Go to full page →

७. चेलापनको जाँच SB 63

“यसैकारण कोही ख्रीष्‍टमा छ भने ऊ एउटा नयाँ सृष्‍टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन् ।” २ कोरिन्थी ५:१७ (KJV)। SB 63.1

कुनै व्यक्ति आफ्‍नो परिवर्तनको निश्‍चित समय वा स्थानको बारेमा बताउन वा परिवर्तन प्रक्रियाको सबै घटनाक्रमलाई पछ्‌याउन असक्षम हुन सक्‍ला; तर यसले ऊ अपरिवर्तित छ भन्‍ने कुराको प्रमाण दिँदैन । ख्रीष्‍टले निकोदेमसलाई भन्‍नुभयो, “बतास जता चाहन्छ उतै बहन्छ । तिमी बतासको अवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ । आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ ।” यूहन्‍ना ३:८ । जसरी हावा अदृश्‍‍य भएतापनि यसको प्रभावहरूलाई स्पष्‍टरूपमा देख्‍न तथा अनुभव गर्न सकिन्छ मानव हृदयमा पनि परमेश्‍‍वरको आत्माले यसरी नै काम गरिरहेको हुन्छ । जुन पूनर्जन्मको शक्तिलाई कुनै मानव आँखाले देख्‍न सक्दैन, यसले आत्मा भित्र एक नयाँ जीवन उत्पन्‍न गर्दछ, यसले परमेश्‍‍वरको प्रतिरूपमा एक नयाँ अस्तित्‍वको सृष्‍टि गर्दछ । पवित्र आत्माको काम शान्त र अप्रत्यक्ष भएतापनि प्रभावहरू चाहिँ प्रत्यक्ष हुन्छन् । यदि हृदय परमेश्‍‍वरको आत्माद्वारा नयाँ भएको छ भने जीवनले यस तथ्यताको गवाही दिनेछ । जबकि हामीले आफ्‍नो हृदय परिवर्तन गर्न वा स्‍वयं आफैंलाई परमेश्‍‍वरको अनुरूपतामा ल्याउन केही पनि गर्न सक्दैनौं; जबकि हामीले स्‍वयं आफैंमाथि तथा हाम्रा असल कामहरूमाथि भरोसा राख्‍नुहुँदैन, तर परमेश्‍‍वरको अनुग्रहले हाम्रो हृदयमा बास गरेको छ वा छैन भन्‍ने कुरा हाम्रो जीवनले प्रकट गर्दछ । चरित्र, बानी तथा अनुसरणहरूमा एक परिवर्तन देखिनेछ । तिनीहरू कस्ता थिए र अहिले कस्ता छन् भन्‍ने विषयको अन्तर स्पष्‍ट तथा निश्‍चित हुनेछ । अनित्य असल कार्यहरू वा दुष्कर्महरूद्वारा चरित्र प्रकट हुँदैन, तर नियमित बोली र व्यवहारका प्रवृत्तिद्वारा चरित्र प्रकट हुने गर्दछ । SB 63.2

यो कुरा सत्य हो कि ख्रीष्‍टको नयाँ गर्ने शक्तिविना पनि व्यवहारमा एक बाहिरी शुद्धता देख्‍न सकिनेछ । प्रतिष्‍ठाप्रतिको मोह तथा अन्य व्यक्तिहरूबाट मान सम्मान प्राप्‍त गर्ने अभिलाषाले एक अति अनुशासित जीवन उत्पन्‍न गर्न सक्‍ला । आत्म-सम्मानको भावनाले हामीलाई दुष्‍ट देखा पर्नुदेखि बचाउन सक्‍ला । एक स्‍वार्थी व्यक्तिले पनि उद्धार कामहरू गर्न सक्छ । हामी कसको पक्षमा छौं भन्‍ने कुरा हामीले कुन उपायद्वारा फैसला गर्ने त ? SB 64.1

हाम्रो हृदय को सित छ ? हाम्रा विचारहरू कसको बारेमा छन् ? कसको बारेमा हामी बातचित गर्न रुचाउँछौं ? हाम्रो सवार्धिक न्यानो मोह तथा शक्तिहरू कसका निम्ति समर्पित छन् ? यदि हामी ख्रीष्‍टका जन हौं भने हाम्रा विचारहरू उहाँमै केन्द्रित रहनेछन् । हामीसित जे-जति छन् र हामी जे-जस्ता छौं ती उहाँकै निम्ति अर्पण गरिएका हुनेछन् । हामीले उहाँको प्रतिरूप धारण गर्ने, उहाँको आत्मारूपी सास फेर्ने, उहाँको इच्छालाई पालन गर्ने तथा सबै कुराहरूमा उहाँलाई प्रसन्‍न तुल्याउने अभिलाषा राख्‍नेछौं । SB 64.2

जो-जति ख्रीष्‍ट येशूमा नयाँ सृष्‍टि बन्‍न पुग्छन् तिनीहरूले आत्माको निम्‍न फलहरू फलाउनेछन्: “प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍‍वस्तता, नम्रता, संयम ।” गलाती ५:२२, २३ । यस उप्रान्त तिनीहरूले साबिककै अभिलाषामुताबिक व्यबहार गर्ने छैनन्, तर परमेश्‍‍वरको पुत्र ख्रीष्‍टमाथि विश्‍‍वास गर्दै उहाँका पाइलाहरूलाई पछ्‌याउनेछन्, उहाँको चरित्रलाई प्रतिबिम्ब गर्नेछन्, र जसरी उहाँ शुद्ध हुनुहुन्छ त्यसरी नै स्‍वयं आफैंलाई शुद्ध तुल्याउनेछन् । जुन कुरालाई कुनै समय तिनीहरू घृणा गर्ने गर्दथे त्यसलाई तिनीहरू अहिले मन पराउँदछन् र जुन कुरालाई मनपराउँदथे त्यसलाई अहिले घृणा गर्दछन् । घमण्डी तथा हठी व्यक्ति विनम्र र कोमल बन्‍न पुग्छ । तुच्छ तथा अति घमण्डी व्यक्ति गम्भीर र शिष्‍ट बन्‍न पुग्छ । मतवाला व्यक्ति सज्‍जन बन्‍न पुग्छ भने दुर्व्यसनी चाहिँ निर्मल । संसारको व्यर्थका रीतिथिति तथा प्रथाहरूलाई त्यागिन्छ । इसाईहरूले “बाहिरी सिङ्गारपटार”-को खोजी गर्ने छैनन् तर “भलो र शान्त आत्माको अविनाशी र रत्‍नले” सजिएको भित्री हृदयको खोजी गर्नेछन् । १ पत्रुस ३:३, ४ । SB 64.3

जबसम्म साँचो पश्‍चात्तापले जीवनमा परिवर्तन ल्याउँदैन तबसम्म जीवनमा यसको प्रमाण भेट्टिनेछैन । यदि कुनै व्यक्तिले धरौटी फिर्ता दिएको छ, आफूले लुटेका कुराहरू फिर्ता दिएको छ, आफ्‍ना पापहरूलाई स्‍वीकार गरेको छ, परमेश्‍‍वर तथा आफ्‍ना सङ्गीजनहरूलाई प्रेम गरेको छ भने पापीले यो महसूस गर्नेछ कि उसले मृत्युदेखि जीवनमा प्रवेश पाएको छ । SB 65.1

जब हामी बरालिएका पापी जनहरूका हैसियतले ख्रीष्‍टमा आउँदछौं र क्षमाशील अनुग्रहको भागीदार हुन्छौं तब हृदयमा प्रेमको मूल फुट्‍नेछ । हरेक बोझ हलुका बन्‍न पुग्छ किनकि ख्रीष्‍टले दिनुहुने जुवा सजिलो छ । कर्तव्य एक आनन्द बन्‍न पुग्छ भने बलिदानचाहिँ एक प्रसन्‍नता बन्‍न पुग्छ । जुन पथ पहिला अन्धकारले ढाकिएको जस्तो देखिएको थियो सो अहिले धार्मिकताको घामको ज्योतिद्वारा उज्यालो बन्‍न पुगेको छ । SB 65.2

ख्रीष्‍टका चेलाहरूमा उहाँको चरित्रहरूको सौन्दर्य देखिनेछन् । परमेश्‍‍वरको इच्छालाई पालन गर्नु नै उहाँको निम्ति एक आनन्दको कुरो थियो । परमेश्‍‍वरप्रतिको प्रेम, उहाँको महिमाप्रतिको उत्साह नै हाम्रो मुक्तिदाताको नियन्‍‍त्रित गर्ने शक्ति थियो । प्रेमले उहाँका सारा कार्यकलापहरूलाई सुन्दर तथा उच्‍च तुल्याएको थियो । प्रेम परमेश्‍‍वरबाट आउँदछ । अपवित्र हृदयदेखि यो पैदा हुन सक्दैन । जुन हृदयमा येशूले शासन गर्नुहुन्छ त्यस हृदयमा मात्र प्रेम पाउन सकिन्छ । “हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो ।” १ यूहन्‍ना ४:१९ । ईश्‍‍वरीय अनुग्रहद्वारा परिवर्तन हृदयको निम्ति प्रेम नै कार्यको सिद्धान्त बन्‍न पुग्दछ । यसले चरित्रमा परिवर्तन ल्याउँदछ, आवेगलाई सम्हाल्दछ, जोशलाई नियन्‍‍त्रण गर्दछ, दुश्‍‍मनी भावनालाई दमन गर्दछ र प्रेमलाई उच्‍च तुल्याउँदछ । हृदयमा उत्पन्‍न भएको यस प्रेमले जीवनलाई रोचक तुल्याउँदछ तथा सर्वत्र शुद्ध प्रभाव विस्तार गर्दछ । SB 66.1

परमेश्‍‍वरको अनुग्रहमाथि भर्खरै भरोसा राख्‍न थालेका विश्‍‍वासी जनहरूले दुई भुलहरूप्रति सर्तक रहनु आवश्‍‍यक छ । पहिलो भुलचाहिँ स्‍वयं आफ्‍नै कामहरूलाई हेर्नु, स्‍वयं आफैंलाई परमेश्‍‍वरको अनुरूपतामा ल्याउनका निम्ति आफूले जे-जति गर्न सक्दछन् त्यसमाथि भरोसा राख्‍नु हो । जुन व्यक्ति स्‍वयं आफ्‍नै कामहरूद्वारा पवित्र बन्‍ने प्रयत्‍न गर्दछ, उसले एक असम्भव काम गर्ने प्रयास गरिरहेको हुन्छ । ख्रीष्‍टविना जे-जति सबै थोक मानिसले गर्न सक्दछ त्यो वास्तवमा स्‍वार्थीपन र पापद्वारा दुषित हुन्छ । विश्‍‍वासद्वारा ख्रीष्‍टको अनुग्रहले मात्र हामीलाई पवित्र तुल्याउन सक्छ । SB 66.2

यसको विपरीत तर पहिलो भुल सरहकै दोस्रो खतरनाक भुलचाहिँ ख्रीष्‍टले मानिसहरूलाई परमेश्‍‍वरको आज्ञापालन गर्नदेखि स्‍वतन्‍‍त्रता प्रदान गर्नुहुन्छ भन्‍ने विश्‍‍वास हो; कि केवल विश्‍‍वासद्वारा मात्र पनि हामी ख्रीष्‍टको अनुग्रहको भागीदार हुन सक्‍ने हुनाले उद्धारसँग हाम्रा कार्यहरूका कुनै सम्बन्ध छैन । SB 67.1

आज्ञा पालनको अर्थ केवल एक बाहिरी सहमती मात्र होइन, तर प्रेमपूर्वक गरिने सेवा भनी बुझिनु आवश्‍‍यक छ । परेमश्‍‍वरको व्यवस्था उहाँको स्‍वभावकै एक अभिव्यक्ति हो; यो महान् प्रेमको सिद्धान्तको एक मूर्तित्‍व हो, तसर्थ स्‍वर्ग र पृथ्वीमाथि उहाँको शासनको एक आधार हो । यदि हाम्रो हृदय परमेश्‍‍वरको स्‍वरूपमा नयाँ तुल्याइएको छ भने, यदि आत्माभित्र ईश्‍‍वरीय शक्ति रोपिएको छ भने, के हाम्रो जीवनमा परमेश्‍‍वरको व्यवस्था पालन हुनेछैन र ? जब हृदय भित्र प्रेमको सिद्धान्त रोपिएको हुन्छ, जब मानिस आफूलाई सृष्‍टि गर्नुहुनेको स्‍वरूपमा परिवर्तित हुन पुग्दछ, तब नयाँ करारको यो प्रतिज्ञा पूरा हुन आउँछ, “तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु ।” हिब्रू १०:१६ । यदि व्यवस्था हृदयमा लेखिएको छ भने के यसले जीवनलाई आकार दिने छैन त ? आज्ञाकारिता, सेवा र प्रेमपूर्ण भक्ति नै चेलापनको साँचो चिन्ह हो । त्यसैकारण धर्मशास्‍‍त्र बताउँछ, “परमेश्‍‍वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं ।” “जसले ‘म उहाँलाई चिन्छु’ भन्छ, तर उहाँका आज्ञाहरू उल्‍लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन ।” १ यूहन्‍ना ५:३; २:४ । मानिसलाई आज्ञाकारितादेखि स्‍वतन्‍‍त्र तुल्याउनुको सट्टा विश्‍‍वासले मात्र हामीलाई ख्रीष्‍टको अनुग्रहको भागीदार बनाउने गर्दछ, जसले हामीलाई आज्ञापालन गर्नका निम्ति सक्षम तुल्याउँदछ । SB 67.2

हामीले आफ्‍नो आज्ञाकारिताद्वारा मुक्ति कमाउन सक्दैनौं; किनकि मुक्ति त परमेश्‍‍वरले सित्तैमा दिनुभएको उपहार हो, जसलाई विश्‍‍वासद्वारा ग्रहण गरिनुपर्छ । तर आज्ञाकारिता विश्‍‍वासको फल हो । “पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्‍ने कुरा तिमीहरू जान्दछौ । र उहाँमा कुनै पाप छैन । उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।” १ यूहन्‍ना ३:५, ६ । यही एक साँचो जाँच हो । यदि हामी ख्रीष्‍टमा रह्‌यौं भने, यदि परमेश्‍‍वरको प्रेम हामीभित्र बास गरेको छ भने हाम्रा भावनाहरू, हाम्रा विचाहरू, हाम्रा उद्देश्‍‍यहरू तथा हाम्रा कार्यहरू उहाँको पवित्र व्यवस्थाको आदेशहरूमा व्यक्त भएको परमेश्‍‍वरको इच्छासँगै मेल खानेछन् । “साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्‍न नपाओस् । जो धर्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धार्मी हुनुहुन्छ ।” १ यूहन्‍ना ३:७ । परमेश्‍‍वरको पवित्र व्यवस्थाको स्तरमुताबिक धार्मिकतालाई परिभाषित गरिएको छ जुन सीनै पर्वतमा दिएका दश आज्ञाहरूमा व्यक्त गरिएको छ । SB 68.1

ख्रीष्‍टप्रतिको नाममात्रको विश्‍‍वास जसले मानिसलाई परमेश्‍‍वरमाथि आज्ञाकारिताको दायित्‍वदेखि छुटकारा दिलाउने विषयमा स्पष्‍ट पार्दछ, त्यो वास्तवमा विश्‍‍वास होइन, तर एक तर्फमात्र हो । “अनुग्रहबाट विश्‍‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ ।” तर “विश्‍‍वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्‍‍वास मृत हो ।” एफिसी २:८; याकूब २:१७ । यस संसारमा आउनु अघि नै येशूले स्‍वयं आफ्‍नै बारेमा यसो भन्‍नुभयो “हे मेरा परमेश्‍‍वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ ।” भजनसंग्रह ४०:८ । र स्‍वर्गतिर पुनः उँभो उठाई लगिनुभन्दा केही समय अघि उहाँले यो घोषणा गर्नुभयो, “मैले मेरा पिताका आज्ञाहरू पलन गरेको छु र उहाँको प्रेममा रहन्छु ।” यूहन्‍ना १५:१० । धर्मशास्‍‍त्र बताउँदछ, “यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं ।...उहाँमा रहन्छु भन्‍ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्‍नुपर्छ ।” १ यूहन्‍ना २:३-६ । “ख्रीष्‍टले पनि तिमीहरूका निम्ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‍नुपर्छ ।” १ पत्रुस २:२१ । SB 69.1

अनन्त जीवनको शर्त पहिलादेखि जुन रहँदै आएको थियो अहिले पनि सोही हो—हाम्रा प्रथम अभिभावकहरूका पतन हुनु अघि अदनको बगैंचामा यही शर्त लागू थियो—त्यो हो परमेश्‍‍वरको व्यवस्थाप्रति पूर्ण आज्ञाकारिता तथा पूर्ण धार्मिकता । यदि यस शर्तबाहेक अन्य कुनै कम शर्तमा अनन्त जीवन प्रदान गरिएको भए सम्पूर्ण जगतकै खुशी खतरामा पर्नेथियो । पापको मार्ग खुल्‍नेथियो र यसले ल्याउने सराप तथा कष्‍टहरू सदा छाइरहनेथिए । SB 69.2

आफ्‍नो पतन हुनु अघि आदमलाई परमेश्‍‍वरको व्यवस्था पालन गरेर धार्मिक चरित्र निर्माण गर्नु सम्भव थियो । तर उनी यसो गर्न असफल भए, र उनको पापकै कारणले गर्दा हाम्रा स्‍वभावहरू पनि पतित हुन पुगेका छन् र हामीले स्‍वयं आफैंलाई धार्मिक तुल्याउन सक्दैनौं । पापी तथा अधर्मी भएकै कारण हामीले पवित्र व्यवस्थालाई पूर्ण रूपमा पालन गर्न सक्‍नेछैनौं । परमेश्‍‍वरको पवित्र व्यवस्थाका दाबीहरूलाई पूरा गर्न सक्‍ने हामीमा कुनै त्यस्तो धार्मिकता छैन । तर ख्रीष्‍टले हाम्रो छुटकाराको निम्ति एउटा मार्ग तयार पार्नुभएको हो । यस संसारमा हामीले जे-जस्ता जाँच तथा परीक्षाहरूका सामना गर्नुपर्दछ उहाँले पनि ती सबै जाँच तथा परीक्षाहरूका बीचमा आफ्‍नो जीवन बिताउनुभयो । उहाँले एक पापरहित जीवन बिताउनुभयो । उहाँ हाम्रै निम्ति मर्नुभयो र अहिले उहाँ हाम्रा पापहरूलाई लिईकन हामीलाई उहाँको धार्मिकता दिने प्रस्ताव राख्‍नुहुन्छ । यदि तपाईंले स्‍वयं अफैंलाई ख्रीष्‍टमा समर्पित गर्दै उहाँलाई आफ्‍नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुहुन्छ भने तपाईंको जीवन विगतमा जति नै पापपूर्ण रहेको भए तापनि उहाँकै खातिर तपाईं धार्मिक कहलाइनुहुनेछ । तपाईंको चरित्रको स्थानमा ख्रीष्‍टको चरित्र खडा हुनेछ, र तपाईंलाई परमेश्‍‍वरले यसरी ग्रहण गर्नुहुनेछ कि मानौं तपाईंले कहिल्यै पनि पाप गर्नुभएकै छैन । SB 70.1

यसभन्दा ठूलो कुरा यो छ कि ख्रीष्‍टले हृदय परिवर्तन गर्नुहुन्छ । विश्‍‍वासद्वारा उहाँ तपाईंको हृदयमा बास गर्नुहुन्छ । तपाईंले ख्रीष्‍टसँगको यस सम्बन्धलाई विश्‍‍वासद्वारा तथा आफ्‍नो इच्छाशक्तिलाई निरन्तर उहाँमा समर्पित गर्दै कायम राख्‍नुपर्नेछ, र जबसम्म तपाईंले यसो गर्नुहुनेछ उहाँले तपाईंमा उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने तुल्याउनलाई तपाईंमा काम गर्नुहुनेछ । तसर्थ तपाईंले यसो भन्‍न सक्‍नुहुनेछ, “जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्‍‍वरका पुत्रमा विश्‍‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो ।” गलाती २:२० । येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “किनभने बोल्‍ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूद्वारा बोल्‍नुहुनेछ ।” मत्ती १०:२० । जब ख्रीष्‍टले तपाईंको जीवनमा काम गर्नुभएपश्‍चात् तपाईंमा पनि त्यही आत्मा प्रकट हुनेछ र धार्मिकता तथा आज्ञाकारिताका असल कार्यहरू गर्नुहुनेछ । SB 71.1

तसर्थ हामीमा कुनै त्यस्ता कुराहरू छैनन् जसको बारेमा हामी घमण्ड गर्न सक्‍नेछौं । हामीसँग आत्म-विभोर बन्‍नुपर्ने कुनै आधार नै छैन । हाम्रो आशाको एकमात्र आधार नै हामीलाई दिएको ख्रीष्‍टको धार्मिकता हो जुन उहाँको आत्माले हामीमा तथा हामीमार्फत काम गर्नुहुन्छ । SB 71.2

जब हामी विश्‍‍वासको बारेमा कुरा गर्दछौं तब त्यहाँ ध्यान दिइनुपर्ने एक भिन्‍नता छ, त्यहाँ एक यस्तो प्रकारको आस्था छ जुन विश्‍‍वासदेखि पूर्ण रूपले भिन्‍न छ । परमेश्‍‍वरको अस्तित्‍व, शक्ति तथा उहाँको वचनको सत्यता, यी सबै यस्ता वास्तविकताहरू हुन् जसलाई शैतान तथा त्यसका फौजले पनि मनैदेखि इन्कार गर्न सक्दैनन् । बाइबल बताउँदछ कि, “भूतात्माहरू पनि विश्‍‍वास गर्छन् र थरथर काम्छन्,” तर वास्तवमा यो साँचो विश्‍‍वास होइन । याकूब २:१९ । जहाँ परमेश्‍‍वरको वचनमाथि एक आस्था मात्र होइन तर उहाँमाथि इच्छाशक्ति नै समर्पित गरिएको हुन्छ, जहाँ हृदय उहाँकै नाउँमा सुम्पिएको हुन्छ, जहाँ स्‍नेहहरू उहाँमा नै केन्द्रित पारिएका हुन्छन्, त्यहाँ विश्‍‍वास हुन्छ—जुन विश्‍‍वास प्रेमको साहराले काम गर्दछ र जसले आत्मालाई शुद्ध तुल्याउँदछ; यही विश्‍‍वासद्वारा हृदय परमेश्‍‍वरको स्‍वरूपमा बदलिन्छ र जुन हृदय यसको अपरिवर्तित अवस्थामा परमेश्‍‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त वास्तवमा हुन नै सक्‍नेछ, अब चाहिँ यसको पवित्र आदर्शप्रति आनन्दित बन्‍न पुग्दछ र भजनसंग्रका लेखकसँगै यसो भन्दछ, “आहा ! तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु ! दिनभरि म तिनैमाथि मनन गर्दछु ।” भजनसंग्रह ११९:९७ । र व्यवस्थाको धार्मिकता हामीमा पूरा हुन आउँछन्, “जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्‍दछन् ।” रोमी ८:१ (KJV)। SB 71.3

त्यहाँ यस्ता मानिसहरू छन् जसलाई ख्रीष्‍टको क्षमा गर्ने प्रेमको बारेमा थाहा छ र जो साँच्‍चै नै परमेश्‍‍वरको सन्तान कहलाइने इच्छा प्रकट गर्दछन्, तर तिनीहरू यो चाल पाउँदछन् कि तिनीहरूका चरित्र अपूर्ण छ, तिनीहरूका जीवन दोषयुक्त छ र तिनीहरू आफ्‍नो हृदय पवित्र आत्माद्वारा पुनः नयाँ बन्‍न पुगेको छ कि छैन भनी शंका गर्न तयार रहन्छन् । यस्ता व्यक्तिहरूका निम्ति मेरो सल्‍लाह यही छ कि निराश बनी पछि नहट्‍नुहोस् । हामीले कैयौं पटक आफ्‍ना घटी-कमी तथा भुलहरूका कारण येशूको चरणमा शिर झुकाउँदै विलाप गर्नुपर्नेछ, तर हामी निरुत्साहित बन्‍नुचाहिँ हुँदैन । हामी शत्रुबाट पराजित भएतापनि हामी परमेश्‍‍वरद्वारा छोडिएका वा त्यागिएका छैनौं । उहाँले कदापि यसो गर्नुहुनेछैन । ख्रीष्‍ट परमेश्‍‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रो निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । यूहन्‍नाले यसो लेखेका थिए, “तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु । अनि कसैले पाप गऱ्यो भने पिताको साथमा हाम्रा एकजना वकिल हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्‍ट ।” १ यूहन्‍ना २:१ (KJV)। ख्रीष्‍टका यी वचनहरूलाई नभुल्‍नुहोस्, “पिता आफैले तिमीहरूहरूलाई पाया गर्नुहुन्छ ।” यूहन्‍ना १६:२७ । उहाँ तपाईंलाई उहाँमै पुनःस्थापन गर्न तथा स्‍वयं उहाँकै शुद्धता तथा पवित्रता तपाईंको जीवनमा चम्किएको देख्‍न चाहनुहुन्छ । यदि तपाईंले स्‍वयम् आफैलाई उहाँमा समर्पित मात्र गर्नुहुन्छ भने उहाँ जसले तपाईंहरूमा एउटा असल काम शुरु गर्नुभयो, उहाँले नै येशू ख्रीष्‍टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ । थप व्यग्रतासाथ प्रार्थना गर्नुहोस् तथा अझ पूर्णरूपले विश्‍‍वास गर्नुहोस् । जसै हामी स्‍वयं आफ्‍नै शक्तिमाथि अविश्‍‍वास गर्न थाल्दछौं, यस उप्रान्त हामीले आफ्‍नो उद्धारकर्ताको शरीरमाथि भरोसा राख्‍न थाल्‍नेछौं तथा उहाँको प्रशंसा गर्न थाल्‍नेछौं जो हाम्रा मुखमण्डलको स्‍वास्थ्य हुनुहुन्छ । SB 72.1

येशूमा तपाईं जति-जति नजिक आउनुहुनेछ, तब स्‍वयं आफ्‍नै दृष्‍टिमा अझ बढी दोषयुक्त देखा पर्नुहुनेछ; किनकि तपाईंको दृष्‍टि अझ बढी स्पष्‍ट बन्‍नेछन्, र उहाँको पूर्ण स्‍वभावको तुलनामा तपाईंका अपूर्णताहरू छर्लङ्गै देखिनेछन् । यही नै शैतानका छलहरूले आफ्‍ना शक्ति गुमाएका छन् तथा परमेश्‍‍वरको आत्माको सजीव पार्ने प्रभावले तपाईंलाई उत्तेजित तुल्याउनेछ भन्‍ने एक प्रमाण हो । SB 73.1

जुन व्यक्तिले स्‍वयं आफ्‍नै पापपूर्ण अवस्थाको बारेमा बुझ्‍न सक्दैन त्यस व्यक्तिको हृदयमा येशूप्रति प्रकट हुने गहिरो प्रेमले बास गर्न सक्दैन । जुन आत्मा ख्रीष्‍टको अनुग्रहद्वारा परिवर्तित भएको हुन्छ त्यसले उहाँको ईश्‍‍वरीय चरित्रका तारिफ गर्दछ; तर यदि हामीले स्‍वयं आफ्‍नै नैतिक कुरूपता देख्‍न सक्दैनौं भने हामीले ख्रीष्‍टको सौन्दर्य तथा विशिष्‍टताको दृष्य नै देखेका छैनौं भन्‍ने एक अचूक प्रमाण हो । SB 74.1

हामीले स्‍वयं आफैंमा जति नै कम आदर देख्‍नेछौं तब हामीले हाम्रा मुक्तिदाताको असीमित शुद्धता तथा सौन्दर्यमा त्यति नै बढी आदर देख्‍नेछौं । हाम्रो पापमय अवस्थाको दृष्‍टिले हामीलाई उहाँतर्फ डोऱ्याउनेछ जसले हामीलाई क्षमा गर्न सक्‍नुहुन्छ, र जब कुनै व्यक्ति आफ्‍नो असहायपनलाई बुझेर ख्रीष्‍टकहाँ पुग्दछ तब उहाँले स्‍वयं आफैंलाई शक्तिमा प्रकट गर्नुहुनेछ । हाम्रो खाँचोको भावनाले हामीलाई जति नै बढ्‍ता रूपमा उहाँतर्फ अग्रसित गर्दछ, तब हामीले उति नै बढ्‍तारूपमा उहाँको चरित्रको बारेमा उच्‍च दृश्‍‍यहरू देख्‍नेछौं र हामीले उहाँको स्‍वरूपलाई अझ पूर्णरूपमा प्रतिबिम्ब गर्नेछौं । SB 74.2