Go to full page →

अध्याय - २०
धर्म-सुधार अभियान 1BP 123

जति नै सन्तहरूलाई खेदो गरी गरी मारे तापनि चारैतिर जिउँदा साक्षीहरू उठे । परमेश्‍‍वरका दूतहरूले आफ्‍ना आफ्‍ना काम गरिरहेकै थिए । उनीहरूले अन्धकारपूर्ण स्थानहरूमा पनि खोजी खोजी सच्‍चा हृदयकाहरूलाई परमेश्‍‍वरका निम्ति चुनी-छानीकन निकाले । ती मानिसहरू सब भ्रमित अवस्थामै थिए त्यस्ताहरूलाई परमेश्‍‍वरले बद्‍लाईकन आफ्‍ना साक्षी बन्न र हामी परमेश्‍‍वरका जन हौं भन्नेहरूलाई तिनीहरूका पाप दर्शाइदिन आफ्‍ना चुनिएका पात्रहरू तुल्याइदिनुभयो । उदाहरणस्‍वरूप मार्टिन लूथर, मेलांकथन आदिलाई लिनसकिन्छ, जसका हृदयमा परमेश्‍‍वरका दूतहरूले परमेश्‍‍वरको वचनको लागि तृष्णा जगाइदिनुभयो । बाढ़ झैं शत्रु उर्ल्यो, तर ती सब सामना गर्दै अघि बढ्‍न र पतित मण्डलीको प्रकोप सहँदै पवित्र सेवाकार्यमा विश्‍‍वासयोग्य रहेका अल्पसंख्यक झुण्डलाई स्थिर गराउन लूथर नै एक चुनिएको पात्र थिए । उनि सधैँ परमेश्‍‍वरको भय मान्थे । शुरु-शुरुमा ता तिनले आफ्‍ना धर्म-कर्मद्वारा परमेश्‍‍वरको निगाह प्राप्‍त गर्न खोजिरहेका थिए, र पनि तिनी कहिल्यै सन्तुष्‍ट हुन सकेनन् । तर जब स्‍वर्गबाट एउटा दिव्य ज्योति चम्कीकन तिनको मनको अन्धकार हटाइदियो, तबमात्र तिनले परमेश्‍‍वरको कृपाका पात्र बन्नु धर्म-कर्ममा होइन तर ख्रीष्‍टको रगतमा विश्‍‍वास गरेर पोप अथवा दोष सुन्ने पुरोहित वा पादरीद्वारा होइन, तर केवल ख्रीष्‍ट येशूद्वारा परमेश्‍‍वरकहाँ जानुपर्ने रहेछ भनी बुझे । अहो, कस्तो अमूल्य ज्ञान पाए लूथरले ! तिनले यस नयाँ प्रकाशलाई सारा सांसारिक वैभवभन्दा मूल्यवान सम्झे । तिनले नयाँ गरी परमेश्‍‍वरको वचनको प्रकाश पाए । सबै कुरा नयाँ भएको अनुभव गरे । जुन पुस्तक (बाइबल)-को महत्त्‍व थाह नपाएर तिनी डराउने गर्थे, त्यो पुस्तक अब तिनको निम्ति जीवनदायक बन्यो । यसमै तिनले आनन्द र शान्ति पाउनथाले र यही पुस्तक तिनका निम्ति पथ-प्रदर्शक बन्नथाल्यो । तिनले यसलाई अध्ययन गरिरहे र कुनै कुराले पनि तिनलाई बहकाउन सकेन । पहिला तिनी मृत्युदेखि डराउँथे, तर परमेश्‍‍वरको वचन पढ़ेपछि सबै डर हरायो । तब तिनले परमेश्‍‍वरको तारीफ गरे । त्यसरी दिनहुँ तिनले परमेश्‍‍वरको वचनबाट खोजी गरे । यसमा लुकेको त्यो अमूल्य धन आफूले मात्र उपयोग नगरेर मण्डलीको निम्ति पनि खोजी गरे । तर पहिला उद्धार (मुक्ति)को लागि जोहरूमाथि तिनले भरोसा गरेका थिए, तिनीहरूको कर्तुत देखेर तिनी विरक्त मान्थे । तिनले धेरै धेरैलाई त्यही अन्धकारभित्र हराएका देख्थे, जुन अन्धकारभित्र एक समयमा आफू पनि हराएका थिए । तिनीहरूलाई कसरी संसारका पाप हरण गर्ने परमेश्‍‍वरका थुमाकहाँ जानलाई बाटो देखाऊँ भनी तिनले मौका खोजिरहेका थिए । तिनले पोपको मण्डलीको भूल शिक्षा र दोषको आलोचना गर्दै आवाज उठाए, र जुन अन्धकाररूपी साङ्‍लोले हजारौं-हजारौंलाई बाँधेर राखेको थियो, त्यसलाई तोड़ी उद्धार (मुक्ति) का निम्ति धर्म-कर्मद्वारा होइन, तर परमेश्‍‍वरको अनुग्रहको धनअनुसार केवल ख्रीष्‍ट येशूमा पाइने उत्तम मुक्तिबारे उनीहरूलाई बुझाइदिन अत्यन्तै उत्सुक रहे । ती मण्डलीका अगुवाहरूका दोषहरू विरुद्ध पवित्रात्माको सामर्थ्यमा जोड़तोड़ले तिनले आवाज उठाए । मण्डलीका पुरोहितहरूबाट विरोधको आँधी चल्दा तिनी किञ्‍चित् पनि हल्‍लेनन्, किनकि तिनले ती सबमाथि विजयी हुनालाई परमेश्‍‍वरकै सामर्थी भुजबलमाथि भरोसा राखेका थिए । तर तिनले जतिनै संघर्ष गरे तापनि बरु ती अगुवाहरू तिनीसित झन् अग्‍निशर्मा भए तर सुधारात्मक मार्गमा आउन चाहेनन् । तिनीहरू सुख चैन एवम् दुष्‍टतामै रहेर मण्डलीलाई पनि अन्धकारमै राख्‍न चाहे । 1BP 123.1

लूथर साह्रै उत्साही र आँटिला खालका थिए, र दोषीहरूलाई खुलेआम तिनीहरूको दोष देखाइदिन र सत्यको पक्षमा बोल्‍न तिनी डराउँदैन थिए । तिनी भन्थे, “जत्तिकै दुष्‍ट मानिस अथवा शैताननै किन नआओस्, मलाई पर्वाह छैन । मसित एकजना हुनुहुन्छ, जो ती सबभन्दा शक्तिशाली हुनुहुन्छ ।” लूथरमा जलन, जोश र आँट ज्यादै भएकोले कहिले-काहीँ ता तिनी अति नै उत्तेजित भइहाल्थे, तर पनि तिनलाई त्यस सुधार-अभियान कार्यमा सहयोग पुऱ्याउन परमेश्‍‍वरले अर्को एकजना व्यक्ति खड़ा गर्नुभयो, जसको स्‍वभाव लूथरको स्‍वभावको ठीक विपरीत अर्थात् डर राख्‍ने, होशियार र धैर्यवान् थिए । तिनको नाउँ थियो मेलांकथन । तिनी पनि परमेश्‍‍वरका प्रिय पात्र थिए । तिनलाई धेरै धर्म-शास्‍‍त्रको ज्ञान थियो र तिनको न्यायसंगत काम र बुद्धि प्रशंसनीय थियो । तिनले र लूथरले परमेश्‍‍वरलाई बराबरै प्रेम गर्थे । यी दुई हृदयलाई परमेश्‍‍वरले कहिल्यै नछुट्‍ने गरी गाँसिदिनुभएको थियो र उनीहरू सधैँ मिलीजुली बस्थे । मलांकथन भयभीत र निष्क्रिय हुँदै जाँदा लूथरले तिनलाई सम्हाल्थे भने लूथर अत्युत्तेजित हुँदै जाँदा मलांकथनले तिनलाई सम्हाल्थे । लूथरलाई मात्र छोड़िदिँदा जुन खतरनाक स्थिति पैदा हुन्थ्यो, त्यो खतरा मलांकथनको दूरदर्शिता र साबधानीले गर्दा टरेर पनि जान्थ्यो । अनि मलांकथनलाई मात्रै छोड्‍दा पनि काम अघि सर्न सक्‍तैन थियो । उक्त सुधार अभियानको लागि यी दुई भिन्न स्‍वभावका मानिसलाई चुन्नुमा परमेश्‍‍वरको बुद्धिमत्ता कति महान् रहेछ देख्‍न सकें। 1BP 125.1

त्यसपछि मलाई प्रेरितहरूको जमानाको दृष्‍टान्त देखाइयो, जुन समयमा परमेश्‍‍वरले त्यस्तै जोशिला र उत्साही पत्रुस अनि नरम मिजासका, धैर्यशील र नम्र यूहन्नालाई सहचर मित्र बनाउन चुन्नुभयो । त्यसैगरी पत्रुस पनि कहिले काहीँ अत्युत्तेजित भइहाल्थे, र यूहन्नाले तिनलाई सम्हाल्थे, तर पनि तिनमा सुधारात्मक परिवर्तन आएको थिएन । जब तिनले आफ्‍ना प्रभुलाई इन्कार गरेपश्‍चात् फेरि पश्‍चाताप गरेर तिनी परिवर्तित भए, तब देखि मात्र तिनलाई यूहन्नाले होश गराउँदा तिनी जोशदेखि होशमा फर्कन्थे । त्यसको लागि यूहन्नाले नै तिनलाई नम्रतापूर्वक चेतावनी दिनुपर्थ्यो । फेरि कति कुरामा पत्रुसको जोशपूर्ण कदमको पनि आवश्‍‍यकता पर्थ्यो । कतिचोटी आइपरेका आपत्तिहरूलाई पत्रुसले नै आफ्‍नो साहस र बलद्वारा भगाइपठाएर शत्रुहरूलाई पनि ठण्डा पारे भने यूहन्नाले आफ्‍नो धैर्य, नम्रता र शिष्‍ठताद्वारा धेरै धेरैजनाका आत्मालाई जितेर ख्रीष्‍टमा ल्याइरहेका थिए । 1BP 126.1

पोपको मण्डलीमा भइरहेका पापहरूविरुद्ध आवाज उठाउन र धर्म-सुधार अभियानलाई सुचारु रूपले अघि बढ़ाउँदै लैजान परमेश्‍‍वरले मानिसहरू खड़ा गर्नुभयो । शैतानले ती जिउँदा साक्षीहरूलाई नाश गर्न खोजे तापनि परमेश्‍‍वरले बार हालीदिनुहुन्थ्यो । अनि उनीहरूमध्ये कतिपयलाई उहाँकै महिमाका निम्ति उनीहरूको रगत साक्षी होस् भन्ने हेतुले शहीद पनि हुन दिइयो । तर यी दुई लूथर र मलांकथन जस्ता वीर पुरुषहरूले बाँचेरै पोपको मण्डलीका अगुवाहरू र राजाहरू समेतका पापहरूविरुद्ध घोर प्रतिवाद गरे । लूथरको आवाज सुनेर तिनीहरू सब लगलग काँप्थे । यी परमेश्‍‍वरबाट चुनिएका मानिसहरूद्वारै अन्धकारलाई भगाउँदै ज्योति छरिनथाल्यो अनि धेरै धेरैले सहर्ष ज्योतिलाई अपनाए र यसमा हिँड्‍नथाले । अनि तिनीहरूले एउटा साक्षीलाई मारिहाले भने पनि उसको सट्टामा दुईभन्दा बढ़ी साक्षीहरू खड़ा भइहाल्थे । 1BP 126.2

जत्ति नै कोशिश गर्दा पनि शैतान कहिल्यै सन्तुष्‍ट हुन सकेन, किनकि उसले मानिसको शरीरमाथि मात्रै प्रभुत्‍व जमाउनसक्‍यो, तर विश्‍‍वासीहरूको विश्‍‍वास र आशामाथिचाहिँ लेशमात्र पनि दखल गर्नसकेन । मरेर पनि धर्मीजनको बौरिउठाइमा अमर र अविनाशी जीवन पाउने ज्‍वलन्त आशा छँदैछ उनीहरूको । उनीहरूले परमेश्‍‍वरका ती हतियार भिरेर आत्मिक शत्रुहरूसित मात्रै होइन, तर ‘तेरो विश्‍‍वास त्याग्, नत्रभने मर्छस्’ भनी निरन्तर धम्की दिइरहने मानिसरूपी शैतानसित पनि लड्‍न उनीहरू तयार थिए । संसारको आधा भागले नै ख्रीष्‍टको नाम धारण गरे तापनि उहाँको नाउँको खातिर दुःख भोग्‍न डराउँछन्, तर त्यतिबेलाका ख्रीष्‍टियानहरू अति अल्प-संख्यक भए पनि उनीहरू परमेश्‍‍वरमा सामर्थ्यशाली र उहाँको दृष्‍टिमा अति बहुमूल्य थिए । जति मण्डलीमाथि सतावट आउँथ्यो त्यति नै ती विश्‍‍वासीहरू एकता र प्रेममा बद्ध हुन्थे । भ्रष्‍टाचारीहरू यसमा शामिल हुन पाउँदैन थिए, न ता ठग्‍ने र ठगिनेहरूले नै पाउँथे । ख्रीष्‍टको निम्ति सबै कुरा त्याग्‍ने र त्याग्‍न इच्छुकहरू मात्र उहाँका चेलाहरू हुन सक्थे । उनीहरू ख्रीष्‍टझैं दीन र नम्र थिए । 1BP 127.1