Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    १ — येरूशलेमको विनाश

    (अंग्रेजी पुस्तक अध्याय १ पृष्‍ठ १७)

    “शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो ! तर अब तेरो दृष्‍टिबाट त्यो लुकेको छ । किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन् । तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन । किनकि तैंले आफूमाथि भएको परमेश्‍‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस् ।” लूका १९:४२-४४ ।MBAJ 1.1

    येशूले जैतुन ड़ाडाको टाकुराबाट यरूशलेमलाई हेर्नुभयो । उहाँको सामु शान्तमय र स्‍वच्छ दृश्‍‍य फिँजिएको थियो । त्यो समय निस्तार चाड़को पर्व थियो, र याकूबका सन्तानहरू हरेक जग्गाबाट त्यही महान् राष्‍ट्रिय चाड़को उत्सव मनाउन आएका थिए । बगैँचाहरू, दाखबारीहरू र हरिया डाँड़ाहरूको बीचमा तीर्थयात्रीका पालहरूसाथै प्रतापशाली दरबारहरू, इस्राएलको राजधानीको किल्‍ला र पहाड़का श्रृंखलाहरू देखिएका थिए । सियोनकी छोरीले आफ्‍नो गौरवमा यसरी उच्‍चारण गरेकी आभास हुन्थ्यो, म रानी भएर बस्छु, म कहिल्यै दुःख भोग्दिनँ; युगौँ पहिले, जसरी स्‍वर्गीय अनुग्रहमा सुरक्षित र मायालुपनको महसुस गरेकी थिई त्यही नै त्यसले भान गर्दथिई, राजकीय गायकले यसरी गाएका थिए: “उचाइमा सुन्दर, सम्पूर्ण पृथ्वीको हर्ष सियोन पर्वत हो, ... जो महाराजाको शहर हो ।” भजनसंग्रह ४८:२ (KJV) । मन्दिरका भव्य महलहरूको दृश्‍‍य पूर्ण देखिन्थ्यो । हिउँ जस्तै उज्‍ज्‍वल मन्दिरको मणिशिलाका पर्खालहरूमा घाम अस्ताउँदा त्यसको प्रकाशले ती पर्खालहरू हिँउ झैँ सेतो भएको कारण उज्‍ज्‍वल हुन्थे र सुनौलो ढोकादेखि लिएर स्तम्भ र त्यसको शिखरसमेत चमकदार हुन्थ्यो । त्यो “सुन्दरताको पूर्णता”-मा नै यहूदी जातिको एक गौरव अवस्थित थियो । यस्तो दृश्‍‍यलाई कुनचाहिँ इस्राएलका सन्तानले आनन्द र खुशीको तरङ्गविना अवलोकन गऱ्यो होला र ! तर त्यति बेला येशूको दिमागमा चाहिँ एकदम फरक विचारले भरिएको थियो । “जब येशू नजिक आइपुग्‍नुभयो, र सहरलाई देख्‍नुभयो, उहाँ त्यसको लागि रुनुभयो ।” लूका १९:४१ । जब विजयी आगमनको सार्वजनिक आनन्दको माझमा खजुरका पातहरू हल्‍लिरहेका थिए, र पहाड़हरूहुँदो खुशीयालीको होशन्‍नाका हजारौँ आवाजहरू प्रतिध्वनि भइरहेका थिए, अनि हजारौँ आवाजहरूले उहाँलाई राजा घोषणा गरिरहेका थिए, त्यति बेला संसारको मुक्तिदाताचाहिँ अचानक रहस्यमय पीड़ाले व्याकुल भइरहनु भएको थियो । उहाँ, परमेश्‍‍वरका पुत्र, इस्राएललाई प्रतिज्ञा गरिएको जन, जसको शक्तिले मृत्युलाई जितेको थियो र चिहानबाट बन्दीहरूलाई बोलाइएको थियो, अब उहाँको आँखाभरि आँसु देखियो, त्यो साधारण पीड़ा थिएन, तर एकदम घोर सन्ताप थियो ।MBAJ 1.2

    उहाँको आँसु आफ्‍नै निम्ति बगेको थिएन, तापनि उहाँले टेक्‍नु भएका पाइलाहरू कहाँ जाँदैथिए, सो उहाँलाई राम्ररी थाहा थियो । उहाँंको अगाडि गेतसमनी देखिन्थ्यो, र उहाँको सन्ताप निकट थियो । भेड़ाढोका पनि अगाडि नै देखिन्थ्यो, जहाँबाट शताब्दीऔँ पूर्वदेखि नै बलिदानका लागि जनावरहरू लैजाने गर्दथे, जब उहाँ “मारिनलाई लगेको थुमाजस्तै” ल्याइनुहुन्थ्यो तब त्यही बखत उहाँका लागि त्यो ढोका खोलिनु आवश्‍‍यक थियो । यशैया ५३:७ । कलवरी डाँडा, अर्थात् उहाँ क्रूसमा मर्नुपर्ने ठाउँ पनि टाढ़ा थिएन । ख्रीष्‍टले हिँड्‍नै लाग्‍नु भएको मार्ग घोर अन्धकारको भयले ढाकेको थियो जहाँ पापको खातिर उहाँले आफ्‍नो प्राण बलिदान गर्दै हुनुहुन्थ्यो । तापनि यी दृश्‍‍यहरूले गर्दा यो हर्षित घडीमा उहाँ निराश हुनु भएन । उहाँको आफ्‍नै अमानविक पीरको कुनै पनि कल्पनाले निस्‍वार्थी आत्मालाई बादल पारेको थिएन । यरूशलेमका हजारौँ बासिन्दाहरूमाथि दण्ड-घोषित भएको देख्‍नुभयो र उहाँ रुनुभयो, किनभने उहाँले जसलाई बचाउन र आशिष् दिन आउनुभयो, तिनीहरू नै अन्धो र अपश्‍चात्तापी थिए ।MBAJ 2.1

    एक हजार वर्षभन्दा अगाडिदेखि परमेश्‍‍वरले आफ्‍ना चुनिएका जनहरूलाई गर्नुभएको विशेष अनुग्रह, माया र हेरचाहको इतिहास येशूको आँखामा खुला भएको थियो । मोरिया पहाड़ पनि उहाँको सामुन्‍ने नै थियो जहाँ प्रतिज्ञाको पुत्र, स्‍वयम् एक बलिदान हुन स्‍वीकार गरेर वेदीमा बाँधिएका—परमेश्‍‍वरका पुत्रको बलिदानको चिन्ह—थिए । त्यहाँ विश्‍‍वासको पिताका लागि एउटा महिमित मसीहको प्रतिज्ञा र आशिषको करार सदर भएको थियो । उत्पत्ति २२:९, १६-१८ । त्यहाँ अरौनाको खलाबाट स्‍वर्गतिर गइरहेको बलिदानका ज्‍वालाहरूले नष्‍टकारी स्‍वर्गदूतको तरवारलाई फर्काइ दिएका थिए—मुक्तिदाताको बलिदानको सुहाउँदो चिन्ह र दोषी मानिसहरूका एक मध्यस्थता । (१ इतिहास २१) । सारा पृथ्वीमध्ये यरूशलेमचाहिँ परमेश्‍‍वरको दृष्‍टिमा अति नै सम्मानित थियो । “परमप्रभुले सियोनलाई छान्‍नुभएको छ; उहाँले त्यसलाई आफ्‍नो निवासको निम्ति चाहनुभएको छ ।” भजनसंग्रह १३२:१३ । युगौँ-युगसम्म त्यहाँ पवित्र अगमवक्ताहरूले चेतावनीका सन्देशहरू दिएका थिए । त्यहाँ पूजाहारीहरूले तिनीहरूका धुपौरो हल्‍लाउँदथे, धुपको धुवाँ आराधकहरूको प्रार्थनासँगै परमेश्‍‍वरको सामु पुग्दथ्यो । त्यहाँ दैनिक रूपमा मारिएको थुमाको रगत चढाइन्थ्यो, जसले परमेश्‍‍वरको थुमालाई देखाइरहेको थियो । त्यहाँ कृपा आसनमाथि भएको महिमाको बादलमा यहोवाको उपस्थिति थियो । त्यहाँ एउटा रहस्यमय भऱ्याङ्ग अवस्थित थियो जसमाथि स्‍वर्गदेखि पृथ्वीसम्म स्‍वर्गदूतहरू उर्लने र उक्‍लने गर्दथे, (उत्पत्ति २८:१२; यूहन्‍ना १:५१) अनि यसले संसारलाई महापवित्रस्थानसम्म पुग्‍ने बाटो खोली दिने गर्दथ्यो । यदि इस्राएल, देशको रूपमा परमेश्‍‍वरप्रति बफादारी भएको भए, परमेश्‍‍वरको चुनिएको यरूशलेम नै सदाका निम्ति रहनेथियो । यर्मिया १७:२१-२५ । तर त्यो निगाह-पात्र जाति इतिहासमै विश्‍‍वासबाट पछि सरेको र विद्रोही भएको कुरा लेखिएको थियो । तिनीहरूले स्‍वर्गको अनुग्रहलाई प्रतिकार गरे, तिनीहरूको सौभाग्यलाई हेलचेक्राइँ गरे, र तिनीहरूले अवसरहरू गुमाए ।MBAJ 2.2

    इस्राएलले “परमेश्‍‍वरका ती दूतहरूलाई खिस्सी गरे, उहाँका वचनहरूलाई तुच्छ ठाने र उहाँका भविष्यवक्ताहरूसित नराम्रो व्यवहार गरे ।” (२ इतिहास ३६:१६ KJV) । तापनि उहाँले आफैलाई “परमप्रभु, परमप्रभु परमेश्‍‍वर टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍‍वस्ततामा प्रशस्त हुनुहुन्छ,” (प्रस्थान ३४:६) भनी तिनीहरूकहाँ प्रकट गर्नुभयो; उहाँको कृपालाई बारम्बार अस्‍वीकार गरेतापनि त्यसले निरन्तररूपमा बिन्ती गर्दैथियो । आफूले पालनपोषण गरेको छोरोप्रति बुवाको करुणामय प्रेमभन्दा अधिक मात्रामा परमेश्‍‍वरले चाँडै उठ्‍दै र पठाउँदै “आफ्‍ना दूतहरूको हातद्वारा उनीहरूकहाँ” पठाउनुभएको थियो; “किनभने उहाँले आफ्‍नो प्रजा र आफ्‍नो वासस्थानलाई टिठाउनुहुन्थ्यो ।” २ इतिहास ३६:१५ (KJV) । जब निवेदन, बिन्ती र सल्‍लाह असफल भएका थिए त्यही समयमा उहाँले तिनीहरूकहाँ सबभन्दा उत्तम स्‍वर्गीय उपहार पठाउनुभयो, त्यति मात्र होइन, उहाँले एउटै उपहारमा पूरै स्‍वर्ग नै वर्षाउनुभयो ।MBAJ 3.1

    परमेश्‍‍वरको पुत्रलाई नै त्यो अपश्‍चात्तापी शहरलाई बिन्ती गर्न पठाउनुभयो । उहीं ख्रीष्‍टले इस्राएललाई मिश्रबाट सुन्दर दाखको बोट जस्तै गरी ल्याउनुभएको थियो । भजनसंग्रह ८०:८ । तिनीहरूका सामुन्‍नेबाट मूर्तिपूजकहरूलाई उहाँको आफ्‍नै हातले निकाल्‍नु भएको थियो । उहाँले “मलिलो डाँड़ामा” त्यसलाई रोप्‍नुभयो । चाकरले त्यसलाई वरिपरि बार लगाएर राम्ररी स्याहार पुऱ्याएको थियो । उहाँका नोकरहरूलाई गोड़मेल गर्न पठाउनुभयो । तब उहाँ आश्‍चर्य मान्दै भन्‍नुहुन्छ, “मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‍ता मैले गर्नुपर्ने थियो ?” यशैया ५:१-४ । उहाँले असल अंगुरको प्रतीक्षा गर्नुभएको थियो, तापनि त्यसले त जङ्गली अंगुर पो फलायो, तरै पनि केही फलको अति आशा बोकेर उहाँ आफै व्यक्तिगतरूपमा आफ्‍नो दाखबारीमा आउनुभयो, शायद त्यो विनाशबाट बाँच्थ्यो कि ! उहाँले आफ्‍नो बोट वरिपरी खन्‍नुभयो; उहाँले त्यसलाई छाट्‍नुभयो र त्यसलाई हेरचाह गर्नुभयो । आफ्‍नो दाखबारीलाई स्याहार गर्न उहाँले अत्यन्तै प्रयत्‍न गर्नुभयो ।MBAJ 3.2

    ज्योति र महिमाका प्रभु, उहाँका मानिसहरूको बीचमा तीन वर्षसम्म भित्र र बाहिर हिँड्‍नुभयो । “उहाँ भलाइ गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्‍नुभयो,” (KJV) टुटेको हृदयलाई मलमपट्टी लाउँदै, बन्धनमा परेकाहरूलाई स्‍वतन्‍‍त्र दिलाउँदै, अन्धाहरूलाई दृष्‍टि दिदै, लङ्गड़ालाई हिँड्‍ने शक्ति दिदै र बहिराहरूको कान खोलिदिदै, कुष्‍ठरोगीहरूलाई शुद्ध पार्दै, मृतकहरूलाई बौरी उठाउँदै र दरिद्रहरूसँग सुसमाचार प्रचार गर्दै हिँड्‍नुभयो । प्रेरित १०:३८; लूका ४:१८; मत्ती ११:५ । उहाँले सबै स्तरका मानिसहरूलाई एउटै अनुग्रही बोलावट गर्नुहुन्थ्यो: “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु ।” मत्ती ११:२८ ।MBAJ 4.1

    भलाइको बदली खराब, प्रेमको बदला घृणाको इनाम पाउनु भएतापनि (भजनसंग्रह १०९:५) उहाँको कृपामय जीवनोद्देश्‍‍यमा दृढतासाथ लागिरहनुभयो । उहाँको अनुग्रह खोज्‍नेहरू कहिल्यै पनि तिरस्कृत भएनन् । एक घरविहीन बटुवा भई, निन्दनीय र दरिद्रतामा जीवनयापन गर्नु नै उहाँको दैनिक अंश थियो; जो आवश्‍‍यकमा परेका छन् र मानविक शोकले भरिएका छन् तिनीहरूलाई सेवा पुऱ्याउन र तिनीहरूका निम्ति जीवनको उपहार स्‍वीकार्य होस् भनी तिनीहरूसँग बिन्ती गर्नका लागि उहाँले जीवनयापन गनुभएको थियो । कृपाका छालहरूलाई ती अटेरी हृदयहरूले खिल्‍ली उड़ाए, उहाँले त्यसको बदला अझै प्रगाढ र अवर्णनीय दया र प्रेम दिनुभयो । तर आफ्‍नो घनिष्‍ठ मित्र र एउटै मात्र सहायकदेखि इस्राएल टाढ़ा गइसकेको थियो । उहाँको प्रेमको याचनालाई तिनीहरूले घृणा गरे, उहाँका सल्‍लाहहरूलाई लत्याए, उहाँका चेतावनीहरूलाई खिल्‍ली उड़ाए ।MBAJ 5.1

    आशा र क्षमाका घडी वेगसाथ पार हुँदैथिए; लामो समयदेखि जम्मा भएको परमेश्‍‍वरको क्रोधको कचौरा अब झण्डै भरिसकेको थियो । पतन र विद्रोहीका युगहरूभरि जम्मा भइरहेको बादल अब त्रासले कालो भयो, र जुनचाहिँ दोषी मानिसहरूप्रति डरलाग्दो रूपमा थुप्रिनै लागेको थियो; जसले सन्‍निकट विनाशबाट बचाउन सक्‍नुहुन्थ्यो तिनीहरूले उहाँलाई नै तुच्छ ठाने, दुर्व्यवहार गरे, अस्‍वीकार गरे र उहाँलाई चाँडै नै क्रूसमा चढ़ाउनेथिए । जब ख्रीष्‍ट कलवरी क्रूसमा झुण्डिनुपर्ने थियो, तब इस्राएलले त्यही दिनदेखि देशको रूपमा परमेश्‍‍वरको आशिषित र अनुग्रह-पात्र जातिको मौका गुमाउनुपर्ने थियो । यस संसारका धन र फाइदाहरूभन्दा त एउटै आत्मा नष्‍ट भयो भने पनि असीम आपत्तिको कुरा हुन्छ; तर ख्रीष्‍टले यरूशलेमलाई हेर्नुभयो, र पूरै शहरमा दण्ड-घोषणा भएको थियो, समस्त देशको विनाश नजिकै थियो—त्यही शहर र जाति जसलाई एक समय परमेश्‍‍वरले चुन्‍नुभएको थियो, र जुन उहाँको निजी गाडधन पनि भएको थियो ।MBAJ 5.2

    इस्राएलको पतन र तिनीहरूको पापले निम्त्याउने डरलाग्दो विनाश देखेर अगमवक्ताहरू रोएका थिए । यर्मियाले इच्छा गरे कि तिनका आँखाहरू आँसुको मूल भए त उहाँका मानिसहरूकी छोरीको संहारको हत्या र प्रभुको बगाल बन्दी भएको अवस्थामाथि दिन रात विलाप गर्न सक्थे । यर्मिया ९:१; १३:१७ । यसको विषयमा अगमवाणीक झलक वर्षौ होइन, तर युगौँ अगाडिदेखि नै पठाउनुभएको थियो, के त्यसो भए उहाँलाई अझै गहिरो चिन्ता थिएन होला र ! धेरै समयसम्म यहोवाको वासस्थान ठहरिएको शहरको विरुद्धमा विनाशकारी स्‍वर्गदूतको तरवार उठेको उहाँले देख्‍नुभयो । जैतुन पहाड़को टुप्पो, जुन ठाउँ तितस र तिनका सेनाहरूले कब्‍जा गर्न गइरहेका थिए, उहाँले उपत्यका पारिपट्टि भएका त्यही पवित्र दलानहरू र बरण्डाहरू देख्‍नुभयो, र यस्ता दृश्‍‍यहरूलाई आँखाभरि आँसु रसाएको मधुरो आँखाले हेर्नुभयो, एउटा यस्तो डरलाग्दो दृश्‍‍य पनि देख्‍नुभयो, कि पर्खालहरू विदेशी फौजले घेरिरहेको थियो । उहाँले लड़ाइँका निम्ति तयारीमा लड़ाकूहरू हिँडेको आवाज सुन्‍नुभयो । ती सेनाद्वारा घेरिएकाे शहरमा आमा र बच्‍चाका स्‍वरहरू खानाकाे लागि कराइरहेकाे सुन्‍नुभयो । त्यसको पवित्र र सुन्दर घर साथै त्यसका दरबारहरू र स्तम्भहरू उहाँले आगलागीमा परेको देख्‍नुभयो र जहाँ तिनीहरू एकपल्ट आवासित थिए, त्यहाँ विनाशको लागि थुप्रेको चुलीबाट धुवाँ मात्रै निस्किरहेको देख्‍नुभयो ।MBAJ 5.3

    भविष्यका युगहरूलाई हेर्नुहुँदाखेरि उहाँले प्रतिज्ञाका मानिसहरू “समुद्रको किनारमा ध्वंस्त भएको जहाजजस्तै” जताततै “छरिएको” देख्‍नुभयो । त्यसका सन्तानमाथि अस्थायी बदला आउनै लागेको थियो जुनचाहिँ त्यो क्रोधको कचौराको पहिलो घुट्‍को थियो, तर त्यसको अन्तिम न्यायमा थेग्रोसमेत पिउनुपर्ने वास्तविकता उहाँले देख्‍नुभयो । ईश्‍‍वरीय करुणा र तिर्सनात्मक प्रेम, यस्तो दुःखद् शब्दहरूमा उच्‍चारित हुनुपऱ्यो: “ए यरूशलेम, यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने ! जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्‍ने इच्छा गरें, तर तैंले मानिनस् ।” ओहो ! तँ नै, सबै अरू जातिभन्दा एक अनुग्रह-पात्र जाति थिइस्, तँ तेरो भेटघाटको समय र शान्तिको विषयमा अनविज्ञ छस् ! मैले इन्साफ ल्याउने स्‍वर्गदूत रोकाएँ, मैले तिमीहरूलाई पश्‍चात्ताप गर्न आह्वान गरें, तर यी सबै व्यर्थ भयो । तैंले दासहरू, प्रतिनिधिहरू र अगमवक्ताहरूलाई मात्र अस्‍वीकार गरेनस्, तर इस्राएलको पवित्र जन, तेरै उद्धारकर्तालाई नै अस्‍वीकार गरिस् । यदि तँ नष्‍ट भएको भए, तँ आफै जिम्मेवारी हुनेथिइस् । “तिमीहरू जीवन प्राप्‍त गर्न मकाहाँ आउन इन्कार गर्छौ ।” मत्ती २३:३७; यूहन्‍ना ५:४० ।MBAJ 6.1

    ख्रीष्‍टले यरूशलेममा एउटा सङ्केत देख्‍नुभयो, जसमा कि संसारले पनि अविश्‍‍वास र कठोर विद्रोहद्वारा परमेश्‍‍वरको प्रतिशोधकारी न्याय नितान्त निकट बनाइरहेको थियो । पतित जातिको चिन्ताले उहाँको प्राणलाई दबाइरहेको थियो, त्यसैले उहाँको ओठबाट अत्यन्तै तीतो चित्कार निकाल्‍न बाध्य हुनुभयो । उहाँले मानवजातिको इतिहास देख्‍नुभयो, जहाँ दुःख, आँसु र रगत लेखिएको थियो; उहाँको अनन्त दयाले भरिपूर्ण भई संसारका दुःख र कष्‍टमा परेकाहरू सबैलाई छुटकारा दिन चाहनुभयो । तर उहाँको हातले पनि मानिसहरूका तीव्रगतिमा बढिरहेको दुःखलाई शायद रोक्‍नु सक्‍नुहुनेथिएन; तिनीहरूको एक मात्र सहायताको स्रोतलाई थोरैले मात्र खोज्‍नेथियो । तिनीहरूको मुक्तिका लागि उहाँ आफै मर्न तयार हुनुहुन्थ्यो; तर तिनीहरू जीवन पाउनका खातिर थोरै मात्र उहाँकहाँ आउनेथियो ।MBAJ 6.2

    स्‍वर्गीय ऐश्‍‍वर्यको गहभरि आँसु भयो ! अनन्त परमेश्‍‍वरको पुत्र बेचैन हुनुभयो, उहाँ अधिक सन्तापले झुक्‍नुभयो ! यो दृश्‍‍यले सम्पूर्ण स्‍वर्ग नै अचम्मित हुन पुग्यो । त्यस्तो दृश्‍‍यले हामीलाई पापको घोर अपराध प्रकट गराउँदछ; त्यसले देखाउँछ कि परमेश्‍‍वरकाे व्यवस्था भङ्ग गरेको परिणामबाट, अनन्त शक्तिलाई पनि, दोषीहरूलाई बचाउन कति कठिन भएको थियो । येशूले अन्तिम पुस्तालाई हेर्नुभयो, र संसार पनि उस्तै भ्रममा परेको देख्‍नुभयो जसको कारण यरूशलेमको विनाश भएको थियो । ख्रीष्‍टलाई अस्‍वीकार गर्नु नै यहूदीहरूको भयङ्कर पाप थियो; त्यसरी नै परमेश्‍‍वरकाे व्यवस्थालाई अस्‍वीकार गरेर इसाईजगतले सबभन्दा भयङ्कर पाप गर्नेछ; तीचाहिँ स्‍वर्ग र पृथ्वीका शासन गर्ने आधारहरू हुन् । यहोवाका विधानहरूलाई घृणा गरिनेछ र केही मूल्यको गनिने छैन । लाखौँ मानिसहरू पापको बन्धनमा परेका छन्, शैतानका दासहरू भएका छन्, दोस्रो मृत्युको कष्‍ट भोग्‍न तयार भएका छन्, तिनीहरूले आफ्‍नो भेटघाटको दिनमा पनि सत्यता सुन्‍न इन्कार गर्नेछन् । कति डरलाग्दो अन्धोपन ! कस्तो अनौठो मुर्खता !MBAJ 7.1

    निस्तार चाड़भन्दा दुई दिन अगाडि, जब येशूले यहूदी शासकको पाखण्डीपनलाई निन्दा गर्नुभयो, त्यसपछि सँधैका लागि उहाँ मन्दिरबाट निस्कनुभयो, तब उहाँ फेरि जैतुन पहाड़मा आफ्‍ना चेलाहरूसँग जानुभयो र उहाँ तिनीहरूसँग शहरको दृश्‍‍य देखिने चउरमा बस्‍नुभयो । फेरि एक पल्ट त्यसका पर्खालहरू, स्तम्भहरू र महलहरूलाई हेर्नुभयो । उहाँले फेरि एक पल्ट मन्दिरलाई हेर्नुभयो, त्यसको महिमा झल्किरहेको थियो, र पवित्र पहाड़ सुन्दर मुकुटले पहिरिएको जस्तै थियो ।MBAJ 7.2

    एक हजार वर्ष अघि नै भजन लेखकले इस्राएलको पवित्र घर, अर्थात् उहाँको वासस्थान बनाएर त्यसप्रति परमेश्‍‍वरको दयालाई प्रशंसनीय बनाएका थिए । “शालेममा उहाँको वासस्थान, र उहाँको बस्‍ने ठाउँ सियोनमा छ ।” उहाँले “यहूदाको कुललाई चुन्‍नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो । उहाँले आफ्‍नो पवित्रस्थान उच्‍च स्‍वर्गझैँ बनाउनुभयो ।” भजनसंग्रह ७६:२; ७८:६८, ६९ । प्रथम मन्दिरचाहिँ इस्राएलको इतिहासको सबभन्दा उन्‍नतिशील समयमा स्थापना भएको थियो । यो मन्दिर बनाउन दाऊद राजाले अत्याधिक मात्रामा धन-सम्पत्ति जम्मा गरे, त्यसको निर्माण कार्यको परियोजना ईश्‍‍वररीय प्रेरणाद्वारा भएको थियो । १ इतिहास २८:१२, १९ । इस्राएलका राजाहरूमध्ये सबभन्दा बुद्धिमान सलोमनले उक्त मन्दिर निर्माण-कार्य सु-सम्पन्‍न गरेका थिए । त्यो मन्दिर सबभन्दा ऐश्‍‍वर्यपूर्ण भवन भयो जस्तो कि संसारले यस्तो कहिल्यै पनि देखेको थिएन । तर अगमवक्ता हाग्गैद्वारा परमप्रभुले दोस्रो मन्दिरको विषयमा यसो भन्‍नुभएको थियो: “यस पछिल्‍लो भवनको महिमाचाहिँ पहिलो भवनको भन्दा बढ़ी हुनेछ ।” “म सबै जातिहरूलाई हल्‍लाउनेछु, अनि सबै जातिहरूको चाहना आउनेछ; अनि म यस भवनलाई महिमाले भरिदिनेछु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ ।” हाग्गै २:९, ७ (KJV) ।MBAJ 7.3

    नबुकदनेसरद्वारा मन्दिर नष्‍ट भएदेखि यता मानिसहरू जीवनभरि नै बन्दी भएर बसेका थिए र ख्रीष्‍ट जन्मनुभन्दा पाँच सय वर्ष अगाडि तिनीहरू त्यो मरूभूमि जस्तो देशमा फर्केर गए, अनि मन्दिर पुनर्निर्माण गरे । त्यहाँ तिनीहरूमध्ये केही उमेरमा पाका मानिसहरू पनि थिए जसले सलोमनको महिमित मन्दिर देखेका थिए, र तिनीहरू नयाँ भवनको जग बसाल्‍ने बेलामा रोए, किनकि यो मन्दिर अघिल्‍लो भन्दा कमसल हुन्छ भनी थाहा थियो । अगमवक्ताले प्रबलतासाथ प्रचलित अनुभव वर्णन गरेका छन्: “तिमीहरूमध्ये अब को बाँकी रहेको छ, जसले यो भवनको अघिको महिमामा देखेको छ ? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ ?” हाग्गै २:३; एज्रा ३:१२ । त्यही समयमा प्रतिज्ञा गरिएको थियो कि अघिल्‍लो भन्दा पछिल्‍लो मन्दिरको महिमाचाहिँ महान् हुनेछ ।MBAJ 8.1

    तर पछिल्‍लो चाहिँ भव्यताको तुलनामा अघिल्‍लो मन्दिर समान थिएन; न ता ती ईश्‍‍वरीय उपस्थितिका दृश्‍‍य स्मारकहरू नै थिए जसले अघिल्‍लो मन्दिरलाई पवित्र पारेका थिए । त्यसको समर्पणमा ईश्‍‍वरीय शक्तिको प्रदर्शन भएन । नव-निर्मित पवित्रवासस्थानलाई ढाक्‍न कुनै पनि महिमित बादल देखिएन । स्‍वर्गबाट आगो खसेर त्यसको वेदीमा भएको बलिदानलाई भष्म पारेन । महापवित्रस्थानभित्र करूबहरूको बीचमा शिकैनाले [परमेश्‍‍वरको उपस्थिति] बास गरेको थिएन; त्यहाँ गवाहीको पाटी, कृपा आसन र सन्दुक पनि थिएनन् । पूजाहारीले यहोवाको इच्छा बुझ्‍न सोधपुछ गर्थे, तर स्‍वर्गबाट कुनै पनि जवाफ आउँदैनथ्यो ।MBAJ 8.2

    हाग्गैद्वारा गरिएको परमेवरको प्रतिज्ञा यहूदीहरूले व्यर्थमा पुस्तौँसम्म पूरा भएको देखाउन खोजे; तापनि अगमवक्ताको वचनको सत्य आशयप्रति अविश्‍‍वास र घमण्डले तिनीहरूका दिमागहरू अन्धा भएका थिए । दोस्रो मन्दिर यहोवाको महिमाको बादलद्वारा सम्मानित भएन, तर जीवित व्यक्तिको उपस्थितिद्वारा सम्मानित भयो जो त्रिएक परमेश्‍‍वरमध्ये एक हुनुहुन्थ्यो—जो आफै परमेश्‍‍वर हुनुहुन्थ्यो र शरीरमा अवतार हुनु भएको थियो । जब नासरतको मानिसले पवित्र कम्पाउण्डमा शिक्षा दिनुभयो र निको पार्नुभयो तब “सबै जातिहरूको इच्छा” निश्‍चय नै उहाँको मन्दिरमा प्रवेश भएको थियो । दोस्रो मन्दिरचाहिँ ख्रीष्‍टको उपस्थितिले मात्र प्रथमभन्दा अत्यन्तै महिमित भएको थियो । तर इस्राएलले स्‍वर्गबाट टक्र्याएको उपहारलाई वास्ता गरेन । जुन दिन नम्र शिक्षक सुनौलो ढोकाबाट निस्कनुभयो, त्यही दिन महिमा पनि मन्दिरबाट सदैवका निम्ति उहाँसँगै प्रस्थान भएको थियो । त्यहाँ मुक्तिदाताका वचनहरू पूरा भइसकेका थिए: “हेर, तिमीहरूको घर उजाड़ छोडिएको छ ।” मत्ती २३:३८ ।MBAJ 8.3

    ख्रीष्‍टले त्यो मन्दिर विनाश हुन्छ भनेर अगमवाणी गर्नुभयो, त्यसकारण चेलाहरू अचम्मित र चिन्तित भएका थिए, त्यसपछि तिनीहरूले उहाँको वचनका अर्थहरू अझै राम्ररी बुझ्‍ने इच्छा प्रकट गरे । चालिस वर्षभन्दा अधिक समयसम्म त्यसका महिमाहरूलाई प्रशस्त गरी बढाउन धन, परिश्रम, हस्तकला जस्ता कुराहरू लगानी गरेका थिए । त्यसमा महान् हेरोदले पनि रोमी र यहूदीहरूकाे अर्थ भण्डारबाट प्रशस्त मात्रामा लगानी गरेका थिए, र संसारका सम्राटले पनि तिनको उपहारद्वारा त्यसलाई धनी तुल्याएका थिए । त्यसैका लागि सबभन्दा विशाल र गहन सेतो मणिशिला रोमबाट पठाइएको थियो र जसले बनावटको एक भागलाई आकार दिएको थियो; यी नै कुराहरूमा चेलाहरूले उनीहरूका मालिकको ध्यान यसो भनेर आर्कषित गर्ने प्रयत्‍न गरे, “हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू ।” मर्कूस १३:१ ।MBAJ 9.1

    येशूले यी शब्दहरूमा गम्भीर र झस्कने जवाफ दिनुभयो: “ तिमीहरूलाई भन्छु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ ।” मत्ती २४:२ ।MBAJ 9.2

    ख्रीष्‍टको सांसारिक महिमाकाे लागि व्यक्तिगत आगमन, विश्‍‍व साम्राज्यको सिंहासन प्राप्‍त गर्ने, अपश्‍चात्तापी यहूदीलाई सजाय दिने, र रोमको जुवा त्यो जातिबाट भाँच्‍ने जस्ता कुराहरू चेलाहरूले यरूशलेमको विनाशसँगै समावेश गरेका थिए । प्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो कि उहाँको दोस्रो आगमन हुनेछ । तसर्थ यरूशलेममाथि आउने न्यायहरूको छलफल गर्दा तिनीहरूका दिमागहरूचाहिँ त्यो आगमनतर्फ फर्किए; र जब तिनीहरू मुक्तिदाताको वरिपरि जैतुनको पहाड़मा भेला भए, तब तिनीहरूले यसरी सोधे: “यी कुरा कहिले हुनेछन् ? र तपाईंको आगमन र संसारको अन्त्यको चिन्ह के हुनेछ ?” मत्ती २४:३ ।MBAJ 9.3

    भविष्यचाहिँ चेलाहरूको नजरबाट कृपासाथ लुकिएको थियो । यदि त्यति बेला तिनीहरूले ती दुई ओटा डरलाग्दा वास्तविकताहरू पूर्णरूपले थाहा पाएको भए—मुक्तिदाताका कष्‍टहरू र मृत्यु, र शहर र मन्दिरको विनाश—तिनीहरू डरले व्याकुल हुनेथिए । ख्रीष्‍टले तिनीहरूलाई समयको अन्तभन्दा अगाडि हुने मुख्य घटनाहरूको रूपरेखा प्रकट गरिदिनुभयो । उहाँका शब्दहरू त्यही समयमा पूर्णरूपले बुझेनन्; तर त्यसका अर्थहरू उहाँका मानिसहरूलाई शिक्षाको आवश्‍‍यक परेअनुसार प्रकट हुनुपर्ने थियो । उहाँको अगमवाणीमा दुई गुणा आशयहरू रहेका थिए; यरूशलेमको विनाशको विषयमा पूर्व जनाउ गर्नुका साथै त्यसले अन्तिम महान् दिनको आतंकित समयलाई पनि सङ्केत गरेको थियो ।MBAJ 10.1

    येशूले आफ्‍ना स्रोता चेलाहरूलाई ती न्यायहरूको विषयमा घोषणा गर्नुभयो जुन पतित इस्राएलमाथि आउनै लागेका थिए, विशेष गरी तिनीहरूमाथि प्रतिशोधकारी दण्ड आउँदैथियो, किनकि तिनीहरूले आफ्‍ना मसीहलाई अस्‍वीकार गरे र क्रूसमा चढ़ाए । यी निश्‍चित चिन्हहरूले कष्‍टको चरमसीमामा पुऱ्याउनेथिए । त्यो डरलाग्दो घडी वेगसाथ र अचानक आउँदैथियो । अनि मुक्तिदाताले आफ्‍ना चेलाहरूलाई चेतावनी दिनुभयो: “यसकारण जब दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोकलाई तिमीहरूले पवित्रस्थानमा उभिएको देख्‍नेछौ (पाठकले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून् ।” मत्ती २४:१५-१६; लूका २१:२०-२१ । जब रोमका मूर्तिपूजक झण्डाहरू शहरको पर्खालबाट पर पवित्र भूमिमा खडा भएका हुन्थे तब ख्रीष्‍टका चेलाहरूले सुरक्षित ठाउँहरूमा भाग्‍ने मौका लिनुपर्ने थिए । जब चेतावनीको चिन्ह देखा पर्दथ्यो तब तिनीहरू ढिलो नगरी भाग्‍नुपर्ने थिए । यहूदियाको देशभरि साथै यरूशलेममा पनि भाग्‍ने चेतावनीको चिन्हलाई तुरुन्तै पालन गरिनुपर्दथ्यो । घरको कौसीमा हुनेहरू आफ्‍नो अति बहुमूल्य गाडधन लिन घरभित्र पस्‍नु हुँदैन थिए । जोजो मध्यदिनको घाममा खेत वा दाखबारीमा परिश्रम गर्दथे तिनीहरूले निकालेर राखेको खास्टो लिन जानु हुँदैन थियो । तिनीहरूले क्षणभर पनि दोधार गर्नु हुँदैन थियो नत्रता तिनीहरू पनि असाधारण विनाशमा फस्‍ने थिए ।MBAJ 10.2

    हेरोदको शासनकालमा, यरूशलेम सुन्दरताले मात्र भरिएको थिएन, तर त्यसको स्‍वभाविक अवस्थाकाे सामर्थ्यका लागि थप धरहराहरू, पर्खालहरू र किल्‍लाहरू पनि खडा गरेका थिए जहाँ शत्रु प्रवेश गर्न नसकिने प्रकारको प्रबन्ध मिलाइएकाे थियो । यदि यो समयमा त्यसको विनाशको विषयमा सार्वजनिक भविष्यवाणी बोलेको भए, नोआको दिनमा नोआलाई झैँ तिनीहरूले चेतावनी दिने व्यक्तिलाई बौलाहाको उपनाम दिनेथिए । तर ख्रीष्‍टले भन्‍नुभएको थियो: “आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्‍नेछैन ।” मत्ती २४:३५ (KJV) । त्यसको पापको कारणले यरूशलेममाथि क्रोधको घोषण भएको थियो, र त्यसको अटेरी अविश्‍‍वासको कारण दण्ड-घोषित भएको थियो ।MBAJ 10.3

    मीका अगमवक्ताद्वारा परमप्रभुले घोषणा गर्नुभयो: “हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ, जसले रगत बगाई सियोनलाई र दुष्‍टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ । त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन् । त्यसका पूजाहारीहरूले ज्याला लिएर सिकाउँदछन् । त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी कहँदछन् । तापनि तिनीहरू परमेश्‍‍वरको आड़ लिएर भन्छन्, ‘के परमप्रभु हाम्रो बीचमा हुनुहुन्‍न र ? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।’” मीका ३:९-११ ।MBAJ 11.1

    यरूशलेमकाे भ्रष्‍ट र स्‍वधर्मी बासिन्दाहरूको विषयमा यी शब्दहरू विश्‍‍वासयोग्यसाथ वर्णन गरिएकाे थियो । तिनीहरूले परमेश्‍‍वरको व्यवस्थाका विधानहरू कडा रूपमा पालन गर्ने बहाना गरेर सबै व्यवस्थाहरूलाई भङ्ग गर्दथे । ख्रीष्‍टको शुद्धता र पवित्रताले तिनीहरूको अशुद्धतालाई प्रदर्शन गर्दथ्यो त्यसकारण तिनीहरूले उहाँलाई घृणा गर्थे; तिनीहरूले उहाँलाई सबै कष्‍टहरूकाे कारकको रूपमा दोष लगाउथे जबकि ती सब तिनीहरू कै पापको परिणाम थिए । तिनीहरूलाई थाहा थियो कि उहाँ पापरहित हुनुहुन्छ, तापनि तिनीहरूका सम्पूर्ण जातिको सुरक्षाका लागि उहाँको मृत्यु हुनुपर्छ भनी तिनीहरूले घोषणा गरेका थिए । यहूदी अगुवाहरूले भने, “यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍‍वास गर्नेछन्, र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र जाति दुवैलाई नष्‍ट पार्नेछन् ।” यूहन्‍ना ११:४८ । यदि ख्रीष्‍टलाई बलिदान गर्नु पाएको भए तिनीहरू फेरि एक पटक बलियो र एकत्रित जाति हुनेथिए । तिनीहरूले यसरी सोचे; र प्रधान पूजाहारीको निर्णयमा नै सबैले समर्थन जनाए, किनकि सारा जाति नै नष्‍ट हुनु भन्दा त बरु एउटा मानिस मर्नु नै असल हुन्छ ।MBAJ 11.2

    यसरी यहूदी अगुवाहरूले “सियोनलाई रक्तपातले र यरूशलेमलाई अधर्मले निर्माण” गरेका थिए । मीका ३:१० (KJV) । मुक्तिदाताले तिनीहरूका पाप औल्याउनुहुन्थ्यो, त्यसकारण तिनीहरूले उहाँलाई मारे, किनकि तिनीहरूले आफैलाई धर्मी ठानेका थिए, तापनि तिनीहरूले आफैलाई परमेश्‍‍वरको अनुग्रह-पात्र जातिको रूपमा नै मान्यता दिए र शत्रुहरूबाट परमप्रभुको बचावटको प्रतीक्षा गरिरहे । अगमवक्ता अझै भन्छन्: “यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, र यरूशलेमचाहिँ ढुङ्गा-रोडाको थुप्रो बन्‍नेछ, मन्दिरको डाँड़ाचाहिँ झाढ़ीहरू बढेर आएको ढिस्कोझैँ हुनेछ ।” मीका ३:१२ ।MBAJ 11.3

    ख्रीष्‍ट आफैले यरूशलेमकाे विनाशको अगमवाणी गर्नुभयो, र त्यस जाति र त्यस शहरमा परमेश्‍‍वरले उहाँका इन्साफहरू करिब चालिस वर्षसम्म ढिलो गर्नुभयो । सुसमाचार अस्‍वीकार गर्नेहरू र उहाँकै पूत्रका हत्याराहरूप्रति परमेश्‍‍वरको धैर्य अचम्मलाग्दो थियो । फलरहित रूखको दृष्‍टान्तले यहूदी जातिप्रति परमेश्‍‍वरको व्यवहारलाई प्रतिनिधित्‍व गरेको थियो । यस्तो आदेश आयो, “यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्‍ने ?” (लूका १३:७) तर ईश्‍‍वरीय कृपाले अझै केही समय प्रदान गरिएको थियो । ख्रीष्‍टकाे काम र चरित्रप्रति यहूदीहरूमध्ये धेरै जना अझै पनि अन्‍जान थिए । अनि तिनीहरूका छोराछोरीहरूले अवसरहरू वा ज्योति प्राप्‍त गरेका थिएनन् जुन तिनीहरूका बाबाआमाले घृणा गरेका थिए । प्रेरित र तिनीहरूका संगीहरूको प्रचारद्वारा परमेश्‍‍वरले तिनीहरूमाथि ज्योति चम्काउनु भयो; र तिनीहरूलाई अगमवाणी पूरा भएको ज्ञान प्रदान गरियो, त्यसरी ख्रीष्‍टको जन्म र जीवनमा मात्र होइन तर उहाँको मृत्यु र पुनरूत्थानमा पनि त्यसको पूर्णता तिनीहरूले देखे । बाबाआमाका पापहरूमै छोराछोरीहरू पनि दोषी ठहरिएका थिएनन्, तर बाबाआमालाई प्रदान गरिएको सम्पूर्ण ज्योतिका ज्ञानहरू, र तिनीहरूलाई दिइएको अतिरिक्त ज्योति जब तिनीहरूले अस्‍वीकार गरे, तब तिनीहरू पनि बाबाआमाका पापहरूमा समावेश भए, अनि तिनीहरूको अपराधको कचौरा भरियो ।MBAJ 12.1

    परमेश्‍‍वरले यरूशलेमप्रति धैर्यता प्रकट गर्नुभएको थियो, त्यसकारण यहूदीहरू झन अटेरी र अपश्‍चात्तापी भए । येशूका चेलाहरूलाई घृणा र क्रूरता गरेको कारण तिनीहरूले अन्तिम कृपाको दान पनि अस्‍वीकार गरे । त्यसपछि परमेश्‍‍वरले उहाँको सुरक्षा तिनीहरूदेखि लैजानुभयो र शैतान र त्यसका दूतहरूलाई प्रतिबन्ध गर्ने शक्ति तिनीहरूबाट हटाउनुभयो, अनि त्यो जाति त्यसले चुनेको शासकको शासनमा छाड़ियो । त्यसका सन्तानले ख्रीष्‍टको अनुग्रहलाई घृणा गरेका थिए, जसले तिनीहरूकाे खराब अभिलाषाहरूलाई वशमा राख्‍न सक्षम तुल्याउनेथियो, अब ती अभिलाषाहरू तिनीहरूमाथि विजयी भए । शैतानले मानिसको सबभन्दा नीच र तीव्र रिसहरू उक्सायो । मानिसहरूले बुद्धि प्रयोग गरेनन्; ती कुराहरू तिनीहरूकाे समझदेखि बाहिर थिए अर्थात्—अभिलाषा र अन्धो रिसद्वारा नियन्‍त्रित भए । तिनीहरूकाे क्रूरतामा तिनीहरू शैतान जस्तै भए । परिवार र देशसाथै सबभन्दा उच्‍च र नीच स्तरका मानिसहरूको बीचमा जताततै शंका, घृणा, डाह, झगड़ा, विद्रोह, हत्याले भरिएको थियो । कहीँ पनि सुरक्षा थिएन । साथीहरू र आफन्तहरूले एक-अर्कालाई धोका दिन्थे । बाबाआमाले तिनीहरूका छोराछोरीलाई हत्या गर्थे र छोराछोरीले बाबाआमालाई मार्थे । मानिसका अगुवाहरूसँग आफैलाई नियन्‍‍त्रण गर्ने शक्ति थिएन । अनियन्‍त्रित रिसहरूले तिनीहरूलाई तानाशाही बनायो । यहूदीहरूले परमेश्‍‍वरको निर्दोष पुत्रलाई दोषी ठहऱ्याउन झूटो साक्षी स्‍वीकार गरेका थिए । अब झूटो दोषले तिनीहरूका जीवनहरू नै अनिश्‍चित बनाइदियो । यसरी अघिदेखि नै तिनीहरूको व्यवहारले भनिरहेको थियो, “इस्राएलका पवित्र जनलाई हाम्रो सामुबाट हटाओ !” यशैया ३०:११ (KJV) । अब तिनीहरूकाे इच्छा प्रदान गरियो । तिनीहरूलाई परमेश्‍‍वरको भयले अब विचलित पारेन । शैतान नै राज्यको अगुवा भएको थियो, राष्‍ट्र र धर्मका सर्वोच्‍च अधिकारहरू उसकै अधीनमा थियो ।MBAJ 12.2

    तिनीहरूका घृणित मानिसहरूलाई बेला-बेलामा लुट्‍न र यातना दिन विरोधी दलहरूका अगुवाहरू जम्मा हुन्थे, अनि तिनीहरूले एक-अर्काका दलहरूलाई आक्रमण गरेर कृपाविना मारकाट गर्थे । मन्दिरको पवित्रताले पनि तिनीहरूको डरलाग्दो निर्दयीतालाई थाम्‍न सक्दैनथ्यो । आराधकहरू वेदीको सामुन्‍ने ढले र पवित्रस्थान मरेका लाशहरूले दूषित भए । तापनि तिनीहरूको अन्धो र ईश्‍‍वर-निन्दक दुःसाहसमा घिनलाग्दा कामका सृजकहरूले सार्वजनिक रूपमा घोषणा गरे कि यरूशलेम विनाश हुने कुनै डरै थिएन किनकि यो त परमेश्‍‍वरको आफ्‍नै शहर थियो । तिनीहरूको शक्ति अझै सुदृढ पार्नका लागि तिनीहरूले झूटा अगमवक्ताहरूलाई झूटो अगमवाणी बोल्‍न घूस दिए, कि रोमीका फौजले शहरलाई घेरेतापनि मानिसहरूले चाहिँ परमेश्‍‍वरको बचाव पर्खिरहनुपर्ने थिए । भीडहरूले अन्तिमसम्म, सर्वोच्‍च परमेश्‍‍वरले सहायता गर्नहुन्छ र तिनीहरूका शत्रुहरूलाई पराजय गर्नुहुन्छ भन्‍ने दृढ विश्‍‍वास राखे । तर इस्राएलले ईश्‍‍वरीय बचावटलाई अस्‍वीकार गरेको थियो, अब त्यसको सुरक्षा केही पनि थिएन । बिचरा दुःखी यरूशलेम ! आन्तरिक झगड़ाहरूले नै विभाजन भयो, एक-अर्काको हातद्वारा मारिएका छोराछोरीहरूकाे रगतले सड़कहरू राता भए, त्यही बेला विदेशी सेनाहरू आएर तिनीहरूको किल्‍ला भत्काए र त्यसका लड़ाकहरूलाई मारे !MBAJ 13.1

    यरूशलेमको विनाश सम्बन्धी ख्रीष्‍टद्वारा गरिएको सम्पूर्ण अगमवाणीहरू पूरा भए । यहूदीहरूले उहाँको चेतावनीका शब्दहरूमा सत्यता अनुभव गरे: “जुन नापले तिमीहरू नाप्‍तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ ।” मत्ती ७:२ ।MBAJ 13.2

    चिन्हहरू र अचम्मलाग्दा कामहरू देखा पर्न थाले, विपत्ति र दण्ड-घोषणाका चिन्हहरू देखिए । मध्यरातमा एउटा असाधारण ज्योति मन्दिर र वेदीमाथि चम्कियो । बेलुकातिर बादलमाथि रथहरू र लड़ाकूँहरू लड़ाइँ गर्न जम्मा भएको जस्तो देखिए । राती पवित्रस्थानमा पूजा गरिरहेका पूजाहारीहरू रहस्यमय आवाजले भयभीत भए; पृथ्वी काम्यो, र भीडहरू चिच्याइरहेका आवाज सुनियो: “हामी यहाँबाट भागौं ।” पूर्वतिर एउटा विशाल ढोका थियो, जुन बीस जना मानिसले पनि थुन्‍न गाह्रो पर्थ्यो, र त्यसलाई विशाल फलामको डण्डाले जड़ान गरिएको थियो र भुँइमा पूरा ढुङ्गा छापिएको थियो, त्यो मध्यरातमा कुनै पनि दृश्‍‍य हातविना नै खुल्यो । —Milman, The History of the Jews, book 13.MBAJ 13.3

    शहरमाथि आउनै लागेका विपत्तिहरू घोषणा गर्दै एकजना मानिस यरूशलेमका सड़कहरूमा सात वर्षसम्म तल-माथि हिँड्‍दै रह्यो । ऊ दिन रात विलौना गर्दै हिँड्यो: “एउटा आवाज पूर्वबाट ! अर्को आवाज पश्‍चिमबाट ! एउटा आवाज चारै दिशाबाट ! एउटा आवाज यरूशलेम र मन्दिरको विरुद्धमा ! एउटा आवाज दुलहा र दुलहीको विरुद्धमा ! एउटा आवाज सम्पूर्ण मानिसको विरुद्धमा !” —Milman, The History of the Jews, book 13. त्यो बिरानो प्राणी जेलमा हालियो र कोर्रा लगाइयो, तर उसको ओठबाट कुनै गनगनको शब्द निस्केन । घृणा र अत्याचारमा प्रतिउत्तर यहीँ मात्र थियो: “धिक्‍कार, यरूशलेमलाई धिक्‍कार !” “धिक्‍कार, त्यहाँका बासिन्दाहरूलाई धिक्‍कार !” उसले अगमवाणी गरेको त्यही घेराबन्दीमा ऊ मारियो, त्यसपछि उसको चेतावनीको आवाज बन्द भयो ।MBAJ 14.1

    यरूशलेमको विनाशमा इसाईहरूमध्ये कोही पनि नाश भएन । ख्रीष्‍टले आफ्‍ना चेलाहरूलाई चेतावनी दिनुभएको थियो, र ज-जसले उहाँको वचनमा विश्‍‍वास गरे तिनीहरू सबैले उहाँको प्रतिज्ञाको चिन्हलाई हेरिरहेका थिए । येशूले भन्‍नुभयो, “जब यरूशलेमलाई सेनाहरूले घेरिएको देख्‍छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्‍ने जान । तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून् । सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् ।” लूका २१:२०, २१ । अब रोमको सोनापति सेस्टसको निर्देशनमा सहर घेरियो, र तुरुन्तै आक्रमण गर्न सक्‍ने सबै अनुकूल प्रबन्ध पनि मिलेको थियो, तर अचानक तिनीहरू फर्कनुपऱ्यो । जब कुनै प्रत्यक्ष कारणविना नै रोमको सेनापतिले उसका सेनाहरूलाई फर्कायो, तब ती घेरिएका सेनाहरूचाहिँ प्रतिकार गर्न नसक्‍ने अवस्थामा पुगिसकेका थिए र समर्पण गर्न तयार भइसकेका थिए । तर परमेश्‍‍वरको कृपापूर्ण प्रबन्धले उहाँकाे आफ्‍ना मानिसहरूको भलाइका खातिर घटनाहरूलाई अगुवाइ गर्दैथियो । यी प्रतीक्षारत इसाईहरूलाई प्रतिज्ञाको चिन्ह प्रदान गरिएको थियो, अब मुक्तिदाताको चेतावनी पालन गर्ने अवसर सबैलाई दिइयो । परमेश्‍‍वरले घटनाहरूलाई यसरी अगुवाइ गर्नुभयो कि रोमी वा यहूदी कसैले पनि इसाईहरूलाई रोक्‍न सकेन । जसरी यहूदीहरूले सेस्टस भागिरहेका देखे, त्यति नै बेला तिनीहरू यरूशलेमबाट हमला गर्दै र उसको भाग्दै गरेका सेनाहरूलाई खेदाउँदै गए; यसरी दुवै सेनाहरूका बीचमा भीडन्त भइरहेकै बखत इसाईहरूले शहर छोड्‍ने मौका पाए । त्यो समयमा शत्रुहरूबाट मुक्त भएका थिए जसले तिनीहरूलाई हस्तक्षेप गर्ने प्रयास गर्दथे । त्यो घेराउका समयमा यहूदीहरू छाप्राबासको चाड़ मान्‍न यरूशलेममा भेला भएका थिए, यसरी देशभरिका इसाईहरू कुनै हानिविना नै उम्कन सफल भए । बियाँलो नगरिकन तिनीहरू सुरक्षित ठाउँ—पेलाको शहर, परियाको देश, यर्दनको पारिपट्टि—भागे ।MBAJ 15.1

    यहूदी सिपाहीहरूले सेस्टस र उसका सिपाहीहरूलाई खेदाउँदै लगे, यहूदीहरूले पछाड़ि भएकाहरूलाई यस्तो भिषण आक्रमण गरे कि पूरै नष्‍ट पार्ला जस्तै गरी जाइलागे । रोमीहरूलाई आफ्‍नो ज्यान जोगाउन पनि अति कठिन भयो । यहूदीहरूलाई प्रायः केही हानि भएन, अनि तिनीहरू आफ्‍नो लुटको माल लिएर यरूशलेममा विजयसाथ फर्के । तापनि यस्तो प्रत्यक्ष सफलताले तिनीहरूमाथि खराबी मात्र ल्यायो । यसले गर्दा तिनीहरूलाई रोमीहरूप्रति त्यही अटेरी प्रतिकारक आत्मामा प्रेरित गरायो जसले दण्ड-घोषित शहरमाथि अवर्णनीय दुःख चाँडै नै ल्यायो ।MBAJ 15.2

    जब तितसद्वारा शहर फेरि घेराउमा पऱ्यो तब यरूशलेममाथि अति डरलाग्दा विपत्तिहरू आए । निस्तार-चाड़को समयमा त्यो शहर घेरिएको थियो, जबकि लाखौँ यहूदीहरू त्यसका पर्खालहरूभित्र जम्मा भएका थिए । तिनीहरूले गोदामहरू बन्दोबस्त गरेका थिए, जुनचाहिँ राम्ररी सुरक्षित राखेको भए त्यहाँका बासिन्दाहरूलाई वर्षौसम्म पुग्‍ने थियो, तर विरोधी दलहरू उत्पन्‍न भए, जसको डाह र बदला लिने कामद्वारा पहिले नै सबै नष्‍ट भइसकेको थियो, अनि यसरी तिनीहरूले सबै अनिकालका कष्‍टहरू अनुभव गर्नुपऱ्यो । एक माना गहुँ एक सिक्‍कामा बिक्री हुन्थ्यो । भोकको वेदना यति डरलाग्दो थियो कि मानिसहरूले आफ्‍ना छालाका पेटीहरू, चप्पलहरू र ढालका खोलहरू पनि चपाए । धेरै जना मानिसहरू शहरका पर्खालहरूद्वारा जङ्गली झारपातहरू बटुल्‍न राति लुकेर बाहिर जान्थे, तापनि कतिजनालाई शत्रुहरूले पक्रेर क्रूर यातनाकासाथ मारिदिन्थे र कतिजना सुरक्षित स्थानमा उम्केर आउथे, तापनि जुन खाने कुरा तिनीहरूले आफ्‍नो जीवनको ठूलो जोखिम अवस्थामा बटुलेका थिए, त्यो पनि सबै अरूले नै लुटिदिन्थे । अधिकारीहरूले अति नै निष्‍ठूर अमानवीय यातनापूर्ण कष्‍ट दिए किनकि अभावका पीड़ित मानिसहरूले बल्‍लतल्‍ल जुटाएको अल्प खाद्य पनि खोस्‍न चाहन्थे । अनि यी मानिसहरूले यस्ता क्रूरताहरू बारम्बार प्रयोग गर्थे, जुनहरूले चाहिँ राम्ररी खाएर पनि भविष्यका लागि एक भण्डारको प्रबन्ध मिलाउने चाहना गर्दथे ।MBAJ 16.1

    हजारौँ मानिसहरू अनिकाल र विपत्तिले मरे । मानिसका स्‍वाभाविक स्‍नेहहरू नष्‍ट भएको जस्तो देखिन्थ्यो । पतिहरूले तिनीहरूका पत्‍नीहरूका, र पत्‍नीहरूले तिनीहरूका पतिहरूका सामान लुट्‍ने गर्दथे । छोराछोरीले तिनीहरूका वृद्ध बाबाआमाको मुखबाट खाना खोसेर खाइदिने गर्दथे । अगमवक्ताको प्रश्‍नचाहिँ, “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्छे र ?” त्यो दण्ड-घोषित शहरका पर्खालहरूभित्रबाटै उत्तर प्राप्‍त भयो: “कोमल हृदयका स्‍‍त्रीहरूले आफ्‍नै हातले बालकहरूलाई पकाए । मेरा प्रजाको सर्वनाशमा नानीहरू नै आफ्‍ना आहारा भए ।” यशैया ४९:१५; विलाप ४:१० । चौधऔँ शताब्दी पूर्वको चेतावनीपूर्ण अगमवाणी फेरि पूरा भएको थियो: “तिमीहरूमध्ये कोमल र शिष्‍ट स्‍‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्यस्ती स्‍‍त्रीले त्यसका लोग्‍ने र आफ्‍नै छोराछोरीलाई त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन । ... त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्‍टमा त्यसले गुप्‍तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे ।” व्यवस्था २८:५६, ५७ ।MBAJ 16.2

    रोमीहरूका अगुवाहरूले यहूदीहरूलाई आतंकित तुल्याउने प्रयास गरेका थिए र यसरी तिनीहरूलाई आत्म-समर्पण गराउन चाहेका थिए । कैदीहरू जसले कैद बनाएर लैजाँदा प्रतिकार गरे तिनीहरूलाई कोर्रा लगाए, यातना दिए र शहरको पर्खाल अगि क्रूसमा चढाए । यसरी नै दैनिकरूपमा सयौँ मानिसहरूको मृत्यु हुन्थ्यो, र यस्तो डरलाग्दा कामहरू भइरहेका थिए कि यहोशापातको उपत्यका र कलवरीको छेउतिर धेरै क्रूसहरू खडा गरिएका थिए, यहाँसम्म कि तिनीहरूको बीचमा वरिपरि सर्नेसम्म ठाउँ पनि थिएन । पिलातसको न्याय आसन अगि उच्‍चारण भएको भयावह अभिशाप अति नै असह्य तरिकाले आइपऱ्यो: “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” मत्ती २७:२५ ।MBAJ 17.1

    त्यो डरलाग्दो दृश्‍‍य समाप्‍त गर्न तितस तयारी नै थिए, यसरी त्यो दण्ड-घोषित यरूशलेम त्यसको पूर्ण परिणामबाट बाँच्‍ने थियो । तिनले लाशहरूका रासहरू उपत्यकाभरि देखे र भयभीत भए । तिनले जैतुन पहाड़को टुप्पोबाट एक मुर्छा परेको मान्छेले जस्तै भव्य मन्दिरलाई हेरे र तिनले त्यसको एउटै ढुङ्गा पनि हानि नगर्ने आज्ञा दिए । तिनले त्यो किल्‍लाको धन हात पार्ने प्रयास गरिरहेका थिए तर त्यसो गर्नुभन्दा अघि नै यहूदी अगुवाहरूलाई त्यो पवित्रस्थानलाई दूषित तुल्याउन बाध्य नबनाउने एक विनम्र अपिल गरेका थिए । यदि तिनीहरू बाहिर निस्केर अन्तै लडाइँ गरेको भए, कुनै रोमीले पनि त्यस मन्दिरको पवित्रतालाई अशुद्ध पार्ने थिएनन् । योसीफस आफैले पनि तिनको भाषणकलाको सबभन्दा पोख्त सीपले तिनीहरूलाई आत्मसमर्पण गरेर तिनीहरूको ज्यान, शहर र मन्दिर बचाउने अपील गरेका थिए । तर तिनका वचनहरूको प्रतिउत्तर स्‍वरूप तीता सरापहरू मात्र फर्किए । तिनीहरूको अन्तिम मानविक मध्यस्तथकर्तालाई तीरले प्रहार गरे जो तिनीहरूका सामु बिन्ती गर्दैथिए । यहूदीहरूले परमेश्‍‍वरको पुत्रका निवेदनहरूलाई अस्‍वीकार गरेका थिए, र अब तर्क-वितर्क र निवेदनहरूले गर्दा तिनीहरूलाई अन्तिमसम्म प्रतिकार गर्न निर्णायक बनायो । तितसले व्यर्थमा मन्दिरलाई बचाउने प्रयास गरे; तिनीभन्दा महान् व्यक्तिले यसरी घोषण गर्नुभएको थियो, त्यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहनेछैन ।MBAJ 17.2

    यहूदी अगुवाहरूको अन्धो एकोहोरोपन, र घृणित अपराधहरू घेराउमा परेको शहरभित्र नै भइरहेका थिए, त्यसकारण रोमीहरूका घृणा र रिस झन उत्तेजित भयो, अन्तिममा तितसले शक्तिद्वारा नै मन्दिर हात पार्ने निर्णय गरे । तर पनि तिनले यो निर्णय गरे कि सम्भव भएअनुसार त्यस मन्दिरलाई चाहिँ विनाशबाट बचाउने प्रयास गर्नैपर्छ । तर तिनका आज्ञाहरूको वास्ता गरिएन । राति तिनी आफ्‍नो पालमा गइसकेका थिए, र यहूदीहरूले मन्दिरभित्रबाट बाहिरका सिपाहीहरूलाई एक्‍कासि आक्रमण गरे । त्यही संघर्षको क्रममा एउटा सिपाहीले दलानमा अगुल्टो फालिदियो, र तुरुन्तै धुपीको काठको पवित्र घरका कोठाहरू जल्‍न थाले । तितस हतारिएर तिनका सेनापतिहरू र अरू सेनाहरूसँगै त्यहाँ आइपुगे, र सिपाहीहरूलाई आगो निभाउने आज्ञा दिए । तिनको कुरालाई वास्ता गरिएन । सिपाहीहरू रिसले चूर भए र मन्दिरसँग सटिएका कोठाहरूमा जलिरहेका राँकोहरू फ्‍याँकिदिए, र सुरक्षाको निम्ति त्यहाँ आएर बसेकाहरू धेरैलाई तरवारले काटेर मारे । मन्दिरका खुड्‍किलाहरूमा रगत पानी-जस्तै बग्यो । हजारौँ हजार यहूदीहरूको विनाश भयो । लडाइँको भन्दा पनि यसरी चिच्याएका सोरहरू ठूलो सुनिन्थ्यो: “एकाबाद !”—महिमा प्रस्थान भयो ।MBAJ 17.3

    “तितसले थाहा पाए कि अब सिपाहीहरूको रिसलाई नियन्‍‍त्रण गर्न सकिदैन; तिनी आफै आफ्‍ना कर्मचारीहरू लिएर प्रवेश गरे, र पवित्र महलभित्र निरीक्षण गरे । त्यसको महिमाले तिनीहरूलाई अचम्मित तुल्यायो; अनि पवित्रस्थानमा आगो प्रवेश नगर्दै तिनले त्यसलाई बचाउने अन्तिम प्रयास गरे, र बाहिर छिटो निस्केर सिपाहीहरूलाई आगलागीलाई बढ्‍न नदिने अनुरोध गरे । लिबरलिस कप्‍तानले आफ्‍ना कर्मचारीहरूसँग मिलेर तिनको आज्ञा पालन गर्ने प्रयास गऱ्यो; तर तिनीहरू यहूदीहरूप्रति अति भयानक विरोधी र क्रोधित भएका थिए, जसको कारण लड़ाइँ अति नै तीव्र भइरहेको थियो, अनि लड़ाइँको झोँक अझै तृप्‍त भएकै थिएन, यहाँसम्म कि तिनीहरूले सम्राटको कुराधरि ध्यान दिएनन् । वरिपरि भएका सबै थोकमा सिपाहीहरूले सुनौलो चमक देखे, जुनचाहिँ आगोको ज्‍वालाले चम्किरहेको थियो, र पवित्रस्थानमा नगण्य सम्पति थियो भनी तिनीहरूले अनुमान गरे । एक सिपाहीले चालै नपाइकन ढोकाहरूका कब्‍जाहरूमा राँको घुसारी दिएछ: त्यसपछि तुरुन्तै पूरै भवन आगोको ज्‍वालाले ढाक्‍यो । धुँवाले गर्दा कर्मचारीहरूले देख्‍नसम्म पनि सकेनन् र जसको कारण तिनीहरू भाग्‍न बाध्य भए, र आदर्श भवन ध्वंस भयो ।MBAJ 18.1

    “रोमीहरूका लागि त्यो एक भयानक दृश्‍‍य भयो—यहूदीहरूका लागि झन कस्तो भयो होला ? शहरको हातामा भएको पहाड़को पूरै टाकुरा ज्यालामुखी जस्तै उज्‍ज्‍वल भएको थियो । एकपछि अर्को गर्दै भवनहरू भयानक तरिकाले नष्‍ट भए, र डरलाग्दो अग्‍निकुण्डमा गाडिए । धुपीका छानाहरू ज्‍वालाका तन्‍नाहरू जस्ता देखिन्थे; शिखरमा रहेका सुनका जलपहरू रातो बत्ती जस्तै चम्किरहेका थिए; ढोकामा भएका स्तम्भहरू भयंकर धुँवाले भरिएर आगोका ठूला चिराहरूले नष्‍ट भए । नजिकका पहाड़हरू पनि उज्‍ज्‍वल भए; त्यहाँ अँध्यारोमा मानिसहरू देखिन्थे जोहरू दुःखलाग्दो र डरलाग्दो विनाशको दृश्‍‍य हेरिरहेका थिए; त्यसका पर्खालहरू र शहरको माथिल्‍लो भागतिर भीडका भीड मानिसहरूका अनुहारहरू देखिन्थे, कतिजना निराशको पीड़ाले गर्दा पहेलो भएका थिए, अरूचाहिँ व्यर्थँमा प्रतिहिंसाको भावनाले क्रोधित भएको थिए । रोमी सिपाहीहरू वारिपारि गर्दै चिच्याउँदैथिए, र आगोमा नष्‍ट भइरहेका विद्रोहीहरू स्यालझैँ कराइरहेका थिए, यसका साथै अग्‍निकुण्डको आवाज गर्जिरहेको थियो र काठहरू झर्दा गर्जनको आवाज-जस्तै आइरहेको थियो । मानिसहरूका चित्कारहरू पहाड़को उचाइमा ठोकिएर प्रतिध्वनि हुने गर्दथे; चित्कारहरू र विलौनाहरू सबै पर्खालहरूमा प्रतिध्वनित भइरहेका थिए; जो मानिसहरू अनिकालले मर्न आँटेका थिए तिनीहरूले आफ्‍नो अन्तिम बल लगाएर विनाश र सन्तापको चित्कारमा जोड़साथ कराए ।MBAJ 18.2

    “बाहिरको दृश्‍‍यभन्दा शहरभित्रको काटमार झन अति नै भयानक थियो । स्‍‍त्री र पुरूष, वृद्ध र जवान, पूजाहारी र विद्रोही, लडाकूँ र कृपाको आवेदकहरू सबै जथाभावी हत्या गरिए । हत्याराहरूभन्दा पनि हत्या भएकाहरूका सङ्ख्या अधिक थियो । सिपाहीहरू लाशको रासमाथि टेक्दै विनाशको काम अघि बढ़ाउन लागिरहे ।” —Milman, The History of the Jews, book 16.MBAJ 19.1

    मन्दिर नष्‍ट भएपछि सम्पूर्ण शहर रोमीहरूको हातमा पऱ्यो । यहूदी अगुवाहरूले तिनीहरूका अजय किल्‍लाहरूलाई त्यागिदिएका थिए, र तितसले त्यसलाई निर्जन स्थान भेटाए । तिनले त्यसलाई अचम्मित नजरले हेरे, र तिनको हातमा परमेश्‍‍वरले नै सुम्पिदिनुभएको कुरा स्‍वीकार गरे; किनकि कुनै पनि साधन, जति नै शक्तिशाली भएपनि ती शानदार किल्‍लाहरूलाई जित्‍न असम्भव थियो । शहर र मन्दिर दुवै जगसम्मै विनाश भयो, र जुन जग्गामा पवित्र भवन अवस्थित थियो अब त्यहाँ “खेतझैँ जोतिनेछ ।” यर्मिया २६:१८ । त्यो घेराउ र संहारमा दश लाखभन्दा ज्यादा मानिसहरूले ज्यान गुमाए; बाँचेकाहरूलाई बन्दी बनाएर लगे, र कोही दासको रूपमा बेचिए, र विजयीको रूपमा रोममा घिसारेर लगिए, रंगभूमिमा जङ्गली जनावरहरूमाझ फ्‍याँकिए र संसारभरि घरविहीन डुलुवाहरू जस्तै छरपष्‍ट भए ।MBAJ 19.2

    यहूदीहरू आफैले तिनीहरूका हातकढ़ीहरू आगोमा खारेर बनाएका थिए; तिनीहरूले आफ्‍नो प्रतिशोधको कचौरा भरेका थिए । तिनीहरू राष्‍ट्रको रूपमा पूर्ण नष्‍ट भए, र तिनीहरूले छरपष्‍ट अवस्थामा सबै कष्‍टहरू भोगे, र तिनीहरूले आफ्‍नो हातले जे छरेका थिए त्यसैको कटनी गरे । अगमवक्ता भन्छन्, “हे इस्राएल, तँ नाश भएको छस्;” “किनभने तँ आफ्‍नै अधर्मले गर्दा ढलेको छस् ।” होशे १३:९; १४:१ (KJV) । तिनीहरूका कष्‍टहरू परमेश्‍‍वरको प्रत्यक्ष आदेशद्वारा आएको सजाय स्‍वरूप वर्णन गरिएको छ । यसरी नै त्यो मुख्य धोकेबाजले उसको काम लुकाउन चाहन्छ । यहूदीहरूले परमेश्‍‍वरको ईश्‍‍वरीय प्रेम र करुणाप्रति अटेरी भएर अस्‍वीकार गरे, त्यसकारण उहाँको सुरक्षा हटेर गयो, र शैतानले उसको इच्छाअनुसार शासन गर्ने मौका पायो । यरूशलेमको विनाशमा भयंकर क्रूरताहरू प्रयोग भएका थिए, त्यसमा शैतानको वास्तविक शक्तिको प्रदर्शन भएको थियो, जसले त्यसको नियन्‍‍त्रणमा समर्पण गर्दछ त्यसले तिनीहरूमाथि त्यसरी नै शासन गर्छ ।MBAJ 19.3

    हामीले ख्रीष्‍टको शान्ति र सुरक्षा उपभोग गरेका छौं, र त्यसैले हामी उहाँप्रति कति ऋणी छौं भनी थाहा पाउन सक्दैनौं । परमेश्‍‍वरको नियन्‍त्रित शक्तिले नै मानवजातिलाई शैतानको पूर्ण शासनबाट बचाउँछ । अनाज्ञाकारी र अकृतज्ञ मानिसहरूले परमेश्‍‍वरलाई कृतज्ञता प्रकट गर्नुपर्छ किनभने उहाँले नै घातक दुष्‍ट जनको शक्ति र क्रूरतालाई करुणा र धैर्यतासाथ थामिराख्‍नुभएको छ । तर जब मानिसले ईश्‍‍वरीय सहनशीलताको सीमा पार गर्छ तब परमेश्‍‍वरको नियन्‍‍त्रण हटेर जान्छ । परमेश्‍‍वर पापीको विरुद्धमा उठेर अपराधीलाई दण्ड दिनुहुन्‍न; तर जसले उहाँको कृपालाई अस्‍वीकार गरेका छन्, तिनीहरूलाई आफैले रोपेको ठाउँमा कटनी गर्न एकलै छोडिदिनुहुन्छ । प्रत्येक ज्योतिकाे किरण अस्‍वीकार गरियो, प्रत्येक चेतावनीलाई बेवास्ता गरियो वा घृणा गरियो, प्रत्येक अभिलाषाहरूमा लिप्‍त भइयो, प्रत्येक परमेश्‍‍वरको व्यवस्था भङ्ग गरियो, यसैद्वारा सबै बीउ छरिएको छ जसले सफलतापूर्वक फल फलाउँछ । परमेश्‍‍वरको आत्मालाई निरन्तर अस्‍वीकार गरेपछि पापीबाट लगिन्छ, र त्यहाँ मानिसको खराब अभिलाषा नियन्‍‍त्रण गर्न र शैतानको घृणा र दुश्‍‍मनीबाट बचाउन कुनै पनि शक्ति हुँदैन । जसले ईश्‍‍वरीय कृपाको निवेदन र अनुग्रहलाई हल्का ठानेर अस्‍वीकार गरिरहेका छन् यरूशलेमको विनाशचाहिँ तिनीहरू सबैका लागि एक डरलाग्दो र गम्भीर चेतावनी हो । त्यहाँ दोषीहरूमाथि निश्‍चित सजाय आइपऱ्यो र पापप्रति परमेश्‍‍वरको घृणा प्रकट भयो जबकि यस्तै पक्‍का गवाही कहिल्यै पनि प्रकट गरिएको थिएन ।MBAJ 20.1

    मुक्तिदाताले यरूशलेमका इन्साफहरूको विषयमा जुन अगमवाणी बोल्‍नुभयो, त्यो फेरि अर्कोचोटि पनि पूरा हुनेछ, जुनचाहिँ डरलाग्दो उजाड़ अवस्थाको एक हल्का छाया मात्र थियो । यस चुनिएको शहरको विनाशमा हामीले संसारमाथि भएको दण्ड-घोषित अवस्थालाई अवलोकन गर्न सक्छौं, किनकि मानिसहरूले परमेश्‍‍वरको कृपालाई अस्‍वीकार गरेका छन् र उहाँको व्यवस्थालाई कुल्‍चीमिल्‍ची गरेका छन् । मानवजातिका दुखद इतिहासहरूचाहिँ अँध्यारा नै थिए जुन त्यसका लामा शताब्दीहरूभरि पृथ्वीले देखेको छ । हृदय व्याकुल हुन्छ, दिमागले मनन गरेर बेचैन हुन्छ । स्‍वर्गीय अधिकारलाई अस्‍वीकार गरेर डरलाग्दो परिणाम भोगेको छ । तर भविष्यकाे दृश्‍‍य त झनै अँध्यारो गरी प्रकट भएको छ । भूतकालका अभिलेखहरूमा अशान्ति, लड़ाइँ, र विद्रोहको लामो जुलूस थिए, “लड़ाइँ होहल्‍लापूर्ण छ र रगतमा गुड़िको लुगा” छ (यशैया ९:५ KJV)—ती त अगामी दिनहरूका तुलनामा एउटा सानो दृश्‍‍य मात्र हो, जब परमेश्‍‍वरको नियन्‍त्रित आत्मा दुष्‍टहरूबाट पूर्णरूपले हटेर जान्छ तब आतंक झन बढ्‍दोरूपमा फैलिन्छ, शैतानको क्रोध र मानिसको रिसको वेग कुनै पनि साधनले रोकिँदैन ! त्यो बेला संसारले कहिल्यै पनि नदेखेको शैतानिक शासनको परिणाम देख्‍नेछ ।MBAJ 20.2

    तर जसरी यरूशलेमको विनाशमा मानिसहरू बाँचेका थिए, त्यसरी नै जीवितहरूको बीचमा नाम लेखिएका परमेश्‍‍वरका जनहरू बचाइनेछन् । यशैया ४:३ । ख्रीष्‍टले घोषणा गर्नुभएको छ कि उहाँ फेरि दोस्रोचोटि विश्‍‍वासीहरूलाई आफूकहाँ जम्मा गर्न आउनुहुनेछ: “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसका पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन् । उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” मत्ती २४:३०-३१ । तब ज-जसले सुसमाचारलाई पालन गर्दैनन् तिनीहरू उहाँको मुखको आत्माले भष्म पारिनेछन् र उहाँको आगमनको उज्‍ज्‍वलताले नष्‍ट हुनेछ । २ थेसलोनिकी २:८ । प्राचीनकालका इस्राएलीहरूले झैँ दुष्‍टहरू आफैले विनाश ल्याउँछन्; तिनीहरू आफ्‍नै अधर्मद्वारा पतन हुन्छन् । तिनीहरूले पापी जीवनयापन गरेका कारण परमेश्‍‍वरसँग मिलाप गर्न सकेनन्, तिनीहरूका स्‍वभावहरू दुष्‍टताले गर्दा नीच भएका छन्, त्यसकारण तिनीहरूका लागि उहाँका महिमाको प्रदर्शन एक भष्म पार्ने आगो हुनेछ ।MBAJ 21.1

    होसियार बसोस् ! नत्रता मानिसहरूले ख्रीष्‍टका वचनहरूमा प्रदान गरिएका शिक्षाहरू हेलचेक्राइँ गर्नेछन् । जसरी उहाँले चेलाहरूलाई यरूशलेमको विनाशको विषयमा चेतावनी दिनुभयो, र तिनीहरूलाई आउनेवाला विनाशको चिन्ह दिनुभयो ताकि तिनीहरू भाग्‍न सकून्; त्यसरी नै उहाँले संसारको अन्तिम विनाशको विषयमा चेतवानी दिनुभएको छ र त्यसको आसपासमा देखा पर्ने चिन्हहरू पनि दिनुभएको छ, ताकि आज्ञाकारीहरू आगामी क्रोधबाट भाग्‍न सकून् । येशू भन्‍नुहुन्छ: “सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र ... पृथ्वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्याकुल हुनेछन् ।” लूका २१:२५; मत्ती २४:२९; मर्कूस १३:२४-२६; प्रकाश ६:१२-१७ । जसले उहाँको आगमनका अगुवाइ चिन्हहरू हेर्दछ त्यसले ऊ “नजिकै छ अर्थात् ढोकामै छ भनी” जान्‍नेछ । मत्ती २४:३३ । “यसकारण तिमीहरू पनि जागा रहो,” यी चाहिँ उहाँको उपदेशका शब्दहरू हुन् । मर्कूस १३:३५ । ज-जसले चेतावनी ध्यान दिन्छन् तिनीहरू अँध्यारोमा छोडिनेछैनन्, किनकि त्यो दिन नचिताएको घडीमा आउँनेछ । तर जो जागा रहदैन, “प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ ।” १ थेसलोनिकी ५:२-५ ।MBAJ 21.2

    मुक्तिदाताले यहूदीहरूलाई यरूशलेमको विषयमा चेतावनी दिनुभयो तर तिनीहरूले वास्ता गरेनन्, त्यसरी नै यस संसार पनि वर्तमान सन्देशलाई वास्ता गर्न तयार छैन । यस्तो समय आउनेछ, जब परमेश्‍‍वरको दिन अविश्‍‍वासीहरूकहाँ अचानक आउनेछ । जब जीवन आफ्‍नै चक्रमा घुमिरहेको हुन्छ; जब मानिसहरू सुखविलासमा, व्यापारमा, पैसा कमाउने धुनमा हुन्छन्; जब धार्मिक अगुवाहरू संसारको उन्‍नति र सभ्यतामा बढिरहेका हुन्छन्, तब मानिसहरूले झूटो सुरक्षाको सान्त्‍वना पाउनेछन्—तब जसरी चोरले मध्यरातमा पालेविनाको घर फोर्छ, त्यसरी नै लापरबाही र विधर्मी मानिसहरूमा अचानक विनाश आइपर्नेछ, “तिनीहरू कुनै रीतिले उम्कनेछैनन् ।” १ थेसलोनिकी ५:३ ।MBAJ 22.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents