सन् १८४३ मा मैले परमेश्वरबाट यस्तो सन्देश आएको देखें, जुन सन्देशको उद्देश्य मानिसहरूलाई आत्मिक निद्राबाट जगाईकन पक्का निर्णयमा ल्याउनु थियो । त्यस बखत परमेश्वरका सेवकहरूमा आत्मिक जागृति आयो र उनीहरूले आफ्नो अभिमान, आफ्ना वेतन र आफ्ना गिर्जाघरहरूसमेत छोड़िराखेर परमेश्वरको सन्देश सुनाउँदै हिँड़े । तर उक्त स्वर्गीय सन्देशले ती ख्रीष्टका सेवक हौं भन्नेहरूमध्ये पनि थोरैभन्दा थोरैका मात्रै हृदयमा स्थान पाउन सकेकोले गर्दा अरुहरूलाई नै सो सन्देश-प्रचारको काम सुम्पिनपऱ्यो, जोहरूले कहिल्यै प्रचारको काम गरेका थिएनन् । कतिजनाले आफ्ना खेत-बारी छोड़ेर अनि कतिजनाले आफ्ना व्यापार-धन्धा छोड़ीवरी सन्देश-प्रचारको काममा लागे; यहाँसम्म कि कतिजना ता अत्यन्तै जरूरी काममा व्यस्त रहेकाहरू पनि आफ्ना काम-धन्धा छोड़ीकन उक्त पहिलो दूतको सन्देश प्रचार गर्ने काममा शामिल हुन बाध्य भए । मण्डलीका पदाधिकारीवर्गले पनि आफ्ना सङ्कीर्ण साम्प्रदायिक भावना तथा विचारधारालाई पर पन्छाईवरी ख्रीष्टको आगमनको प्रचार गर्ने काममा शामिल भए । जहाँ-जहाँ उक्त सन्देश पुग्यो त्यहाँका मानिसहरू त्यस सन्देशले कायल भए, रोई-रोई आफ्ना पापको पश्चात्ताप गर्दै क्षमा मागे र जस-जसले अर्कालाई लुटेका र धुतेका थिए, ती सब तिनीहरूले फिर्ता गरिदिए । आमा-बाबुहरूले आफ्ना छोराछोरीहरूका निम्ति गम्भीर चिन्तन गर्नथाले । जत्तिले त्यो सन्देश सुने र ख्रीष्टको आगमनका निम्ति तयार हुने आह्वानसहित चेतावनी पाए, उनीहरूले आफ्ना आत्मामा बोझ लिएर आफ्ना उद्धाररहित मित्रगण र आफन्तहरूलाई पनि सो सन्देश सुनाउन उद्यत भए । यस अभूतपूर्व जागृतिमूलक कार्यले मानिसहरूको मनलाई सांसारिक कुराहरूदेखि अलग गरी परमेश्वरका निम्ति अर्पित जीवन बिताउने अभिप्रेरणा दिएको थियो । विलियम मिलरद्वारा प्रचारित सुसन्देशलाई सुनेर हजारौं मानिसहरूले सत्यलाई अँगाले । साथै परमेश्वरका अन्य सेवकहरू पनि एलियाका शक्ति तथा आत्मामा उचलिएर त्यस स्वर्गीय सन्देश प्रचार गर्न प्रेरित भए । ती ख्रीष्टका अग्रदूत यूहन्नाझैं यो पवित्र सन्देश प्रचार गर्नेहरूले पनि विवश नै भईकन रूखको जरामा बञ्चरो उजाउँदै मानिसहरूलाई पश्चात्ताप लायकको फल फलाउन आह्वान एवम् उद्बोधन जनाउनुपऱ्यो । उनीहरूको जीवन-साक्षीले तिनताकका मण्डलीहरूलाई प्रभावित मात्र नपारेर तिनीहरूको सकली रूपलाई पनि दर्शाइदियो । जब उनीहरूले ती मानिसहरूलाई आउनेवाला क्रोधदेखि भाग्ने चेतावनी दिए, तब ती मण्डलीका धेरैले उक्त सन्देशलाई ग्रहण गरे र आफ्नो आत्मिक पतन देखेर परमेश्वरका सामु नम्र र दीन भई रोई-रोई पश्चात्ताप गरे । त्यसपछि परमेश्वरका आत्मा उनीहरूमा बास गर्नुभयो र उनै आत्माद्वारा उत्प्रेरित भएर उनीहरू पनि यसो भन्दै उच्च स्वरले कराउन थाले, “परमेश्वरको भय मान र उहाँलाई महिमा देओ, किनकि न्यायको घड़ी आइरहेछ !” 1BP 136.1
तर ख्रीष्टको दोस्रो आगमनबारे समय तोकेर प्रचार गर्दाहुँदि चाहिँ सबै स्तरका मानिसहरूबाट, अर्थात् मण्डलीका उच्च पदाधिकारीवर्गदेखि लिएर नीचभन्दा नीच मानिसहरूबाट पनि घोर विरोध हुनथाल्यो, अनि मण्डलीका ती कपटी पदाधिकारीहरूसँग सँगै अरु गिल्ला र ठट्टा गर्नेहरूका मुखबाट पनि यस्तो वाक्य सुनिनथाल्यो, “त्यो दिन र त्यो घड़ीको विषयमा कसलाई चाहिँ थाह छ र ?” ख्रीष्टलाई प्रेम गर्छु भन्ने ती मण्डलीका पदाधिकारीहरूले भने, “ख्रीष्टको आगमनको विषयमा प्रचार गऱ्यौ, त्यसमा हामी विरोध गर्दैनौं; तर त्यो दिन र समय तोकेकोमा चाहिँ हामी विरोध जनाउँछौं । अन्तर्यामी परमेश्वरले तिनीहरूका हृदयलाई जाँचेर बुझिसक्नुभएथ्यो । तिनीहरूले वास्तवमा ख्रीष्टलाई प्रेम गरेकै थिएनन् । तिनीहरूको ख्रीष्टविहीन जीवन त्यस जाँचमा खड़ा हुन नसक्ने कुरा तिनीहरू स्वयम्लाई थाह थियो, कारण तिनीहरू परमेश्वरको मार्गमा हिँड़ेकै थिएनन्, बरु तिनीहरू परमेश्वरको काममा बाधा मात्रै भएका थिए । 1BP 137.1
जब पवित्र आत्माको सामर्थ्यमा सत्यको सन्देश दिइन्थ्यो, त्यस बेला मानिसहरू ती झ्यालखानका हाकिमझैं कायल भएर भन्थे, “उद्धार (मुक्ति) पाउनालाई म के गरूँ ?” तर ती मण्डलीका गोठालाहरूले चिप्ला-चिप्ला कुराहरू गरी मानिसहरूलाई भुल्याएर सत्यदेखि वञ्चित गरिदिए अनि शैतानपट्टि नै लागेर भन्नथाले, “शान्ति ! शान्ति ! !” जब कि त्यहाँ शान्ति नै थिएन । तर परमेश्वरका दुतगणले ती सबको लेखा राखेका अनि ती उद्धाररहित गोठालाहरूका वस्त्रहरू पनि रगतले कलङ्कित भएका मैले देखें । ती सुखचैनमा बस्न चाहनेहरू र परमेश्वरदेखि टाढा रहेर पनि ढुक्कसँग जिउनेहरू पनि भोग-विलासमै मस्त भइरहे । धेरै मण्डलीमा पदाधिकारीहरू आफैले पनि त्यो उद्धारको सन्देशलाई ग्रहण गरेनन् र ग्रहण गर्न चाहनेहरूलाई पनि तिनीहरूले बाधा दिए । तिनीहरूको खूनको लेखा ती बाधकहरूबाट परमेश्वरले लिनुहुनेछ । ती मण्डलीका प्रचारकहरूले अरु मानिसहरूसँग मिलेर त्यो स्वर्गीय सन्देशको विरोध गर्दै वि॰ मिलरलाई सताए । उनमा जुन प्रभावकारिता थियो, त्यसलाई धमिल्याउन उनको विरुद्धमा झूटा-झूटा कुराहरू फैलाइए र कैयौंचोटी उनले परमेश्वरको दुइधारे तरवाररूपी वचन चलाउँदा सुन्नेहरू अत्यन्तै क्रोधित भए र सभा सकेपछि घर फर्कँदै गर्दा कतिले तिनलाई मार्न बाटो ढुके । तर परमेश्वरले उनलाई बचाउनुभयो, कारण उनको सेवाकार्य पूरा भएकै थिएन । 1BP 138.1
अरुले उक्त स्वर्गीय सन्देशलाई इन्कार गरे, तापनि कोही-कोही यस्ता श्रद्धालु भक्तहरू पनि त्यहाँ थिए, जसले त्यस सन्देशलाई बड़ो हर्ष र आनन्दसाथ ग्रहण गरे, किनकि त्यो सन्देश स्वर्गबाटै आएको भनेर उनीहरूलाई विश्वास थियो । उक्त सन्देशको प्रतिक्रियालाई स्वर्गीय दूतहरूले बड़ो उत्सुकतापूर्वक हेरिरहेका थिए । जब तिनताकका मण्डलीहरूले त्यस सन्देशदेखि आफ्ना कान फर्काए अर्थात् इन्कार गरे, तब निराश भएर उनीहरूले यो कुराका विषयमा ख्रीष्टसित छलफल गरे । त्यसपछि उहाँ ती मण्डलीहरूदेखि विमुख हुनुभयो; तर पनि उक्त स्वर्गीय सन्देशलाई इन्कार नगर्ने बाँकी कतिपय बहुमूल्य लोकहरूका रक्षाका निम्ति उहाँले आफ्ना दूतगण खटाउनुभयो, किनकि उनीहरूमाथि अर्को ज्योति चम्किनु बाँकी थियो । 1BP 139.1
मैले यस्तो देखें - यदि ती तथाकथित ख्रीष्टियनहरूले आफ्ना मुक्तिदाताको आगमनलाइ प्रिय मानेका भए, उहाँमै तन-मन लगाएका भए र संसारमा उहाँको तुलनामा आउन सक्ने अरु कुनै थोक रहेनछ भनी बुझेका भए उहाँको आगमनको विषयमा सुन्दैखेरि उनीहरू हर्षले उल्लसित हुनेथिए । तर उहाँको आगमनको विषयमा सुनेर त्यसरी विरोध जनाउनु नै उनीहरूले ख्रीष्टलाई प्रेम नगर्दारहेछन् भन्ने कुराको स्पष्ट प्रमाण थियो । त्यो देखेर शैतान र उसका दूतहरू रमाए, र ख्रीष्ट साथै उहाँका दूतगणलाई भन्नथाले, “उः, देख्यौ ता ! ख्रीष्टको दोस्रो आगमन भएको ता ख्रीष्टियानैहरूले पनि मन नपराउँदा रहेछन् ! अरुको ता के कुरा ?” तर पनि मैले चाहिँ परमेश्वरका खास जनहरूले प्रभु कहिले आउनुहुन्छ भन्दै बड़ो आशा र उत्सुकतासहित उहाँको बाटो हेरिरहेका देखें । तापनि परमेश्वरले उनीहरूलाई सप्रमाण बुझाउने मनसुबा राखीकन ती भविष्यवाणीका समयावधिको हिसाब लाउनमा भएको त्रुटिलाई आफ्नै हातले ढाकछोप गरिदिनुभएको मैले देखें । आफ्ना प्रभुको बाटो हेर्नेहरूले यो थाह पाएनन् अनि निर्धारित समयको सम्बन्धमा विरोध जनाउने अधिकांश शास्त्रविद्हरूले पनि त्यो त्रुटि भेट्नैसकेनन् । समय बित्दै जाँदा ख्रीष्टको पुनरागमनको बाटो हेरिरहेकाहरू निराश र हताश हुनुपऱ्यो, जबकि उहाँको आगमन भएको नचाहने तर डरले कि करले मात्रै त्यो स्वर्गीय सन्देशलाई स्वीकार गरिटोपल्नेहरू त्यो चिताइएको समयमा ख्रीष्ट नआउनुभएको देखेर खुशी भए । उनीहरूको केवल धर्म-अपनाइले उनीहरूको हृदयमा केही प्रतिक्रियात्मक काम भएको थिएन, अर्थात् उनीहरूको जीवनमा सुधारात्मक परिवर्तन आएकै थिएन । तर समयको पूर्णतासाथ साथै त्यस्ता अपरिवर्तित हृदय प्रकट हुँदै गयो । पछि पछि ता तिनीहरूले उहाँको आगमनको प्रतीक्षा गरिरहेका ख्रीष्टका लोकहरूलाई खिल्ली उड़ाउनथाले । परमेश्वरको बुद्धि कति अगम्य, जसले परीक्षाको घड़ीमा पछि हटेर पिठ्यूँ फर्काउनेहरूलाई जाँच गरेर पत्ता लगाउनुहुन्छ । 1BP 139.2
ख्रीष्ट साथै उहाँका दूतगणले उहाँको आगमनको उत्कट चाहनासाथ प्रतीक्षामा रहेका उहाँका प्रिय जनहरूलाई प्रेम र सहानुभूतिपूर्वक निहारिरहेका थिए । उहाँका जनहरूलाई परीक्षाको घड़ीमा सम्हाल्न परमेश्वरका दूतगण तैनाथ थिए । अनि त्यस स्वर्गीय सन्देशलाई खेलाँची मान्नेहरू अन्धकारमै रहे, त्यसमाथि पनि तिनीहरूमाथि परमेश्वरको क्रोधरूपी अग्नि सल्क्यो, कारण तिनीहरूले नै स्वर्गबाट पठाइएको ज्योतिलाई इन्कार गरेका थिए । तर ती विश्वासयोग्य जनहरू प्रभु किन निर्धारित समयमा आउनुभएन सो बुझ्न नसकेर निरूत्साह भए तापनि उनीहरू अन्धकारमा रहेनन् । उनीहरूले फेरि पनि बाइबल पल्टाएर भविष्यवाणीका समयावधिबारे खोजपूर्ण अध्ययन गर्नथाले । 1BP 140.1
उता शैतान र उसका दूतहरू खूब रमाइरहेका थिए । त्यो स्वर्गीय सन्देशलाई इन्कार गर्नेहरूले आपसमा यसो भन्दै बधाईको आदान-प्रदान गर्नथाले, “हामीले त्यो व्यर्थको भ्रममा मात्रै पार्ने कुरालाई स्वीकार नगरेर कति बुद्धिमानी काम गऱ्यौ; देख्यौ ता ?” तर तिनीहरूले परमेश्वरको सल्लाहलाई इन्कार गरेर आफ्नै खुट्टामा बञ्चरो हानेको पत्तो पाएनन् । तिनीहरूले शैतान र उसका दूतहरूसँग मिलेर स्वर्गबाट आएको सन्देशानुसार सकारात्मक काम गरिरहेका परमेश्वरका जनहरूलाई पनि अन्योल्याउनका लागि काम गरिरहेका तिनीहरू आफैलाई थाह भएन । 1BP 141.1
उक्त सन्देश प्रचार गरेकामै ती विश्वासीहरूलाई मण्डलीहरूबाट खेदो र अत्याचार हुनथाल्यो । केही समयसम्म ता तिनीहरूमा एक प्रकारको डर रह्यो, जसले गर्दा तिनीहरूको हृदयमा जे-जस्तो भावना भए पनि खुलेआम पोखाउन सकेनन्, तर समय बित्दै जाँदा तिनीहरूका मनका वास्तविक भावनाहरू प्रकट हुँदै गए । भविष्यवाणीका समयावधि सन् १८४४ सम्म बढ़ेको कुराको साक्षी दिन विश्वासीहरूले अनिवार्य ठाने तापनि ती विरोधीहरूले त्यस साक्षीलाई बन्द गराउने चेष्टा गरे । तरपनि विश्वासीहरूले आफ्ना भूलबारे तिनीहरूलाई स्पष्टीकरण दिँदै १८४४ मै प्रभु आउनुहुन्छ भनी आशा राखेको कारण बुझाए । त्यसपश्चात् ती विरोधीहरू निरूत्तर भए तापनि तिनीहरू रिसले आगो भए । तिनीहरूले ती विश्वासीहरूका कुरा सुन्दै नसुन्ने अनि अरूले पनि नसुनून् भनेर मण्डलीहरूमा बोल्नै नदिने मतो गरे । जतिले परमेश्वरले आफूलाई दिनुभएको त्यो दिव्य ज्योति अरूदेखिन् लुकाउन साहस गरेनन्, उनीहरू पनि मण्डलीबाट बहिष्कृत भए, तथापि प्रभुले उनीहरूलाई साथ दिईकन आफ्नो ज्योतिर्मय उपस्थितिमा आनन्दित तुल्याउनुभयो, र दोस्रो दूतबाट पनि सन्देश सुन्न उनीहरू तयार भए । 1BP 141.2