Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १३. पृथ्वीको सर्वनाश अवस्था

    (अंग्रेजी पुस्तक अध्याय ४१ पृष्‍ठ ६५३)

    “त्यसका पापहरू स्‍वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्‍‍वरले त्यसका अधर्महरू सम्झनुभएको छ । ... त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोब्‍बर कड़ा हुने गरी त्यसलाई देओ । त्यसले जति गौरव र सुःख-विलास गरेकी थिई, त्यतिकै त्यसलाई यातना र शोक देओ । किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन ।’ ‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्—मृत्यु, शोक र अनिकाल । आगोले त्यो भष्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्‍‍वर शक्तिशाली हुनुहुन्छ ।’ त्यससँग व्यभिचार गर्ने र सुःख-विलासमा रहने पृथ्वीका राजाहरू ... त्यसको निम्ति रुनेछन् र विलौना गर्नेछन् । ... तिनीहरूले यसो भन्नेछन्, ‘हाय ! हाय ! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन ! एकै छिनमा नै तेरो दण्ड तँमाथि पऱ्यो ।” प्रकाश १८:५-१० ।MBA 177.1

    “पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्,” “त्यसमाथि परी आउने यातनाको डरले टाढै़ उभिएर यसो भन्दै तिनीहरू ठूलो स्‍वरले रुनेछन् र विलाप गर्नेछन्, ‘हाय ! हाय ! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्‍‍त्र लगाएर सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई । किनभने एकै घड़ीमा यति धेरै धन नष्‍ट भएको छ । ” प्रकाश १८:३, १५-१६ ।MBA 177.2

    परमेश्‍‍वरको क्रोधको इन्साफको दिनमा बेबिलोनमाथि यस्ता न्यायहरू आइपर्नेछन् । त्यसले आफ्‍नो अधर्मको कचौरा भरेको छ; त्यसको समय आएको छ; त्यो विनाशका लागि तयारी छ ।MBA 177.3

    जब परमेश्‍‍वरको आवाजले उहाँका मानिसहरूलाई कैदबाट छुटकारा दिन्छ, तब जुन मानिसहरूले सम्पूर्ण थोक जीवनको महान् संघर्षमा गुमाएका थिए तिनीहरूको माझमा एक भयानक जागरण हुन्छ । जबसम्म परीक्षाकालको घड़ी थियो तबसम्म तिनीहरू शैतानका छलहरूले अन्धो भएका थिए, र तिनीहरूले पापमय जीवनलाई असल प्रमाणित गरेका थिए । धनीहरूले सुविधाहीनभन्दा श्रेष्‍ठ भएकोले गोैरव गरेतापनि तिनीहरूले धन आर्जन गर्न परमेश्‍‍वरको व्यवस्था तोडे़का थिए । तिनीहरूले भोकालाई खुवाउन, नाङ्गोलाई पहिराउन, न्यायसङ्गत व्यवहार गर्न र कृपासाथ प्रेम गर्न बेवास्ता गरेका थिए । तिनीहरूले आफैलाई उचाल्‍ने र आफ्‍ना सङ्गीहरूबाट श्रद्धा हासिल गर्ने प्रयास गरेका थिए । अब तिनीहरूबाट महान् तुल्याउने सबै कुराहरू खोसिए र दरिद्र र असहाय मात्र बाँकी रहेका छन् । तिनीहरूले मूर्तिको विनाशलाई भयसाथ हेर्दछन्, जसलाई तिनीहरूका सृष्‍टिकर्ताभन्दा पनि प्रथम प्राथमिकता दिएका थिए । तिनीहरूले आफ्‍ना प्राणहरूलाई संसारका धनहरू र मोजमज्‍जामा बेचेका छन्, र ईश्‍‍वरीय धन प्राप्‍त गर्ने प्रयास गरेका छैनन् । यसको परिणाम स्‍वरूप तिनीहरूका जीवनहरू निष्फल भएका छन्; अब तिनीहरूको सुखविलासचाहिँ पित्तमा र सम्पत्तिचाहिँ विनाशमा परिणत भएको छ । जीवनभरको कमाइ एकैछिनमा उड़ी गएको छ । धनीहरू आफ्‍ना विशाल घरहरू नष्‍ट र सुनचाँदी छरपष्‍ट भएको देखेर विलाप गर्छन् । तिनीहरू आफै ती मूर्तिहरूसँग नष्‍ट हुनुपर्छ भन्ने त्रासले गर्दा तिनीहरूका विलौनाहरू चकमन्न हुन्छन् ।MBA 177.4

    परमेश्‍‍वर र आफ्‍ना साथीहरूलाई तिनीहरूले पापमय बेवास्ता गरेको कारणले होइन, तर परमेश्‍‍वरको विजय भएको कारणले दुष्‍टहरू धेरै पछुतो गर्छन् । तिनीहरू परिणाम देखेर विलाप गर्छन्, तर तिनीहरूका दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैनन् । यदि सम्भव भए तिनीहरूले विजय प्राप्‍त गर्न सक्‍ने कुनै पनि उपायहरू बाँकी छोड्‍दैन थिए ।MBA 178.1

    संसारले जुन वर्गका जनहरूलाई गिल्‍ला र तिरस्कार गरेको थियो, र सर्वनाश गर्न चाहेको थियो, तिनीहरू नै महामारी, विपत्ति र भूकम्पदेखि सुरक्षितसाथ पार भएका छन् । उहाँका व्यवस्था भङ्ग गर्नेहरूका लागि उहाँ भष्म पार्ने आगो हुनुहुन्छ भने उहाँका मानिसहरूका लागि सुरक्षित किल्‍ला हुनुहुन्छ ।MBA 178.2

    जुन प्रचारकले मानिसहरूको स्‍नेह पाउन सत्यलाई बलिदान गऱ्यो अब त्यसका शिक्षाहरूको चरित्र र प्रभाव थाहा भयो । जब ऊ पुल्पिटमा खड़ा हुन्थ्यो, मूल बाटोतिर हिँड्‍थ्यो, जीवनको विभिन्न दृष्‍टिमा मानिसहरूसँग सङ्गत गर्थ्यो, तब निश्‍चय नै उसमाथि सर्वज्ञानी नजर हरेक घड़ी सँगै थियो । प्राणको प्रत्येक भावना, लिखित प्रत्येक हरफ, उच्‍चारित प्रत्येक शब्द, मानिसहरूलाई झूटोतर्फ अग्रसर गर्ने प्रत्येक कार्यले नै बीउ छरिरहेका छन्; र अब फलस्‍वरूप उसले आफ्‍नो वरिपरी दरिद्र र मरेका मानिसहरू मात्र देख्‍छ ।MBA 178.3

    परमप्रभु भन्नुहुन्छ: “किनभने तिनीहरूले ‘शान्ति ! शान्ति !’ भन्दै मेरो प्रजाकी छोरीको चोट बाहिर-बाहिर निको पारेका छन्, जबकि शान्ति नै छैन ।” “किनभने झूटद्वारा तिमीहरूले धर्मी जनको हृदयलाई दुःखित पारेका छौ, जसलाई मैले दुःखित पारेको छैनँ; अनि दुष्‍टचाहिँ आफ्‍नो दुष्‍ट चालबाट नफर्कोस् भनेर, त्यसलाई जीवनको प्रतिज्ञा गरेर तिमीहरूले त्यसका हातहरू बलिया तुल्याएका छौ ।” यर्मिया ८:११; इजकिएल १३:२२ (KJV) ।MBA 179.1

    “धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरो खर्कका भेडाहरू नाश गर्छन्, र तितरबितर पार्छन् ! ... हेर, तिमीहरूका कामहरूको दुष्‍टताको खातिर म तिमीहरूलाई दण्ड दिनेछु ।” “हे गोठालाहरूहो, रोइकराइ गर, र चिच्याओ ! हे बगालका अगुवाहरूहो, लड़ीबुड़ी गर; किनकि तिमीहरूको काटमार हुने र तिमीहरूका तितरबितर हुने दिनहरू पूरा भएका छन्; ... अनि गोठालाहरूका निम्ति भाग्‍ने बाटो हुनेछैन, न बगालका अगुवाहरूका निम्ति उम्कने बाटो हुनेछ ।” यर्मिया २३:१, २; २५:३४-३५ (KJV) ।MBA 179.2

    प्रचारकहरू र मानिसहरूले देख्‍छन् कि तिनीहरूले परमेश्‍‍वरसँग असल सम्बन्ध जारी राखेका छैनन् । तिनीहरूले पूर्ण न्यायसङ्गत र धर्मी व्यवस्थाका सृजकको विरूद्ध विद्रोह गरेका छन् भनी थाहा पाउँछन् । दैवीय व्यवस्थालाई हटाएको कारण हजारौँ दुष्‍टता, फूट, घृणा, अधर्मका मूलहरू फुटेका थिए कि पृथ्वी नै लड़ाइँ र भ्रष्‍टताको सर्वनाश स्थल भयो । जसले सत्यतालाई अस्‍वीकार गरी झूटलाई अपनाए अब तिनीहरूको सामुन्ने त्यही दृश्‍‍य देखा पर्छ । जुन कुरा—अनन्त जीवन—अनाज्ञाकारी र राजद्रोहीहरूले सदासर्वदाका लागि गुमाएका थिए सो प्राप्‍त गर्ने तिनीहरूको तिर्सनालाई कुनै पनि भाषाले व्यक्त गर्न सक्दैन । जुन मानिसहरूलाई तिनीहरूका प्रतिभाहरू र भाषणकलाले गर्दा संसारले पूजा गर्दथ्यो अब त्यसका वास्तविक प्रकाशमा यी कुराहरू देखिन्छन् । तिनीहरूले आज्ञा उल्‍लङ्घनद्वारा गुमाएको अधिकार थाहा पाउँछन्, र जसले तिनीहरूको भक्तिको कारण घृणा र गिल्‍ला गरेका थिए, अब तिनीहरू उनीहरूको चरणमा दण्डवत् गर्छन् र स्‍वीकार गर्छन् कि परमेश्‍‍वरले उनीहरूलाई प्रेम गर्नुभएको छ ।MBA 179.3

    मानिसहरू आफै भ्रममा परेका कुरा देख्‍छन् । तिनीहरू एक-अर्कालाई विनाशतर्फ अगुवाइ गरेको आरोप लगाउँछन्; तर सबै जना एक भएर तिनीहरूले सबभन्दा तीतो निन्दा प्रचारकहरूमाथि थुपार्छन् । अविश्‍‍वासी प्रचारकहरूले शान्तिको भविष्यवाणी गरेका थिए; तिनीहरूले आफ्‍ना श्रोताहरूलाई परमेश्‍‍वरको व्यवस्था रद्द गर्न र जसले त्यसलाई पवित्ररूपमा पालन गर्दछ तिनीहरूलाई सताउन नेतृत्‍व गरेका छन् । यति बेला यी शिक्षकहरू निराश भएर संसारका सामु तिनीहरूका छली कार्यलाई स्‍वीकार गर्छन् । भीड़हरू रिसले चूर भएका हुन्छन् । “हामी हराएका छौं ! र हाम्रो विनाशको कारण तिमीहरू नै हौ;” भनी कराउँदै तिनीहरू झूटा गोठालाहरूमाथि झम्टिन्छन् । एक समयमा जसले यी मानिसहरूको खूब तारिफ गर्दथे तर अब तिनीहरूले नै अति डरलाग्दा सरापहरू दिनेछन् । जुन हातहरू तिनीहरूलाई सुन्दर माला पहिराउन अग्रसर थिए तर अहिले तिनीहरूको विनाश गर्न उठ्‌नेछन् । जुन तरवारहरूद्वारा परमेश्‍‍वरका जनहरूलाई हत्या गर्नुपर्ने थिए अहिले तिनीहरूका शत्रुहरूलाई नष्‍ट गर्न उपयोगी भएका छन् । सर्वत्र लड़ाइँ र रक्तपातले भरिएको हुन्छ ।MBA 179.4

    “‘पृथ्वीका छेउ-छेउसम्म त्यो कोलाहल पुग्‍नेछ; किनकि जाति-जातिहरूसँग परमप्रभुको मामला छ; उहाँ सब प्राणीसँग मुद्दा लड्‍नुहुनेछ; उहाँले दुष्‍टहरूलाई तरवारको वशमा सुम्पिदिनुहुनेछ ।” यर्मिया २५:३१ (KJV) । छ हजार वर्षदेखि महान् विवाद भइरहेको छ; मानिसहरूका सन्तानहरूलाई चेताउनी दिन, प्रकाश दिन, र बचाउनका लागि परमेश्‍‍वरका पुत्र र उहाँका स्‍वर्गीय सन्देशवाहकहरू दुष्‍ट जनको शक्तिसँग लड़ाइँ गरिरहनुभएको छ । अब सबैले आ-आफ्‍नो निर्णय गरिसकेको छ; दुष्‍टहरू शैतानसँग पूर्ण एकमत भएर परमेश्‍‍वरको विरूद्ध लड़ाइँ गरेका छन् । परमेश्‍‍वरले उहाँको दबिएका व्यवस्थाको अधिकारलाई निर्दोष ठहराउने समय आएको छ । अहिले यो विवाद शैतानसँग मात्र होइन तर मानिसहरूसँग पनि हो । “जाति-जातिहरूसँग परमप्रभुको मामला छ;” “उहाँले दुष्‍टहरूलाई तरवारको वशमा सुम्पिदिनुहुनेछ ।”MBA 180.1

    “त्यसको बीचमा गरिएका सबै घृणित कामहरूको कारणले जो-जो सुस्केरा हाल्छन्, र ऐयाआत्था गर्छन्,” तिनीहरूमाथि सुरक्षाको छाप लगाइएको छ । इजकिएलको दर्शनमा उल्‍लेखित काटमारको हतियार धारण गर्ने मानिसहरूलाई प्रतिनिधित्‍व गर्ने एक मृत्युको दूत निस्कन्छ, जसलाई यो आदेश दिइएको छ: “वृद्ध र जवान, अनि कन्याहरू, बालबच्‍चाहरू र स्‍‍त्रीहरूलाई बिलकुलै मारिदेओ; तर त्यो चिनो भएको कुनै पनि मानिसको नजिक नजाओ; अनि मेरो पवित्रस्थानबाट सुरु गर !” अगमवक्ता भन्छन्, “उनीहरूले भवनका सामु भएका बूढ़ा प्रधानहरूबाट सुरु गरे ।” इजकिएल ९:१-६ (KJV) । मानिसहरूका आत्मिकी रखवालाहरू हुन भनि दाबी गर्नेहरूका बीचबाट नै विनाशको काम सुरु हुन्छ । झूटा पहरेदारहरू नै पहिले मारिनेछन् । कुनैमाथि करुणा वा छुट्‍कारा हुँदैन । पुरूष, स्‍‍त्री, कन्याहरू र बालबच्‍चा सबै एकैसाथ नष्‍ट हुन्छन् ।MBA 180.2

    “पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनलाई परमप्रभु आफ्‍ना ठाउँबाट निस्केर आउनुहुन्छ; अनि पृथ्वीले आफ्‍नो रगत प्रकट गर्नेछ, र आफ्‍ना मारिएकाहरूलाई फेरि डाक्‍नेछैनँ ।” यशैया २६:२१ (KJV) । “अनि जुन महामारीले परमप्रभुले यरूशलेमको विरोधमा लड़ाइँ गर्ने सबै जातिहरूलाई हिर्काउनहुनेछ, त्यो महामारी यही हुनेछ: तिनीहरू आफ्‍ना खुट्टाहरूमा उभिरहेकैमा तिनीहरूको मासु कुहुनेछ, तिनीहरूका आँखाहरू तिनका तोड्‍काहरूभित्रै कुहुनेछन्, र तिनीहरूको जिब्रो तिनीहरूको मुखभित्रै कुहुनेछ । अनि त्यस दिनमा यस्तो हुनेछ—तिनीहरूको बीचमा परमप्रभुबाट एउटा ठूलो हलचल मच्‍चिनेछ; अनि तिनीहरू हरेकले आफ्‍नो छिमेकीको हात पक्रनेछन्, र आफ्‍नो हात आफ्‍नो छिमेकीको हातको विरूद्धमा उठ्‌नेछ ।” जकरिया १४:१२-१३ (KJV) । तिनीहरूको आफ्‍नै प्रचण्ड रिसहरूको बौलाहा लड़ाइँमा साथै परमेश्‍‍वरको नमिसिएको क्रोधद्वारा पृथ्वीका दुष्‍ट बासिन्दाहरू—पूजाहारीहरू, शासकहरू र मानिसहरू, धनी र गरीब, उच्‍च र नीच—माथि भयावहसाथ सबै पतन हुन्छन् । “त्यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा—पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन् । उनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्मा गर्नेछैन, नता गाड्‍नेछ ।” यर्मिया २५:३३ ।MBA 181.1

    ख्रीष्‍टको आगमनमा दुष्‍टहरू सारा पृथ्वीको सतहबाट नष्‍ट हुन्छन्—उहाँको मुखको आत्माद्वारा भष्म हुन्छन् र उहाँको महिमाको उज्‍ज्‍वलताले नष्‍ट हुन्छन् । ख्रीष्‍टले आफ्‍ना मानिसहरूलाई परमेश्‍‍वरका नगरमा लैजानुहुन्छ, र पृथ्वी बासिन्दाहरूरहित रित्तो हुन्छ । “हेर, परमप्रभुले पृथ्वीलाई रित्तो पार्नुहुनेछ, उजाड़ पार्नुहुनेछ, र यसलाई उलटपुलट पार्नुहुनेछ, अनि यसका बासिन्दाहरूलाई तितरबितर पार्नुहुनेछ ।” “देश बिलकुलै रित्तो हुनेछ, र पूरै लुटिनेछ; किनकि परमप्रभुले यो वचन भन्नुभएको छ ।” “किनकि तिनीहरूले व्यवस्था उल्‍लङ्घन गरेका छन्, विधि बदली गरेका छन्, र अनन्त वाचा तोड़ेका छन् । यसैकारण श्रापले पृथ्वीलाई निलेको छ, अनि त्यसमा बस्‍नेहरू उजाड़ भएका छन्; यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन् ।” यशैया २४:१, ३, ५, ६ (KJV) ।MBA 181.2

    सारा पृथ्वी उजाड़ मरूभूमिझैँ देखिन्छ । गाउँहरू र शहरहरू भूकम्पद्वारा विनाश भएका छन्, र उखेलिएका रूखहरू, समुद्रतले हुत्त्याएका र पृथ्वीबाट फुटेका चट्टानहरू पृथ्वीभरि छरपष्‍ट भएका छन्, जहाँ विशाल गुफाहरूले पहाड़हरूका जगहरूदेखि नै फाटेका सङ्केत देखाएका छन् ।MBA 182.1

    जुन प्रायश्‍चितको दिनमा अन्तिम गम्भीर सेवाकार्य भएको थियो त्यसको वास्तविक घटना अब परिचालन हुन्छ । जब महापवित्रस्थानको सेवाकार्य पूर्ण भएको हुन्थ्यो, र पापबलीको शक्तिले इस्राएलका पापहरू पवित्रवासस्थानबाट हटाइन्थ्यो, त्यसपछि प्रभुको सामुन्ने छाड़ा बोका जिउँदै ल्याउँदथ्यो; तब समुदायको उपस्थितिमा प्रधानपूजाहारीले “इस्राइलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखी” दिन्थ्यो । लेवी १६:२१ । जब स्‍वर्गीय पवित्रवासस्थानमा प्रायश्‍चितको काम पूरा भएको हुन्छ तब त्यसरी नै शैतानमाथि परमेश्‍‍वर र स्‍वर्गदूतहरू र सम्पूर्ण मुक्ति पाएकाहरूका दलको सामुन्ने परमेश्‍‍वरका मानिसहरूका पापहरू राखिन्छ; उसले तिनीहरूलाई जुन दुष्‍टतामा फसाएको छ उसलाई ती सबका दोषी घोषणा गरिनेछ । जसरी छाड़ा बोका निर्जन भूमिमा लगिन्थ्यो त्यसरी नै शैतान पनि उजाड़ पृथ्वी, निर्जन र उदास उजाड़स्थानमा बहिष्कृत हुनेछ ।MBA 182.2

    प्रकाशको लेखकले शैतानको बहिष्कारको पूर्ववाणी गर्दछन् र त्यसपछि पृथ्वी एक हजार वर्षसम्म गोलमोल र उजाड़ स्थितिमा रहन्छ भनी तिनले घोषणा गर्छन् । प्रभुको दोस्रो आगमन र दुष्‍टहरूको विनाशको दृश्‍‍य प्रकट गरेपछि, भविष्यवाणीमा अझै भन्दछ: “अतल कुण्डको साँचो र एउटा ठूलो साङ्‍लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें । तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे । तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस् । त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्‍का गरिनुपर्छ ।” प्रकाश २०:१-३ ।MBA 182.3

    अन्य बाइबलका पदहरूबाट प्रमाणित भएको छ कि “अतल कुण्ड” भन्ने भनाइ पृथ्वीको भताभुङ्ग र अन्धकार स्थितिलाई प्रतिनिधित्‍व गर्दछ । “आदिमा” पृथ्वीको अवस्थाको सम्बन्धमा बाइबल अभिलेखले बताउँदछ कि “पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो ।” उत्पत्ति १:२ । भविष्यवाणीले सिकाउँदछ कि त्यसलाई झण्डै यस्तै स्थितिमा पुऱ्याउनेछ । परमेश्‍‍वरको महान् दिनलाई पूर्वदृष्‍टि गर्दै अगमवक्ता यर्मिया घोषणा गर्दछन्: “मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो । अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन । मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाड़ाँहरू यता उता हल्‍लिरहेका थिए । मैले हेरें, र त्यहाँ कोही मानिसहरू नै थिएनन् । आकाशका सबै पक्षीहरू उडे़र गइसकेका थिए । मैले हेरें, र ... फलदायिक जमिन मरुभूमि भएथ्यो, र त्यसको सबै नगरहरू ध्वस्त भएथे ।” यर्मिया ४:२३-२६ ।MBA 182.4

    शैतान र त्यसका दुष्‍ट दूतहरूको निवासस्थान एक हजार वर्षसम्म यही नै हुनुपर्छ । ऊ पृथ्वीमा कैदी सरह हुन्छ, र अन्य अपतित संसारहरूमा परीक्षा गर्न र दुःख दिन जान पाउनेछैन । यही आशयमा ऊ बाँधिएको छ: त्यहाँ उसको शक्ति प्रयोग गर्न सक्‍ने कोही पनि बाँकी छैन । ऊ धोकेबाज र विनाशको कामबाट पूर्ण बञ्‍चित भएको छ जुन धेरै शताब्दीदेखि उसका लागि हर्षित कार्य हुँदैआएको थियो ।MBA 183.1

    यशैया अगमवाक्ता शैतानको विनाशलाई पूर्वदृष्‍टि गर्दै आश्‍चर्यसाथ भन्दछन्: “हे लुसिफर, बिहानीको छोरो, तँ कसरी स्‍वर्गबाट खसिस् ! जाति-जातिलाई कमजोर बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस् ! ... तैंले आफ्‍नो हृदयमा भनेको छस्: ‘म स्‍वर्गमा चढ्‍नेछु, म आफ्‍नो सिंहासन परमेश्‍‍वरका ताराहरूभन्दा माथि उचाल्‍नेछु; ... म परमप्रधानजस्तै हुनेछु ।’ तर तँ अधोलोकमा, खाड़लका पींधहरूसम्म झारिनेछस् । तँलाई देख्‍नेहरूले तँलाई नियालेर हेर्नेछन्, र यसो भन्दै तेरो विषयमा विचार गर्नेछन्: ‘के पृथ्वीलाई थरथर काम्‍न लगाउने र राज्यहरूलाई हल्‍लाउने मान्छे यही हो, जसले संसारलाई उजाड़स्थानजस्तै बनायो, त्यसका शहरहरू नाश पाऱ्यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन ?’” यशैया १४:१२-१७ (KJV) ।MBA 183.2

    छ हजार वर्षसम्म शैतानको विद्रोही कामले “संसारलाई थरथर कमाएको छ ।” उसले “संसारलाई उजाड़स्थानजस्तै बनायो, र त्यसका शहरहरू नाश पाऱ्यो ।” अनि उसले “आफ्‍ना कैदीहरूलाई घर जान दिएन ।” छ हजार वर्षसम्म परमेश्‍‍वरका जनहरू उसको कारागारमा राखिएका छन् र त्यसले तिनीहरूलाई सदासर्वदा कैदी बनाउने थियो; तर ख्रीष्‍टले उसको बन्धन तोड़ेर सदाका लागि कैदीहरूलाई स्‍वतन्‍‍त्रता दिनुभएको छ ।MBA 183.3

    अब दुष्‍टहरू पनि शैतानको शक्तिदेखि बाहिर छन्, र उसका दुष्‍ट दूतहरूसँगै पापको कारण श्रापित असर मनन गर्न छोड़िन्छन् । “जाति-जातिका सबै राजाहरू, प्रत्येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन् । तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्‍याँकिइस् । ... दफनको समयमा तँ उनीहरूसित मिल्‍ने छैनस्, किनकि तैंले आफ्‍नो देशको संहार गरेको छस्, तैंले आफ्‍ना मानिसहरूलाई मारेका छस् ।” यशैया १४:१८-२० ।MBA 183.4

    परमेश्‍‍वरको व्यवस्थाको विरूद्ध विद्रोहको परिणाम हेर्न शैतान हजार वर्षसम्म यस उजाड़ पृथ्वीमा यताउता घुमिरहनेछ । यो समयको अवधिमा उसका कष्‍टहरू भयानक हुन्छन् । उसको पतन भएदेखि लगातार क्रियाकलापले गर्दा उसको समझशक्ति गुमेको छ; तर अब त झन उसलाई शक्तिहीन हुन बाध्य बनाएको छ र स्‍वर्गीय सरकारको विरूद्ध उसको प्रथम विद्रोहदेखि यता भएका सम्पूर्ण कार्यमा मनन गर्न, र कम्प र त्राससाथ डरलाग्दो भविष्य हेर्न ऊ छोड़िएको छ जब कि उसको सम्पूर्ण दुष्‍ट कार्य र उसले फसाएका पापहरूको सजाय उसले नै भोग्‍नुपर्छ ।MBA 184.1

    परमेवश्रका जनहरू शैतानको कैदमाथि आनन्दित र हर्षित हुनेछन् । अगमवक्ता भन्दछन्: “अनि जुन दिन परमप्रभुले तिमीलाई तिम्रो शोकबाट, तिम्रो डर र तिमीमाथि लगाइएको त्यस कठिन दासत्‍वबाट विश्राम दिनुहुनेछ, त्यस दिन यस्तो हुनेछ—तिमीले बाबेलको राजाको [यसले शैतानलाई प्रतिनिधित्‍व गर्दछ] विरोधमा यो आहान टिपेर भन्नेछौ: ‘थिचोमिचो गर्ने कसरी थान्को लाग्यो !’ ... परमप्रभुले दुष्‍टहरूको लौरो, र शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ । जसले जाति-जातिका मानिसहरूलाई क्रोधले निरन्तर हिर्काउँथ्यो, जसले जाति-जातिमाथि रिसले शासन गर्थ्यो, त्यो सतावटमा परेको छ, र त्यसलाई रोक्‍ने कोही छैन ।” यशैया १४:३-६ (KJV) ।MBA 184.2

    हजार वर्ष भित्र अर्थात् पहिलो र दोस्रो पुनरुत्थानका बीचमा दुष्‍टहरूको इन्साफ हुनेछ । प्रेरित पावलले यो न्यायलाई दोस्रो आगमनपछिको घटना स्‍वरूप केन्द्रित गर्छन् । “तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउन्‍जेल पर्ख । उहाँले अँध्यारोमा लुकेको कुरालाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ ।” १ कोरिन्थी ४:५ । दानिएल घोषणा गर्छन् कि जब ती अति प्राचीन आउनुभयो, तब “सर्वोच्‍चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा” गर्नुभयो । दानिएल ७:२२ । यो समयमा धर्मीहरू परमेश्‍‍वरका पूजाहारीहरू र राजाहरूको रूपमा शासन गर्छन्, प्रकाशमा यूहन्ना भन्छन्: “मैले सिंहासनहरू र त्यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो ।” “तिनीहरू परमेश्‍‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन् । प्रकाश २०:४-६ । जसरी पावलले अगमवाणी गरेका थिए, त्यसरी नै यो समयमा “पवित्र जनहरूले संसारको न्याय गर्नेछन् ।” १ कोरिन्थी ६:२ (KJV) । ख्रीष्‍टसँग मिलेर तिनीहरूले व्यवस्थाको किताब, बाइबलसँग दुष्‍टहरूका कार्यहरू तुलना गर्दै, तिनीहरूको शरीरमा गरेको प्रत्येक कामअनुसार तिनीहरूको मुद्दा निर्णय गर्दै तिनीहरूका न्याय गर्छन् । त्यसपछि दुष्‍टहरूले भोग्‍नै पर्ने कष्‍टको अंश तिनीहरूका कामहरूअनुसार तोकिन्छ; र त्यो तिनीहरूका नामहरूको छेउमा मृत्युको पुस्तकमा लेखिन्छ ।MBA 184.3

    शैतान र उसका दुष्‍ट दूतहरूको पनि ख्रीष्‍ट र उहाँका जनद्वारा न्याय हुन्छ । पावल भन्छन्: “के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्याय गर्नेछौं ?” १ कोरिन्थी ६:३ । यहूदा घोषणा गर्छन् कि “जुन स्‍वर्गदूतहरूले आफ्‍नो पहिलो पद थामेनन्, तर आफ्‍नो वासस्थान छोड़िदिए, तिनीहरूलाई उहाँले त्यस महान् दिनको न्यायका निम्ति अन्धकारमुनि सदाकालका साङ्‍लाहरूमा राख्‍नुभएको छ ।” यहूदा ६ (KJV) ।MBA 185.1

    हजार वर्षको अन्त्यमा दोस्रो पुनरुत्थान हुनेछ । त्यसपछि ती दुष्‍टहरू मृत्युबाट उठ्‌नेछन् र “लिखित इन्साफको सजाय” भोग्‍न परमेश्‍‍वरको सामु उपस्थित हुनेछन् । यसरी प्रकाशकले धर्मीहरूको पुनरुत्थानलाई वर्णन गरेपछि भन्छन्: “अरू मरेकाहरू चाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन् ।” प्रकाश २०:५ । दुष्‍टहरूको विषयमा यशैया घोषणा गर्छन्: “कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन् । तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ ।” यशैया २४:२२ ।MBA 185.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents