त्यसपछि शैतानले आफ्ना दूतहरूसित परामर्श राख्दै कहाँसम्म उन्नति भयो, त्यस विषयमा छलफल गऱ्यो । हो, तिनीहरूले कतिपय कायरहरूलाई मृत्यु-दण्डको धम्की दिएर सत्यलाई अँगाल्नदेखि वञ्चित् गरे; तर धेरैजना, यहाँसम्मन् कि कायरभन्दा कायरहरूले पनि जब सत्यलाई ग्रहण गरे, तब त्यस्ता डर र कायरता कता हराए कता ! आफ्ना सङ्गी-विश्वासी दाजुभाइहरू मृत्युसम्मै दृढ़ र धैर्यवान् भइरहेका देखेर उनीहरूले यो धैर्य-शक्ति ता परमेश्वर र उहाँका दूतगणबाटै प्राप्त भएको हो भन्ने बुझे, र उनीहरूले पनि साहस र आत्मबल पाउनथाले । अनि जब उनीहरूले पनि आफ्नो प्राणाहुति दिने बेला आयो, त्यतिबेला उनीहरूले देखाएका असाधारण धैर्य, सहनशीलता र दृढ़ विश्वास देखेर उनीहरूको प्राण लिन आउनेहरू पनि लगलग काँपे । त्यसपछि फेरि शैतानले आफ्ना दूतहरूसँग मिलेर आत्माहरू नाश गर्नालाई अझ सजिलो उपाय निकाल्नथाल्यो । ती ख्रीष्टियानहरूलाई जत्ति नै सताए पनि उनीहरूमा जिउँदो एवम् ज्वलन्त आशा थियो, जसले गर्दा उनीहरूलाई जस्तै दर्दनाक शास्ती दिएर मार्ने धम्कीले किञ्चित् पनि विचलित पार्दैनथ्यो । आफ्ना हत्यारा शत्रुहरूका सामु ख्रीष्टले जस्तो भद्रता, सहनशीलता एवम् नम्रता देखाउनुभयो उनीहरूले पनि त्यस्तै नम्रता देखाए । त्यसपछि उग्र रूप धारण गरेर पनि आफ्नो योजना सफल नहुने देखेर शैतानले शान्त रूपमै आउने निर्णय गऱ्यो । आईकन उसले बाइबलको शिक्षालाई बिगार्ने काम थाल्यो, जसको खास उद्देश्य लाखौं बाइबल-प्रेमी विश्वासीहरूलाई भ्रमित तुल्याएर विनाशको बाटोमा ल्याउनु थियो । तसर्थ उसले आफ्नो पक्षकाहरूलाई ख्रीष्टियानहरूमाथि त्यस्तो घोर सतावट नगरेर परमेश्वरका जनहरूलाई सुम्पिएको त्यो विश्वासमा आधारित नभएर नाना किसिमका रीति-विधिहरूमाथि जोर दिन लाउनथाल्यो । मण्डलीलाई झूटो आश्वासनमा अल्मल्याएर संसारको मानमर्यादा दिईकन भुल्याउनथाल्यो । त्यसरी मण्डली पनि परमेश्वरको निगाहपूर्ण दृष्टिदेखि पतित हुँदै गयो, आफ्नो गरिमा हराईकन शक्तिविहीन हुँदै गयो, किनकि उक्त मण्डलीले सत्य कुरा प्रकट गर्नै छोड्यो, जुन सत्यतादेखि भोग-विलासीहरू अर्थात् भनौं संसारका मित्रहरू अलग थिए । यसरी मण्डलीको पवित्रता सुनले आफ्नो त्यो स्वर्णिम चमक नै हराए झैं हुनथाल्यो । यदि मण्डलीले आफ्नो पवित्रता कायम राखेको भए त्यहाँ पवित्र आत्माको सामर्थ्य रहने थियो, जसद्वारा रोगीहरू निको हुने थिए, दुष्टात्माहरूलाई हपारीकन निकाल्न सकिने थियो र मण्डली सामर्थ्यशाली भईकन शत्रुहरूलाई थरहरी बनाइदिने थियो । 1BP 128.1
अनि मैले देख्ताहुँदी कैयौं कैयौंले ख्रीष्टको नाम ता धारण गरे, तर परमेश्वर तिनीहरूलाई भन्नुहुन्छ, “म तिमीहरूलाई चिन्दै चिन्दिनँ ।” तिनीहरूसँग उहाँ खुशी हुनुहुन्न । मानिसहरूले ख्रीष्टियान सम्झून् भनेर शैतानले पनि धार्मिक रूप धारण गऱ्यो । मानिसहरूले ख्रीष्टमा साथै उहाँ क्रूसमा मरीवरी बौरी उठ्नुभएको कुरामा विश्वास गरेकोमा शैतान नाराज थिएन, किनकि शैतान साथै उसका दूतहरूले पनि यो कुरा विश्वास गर्थे र डरले काँप्थे । तर यस विश्वासद्वारा असल कामचाहिँ भएन र ख्रीष्टियान हुँ भन्नेहरू ख्रीष्टजस्ता आत्मत्यागी (अर्थात् आफैलाई इन्कार गरी क्रूस उठाउने) भएनन् भने शैतानलाई केही असर पर्दैन, कारण उनीहरूले केवल ख्रीष्टको नाम मात्रै ता धारण गरेका हुन्, तर उनीहरूको हृदय भने शारीरिक यानि सांसारिक नै छ । गैर-ख्रीष्टियानहरूबाट भन्दा ता ख्रीष्टियान हौं भन्नेहरूबाटै शैतानको काम अझ सफलीभूत हुँदछ । बाहिरबाट ख्रीष्टियान नामरूपी भेष धारण गरेर तिनीहरूले आफ्नो कुरूपतालाई ढाकछोप गर्दछन् । वास्तवमा उनीहरूको अपवित्र स्वभाव र कुप्रवृतिहरू गएकै हुँदैनन् । त्यसैले गर्दा ख्रीष्टलाई विश्वास नगर्नेहरूबाट ख्रीष्टको नामको निन्दा यानि बदनाम ता हुन्छै हुन्छ, त्यतिमात्र नभएर पवित्र जीवन बिताउने विश्वासीहरूले पनि बदनाम सहनु पर्दछ । 1BP 129.1
प्रचार वा प्रवचनको सेवा गर्नेहरूले शारीरिक खालका ख्रीष्टियानहरूलाई मनपर्ने मनपर्ने कुराहरू मात्रै बोल्छन् । शैतानलाई त्यस्तै चाहिएको । उनीहरू बाइबलका सत्य सत्य वचनहरू प्रचार गर्न साहस गर्दैनन् । गरिहाले भने पनि ती शारीरिक र विषयासक्त ख्रीष्टियानहरूले सुन्नै माग्दैनन् । ती शारीरिक मानिसहरूमध्ये धेरैजना धनवान् छन् र उनीहरूका निम्ति मण्डलीमा विशिष्ट स्थान राखिछोड्नैपर्छ, यद्यपि आत्मिक दृष्टिकोणले उनीहरू त्यस स्थानका निम्ति योग्यका हुँदैनन् । उनीहरूको भनाइ छ - ख्रीष्ट धर्म संसारको दृष्टिमा पनि लोकप्रिय तथा प्रतिष्ठित हुनुपर्छ । धर्ममा साह्रै निष्ठावान् हुनेहरूलाई संसारले मन पराउँदैन । यस्ता शिक्षाहरूले ख्रीष्टको शिक्षासित मेल खाँदै खाँदैनन् । भनूँ ख्रीष्टको शिक्षा र संसार पनि परस्परमा मेल खाँदैन अनि कहिल्यै खाएन पनि । उहाँका पछि लाग्नेहरूले संसारलाई त्याग्नुपऱ्यो अर्थात् संसारसितको सम्बन्ध विच्छेद गर्नुपऱ्यो । यस्तै चिल्ला-चापुल्ला कुराहरू निकालेर शैतान र उसका दूतहरूले यो सजिलो उपाय रचे, र यसैलाई नाममात्रका ईसाइहरूले पालन गर्दै ल्याए । कपटीहरू र पापीहरू मण्डलीमा सम्मिलित हुँदै आए । शिक्षाको रूपमा चाखलाग्दा र कर्णप्रिय दन्त्यकथाहरू सुनाउँदै आए र सुन्नेहरूले पनि खुशीसाथ सो शिक्षा ग्रहण गरे । यदि ख्रीष्टको सत्य शिक्षालाई साँचो र असली ढङ्गमा प्रचार गर्नु हो भने त्यस्ता कपटी र अपरिवर्तित पापीहरू सब बाहिरिन्छन् । तर खोइ, यहाँ त ख्रीष्टियान हौं भन्नेहरू र संसारमा कुनै भिन्नता देखिँदैन । यदि ती मण्डलीहरूका सदस्यहरूका नकली रूपलाई हटाईकन असली रूप प्रकट गराउनसकिने भए ता परमेश्वरका जनहरूमध्ये सबभन्दा सानो अर्थात् एउटा नपत्याउँदो बालकले पनि तिनीहरूलाई ‘शैतानका सन्तान’ भन्न किञ्चित् पनि संकोच मान्ने थिएनन् होला, किनकि तिनीहरू साँच्चै आफ्ना बाबु शैतानकै कामहरू गर्छन् । ख्रीष्टले पनि आफ्ना स्वर्गीय दूतगणसँग दुःख प्रकट गर्दै तिनीहरूका कामलाई हेर्नुभयो, तथापि परमेश्वरले पवित्र मण्डलीको लागि जुन सन्देश पठाउनुभयो, त्यो उनीहरूले ग्रहण गरिदिएका भए मण्डलीमा सर्वाङ्गीन सुधार आउनेथियो, र त्यो जिउँदो गवाही पुनर्जागृत हुनेथियो, जसद्वारा मण्डलीदेखि पाप र भ्रष्टाचार हटेर पुनः परमेश्वरको निगाह प्राप्त हुनेथियो । 1BP 130.1