भएर बौरी उठ्‌नेछन् । जसले ख्रीष्‍टका मर्दै गरेका वेदनाहरूमाथि ठट्टा गरे र खिल्‍ली उड़ाए, साथै जो उहाँको सत्यता र उहाँका मानिसहरूको सबभन्दा दुष्‍ट विरोधीहरू थिए तथा “तिनीहरू ... पनि, जसले उहाँलाई घोचे”—उहाँलाई महिमामा हेर्न साथै बफादारी र आज्ञाकारीहरूले हासिल गरेको आदर हेर्नका लागि बौरी उठ्‌छन् । (प्रकाश १:७) ।MBA 161.1

    बाक्‍ला बादलहरूले आकाशलाई अझै पनि छोपेका हुन्छन्; तापनि यहोवाको बदला लिने नजरझैँ घामको प्रकाश घरीघरी देखा परिरहेको हुन्छ । हिंस्रक बिजुली चम्काइहरू आकाशबाट हानिएर आउँछन्, अग्‍निमय तन्नाले झैँ पृथ्वीलाई ढाकिरहेको हुन्छ । भयानक मेघ गर्जनभन्दा पनि अति नै रहस्यमय र डरलाग्दा सोरहरूले दुष्‍टहरूको सजाय घोषणा गर्छन् । ती शब्दहरू सबैले बुझ्दैनन्; तर झूटा शिक्षकहरूले भने ती शब्दहरू स्पष्‍ट बुझेका हुन्छन् । केही समय अघि तिनीहरू जो अति नैMBA 161.2

    लापरवाही, अभिमानी, अहङ्कारी र परमेश्‍‍वरका आज्ञा पालन गर्नेहरूमाथि गरेको क्रूरतामा तिनीहरू असाध्यै हर्षित भएका थिए अब तिनीहरू भयाकुलता र डरले काँप्दै चकित भएका हुन्छन् । तिनीहरूका विलापहरू हावा-बतासको आवाजभन्दा पनि उच्‍च सुनिएका हुन्छन् । भूतहरूले ख्रीष्‍टको दैवीयतालाई स्‍वीकार गर्छन् र उहाँको शक्तिमाथि थर्थर काम्छन्, जबकि मानिसहरूचाहिँ कृपाका निम्ति विन्ती गरिरहेका हुन्छन् र घोर त्रासमा लम्पसार गरिरहेका हुन्छन् ।MBA 162

    जब प्राचीन समयका अगमवक्ताहरूले परमेश्‍‍वरको दिन पवित्र दर्शनमा हेरे, तब तिनीहरूले यसो भने: “डाँको छोडी-छोडी रोऊ, किनकि परमप्रभुको दिन नजीक छ । शर्वशक्तिमान्को तर्फबाट भयङ्कर सर्वनाशको रूपमा त्यो आउनेछ ।” यशैया १३:६ । “परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक ! मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ । सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै ‘मै हुँ’ भन्नेहरूमाथि सर्वशक्तिमान् परमप्रभुको यस्तो एक दिन आइपर्नेछ । [र तिनीहरू विनम्र तुल्याइनेछन्],” “त्यस दिन मानिसहरूले आफ्‍नो निम्ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्द्रा र चमेराका अगि फालिदिनेछन् । जब पृथ्वीलाई थर्कमान तुल्याउन परमप्रभु उठ्‌नुहुन्छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्दराहरू र चट्टानका चिराहरूभित्र जानेछन् ।” यशैया २:१०-१२, २०, २१ ।MBA 162.1

    बादलहरूको फटाइद्वारा एउटा तारा चम्किन्छ जसको उज्‍ज्‍वलता अन्धकारको तुलनामा चार गुणा बढी हुन्छ । यसले विश्‍‍वासयोग्यहरूसँग आशा र आनन्दको कुरा गर्दछ, तर परमेश्‍‍वरको व्यवस्था भङ्ग गर्नेहरूलाई कठोरता र क्रोधको कुरा गर्दछ । ज-जसले ख्रीष्‍टको खातिर सबै थोक बलिदान गरेका छन् अब तिनीहरू सुरक्षित भएका छन्, र परमप्रभुको शरणस्थानमा झैँ लुकेका छन् । तिनीहरू जाँचिएका छन्, र जो तिनीहरूका निम्ति मर्नुभयो उहाँकै बफादारिता तिनीहरूले संसार र सत्यतालाई घृणा गर्नेहरूको सामु प्रमाणित गरेका छन् । जसले मृत्युकै मुखमा पनि तिनीहरूका निष्कपटता बलियो गरी पक्रेका छन् अब तिनीहरूमा अचम्मलाग्दो परिवर्तन भएको छ । तिनीहरू अन्धकारबाट साथै भूतहरूमा परिणत भएका मानिसहरूको डरलाग्दो तानाशाहबाट अचानक बचाइएका छन् । तिनीहरूका अनुहारहरू केही समय अघि पहेलो, चिन्तित, थाकेको र चकित थिए भने अब अचम्म विश्‍‍वास, र प्रेमले उज्याला भएका छन् । तिनीहरूका सोरहरू विजयपूर्ण गीतमा उचालिन्छन्: “परमेश्‍‍वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्‌कष्‍टमा सधैँ हाजिर रहने सहायता । यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्वी उथलपुथल होस्, वा पर्वतहरू समुद्रको गर्भमा खसून्, चाहे समुद्र गर्जोस् र फीँज काढ़ोस्, र चाहे त्यो उर्लेर आउँदा पर्वतहरू थर्कून् ।”भजनसंग्रह ४६:१-३ ।MBA 162.2

    जब यी पवित्र भरोसाका शब्दहरू परमेश्‍‍वरकहाँ मास्तिर जान्छन्, तब बादलहरू पछाड़ि हट्‍छन्, र दुवैपट्टिको कालो र प्रचण्ड अन्तरिक्षको तुलनामा ताराहरूले भरिएको अवर्णनीय आकाश देखिन्छ । स्‍वर्गीय शहरको महिमा त्यो थोरै उघ्रिएका ढोकाहरूबाट बहन्छ । त्यसपछि बन्द भएको दुई ओटा शिला-पाटी समातेको एउटा हात आकाशमा देखापर्छ । अगमवक्ता भन्दछन्: “अनि आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ; किनकि परमेश्‍‍वर आफै नै न्यायाधीश हुनुहुन्छ ।” भजनसंग्रह ५०:६ (KJV) । त्यो पवित्र व्यवस्था, परमेश्‍‍वरको धार्मिकता, जुन सिनै पहाड़बाट जीवनको निर्देशकको रूपमा मेघ गर्जन र ज्‍वालाको बीचबाट घोषणा गर्नुभएको थियो, अब मानिसहरूमा न्यायको कानुन अनुरूप प्रकट भएको छ । त्यो हातले शिला-पाटीहरू खोल्छ, र त्यहाँ दश आज्ञाका विधानहरू आगोको कलमले लेखिएझैँ देखिन्छन् । शब्दहरू यति नै छर्लङ्ग हुन्छन् कि सबैले त्यसलाई पढ्‍न सक्छन् । स्मरण क्रियाशील भएको हुन्छ, र प्रत्येक दिमागहरूबाट अन्धविश्‍‍वास र छलहरूको अन्धकार हटेको हुन्छ, र परमेश्‍‍वरका दश वचनहरू सारांशमा, विस्तृतरूपमा र अधिकारसहित सम्पूर्ण पृथ्वीका बासिन्दाहरूको दृष्‍टिमा प्रस्तुत भएका हुन्छन् ।MBA 163.1

    परमेश्‍‍वरका पवित्र व्यवस्थाहरूमाथि कुल्‍चीमिल्‍ची गर्नेहरूको त्रास र उदासलाई वर्णन गर्न असम्भव छ । परमप्रभुले तिनीहरूलाई उहाँको व्यवस्था दिनुभयो; त्यहाँ पश्‍चात्ताप र सुधारको अवसर हुँदै तिनीहरूले आफ्‍ना चरित्रहरू त्यससँग तुलना गर्न सक्थे र त्यसबाट तिनीहरूका कमजोरीहरू सिक्‍न सक्थे; तर तिनीहरूले संसारको समर्थन प्राप्‍त गर्नका लागि त्यसका विधानहरू हटाए र अरूलाई पनि लत्याउन सिकाए । अब तिनीहरूले परमेश्‍‍वरका जनहरूलाई पनि उहाँको शबाथलाई अपमान गराउन बाध्य तुल्याउने प्रयत्‍न गरेका छन् । तिनीहरूले घृणा गरेको त्यही व्यवस्थाद्वारा नै तिनीहरू दोषी ठहरिएका छन् । तिनीहरूले अति नै स्पष्‍टतासाथ देख्दछन् कि अब तिनीहरूको कुनै बहाना छैन । तिनीहरूले कसलाई सेवा गर्ने र आराधना गर्ने भन्ने कुरामा निर्णय गरेका छन् । “तब तिमीहरू फर्कनेछौ, र धर्मी र दुष्‍टको बीचमा, अनि परमेश्‍‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको बीचमा के भिन्नता रहेछ, सो थाहा पाउनेछौ ।” मलाकी ३:१८ (KJV) ।MBA 163.2

    परमेश्‍‍वरको व्यवस्थाका शत्रुहरू, प्रचारकहरूदेखि लिएर तिनीहरूमध्ये सबभन्दा सानोले पनि सत्यता र कर्तव्यको बारेमा नयाँ विचार धारण गरेका छन् । जब अति नै ढिलो भइसकेको हुन्छ त्यसपछि मात्र तिनीहरूले चौथो आज्ञाको शबाथचाहिँ जीवित परमेश्‍‍वरको मोहोर हो भनी बुझ्छन् । तिनीहरूले आफ्‍नो झूटो शबाथको स्‍वभाव र जसमाथि तिनीहरूले निर्माण गरिरहेका थिए, त्यो बालुवाको जग तिनीहरूले अति नै ढिलो देख्‍छन् । तिनीहरू आफै परमेश्‍‍वरको विरूद्धमा लड़ाइँ गरिरहेको अवस्थामा फेला पर्छन् । धार्मिक शिक्षकहरूले मानिसहरूलाई स्‍वर्गका ढोकाहरूतर्फ लैजाने बहाना गर्दै विनाशमा पुऱ्याएका छन् । अन्तिम हिसाबको दिन नआएसम्म पवित्र कार्यालयमा मानिसहरूको जिम्मेवारी कति ठूलो छ र तिनीहरूको अविश्‍‍वासीपनका परिणामहरू कति डरलाग्दा छन् भनी थाहा हुनेछैन । हामीले अनन्ततामा मात्रै एक प्राणको घाटालाई यथोचितरूपमा अनुमान गर्न सक्छौं । जसलाई परमेश्‍‍वरले भन्नुहुन्छ; तँ दुष्‍ट नोकर, मबाट दूर होओ, त्यसको विनाश डरलाग्दो हुनेछ ।MBA 163.3

    स्‍वर्गबाट येशूको आगमनको दिन र घड़ी घोषणा गरिरहेको र उहाँको मानिसहरूसँग अनन्त करार वर्णन गरिरहेको परमेश्‍‍वरको सोर सुनिन्छ । उहाँका शब्दहरू सबभन्दा चर्को मेघ गर्जनको घण्टाजस्तै पृथ्वीभरि गुञ्‍जिन्छन् । परमेश्‍‍वरको इस्राएलले तिनीहरूका आँखा मास्तिर केन्द्रित गर्दै सुनिरहन्छन् । जसरी मोशा सिनै पर्वतबाट ओर्लेर आउँदा तिनको मुहार चम्केको थियो, त्यसरी नै तिनीहरूका मुहारहरू उहाँको महिमाले गर्दा चम्कन्छन् । दुष्‍टहरूले तिनीहरूलाई हेर्न सक्दैनन् । जसले परमेश्‍‍वरलाई उहाँको शबाथ पवित्र राखेर आदर गरे, जब तिनीहरूमाथि आशिष्‌को घोषणा भएको हुन्छ, तब त्यहाँ ठूलो विजयको कराइ हुन्छ ।MBA 164.1

    चाँडै नै पूर्वतिर मान्छेको हातको लगभग आधा आकारको एक सानो कालो बादल देखिन्छ । यही बादलले नै मुक्तिदातालाई घेर्दछ र त्यो टाढ़ा भएको कारणले अन्धकारले घेरेको जस्तै देखिन्छ । परमेश्‍‍वरका जनहरूले जान्दछन् कि यो मानिसको पुत्रको चिन्ह हो । जसरी त्यो पृथ्वी नजीक-नजीक आउँछ तिनीहरूले त्यसलाई गम्भीर सन्नाटासाथ हेरिरन्छन्, त्यो अझैं उज्‍ज्‍वल र महिमित हुँदै अन्तमा त्यो ठूलो सेतो बादलमा परिणत हुन्छ, त्यसको आधारमा भष्म पार्ने आगो जस्तो महिमा हुन्छ, र त्यसमाथि करारको इन्द्रणी रहेको हुन्छ । येशू एक शक्तिशाली विजेताको रूपमा सवार गरेर आउनुहुन्छ । अहिले शर्म र डरको तीतो कचौरा पिउन “दुःखित मानिस”-को रूपमा होइन, तर उहाँ जीवित र मृतकहरूलाई न्याय गर्न स्‍वर्ग र पृथ्वीका विजेताको रूपमा आउनुहुन्छ । “विश्‍‍वासयोग्य र सत्य,” “धार्मिकतामा उहाँले इन्साफ र युद्ध गर्नुहुन्छ ।” अनि “स्‍वर्गमा भएका सेनाहरू”-ले उहाँलाई पछ्‌याउँछन् । (प्रकाश १९:११, १४) । स्‍वर्गीय धुनको भजनसाथ असङ्ख्य पवित्र स्‍वर्गदूतहरू उहाँको आगमनमा उपस्थित हुन्छन् । अन्तरिक्षमा चहकिला प्राणीहरू भरिएको जस्तो देखिन्छ&mash;दश हजारगुणा दश हजार, तथा हजारौँ-हजार । त्यो दृश्‍‍यलाई कुनै पनि मानविक कलमले कोर्न सकिँदैन; त्यसको महिमालाई कुनै मरणशील दिमागले परिपूर्णरूपले बुझ्‍न सक्दैन । “उहाँको महिमाले आकाशलाई ढाक्‍यो, र पृथ्वीचाहिँ उहाँको प्रशंसाले भरपूर थियो । अनि उहाँको चमक ज्योतिजस्तो थियो ।” हबकूक ३:३, ४ (KJV) । जसै जिउँदो बादल अझैं नजीक आइपुग्दछ, प्रत्येक आँखाले जीवनको राजकुमारलाई देख्‍छ । अब त्यो पवित्र शिरलाई कुनै पनि काँढाको मुकुटले कुरूप बनाएको हुँदैन; तर उहाँको पवित्र निधारमा महिमाको मुकुट राखिन्छ । उहाँको मुहार मध्य दिनमा चम्कने घामभन्दा उज्‍जवल भई चम्कन्छ । “उहाँका पोशाक र तिघ्रामा ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ अङ्कित छ ।” प्रकाश १९:१६ ।MBA 164.2

    उहाँको उपस्थितिमा “हरेकको अनुहार मरेको जस्तै पहेलो भएको छ,” परमेश्‍‍वरको कृपालाई अस्‍वीकार गर्नेहरू अनन्त नैराश्‍‍यको डरमा फस्छन् । “हृदयहरू गल्छन्, घुँड़ाहरू काँप्छन्, ... सबै चेहराहरू पहेँला-पहेँला हुन्छन् ।” यर्मिया ३०:६; नहूम २:१० । धर्मीहरू काँप्दै यसो भन्छन्: “को उभिन सक्छ र ?” स्‍वर्गदूतहरूको गीत शान्त हुन्छ, र केही समयसम्म भयानक सुनसान हुन्छ । त्यसपछि यसो भनिरहेको येशूको आवाज सुनिन्छ: “मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ ।” धर्मीहरूका मुहारहरू उज्‍ज्‍वल हुन्छन्, र प्रत्येक हृदयमा आनन्दले भरिन्छ । तिनीहरू पृथ्वीको जति नजीक आउँछ त्यति स्‍वर्गदूतहरूले अझैं उच्‍च स्‍वरमा बजाएर फेरि गाउँछन् ।MBA 165.1

    राजाहरूका राजा बादलमाथि सवार भई, ज्‍वालामय आगोका साथ ओर्लनुहुन्छ । आकाश चर्मपत्रझैँ बेह्रिएर जान्छ, र पृथ्वी उहाँको सामु काँप्छ, र प्रत्येक पहाड़ र टापु त्यसको ठाउँबाट सरेको हुन्छ । “हाम्रा परमेश्‍‍वर आउनुहुन्छ, र मौन बस्‍नुहुनेछैन । उहाँको अघि एक भष्म पार्ने आगो छ, र उहाँको चारैपट्टि प्रचण्ड आँधीबेहरी छ । आफ्‍नो प्रजाको इन्साफ गर्न उहाँले माथिको आकाश र पृथ्वीलाई बोलाउनुहुन्छ ।” भजनसंग्रह ५०:३, ४ ।MBA 165.2

    “पृथ्वीका राजाहरू, राजकुमारहरू, जनरलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्‍वतन्‍‍त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके । तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, ‘हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ ?’” प्रकाश ६:१५-१७ ।MBA 165.3

    खिसी गर्ने ठट्टा बन्द भएको छ । झूटो बोल्‍ने ओठहरू चुप भएका छन् । हतियारहरू ठोकिएको आवाज, लड़ाइँको खैलाबैला साथै “हरेक लड़ाइँ होहल्‍लापूर्ण छ, र रगतमा गुड़िको लुगा” ती सबै शान्त भएको छ । (यशैया ९:५ KJV) । अहिले प्रार्थनाको सोर, रुवाइ र विलापको आवाज मात्र सुनिएको छ । केही क्षण अघि गिल्‍ला गरिरहेका ओठहरूबाट चित्कार फुटेर आउँछ: “उहाँको क्रोधको महान् दिन आएको छ; र को उभिन सक्‍ला र ?” जसलाई तिनीहरूले घृणा र अस्‍वीकार गरेका छन् उहाँको मुहार हेर्नुभन्दा त दुष्‍टहरूले बरु पहाड़का चट्टानहरूसँग तिनीहरूमाथि खस्‍ने अनुरोध गर्दछन् ।MBA 165.4

    जुन सोर मृतकहरूको कानमा प्रवेश गर्दछ, तिनीहरूले त्यो चिन्दछन् । कति पल्ट त्यसको दुःखजनक र नम्र आवाजले तिनीहरूलाई पश्‍चात्ताप गर्न बोलाएको थियो । कति पल्ट एक साथी, एक दाजु, र एक मुक्तिदाताका हृदयस्पर्शी विन्तीहरू सुनिएका थिए । उहाँको अनुग्रह अस्‍वीकार गर्नेहरूलाई लामो समयसम्म विन्ती गरेको यो आवाज जति अरू कुनै पनि कुरा त्यति दण्डको पूर्णता र निन्दाको बोझ हुन सक्दैनथ्यो: “तिमीहरू फर्क ! तिमीहरू आफ्‍ना दुष्‍ट चालहरूबाट फर्क ! ... तिमीहरू किन मर्छौ ?” इजकिएल ३३:११ (KJV) । ओहो, यो त तिनीहरूका निम्ति प्रवासीको सोर भए जाती हुन्थ्यो ! येशू भन्नुहुन्छ: “किनभने मैले पुकारें, तर तिमीहरूले इन्कार गऱ्यौ; मैले आफ्‍नो हात फैल्याएँ, तर कसैले वास्ता गरेन; तर तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठान्यौ, र मेरो कुनै हप्की चाहेनौ ।” हितोपदेश १:२४, २५ (KJV) । जुन सोरलाई तिनीहरूले हटाउन चाहन्थे त्यही सोरले तिनीहरूलाई स्मरणहरू दिलाउँछ—चेतावनीहरूलाई घृणा गरे, निमन्‍‍त्रणाहरू अस्‍वीकार गरे, अवसरहरू बेवास्ता गरे ।MBA 166.1

    त्यहाँ कति जना ख्रीष्‍टको अपमानमा खिसी गर्नेहरू पनि छन् । कष्‍ट भोग्‍ने व्यक्तिका शब्दहरूद्वारा तिनीहरूका दिमागहरूमा मन छुने शक्ति प्रवेश गर्छन्, जब प्रधान पूजाहारीद्वारा किरिया खाइयो तब उहाँले गम्भीर भइकन घोषणा गर्नुभयो: “अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्‍नुहुनेछ ।” मत्ती २६:६४ । अब तिनीहरूले उहाँलाई आफ्‍ना महिमामा देख्‍छन्, तिनीहरूले अझै पनि उहाँलाई शक्तिको दाहिने हाततर्फ बसिरहनुभएको देख्‍न बाँकी नै छ ।MBA 166.2

    ज-जसले उहाँको परमेश्‍‍वरको पुत्र भन्ने दाबीलाई खिसी गरेका थिए अब निःशब्द छन् । त्यहाँ हठी हेरोद पनि छ जसले उहाँको राजकीय शिर्षकमा हाँसो उड़ाएको थियो र खिसी गर्ने सिपाहीहरूलाई राजाको मुकुट लगाइदिने आदेश दिएको थियो । जसको अधर्मी हातले उहाँलाई बैजनी पोशाक लगाइदिएको थियो, उहाँको पवित्र निधारमा काँड़ाको मुकुट लगाइदिएको थियो, र उहाँको अप्रतिकारक हातमा नकली राजदण्ड दिएको थियो, र उहाँको अगि ईश्‍‍वर-निन्दक उपहासमा दण्डवत् गरेको थियो, त्यहाँ यी सबै मानिसहरू छन् । जुन मानिसहरूले जीवनको राजकुमारलाई प्रहार गरे र थुके अब तिनीहरूले उहाँको तीखो हेराइबाट नजर फर्काउँछन् र उहाँको उपस्थितिको अत्याधिक महिमाबाट भाग्‍ने प्रयास गर्दछन् । जसले उहाँका हातहरू र गोड़ाहरूमा काँटी ठोके, जुन सिपाहीले उहाँको कोखामा भालाले घोचे, तिनीहरूले यी चिन्हहरू त्रास र पछुतोसाथ हेर्छन् ।MBA 166.3

    डरलाग्दो स्पष्‍टतासाथ पूजाहारीहरू र शासकहरूले कलवरीका घटनाहरूको सम्झना गर्छन् । तिनीहरू त्रासले कामेर स्मरण गर्छन् कि तिनीहरूका शिर शैतानिक हर्षमा हल्‍लाएर कसरी चिच्याए: “‘यसले अरूलाई बचायो; आफैलाई चाहिँ यसले बचाउन सक्दैन । यो इस्राएलको राजा हो भने अब क्रूसबाट ओर्ली आओस्, र हामी यसलाई विश्‍‍वास गर्नेछौं । यसले परमेश्‍‍वरमाथि भरोसा गर्थ्यो; उहाँले यसलाई चाहनुहुन्छ भने उहाँले अहिल्यै यसलाई छुटकारा दिऊन् ।’” मत्ती २७:४२, ४३ (KJV) ।MBA 167.1

    मुक्तिदाताले भन्नुभएका किसानहरूको दृष्‍टान्त तिनीहरूले स्पष्‍टतासाथ स्मरण गर्छन्, जसमा तिनीहरूले दाखबारीको फल तिनीहरूका मालिकलाई दिन इन्कार गरेका थिए, जसले उहाँका नोकरलाई सताए र उहाँका पुत्रलाई हत्या गरे । तिनीहरू आफैले घोषणा गरेको सजाय पनि तिनीहरू स्मरण गर्छन्: “ती दुष्‍ट मानिसहरूलाई” दाखबारीको मालिकले “नराम्रो किसिमले नष्‍ट गर्नेछन् ।” ती अविश्‍‍वासी मानिसहरूको पाप र सजायमा पूजाहारीहरू र अगुवाहरूले आफ्‍नै मार्ग र आउने न्यायसङ्गत विनाश देख्‍छन् । अनि अब त्यहाँ विनाशकारी संतापको चित्कार आउँछ । यरूशलेमको सड़कभरि “क्रूसमा टाँग्‍नुहोस्, क्रूसमा टाँग्‍नुहोस्” भन्ने सोरभन्दा ठूलो यस्तो डरलाग्दो तरङ्ग, नैराश्‍‍यपूर्ण विलाप हुन्छ, “उहाँ नै परमेश्‍‍वरको पुत्र हुनुहुन्छ ! उहाँ नै सत्य मसिह हुनुहुन्छ !” तिनीहरू राजाहरूका राजाको उपस्थितिबाट भाग्‍ने जमर्को गर्छन् । संसारका गहिरा सुरुङ्गहरू जुन प्राकृतिक प्रकोपले फारेका थिए, त्यसमा तिनीहरू व्यर्थमा लुक्‍ने प्रयास गर्छन् ।MBA 167.2

    सत्यता इन्कार गर्नेहरूका जीवनहरूमा चेतना खुल्‍ने क्षणहरू आउँछन्, जब पाखण्डीपन जीवनका यातनादायिक स्मरण प्रकट हुन्छ तब त्यो प्राण व्यर्थको पछुतोले थकित हुन्छ । तर त्यो दिनको खेदलाई केसँग तुलना हुन्छ “जब तिमीहरूको डर आँधीबेहरीझैँ, ... जब विपत्ति र वेदना तिमीहरूमाथि आइपर्छन् ।” हितोउपदेश १:२७ । जसले ख्रीष्‍ट र उहाँका विश्‍‍वासयोग्य मानिसहरूलाई नष्‍ट पार्ने थिए अब तिनीहरूमाथि रहेका महिमा तिनीहरूले देख्‍छन् । तिनीहरूले आफ्‍नो आतङ्कको बीचमा पनि सन्तहरू आनन्दमय गीत गाइरहेका सोरहरू सुन्छन्: “हेर, यहाँ नै हाम्रा परमेश्‍‍वर हुनुहुन्छ: हामीले उहाँको बाटो हेऱ्यौं, र उहाँले हामीलाई बचाउनुहुनेछ ।” यशैया २५:९ (KJV) ।MBA 167.3

    पृथ्वीको उथलपुथल, बिजुलीको चमक, चट्‌याङ्गको गर्जनको बीचमा परमेश्‍‍वरको पुत्रको सोरले सुतिरहेका सन्तहरूलाई बाहिर बोलाउँछ । उहाँले धर्मीहरूको चिहानतर्फ हेर्नुहुन्छ र उहाँका हातहरू स्‍वर्गतिर उठाउनुभएपछि उहाँ यसरी कराउनुहुन्छ: “उठ, उठ, उठ, तिमीहरू जो धुलोमा सुतिगएका छौ, र खड़ा होओ !” पृथ्वीभरिका लम्बाइ र चौड़ाइका मृतकहरूले त्यो सोर सुन्नेछन्, र जसले सुन्छ त्यो जिउनेछ । अनि सारा पृथ्वीभरिका प्रत्येक जाति, कुल, भाषा र मानिसहरूको अति ठूलो फौज टेकेको आवाज गुञ्‍जिनेछ । तिनीहरू मृत्युको झ्यालखानाबाट अमरत्‍व महिमाको पोशाक धारण गरी यसरी कराउँदै निस्केर आउँछन्: “हे मृत्यु, तेरो खील कहाँ छ ? हे चिहान, तेरो विजय कहाँ छ ?” १ कोरिन्थी १५:५५ (KJV) । अब जिउँदो धर्मी र बौरी उठेका सन्तहरूले एकसाथ तिनीहरूका विजयको लामा र हर्षित सोरहरू उचाल्छन् ।MBA 168.1

    तिनीहरू जस्तो कदमा चिहानमा गएका थिए तिनीहरू सबै उस्तै निस्केर आउँछन् । आदम, जो बौरी उठेकाहरूमध्ये उचाइमा अग्‍लो र कदमा ऐश्‍‍वर्यशाली उभिन्छन्, तर परमेश्‍‍वरका पुत्रभन्दा अलिक होचो हुन्छ । तिनीद्वारा पछिल्‍लो पुस्ताका मानिसहरूमा अचम्मलाग्दो भिन्नता देखिएको हुन्छ; यो एउटा सम्बन्धमा चाहिँ जातिको ठूलो पतन प्रकट भएको छ । तर सबै जना अनन्त यौवनको ताजापन र जोशसाथ उठेको हुन्छ । आदिमा मानिस परमेश्‍‍वरको स्‍वरूपमा सृष्‍टि भएको थियो, चरित्रमा मात्र होइन, तर आकार र चेहरामा पनि उस्तै थियो । पापले ईश्‍‍वरीय स्‍वरूपलाई बिगारेर झण्डै उन्मुलन नै पाऱ्यो; तर जुन कुरा बिग्रेको थियो ख्रीष्‍ट त्यसलाई पुनर्निर्माण गर्न आउनुभयो । उहाँले हाम्रा मूल्यहीन शरीरहरू परिवर्तन गर्नुहुन्छ र तिनीहरूलाई उहाँको महिमित शरीर जस्तै बनाउनुहुन्छ । पहिले पापले दूषित भएको अवस्थामा मरणशील, विनाशी आकार, कुरूपता थियो, अब पूर्णता, सुन्दर, अमरत्‍व धारण गरेको हुन्छ । सबै खोटहरू र कुरूपताहरू चिहानमा छोड़िएका छन् । धेरै समय अघिदेखि गुमाएको अदनमा भएको जीवनको रूख पुनः प्राप्‍त गरेर मुक्ति पाएकाहरू आदिकालका जातिको महिमित कदको पूर्णतामा “बढ्‍नेछन् ।” (मलाकी ४:२) पापको सरापको अन्तिम बाँकी रहेका निशानाहरू अब मेटिनेछन्, र ख्रीष्‍टका विश्‍‍वासयोग्यहरू “परमप्रभु हाम्रा परमेश्‍‍वरको सुन्दरतामा” देखापर्छन्, तिनीहरूका दिमाग, प्राण र शरीरमा प्रभुको पूर्ण प्रतिरूप प्रतिबिम्बित हुन्छ । ओहो, अचम्मलाग्दो मुक्ति ! लामो समयसम्म कुरा गरेको, धेरै समयसम्म आशा गरेको, उत्सुक आशासाथ चिन्तन गरेको, तर कहिले पनि पूर्णरूपले नबुझेको ।MBA 168.2

    जिउँदा धर्मीहरू “एकै छिनमा, आँखाको झिमिकमा” परिवर्तन हुन्छन् । तिनीहरू परमेश्‍‍वरको सोरमा महिमित भएका थिए: अब तिनीहरू अमरत्‍व भएका छन् र बौरी उठेका सन्तहरूकासाथ आकाशमा प्रभुलाई भेट्‍न जान्छन् । स्‍वर्गदूतहरूले “आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” [मत्ती २४:३१] पवित्र स्‍वर्गदूतहरूले साना नानीहरूलाई बोकेर तिनीहरूका आमाहरूका हातहरूमा ल्याइदिनेछन् । मृत्युद्वारा लामो समयसम्म विच्छेद भएका साथीहरू भेला हुन्छन् र फेरि कहिले पनि विच्छेद हुनुपर्दैन, र हर्षपनको गीतकासाथ एकसाथ परमेश्‍‍वरको शहरमा उठाइलगिनेछन् ।MBA 169.1

    बादलको रथको प्रत्येक छेउमा पखेटाहरू छन्, र त्यसको मुनि जीवित पाङग्राहरू छन्; अनि जसरी रथ मास्तिर गुड्‍छ, ती पाङग्राहरू यसरी कराउँछन्, “पवित्र,” र तिनीहरू चल्दा पखेटाहरू पनि कराउँछन्, “पवित्र,” र स्‍वर्गदूतहरूका दल पनि कराउँछन्, “पवित्र, पवित्र, पवित्र, परमप्रभु सर्वशक्तिमान् परमेश्‍‍वर ।” त्यसपछि जब रथ नयाँ यरूशलेमतर्फ अगाड़ि बढ्‍छ तब मुक्ति पाएकाहरू यसरी कराउँछन्, “हल्‍लेलुयाह !”MBA 169.2

    परमेश्‍‍वरको शहरमा प्रवेश गर्नुभन्दा अघि मुक्तिदाताले उहाँका अनुयायीहरूलाई विजयका चिन्हहरू प्रदान गर्नुहुन्छ र तिनीहरूलाई राजकीय पदको अधिकार चिन्ह लगाउनुहुन्छ । चम्किला दर्जाकाहरू तिनीहरूका राजाको वरिपरी वर्गाकारमा भेला हुन्छन्, उहाँको आकृति सन्त र स्‍वर्गदूतभन्दा उच्‍च उपाधिमा उठ्‌छ, जसको मुहार पूर्ण दया र मायाले तिनीहरूमाथि उज्‍ज्‍वल हुन्छ । मुक्ति पाएका असंख्य दलले उहाँमा नै प्रत्येक नजर लगाएको हुन्छ, प्रत्येक आँखाले उहाँको महिमालाई हेर्छ जसको “अनुहार अरू कुनै मानिसको भन्दा ज्यादा बिग्रेको, र उसको रूप मानिसका सन्तानहरूको भन्दा ज्यादा कुरूप भएको थियो ।” येशूले विजयीहरूको शिरमा आफ्‍नै दाहिने हातले महिमाको मुकुट पहिराइदिनुहुन्छ । हरेकका निम्ति मुकुट साँचिएको हुन्छ, त्यसमा आफ्‍नै “नयाँ नाम” हुन्छ, (प्रकाश २:१७) र त्यसमा “परमप्रभुको निम्ति पवित्रता” खोपिएको हुन्छ । विजयीहरूलाई खजूरको पात र चम्किलो वीणा प्रत्येक हातमा दिइएको हुन्छ । त्यसपछि जब अगुवा स्‍वर्गदूतहरूले गीत उठाउँछन्, प्रत्येक हातले वीणाको तारलाई सीपपूर्ण स्पर्शसाथ तारङ्गित पार्छ, र गुञ्‍जयमान लयपूर्ण गीतका मीठा संगीतहरूमा उचाल्छन् । प्रत्येक हृदयमा व्यक्त गर्न नसकिने हर्षको तरङ्ग हुन्छ, र प्रत्येक सोरहरूले कृतज्ञताका प्रशंसा गर्छन्: “उहाँलाई नै, जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्‍नै रगतमा हामीलाई हाम्रा पापहरूबाट धुनुभयो, र परमेश्‍‍वर र आफ्‍ना पिताका निम्ति हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो, उहाँलाई नै महिमा र प्रभुता सदासर्वदा होस् ।” प्रकाश १:५-६ (KJV) ।MBA 169.3

    उद्धार पाएका दलको सामु पवित्र शहर छ । येशूले मोतीका ढोकाहरू पूर्णरूपले खोल्‍नुहुन्छ, र त्यसभित्र सत्यता कायम राख्‍ने जातिहरू प्रवेश गर्छन् । त्यहाँ तिनीहरूले परमेश्‍‍वरको स्‍वर्गीय बगैंचा देख्‍छन्, जुनचाहिँ आदम निर्दोष हुँदा तिनको घर थियो । त्यसपछि मरणशील कानले नसुनेको कुनै पनि सङ्गीतभन्दा सुमधुर सोरले यसो भनिरहेको सुनिन्छ: “तिमीहरूको संघर्ष अन्त्य भएको छ ।” “आओ, मेरा पिताका धन्यका हो ! संसारको उत्पत्तिदेखि तिमीहरूको निम्ति तयार गरिएको राज्यलाई अधिकार गर ।” [मत्ती २५:३४]MBA 170.1

    मुक्तिदाताले आफ्‍ना चेलाहरूका लागि गर्नुभएको प्रार्थना अब पूरा भएको छ: “तपाईंले मलाई जतिजना दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, त्यही मसँगै रहून भन्ने इच्छा म गर्दछु ।” “उहाँको महिमाका सामु अति आनन्दसहित दोषरहित” भएर (यहूदा २४ KJV) उहाँको रगतले किनिएकाहरूलाई ख्रीष्‍टले पिताकहाँ यसो भनेर प्रस्तुत गर्नुहुन्छ: “म यहाँ छु, र तपाईंले मलाई दिनुभएको सन्तानहरू पनि ।” “तपाईंले मलाई जतिजना दिनुभयो, तिनीहरूलाई मैले रक्षा गरें ।” ओहो, मुक्तिको प्रेमको आश्‍चर्यताहरू ! त्यो घड़ीको अति हर्ष, जब अनन्त पिताले मुक्ति पाएकाहरूमा उहाँको आफ्‍नो प्रतिरूप देख्‍नुहुनेछ, पापको खलबली हटाइनेछ, त्यसको अभिशाप पनि हटाइनेछ तब मानवजाति एकपल्ट दैवीयतासाथ पुनर्मिलन हुनेछ !MBA 170.2

    अवर्णनीय प्रेमको साथमा येशूले उहाँका विश्‍‍वासयोग्यहरूलाई तिनीहरूको प्रभुको आनन्दमा स्‍वागत गर्नुहुन्छ । उहाँको कष्‍ट र अपमानद्वारा उद्धार पाएकाहरू महिमाको राज्यमा देख्‍नु नै मुक्तिदाताको आनन्द हुन्छ । अनि जब मुक्ति पाएकाहरूका प्रार्थनाहरू, परिश्रमहरू र मायालु बलिदानद्वारा तिनीहरूले ख्रीष्‍टमा ल्याएकाहरू पनि आशिषितहरूका माझमा देख्‍छन् तब तिनीहरू पनि उहाँको आनन्दमा सहभागी हुनेछन् । जब तिनीहरू महान् सेतो सिंहासन वरिपरी भेला हुन्छन्, तब तिनीहरूका हृदयहरू असीम हर्षपनले भरिनेछन्, जब तिनीहरूले ख्रीष्‍टमा ल्याएकाहरूलाई देख्‍छन् र एउटाले अर्कालाई र अरूले अझैं अरूलाई गरी सबै स्‍वर्गीय विश्रामको आश्रयस्थानभित्र ल्याएको देख्‍छ, र त्यहाँ तिनीहरूले येशूको पाउमा तिनीहरूको मुकुट राख्‍छन् र उहाँलाई अनन्त चक्रभरि प्रशंसा गर्नेछन् ।MBA 170.3

    जब मुक्ति पाएकाहरूलाई परमेश्‍‍वरको शहरमा स्‍वागत गरिनेछन्, तब त्यहाँ एउटा आराधनाको हर्षित चर्को आवाज हावामा सुनिन्छ । दुवै आदमहरू भेट हुने बेला हुन्छ । परमेश्‍‍वरका पुत्रले हाम्रो जातिका पितालाई स्‍वीकार गर्न उभिएर उहाँको हात पसार्नुहुन्छ—जसलाई उहाँले सृष्‍टि गर्नुभएको थियो, जसले आफ्‍नो सृजकको विरूद्धमा पाप गरेको थियो, र जसको पापले गर्दा मुक्तिदाताले क्रूसका चिन्हहरू धारण गर्नुपऱ्यो । जब आदमले क्रूर काँटीहरूले छेडे़का दागहरू देख्‍छन्, तब तिनी आफ्‍ना प्रभुको अँगालोमा पर्दैनन्, तर उहाँको गोड़ामा हीनतासाथ कराउँदै लम्पसार पर्छन्: “मारिनुभएको थुमा योग्य, योग्य हुनुहुन्छ !” मुक्तिदाताले कोमलतासाथ तिनलाई उठाउनुहुन्छ र जहाँबाट तिनी पहिले नै बहिष्कृत भएका थिए त्यही अदनको घर अझैं एकपल्ट हेर्ने आदेश दिनुहुन्छ ।MBA 170.4

    अदनबाट बहिष्कार भएपछि आदमको जीवन पृथ्वीमा कष्‍टदायिक भएको थियो । प्रत्येक मरिरहेको पात, प्रत्येक बलिदान गरेको बलि, प्रकृतिको सुन्दर आकृतिको प्रत्येक अभिशाप, मानिसहरूको शुद्धतामा प्रत्येक दाग नै तिनको पापको एक ताजा स्मारक थियो । जब तिनले वृद्धि भइरहेको अधर्म देखे तब त्यो खेदको संताप डरलाग्दो थियो, र तिनका चेतावनीहरूको जवाफमा पापको कारक स्‍वरूप आफैले घृणाहरू सामना गरे । तिनले झण्डै हजार वर्षसम्म अधर्मको सजाय धैर्य दीनतासाथ सहे । तिनले विश्‍‍वासयोग्यसाथ आफ्‍नो पाप पश्‍चात्ताप गरे र प्रतिज्ञा गरिएको मुक्तिदाताका योग्यताहरूमा भरोसा राखे, र तिनी एक पुनरुत्थानको आशामा मरे । परमेश्‍‍वरका पुत्रले मानिसको असफल र पतनलाई चुक्ता गर्नुभयो; र अब प्रायश्‍चितको कार्यद्वारा आदम तिनको प्रथम अधिकारमा पुनःनियुक्ति गरिएका छन् ।MBA 171.1

    अति आनन्द भएर तिनले एक समयमा हर्षसाथ हेरेका रूखहरूलाई हेर्छन्—त्यही रूखहरू थिए जसका फलहरू तिनको निर्दोषता र आनन्दका दिनहरूमा आफैले बटुलेका थिए । तिनको आफ्‍नै हातले सम्हालेका लहराहरू र एक समयमा तिनले हेरचाह गर्न मन पराउने त्यही फूलहरू देख्‍छन् । तिनको दिमागले यो दृश्‍‍यको वास्तविकतालाई बोध गर्छ; तिनले अदन वास्तवमै पुनःप्राप्‍त गरेको हो भनी बुझ्छन्, तिनी त्यहाँदेखि बहिष्कार भएको बेलामा भन्दा पनि अहिले त्यो अझै सौन्दर्य हुन्छ । मुक्तिदातले तिनलाई जीवनको रूखमा लिएर जानुहुन्छ र त्यो महिमित फल टिप्‍नुहुन्छ र तिनलाई खाने अनुरोध गर्नुहुन्छ । तिनले आफ्‍नो वरिपरी हेछर्न् र तिनको परिवारबाट छुटकारा पाएकाहरूको भीड़ परमेश्‍‍वरको स्‍वर्गीय बगैंचामा उभिरहेका देख्‍छन् । त्यसपछि तिनले आफ्‍नो चम्किलो मुकुट येशूको गोड़ामा फ्‍याँकिदिन्छन् र उहाँको छातीमा ढल्केर मुक्तिदातालाई अँगालो हाल्छन् । तिनले सुनौलो वीणा छुन्छन्, र स्‍वर्गका बुर्जाहरू विजयको गीतले प्रतिध्वनी हुन्छन्: “योग्य, योग्य, थुमा योग्य हुनुहुन्छ जो मारिनुभएको थियो, र फेरि जीवित हुनुहुन्छ !” आदमको परिवारले एक सोरमा साथ दिन्छन् र जब तिनीहरू आराधनामा उहाँको सामु निहुरन्छन् तब मुक्तिदाताको गोड़ामा तिनीहरूको मुकुट फ्‍याँक्छन् ।MBA 171.2

    यो पुनर्मिलन स्‍वर्गदूतहरूले देख्‍छन् जुनहरूले आदमको पतनमा विलाप गरेका थिए, र जब येशूको पुनरुत्थान भयो जसले येशूमाथि विश्‍‍वास गर्छन् तिनीहरू सबैका लागि चिहानको ढोका खुल्‍ला गर्नुभयो र स्‍वर्गारोहण हुनुभयो तब ती स्‍वर्गदूतहरू आनन्दित भएका थिए । अब तिनीहरूले मुक्तिको कार्य सम्पन्न भएका देख्‍छन्, र तिनीहरूले आफ्‍ना सोरहरू प्रशंसाको गीतमा समावेश गर्छन् ।MBA 172.1

    सिंहासन सामु भएको काँचको समुद्रमाथि, जुन समुद्र आगो मिसिएको जस्तो देखिन्थ्यो—त्यो परमेश्‍‍वरको महिमाले अति नै प्रकाशमय छ—“त्यो पशु, त्यसको मूर्ति, त्यसको निशान र त्यसको नामको संख्यामाथि विजय पाउनेहरू” का दल जम्मा भएका छन् । तिनीहरू एक लाख चवालीस हजार, जुनहरूले मानिसहरूको बीचबाट मुक्ति पाएका थिए, र तिनीहरू थुमासँग सियोनको पहाड़मा “परमेश्‍‍वरका वीणाहरू लिएर” उभिन्छन्; र त्यहाँ “वीणा बजाइरहेका वीणा बजाउनेहरूको आवाज” (KJV) धेरै पानीहरू र ठूलो चट्‌याङ्गको आवाज जस्तै सुनिन्छ । अनि तिनीहरूले सिंहासनको सामु “एउटा नयाँ गीत गाउँछन्,” जुन गीत एक लाख चवालीस हजारले बाहेक अरू कसैले पनि सिक्‍न सक्दैन । यो मोशा र थुमाको गीत—एक छुटकाराको गीत—हो । एक लाख चवालीस हजारले बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैन; किनकि यो तिनीहरूको अनुभवको गीत हो—यस्तो अनुभव अरू कुनै पनि दलले कहिले पनि बटुलेको थिएन । “थुमा जता-जता जानुहुन्छ उहाँको पछि-पछि लाग्‍ने यिनीहरू नै हुन् ।” यिनीहरू जीवितहरूमध्ये पृथ्वीबाट जिउँदै स्‍वर्गारोहण भएर “परमेश्‍‍वर र थुमाका निम्ति पहिलो-फलको रूपमा” गनिएका छन् । प्रकाश १५:२, ३ (KJV); १४:१-४ । “यिनीहरू ती नै हुन्, जुनहरू सङ्‌कष्‍टबाट आएका हुन्;” तिनीहरूले यस्तो सङ्‌कष्‍टको समयलाई सामना गरेका छन्, जुन कुनै जातिको उत्पत्ति भएको समयदेखि कहिले भएको थिएन; तिनीहरूले याकूबको सङ्‌कष्‍टको समयको वेदना सहेका छन्; तिनीहरू परमेश्‍‍वरका अन्तिम न्यायहरू वेगसाथ आइपर्दा कुनै पनि मधस्थताविना नै उभिएका छन् । तर तिनीहरू बचाइएका छन्, किनकि “तिनीहरूले आफ्‍ना-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन् ।” “तिनीहरूको मुखमा कुनै झूट पाइएन, तिनीहरू” परमेश्‍‍वर अघि “निष्खोट छन् ।” “यसैकारण, ‘तिनीहरू परमेश्‍‍वरका सिंहासनको सामुन्ने छन्, र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमा हुनुहुनेले आफ्‍नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ ।’” तिनीहरूले पृथ्वी अनिकाल र विपत्तिले उजाड़ भएको, सूर्यले मानिसलाई ठूलो तापको शक्तिसाथ ढडाएको अवस्था देखेका छन्, र तिनीहरू आफैले कष्‍ट, भोक, र तिर्खा सहेका छन् । तर “तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन, किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोऱ्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्‍‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।” प्रकाश १४:५; ७:१४-१७ ।MBA 172.2

    समस्त युगहरूमा मुक्तिदाताका चुनिएकाहरू कष्‍टको पाठशालामा नै शिक्षा र अनुशासन प्राप्‍त गरिरहेका छन् । तिनीहरू पृथ्वीका साँघुरो गोरेटोहरूमा हिँडे; तिनीहरू वेदनाको भट्टीमा शुद्ध पारिए । किनकि तिनीहरूले येशूको खातिर विरोध, घृणा र निन्दा सहे । तिनीहरूले उहाँलाई कष्‍टदायी वेदनाद्वारा पछ्‌याए; तिनीहरूले आत्म-इन्कारको सहन गरे र तीता निराशहरूको अनुभव गरे । तिनीहरूको आफ्‍नै पीड़ादायिक अनुभवद्वारा तिनीहरूले पापको दुष्‍टता, त्यसको शक्ति, त्यसको दोष, त्यसको दुःखको विषयमा सिके; र अब तिनीहरूले त्यसलाई घृणाको दृष्‍टिकोण लगाउँछन् । त्यसको समाधानको असीम बलिदानको समझले तिनीहरूलाई आफ्‍नै दृष्‍टिमा नम्र बनाउँछ र तिनीहरूका हृदयहरू कृतज्ञता र प्रशंसाले भरिन्छ जबकि कहिले पनि पतन नभएकाहरूले त्यस्तो आभार व्यक्त गर्न सक्दैनन् । तिनीहरूले अधिक प्रेम गर्छन् किनकि तिनीहरूले अधिक क्षमा पाएका छन् । ख्रीष्‍टका कष्‍टहरूमा सहभागी भएर तिनीहरू उहाँसँगै उहाँको महिमामा सहभागी हुने योग्यका ठहरिएका छन् ।MBA 173.1

    परमेश्‍‍वरका उत्तराधिकारीहरू टाँडहरू, झुपड़ीहरू, कालकोठरीहरू, मृत्यु दण्ड दिने मचानहरू, पहाड़हरू, मरूभूमीहरू, पृथ्वीका गुफाहरू र समुद्रका सुरुङ्गहरूबाट आएका छन् । पृथ्वीमा तिनीहरू “दरिद्र, पीड़ित, यातनाग्रष्‍त थिए ।” लाखौँ मानिसहरू बदनामीको भारीले लादिएर चिहानमा गए किनकि तिनीहरूले शैतानका छलपूर्ण दाबीहरू अपनाउन दृढतासाथ इन्कार गरे । मानविक न्यायालयहरूले तिनीहरूलाई सबभन्दा खराब अपराधीहरूको दण्ड दिए । तर अब “परमेश्‍‍वर स्‍वयम् न्यायाधीश हुनुहुन्छ ।” भजनसंग्रह ५०:६ । अब पृथ्वीका निर्णयहरू उल्टा पारिएका छन् । “आफ्‍नो प्रजाको निन्दा हटाइदिनुहुनेछ ।” यशैया २५:८ (KJV) । “तिनीहरूले उनीहरूलाई ‘पवित्र जाति,’ ‘परमप्रभुका दाम तिरेर छुटाइएकाहरू’ भन्ने नामले बोलाउनेछन् ।” उहाँले “खरानीको सट्टामा सुन्दरता, विलापको सट्टामा आनन्दको तेल, खिन्नताको आत्माको सट्टामा प्रशंसाको खास्टो दिनलाई” तयार गर्नुभएको छ । यशैया ६२:१२; ६१:३ (KJV) । तिनीहरू अब कमजोरी, पीड़ित, छरिएका र अत्याचारमा परेका छैनन् । अबदेखि उसो तिनीहरू सँधै प्रभुसँग रहनेछन् । पृथ्वीका सबभन्दा आदर्णीय व्यक्तिले कहिले पनि नलगाएका सुन्दर पोशाकहरू पहिरेर तिनीहरू सिंहासनको सामु उभिन्छन् । तिनीहरूले पृथ्वीका राजाहरूको निधारमा पहिरेका कुनै पनि मुकुटहरूभन्दा पनि महिमित मुकुट पहिरेका हुन्छन् । कष्‍ट र रोदनका दिनहरू अब सँधैका निम्ति अन्त भएका छन् । महिमाका राजाले तिनीहरूका मुहारहरूबाट आँसु पुछिदिनु भएको छ; वेदनाको प्रत्येक कारण हटाइएको छ । तिनीहरूले खजूरका पातहरू हल्‍लाउँदै एक प्रशंसाको गीत, स्पष्‍ट, मीठो र सुसङ्गतसाथ गाउँछन्; प्रत्येक सोरले सुर पक्रन्छ, त्यो गीतले स्‍वर्गका बुर्जाहरूसम्म बढेर नपुगुञ्‍जेल तिनीहरूले सोर उचाल्छन्: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍‍वर र थुमामा मुक्ति छ ।” अनि समस्त स्‍वर्गका बासिन्दाहरूले श्रेय दिदै प्रतिक्रिया जनाउँछन्: “आमिन ! हाम्रा परमेश्‍‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस् । आमिन !” प्रकाश ७:१०, १२ ।MBA 173.2

    हामीले यो जीवनमा मुक्तिको सुन्दर विषयलाई बुझ्‍न आरम्भ मात्र गर्न सक्छौं । हाम्रो सीमित समझले हामी अति उसुकतासाथ शर्म र महिमा, जीवन र मृत्यु, न्याय र कृपाको विषयमा विचार गर्न सक्छौं, जुन क्रूसमा एकत्रित भएको छ; जतिसक्दो हाम्रा मानसिक शक्तिहरूलाई तन्काएतापनि हामी त्यसको पूर्ण महत्‍वलाई बुझ्‍न असफल हुन्छौं । हामीलाई उद्धार दिने प्रेमको लम्बाइ, चौड़ाइ, गहिराइ र उचाइ धमिलो तरीकाले मात्र बुझेका हुन्छौं । मुक्तिको योजना पूर्णरूपमा बुझ्‍नेछैन, जबकि मुक्ति पाएकाहरूले जसरी तिनीहरूले देखेका छन् त्यसरी देखिनेछन्, जसरी तिनीहरूले जानेका छन् त्यसरी जानिनेछन्; तर अनन्त युगहरूभरि नै अचम्मित र हर्षित दिमागमा नयाँ सत्यताहरू निरन्तररूपमा प्रकट हुनेछ । पृथ्वीका कष्‍टहरू, दुःखहरू र परीक्षाहरू अन्त भएपनि र त्यसको कारण हटाएपनि, परमेश्‍‍वरका जनहरूमा सदासर्वदा मुक्तिको मूल्यको विशेष समझदारी ज्ञान हुनेछ ।MBA 174.1

    ख्रीष्‍टको क्रूस नै मुक्ति पाएकाहरूका लागि सारा अनन्तभरि स्तुति र विज्ञान हुनेछ । ख्रीष्‍ट महिमित हुँदा तिनीहरूले ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको पनि देख्‍नेछन् । जसको शक्तिले असंख्य संसारहरूभरि विशाल अन्तरिक्षका क्षेत्रहरू सृष्‍टि गर्नुभयो र माथि उचाल्‍नुभयो त्यसलाई कहिले पनि बिर्सनेछैन, उहाँ परमेश्‍‍वरको प्रिय हुनुहुन्छ, स्‍वर्गको गौरव हुनुहुन्छ, उहाँ जसलाई करूब र चहकिलो सराफले पनि आराधना गर्न हर्षित हुन्छन्—पतित मानिसलाई उठाउन आफैलाई नम्र पार्नुभयो; कि उहाँले पापको दोष र लाज बोक्‍नुभयो, उहाँदेखि पिताको मुहार पनि लुक्‍यो, यहाँसम्म कि हराएको संसारको वेदनाले उहाँको मुटु चकनाचूर पाऱ्यो र उहाँको जीवन कलवरीको क्रूसमा धुजा-धुजा भयो । सारा संसारको सृजक र सम्पूर्ण गन्तव्यहरूको निर्णायकले उहाँको महिमा पर सार्नुपर्ने र मानिसप्रति भएको प्रेमको कारण उहाँले आफैलाई अति नीच पार्नुपर्ने कुराले ब्रमाण्डको आश्‍चर्य र आराधनालाई सँधै उत्साहित पार्नेछ । जसरी मुक्ति पाएका जातिहरूले तिनीहरूका मुक्तिदातालाई हेर्छन् र उहाँको मुहारमा पिताको अनन्त महिमा चम्किरहेका देख्‍छन्; तिनीहरूले उहाँको अनन्तदेखि अनन्तसम्मको सिंहासन देख्‍छन् र उहाँको राज्यको अन्त छैन भनी जानेर तिनीहरूले उल्‍लासित गीत गाउन सुरु गर्छन्: “योग्य, मारिनुभएको थुमा योग्य हुनुहुन्छ, र उहाँकै बहुमूल्य रगतले हामीलाई परमेश्‍‍वरमा किन्नुभएको छ !”MBA 174.2

    क्रूसको रहस्यले अन्य सम्पूर्ण रहस्यहरूलाई वर्णन गर्दछ । कलवरीबाट बगिरहेको ज्योतिमा परमेश्‍‍वरका स्‍वभावहरू छन् जसले हामीलाई भय र डरले भरिदिएको थियो, अब सो सुन्दर र आकर्षक भई प्रकट हुन्छ । कृपा, नम्रता र पैतृक प्रेमचाहिँ पवित्रता, न्याय र शक्तिसँग मिसिएको देखिन्छ । जब हामी उहाँको माथि उचालेर उच्‍च पारिएको सिंहासनको ऐश्‍‍वर्य हेर्छौं तब हामीले उहाँको चरित्र त्यसको अनुग्रहकारी प्रदर्शनहरूमा देख्‍छौं, र अघिका समयहरूमा भन्दा पनि एकदमै राम्रोसँग प्रिय शिर्षक “हाम्रा पिता”-को महत्‍व बुझ्छौं ।MBA 175.1

    उहाँ जसको असीम बुद्धिले पनि हाम्रो मुक्तिका लागि उहाँका पुत्रलाई बलिदान गर्नुभन्दा अरू कुनै योजना गर्न सक्‍नुभएन भनी देखिनेछ । जब पृथ्वीमा उद्धार पाएका पवित्र, खुशी र अमरत्‍व मानवजातिहरू पूर्ण भरिएका हुन्छन् तब यो बलिदानको क्षतिपूर्ति स्‍वरूप आनन्द आउँछ । मुक्तिदाताले अन्धकारको शक्तिसँग गर्नुभएको संघर्षको परिणामचाहिँ मुक्ति पाएकाहरूलाई आनन्द हो, जुन अनन्ततासम्म परमेश्‍‍वरको महिमामा परिणत भएको हुन्छ । अनि प्राणको महत्‍व यस्तो छ कि त्यो तिरिएको दाममा पिता सन्तुष्‍टि हुनुभएको छ; र ख्रीष्‍ट आफै पनि उहाँको महान् बलिदानका फलहरू हेर्नुहुँदै सन्तुष्‍टि हुनुहुन्छ ।MBA 175.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents