तिनताकका मण्डलीहरूले प्रथम दूतबाट त्यो ज्योतिको सन्देश अर्थात् भनौं स्वर्गबाटको त्यो दिव्य ज्योतिलाई इन्कार गरेर उनीहरू परमेश्वरको निगाहदेखि गिरे । उनीहरूले आफ्नै बुद्धि-बलमा निर्भर गरेर पहिलो सन्देशलाई इन्कार गरेकाले उनीहरू नै यस्तो स्थानमा पुगे, जहाँबाट उनीहरूले दोस्रो दूतबाट पनि ज्योतिको सन्देश सुन्न सक्तैन थिए, न ता त्यो ज्योति नै देख्न सक्थे । तर ती खेदो र अत्याचारमा पिसिएका परमेश्वरका प्रिय जनहरूले बेबिलोनको पतन भएको सन्देश सुनेर ती पतित मण्डलीहरूलाई त्यागिदिए । 1BP 143.1
दोस्रो दूतबाटको सन्देश पनि समाप्त हुँदा-नहुँदा मैले स्वर्गबाट सूर्य झैं चहकिलो ज्योति ती परमेश्वरका जनहरूमाथि चम्किरहेको र स्वर्गदूतहरू यसो भन्दै कराइरहेका शब्द सुनें, “हेर, दुलहा आइरहेछन्, उनलाई भेट्न निस्क !” त्यो मध्यरातमा दिइएको त्यो आह्वानको उद्देश्यचाहिँ दोस्रो दूतको सन्देशलाई पुष्टि गरेर अझ प्रभावशाली तुल्याउनु थियो । निरूत्साहित भएका सन्तगणलाई प्रोत्साहन दिएर उनीहरूलाई उक्त महान् कार्यका निम्ति तयार पार्नार्थ ती दूतहरू स्वर्गबाट पठाइएका थिए । यो कुरा पनि ज्ञातव्य रहनु प्रयोजन छ, कि उक्त सन्देशलाई सर्वप्रथम ग्रहण गर्नेहरू उच्च शिक्षित र विद्वान् थिएनन् । जो नम्र, दीन र परमेश्वरभक्त थिए, उनीहरूकहाँ नै स्वर्गदूतहरू पठाएर उनीहरूलाई यो बुलन्द आवाज दिने आदेश भयो, “हेर, दुलहा आइरहेछन्, उनलाई भेट्न निस्क !” उनीहरूले पनि पवित्र आत्माको सामर्थ्यद्वारा प्रेरित भएर त्यस बुलन्द आवाज फिजाउँदै गए, र निरात्साहित भएका सङ्गी-विश्वासीहरूलाई पुनः प्रोत्साहित तुल्याए । उक्त बुलन्द आवाज मानिसहरूका ज्ञान र बुद्धिमा होइन तर परमेश्वरको शक्तिमा आधारित थियो । त्यसैले परमेश्वरका खास जनहरूले त्यसको विरोध वा उल्लङ्घन गर्न सकेनन् । यो ‘हेर, दुलाहा आइरहेछन्, उनलाई भेट्न निस्क’ भन्ने बुलन्द आवाजलाई सर्वप्रथम ग्रहण गर्नेहरू साँच्चै आत्मामा मन लागाउनेहरू नै थिए, तर जस-जसले पहिले यस काममा नैतृत्व गरिरहेका थिए, उनीहरूचाहिँ सबभन्दा पछि भए । 1BP 143.2
देशको कुना-कुनामा उक्त दोस्रो दूतको सन्देश प्रसारित भएर त्यस बुलन्द आवाजले हजारौंका मनलाई पगालिछाड्यो । परमेश्वरको प्रतीक्षामा रहेका उहाँका प्रिय जनहरू पूर्णरूपले नब्यूँझुञ्जेल त्यो आवाज शहर-शहर र गाउँ-गाउँमा गुञ्जित भयो । धेरैले यो सन्देशलाई गिर्जाघरहरूमा प्रवेश नहोस् भनेर बाधा खड़ा गरे तापनि जिउँदो गवाही राख्ने असंख्यौं विश्वासी जनले ती पतित मण्डलीहरूलाई त्यागिदिए । भनौं, मध्यरातको त्यो बुलन्द आवाजले विस्तीर्ण जागृति ल्याएको थियो, किनकि त्यो आवाज हृदयलाई खोतली-खोतली जाँच्ने किसिमको थियो, र ती विश्वासीहरूले एक अर्कामाथि भरोसा गर्नु नहुने रहेछ भन्ने बुझेर आफ्नो आफ्नो जिउँदो गवाही र आत्मिक अनुभ कायम राख्दै आफू आफू तयार हुनथाले । उपवासका साथमा जागा रहँदै र निरन्तर प्रार्थना गर्दै आफ्ना प्रभुको प्रतीक्षामा रहनथाले । यहाँसम्म कि कतिपय उद्धाररहित मानिसहरूधरि डरले आकुल हुँदै उहाँको आगमनको घड़ीको बाटो हेर्नलागे, जब कि अरू-अरूले त्यस सन्देशको घोर विरोध गरे, जसबाट शैतानकै आत्मा त्यहाँ प्रकट भएको प्रतीत हुन्थ्यो । तिनीहरूले उक्त सन्देशसमर्थक विश्वासीहरूलाई गिल्ला गर्दै र हाँसोमा उड़ाउँदै भन्नलागे, “त्यो दिन र त्यो घड़ीको विषयमा कसलाई चाहिँ थाह छ र ?” त्यो सुनेर शैतानिक दूतहरू खूब रमाए र तिनीहरूको मन अझ कठोर बनाएर त्यो स्वर्गीय ज्योतिलाई इन्कार गराए, तर तिनीहरूलाई शैतानले आफ्नो जालमा फँसाएको थाहै भएन । धेरैले ‘हामी प्रभुको प्रतीक्षा गरिरहेछौं’ भने तापनि प्रभुसित तिनीहरूको कुनै भाग थिएन, तर तिनीहरूका आँखाले देखेका परमेश्वरको महिमा अनि प्रभुको बाटो हेर्ने विश्वासी जनका नम्रता एवम् गहन आध्यात्मिकता तथा ज्वलन्त गवाहीले गर्दा त्यस सत्यतालाई ग्रहण गर्न तिनीहरू विवश भए । वास्तवमा तिनीहरूको उद्धार (मुक्ति) भएकै भिएन । के तयार हुन्थे तिनीहरू ? पवित्र आत्माद्वारा ती सन्तगणलाई प्रार्थनाका निम्ति बोझ भयो । बड़ो उत्सुकतासाथ दूतगणले पनि ती सब दृश्यलाई निहारिरहेका थिए । अनि त्यो स्वर्गीय सन्देशलाई ग्रहण गर्नेहरू सबलाई माथि-माथि उठाउँदै मुक्तिको त्यो जलस्रोतबाट जिउँदो पानी पियाउन उनीहरूलाई सांसारिक थोकहरूदेखि आफूपट्टि खिँचिरहेका थिए । तब परमेश्वरले आफ्ना लोकहरूलाई ग्रहण गर्नुभयो । त्यस दृश्यलाई ख्रीष्टले पनि बड़ो आनन्दपूर्वक निहारिरहनुभएको थियो । उनीहरूमा उहाँको त्यो प्रतिरूप झल्किरहेथ्यो । अनि उनीहरूले आफ्ना मरणहार शरीर अमर र अविनाशी शरीरमा परिणत हुने त्यो आशाले सम्पूर्ण रूपले आफ्ना जीवन बलिदान गरेका थिए । तर उनीहरूले प्रतीक्षा गरेको त्यो दिन र त्यो घड़ी बितेर गइसक्दा पनि पृथ्वीमै रहनुपर्दा उनीहरूको आशा फेरि निराशामा परिवर्तित भयो। हो, उनीहरूले स्वर्गीय कुरामा मन लगाएर त्यो मीठो आशा र प्रत्याशामा बाँचीकन अनन्त उद्धारको मिठासलाई चाखेका थिए, तर पनि उनीहरूले सोचेजस्तो चाहिँ भएन । तैपनि मानिसहरूका हृदयमा जुन भय पसीकन रहेको थियो, त्यो हत्तपत्त हराएन। त्यसैले ती हतोत्साहित विश्वासीहरूलाई पनि तिनीहरूले ‘खोइ त तिमीहरूले भनेको समयमा प्रभु आएको ?’ भन्दै शब्दबाण प्रहार गरिहालेनन् । तर जबचाहिँ प्रभु परमेश्वरको क्रोध प्रकट रूपमा तिनीहरूले देखेनन्, तब तिनीहरूका मनदेखिन् डर सब हरायो र फेरि ती विश्वासीहरूमाथि गिल्ला र निन्दारूपी बाणहरू प्रहार गर्नथाले । अनि ती विश्वासीहरू जसले पूर्ण विश्वाससाथ प्रभु त्यस घड़ीमा आउनुहुनेछ, अनि मरेकाहरूलाई बिउँताईकन अमर सन्त बनाउनुहुनेछ र सदा सर्वदाका लागि राज्य आफ्नो हातमा लिई अधिकारी बन्नुहुनेछ भनी सम्झेका थिए, उनीहरूले आफैलाई प्रभुका ती अनभिज्ञ चेलाहरू तुल्य पाए, जसले भनेका थिए, “उनीहरूले मेरा प्रभुलाई लगेर खोइ कहाँ राखे, मलाई ता थाह भएन ।” 1BP 144.1