त्यसपछि आत्माले मलाई त्यसबेलाको घटनापट्टि लैजानुभयो, जुनबेला प्रभु येशू आफ्ना चेलाहरूसित निस्तार-चाड़को भोज खान बस्नुभयो । यहूदा इस्करियोतीलाई शैतानले बहकाइसकेको हुँदा, उसले आफूलाई ख्रीष्टको सच्चा चेला सम्झन्थ्यो, तर उसको हृदयचाहिँ शरीर र संसारकै कुरामा अनुरक्त थियो । उसले ख्रीष्टको सेवाकार्यावधिभरि उहाँकै साथ-साथ हिँडेर उहाँका आश्चर्यकर्महरू देखीकन उहाँ नै मसीह हुनुहुन्छ भन्ने अकाट्य प्रमाणलाई स्वीकार गरेको पनि थियो, तर उसमा थियो रुपियाँ-पैसाको लोभ । मरियमले (येशूकी आमाचाहिँ होइन) येशूको शिरमा बहुमूल्य सुगन्धित लेप खन्याउँदा यहूदा रिसले गनगनाएको थियो । मरियमले किन त्यसो गरेकी थिइन् ? किनभने येशूले तिनका धेरै पापहरू क्षमा गर्नुभएको कारण र तिनको प्यारो भाइ लाजरसलाई मरेकोबाट बौराई उठाउनुभएको कारणले आफ्ना प्रभुप्रति तिनको श्रद्धा थियो । त्यो सुगन्धित लेप जत्ति महँगो र बहुमूल्य थियो, त्यति नै त्यो उहाँलाई अर्पण गरेर उहाँप्रति मरियमले कृतज्ञता प्रकट गर्न आफूलाई सफल ठानेकी थिइन् । यहूदाले भन्यो, “यति महँगो सुगन्धित लेप ता बेचेर गरीबहरूलाई दान गर्न सकिने थियो ।” वास्तवमा उसले गरीबहरूप्रतिको केवल बोक्रे सहानुभूतिको मखुण्डो ओढ़ेर लालचीपनलाई ढाक्ने प्रयास गरेको थियो, किनकि कतिचोटि ता उसलाई ‘गरीबहरूलाई दिनू’ भनी सुम्पिएका कुराहरू उसले आफ्नै काममा लगाएको थियो । येशूको विषयमा पनि उसलाई केही पर्वाह थिएन । उसको स्वार्थसिद्धको निम्ति एउटै बहाना थियो -- गरीबहरू । 1BP 41.1
यहूदाको हृदयमा पस्नलाई शैतानको बाटो तयार भइसकेको थियो । अर्कापट्टि, यहूदीहरूले येशूलाई मनै नपराउँदा-नपराउँदै पनि उहाँका अपार ज्ञानका वचनहरू सुन्न र उहाँका आश्चर्यकर्महरू हेर्न भीड़का भीड़ मानिसहरू ओइरन्थे । यी सब देखेर मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानपट्टिका मानिसहरूका मनमा पनि कुतूहल मच्चिन थाल्यो । किनकि मानिसहरू औधि प्रोत्साहित भएर बड़ो उत्सुकतापूर्वक येशूलाई पछ्याई-पछ्याई उहाँका उदेकका शिक्षा र उपदेशहरू सुन्थे । यहाँसम्म कि, यहूदीहरूका धेरैजना शासकहरूले पनि येशूमाथि विश्वास गर्नथाले, तर उनीहरूका सभाघरहरूदेखि आफू बहिस्कृत हुने डरले उनीहरूले खुलेआम स्वीकारचाहिँ गरेनन् । मानिसहरूलाई येशूदेखि छुटाएर आफ्नापट्टि खिँच्नलाई के कस्तो किसिमको कदम उठाउनुपर्ने भन्ने विषय लिएर पूजाहारीहरू र बूढ़ा प्रधानहरूबीच विचार-विमर्श हुनथाल्यो । अब जम्मै मानिसहरूले येशूमाथि नै विश्वास गर्लान् भन्ने उनीहरूलाई डर थियो । उनीहरूले आफ्ना पदाधिकार बचाउनाका लागि येशूलाई मार्न सिवाय अर्को कुनै विकल्प देखेनन् । तर उहाँलाई मारेर पनि उहाँका सामर्थ्यका कामका गवाहीहरू ता ज्यूँदै थिए । उनीहरूले यो पनि सोचे - यदि उनीहरूले येशूलाई मारे भने पनि उहाँका अलौकिक सामर्थ्यका कामको गवाही दिने लाजरस हुनेछ, जसलाई उहाँले मरेकोबाट बौराई उठाईकन जीवित तुल्याउनुभएको थियो । हूलका हूल मानिसहरू मरेकाबाट बौरी उठेको लाजरसलाई हेर्न आइरहेका थिए । त्यसो हुँदा ‘न रहे बाँस, न बजे बाँसुरी’ भने झैं उनीहरूले लाजरसलाई पनि मारिदिने अठोट गरे । त्यसपछि मानिसहरूलाई फर्काईकन उनीहरूलाई फेरि आफ्ना अधीनमा ल्याएर आफ्नै रीति-विधिअनुसार पुदिना, सूँप र जीराको दशौं अंश चढ़ाउन लगाउने उनीहरूले विचार गरे । तसर्थ उनीहरूले येशूलाई एकलै हुनुहुँदा पक्रौं भन्ने आपसमा सल्लाह गरें; किनकि सब मानिसहरू एकाग्रचित्तले उहाँपट्टि ध्यान दिइरहेको बेलामा ती मानिसहरूको भीड़मा उहाँलाई पक्रन खोज्दा आफैहरूमाथि मानिसहरूले ढुङ्गा बर्साउने डर थियो । 1BP 42.1
येशूलाई पक्रन उनीहरू कति उत्सुक रहेछन्, सो बुझेर मुख्य पूजाहारीहरू र बूढ़ा प्रधानहरूबाट केही चाँदीका सिक्काहरू लिई यहूदाले उहाँलाई छलपूर्वक उनीहरूका हातमा पक्राइदिने कबोल गऱ्यो । त्यसरी रुपियाँ-पैसाप्रतिको उसको अभिलाषाले गर्दा आफ्ना प्रभुलाई उहाँका कट्टर दुश्मनहरूका हातमा पक्राइदिन पनि ऊ पछि हटेन । शैतानले यहूदाको हृदयमा काम गरिरहेको थियो, अनि जहाँ अन्तिम रात्रि-भोज भइरहेथ्यो, त्यहाँको त्यो शान्त र गम्भीर वातावरणभित्र उसले चाहिँ येशूलाई कुन तरिकाले पक्राऊँ - त्यही उपाय सोचिरहेको थियो । त्यसपछि येशूले शोक-विह्वल भईकन चेलाहरूलाई भन्नुभयो, “आजको रातमा तिमीहरू सबैले मदेखि ठोकर खानेछौ ।” तब पत्रुसले ठोकुवा दिएर भने, “चाहे सबैजनाले तपाईंदेखि ठोकर खाऊन्, तर मचाहिँ ठोकर खानेछैनँ ।” अनि फेरि येशूले पत्रुसलाई भन्नुभयो, “शैतानले तिमीलाई गहुँ निफने झैं निफन्नलाई हात पार्न खोजेको थियो; तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रा निम्ति प्रार्थना गरें; अनि तिमी फेरि (पश्चाताप गरेर) फिरेपछि आफ्ना भाइहरूलाई स्थिर गराऊ ।” 1BP 43.1
त्यसपछि मैले येशूलाई उहाँका चेलाहरूसित बगैँचामा देखें । बड़ो शोकविह्वल भावमुद्रामा उहाँले चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो, “जागा रहो र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपर ।” किनकि उनीहरूको आशालाई निराशाको कालो बादलले ढाक्नेछ, उनीहरूको विश्वासको जाँच हुनेछ, अनि त्यस्तो अवस्थामा उनीहरूलाई चाहिने आत्माबल उनीहरूले हरदम जागा रही आत्मिक बोझ र प्रेरणासहितको प्रार्थना गरेरै प्राप्त गर्न सक्छन् भनेर येशूलाई थाह थियो । त्यसपछि उहाँले ठूलो स्वरले कराउँदै यसरी पार्थना गर्नुभयो, “हे पिता, यदि तपाईंको इच्छा भए, यो कटौरा मदेखि हटाइयोस्; तापनि मेरो इच्छा होइन, तपाईंकै इच्छाबमोजिम होस् ।” यो प्रार्थना उहाँ, परमेश्वरका पुत्रले आत्मामा व्यथित र पीड़ित भएरै गर्नुभएको थियो । उहाँको अनुहारबाट पसीना रगतका ठूला ठूला थोप्लाजस्तै निस्केर भूइँमा खसिरहेका थिए । परमेश्वरका पुत्रलाई उहाँको कष्ट र वेदनामा सहने शक्ति दिनालाई एकजना मात्र दूतलाई नियुक्त गरिएको हुनाले अरु दूतहरूले चाहिँ उदास भएर आफ्ना मुकुटहरू पनि एकातिर पन्छाएर बड़ो गम्भीर भावले चुपचापसित येशूलाई माथि-माथिबाट हेरिरहेका थिए । स्वर्गको स्थिति तनाउपूर्ण थियो । ती स्वर्गदूतहरूले परमेश्वरका पुत्रका वरिपरि रहने इच्छा प्रकट गरे, तर उनीहरूले उहाँको दर्दनाक अवस्था देखेर उहाँलाई त्यसबाट छुटाउलान् भनेर अगुवा दूतहरूले अनुमति दिएनन्; किनकि ठहराइसकिएको त्यो (उद्धारको) योजना पूरा गर्न उहाँलाई त्यो अवस्थाबाट भएर जानैपर्ने भएको थियो । 1BP 43.2
प्रार्थना गरिसकेर येशू चेलाहरूकहाँ आउँदा उनीहरू सुतिरहेका थिए । त्यस्तो भयावह स्थितिमा आफ्नै चेलाहरूबाट पनि उहाँले प्रार्थनाको सहयोग धरी पाउनुभएन । केही क्षणअघि मात्र त्यति जोशिला पत्रुस पनि निद्राले लट्ठ भइगए । येशूले पत्रुसलाई तिनले अघि भनेको वचन अर्थात् ‘अरुले ठोकर खाए तापनि मचाहिँ खानेछैन’ भनेको त्यो वचन स्मरण गराउँदै भन्नुभयो, “खोइ, तिमी मसित एकै घण्टा पनि जागा रहन सक्यौ र ?” अनि उहाँले त्यसैगरी तीनपल्टसम्म व्यथित र पीड़ित भईकन प्रार्थना गर्नुभयो । त्यतिबेलै यहूदाले एक हूल मानिसहरू लिएर आइपुग्यो, र सधैँ झैँ येशूलाई अभिवादन टक्र्याउन आयो । अनि भीड़ले उहाँलाई चारैतिरबाट घेऱ्यो । तब उहाँले तिनीहरूलाई ‘तिमीहरूले जसलाई खोज्दैछौ, म उही हुँ’ मात्रै के भन्नुभएको थियो, तिनीहरू पछाड़ितिर उछिट्टिएर भुइँमा पछारिए । हुन पनि तिनीहरूले उहाँको सामर्थ्यलाई देख्न सकून् अनि यदि उहाँले चाहनुभएको भए तिनीहरूका हातदेखि सजिलै बच्न सक्नुहुने थियो भनी साक्षी होस् भनेर नै उहाँले त्यो प्रश्न गर्नुभएको थियो । अनि त्यसरी डण्डाहरू र तरवारहरू बोकेको त्यो भीड़ एकैचोटी पछारिँदा ता चेलाहरूका मनमा आशा पनि जागृत हुनथाल्यो । फेरि तिनीहरूले उठीकन उहाँलाई घेर्दाहुँदि पत्रुसले तरवार थुतेर एउटाको एकपट्टिको कानै च्वाट्टै छिनाइदिए । तर येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार थन्क्याऊ । तिमी के सम्झन्छौ ? के मैले मेरा पितासित अहिले मागें भने उहाँले अहिल्यै बाह्र पल्टनभन्दा धेरै स्वर्गदूतहरू मेरा निम्ति पठाइदिनुहुन्न र ?” उहाँले यी कुरा भन्नुहुँदा स्वर्गदूतहरूका चेहरा पनि जोशिला देखिनथाले, अनि त्यतिखेरै उनीहरू गएर क्रुद्ध र उत्तेजित भीड़लाई तितरबितर पारेर प्रभुलाई बचाऔं भनी तम्से । तर फेरि उहाँले भन्नुभयो, “यसो त हुनैपर्छ, नत्र कसरीचाहिँ पवित्रशास्त्रका कुराहरू पूरा हुनसक्छन् र ?” तब फेरि उनीहरू उदास भए । अनि चेलाहरू फेरि हतोत्साहित र निरूत्साहित भए, जब येशूले आफूलाई तिनीहरूका हातमा सुम्पनुभयो । 1BP 44.1
त्यसपछि ती चेलाहरू पनि आफ्ना ज्यान जोगाउन कोही एकातिर कोही अर्कातिर सुइँकुच्चा ठोके, र येशू एक्लै हुनुभयो । तब अहो, शैतान कति रमायो ! अनि परमेश्वरका दूतहरूचाहिँ कति दुःखित र शोकित हुनुपऱ्यो ! तब प्रधान दूत लगायत धेरै पल्टन दूतहरू त्यस घटनास्थलमा उहाँ, परमेश्वरका पुत्रमाथि गरिने दुर्व्यवहार, अपमान, अत्याचार र उहाँले अनुभव गर्नुपर्ने हरेक कष्ट र पीड़ाको लेखा (रेकर्ड) राख्न भनी पठाइए, किनकि जुन मानिसहरूले त्यस्ता व्यवहार गरे, ती सब एकदिन तिनीहरू आफैले झलझली देख्न पर्नेछ । 1BP 45.1