परमेश्वर नै ब्रह्माण्डको निम्ति जीवन, ज्योति, र आनन्दको मुहान हुनुहुन्छ । जसरी सूर्यबाट प्रकाशको किरण उत्पन्न हुन्छ, र जसरी एक जीवित पानीको मुहानबाट पानीको मूल फुटेर आउँछ त्यसरी नै परमेश्वरद्वारा सृष्टि गरिएका थोकहरूमा उहाँदेखि नै आशिष्को खोला बग्दछ । र जुन मानिसको हृदयमा परमेश्वरको जीवन रहेको हुन्छ, यो प्रेम र आशिष्का रूपमा अन्य मानिसहरूसम्म बहनेछ । SB 88.1
पतित मानवजातिलाई उठाउन र उद्धार गर्न नै हाम्रो मुक्तिदाताको आनन्दमय कार्य थियो । यसको निम्ति उहाँले आफ्नो जीवनलाई प्रिय ठान्नुभएन, तर अपमानलाई केही जस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो । यसरी नै स्वर्गदूतहरू पनि अरूहरूका खुशीका निम्ति काम गर्ने क्रममै सदा व्यस्त छन् । यही नै तिनीहरूको आनन्द हो । जो दुःखी छन् र हरेक तवरले चरित्र तथा श्रेणीमा न्यून छन् यस्ता व्यक्तिहरूलाई सेवा गर्नका निम्ति जुन स्वार्थी व्यक्तिले यसलाई अपमानजनक सेवाको रूपमा लिने गर्दछन्, यही कामलाई नै पापरहित स्वर्गदूतहरूले पूरा गर्नेछन् । ख्रीष्टको आत्म-बलिदान पूर्ण प्रेमको आत्मा नै एक यस्तो आत्मा हो जसद्वारा स्वर्ग व्याप्त छ र यसको परमानन्दकै सार हो । यही आत्मा ख्रीष्टका चेलाहरूमा पनि हुनेछ र यसलाई प्राप्त गर्नु नै तिनीहरूका कार्य हुनेछ । SB 88.2
जब हृदयमा ख्रीष्टको प्रेम स्थापित भएको हुन्छ, तब सुगन्धित बास्नालाई झैँ त्यसलाई पनि लुकाउन सकिनेछैन । जो-जतिसँग हामी सम्पर्कमा आउँदछौं ती सबैले यसको पवित्र प्रभावलाई महसूस गर्नेछन् । हृदयमा रहेको ख्रीष्टको आत्मा मरुभूमिको एक पानीको मूल जस्तै हो, जुन सबैको प्यास मेटाउनको निम्ति बहन्छ र जो-जति नाश हुन लागेका छन् तिनीहरूलाई जीवनको पानी पिउनको निम्ति उत्सुक तुल्याउँदछ । SB 89.1
जसरी येशूले मावनजातिको आशिष् तथा उत्थानको निम्ति काम गर्नुभयो त्यसरी नै हामीले पनि उहाँप्रति प्रेम प्रकट गर्दै सोही रीतले काम गर्ने इच्छा गर्नेछौं । यसले हामीमा हाम्रा स्वर्गीय पिताको निगरानीमा रहेका उहाँद्वारा सृष्टि गरिएका सबै प्राणीहरूप्रति प्रेम, कोमलता, तथा करुणाको भावना पैदा गर्दछ । SB 89.2
यस पृथ्वीमा मुक्तिदाताको जीवन एक सजिलो तथा स्वयं आफ्नै बारेमा चिन्तन गर्ने प्रकारको थिएन, तर उहाँले पतित मानवजातिको मुक्तिको निम्ति दृढ, उत्सुक तथा अथक प्रयासका साथ परिश्रम गर्नुभयो । डुँडदेखि कलवरीसम्मै उहाँले आत्म-त्यागको मार्ग अपनाउनुभयो, र उहाँले उत्साहपूर्ण कार्य, कष्टदायक यात्रा तथा थकानयुक्त फिक्री र परिश्रमदेखि छुटकारा पाउने चेष्टा गर्नुभएन । उहाँले भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो ।” मत्ती २०:२८ । यही नै उहाँको जीवनको एक महान् उद्देश्य थियो । यसबाहेक अन्य सबै कुराहरू उहाँको निम्ति दोस्रो दर्जाका तथा तुच्छ कुरा थिए । परमेश्वरको इच्छालाई पालन गर्नु तथा उहाँको काम पूरा गर्नु नै येशूको निम्ति सर्वथोक थियो । उहाँको परिश्रममा स्वयं तथा आत्म-अभिरुचिको कुनै स्थान थिएन । SB 89.3
तसर्थ, जो-जति ख्रीष्टको अनुग्रहको भागीदार हुन् तिनीहरू कुनै पनि तवरको बलिदान गर्न तयार हुनेछन्, ताकि जसका निम्ति उहाँ मर्नुभयो तिनीहरू पनि स्वर्गीय उपहारको हिस्सेदार बन्न पाउनेछन् । तिनीहरूले यस संसारलाई अन्य व्यक्तिहरूका लागि बस्न उचित स्थान तुल्याउनका निम्ति सक्दो योगदान गर्नेछन् । यही भावना नै वास्तविक रूपमा परिवर्तित भएको आत्माको निश्चित फल हो । कुनै व्यक्ति ख्रीष्टमा आउनसाथ उसको हृदयमा आफूले येशूमा कस्तो बहुमूल्य मितत्रा पाएको छ भनी अरूहरूलाई बताउने एक इच्छा पैदा हुनेछ; र उद्धार गर्ने तथा पवित्र तुल्याउने सत्यतालाई उसको हृदयभित्र बन्द राख्न सकिनेछैन । यदि हामी ख्रीष्टको धार्मिकताद्वारा पहिराइएका छौं र उहाँको सदा रहिरहने आत्माको आनन्दद्वारा भरिपूर्ण छौं भने हामीले आफ्नो मनको शान्तिलाई थामेर राख्न सक्नेछैनौं । यदि हामीले परमप्रभु भलो हुनुहुन्छ भनी चाखेका तथा देखेका छौं भने हामीसँग अरूलाई बताउनका निम्ति केही कुरा अवश्य हुनेछन् । जसरी फिलिपले मुक्तिदातालाई आफ्नो जीवनमा भेट्टाए पश्चात् अन्य मानिसहरूलाई उहाँको उपस्थितिमा ल्याए सोहीरूपले हामीले पनि अरूलाई ख्रीष्टको उपस्थितिमा ल्याउनेछौं । हामीले तिनीहरूका सामु ख्रीष्टमा रहेका आकर्षणहरूको बारेमा तथा आउनेवाला संसारका नदेखिएका वास्तविकताहरूका बारेमा बताउने प्रयत्न गर्नेछौं । जुन मार्गमा येशू हिँड्नुभयो हाम्रो मनमा पनि त्यही मार्ग पछ्याउने एक तीव्र इच्छा हुनेछ । हामीमा एक उत्सुक तिर्सना हुनेछ र यसरी हाम्रा आसपासका मानिसहरूले “संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा”-लाई देख्नेछन् । यूहन्ना १:२९ । SB 90.1
अन्य मानिसहरूलाई आशिष् प्रदान गर्ने हेतुले गरिएको परिश्रमले स्वयं आफैंमाथि प्रतिज्ञा स्वरूप आशिष् ल्याउँदछ । परमेश्वरले हामीलाई उद्धारको योजनामा हामीद्वारा निभाइनका निम्ति एक भूमिका दिनुको उद्देश्य पनि यही थियो । उहाँले मानिसलाई ईश्वरीय स्वभावको भागीदार बन्ने तथा सोही आशिष् आफ्ना छरछिमेकीहरूकहाँ फैलाउने विशेषाधिकार प्रदान गर्नुभएको छ । यही नै परमेश्वरले मानवजातिलाई प्रदान गर्न सक्नुहुने सर्वाेच्च सम्मान तथा सबैभन्दा महान् आनन्द हो । यसरी प्रेमले भरिपूर्ण परिश्रममा लागिपरेका मानिसहरू आफ्ना सृष्टिकर्ताको सर्वाधिक नजिक ल्याइनेछन् । SB 91.1
परमेश्वरले सुसमाचार फैलाउने तथा अन्य सारा प्रेमपूर्ण सेवाका कार्यहरू स्वर्गदूतहरूलाई जिम्मा दिन पनि सक्नुहुनेथियो । उहाँको उद्देश्य पूरा गर्नलाई उहाँले अन्य कुनै उपाय अपनाउन सक्नुहुनेथियो । तर आफ्ना असीमित प्रेमद्वारा उहाँले हामीलाई उहाँसँगै, ख्रीष्ट र स्वर्गदूतहरूसँग सह-कामदार बनाउने रोजाइ गर्नुभयो, ताकि हामीले यस निस्वार्थ सेवाबाट प्राप्त हुने आशिष्, आनन्द तथा आत्मिक उन्नति अरूलाई पनि बाँड्न सक्नेछौं । SB 91.2
ख्रीष्टका दुःखहरूमा सहभागी बनी हामी करुणामा उहाँसँगै एक बन्न पुग्दछौं । अरूको भलाइका निम्ति गरिने हरेक आत्म-बलिदानपूर्ण कार्यले प्रदान गर्ने व्यक्तिको हृदयमा परोपकारको भावनालाई मजबुत तुल्याउँदछ, र उसलाई संसारको उद्धारकर्तासँग अझ नजिकको सम्बन्धमा ल्याउँदछ, र यसरी “उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक ।” २ कोरिन्थी ८:९ । र यसरी हामी आफ्नो जीवनमा ईश्वरीय योजना पूरा गर्दछौं तब मात्र हाम्रो निम्ति जीवन आशिष्मय बन्न सक्नेछ । SB 91.3
ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति बनाउनुभएको रूपरेखामुताबिक तपाईंले पनि काम गर्दै जानुभयो र उहाँको निम्ति आत्माहरू जित्नुभयो भने तपाईंले अझ गहिरो अनुभव तथा ईश्वरीय कुराहरूप्रति अझ बढी ज्ञानहरू हासिल गर्ने खाँचोको महसूस गर्नुहुनेछ, र धार्मिकताको निम्ति भोका, प्यासा बन्नुहुनेछ । तपाईंले परमेश्वरसँग बिन्ती गर्नुहुनेछ, र तपाईंको विश्वास मजबुत बन्नेछ, र तपाईंको आत्माले मुक्तिको कुवादेखि अझ बढ्तारूपमा पानी पिउनेछ । विरोध तथा परीक्षाहरूका सामना गर्ने क्रमले तपाईंलाई बाइबल र प्रार्थनातर्फ डोऱ्याउनेछ । तपाईं ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानुहुनेछ र एक प्रचुर अनुभव हासिल गर्नुहुनेछ । SB 92.1
अरूका निम्ति गरिने निस्वार्थ परोपकारी श्रमले गम्भीरता, स्थिरता तथा चरित्रमा ख्रीष्टको जस्तै सुन्दरता ल्याउँदछ, र यसको मालिकलाई शान्ति र प्रसन्नता प्रदान गर्दछ । अभिलाषाहरू उच्च बन्न पुग्दछन् । सुस्तीपन वा स्वार्थीपनका निम्ति त्यहाँ कुनै स्थान हुनेछैन । ज-जसले यसरी इसाई अनुग्रहको प्रयोग गर्ने गर्दछन्, तिनीहरू बढ्दै जानेछन् र परमेश्वरको निम्ति काम गर्न मजबुत बन्नेछन् । तिनीहरूसँग प्रष्ट आत्मिक अनुभवहरू, एक स्थिर बढ्दो विश्वास तथा प्रार्थनामा एक बढ्दो शक्ति हुनेछन् । तिनीहरूका आत्मालाई परमेश्वरको आत्माले प्रभावित तुल्याएपछि ईश्वरीय स्पर्शको जवाफस्वरूप आत्मा परमेश्वरको आत्माको पवित्र सम्बन्धमा आउँदछ । यसरी जो-जति अरूका भलाइका खातिर निस्वार्थ रूपले परिश्रम गर्ने गर्दछन् तिनीहरूले निश्चितरूपमा स्वयं आफ्नै मुक्तिको निम्ति काम गरिरहेका हुन्छन् । SB 92.2
अनुग्रहमा बढ्ने एकमात्र उपाय भन्नु नै जुन कामका निम्ति ख्रीष्टले हामीलाई आदेश गर्नुभएको छ यसलाई निस्वार्थरूपले पूरा गर्नु हो, र ज-जसलाई हाम्रो मद्दतको खाँचो छ तिनीहरूलाई हाम्रो सामर्थ्यले भ्याएसम्म मद्दत गर्दै तथा आशिष् प्रदान गर्दै काममा लाग्नु होे । व्यायमद्वारा नै शक्ति आउँदछ; कार्यकलाप नै जीवनको एक शर्त हो । ज-जसले अनुग्रहद्वारा प्राप्त हुने आशिष्हरूलाई निष्क्रियरूपले ग्रहण गर्दै इसाई जीवन कायम राख्ने प्रयत्न गर्दैछन्, ख्रीष्टको निम्ति केही पनि गर्दैनन्, यस्ता व्यक्तिहरू काम नै नगरी खाँदै जीवन विताउने प्रयास गरिरहेका छन् । प्राकृतिक संसारमा झैँ आत्मिक संसारमा पनि यसले सदा पतन तथा विनाश निम्त्याउने गर्दछ । जुन व्यक्तिले आफ्नो हात गोडाहरूका व्यायम गर्नुमा अस्वीकार गर्दछ उसले छिट्टै तिनको प्रयोग गर्न सकिने सारा शक्ति नै गुमाउन सक्नेछ । यसरी नै जुन इसाईले परमेश्वरद्वारा प्राप्त शक्तिलाई प्रयोग गर्नेछैन, ऊ ख्रीष्टमा बढ्न असलफल बन्ने मात्र होइन, तर आफूले पाएको शक्ति पनि गुमाउनेछ । SB 93.1
ख्रीष्टको मण्डली नै मानिसहरूका मुक्तिका निम्ति परमेश्वरद्वारा नियुक्त गरिएको माध्यम हो । संसारमा सुसमाचार फैलाउनु नै मण्डलीको काम हो । र यो दायित्व सबै इसाईहरूका काँधमा आइपरेको छ । प्रत्येकले आफ्नो दक्षता र मौकाअनुसार मुक्तिदाताको यस आदेशलाई पूरा गर्नुपर्नेछ । हामीलाई प्रकट गरिएको ख्रीष्टको प्रेमले हामीलाई ती सबै व्यक्तिहरूप्रति ऋणी बनाउँदछ जसले उहाँलाई चिन्दैनन् । परमेश्वरले हामीलाई ज्योति दिनुभएको छ तर स्वयं आफ्नै निम्ति मात्र होइन तर उहाँलाई नचिन्ने मानिसहरूमाथि छर्नका निम्ति दिनुभएको छ । SB 94.1
यदि ख्रीष्टका चेलाहरू कर्तव्यप्रति सचेत रहेका भए आज अन्यजातिहरू माझ हजारौं हजार प्रचारकहरू हुनेथिए । र जो-जति सबै यस काममा व्यक्तिगतरूपमा सहभागी बन्न सक्दैनथे तिनीहरूले अझैपनि आफ्ना आयआर्जन, सहानुभूति र प्रार्थनाहरूद्वारा यसलाई आड दिन सक्नेथिए । इसाई राष्ट्रहरूमा आत्माहरूप्रति अझ गम्भीर तवरको श्रम गरिनेथियोे । SB 94.2
ख्रीष्टको निम्ति काम गर्नलाई अन्यजातिहरू माझ जानैपर्ने वा घर परिवार छोड्नु पनि पर्नेछैन, चाहे हाम्रो निम्ति त्यहाँ काम तोकिएको किन नहोस् । हामीले सोही काम पारिवारिक बन्धनमा, मण्डलीमा तथा जो-जतिसँग हामी संगत गर्दछौं र व्यापार गर्दछौं तिनीहरू माझ पनि गर्न सक्नेछौं । SB 94.3
यस पृथ्वीमा मुक्तिदाताको जीवनको अधिकांश भाग नासरतको एक सिकर्मीको पसलमा धैर्यतापूर्वक परिश्रम गर्ने क्रममै बितेको थियो । जब जीवनदाता परमप्रभु अपरिचित तथा सम्मानविना नै किसान र मजदुरहरूका बीचमा काँधमा काँध जुधाउँदै हिँड्नुभयो तब सेवा गर्ने स्वर्गदूतहरू उहाँसँगै उपस्थित हुने गर्दथे । उहाँले आफ्नो यस सामान्य पेशामा परिश्रम गर्ने क्रममा त्यही रूपले ईमानदारपूर्वक आफ्नो जीवनोद्देश्य पूरा गर्दैहुनुहुन्थ्यो जसरी उहाँले बिरामीलाई निको पार्नुहुँदा वा गालीलको आँधीवेरीयुक्त समुद्रको छालमाथि हिँड्नुहुँदाखेरि पूरा गर्नुभएको थियो । तसर्थ सबैभन्दा साधारण कामकाजहरूमा तथा जीवनका सबैभन्दा न्यून अवस्थाहरूमा पनि हामी येशूसँगै हिँड्न तथा काम गर्न सक्दछौं । SB 94.4
प्रेरित पावल भन्दछन्, “जसलाई जस्तो अवस्थामा बोलावट भएको छ, प्रत्येक त्यही अवस्थामा परमेश्वरसँग रहिरहोस् ।” १ कोरिन्थी ७:२४ । एक व्यापारीले आफ्नो व्यापार ईमान्दारपूर्वक परमप्रभुको महिमा हुनेगरी सञ्चालन गर्न सक्नेछ । यदि ऊ ख्रीष्टको साँचो चेला हो भने उसले आफूले गर्ने हरेक कार्यमा आफ्नो धर्म वहन गर्नेछ र मानिसहरूका सामु ख्रीष्टको आत्मा प्रकट गर्नेछ । एक यन्त्र बनाउनेवाला ख्रीष्टको परिश्रमी र विश्वासयोग्य प्रतिनिधि बन्न सक्दछ जसरी उहाँले पनि गालीलका डाँडा वरिपरि एक साधारण जीवन बिताउँदै परिश्रम गर्नुभयो । ज-जसले येशूको नाम धारण गर्दछन् तिनीहरूले यसरी काम गर्नुपर्दछ कि उसका असल कार्यहरूलाई देखेर अन्य व्यक्तिहरू आफ्ना सृष्टिकर्ता र उद्धारकर्ताको महिमा गर्नेतर्फ डोऱ्याउनेछन् । SB 95.1
धेरैले अन्य मानिसहरू आफूभन्दा अधिक उपहार तथा उपलब्धिले पूर्ण भएको कारण देखाउँदै आफ्ना प्रतिभाहरू ख्रीष्टको सेवामा अर्पित गर्नुदेखि बहाना बनाउने गर्दछन् । विशेषरूपले प्रतिभावान् व्यक्तिहरूले मात्र आफ्ना सामार्थ्यहरूलाई परमेश्वरको सेवामा एकत्रित गर्नुपर्नेछ भन्ने विचारधारा प्रचलित रहँदै आएको छ । कैयौंले प्रतिभाहरू केवल कुनै एक निगाह गरिएका वर्गहरूलाई मात्र दिइन्छ र अर्को वर्गलाई चाहिँ परिश्रम तथा ईनाममा सहभागी बन्नका निम्ति बोलाइएका छैन भन्ने विचार लिने गर्दछन् । तर दृष्टान्तमा यसरी प्रस्तुत गरिएको छैन । घरका मालिकले आफ्ना नोकरहरूलाई बोलाए, र उनले सबैलाई काम दिए । SB 96.1
जीवनका सबैभन्दा साधारण कर्तव्यहरूलाई पनि हामी “प्रभुको सेवा गरेजस्तै” निर्वाह गर्न सक्नेछौं । कलस्सी ३:२३ । यदि हाम्रो हृदयमा परमेश्वरको प्रेम छ भने सो तथ्यता हाम्रो जीवनमा प्रकट हुनेछ । ख्रीष्टको सुगन्धित वासनाले हामीलाई घेर्नेछ, र हाम्रो प्रभाव उच्च बन्नेछ तथा यसले आशिष् ल्याउनेछ । SB 96.2
परमेश्वरको काममा लाग्नु अघि तपाईंले कुनै विशेष अवसरहरूका प्रतीक्षा गर्नु वा असाधारण सामर्थ्यहरूका आशा राख्नुपर्दैन । संसारले तपाईंको बारेमा के ठान्नेछ भनी तपाईंले चिन्तन गर्नु आवश्यक छैन । यदि तपाईंको जीवन नै आफ्नो विश्वासको शुद्धता र निष्कपटताको गवाही हो, तथा तपाईं अन्य मानिसहरूलाई भलाइ गर्ने इच्छा राख्नुहुन्छ भन्ने कुरामा तिनीहरू विश्वस्त हुन्छन् भने यस अवस्थामा तपाईंका प्रयत्नहरू पूर्णरूपले व्यर्थमा जाने छैनन् । SB 96.3
येशूका सबैभन्दा नम्र तथा गरीब चेलाहरू पनि अरूका निम्ति आशिष्का माध्यम बन्न सक्नेछन् । तिनीहरू केही विशेष भलाइका काम गर्दछौं भन्ने कुरा चाल नपाएका हुन सक्छन्, तर तिनीहरूका अचेत प्रभावद्वारा तिनीहरूले आशिष्का तरङ्गहरू उत्पन्न गर्न सक्नेछन्, जुन विस्तार हुँदैजानेछन्, र तिनीहरूले ती धन्यका परिणामहरूका बारेमा अन्तिम इनामको दिनसम्म नै थाहा नपाउन पनि सक्नेछन् । केही महान् कार्य गर्दैछौं भन्ने विषयमा तिनीहरूले महसूस गर्दैनन्, र थाहा पनि पाउँदैनन् । तिनीहरूले सफलताको बारेमा व्याकुल बन्दै स्वयं आफैंलाई थकित तुल्याउनुपर्नेछैन । तिनीहरूले परमेश्वरले निर्धारित गर्नुभएको कार्यलाई विश्वसनीय ढंगले सम्पादन गर्दै शान्तिपूर्वक अघि मात्र बढ्नुपर्नेछ, र तिनीहरूका जीवन व्यर्थैमा खेर जानेछैन । तिनीहरूका आत्मा ख्रीष्टका स्वरूपमा वृद्धि हुँदै जानेछ; तिनीहरू यस जीवनमा परमेश्वरको सहकर्मी हुन् र यसरी अझ उच्चस्तरीय कामका निम्ति तथा आउनेवाला जीवनको छायारहित आनन्दका निम्ति स्वयं आफैंलाई योग्य तुल्याउँदैछन् । SB 97.1