Go to full page →

६. विश्‍‍वास र ग्रहण SB 53

जब तपाईंको विवेक पवित्र आत्माद्वारा जीवित हुन पुग्दछ, तब तपाईंको पापको दुष्‍टताको केही झलक, यसको शक्ति, यसको अपराध, तथा यसले ल्याउने दुःख कष्‍टहरू देख्‍नुहुनेछ र तपाईंले यसलाई घृणाको दृष्‍टिकासाथ हेर्नुुहुनेछ । पापले नै तपाईंलाई परमेश्‍‍वरदेखि अलग पारेको छ तथा तपाईं पापको शक्तिको दासत्‍वमा पर्नुभएको छ भन्‍ने कुरालाई तपाईंले महसूस गर्नुहुनेछ । जति बढ्‍तारूपमा तपाईं यसबाट भाग्‍ने प्रयास गर्नुहुन्छ त्यति नै बढ्‍तारूपमा तपाईंले आफ्‍नो असहायपनको बारेमा बुझ्‍नुहुनेछ । तपाईंका उद्देश्‍‍यहरू अपवित्र छन् भने हृदयचाहिँ अशुद्ध छ । तपाईंको जीवन स्‍वार्थीपन र पापद्वारा भरिपूर्ण छ भन्‍ने कुरालाई तपाईंले देख्‍नुहुनेछ । तपाईंले क्षमादान पाउने, शुद्ध बन्‍ने, तथा स्‍वतन्‍‍त्र बन्‍ने अभिलाषा राख्‍नुहुनेछ, परमेश्‍‍वरमा मेल पाउन तथा उहाँको अनुरूपता प्राप्‍त गर्नका निम्ति तपाईंले के गर्न सक्‍नुहुन्छ ? SB 53.1

तपाईंलाई शान्ति, स्‍वर्गको क्षमादान र आत्माभित्र शान्ति तथा प्रेमको आवश्‍‍यकता पर्दछ । पैसाद्वारा यसलाई खरिद गर्न सकिँदैन, ज्ञानद्वारा यो उपलब्ध हुँदैन, बुद्धिद्वारा यो प्राप्‍त हुँदैन; तपाईंले स्‍वयं आफ्‍नै प्रयासद्वारा यी कुराहरू कदापि प्राप्‍त गर्न सक्‍नुहुनेछैन । तर यी कुराहरू परमेश्‍‍वरले तपाईंलाई “विनापैसा र विनादाम” एक उपहारको रूपमा दिनुहुन्छ । यशैया ५५:१ । यदि तपाईंले आफ्‍नो हात पसारेर यसलाई समात्‍नु मात्र भयो भने यो तपाईंकै हुनेछ । परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन् । गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन् ।” यशैया १:१८ । “म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु ।” इजकिएल ३६:२३ । SB 53.2

तपाईंले आफ्‍ना पापहरू स्‍वीकार गर्नुभएको छ र हृदयदेखि नै ती सबैलाई हटाउनुभएको छ । तपाईंले स्‍वयं आफैंलाई परमेश्‍‍वरको हातमा सुम्पने संकल्प गर्नुभएको छ । अब उहाँको सामु जानुहोस् र यो कुरा माग्‍नुहोस् ताकि उहाँले तपाईंका पापहरू पखाल्‍नुहुनेछ र तपाईंलाई एउटा नयाँ हृदय दिनुहुनेछ । तसर्थ उहाँले यो काम गर्नुहुनेछ भनी विश्‍‍वास गर्नुहोस् किनकि उहाँले यही प्रतिज्ञा गर्नुभएको छ । जब येशू यस पृथ्वीमा हुनुहन्थ्यो तब उहाँले यही पाठ सिकाउनुभएको थियो कि परमेश्‍‍वरले जुन उपहारको प्रतिज्ञा गर्नुहुन्छ सो हामीले पाउँदैछौं र यो हाम्रै हो भनी हामीले विश्‍‍वास गर्नुपर्छ । जब मानिसहरूले येशूको शक्तिमाथि विश्‍‍वास प्रकट गरे तब उहाँले तिनीहरूलाई आफ्‍ना रोगहरूबाट निको पार्नुभयो, यसरी जुन कुरा तिनीहरू देख्‍न सक्दैन थिए त्यसपछि पूर्ण विश्‍‍वासद्वारा तिनीहरूलाई प्रेरित गर्नुभयो र तिनीहरूलाई पापक्षमा गर्न सक्‍ने उहाँको शक्तिमाथि विश्‍‍वास दिलाउनुभयो । पक्षघातीलाई निको पार्ने क्रममा उहाँले यो कुरा प्रष्‍ट साथ यसरी बताउनुभयो: “‘मानिसका पुत्रलाई पृथ्वीमा पापहरू क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान !’ त्यसपछि उहाँले त्यस पक्षघात भएको बिरामीलाई भन्‍नुभयो: “उठ, तिम्रो ओछ्यान बोक र आफ्‍नो घर जाऊ ।” मत्ती ९:६ (KJV)। ख्रीष्‍टको आश्‍चर्यकर्महरूका बारेमा उल्‍लेख गर्दै यूहन्‍नाले यसरी बताए, “तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्‍‍वरका पुत्र, ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍‍वास गर, र विश्‍‍वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्‍त होस् ।” यूहन्‍ना २०:३१ । SB 54.1

येशूले रोगीहरूलाई कसरी निको पार्नुभयो भन्‍ने बाइबलका सरल विवरणबाट हामीले पापहरूबाट क्षमादान प्राप्‍त गर्नका निम्ति उहाँमाथि कसरी विश्‍‍वास गर्ने भन्‍ने विषयमा केही कुरा सिक्‍न सक्दछौं । हामी वेथस्दाको जल-कुण्डको पक्षघातीको कथातर्फ आफ्‍नो ध्यान केन्द्रित गरौं । त्यो पीडित व्यक्ति असहाय थियो; जसले आफ्‍ना खुट्टाहरू अठतीस वर्षसम्म चलाएको थिएन । येशूले उसलाई यसरी आज्ञा दिनुभयो, “उठ, आफ्‍नो ओछ्यान उठाऊ, र हिँड ।” त्यस रोगीले यसो पनि भन्‍न सक्थ्यो, “हे प्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने म तपाईंको आज्ञा पालन गर्नेछु ।” उसले ख्रीष्‍टका वचनमाथि विश्‍‍वास गऱ्यो, निको भइसकेको छु भनी विश्‍‍वास गऱ्यो र एकै साथ प्रयास पनि गऱ्यो, हिँड्‍ने अठोट गऱ्यो र वास्तवमा ऊ हिँड्‌यो पनि । उसले ख्रीष्‍टको वचनमुताबिक व्यवहार गऱ्यो र परमेश्‍‍वरले शक्ति प्रदान गर्नुभयो । त्यो मानिस निको भयो । SB 55.1

यसरी नै तपाईं पनि एक पापी हुनुहुन्छ । तपाईंले आफ्‍ना अतितका पापहरूका निम्ति प्रायश्‍चित्त गर्न सक्‍नुहुन्‍न; तपाईंले आफ्‍नो हृदय परिवर्तन गर्न तथा स्‍वयं आफैंलाई पवित्र तुल्याउन सक्‍नुहुन्‍न । तर परमेश्‍‍वरले ख्रीष्‍टमार्फत यी सबै काम तपाईंको निम्ति गर्ने प्रतिज्ञा गर्नुभएको छ । तपाईंले त्यस प्रतिज्ञामाथि विश्‍‍वास गर्नुहोस् । आफ्‍ना पापहरू स्‍वीकार गरी स्‍वयं आफैंलाई परमेश्‍‍वरमा सुम्पनुहोस् । तपाईंले उहाँको सेवा गर्ने संकल्प गर्नुहोस् । जसै तपाईंले सो गर्नुहुनेछ परमेश्‍‍वरले तपाईंप्रति उहाँको प्रतिज्ञा पूरा गर्नुहुनेछ । यदि तपाईं त्यस प्रतिज्ञामाथि विश्‍‍वास राख्‍नुहुन्छ भने तपाईंको पाप क्षमा भयो र तपाईं शुद्ध हुनुभयो भनी विश्‍‍वास गर्नुहोस्, जसरी पक्षघाती आफू निको भएको छु भनी विश्‍‍वास गरेपश्‍चात् ख्रीष्‍टले उसलाई हिँड्‍ने शक्ति दिनुभयो त्यसरी नै परमेश्‍‍वर यो तथ्य बताउनुहुन्छ कि तपाईं निको हुनुभएको छ । यदि तपाईंले विश्‍‍वास गर्नुभयो भने यस्तै हुनेछ । SB 55.2

आफू निको भएको अनुभव नहुञ्‍जेलसम्मै नपर्खनुहोस्, तर यसो भन्‍नुहोस्, “म विश्‍‍वास गर्दछु कि यस्तै हुनेछ; र मैले महसूस गरेअनुसार होइन तर परमेश्‍‍वरले प्रतिज्ञा गर्नुभएको हुनाले म विश्‍‍वास गर्दछु ।” SB 56.1

येशू भन्‍नुहुन्छ, “तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्‍ने विश्‍‍वास राख, र त्यो तिमीहरूको हुनेछ ।” मर्कूस ११:२४ । यस प्रतिज्ञामा एउटा शर्त छ—त्यो हो हामीले उहाँको इच्छामुताबिक प्रार्थना गर्नुपर्छ । तर हामीलाई पापदेखि शुद्ध तुल्याउनु, हामीलाई उहाँको सन्तान तुल्याउनु, तथा हामीलाई एक पवित्र जीवन बिताउने सक्षम तुल्याउनु परमेश्‍‍वरकै इच्छा हो । यसकारण हामी यी आशिष्‌हरू माग्‍न सक्छौं, र हामीले पाउनेछौं भनी विश्‍‍वास गर्न सक्छौं, र हामीले ती सबै प्राप्‍त गर्न सफल हुन पुगेकोमा परमेश्‍‍वरलाई धन्यवाद दिन सक्छौं । येशूको सामु गई पापदेखि शुद्ध बन्‍न पाउनु र व्यवस्थाको अघि लाज तथा पश्‍चात्ताप विना खडा हुन सक्‍नु हाम्रो निम्ति एक विषेशाधिकारको कुरा हो । “यसकारण अब ख्रीष्‍ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्‍दछन् ।” रोमी ८:१ (KJV)। SB 56.2

अब उप्रान्त तपाईं स्‍वयं आफ्‍नै हुनुहुन्‍न; तपाईं मूल्य तिरिएर किनिनुभएको छ । “सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्‌ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्‍टको अनमोल रगतद्वारा दाम तिरी छुट्‌ट्याइएका छौ ।” १ पत्रुस १:१८, १९ । परमेश्‍‍वरमाथि विश्‍‍वास राख्‍ने यस सरल कार्यद्वारा पवित्र आत्माले तपाईंको हृदयमा एक नयाँ जीवन प्रदान गर्नुभएको छ । परमेश्‍‍वरको परिवारमा तपाईं एक नयाँ जन्मिएको शिशुझैँ हुनुहुन्छ, र उहाँले तपाईंलाई त्यसरी नै प्रेम गर्नुहुन्छ जसरी उहाँले आफ्‍नो पुत्रलाई प्रेम गर्नुहुन्छ । SB 57.1

अब तपाईं स्‍वयं आफैंलाई येशूमा समर्पण गर्नु भएपश्‍चात् पछि नहट्‍नुहोस्, उहाँदेखि टाढा नजानुहोस्, तर दिन प्रतिदिन “म ख्रीष्‍टको हुँ; मैले स्‍वयं आफैंलाई उहाँमा समर्पित गरेको छु” भनी बताउनुहोस् र उहाँको आत्मा तपाईंलाई दिनको निम्ति र तपाईंलाई उहाँको अनुग्रहको वशमा राख्‍नका निम्ति उहाँसँग माग्‍नुहोस् । स्‍वयं आफैंलाई परमेश्‍‍वरमा सुम्पने तथा उहाँलाई विश्‍‍वास गर्ने क्रमद्वारा मात्र तपाईं उहाँको सन्तान कहलाइनुहुनेछ र तपाईंले उहाँमै आफ्‍नो जीवन बिताउनुपर्नेछ । प्रेरित पावल भन्दछन् “जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गऱ्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ ।” कलस्सी २:६ । SB 57.2

कतिले यो विचार लिने गर्दछन् कि तिनीहरूले उहाँको आशिष् दाबी गर्नु अघि परीक्षणकालको सामना गर्नुपर्नेछ र तिनीहरूको जीवनमा सुधार आएको छ भनी परमप्रभुको सामु प्रमाण दिनुपर्नेछ । तर तिनीहरूले अहिले पनि परमेश्‍‍वरको आशिष् दाबी गर्न सक्छन् । तिनीहरूका दुर्बलतामा सहायता पाउनका निम्ति तिनीहरूसित ख्रीष्‍टका अनुग्रह तथा उहाँको आत्मा हुनु आवश्‍‍यक छ, अन्यथा तिनीहरूले दुष्‍टताको सामना गर्न सक्‍नेछैनन् । हामी जुन पापी, असहाय तथा आश्रयी अवस्थामा छौं त्यही अवस्थामा नै उहाँकहाँ आएको येशू चाहनुहुन्छ । हामी आफ्‍ना सारा दुर्बलता, मूर्खता, तथा पापकासाथ उहाँमा आई पश्‍चात्तापका साथ उहाँको गोडामा पर्न सक्दछौं । हामीलाई उहाँको प्रेमको बाहुलीले अँगाल्‍नु र हाम्रा चोटहरूमा पट्टि बाँधिदिनु तथा हामीलाई सारा अशुद्धतादेखि शुद्ध पार्नु उहाँको महिमा हो । SB 58.1

हजारौं मानिसहरू यही कुरामा चुक्‍न पुगेका छन्; तिनीहरूले यस कुरामाथि विश्‍‍वास गर्दैनन् कि येशूले तिनीहरूलाई व्यक्तिगत रूपमा क्षमा गर्नुहुन्छ । तिनीहरूले परमेश्‍‍वरलाई उहाँको वचनअनुसार विश्‍‍वास गर्दैनन् । जो-जति सबै उहाँका शर्तहरूप्रति राजी बन्दछन् तिनीहरूका निम्ति यो कुरा थाहा पाउनु एक विशेषाधिकारको कुरा हो कि हरेक पापका निम्ति सित्तैमा क्षमादान दिइएको छ । परमेश्‍‍वरका प्रतिज्ञाहरू तपाईंका निम्ति होइनन् भन्‍ने शंका तपाईंको मनबाट हटाउनुहोस् । ती प्रतिज्ञा वास्तवमा प्रत्येक पश्‍चात्तापी अपराधीहरूका निम्ति हुन् । ख्रीष्‍टले दिनुहुने शक्ति र अनुग्रह स्‍वर्गदूतहरूमार्फत प्रत्येक विश्‍‍वासीकहाँ पुग्‍ने गर्दछ । त्यहाँ कुनैपनि मानिसहरू यति बढी पापी छैनन् कि जसको कारण तिनीहरूले येशूमा शक्ति, शुद्धता र धार्मिकता पाउन सक्‍नेछैनन्, जो तिनीहरूकै खातिर मर्नुभयो । उहाँ पापद्वारा दाग लागेको तथा दुषित बन्‍न पुगेका तिनीहरूका वस्‍‍त्रहरूलाई फुकाली तिनीहरूलाई धार्मिकताको सेतो वस्‍‍त्र पहिराउने प्रतीक्षामा हुनुहुन्छ; उहाँ तिनीहरूलाई मर्नका निम्ति होइन तर बाँच्‍नका निम्ति आज्ञा दिनुहुन्छ । सीमित मानिसहरूले एक अर्काप्रति व्यवहार गरेझैँ परमेश्‍‍वरले हामीसँग व्यवहार गर्नुहुन्‍न । उहाँका विचारहरू करुणा, प्रेम र अति कोमल दयाद्वारा भरिपूर्ण छन् । उहाँ भन्‍नुहुन्छ, “दुष्‍टले आफ्‍नो बाटो र अधर्मीले आफ्‍नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्‍‍वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्‍‍वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ ।” “मैले तेरा अपराधहरू बादलझैँ र तेरा पापहरू बिहानको कुहिरोझैँ हटाइदिएँ ।” यशैया ५५:७; ४४:२२ । SB 58.2

“कसैको मृत्युमा म प्रसन्‍न हुन्‍न, परमप्रभु परमेश्‍‍वर भन्‍नुहुन्छ । पश्‍चात्ताप गर, र बाँच ।” इजकिएल १८:३२ । शैतान परमेश्‍‍वरका यिनै धन्यका निश्‍चयताहरूलाई खोस्‍न तयार छ । ऊ आत्मादेखि आशाका हरेक मन्द ज्योति तथा प्रकाशको हरेक किरणलाई लुट्‍न चाहन्छ; तर तपाईंले उसलाई यसो गर्ने अनुमति प्रदान गर्नुहुँदैन । शैतानको कुराप्रति ध्यान नदिनुहोस्, तर यसो भन्‍नुहोस्, येशू मर्नुभयो ताकि म बाँच्‍न सक्‍नेछु । उहाँ मलाई प्रेम गर्नुहुन्छ, र म नाश भएको देख्‍न चाहनुहुन्‍न । मसँग एक करुणामय स्‍वर्गीय पिता हुनुहुन्छ; र यद्यपि मैले उहाँको प्रेमको दुरूपयोग गरेको छु, यद्यपि उहाँले मलाई दिनुभएका आशिष्‌हरू फजूल खेर गएका छन्, “म उठेर आफ्‍ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्‍वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । अब उप्रान्त तपाईंको छोरो भनिने योग्यको छैनँ । मलाई तपाईंको ज्यालादारी चाकरहरूमध्ये एउटासरह तुल्याउनुहोस्’ ।” यस दृष्‍टान्तले तपाईंलाई यो बताउँछ कि भौतारिएको छोरोलाई कसरी ग्रहण गरिनेछ; “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे ।” लूका १५:१८-२० । SB 59.1

तर यो दृष्‍टान्त जति नै संवेदनशील तथा हृदयविदारक भए तापनि स्‍वर्गीय पिताको असीमित करुणालाई व्यक्त गर्नमा धेरै अपुग छ । परमप्रभु आफ्‍नो भविष्यवक्तामार्फत यसरी घोषणा गर्नुहुन्छ, “सधैंभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु । मैले तँलाई दया गरी खिँचेको छु ।” यर्मिया ३१:३ । जब पापी आफ्‍नो पिताको घरदेखि टाढा परदेशमा आफ्‍नो धन सम्पत्ति फजूल खर्च गरिरहेको हुन्छ, तब पिताको हृदय ऊ प्रति व्याकुल बन्‍न पुग्दछ; र त्यसरी नै हृदयमा उत्पन्‍न भएको परमेश्‍‍वरतर्फ फर्कने हरेक अभिलाषा उहाँको आत्माको कोमल बिन्ती सिवाय अरू केही होइन जसले भौँतारिएको व्यक्तिलाई आफ्‍नो स्‍वर्गीय पिताको प्रेमिलो हृदयतर्फ खिँच्‍नका निम्ति याचना तथा अनुनयविनय गरिरहनुभएको छ । SB 60.1

बाइबलका अमूल्य प्रतिज्ञाहरू आफ्‍नो सामु हुँदा-हुँदै के तपाईं अझै पनि शंकालाई स्थान दिन सक्‍नुहुन्छ त ? जब कुनै एक दुःखी पापी परमेश्‍‍वरकहाँ फर्कन तथा आफ्‍ना पापहरू त्याग्‍नका निम्ति तीव्र इच्छा प्रकट गर्दछ, र जब ऊ पश्‍चात्तापका साथ परमप्रभुको चरणमा आउँदछ तब परमप्रभुले त्यसलाई उहाँको चरणमा आउनुदेखि कडा रूपमा रोक्‍नुहुनेछ भन्‍ने कुरामाथि के तपाईं विश्‍‍वास गर्नुहुन्छ त ? यसप्रकारका विचारधाराहरूदेखि टाढा रहनुहोस् । हाम्रो स्‍वर्गीय पिताको बारेमा यसप्रकारको धारणा मनमा राख्‍नुले बाहेक अन्य कुनै पनि कुराले तपाईंको आत्मालाई बढ्‍ता चोट पुऱ्याउन सक्‍नेछैन । उहाँले पापलाई घृणा गर्नुहुन्छ, तर पापीलाई प्रेम गर्नुहुन्छ, उहाँले स्‍वयं आफैंलाई ख्रीष्‍टको देहको रूपमा सुम्पनुभयो ताकि तिनीहरू उहाँमार्फत बचाइनेछन् र महिमाको राज्यमा अनन्तको आशिष् प्राप्‍त गर्नेछन् । हामीप्रति उहाँको प्रेम व्यक्त गर्नका निम्ति उहाँले जुन भाषा रोज्‍नुभयो सो भन्दा बढ्‍ता मजुबत वा कोमल कुन भाषाको प्रयोग गर्न सकिन्थ्यो होला त ? उहाँ घोषणा गर्नुहुन्छ, “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्छे र ? आफूले जन्माएको बालकलाई के त्यसले टिठ्याउँदिन र ? त्यसले बिर्सन पनि सक्छे, तर म त तँलाई बिर्सन सक्दिनँ ।” यशैया ४९:१५ । SB 61.1

तपाईं यदि शंका गर्दै तथा काम्दैहुनुहुन्छ भने स्‍वर्गतर्फ हेर्नुहोस्; किनकि हाम्रै निम्ति मध्यस्थ-बिन्ती गर्नका निम्ति ख्रीष्‍ट जीवित हुनुहुन्छ । परमेश्‍‍वरलाई उहाँलाई उहाँका प्रिय पुत्ररूपी उपहारको निम्ति धन्यवाद चढाउनुहोस् र तपाईंको निम्ति उहाँको मृत्यु व्यर्थ सावित नहोस् भनी प्रार्थना गर्नुहोस् । पवित्र आत्माले तपाईंलाई आज निमन्‍‍त्रणा दिइरहनुभएको छ । तपाईं आफ्‍नो सारा हृदयका साथ येशूमा आउनुहोस् र तपाईंले उहाँको आशिष्‌को दाबी गर्न सक्‍नुहुनेछ । SB 62.1

जब तपाईं उहाँका प्रतिज्ञाहरूका बारेमा पढ्‍नुहुन्छ, यो कुरा याद गर्नुहोस् कि ती अवर्णनीय प्रेम र करुणाका अभिव्यक्ति हुन् । असीमित प्रेमको महान् हृदय पापीतर्फ एक असीम करुणाका साथ आकर्षित बन्‍न पुग्दछ । “ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौं ।” एफिसी १:७ । परमेश्‍‍वर तपाईंको सहायक हुनुहुन्छ भनी विश्‍‍वास गर्नुहोस् । उहाँ मानिसमा आफ्‍नो नैतिक स्‍वरूप पुनःस्थापन गर्न चाहनुहुन्छ । जस्तै तपाईं पाप स्‍वीकार तथा पश्‍चात्तापका साथ उहाँको नजिक आउनुहुन्छ तब उहाँ दया तथा क्षमाका साथ तपाईंको नजिक आउनुहुनेछ । SB 62.2