Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ९ — स्‍वीजरल्याण्डका सुधारक

    (अंग्रेजी पुस्तक अध्याय ९ पृष्‍ठ १७१)

    मण्डलीको सुधार-कार्यका साधनहरू छनोट गर्दा मण्डलीको आरम्भमा झैँ उस्तै ईश्‍‍वरीय योजना प्रकट भयो । स्‍वर्गीय शिक्षकले पृथ्वीका महान् मानिसहरूलाई छोड्‍नुभयो जुन व्यक्तिहरू उपाधिकारी र धनी थिए र मानिसहरूबाट अगुवा स्‍वरूप प्रशंसा र सम्मान हासिल गर्ने गर्दथे । तिनीहरूको अभिमानयुक्त श्रेष्‍ठताप्रति अधिक घमण्ड र आत्म-निर्भरताको कारण तिनीहरूका सँगीहरूप्रति सहानुभूति देखाउन सक्‍ने गरी आकार दिन सक्दैनथे र त्यसैले तिनीहरू नासरतको नम्र मानिससँग सहकर्मी बन्‍न सकेनन् । गालीलका अशिक्षित र परिश्रमी मछुवाहरूलाई बोलावटको सम्बोधन गरियो: “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।” मत्ती ४:१९ । यी चेलाहरू नम्र र सिकाउन सकिने खालका थिए । त्यो समयको झूटो शिक्षाले तिनीहरूलाई जति थोरै मात्रामा प्रभाव पारेको थियो त्यति नै ख्रीष्‍टले तिनीहरूलाई सफलतापूर्वक उहाँको सेवाको लागि शिक्षा र तालिम दिन सक्‍नुहुन्थ्यो । त्यसरी नै महान् सुधारका दिनहरूमा पनि भयो । सुधार-कार्यका अगुवा नम्र जीवन बिताउने मानिसहरू थिए—जुन मानिसहरू तिनीहरूको समयको कुनै पनि मानिसहरूभन्दा पदको घमण्ड, कट्टरता र पूजाहारी-भ्रष्‍टताको प्रभावबाट तुलनात्मकरूपले मुक्त थिए । महान् परिणाम पूरा गर्न साधारण साधनहरू प्रयोग गर्ने नै परमेश्‍‍वरको योजना हो । त्यस्तो महिमा मानिसहरूलाई दिइँदैन, तर उहाँलाई नै सो प्रदान गरिन्छ जसले तिनीहरूद्वारा इच्छा गर्न र उहाँको आफ्‍नै असल आनन्द पूरा गर्न उहाँले काम गर्नुहुन्छ ।MBAJ 177.1

    स्याक्सनीको खनिकको छाप्रोमा लुथर जन्मेको केही हप्‍तापछि उल्रिछ जुइङ्गली गोठालोको झुप्रोमा युरोपका हिमालयहरू [आल्प] मा जन्मेका थिए । जुइङ्गलीको वाल्यावस्थाको वातावरण र तिनको अघिल्‍ला तालिम यस्ता थिए कि तिनका भविष्यको कार्यका लागि तयार गरिएका थिए । प्राकृतिक महानता, सुन्दरता र अचम्मलाग्दो भव्यताका दृश्‍‍यहरूको बीचमा हुर्केका कारण तिनको दिमागमा पहिले नै परमेश्‍‍वरको महानता, शक्ति र ऐश्‍‍वर्यमा प्रभावित भएका थिए । तिनी जन्मेका पहाड़हरूमा गरिएको साहसी कार्यहरूको इतिहासले गर्दा तिनको जवानीपनका आशाहरूमा प्रोत्साहन मिल्यो । तिनकी धार्मिक हजूर आमाको छेउमा तिनी केही बाइबलको बहुमूल्य कथाहरू सुन्‍ने गर्दथे जुन तिनले मण्डलीका पौराणिक कथाहरू र परम्पराहरूबाट बटुलेकी थिइन् । उत्सुक चाहनाका साथ तिनले प्राचीन मानिसहरू र अगमवक्ताहरूको महान् कार्यहरू सुने, पलिश्‍‍तीका पहाड़हरूमा गोठालाहरूले बगालको हेरचाह गरेका थिए जहाँ स्‍वर्गदूतहरू तिनीहरूसँग बोल्थे, र बेतलेहेमको शिशुको विषयमा र कलवरीको मानिसको विषयमा उत्सुकतासाथ सुनेका थिए ।MBAJ 177.2

    जोन लुथर झैँ जुइङ्गलीका पिताले पनि तिनको छोरा शिक्षित होस् भन्‍ने चाहना गरे र केटोलाई बाल्यावस्था मै तिनी जन्मेको उपत्यकाबाट बाहिर पठाए । तिनको दिमाग चाँडै विकास भयो र तिनलाई प्रशिक्षण गराउने सक्षम प्रशिक्षकहरू कहाँ पाउन सकिएला भन्‍ने प्रश्‍न चाँडै नै उत्पन्‍न हुन थाल्यो । तेह्र वर्षको उमेरमा तिनी बर्नमा गए जुन त्यस ताका स्‍वीजरल्याण्डको सबभन्दा प्रसिद्ध स्कुल थियो । जे भएपनि त्यहाँ एउटा जोखिम आइपऱ्यो जसले तिनको जीवनको प्रतिज्ञा चकनाचूर पार्नै आँटेको थियो । सन्यासीहरूले तिनलाई लोभ देखाएर गुम्बामा पुऱ्याउने निर्णायक प्रयत्‍न गरे । डोमनिकी र फ्रान्सिसकी [दुवै धार्मिक संघ हुन्] भिक्षुहरूले जनताको मन जित्‍न प्रतिष्पर्धा गरे । तिनीहरूका चर्चहरूको देखावटी सृङ्गार, धार्मिक विधि-विधानहरूको प्रदर्शन, प्रख्यात् अवशेषहरूका आकर्षणहरू र अचम्मलाग्दो काम गर्ने प्रतिमाहरूद्वारा तिनीहरूले सो जित्‍ने प्रयास गरे ।MBAJ 178.1

    बर्नका डोमिनिकीहरूले देखे कि यदि तिनीहरूले यो प्रतिभाशाली जवान विद्यार्थीलाई तिनीहरूको पक्षमा ल्याउन सकेको खण्डमा तिनीहरूले लाभ र आदर प्राप्‍त गर्ने थिए । तिनी जल्दो बल्दो युवास्थाका थिए, तिनमा वाचन र लेखनको प्रतिभा थियो, तिनमा सङ्गीत र कविताको पनि स्‍वभाविक प्राकृतिक क्षमता थियो यी कुराहरूले गर्दा तिनीहरूका सेवाहरूमा मानिसहरूलाई आकर्षण गराउन र तिनीहरूको संघमा आम्दानी वृद्धि गराउन तिनीहरूका भव्यता र प्रदर्शनले भन्दा पनि प्रभावकारी हुन्थ्यो । छल र झूटो प्रशंसाद्वारा तिनीहरूले जुइङ्गलीलाई तिनीहरूको आश्रममा प्रवेश गराउन प्रलोभन देखाए । जब लुथर स्कुलमा एक विद्यार्थी थिए तब तिनले पनि आश्रमको कोठामा आफैलाई लुकाइ राखे, यदि तिनलाई परमेश्‍‍वरको कृपाले छुटकारा नदिलाउनु भएको भए तिनी संसारमै हराउनेथिए । जुइङ्गलीले भने त्यस्तै जोखिमको सामना गर्नुपरेन । ईश्‍‍वरको कृपाले गर्दा रोमन क्‍याथोलिकका सन्यासीहरूले सृजना गरेका योजनाहरूको सुचना तिनका पिताले प्राप्‍त गरे । तिनको छोरोले भिक्षुहरूको जस्तो अल्छीपना र व्यर्थको जीवन व्यतित गरेको तिनी चाहँदैनथे । तिनको भविष्यमा हुने लाभदायिक कार्य जोखिममा थियो भनी तिनले देखे र कति पनि ढिला नगरीकन तिनलाई घर फर्कने निर्देशन दिए ।MBAJ 178.2

    त्यो निर्देशनको पालना गरियो; तर आफ्‍नै जन्मस्थलका उपत्यकामा ती युवा लामो समयसम्म सन्तुष्‍ट रहन सकेनन्, केही समय त्यहाँ बसेपछि तिनी फेरि आफ्‍नो अध्ययनलाई निरन्तरता दिन बेसलतर्फ लागे । त्यहीँ ठाउँमा नै जुइङ्गलीले परमेश्‍‍वरको सित्तैको अनुग्रहको सुसमाचार पहिलो पटक सुनेका थिए । जब प्राचीन भाषाहरूको शिक्षक विटमबखले हिब्रू र ग्रीकको अध्ययन गरे तब तिनी पवित्रशास्‍‍त्रतर्फ केन्द्रित भए र यसरी तिनले विद्यार्थीहरूलाई प्रशिक्षण गराउने क्रममा तिनीहरूका दिमागहरूमा ईश्‍‍वरीय ज्योतिका किरणहरू चम्के । तिनले घोषणा गरे कि त्यहाँ अझै प्राचीन सत्यता थियो जुन पण्डितहरू र दार्शनिकहरूले सिकाएका सिद्धान्तहरू भन्दा अझै अपरिमित मूल्यको थियो । त्यो प्राचीन सत्यताचाहिँ त्यही थियो कि येशूको मृत्युद्वारा मात्र पापीको छुटकारा हुन्छ । यी शब्दहरू जुइङ्गलीका लागि प्रभात्मा उदय भएको प्रथम किरणजस्तै भयो ।MBAJ 179.1

    चाँडै नै जुइङ्गलीलाई बेसलबाट तिनको जीवन-कार्य सुरुवात् गर्न बोलाइयो । तिनले पहिलो कार्य क्षेत्रको रूपमा आल्पको मण्डलीमा काम गरे, त्यो तिनको जन्मथलो उपत्यकादेखि त्यति टाढ़ा थिएन । तिनले पूजाहारीको अभिषेक ग्रहण गरे र सङ्गी सुधारक यसो भन्छन्, तिनले “आफ्‍नो सम्पूर्ण जीवन ईश्‍‍वरीय सत्यताको खोजी गर्न लगानी गरे; कसलाई ख्रीष्‍टको बगाल सुम्पिएको छ भनी तिनले कति जान्‍नुपर्छ भन्‍ने कुरा तिनलाई राम्ररी थाहा थियो ।” —Wylie, b. 8, ch. 5. तिनले जति धर्मशास्‍‍त्रमा खोजी गरे त्यति नै त्यहाँ भएका सत्यताहरू र रोमका झूटहरू बीच भिन्‍नता स्पष्‍ट देखा पऱ्यो । एक मात्र यथेष्‍ट र अटल कानूनचाहिँ परमेश्‍‍वरको वचन बाइबल हो भनी तिनी आफैले स्‍वीकार गरे । तिनले बुझे कि त्यसको अनुवादक धर्मशास्‍‍त्र नै हुनुपर्छ । तिनले पूर्वधारणायुक्त काल्पनिक सिद्धान्त वा शिक्षा कायम राख्‍न धर्मशास्‍‍त्र वर्णन गर्ने प्रयासमा साहस गरेनन्, तर यसको प्रत्यक्ष र स्पष्‍ट शिक्षा के हो सो सिक्‍ने कुरा आफ्‍नो कर्तव्य ठाने । तिनले त्यसको पूर्ण र सही अर्थ बुझ्‍न यथाशक्‍य सहायता प्राप्‍त गर्ने प्रयास गरे, र तिनले पवित्र आत्माको सहयोग मागे, ज-जसले इमान्दारीसाथ र प्रार्थनासाथ त्यो खोज्दथे तिनीहरू सबै जनालाई सो प्रकट गरिनेछ भनी तिनले घोषणा गरे ।MBAJ 179.2

    जुइङ्गलीले भने, “धर्मशास्‍‍त्र परमेश्‍‍वरबाट आउँछ, मानिसबाट होइन र परमेश्‍‍वर जसले प्रकाश दिनुहुन्छ उहाँले नै तपाईंलाई समझशक्ति पनि दिनुहुन्छ कि प्रवचन परमेश्‍‍वरबाट नै आउँछ । परमेश्‍‍वरको वचन ... कहिल्यै पनि असफल हुँदैन; त्यो उज्‍ज्‍वल छ, त्यो आफैले सिकाउँछ, त्यो आफैले खुलस्त पार्छ, त्यसले सम्पूर्ण मुक्ति र अनुग्रहसाथ प्राणलाई प्रकाश दिन्छ, त्यसलाई परमेश्‍‍वरमा सन्त्‍वना मिल्छ र नम्र बनाउँछ, ताकि त्यो हार्छ र आफ्‍नो अधिकारयुक्त कुराहरू गुमाउँछ र त्यसले परमेश्‍‍वरलाई अँगाल्छ ।” यी वचनको सत्यता जुइङ्गली आफैले प्रमाणित गरेको थियो । तिनको त्यो समयको अनुभव बताउँदै पछिल्‍लो समयमा तिनले यसरी लेखे: “जब ... म आफै पूर्णरूपले पवित्रशास्‍‍त्रमा लागी परें, दर्शनशास्‍‍त्र र स्कुलको विधिअनुसारको धर्मशास्‍‍त्रले सँधै ममा विवाद हुन्थ्यो । अन्तमा म यस्तो निर्णयमा पुगें कि मैले सोचें, ‘तैंले सम्पूर्ण कुरा त्याग्‍नैपर्छ, र परमेश्‍‍वरको अर्थ उहाँको आफ्‍नै शुद्ध साधारण वचनबाट सिक्‍नुपर्छ ।’ त्यसपछि मैले परमेश्‍‍वरसँग उहाँको ज्योति माग्‍न थालें अनि धर्मशास्‍‍त्र मलाई झन-झन सजिलो-सजिलो हुँदै गयो ।” —Wylie, b. 8, ch. 6.MBAJ 180.1

    जुइङ्गलीले सिकाएको सिद्धान्त लुथरबाट प्राप्‍त गरिएको थिएन । त्यो ख्रीष्‍टकै सिद्धान्त थियो । स्‍वीजरल्याण्डका सुधारकले भने, “यदि लुथरले ख्रीष्‍ट प्रचार गर्छन् भने म जे गर्दैछु तिनले पनि त्यही गर्छन् । मैले ख्रीष्‍टकहाँ पुऱ्याएका मानिसहरूभन्दा तिनले अगुवाइ गरेकाहरू झन अनगिन्ती छन् । तर त्यसमा केही छैन । तापनि म ख्रीष्‍टको नाम बाहेक अरू कुनै नाम धारण गर्नेछैनँ, जसको सिपाही म हुँ, अनि जो मेरो एउटै मात्र कप्‍तान हुनुहुन्छ । मैले लुथरलाई एउटै शब्द पनि लेखेको छैनँ नता तिनले नै मलाई लेखेको छन् । अनि किन त ? ... ताकि परमेश्‍‍वरको आत्माको एकता प्रकट होस्, किनभने हामीहरू बीच एक-अर्कामा केही कुराकानी नभएपनि ख्रीष्‍टको एउटै शिक्षा सिकाउँछौं ।” —D’Aubigné, b. 8, ch. 9.MBAJ 180.2

    १५१६मा जुइङ्गलीलाई इन्सिडेल्‍नको आश्रममा प्रचारक बन्‍ने निमन्‍‍त्रणा दिइएको थियो । त्यहाँ तिनले रोमका भ्रष्‍टताहरूको अझै स्पष्‍ट दृश्‍‍य देख्‍नुपर्ने थियो र तिनले सुधारकको रूपमा प्रभाव पार्नैपर्ने थियो जुनचाहिँ तिनको मातृभूमि आल्पहरूमा भन्दा टाढ़ासम्म पुग्‍नुपर्ने थियो । इन्सिडेल्‍नका मुख्य आकर्षणहरूमध्ये कुमारीको एउटा प्रतिमा थियो जससँग अचम्मलाग्दो काम गर्ने शक्ति छ भनी भनिन्थ्यो । आश्रमको प्रवेशद्वारमाथि यसरी खोपिएको थियो, “यहाँ पापको सम्पूर्ण क्षमा प्राप्‍त गर्न सकिन्छ ।” —D’Aubigné, b. 8, ch. 5. तीर्थयात्रीहरू सब ऋतुहरूमा कुमारीको पवित्र-स्थलमा जान्थे; तर महान् वार्षिक मूर्तिको अर्पणको चाड़पर्वमा स्‍वीजरल्याण्डको सम्पूर्ण क्षेत्रबाट भीडहरू आए र फ्रान्स र जर्मनीबाट पनि आए । यस्तो दृश्‍‍यको कारण जुइङ्गली धेरै दुखित भए र यी अन्धविश्‍‍वासका दासहरूमाझ सुसमाचारद्वारा स्‍वाधीनता घोषणा गर्ने पूरा मौका ग्रहण गरे ।MBAJ 181.1

    तिनले भने, “सृष्‍टिको अरू कुनै भागहरूमा नभई, तर यो मन्दिरमा चाहिँ परमेश्‍‍वर हुनुहुन्छ भनी नसोच्‍नुहोस् । तपाईंको देश जुन भएपनि परमेश्रवर तपाईं वरिपरि हुनुहुन्छ र तपाईंको कुरा सुन्‍नुहुन्छ । ... के निरर्थक कामहरू, थकित तीर्थयात्राहरू, भेटीहरू, प्रतिमाहरू, कुमारी र सन्तहरूलाई प्रार्थना गरेर तपाईंका निम्ति परमेश्‍‍वरको कृपा हासिल गर्न सकिन्छ त ? ... हामीले धेरै शब्दहरूमा प्रार्थना गर्दा के लाभ हुन्छ र ? भिक्षुको चमकदार टोपी वा खुइलिएको टाउको, वा लामो र राम्रो पोशाक र सुनले सजाइएको चप्पलहरूमा के प्रभावकारिता ? ... परमेश्‍‍वरले हाम्रो हृदय हेर्नुहुन्छ—र हाम्रा हृदयहरू परमेश्‍‍वरदेखि टाढ़ा छन् ।” तिनले भने, “ख्रीष्‍ट जो एकै पल्ट क्रूसमा अर्पण हुनुभयो, उहाँ बलिदान र बलि हुनुहुन्छ जसले विश्‍‍वासीहरूका पापहरू मेटाउन अनन्ततासम्म पर्याप्‍त छ ।” —D’Aubigné, b. 8, ch. 5.MBAJ 181.2

    धेरै स्रोताले यी शिक्षाहरूलाई स्‍वागत गर्न दिएनन् । तिनीहरूको परिश्रमपूर्ण यात्रा तिनीहरूले व्यर्थमा गरेका थिए भनी तिनीहरूलाई बताउँदा तिनीहरू अति नै निराश भए । ख्रीष्‍टद्वारा क्षमा सित्तैमा पाइन्छ भन्‍ने कुरा तिनीहरूले बुझ्‍नै सकेनन् । स्‍वर्ग जाने पुरानो मार्गमा नै सन्तुष्‍ट थिए जुन रोमले तिनीहरूका निम्ति बनाएको थियो । कुनै उत्तम कुराको खोजी गर्दा चिन्ता हुन्छ भनेर तिनीहरू अगाडि बढेनन् । तिनीहरूको मुक्तिको खातिर हृदयको शुद्धतालाई खोजी गर्नुको सट्टामा पूजाहारीहरू र पोपमाथि भरोसा राख्‍नु नै सजिलो ठाने ।MBAJ 181.3

    तर अर्को समूहका मानिसहरूले ख्रीष्‍टद्वारा मुक्तिको समाचार हर्षसाथ स्‍वीकार गरे । रोमले पालन गराएका विधिहरूले आत्मालाई शान्ति दिन असफल भयो र विश्‍‍वासमा तिनीहरूले मुक्तिदाताको रगतलाई तिनीहरूको प्रायश्‍चित्स्‍वरूप स्‍वीकार गरे । तिनीहरू आफूले प्राप्‍त गरेका बहुमूल्य ज्योति अरूलाई प्रकट गर्न आफ्‍ना घरहरूतिर फर्के । एउटा सानो गाउँदेखि अर्को सानो गाउँसम्म, एउटा शहरदेखि अर्को शहरसम्म यसरी तिनीहरू सत्यता लिएर गए, र कुमारीको पवित्र-स्थलमा तीर्थयात्रीहरूको सङ्ख्या धेरै घट्यो । भेटीहरू पनि घटिरहेका थिए र त्यसको परिणाम स्‍वरूप जुइङ्गलीको तलब पनि घट्‍न पुग्यो जुन तिनीहरूकै भेटीबाट नै लिइएको हुन्थ्यो । तर जब तिनले धर्मको कट्टरता र अन्धविश्‍‍वासको शक्ति भत्किएको देखे तब त्यसले तिनलाई आनन्दित मात्र तुल्यायो ।MBAJ 182.1

    जुइङ्गलीले सम्पन्‍न गरिरहेका कार्यप्रति चर्चका अधिकारीहरू अन्धा थिएनन्; तर वर्तमानको लागि तिनीहरूले बाधा वा रोकटोक गरेनन् । अझै तिनलाई तिनीहरूको कार्यमा नै राख्‍ने आशा राखेर तिनीहरूले तिनलाई झूटा प्रशंसाहरूद्वारा मन जित्‍ने प्रयास गरे; त्यही समयमा सत्यता मानिसहरूको हृदयमा प्रवेश गरिरहेको थियो । MBAJ 182.2

    इन्सिडेल्‍नमा जुइङ्गलीको परिश्रमले तिनलाई अझै फराकिलो क्षेत्रका निम्ति तयार गऱ्यो र तिनी चाँडै नै त्यसमा प्रवेश गर्नुपर्ने भयो । तीन वर्षपछि तिनी प्रचारकको काममा जुरिकको गिर्जा घरमा बोलाइए । त्यस ताका स्‍वीजरल्याण्डको संगठनमा त्यो सबभन्दा महत्‍वपूर्ण शहर थियो, त्यहाँ परेको प्रभाव व्यापक रूपमा फैलिनेथियो । जे भए पनि जुन चर्चका अधिकारीहरूको निमन्‍‍त्रणाबाट तिनी जुरिकमा आएका थिए त्यही पूजाहारीहरूले कुनै पनि नौलो कुराको प्रवेशमा रोक लगाउने इच्छा राखेका थिए र त्यसै गरी तिनीहरूले तिनका कर्तव्यहरूका बारेमा प्रशिक्षण दिन थाले ।MBAJ 182.3

    तिनीहरूले भने, “तपाईंले यो संगठनको अर्थतन्‍‍त्र संकलन गर्ने कार्यमा केही थोरै पनि बेवास्ता नगरीकन प्रयासरत हुनुपर्नेछ । तपाईंले विश्‍‍वासिलो जनहरूलाई पुल्पिट र स्‍वीकार गर्ने ठाउँ दुवैबाट सम्पूर्ण दशांस र बाँकी तिर्ने प्रोत्साहन दिनुपर्नेछ, यसरी तिनीहरूका भेटीहरूद्वारा मण्डलीप्रति माया प्रकट गर्न प्रोत्साहन गर्नुपर्नेछ । तपाईंले बिरामीहरूबाट, मासहरूबाट र सबै साधारण धार्मिक विधि-विधानहरूबाट आम्दानी मेहनतसाथ वृद्धि गर्नुपर्नेछ ।” तिनका प्रशिक्षकहरूले अझै भने “धार्मिक विधिहरूको प्रशासन, प्रचार र बगाललाई स्याहार-सुसार गर्ने काम पनि पूजाहारीका कर्तव्यहरूमध्येकै हुन् । तर यी कुराहरू, विशेष गरी प्रचारको कार्य अर्कैले पनि गर्न सक्छ । तिमीले धनी व्यक्तिहरूलाई मात्र विधिहरूको सम्बन्धमा अगुवाइ गर्नुपर्नेछ, यदि त्यसो गर्न बोलाइएको खण्डमा मात्र; तिमीले जोसुकैलाई त्यो कार्य गरिदिने अनुमति छैन ।” —D’Aubigné, b. 8, ch. 6.MBAJ 182.4

    जुइङ्गलीले यो आदेश शान्तसाथ सुने, त्यस महत्‍वपूर्ण कार्य गर्ने बोलावटको सौभाग्यप्रति आभार व्यक्त गर्दै तिनले अवलम्वन गर्ने योजनाको वर्णन गर्दै जवाफ दिए । तिनले भने, “ख्रीष्‍टको जीवनी मानिसहरूको दृष्‍टिबाट लामो समयदेखि लुकाइएको छ । ... धर्मशास्‍‍त्रका मुहानहरूबाट मात्र लिएर, त्यसको गहिराइ बुझेर, पदसँग पद तुलना गरेर, निरन्तर र उत्सुक प्रार्थना गरेर म सन्त मत्तीको पूर्ण सुसमाचारबाट प्रचार गर्नेछु । यो परमेश्‍‍वरको महिमामा, उहाँको एक मात्र पुत्रको प्रशंसामा, मानिसहरूको साँचो मुक्तिमा, र तिनीहरूको सत्य विश्‍‍वासमा ज्ञानोन्‍नतिमा म यो मेरो सेवा समर्पण गर्नेछु ।” —D’Aubigné, b. 8, ch. 6. कतिपय चर्चका अधिकारीहरूले तिनको योजनामा असहमति जनाए र तिनलाई त्यसबाट रोक्‍ने प्रयास गरेतापनि जुइङ्गलीचाहिँ दृढ नै रहे । तिनले घोषणा गरे कि तिनले कुनै नयाँ विधि प्रवेश गराउन खोजका होइनन्, तर अघिल्‍लो र अझै शुद्धताको समयहरूमा चर्चद्वारा प्रयोग गरिएको पुरानो विधि नै प्रयोग गर्छु ।MBAJ 183.1

    तिनले सिकाएका सत्यताहरूमा उत्सुकता सुरु भइसकेको थियो; अनि धेरै जना मानिसहरू तिनको प्रचार सुन्‍न ओइरिए । लामो समयसम्म सेवाहरूमा नगएका मानिसहरू पनि तिनका स्रोताको बीचमा थिए । सुसमाचारहरू खुला पारेर तिनका स्रोतालाई ख्रीष्‍टको जीवन, शिक्षाहरू र मृत्युको प्रेरणादायिक कथा पाठ गर्दै र वर्णन गर्दै तिनले आफ्‍ना सेवा-कार्य आरम्भ गरे । इन्सिडेल्‍नमा जस्तै यहाँ पनि परमेश्‍‍वरको वचन मात्र एक अटल अधिकार हो र पूर्ण बलिदानचाहिँ ख्रीष्‍टको मृत्यु मात्र हो भनी तिनले प्रस्तुत गरे । तिनले भने, “ख्रीष्‍टमा नै म तिमीहरूलाई अगुवाइ गर्न चाहन्छु—ख्रीष्‍ट नै मुक्तिको सत्य मुहान हुनुहुन्छ ।” —D’Aubigné, b. 8, ch. 6. राज्यपाल र पण्डितहरूदेखि लिएर शिल्पकार र गाउँलेहरू जस्ता सबै स्तरका मानिसहरू प्रचारकको वरिपरि भीड लागे । तिनीहरूले गहिरो चाख लिएर तिनका शब्दहरू सुने । तिनले सित्तैमा मुक्ति प्रदान गरिएको कुरा मात्र घोषणा गरेनन्, तर त्यो समयका दुष्‍टताहरू र भ्रष्‍टताहरूले पनि निडरताका साथ हप्काए । धेरै जना मानिसहरू गिर्जा घरबाट परमेश्‍‍वरको प्रशंसा गर्दै फर्के । तिनीहरूले भने, “यो मानिस सत्यताको प्रचारक हो । यो मिश्रको अन्धकारबाट हामीलाई अगुवाइ गर्ने तिनी नै हाम्रो मोशा हुनेछन् ।” —D’Aubigné, b. 8, ch. 6.MBAJ 183.2

    तर पहिले तिनका कार्यहरू बडो जोशसाथ स्‍वीकार गरिएतापनि केही समयपछि विरोध आउन थाल्यो । भिक्षुहरू आफैले तिनका काममा बाधा ल्याउन र तिनका शिक्षाहरूलाई दोषी ठहऱ्याउन लागी परे । धेरै जनाले तिनलाई खिसी र हस्सीका साथ आक्रमण गरे; अरूले चाहिँ धृष्‍टता र धम्किहरू प्रयोग गरे । तर जइङ्गलीले यसो भन्दै सबै कुरा धैर्यतासाथ सहे: “यदि हामीले दुष्‍टहरूलाई येशू ख्रीष्‍टमा जित्‍न चाहन्छौं भने हामीले धेरै थोकहरूप्रति हाम्रो आँखा चिम्‍लनुपर्छ ।” —D’Aubigné, b. 8, ch. 6.MBAJ 183.3

    लगभग यही समयमा सुधार-कार्य अगाडि बढाउन अर्को एउटा नयाँ तरिका आयो । बेसलका सुधार-विश्‍‍वासका समर्थक साथीले लुशियन नाम गरेको एक जनालाई लुथरका केही लेखहरूसाथ जुरिक पठाए, जुन साथीले सल्‍लाह दिए कि यी पुस्तकहरू बिक्री गर्दा ज्योति शक्तिशाली तरिकाले फैलिन सक्थ्यो । तिनले जुइङ्गलीलाई लेखे, “यो मानिससँग पर्याप्‍त बुद्धि र कला छ कि छैन निश्‍चित गर्नुहोस्; यदि छ भने तिनलाई शहर-शहर, सानो शहर, गाउँ-गाउँ जाने अनुमति दिनुहोस्, त्यति मात्र होइन, लुथरका लेखहरू लिएर स्‍वीजरल्याण्डका घर-घरमा जाऊन् र विशेष गरेर सर्वसाधारण मानिसहरूको लागि लेखिएको प्रभुको प्रार्थनाको स्पष्‍टिकरण लिएर जाऊन् । जति ती कुराहरू फैलिन्छन् ग्राहकहरू पनि त्यति नै बढी हुन्छ ।” —D’Aubigné, b. 8, ch. 6. यसरी ज्योति प्रवेश गऱ्यो ।MBAJ 184.1

    जब परमेश्‍‍वरले अज्ञानता र अन्धविश्‍‍वासको बन्धनलाई तोड्‍न तयारी गर्नुहुन्छ तब शैतानले पनि मानिसहरूलाई अन्धकारले ढाक्‍न र तिनीहरूको हातकढ़ी अझै बलियो गरी बाँध्‍न झन ठूलो शक्तिका साथ काम गर्छ । जब विभिन्‍न देशहरूमा जनताहरूलाई ख्रीष्‍टको रगतद्वारा धार्मिकता र क्षमा हुन्छ भनी प्रस्तुत गर्न मानिसहरू खडा भइरहेका थिए, तब रोमले इसाईजगत भरि नै आफ्‍नो बजार आरम्भ गर्न फेरि नयाँ शक्तिको प्रयोग गऱ्यो, त्यसमा क्षमा बिक्री गरेको थियो ।MBAJ 184.2

    प्रत्येक पापको मूल्य तोकिएको थियो, यदि चर्चको कोषमा प्रशस्त पैसा थुप्रिएको भए मानिसहरूलाई स्‍वतन्‍‍त्र रूपमा अपराध गर्ने अनुमति प्रदान गरिएको थियो । यसरी यी दुई वटा विषयबस्तु अगाडि आयो,—एउटाले पैसामा पाप क्षमा दिने, अर्कोले चाहिँ ख्रीष्‍टद्वारा पाप क्षमा पाउने—रोमले पाप गर्ने अनुमति दियो र त्यसलाई नै आफ्‍नो आम्दानीको स्रोत बनायो; सुधारकहरूले पापलाई दोषी ठहऱ्याउँदै ख्रीष्‍ट नै प्रायश्‍चित र उद्धारकर्ता हुनुहुन्छ भनी देखाए ।MBAJ 184.3

    जर्मनीमा पाप-क्षमापत्र बिक्री गर्ने जिम्मा डोमिनिकी [संघको नाम] सन्यासीलाई दिइएको थियो, र त्यसमा बदनामी टेट्‍जलद्वारा अगुवाइ गरिएको थियो । स्‍वीजरल्याण्डमा चाहिँ फ्रान्सिस्की सन्यासीहरूको हातमा व्यापार सुम्पिदिइएको थियो, जो एक इटालीको भिक्षु स्याम्सनको अगुवाइमा सुम्पिदिइयो । स्याम्सनले पोपतन्‍‍त्रको कोष भण्डार भर्न जर्मनी र स्‍वीजरल्याण्डबाट अत्याधिक धनराशि संकलन गरेर चर्चप्रति असल सेवा पुऱ्याईसकेका थिए । अब तिनी ठूलो भीडहरूलाई आकर्षित गर्दै गरिब गाउँलेहरूको अभावको कमाई लुट्‍दै, र धनीहरूलाई प्रशस्त उपहारको कडा माग गर्दै स्‍वीजरल्याण्डभरि गए । तर त्यो व्यापार रोक्‍न नसकेता पनि सुधारको प्रभाव महसुस भयो जसको कारणले ग्राहकहरू घटेका थिए । अनि स्याम्सन स्‍वीजरल्याण्डमा पुग्‍ने बित्तिकै तिनको मालमता लिएर इन्सिडेल्‍न नजिकैको शहरमा गयो तर जुइङ्गलीचाहिँ इन्सिडेल्‍नमा नै थिए । तिनको कार्यको विषयमा सूचना पाएपछि सुधारक तिनलाई प्रतिकार गर्न तुरुन्तै गए । ती दुईको भेट भएन, तर सन्यासीका देखावटी कुराहरू प्रकट गर्ने कार्यमा जुइङ्गली यति सफल भए जसको कारणले तिनी अन्य क्षेत्रमा जान बाँध्य भए ।MBAJ 184.4

    जुइङ्गलीले जुरिकमा क्षमाका व्यापारीहरूको विरुद्ध जोशका साथ प्रचार गरे; र जब स्याम्सन त्यो ठाउँ नजीक आइपुगे तब एक जना परिषद्‍को समाचारवाहकले तिनलाई भेटे र तिनी त्यहाँबाट जान्छन् होला जस्तो देखिन्थे । अन्तमा तिनी चलाखीपूर्ण तरिकाले प्रवेश गरे, तर एउटै पनि क्षमा-पत्र बिक्री नगरीकन तिनी बाहिर पठाइए र त्यसपछि चाँडै नै तिनी स्‍वीजरल्याण्डबाट फर्के ।MBAJ 185.1

    विपत्तिको वा महामृत्यु देखा परेको कारण सुधार-कार्यमा एक बलियो प्रभाव पारेको थियो, जुन १५१९ सालमा स्‍वीजरल्याण्डभरि नै आएको थियो । जब मानिसहरू यसरी विनाशकारीसँग आमने-सामुन्‍ने उभिनुपर्दा तिनीहरूले भर्खरै किनेको क्षमा-पत्रहरू कति मूल्यहीन र व्यर्थ रहेछ भनी धेरैले यो महसुस गरे; तिनीहरूले आफ्‍नो विश्‍‍वासको अझै निश्‍चित जगको चाहना राखे । जुरिकमा जुइङ्गली अत्यन्त्यै बिरामी भए; तिनी यति सिकिस्त भएका थिए कि तिनलाई निको हुने आशा नै थिएन, तिनको मृत्यु भयो भन्‍ने खबर व्यापक भइसकेको थियो । त्यस्तो परीक्षाको घडीमा पनि तिनको आशा र साहसहरू अटल नै थिए । तिनले विश्‍‍वासका साथ पापको प्रायश्‍चितको सर्वपरी [येशू] माथि भरोसा राखेर कलवरी क्रूसमा हेरे । जब तिनी मृत्युको ढोकाबाट फर्केर आए, पहिलेभन्दा पनि अझै शक्तिशालीपूर्वक समाचार प्रचार गर्नुपर्ने थियो; तिनका शब्दहरूले असाधारण शक्तिका साथ प्रभावित पारेका थिए । चिहानको धारबाट फर्केर आएका तिनीहरूको प्रिय पास्टरलाई मानिसहरूले आनन्दसाथ स्‍वागत गरे । तिनीहरू आफैले बिरामी र मर्नै आँटेको व्यक्तिको हेरचाह गरेर आएका थिए, अब तिनीहरूले सुसमाचारको यस्तो महत्‍व ठाने कि तिनीहरूले पहिले त्यसरी सोचेका थिएनन् ।MBAJ 185.2

    जुइङ्गलीले सत्यताहरूको अझै स्पष्‍ट समझ प्राप्‍त गरेका थिए र तिनी आफैमा तिनले त्यसको परिवर्तन गर्ने शक्तिको अझै पूर्ण अनुभव गरेका थिए । मानिसको पतन र मुक्तिको योजना जस्ता विषयहरूमा तिनले अध्ययन गरे । तिनले भने, “आदममा हामी सबै मऱ्यौं र भ्रष्‍टता र सजायको आज्ञामा डुब्यौं ।” —Wylie, b. 8, ch. 9. “ख्रीष्‍टले ... एक अनन्तको मुक्ति हाम्रो खातिर किन्‍नु भएको छ । ... उहाँको क्रूसको कष्‍टचाहिँ एक अनन्त बलिदान हो, र अनन्तताको रूपमा निको पार्न त्यो प्रभाकारी छ; जो जतिले दृढ र अटल विश्‍‍वाससाथ भरोसा राख्‍छन् तिनीहरू जसले सबैको पक्षमा ईश्‍‍वरीय न्यायलाई अनन्तसम्म सन्तुष्‍ट पार्दछ ।” तापनि तिनले स्पष्‍टसाथ सिकाए कि ख्रीष्‍टको अनुग्रहको कारणले मानिसहरू पापमा निरन्तर जीवन बिताउन स्‍वतन्‍‍त्र छैनन् । “जहाँ परमेश्‍‍वरमा विश्‍‍वास छ, त्यहाँ परमेश्‍‍वर हुनुहुन्छ; जहाँ परमेश्‍‍वर हुनुहुन्छ, त्यहाँ जोशले काम गरिरहन्छ र मानिसहरूलाई असल कार्यहरूतर्फ अग्रसर गराउँदछ ।” —D’Aubigné, b. 8, ch. 9.MBAJ 186.1

    जुइङ्गलीको प्रचारमा यस्तो उत्सुकता थियो कि तिनको वचन सुन्‍नका लागि आउने भीडहरूले गिर्जाघरमा पनि ठाउँ पाएनन् । बिस्तारै-बिस्तार तिनीहरूले सहन सक्‍ने गरी तिनले आफ्‍ना स्रोतामा सत्यता खोलिदिए । प्रथमतः चकित पार्ने र भेद्‍भाव सृजना गर्ने बुँदाहरू प्रस्तुत नगर्न तिनी सावधानी थिए । तिनीहरूको हृदयलाई ख्रीष्‍टका शिक्षाहरूले जित्‍ने, उहाँको प्रेमद्वारा तिनीहरूलाई नम्र पार्ने र तिनीहरूका सामु उहाँको उदाहरण राखिदिने चाहिँ तिनको कार्य थियो; जब तिनीहरूले सुसमचारका सिद्धान्तहरू स्‍वीकार गर्दछन् तब तिनीहरूको अन्धविश्‍‍वासपूर्ण विश्‍‍वासहरू र चलनहरू अकाट्यरूपमा पराजित हुनेथिए ।MBAJ 186.2

    जुरिकमा खुड्‍किल्‍लाबद्ध तरिकाले सुधार-कार्य अगि बढ्यो । त्यसका शत्रुहरू तर्सेर क्रियाशील प्रतिकार गर्न खडा भए । वोर्मसमा एक वर्ष अगाडि विटनवर्गको भिक्षुले सम्राट र पोपलाई तिनको पक्षबाट “होइन” भन्‍ने शब्द उच्‍चारण गरेका थिए, अब जुरिकमा पनि प्रत्येक कुराले पोपतन्‍‍त्रका दाबीहरूलाई त्यस्तै गरी विरोध गर्ला जस्तो संकेत देखियो । जुइङ्गलीलाई बारम्बार आक्रमण गरियो । पोपतन्‍‍त्रको अधिकार क्षेत्रमा समय-समयमा सुसमाचारका चेलाहरूलाई आगोमा जलाउन ल्याएका थिए, तर त्यति मात्र प्रर्याप्‍त भएन; झूटो शिक्षाको शिक्षक शान्त हुनैपर्ने थियो । त्यसरी नै कन्सटेन्सको बिशपको अनुसार जुरिकको परिषद्‍मा तीन जना प्रतिनिधिहरू पठाएका थिए, मानिसहरूलाई चर्चका नियमहरू भङ्ग गर्न सिकाएको र यसरी समाजको शान्ति र असल व्यवस्थालाई खतरामा पारेको भनी जुइङ्गलीलाई दोष लगाए । तिनले दबाब दिए, यदि चर्चको अधिकारलाई हटाउने हो भने विश्‍‍वव्यापी रूपमा गोलमोल हुन्छ । जुइङ्गलीले जवाफ दिए कि जुरिकमा तिनले चार वर्षसम्म सुसमाचार सिकाए, “त्योचाहिँ राज्यका कुनै पनि शहरभन्दा झनै चूपचाप र शान्तिमय थियो ।” तिनले भने, “के त्यसो भए इसाई धर्म साधारण सुरक्षाको उत्तम रक्षक नै होइन र ?” —Wylie, b. 8, ch. 11.MBAJ 187.1

    प्रतिनिधिहरूले सभासद्‍हरूलाई [परिषद्‍का सदस्यहरू] मण्डलीमा रहिरहने सम्बन्धमा चेतावनी दिएका थिए, त्यस बाहेक अरू कुनैमा मुक्ति छैन भनी तिनीहरूले घोषण गरे । जुइङ्गलीले प्रतिक्रिया जनाए: “यो दोषले तपाईंहरूलाई ढलफल नपारोस् । चर्चको जग त्यही चट्टान हुनुहुन्छ, त्यही ख्रीष्‍ट हुनुहुन्छ, त्यसले पत्रुसको नाम राख्यो किनभने तिनले उहाँलाई विश्‍‍वासयोग्यसाथ स्‍वीकार गरे । प्रत्येक देशमा ज-जसले आफ्‍ना सारा हृदयले प्रभु येशूमा विश्‍‍वास गर्दछन् परमेश्‍‍वरले तिनीहरूलाई ग्रहण गर्नुहुन्छ । साँच्‍चै नै मण्डलीचाहिँ यहीँ हो यसद्वारा बाहेक कसैले पनि मुक्ति पाउनै सक्दैन ।” —D’Aubigné, London ed., b. 8, ch. 11. त्यो सभाका परिणामस्‍वरूप त्यस विशपका प्रतिनिधिहरूमध्ये एक जनाले सुधार विश्‍‍वास ग्रहण गरे ।MBAJ 187.2

    परिषद्‍ले जुइङ्गलीको विरुद्ध केही गर्न मानेन र रोमले एक अर्कै प्रकारको आक्रमणका निम्ति तयारी गरे । जब सुधारकले तिनका शत्रुहरूको षडयन्‍‍त्रको जानकारी पाए तब तिनी आश्‍चर्य भई भने: “तिनीहरू आओस्; स्थिर भिरको चट्टानको फेदमा छालले ठोक्‍कर दिँदा कस्तो हुन्छ, तिनीहरूप्रति मेरो डर त्यस्तै हो ।” —Wylie, b. 8, ch. 11. चर्चका अधिकारीहरूको प्रयत्‍नले सुधार-कार्यलाई अगाडि बढायो जुन तिनीहरूले नष्‍ट गर्न खोजेका थिए । सत्यता निरन्तर नै फैलिरह्यो । जब स्‍वीजरल्याण्डमा सुसमाचारको विकासलाई देखे तब जर्मनीमा पनि लुथरको अनुपस्थितिद्वारा निराश बन्‍न पुगेका उनका अनुयायीहरूले फेरि साहस पाए ।MBAJ 188.1

    जब जुरिकमा सुधार-कार्य स्थापना भयो तब अपराध निराकरण, व्यवस्थापन र मिलापको विकासमा त्यसका फलहरू अझै पूर्णरूपले देखिए । जुइङ्गलीले लेखे: “हाम्रो शहरमा शान्तिले वास गरेको छ, यहाँ झगड़ा, पाखण्डीपन, डाह र लड़ाइँ केही पनि छैन । परमप्रभु र हाम्रो सिद्धान्तबाहेक अरू कहाँबाट यस्तो एकता आउन सक्छ जसले हामीलाई शान्ति र भक्तिको फलहरूले भर्दछ होइन र ?” —Wylie, b. 8, ch. 15.MBAJ 188.2

    सुधार-कार्यले हासिल गरेका विजयहरूले रोमीहरूलाई त्यसको विनाशका लागि अझै निर्णायक प्रयत्‍नसाथ थर्कायो । जर्मनीमा लुथरको कामलाई दबाउन गरिएको सतावटले त्यति धेरै कार्य सम्पन्‍न नभएको देखेर तिनीहरूले यो सुधार-कार्यलाई त्यसकै हतियारहरूद्वारा सामना गर्ने निर्णय गरे । तिनीहरूले जुइङ्गलीसँग विवाद गर्ने भए र सबै कुराको व्यवस्थापन गरेर तिनीहरूले नै विवाद गर्ने स्थान साथै विवादीहरूका निर्णायकहरू पनि तिनीहरूले नै छान्‍ने र विजय निश्‍चित गर्ने निर्णय गरेको थियो । यदि तिनीहरूले जुइङ्गलीलाई तिनीहरूको शक्तिमा पार्न सक्‍ने भए, तिनीहरूले होशियारी भई तिनलाई उम्कन दिनेथिएनन् । यदि अगुवालाई शान्त पार्न सक्‍ने भए त्यो विषयबस्तु चाँडै नै चकनाचुर हुन सक्थ्यो । जेभएपनि यो अभिप्राय होशियारीसाथ लुकाइएको थियो ।MBAJ 188.3

    वाद-विवाद बादेनमा आयोजना गरियो; तर जुइङ्गलीचाहिँ उपस्थित भएनन् । जुरिकको परिषद्‍ले पोपतन्‍‍त्रका युक्तिहरूमा आशंका गरे र सुसमाचार ग्रहण गर्नेहरूलाई पोपतन्‍‍त्रका अधिकार क्षेत्रहरूमा जलाउने थुप्रोहरूको चेतावनी पाएको कारण तिनीहरूले आफ्‍ना पास्टरलाई आफैचाहिँ यस्तो जोखिममा देखा पर्न निषेध गरे । जुरिकमा रोमले पठाएको सबै समूहसँग तिनी सामना गर्न तयारी थिए; तर जहाँ सत्यताका पक्षमा उभिने शहिदहरूको रगत भर्खर बगेको थियो त्यहीँ बादेनमा जानुचाहिँ निश्‍चय नै मृत्युमा पर्नु थियो । सुधारकहरूको प्रतिनिधित्‍व गर्न ओकोलम्पडियस र हलर चुनिए, जबकि प्रख्यात् डाक्टर इक रोमको हिरो थियो जो शिक्षित डाक्टरहरू र पूरोहितहरूको दलको समर्थनमा आए ।MBAJ 188.4

    सभामा जुइङ्गली उपस्थित नभएपनि त्यहाँ तिनको प्रभाव महसुस हुन्थ्यो । सम्पूर्ण लेखनदासहरू पोपतन्‍‍त्रका मानिसहरूले चुनेका थिए, अरू कसैलाई विवरण लिन निषेध गरिएको थियो, यदि लिएमा मृत्युको सजाय हुनेथियो । त्यसो भएतापनि जुइङ्गलीले बादेनमा के कुरा हुँदैछ भन्‍ने विश्‍‍वासयोग्य अभिलेख दैनिकरूपमा गरे । वाद-विवादमा उपस्थित भएको एक जना विद्यार्थीले त्यो दिनमा प्रकट गरेका विवादहरू प्रत्येक बेलुकी लेख्‍ने गर्दथ्यो । यी पत्रहरू र ओकोलम्पडियसका दैनिक पत्रहरू जुरिकमा जइङ्गलीकहाँ पुऱ्याउन अरू दुई जना विद्याथीहरूले भाग लिएका थिए । सुधारकले सल्‍लाह र सुझावहरू दिदै जवाफ दिए । तिनका चिट्ठीहरू राती लेखिएका थिए र बिहान त्यो चिट्ठी लिएर विद्यार्थीहरू बादेनमा फर्कन्थे । शहरको ढोकामा बसेको सचेत पालेबाट चलाकीसाथ उम्कन यी सन्देशवाहकहरूले तिनीहरूका टाउकोमा कुखुरा बोक्‍ने डालो बोकेर आए, तिनीहरूलाई कुनै पनि बाधाविना नै पार गरियो ।MBAJ 189.1

    यसरी जुइङ्गलीले तिनको चत्तुर विरोधीहरूसँग लड़ाइँ कायम राखे । माइकोनियसले भने, “तिनका शत्रुहरूको माझमा बहस गरेर आफैले काम पूरा गर्नुभन्दा तिनले यसमा मनन गरेर, राती नसुतेर तिनका सल्‍लाहहरू बादेनमा हस्तान्तरण गरेर अधिक परिश्रम गरे ।” —D’Aubigné, b. 11, ch. 13.MBAJ 189.2

    रोमीहरू विजयको आशासाथ तिनीहरूको सबभन्दा महँगो पोशाक र टल्कने गहनाहरूले सजिएर बादेनमा आएका थिए । तिनीहरूले विलासी तरिकाले भोजन गरे, तिनीहरूको टेबुलमा सबभन्दा महँगो स्‍वादिष्‍ट भोजन र सबभन्दा असल दाखमद्य राखिन्थ्यो । तिनीहरूको पूजाहारी बोझका कर्तव्यहरू हल्का पार्न हर्ष र मोजमज्‍जामा मग्‍न भए । सुधारकहरूमा चाहिँ ठूलो भिन्‍नता देखा पऱ्यो, जसलाई मानिसहरूले भिखारीहरूको समूहभन्दा अलिकति असल नजर लगाएका थिए जसको खर्चको आवश्‍‍यकीय भोजनले गर्दा तिनीहरू थोरै समयसम्म टेबुलमा बस्थे । ओकोलम्पडियसको घर मालिकले तिनलाई तिनको कोठामा हेर्ने मौका पाए र तिनी जहिले पनि अध्ययन वा प्रार्थनामा लागी रहेको देखे र अचम्मित भएर भने, कम्तिमा झूटो व्यक्ति पनि “एकदमै धार्मिक थियो ।”MBAJ 189.3

    त्यो सभामा “इक घमण्डसाथ ऐश्‍‍वर्यपूर्ण सजिसजाउ पारेका पुल्पिटमा उक्‍ले, जब कि नम्र ओकोलम्पडियस साधारण वस्‍‍त्रादिमा रूखो तरिकाले बनाइएको स्टूलमा तिनको प्रतिपक्षीतिर फर्केर बस्‍न बाँध्य भए ।” —D’Aubigné, b. 11, ch. 13. इकको तिख्‍खर आवाज र अपरिमित भरोसाले तिनलाई कहिल्यै धोका दिएन । तिनको जोश, सुन साथै प्रसिद्धताको आशाले उत्तेजित पारेको थियो; किनकि विश्‍‍वासको रक्षकलाई आकर्षक रकम दिएर इनाम दिनुपर्ने थियो । जब असल बहसहरू असफल भए तिनले निन्दा गरे, र सरापे ।MBAJ 190.1

    भद्र र आत्म-भरोसाविनाको ओकोलम्पडियस संघर्ष गर्न हिचकिच्याएका थिए, र तिनले गम्भीर प्रतिज्ञा गरेर तिनी यसमा प्रवेश गरे: “परमेश्‍‍वरको वचन बाहेक अरू कुनै पनि न्यायको स्तर म स्‍वीकार गर्दिनँ ।” —D’Aubigné, b. 11, ch. 13. नम्र र शिष्‍ट आचरणको भएतापनि तिनी सक्षम र निडर प्रमाणित भए । जब रोमीहरूले तिनीहरूको आदतअनुसार चर्चको चलनको अधिकारप्रति केन्द्रित गरे तब सुधारकले दृढतासाथ पवित्रशास्‍‍त्रलाई अपनाए । तिनले भने, “यदि त्यो संविधानअनुसार छैन भने हाम्रो स्‍वीजरल्याण्डमा परम्पराको काम छैन; अब विश्‍‍वासका सम्बन्धहरूमा बाइबल नै हाम्रो संविधान हो ।” —D’Aubigné, b. 11, ch. 13.MBAJ 190.2

    दुई विवादीहरूको बीचमा भएको भिन्‍नता प्रभावहीन रहेन । सुधारकले शान्त, स्पष्‍ट समझदारी भनाइ यति नम्र र भद्रतासाथ प्रस्तुत गरे, त्यसकारणले इकको अभिमान र हल्‍ला मचाउने फूर्तिहरूबाट फर्केका दिमागहरूलाई चित्त बुझ्यो ।MBAJ 190.3

    अठार दिनसम्म छलफल चलि नै रह्यो । अन्तमा पोपतन्‍‍त्रले ठूलो विश्‍‍वाससाथ विजयको दाबी गऱ्यो । धेरै प्रतिनिधिहरू रोमको पक्षमा लागे र सुधारकहरू पराजित भएका छन् भनी सभाले घोषणा गऱ्यो, र तिनीहरूले घोषणा गरे, तिनीहरूका अगुवा जुइङ्गलीसँगै तिनीहरू पनि चर्च निकाला गरिएका छन् । तर कुन पक्षलाई लाभ भयो भनी सभाको परिणामद्वारा प्रकट भयो । यस संघर्षले प्राटेस्टेन्टको कार्यमा प्रबल प्रोत्साहन दियो, त्यसको केही समयपछि बर्न र बेसल जस्ता महत्‍वपूर्ण शहरहरूले सुधार-कार्यलाई स्‍वीकार गर्ने घोषणा गरे ।MBAJ 190.4

    Larger font
    Smaller font
    Copy
    Print
    Contents