Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    १० — जर्मनीमा सुधारको विकास

    (अंग्रेजी पुस्तक अध्याय १० पृष्‍ठ १८५)

    लुथर गुप्‍तरूपमा हराएको कारणले जर्मनीभरि नै आतङ्क फैलियो । तिनको विषयमा सर्वत्र प्रश्‍नहरू सुनिन्थ्यो । अनौठा हल्‍लाहरू फैलिएका थिए र धेरै जनाले यसरी विश्‍‍वास गरे कि तिनको हत्या भइसक्‍यो । तिनका समर्थक साथीहरूको बीचमा मात्र नभई जसले सुधार-कार्यप्रति खुल्‍लारूपमा स्‍वीकार गरेका थिएनन् तिनीहरू हजारौँले पनि अत्यन्त्यै विलाप गरे । धेरै जनाले तिनीहरू आफैले तिनको मृत्युको बदला लिने गम्भीर शपथ खाए ।MBAJ 193.1

    रोमी अगुवाहरूले भयसाथ देखे कि तिनीहरूको विरुद्धमा कस्तो उतार-चढाव सोच-विचार उठेको थियो । पहिले त तिनीहरू पनि लुथरको अनुमानित मृत्युमा हर्षित भएता पनि चाँडै नै तिनीहरू मानिसहरूको क्रोधबाट लुक्‍न चाहे । तिनका शत्रुहरूलाई तिनको सबभन्दा साहसी कार्यहरूले पनि यति धेरै समस्यामा पारेको थिएन जस्तो तिनको अनुपस्थितिले पाऱ्यो । जुन मानिसहरू रिसले चूर भएर साहसी सुधारकलाई नष्‍ट पार्न खोजेका थिए अब तिनी एक असह्य कैदी बनेका थिए भन्‍ने कुरामा तिनीहरू भयभीत भए । एक जनाले भने, “हामी आफैलाई बचाउन बाँकी रहेको एउटै मात्र उपायचाहिँ यही हो कि राँको बालेर सारा संसारभरि लुथरलाई खोजेर तिनलाई माग गरिरहेको राज्यमा फर्काइदिनुपर्छ ।” —D’Aubigné, b. 9, ch. 1. सम्राटका आदेश पनि शक्तिहीन भएको जस्तो देखिन्थ्यो । जब तिनीहरूले देखे कि त्यसप्रतिभन्दा लुथरको दशाप्रति अधिक ध्यानाकर्षण भयो तब पोपतन्‍‍त्रका प्रतिनिधिहरू रिसले चूर भए ।MBAJ 193.2

    तिनी जेलमै भएपनि सुरक्षित रहेको खबरले मानिसहरूको भयलाई शान्त पाऱ्यो, जहाँ तिनको पक्षमा तिनीहरूको जागृति झन बढायो । तिनका लेखहरू पहिलेभन्दा पनि अधिक उत्सुकतासाथ पढियो । यो बहादुरी मानिसको कार्यमा बढ्‍दो सङ्ख्यामा मानिसहरू समावेश भए, जसले यस्तो डरलाग्दो असमानतामा परमेश्‍‍वरको वचनको प्रतिरक्षा गरे । सुधारले निरन्तररूपले सामर्थ्य प्राप्‍त गरिरहेका थिए । लुथरले छरेको बिऊ अब जतातत्तै उम्रियो । तिनको अनुपस्थितिमा यस्तो काम सम्पन्‍न भयो जुन तिनको उपस्थितिमा असफल हुन्थ्यो । अरू कार्यकर्ताहरूले नौलो जिम्मेवारी महसुस गरे, किनकि तिनीहरूको महान् अगुवा थिएनन् । नयाँ विश्‍‍वास र उत्सुकतासाथ तिनीहरूले आफ्‍नो साराशक्तिले काम गर्न अगाडि बढे, ताकि यति महान् तरिकाले प्रारम्भ भएको काममा बाधा नपुगोस् ।MBAJ 193.3

    तर शैतान पनि त्यत्तिकै हेरेर बसेन । साँचो बदलीको नकल सृजना गरेर मानिसहरूलाई भ्रममा पार्ने र नष्‍ट पार्ने जस्ता कार्य त्यसले अन्य सुधार-कार्यमा गरेझैँ अहिले पनि गर्ने प्रयास गरेको छ । जसरी इसाई मण्डलीको प्रथम शताब्दीतिर पनि झूटा ख्रीष्‍टहरू थिए, त्यसरी नै सोह्रऔँ शताब्दीमा पनि झूटा अगमवक्ताहरू खडा भए ।MBAJ 194.1

    केही मानिसहरू धार्मिक जगतको उत्तेजनाद्वारा प्रभावित भई स्‍वर्गबाट विशेष प्रकाशहरू तिनीहरू आफैले प्राप्‍त गरेको भनी कल्पना गरे, सुधार-कार्यलाई पूर्णतासम्म पुऱ्याउन ईश्‍‍वरीय आदेश प्राप्‍त गरेको कुरा तिनीहरूले दाबी गरे र जुन कार्य लुथरले कमजोरता साथ आरम्भ गरेका थिए भनी तिनीहरूले घोषणा गरे । वास्तवमा तिनीहरूले सम्पन्‍न भइसकेको कार्यलाई नै भत्काउँदैथिए । परमेश्‍‍वरको वचन नै विश्‍‍वास र व्यवहारको सर्वोपरी कानून हो भन्‍ने महान् सत्यतालाई इन्कार गरे, त्यही नै सुधार-कार्यको जग थियो; तिनीहरूले त्यही अचुक अगुवाको सट्टामा तिनीहरूको आफ्‍नै परिवर्तनीय र अनिश्‍चित धारणाहरू र सोचहरू राखे । गलत र झूटपना पत्ता लगाउने महान् उपकरणलाई हटाउनेद्वारा शैतानको आफ्‍नो इच्छाअनुसार दिमाग नियन्‍‍त्रण गर्ने मार्ग खुला भयो ।MBAJ 194.2

    तीमध्ये एक जना अगमवक्ताले चाहिँ गब्रिएल स्‍वर्गदूतद्वारा प्रशिक्षण पाएको थिए भनी तिनले दाबी गरे । तिनीसँग अध्ययन गरिरहेका एक जना विद्यार्थीले तिनलाई परमेश्‍‍वर आफैले उहाँको वचन वर्णन गर्ने बुद्धि प्रदान गर्नुभएको थियो भनी घोषणा गर्दै तिनको अध्ययन छोडे । अरू जोहरू स्‍वभाविकरूपले नै कट्टरपन्थी धर्म मन पराउथे तिनीहरू त्यसमै समावेश भए । यी उत्तेजकहरूको कार्यले ठूलो उत्तेजना सृजना गऱ्यो । लुथरको प्रचारले मानिसहरूलाई सर्वत्ररूपमा सुधारको आवश्‍‍यकता महसुस गराएको थियो र अब अति नै इमान्दार मानिसहरू पनि यी नयाँ अगमक्ताहरूका बहानाहरूद्वारा भ्रममा परे ।MBAJ 194.3

    यो नयाँ विश्‍‍वासका अगुवाहरू विटनवर्गतर्फ गए र मलेङ्‍थन र तिनका सहकर्मीहरूलाई तिनीहरूका दाबीहरू बताए । तिनीहरूले भने: “हामी मानिसहरूलाई सिकाउन परमेश्‍‍वरद्वारा नै पठाइएका हौं । हामीले परमेश्‍‍वरसँग बारम्बार कुराकानी गरेका छौं; हामीलाई थाहा छ अब के हुनेछ; शब्दमा भन्‍ने हो भने हामी प्रेरितहरू र अगमवक्ताहरू हौं र डाक्टर लुथरलाई पनि यो अनुरोध गर्छौं ।” —D’Aubigné, b. 9, ch. 7.MBAJ 194.4

    सुधारकहरू छक्‍क परे र चिन्तित भए । यो यस्तो प्रकारको तत्‍व थियो जुन तिनीहरूले कहिल्यै पनि सामना गरेका थिएनन्, कतातिर जाने तिनीहरूलाई थाहै भएन । मलेङ्‍थनले भने: “साँच्‍चै नै यी मानिसहरूमा असाधारण आत्माहरू छन्; तर कस्ता आत्माहरू त ? ... एकातिर हामी परमेश्‍‍वरका आत्मा निभाउनबाट होशियारी रहौं, अर्कोतिर शैतानको आत्माद्वारा बहकिनदेखि पनि होशियारी रहौं ।” —D’Aubigné, b. 9. ch. 7.MBAJ 195.1

    त्यो नयाँ शिक्षाको फल चाँडै नै स्पष्‍ट भयो । मानिसहरूलाई बाइबल बेवास्ता गराइए वा पूर्ण हटाउन लगाए । विद्यालयहरू गोलमोलमा फसे । सम्पूर्ण नियन्‍‍त्रणलाई लत्याउँदै विद्यार्थीहरूले तिनीहरूका अध्ययन त्यागे र विश्‍‍वविद्यालयबाट निस्केर गए । जुन मानिसहरूले आफैलाई सुधार-कार्यलाई उठाउन र नियन्‍‍त्रण गर्न योग्य ठाने, तिनीहरूले त विनाशको धारमा मात्र पुऱ्याए । अब रोमका मानिसहरू आफ्‍नो आत्म-विश्‍‍वास फेरि प्राप्‍त गरे र हर्षले उल्‍लासित भई चिच्याए: “एउटा अन्तिम संघर्ष र सम्पूर्ण कुरा हाम्रै हुनेछ ।” —D’Aubigné, b. 9, ch. 7.MBAJ 195.2

    लुथरले वार्टवर्गमा बसेर के भएको थियो भनी सुने र गहिरो चिन्तासाथ भने: “शैतानले हामीलाई यो विपत्ति पठाउँछ भनी मैले जहिले पनि सोचिरहेको थिएँ ।” —D’Aubigné, b. 9, ch. 7. ती पाखण्डी अगमक्ताहरूको साँचो चरित्र तिनले बुझे र सत्यताको कार्यलाई हल्‍लाउने खतरा तिनले देखे । पोप र सम्राटका प्रतिकारले पनि तिनलाई अहिले जस्तो यति धेरै चिन्ता र शोक महसुस गरेको थिएन । सुधार-कार्य स्‍वीकार गर्ने साथीहरू नै त्यस कार्यका सबभन्दा दुष्‍ट शत्रुहरू भई उठे । जुन सत्यताहरूले तिनलाई यति धेरै आनन्द र सान्त्‍वना ल्याएका थिए ती नै कुराहरू मण्डलीमा लड़ाइँ मच्‍चाउन र हुलदंगा मच्‍चाउन प्रयोग भए ।MBAJ 195.3

    सुधार-कार्यमा लुथरलाई परमेश्‍‍वरको आत्माले अगाडि धकेल्‍नुभएको थियो र त्यो तिनले गर्न सक्‍नेभन्दा पनि अधिक मात्रामा सम्पन्‍न भएको थियो । तिनी जुन सत्यताहरूको पक्षमा उभिएका थिए त्यस्ता कुरामा उभिने र यस्तो पूर्ण परिवर्तन गर्ने लक्ष्य राखेका थिएनन् । तिनी अनन्त शक्तिको हातको एक औजार मात्र थिए । तापनि तिनी आफ्‍नो कार्यको परिणामका खातिर प्रायः काम्‍ने गर्दथे । एक पटक तिनले भने: “मेरो सिद्धान्तले जतिसुकै नीच र अप्रसिद्ध एउटै मात्रै मानिसलाई पनि हानि गर्छ भनी मैले जानेको भए म बरु त्यसलाई त्याग नगर्नुभन्दा दश पल्ट मर्ने थिएँ, त्यसले यस्तो हानि गर्न सक्दैन किनकि त्यो आफै सुसमाचार हो ।” —D’Aubigné, b. 9, ch. 7.MBAJ 195.4

    अब सुधार-कार्यको केन्द्र विटनवर्ग नै कट्टरपन्थ र नियमहीनताको शक्तिमा चाँडै नै फस्‍न लागेको थियो । यो डरलाग्दो अवस्थाचाहिँ लुथरका शिक्षाहरूको परिणाम थिएन; तर तिनका शत्रुहरूले जर्मनीभरि तिनलाई त्यसको दोष लगाइरहेका थिए । मनको तीतोपनाका साथ तिनी कहिलेकाहीँ प्रश्‍न गर्ने गर्दथे: “त्यसो भए के यो सुधारको महान् कार्यको अन्त यस्तै हुन सक्छ ?” —D’Aubigné, b. 9, ch. 7. जब तिनले फेरि प्रार्थनामा परमेश्‍‍वरसँग लड़न्त गरे तब तिनको हृदयमा शान्ति छायो । तिनले भने: “यो कार्य मेरो होइन, तर तपाईंकै हो; तपाईंले यसलाई अन्धविश्‍‍वास र कट्टरपन्थद्वारा कुहुन दिनुहुनेछैन ।” तर यस्तो सङ्कष्‍टमा पनि संघर्षबाट टाढ़ा रहने सोचचाहिँ असह्य भयो । तिनले विटनवर्ग नै फर्कने निर्णय गरे ।MBAJ 196.1

    ढिला नगरीकन तिनले आफ्‍नो जोखिमपूर्ण यात्रा सुरु गरे । तिनी साम्राज्यबाट बहिष्कृत थिए । शत्रुहरूले विना सङ्कोच तिनको ज्यान लिन सक्थे; साथीहरूले पनि तिनलाई सहयोग गर्न र आश्रय दिन निषेध गरेका थिए । साम्राजिक सरकारले तिनका अनुयायीहरू विरुद्ध सबभन्दा कठोर सजाय दिइरहेको थियो । तर तिनले देखे कि सुसमाचारको कार्यचाहिँ जोखिममा परेको थियो र परमप्रभुको नाममा सत्यताको खातिर लड़ाइँ गर्न निडरसाथ निस्केर गए ।MBAJ 196.2

    वार्टवर्गबाट जाने तिनको लक्ष्य वर्णन गरिसकेपछि लुथरले मुख्यमन्‍‍त्रीलाई लेखेको पत्रमा भने: “महाशय समक्ष यो कुरा जाहेर होस् कि म विटनवर्गमा कुनै पनि अधिकारीहरू र मुख्यमन्‍‍त्रीहरूको भन्दा अझै उच्‍च सुरक्षामा गइरहेछु । महाशयको सहयोग बिन्ती गर्ने मैले विचार गरिनँ र म हजूरको सुरक्षा चाहना पनि गर्दिनँ, बरु म आफै पो महाशयलाई सुरक्षा गर्ने थिएँ । यदि महाशयले मलाई सुरक्षा दिन सक्‍नुहुन्थ्यो अथवा गर्नुहुन्थ्यो भनी मैले जानेको भए म विटनवर्गमा पटक्‍कै जाँदिनथें । यो कार्य अगाडि लैजाने कुनै पनि तरवार छैन । मानिसको सहयोग वा सहमतिविना नै परमेश्‍‍वर एकलैले सबै कुरा गर्नुपर्नेछ । जसको सबभन्दा महान् विश्‍‍वास छ त्यसैले पूर्ण सुरक्षा दिन सक्छ ।” —D’Aubigné, b. 9, ch. 8.MBAJ 196.3

    विटनवर्गको यात्रामा लेखिएको दोस्रो पत्रमा लुथरले थपे: “म महाशयको क्रोध र सारा संसारको रिस सहन तयार छु । के विटनवर्गका मानिसहरू मेरा भेड़ा होइनन् र ? के परमेश्‍‍वरले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनु भएको छैन र ? यदि आवश्‍‍यक परे तिनीहरूको खातिर मैले मृत्यु पनि सहनुपर्दैन र ? त्यति मात्र नभएर, जर्मनीमा एउटा डरलाग्दो विद्रोहद्वारा परमेश्‍‍वरले हाम्रो राज्यलाई सजाय दिनुहुन्छ कि भन्‍ने मलाई डर लागेको छ ।” —D’Aubigné, b. 9, ch. 7.MBAJ 196.4

    अति नै सावधानी र नम्रतासाथ साथै निर्णय र दृढतासाथ तिनी आफ्‍नो कार्यमा प्रवेश गरे । तिनले भने, “जुन कुरा अत्याचारद्वारा स्थापना भएको थियो त्यो वचनद्वारा पराजय र विनाश हुनैपर्छ । अन्धविश्‍‍वास र अविश्‍‍वास विरुद्ध म शक्ति प्रयोग गर्दिनँ । ... कसैलाई जबरजस्ती गर्नु हुँदैन । स्‍वतन्‍‍त्रता नै विश्‍‍वासको सार हो ।” —D’Aubigné, b. 9, ch. 8.MBAJ 197.1

    लुथर फर्केर आएको खबर चाँडै नै विटनवर्गभरि फैलियो र तिनले प्रचार गर्नुपर्ने थिए । सबै दिशाबाट मानिसहरू थुप्रिए र मण्डली भरिएर बस्‍ने ठाउँ पनि भएन । पुल्पिटमा उक्‍लेर तिनले महा-बुद्धि र नम्रतासाथ शिक्षा दिए, अर्ती दिए र हप्काए । मास बहिष्कार गर्ने कुरामा हिंसापूर्ण बन्‍ने कति जनाको व्यवहारलाई लक्षित गरेर तिनले भने: “मास एक खराब चीज हो । परमेश्‍‍वर त्यसको विरोधमा हुनुहुन्छ; र त्यसलाई रद्द गर्नैपर्छ; म इच्छा गर्छु कि सारा संसारभरि नै त्यसको सट्टामा सुसमाचारको प्रभुभोज होस् । तर कोही पनि त्यसबाट जबरजस्ती ननिस्कोस् । हामीले यो कुरा परमेश्‍‍वरको हातमा छोड्‍नुपर्छ । उहाँको वचनले काम गर्नुपर्छ र हामीचाहिँ होइन । त्यसो किन त ? तपाईंले प्रश्‍न गर्नुहुनेछ । किनकि कुमालेको हातमा माटो भएझैँ मानिसहरूका हृदयहरू मेरो हातमा छैन । हाम्रो बोल्‍ने अधिकार छ: हामीसँग व्यवहार गर्ने अधिकार छैन । हामी प्रचार गरौं; बाँकी परमेश्‍‍वरको हो । यदि मैले बल प्रयोग गरें भने मलाई के लाभ हुन्छ र ? दुखी आकृति, औपचारिकता, नक्‍कल, मानवीय विधि-विधानहरू र पाखण्डीपन मात्र पाइन्छ । ... तर नता हृदयको इमान्दारिता, न विश्‍‍वास नता प्रेम नै हुन्छ । जहाँ यी तीन कुराहरूको खाँचो हुन्छ सबै कुराको खाँचो हुन्छ, यस्तो परिणामका खातिर म नस्पतिको सिन्को पनि दिनेथिएनँ । ... तपाईं, म र सम्पूर्ण एकत्रित बलले भन्दा पनि उहाँको वचनद्वारा मात्र परमेश्‍‍वरले धेरै काम गर्नुहुन्छ । परमेश्‍‍वरले हृदय समात्‍नुहुन्छ; जब हृदयचाहिँ हात पारिएको हुन्छ तब सबै कुरामा विजय हुन्छ ।MBAJ 197.2

    “म प्रचार गर्छु, छलफल गर्छु र लेख्‍छु; तर म कसैलाई पनि बाध्य गर्दिनँ, किनकि विश्‍‍वासचाहिँ स्‍वेच्छिक कार्य हो । हेर्नुहोस् मैले के गरेको छु । म पोप, पाप क्षमा-पत्र र पोपतन्‍‍त्रका मानिसहरूको विरुद्ध उठें, तर कुनै हिंसा र खैलाबैलाविना नै उठें । मैले परमेश्‍‍वरको वचन नै अगाडि राखें; मैले प्रचार गरें र लेखें, मैले त्यति नै गरें । म सुतिरहेको बेलामा ... मैले प्रचार गरेको वचनले पोपतन्‍‍त्रलाई नष्‍ट पाऱ्यो, यस्तो त कुनै अधिकारी वा सम्राटले यति धेरै गरेको छैन । तापनि मैले केही गरिनँ; यी सब वचनले नै गऱ्यो । यदि मैले सेना प्रयोग गरेको भए शायद सम्पूर्ण जर्मनी नै रक्तपातमा डुब्‍ने थियो । तर त्यसको परिणाम के हुन्थ्यो त ? शरीर र आत्मामा विनाश र उजाड़ मात्र हुन्थ्यो । त्यसकारण म चूप लागी बसें र संसारभरि वचनलाई मात्र परिक्रमा गर्न दिएँ ।” —D’Aubigné, b. 9, ch. 8.MBAJ 198.1

    पूरा हप्‍तासम्म दिन प्रतिदिन लुथरले उत्सुक भीडलाई प्रचार गरिरहे । परमेश्‍‍वरको वचनले कट्टरपन्थी उत्तेजनाको मोहनी तोड़े । बहकिएका मानिसहरूलाई सुसमाचारको शक्तिले सत्यको मार्गमा फर्कायो ।MBAJ 198.2

    लुथरले कट्टरपन्थीहरूसँग सामना गर्ने इच्छा गरेका थिएनन् जसको कार्यले यति धेरै दुष्‍टता उत्पादन गरेको थियो । तिनलाई थाहा थियो कि तिनीहरू अनुचित विचार र अनुशासनरहितको अनुराग भएकाहरू छन्, स्‍वर्गबाट विशेष प्रकाश प्राप्‍त गरेको दाबी गरिएतापनि तिनीहरूले हल्का विरोध वा अति दयालु हप्की वा सल्‍लाह सहनै सक्दैनथे । तिनीहरू आफैले उच्‍च अधिकारप्रति अहंकार गर्दै तिनीहरूले प्रत्येक जनालाई तिनीहरूका दाबीहरू प्रश्‍नविना नै स्‍वीकार गराउन माग राखे । तर जब तिनीहरूले तिनीसँग वार्तालाप गर्ने माग राखे, तब तिनले तिनीहरूसँग भेट्‍ने सहमति गरे; र यसरी तिनले तिनीहरूको पाखण्डीपना सफलतापूर्वक प्रदर्शन गरे कि पाखण्डीहरू तुरुन्तै विटनवर्गबाट गए ।MBAJ 198.3

    केही समयसम्म कट्टरपन्थ रोकियो; तर केही वर्षपछि अझै ठूलो हिंस्रक र अझै डरलाग्दा परिणामहरूका साथ देखियो । यो कार्यका अगुवाहरूको विषयमा लुथरले भने: “पवित्र लेखहरूचाहिँ तिनीहरूका लागि एक मृतक लेख हुन् र तिनीहरू सबै ‘आत्मा ! आत्मा !’ भनेर कराउन थाले । तर तिनीहरूको अत्माले कहाँ लैजान्छ म निश्‍चय छु कि म त्यहाँ जाँदिनँ । परमेश्‍‍वरले उहाँको कृपाद्वारा सन्तहरू मात्र भएको मण्डलीबाट मलाई बचाऊन् । म नम्र, कमजोरी र रोगीहरूसँग बस्‍न चाहन्छु, जसले तिनीहरूका पापहरू जान्दछन् र अनुभव गर्दछन् र जसले उहाँको सान्त्‍वना र सहायता प्राप्‍त गर्न आन्तरिक हृदयबाट परमेश्‍‍वरमा निरन्तररूपमा सुस्केरा हाल्छन् र पुकारा गर्छन् ।” —D’Aubigné, b. 10, ch. 10.MBAJ 199.1

    सबभन्दा क्रियाशील कट्टरपन्थी थोमस मन्‍जरचाहिँ यथेष्‍ट क्षमता भएको मानिस थियो, जसलाई सही तरिकाले निर्देशन दिइएको भए तिनी असल कार्यमा सक्षम हुनेथिए; तर तिनले सत्य धर्मको प्रथम सिद्धान्त पनि सिकेका थिएनन् । “संसारलाई सुधार्ने इच्छा तिनमा थियो र सम्पूर्ण उत्तेजकहरूले झैँ सुधारचाहिँ तिनी आफैबाट सुरु हुनुपर्छ भन्‍ने कुरा तिनले बिर्से ।” —D’Aubigné, b. 9, ch. 8. तिनले पद प्राप्‍त गर्ने र प्रभाव फैल्याउने अभिलाषा गरे र लुथरभन्दा दोस्रो बन्‍न पनि अनिच्छुक थिए । तिनले घोषणा गरे कि सुधारकहरूले पोपको सट्टामा धर्मशास्‍‍त्रको अधिकारलाई राखेर फरक प्रकारको पोपतन्‍‍त्र मात्र स्थापना गरिएका थिए । तिनले दाबी गरे कि तिनी आफैचाहिँ सत्य सुधारको परिचय दिन ईश्‍‍वरीयरूपमा आदेश पाएका थिए । मन्‍जरले भने, “जसले यो आत्मा प्राप्‍त गर्दछ त्यसले जीवनमा धर्मशास्‍‍त्र कहिल्यै पनि नदेखेता पनि सत्य विश्‍‍वास प्राप्‍त गरेको हुन्छ ।” —D’Aubigné, b. 10, ch. 10.MBAJ 199.2

    कट्टरपन्थी शिक्षकहरूलले प्रत्येक विचार र आवेशलाई परमेश्‍‍वरको आवाज भनी विचारहरूले आफैलाई चलाउने अनुमति दिए; परिणाम स्‍वरूप तिनीहरू ठूलो सीमान्ततिर पूगे । कतिपयले त झन यसो भन्दै कराउँदै तिनीहरूका बाइबलहरू नै जलाए, “लिखित अक्षरले त मार्छ, तर पवित्र आत्माले जीवन दिनुहुन्छ ।” मन्‍जरको शिक्षाले अचम्मलाग्दो कुरा चाह गर्ने मानिसहरूलाई प्रभावित पाऱ्यो, वास्तवमा मानवीय सोचहरू र विचारहरू परमेश्‍‍वरको वचनभन्दा उच्‍च पारेर तिनीहरूको घमण्डलाई सन्तुष्‍टि पारे । तिनका सिद्धान्तहरू हजारौँले ग्रहण गरे । तिनले सार्वजनिक सेवामा सम्पूर्ण व्यवस्थालाई इन्कार गरे र अधिकारीहरूको कुरा मान्‍नुचाहिँ परमेश्‍‍वर र बिलाएल दुवैलाई सेवा गर्नु हो भनी तिनले घोषणा गरे ।MBAJ 199.3

    मानिसहरूका दिमागहरूले नै पोपतन्‍‍त्रको जुवा फ्‍याँक्‍न सुरु गरिसकेका थिए र तिनीहरू सरकारी अधिकारको प्रतिबन्धताप्रति पनि अधीर भइरहेका थिए । ईश्‍‍वरीय अनुमति दाबी गरेको मन्‍जरका क्रान्तिकारी शिक्षाहरूले सम्पूर्ण नियन्‍‍त्रण तोड्‍न लगाए र तिनीहरूका मतभेद्‍हरू र आवेगहरूले त्यहाँ शासन गरे । त्यसपछि विद्रोह र लड़ाइँको अति नै डरलाग्दा दृश्‍‍यहरू भए र जर्नमीको देश रगतमा डुब्यो ।MBAJ 200.1

    धेरै समय अघि लुथरले एयरफोर्टमा अनुभव गरेको प्राणको संताप अब फेरि तिनीमाथि दुई गुणा शक्तिका साथ आइपऱ्यो किनकि कट्टरपन्थी परिणामहरू सुधार-कार्यमाथि दोष लगाइएको तिनले देखे । यो विद्रोहचाहिँ लुथरको सिद्धान्तहरूको उचित फल थियो भन्‍ने पोपतन्‍‍त्रका अधिकारीहरूले घोषणा गरेको भनाइलाई धेरै जना विश्‍‍वास गर्न तयार थिए । यो दोषमा कुनै पनि जग नभएतापनि यसले गर्दा सुधारकहरूलाई ठूलो चिन्ता पाऱ्यो । सबभन्दा नीच कट्टरपन्थीको स्थानमा परेर यसरी सत्यताको कार्य निन्दित हुनुचाहिँ तिनको लागि असहनीय भएजस्तो लाग्यो । अर्कोतिर फेरि ती क्रान्तिका अगुवाहरूले लुथरलाई घृणा गरे किनकि तिनले तिनीहरूका सिद्धान्तहरू विरोध मात्र गरेनन् तर तिनीहरूका ईश्‍‍वरीय प्रेरणा पाएको भन्‍ने दाबीहरू इन्कार पनि गरेका थिए, र तिनीहरूलाई सरकारी अधिकार विरुद्ध विद्रोहीहरू भनी घोषणा गरेका थिए । त्यसको प्रतिशोधमा तिनीहरूले तिनलाई दुष्‍ट पाखण्डी भनी उच्‍चारण गरे । तिनी आफैले अधिकारीहरू र मानिसहरू दुवैसँग दुश्‍‍मनी भएको जस्तै लाग्थ्यो ।MBAJ 200.2

    सुधार-कार्यको चाँडै विनाश हेर्ने आशा गरिरहेका रोमीहरू खुशी भए; जुन झूट तिनले सुधार गर्न भरमग्दूर प्रयत्‍न गरेका थिए त्यसैका लागि पनि तिनीहरूले लुथरलाई नै आरोप लगाए । कट्टरपन्थका समूहले तिनीहरूलाई अति अन्यायपूर्ण व्यवहार गरियो भनी झूटो दाबी गरेर बहुसङ्ख्यक मानिसहरूको सहानुभूतिहरू प्राप्‍त गर्न सफल भए, र प्रायजसो जो झूटको पक्षमा उभिन्छन् तिनीहरूलाई शहिदको रूपमा मान्यता दिइयो । यसरी ज-जसले सुधार-कार्यको विरोधमा सम्पूर्ण सामर्थ्य प्रयोग गरिरहेका थिए तिनीहरूलाई नै क्रूरता र अत्याचारको पीड़ित स्‍वरूप सहानुभूति देखाए र प्रशंसा गरे । त्योचाहिँ शैतानको कार्य थियो, विद्रोहको त्यही आत्माले प्रोत्साहन गरेको थियो जुन प्रथम पटक स्‍वर्गमा प्रकट भएको थियो ।MBAJ 200.3

    शैतानले मानिसहरूलाई बहकाउन र धार्मिकतालाई पाप र पापलाई धार्मिकताको उपनाम दिन निरन्तर प्रयास गरिरहेको छ । त्यसको कार्य कति सफल भएको छ ! कति पटक निन्दा र घृणा परमेश्‍‍वरका विश्‍‍वासयोग्य दासहरूमाथि आउँछन् किनकि तिनीहरू सत्यताको पक्षमा निडरतासाथ उभिन्छन् ! जुन मानिसहरू शैतानका कामदारहरू हुन् तिनीहरूलाई चाहिँ तारिफ र झूटो प्रशसा गरिन्छ र तिनीहरूलाई शहिदको मान्यता पनि दिइन्छ, जबकि जसलाई आदर गर्नुपर्ने थियो र परमेश्‍‍वरप्रति भएको भक्तिका खातिर साहस दिनुपर्ने थियो तिनीहरूचाहिँ आशंका र अविश्‍‍वाससाथ एक्‍लै छोडिन्छन् ।MBAJ 201.1

    नक्‍कली पवित्रता र झूटो पवित्रकरणले अझै भ्रामिक कार्य गरि नै रहेको छ । लुथरका दिनहरूमा झैँ अहिले पनि त्यसले परमेश्‍‍वरको व्यवस्थाप्रति आज्ञाकारितामा समर्पण हुनुभन्दा पनि बरु दिमागहरू धर्मशास्‍‍त्रबाट अलग पार्दै र मानिसहरूलाई तिनीहरूको आफ्‍नै सोच-विचारअनुसार हिँड़न लगाउँदै विभिन्‍न आकार-प्रकारमा त्यस्तै आत्मा प्रदर्शन गर्दछ । शुद्धता र सत्यतामाथि घृणा गर्नका लागि त्यहीँ नै शैतानको सबभन्दा सफलतापूर्ण युक्तिहरूमध्ये एक हो ।MBAJ 201.2

    चारै दिशाबाट भएका आक्रमणमा लुथरले निडरताका साथ सुसमाचारको प्रतिरक्षा गरे । परमेश्‍‍वरको वचन आफैले प्रत्येक संघर्षमा शक्तिशाली हतियारको रूपमा प्रमाणित गरे । त्यही वचन लिएर तिनले पोपको अत्याचारी अधिकार र पण्डितहरूका विवेकपूर्ण दर्शनशास्‍‍त्र विरुद्ध लड़ाइँ गरे, सुधार-कार्यसँग मित्र बन्‍न खोज्‍ने कट्टरपन्थीको विरुद्धमा पनि तिनी चट्टानझैँ अटल भई खडा भए ।MBAJ 201.3

    पवित्र धर्मशास्‍‍त्रलाई हटाउँदै र धार्मिक सत्यता र ज्ञानका स्रोत स्‍वरूप मानवीय बुद्धिलाई उच्‍च पार्दै प्रत्येक विरोधी तत्‍वहरू आफै आए । तर्कवादले बुद्धिलाई मूर्ति बनाउँछ र यसलाई नै धर्मको मापदण्ड बनाउँदछ । रोमन क्‍याथोलिक धर्मले त्यसको शासक पोपचाहिँ प्रेरितहरूबाट आएको अटुट वंशमा एक प्रेरणाबाट आएको हो र यो सधैँभरि अपरिवर्तनीय छ भनी दाबी गर्दछ, यसले गर्दा प्रत्येक असंयमताका प्रकारहरू र भ्रष्‍टताहरू प्रेरितको आदेशको पवित्रतामा लुकाउन विशेष मौका दिइएको छ । मन्‍जर र तिनका साथीहरूले दाबी गरेको प्रेरणाचाहिँ अनिश्‍चित परिकल्पनाभन्दा उच्‍च तहबाट आएको थिएन र त्यसको प्रभाव मानवीय र ईश्‍‍वरी जस्ता सम्पूर्ण अधिकारको विरोधी थियो । सत्य इसाई धर्मले परमेश्‍‍वरको वचनलाई प्रेरणायुक्त सत्यताको महान् भण्डार र सम्पूर्ण प्रेरणाको जाँच हो भनी स्‍वीकार गर्दछ ।MBAJ 201.4

    तिनी वार्टवर्गबाट फर्केपछि लुथरले तिनका नयाँ नियमको अनुवाद सन्पन्‍न गरे र त्यसपछि चाँडै नै जर्मनीका मानिसहरूलाई तिनीहरूका आफ्‍नै भाषामा सुसमाचार दिइयो । सत्यता मन पराउने जति सबैले यो अनुवादको कार्य अति नै आनन्दसाथ स्‍वीकार गरे; तर जसले मानविक परम्पराहरू र मानिसहरूका आज्ञाहरू छाने तिनीहरूले निन्दापूर्ण तरिकाले इन्कार गरे ।MBAJ 202.1

    साधारण मानिसहरूले अब परमेश्‍‍वरको वचनका विषयबस्तुहरू तिनीहरूसँग छलफल गर्न सक्‍ने भए र तिनीहरूमा अज्ञानता हुने भयो भन्‍ने विचारले पूजाहारीहरू सचेत भए । तिनीहरूको सांसारिक सोच-विचारका हतियारहरू आत्माको तरवार विरुद्ध शक्तिहीन भए । रोमले धर्मशास्‍‍त्र वितरण नगर्न त्यसको सम्पूर्ण अधिकारलाई आह्वान गऱ्यो; तर आदेशहरू, सरापहरू र यातनाहरू त्यतिकै व्यर्थ भए । त्यसले जति बाइबललाई दोष लगायो र निषेध गऱ्यो त्यसमा वास्तवमा के सिकाएको रहेछ भनी मानिसहरूको उत्सुकता अझै त्यतिकै बढ़यो । पढ्‍न सक्‍नेहरू जति सबै जना परमेश्‍‍वरको वचन आफैले अध्ययन गर्न उत्सुक भए । तिनीहरूले त्यो बोकेर हिँड्‍थे र पढ्‍थे र पुनः पढ्‍थे, तिनीहरूले धेरै जसो भाग याद नगरेसम्म तिनीहरू सन्तुष्‍ट हुनै सक्दैनथे । नयाँ नियम उत्सुकतासाथ ग्रहण गरेको देखेर लुथरले तुरुन्तै पुरानो नियम अनुवाद गर्न थाले र पूरा हुने बित्तिकै भाग-भाग गरेर प्रकाशन गरे ।MBAJ 202.2

    शहर र गाउँमा उस्तै गरी लुथरका लेखहरू स्‍वागत गरियो । “जुन कुरा लुथर र तिनका साथीहरूले सृजना गरे त्यही कुरा अरूले फैल्याए । भिक्षुहरूले गुम्बाका कर्तव्यहरूको व्यवस्थाहीनताप्रति चित्त नबुझेर अल्छिपनाको जीवनलाई क्रियाशील प्रयत्‍नमा परिवर्तन गर्ने इच्छा गरे, तर परमश्‍‍वरको वचन घोषण गर्न जान्दैनथे, त्यसकारण तिनीहरूले गाउँ र घरहरूमा जाँदै प्रान्तहरूभरि यात्रा गरे, त्यहाँ तिनीहरूले लुथर र तिनका साथीहरूका पुस्तकहरू बिक्री गरे । चाँडै नै जर्मनीमा यी साहसी पुस्तकका व्यापार गर्नेहरू थुप्रिए ।” —D’Aubigné, b. 9, ch. 11.MBAJ 202.3

    यी लेखहरू धनी र गरिब, शिक्षित र अशिक्षतले उत्सुकतासाथ चाख लिएर पढे । गाउँको स्कुलका शिक्षकहरूले राती आगोको छेऊमा जम्मा भएका सानो समूहलाई ठूलो स्‍वरले पाठ गरिदिन्थे । प्रत्येक प्रयासमा कुनै न कुनै सत्यताप्रति विश्‍‍वस्त हुन्थे र खुशीसाथ स्‍वीकार गर्थे र यसरी स्‍वीकार गरेको वचन तिनीहरूले पनि असल समाचार मानेर अरूलाई बताउँदथे ।MBAJ 202.4

    प्रेरणायुक्त शब्दहरू प्रमाणित भयो: “तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ ।” भजनसंग्रह ११९:१३० । धर्मशास्‍‍त्र अध्ययनले मानिसहरूका दिमागहरू र हृदयहरूमा शक्तिशाली परिवर्तन ल्याउने काम गरिरहेको थियो । पोपतान्‍‍त्रीय शासनले त्यसका जनताहरूलाई फलामे जुवा बोकाएको थियो जसले गर्दा तिनीहरूलाई अज्ञानता र विनाशमा जकड़िराखेको थियो । परम्परागत विधिको अन्धविश्‍‍वासी उत्सव होशियारीसाथ कायम राखे; तर तिनीहरूको सबै सेवामा हृदय र विवेक त्यति समावेश भएको थिएन । लुथरको प्रचारले परमेश्‍‍वरको वचनको स्पष्‍ट सत्यताहरू र वचन नै बाहिर ल्याएर साधारण मानिसहरूका हातमा उपलब्ध गराइदिएर तिनीहरूको निष्क्रिय शक्तिहरू जगायो, आत्मिकी स्‍वभावलाई शुद्धीकरण गर्ने र उच्‍च पार्ने मात्र होइन, तर विचारशक्तिमा नयाँ बल र जोश प्रदान गऱ्यो ।MBAJ 202.5

    सम्पूर्ण दर्जाका मानिसहरू सुधार-कार्यका सिद्धान्तहरूको प्रतिरक्षा गर्दै तिनीहरूका हातहरूमा बाइबल देखिनुपर्ने थियो । रोमन क्‍याथोलिकहरूले धर्मशास्‍‍त्रको अध्ययन पूजाहारीहरू र भिक्षुहरूलाई सुम्पेका थिए अब तिनीहरूले नयाँ शिक्षाको खण्डन गर्नु भनी अनुरोध गरे । तर धर्मशास्‍‍त्र र परमेश्‍‍वरको शक्तिप्रति अजान भएको कारणले पूजाहारीहरू र सन्यासीहरू आफूले अशिक्षित र झूटो भनी घृणा गरेका मानिसहरूद्वारा पूर्णरूपले पराजित भए । एक जना क्‍याथोलिक लेखकले भने, “दुःखलाग्दो कुरा हो कि तिनका चेलाहरूलाई पवित्र धर्मशास्‍‍त्रमा बाहेक अन्य कुनै पनि लेखमा विश्‍‍वास नगर्नू भनी लुथरले मनाएका थिए ।” —D’Aubigné, b. 9, ch. 11. अल्प शिक्षार्थीहरूले अपनाएका सत्यता सुन्‍न भीड जम्मा हुन्थे र तिनीहरूले शिक्षित र भाषणकलामा पोख्त धर्मशास्‍‍त्रीहरूसँग पनि तर्क गरे । परमेश्‍‍वरको वचनको साधारण शिक्षाहरूद्वारा तिनीहरूका विवादहरू सामना गर्दा ती महान् मानिसहरूको लाजलाग्दो अज्ञानता स्पष्‍ट भयो । पूजाहारीहरू र शिक्षित डाक्टरहरूले भन्दा कामदारहरू, सिपाहीहरू, स्‍‍त्रीहरू र बच्‍चाहरूले पनि बाइबलका शिक्षाहरू राम्ररी जानेका थिए ।MBAJ 203.1

    सुसमाचारका चेलाहरू र पोपतन्‍‍त्रको अन्धविश्‍‍वास समर्थकहरूको बीच भिन्‍नता साधारण मानिसहरू र पण्डितका दर्जाहरूमा उस्तै प्रकट भएको थियो । “जसले भाषाहरूको अध्ययन र साहित्यको विकासलाई बेवास्ता गरे ती उदार चित्तका युवाहरू पुरोहित शासनका ती पुराना वीरहरूको विरोध गरे, तिनीहरू अध्ययन, धर्मशास्‍‍त्र अनुसन्धान र पूर्वकालका ग्रन्थहरूका तिनीहरू आफैले राम्ररी जानकारी लिन समर्पित भए । क्रियाशील दिमाग, उच्‍च प्राण र साहसी हृदय धारण गरेर यी जवान मानिसहरूले चाँडै नै यस्तो ज्ञान हासिल गरे कि लामो समयसम्म कसैले तिनीहरूसँग प्रतिष्पर्धा गर्न सक्दैनथे । ... त्यसैगरी जब सुधार-कार्यका यी युवा प्रतिरक्षकहरूले रोमका डाक्टरहरूलाई कुनै पनि सभामा भेट्‍थे तब तिनीहरूले तिनीहरूलाई यति सजिलो र विश्‍‍वाससाथ आक्रमण गर्थे कि यी अन्‍जान मानिसहरू हिचकिच्याउथे, लज्‍जित हुन्थे र सबैको नजरमा घृणित हुन्थे ।” —D’Aubigné, b. 9 ch. 11.MBAJ 203.2

    जब रोमी प्रचारकले तिनीहरूका सदस्यहरू घट्‍दै गएका देखे तब तिनीहरूले न्यायाध्यक्षसँग सहयोग मागे र तिनीहरूका सदस्यहरूलाई फर्काएर ल्याउन तिनीहरूको शक्तिमा रहेको प्रत्येक युक्ति प्रयोग गरे । तर नयाँ शिक्षामा मानिसहरूले तिनीहरूको आत्माका आवश्‍‍यकताहरू पूरा भएको भेटाए र जसले तिनीहरूलाई मूल्यहीन अन्धविश्‍‍वासका विधि-विधान र मानवीय परम्पराहरूका भूसहरू खुवाएका थिए तिनीहरूबाट तिनीहरू निस्केर गए ।MBAJ 204.1

    जब सत्यताका शिक्षकहरू विरुद्ध सतावट सुरु भयो तब तिनीहरूले ख्रीष्‍टका वचनहरूमा ध्यान दिए: “जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग ।” मत्ती १०:२३ । ज्योति सर्वत्र प्रवेश गऱ्यो । भाग्‍नेहरूका निम्ति कुनै न कुनै अथितिसत्कार गर्ने ढोका खोलिन्थ्यो र त्यहाँ बसेर तिनीहरूले ख्रीष्‍ट प्रचार गर्दथे, कहिलेकाही मण्डलीमा, वा यदि त्यो मौका इन्कार गरिएको भए व्यक्तिगत घरहरू वा खुला आकाशमा प्रचार गर्थे । जहाँ तिनीहरूले स्रोता प्राप्‍त गर्दथे त्यहीँ तिनीहरूको समर्पित मन्दिर हुन्थ्यो । यति शक्ति र भरोसासाथ घोषणा भएको सत्यता अप्रतिरोध्य शक्तिसाथ फैलियो ।MBAJ 204.2

    व्यर्थमा धार्मिक र सरकारी अधिकारहरूलाई झूट नष्‍ट पार्न लगाएका थिए । व्यर्थमा तिनीहरूले कैद, यातना, आगो र तरवार प्रयोग गरे । हजारौँ विश्‍‍वासीहरूले तिनीहरूको विश्‍‍वास आफ्‍नो रगतले मोहर लगाएतापनि काम भई नै रह्यो । सतावटले सत्यतालाई फैल्याउने काम मात्र गऱ्यो, जुन कट्टरपन्थ शैतानले त्यससँग जोड़ने प्रयास गरेको थियो त्यसैद्वारा शैतानको काम र परमेश्‍‍वरको कामको बीचमा भएको भिन्‍नतालाई अझै स्पष्‍ट बनायो ।MBAJ 204.3