येशूको रूप परिवर्तन हुँदा ती चेलाहरूको विश्वास अझ दृढ़ भएर गएको मैले देखें । परमेश्वरले येशूका अनुयायीहरूलाई येशू नै प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भनेर दृढ़ प्रमाण दिन यस कारणले चाहनुभयो, कि उनीहरूले जस्तै दुःख र निराशापूर्ण अवस्थामा पनि उहाँमाथि भरोसा राख्न नछोडून् । उहाँको रूप परिवर्तन भइरहेको बेलामा परमेश्वरले मोशा र एलियाहलाई उहाँमाथि हुनआउने कष्ट, पीड़ा र मृत्युबारे उहाँसित कुरा गर्न पठाउनुभयो । उहाँसित बातचित गर्न परमेश्वरले स्वर्गदूतहरूलाई होइन, तर उनीहरूलाई पठाउनुभयो जसले पृथ्वीमा हुँदा दुःख-कष्ट, पीर-मर्का आदिका अनुभव गरेका थिए । अनि उहाँका थोरै मात्र अनुयायीहरूले उहाँका साथमा गएर ईश्वरीय महिमाले झलमल्ल बल्दै गरेको उहाँको मुहार हेर्न अनि उज्जर र चम्किलो उहाँको पोशाक देख्न र ‘यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन’ भनी भययोग्य आवाजमा परमेश्वरको वाणी भएको सुन्न पाए । 1BP 36.1
एलियाह परमेश्वरका साथ-साथ हिँड़ेका थिए । उनको काम सजिलो र आनन्दप्रद थिएन । उनीद्वारै परमेश्वरले मानिसहरूको पाप देखाइदिनुहुन्थ्यो, किनकि उनी परमेश्वरका भविष्यवक्ता (अगमवक्ता) थिए । त्यसो हुँदा उनी आफ्नो ज्यान बचाउन एक ठाउँदेखि अर्को ठाउँ भागिहिँड्नु पर्थ्यो । शिकारीहरूले जङ्गली जनावरहरूको खेदो गरेझैं उनलाई पनि मार्न विरोधीहरू खोजिहिँड्थे । अन्तमा परमेश्वरले उनलाई महिमित देहमा परिवर्तित गरीकन उठाई लानुभयो । महिमा र जयजयकारका साथमा उनलाई स्वर्गदूतहरूले स्वर्गतिर उठाई लगे । 1BP 36.2
मोशा पनि परमेश्वरबाट एक विशिष्ट रूपमा आदर पाएकै व्यक्ति थिए । आफूभन्दा अघिका सबैभन्दा उनी महान् थिए । कुनै मानिसले आफ्नो साथीसँग बातचीत गरे झैं उनले परमेश्वरसित बातचीत गर्ने विशेषाधिकार पाएका थिए । त्यतिमात्र नभएर पिता (परमेश्वर)-का वरिपरिका तेजस्वी ज्योति र अनुपम महिमालाई देख्ने अनुमति पनि उनलाई मिलेको थियो । मोशाद्वारै परमेश्वरले इस्राएलीहरूलाई मिस्रदेशीहरूको दासत्वदेखि छुटाउनुभयो । उनी (मोशा) इस्राएलीहरूका निम्ति मध्यस्थ भईकन इस्राएलीहरू र परमेश्वरको क्रोधबीच पनि खड़ा हुनुपर्थ्यो । जब इस्राएलीहरूले अविश्वास, गनगन र अपराध गर्दा उनीहरूविरुद्ध परमेश्वरको क्रोधरूपी अग्नि सल्कन्थ्यो, तब इस्राएलीहरूप्रति मोशाको प्रेम त्यहाँ प्रमाणित हुन्थ्यो । परमेश्वरले मोशालाई यसो भनी प्रतिज्ञा पनि गर्नुभएको थियो, “तिमीले यिनीहरूलाई छोड़िदेऊ, यिनीहरू नाशै होऊन्; र तिमीबाटै म एउटा सामर्थी जाति खड़ा गर्नेछु ।” तर मोशाले खूबै अर्जी-विन्ती गरेर इस्राएलप्रतिको आफ्नो प्रगाढ़ प्रेम दर्शाइदिए । उनलाई पीर र व्यथाले सताइरहेको बेलामा उनले परमेश्वरसित यसरी पनि प्रार्थना गरे, “हे परमेश्वर, तपाईं आफ्नो भयानक क्रोधदेखि फर्कनुहोस् र इस्राएललाई क्षमा गर्नुहोस्, नत्र भने बरू मेरो नाम तपाईंको पुस्तकदेखि हटाइदिनुहोस् । ” 1BP 37.1
इस्राएलीहरूले पानी नपाउँदा परमेश्वर र मोशाका विरुद्धमा गनगनाउँदै मोशालाई भने, “तिमीले हामी र हाम्रा छोराछोरीहरूलाई यहाँ मार्न ल्याएका हौ ।” तिनीहरूका त्यस्ता गनगनाहट परमेश्वरले सुन्नुभयो र मोशालाई भन्नुभयो, “तिमीले चट्टानलाई (लहुरोले) ठटाऊ, र त्यसबाट इस्राएलीहरूले पानी पाऊन् ।” तब मोशाले रिसले चट्टानलाई ठटाए, जसबाट परमेश्वरको चाहिँ महिमा भएन । इस्राएलीहरूको सधैँभरिको हठीपना र गनगनाहटले उनलाई साह्रै नै पिरलोमा पारेको थियो, अनि परमेश्वरले उनीहरूसित कति सहनशीलता धारण गर्नुभएको थियो, र उनीहरूको गनगनाहट पनि उनको (मोशाको) विरुद्धमा होइन, तर परमेश्वरको विरुद्धमा थियो भन्ने कुरा पनि उनले क्षणभरमा भुलीगए । उनले ‘मेरो कति साह्रो अपमान भयो अनि मैले उनीहरूप्रति गरको प्रगाढ़ प्रेमको सट्टामा उनीहरूले अलिकति पनि कृतज्ञता प्रकट गरेनन्’ भन्दै आफ्नै विषयमा मात्रै सोचे । 1BP 37.2
मोशाले त्यस चट्टानलाई हिर्काउँदाहुँदि ती इस्राएलीहरूका सामु परमेश्वरलाई जुन आदर र महिमा दिनुपर्ने थियो, तब उनीहरूले पनि परमेश्वरलाई महिमा दिन सिक्ने थिए, तर उनीबाट त्यो हुनसकेन । तब परमेश्वर उनीसित नाराज भईकन भन्नुभयो, “तिमी त्यो प्रतिज्ञाको देशमा पस्न पाउने छैनौ ।” वास्तवमा इस्राएलीहरूलाई संकीर्ण र कठिन ठाउँहुँदा ल्याएर उनीहरूलाई अत्यन्तै आवश्यक परेका खण्डमा उनीहरूले भुल्नै नसक्ने गरी आफ्नो सामर्थ्य प्रकट गरी उनीहरूलाई परमेश्वरको महिमा गर्ने बनाउने नै परमेश्वरको योजना थियो । 1BP 38.1
फेरि, जब मोशा ढुङ्गाका दुई पाटीहरू लिएर सीनै पर्वतदेखि ओर्लेर आए, तब त्यहाँ इस्राएलीहरूले सुनको बाछाको मूर्ति पुजिरहेका देखेर उनी अग्निशर्मा भए, र उनले ती ढुङ्गाका पाटीहरू पछारेर फुटाए । मैले देख्दाहुँदि त्यसमा उनको कुनै पाप थिएन, किनकि उनको त्यो क्रोध वा जलन परमेश्वर र उहाँकै महिमाका निम्ति थियो । तर जब उनि आफ्नै वैयक्तिक क्रोधावेगमा आएर परमेश्वरलाई दिनुपर्ने महिमा आफैमा मात्र सीमित राखे, त्यसमा चाहिँ उनले पाप गरेको साबित भयो, र त्यही पापले गर्दा उनलाई परमेश्वरले प्रतिज्ञाको देशमा जान दिनुभएन । 1BP 38.2
शैतानले ता स्वर्गदूतहरूका सामने मोशालाई कुन कुरामा दोष लगाइदिऊँ भनी निहुँ ता खोजिरहेकै थियो । जब गरीबाको घटनामा मोशासित परमेश्वर नाराज हुनुभयो, तब शैतानले आफ्नो सफलतामा खूबै रमाउँदै आफ्ना दूतहरूसित भन्यो, “जब संसारका मुक्तिदाता (येशू) आउलान्, तब उनीमाथि पनि हामी यसरीनै विजय हासिल गर्न सक्नेछौं ।” मोशाले त्यसरी अविश्वास गर्दाहुँदि उनी शैतानको शक्ति अर्थात् मृत्युको राज्यको अधीनमा पनि आउनुपऱ्यो । यदि उनि स्थिर रहीकन परमेश्वरको महिमा परमेश्वरलाई नै दिएका भए परमेश्वरले उनलाई त्यस प्रतिज्ञाको देशमा ल्याईकन मृत्युमा पर्न नदिई ज्यूँदै स्वर्गमा उठाई लैजानु हुने थियो । 1BP 39.1
त्यसपछि मैले यस्तो देखें - मोशा मृत्युबाटै भएर गए, तापनि उनी सड्नै नपाईकन प्रधान दूत माइकल ओर्लेर फेरि उनलाई जीवित पारे । शैतानले मोशाको मृत शरीरलाई सकेसम्म आफ्नो वशमै राख्ने कोशिश गर्दै परमेश्वरले उसको शिकार खोसी लागिदिनुभएकोमा उहाँलाई अन्यायी भनी घोर विरोध गर्दागर्दै पनि मोशा पुनर्जीवित भएर स्वर्ग पुऱ्याइए । शैतानकै शक्ति र परीक्षाले गर्दै ती परमेश्वरका जन गिरेका भए तापनि माइकल दूतले शैतानलाई हपारेनन् । ख्रीष्ट स्वयम्ले पनि नम्रतापूर्वकै पितापट्टि सङ्केत गर्दै भन्नुभयो, “परमप्रभुलेनै तँलाई हपारून् !” 1BP 39.2
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यहाँ उभिएकाहरूमध्ये कोही कोही छन्, जसले परमेश्वरको राज्यलाई शक्तिमा आएको नदेखुञ्जेल मृत्युको स्वाद पाउनेछैन ।” येशूको रूप परिवर्तनको घटनासितै यो प्रतिज्ञा पूरा भयो । येशूको चेहराको रूप-रङ बदलेर सूर्य झैं चम्किरहेको थियो । अनि उहाँको वस्त्र उज्जर र चम्किलो थियो । त्यहाँ मोशाले उपस्थित भएर ख्रीष्ट दोस्रोपल्ट प्रकट हुनुहुँदा मरेकाबाट बौरी उठ्नेहरूलाई सङ्केत गर्दैथिए भने मृत्यु नै नदेखी स्वर्गमा उठाई लगिएका एलियाहले चाहिँ ख्रीष्टको दोस्रो आगमनमा अमर र अविनाशी रूप धारण गरी मृत्यु नै नदेखी स्वर्गमा उठाई लगिनेहरूलाई सङ्केत गरिरहेका थिए । चेलाहरूले बड़ो भय र आश्चर्य मान्दै ख्रीष्टको अति महिमान्वित रूपलाई हेरे अनि हेर्दाहेर्दै बादलले उनीहरूलाई ढाकिदियो र उनीहरूले सुन्दै लगलग भयकम्प छुट्ने आवाजमा ‘यिनी मेरा प्रिय पुत्र हुन्; यिनकै कुरा सुन’ भन्ने ईश्वर-वाणी सुने । 1BP 39.3