यस पृथ्वीतलमा भइरहेको काम विषयमा सम्पूर्ण स्वर्गले कति चासो लिएको रहेछ सो मलाई देखाइएको थियो । त्यसैले ख्रीष्टले पनि पृथ्वीवासीहरू उहाँको दोस्रो आगमनको निम्ति तयार होऊन् भनेर उनीहरूलाई चेतावनी दिन एकजना सामर्थी दूतलाई खटाउनुभयो । त्यसपछि मैले ती सामर्थी दूतलाई स्वर्गदेखि पृथ्वीतर्फ प्रस्थान गर्दैगरेका देखें । उनको अगिअगि एक अत्यन्तै उज्ज्वल र महिमित ज्योति थियो । मसँग भएका दूतले भने, ‘यिनको कामचाहिँ पृथ्वीलाई आफ्नो ज्योतिले उज्ज्वल पार्नु र मानिसलाई आउनेवाला परमेश्वरको क्रोधबारे चेतावनी दिनु हो ।’ कैयौँ-कैयौँ मानिसहरूले त्यस ज्योतिलाई ग्रहण गरे । कोही कोही एकदमै गम्भीर देखिँदैथिए भने अरू सब ज्यादै खुशी र आह्लादित थिए । ती सबमाथि ज्योति छरिएको थियो, त्यही ज्योतिको प्रभावले आकृष्ट भएरै कतिजना आएका थिए, तर हृदयले भने तिनीहरूले ग्रहण गरेकै थिएनन् । जतिले ग्रहण गरेका थिए, उनीहरू सबका चेहरा माथि स्वर्गतिर फर्केर परमेश्वरलाई महिमा दिइरहेका थिए । त्यो देखी धेरैजना क्रोधले आकुल भए । मण्डलीहरूका पदाधिकारी सेवकहरू र अन्य मानिसहरू नीच र दुष्टहरूसँग मिलेर ती सामर्थी दूतबाट छरिएका ज्योतिको घोर विरोध गरे । तर जतिले त्यस ज्योतिलाई ग्रहण गरे, उनीहरू सब संसारदेखि फर्केर ज्योतिको सङ्गतिमा शामिल भए । 1BP 155.1
अर्कापट्टि शैतान र उसका दूतहरू यथाशक्य सबको मनलाई ज्योतिदेखि आफूतिर खिँच्ने प्रयासमा व्यस्त थिए । अनि ज्योतिलाई नकार्ने झुण्डचाहिँ अन्धकारमै छोड़िए । मैले यो पनि देखें, कि ती दूतले हामी परमेश्वरका लोक हौं भन्नेहरूका क्रिया-कलापका लेखा राख्नलाई बड़ो ध्यानपूर्वक उनीहरूलाई हेरिरहेका थिए, किनकि स्वर्गबाटै आएको सन्देशको उनीहरूलाई जानकारी दिइएकै थियो । अनि हामी ख्रीष्टलाई प्रेम गर्छौं भन्नेहरूमध्ये पनि धेरैभन्दा धेरैले त्यस स्वर्गीय सन्देशलाई लात मारेर उनीहरू नै विरोधी भई गिल्ला, उपहास र निन्दा गर्नपट्टि लागेका हुनाले एकजना स्वर्गदूतले हातमा चर्मपत्र लिएर त्यो सब लेखेर राखे । त्यसरी ‘हामी ख्रीष्टका अनुयायी हौं’ भन्नेहरूले ख्रीष्टकै अपमान गरेकोमा सम्पूर्ण स्वर्ग क्रोधित भयो । 1BP 155.2
अर्कोपट्टि, प्रभुमा भरोसा राख्नेहरूले चिताएको समयमा प्रभुलाई भेट्न नपाउँदा उनीहरू हतोत्साह भएका पनि मैले देखें । भविष्यको कुरालाई छिपाउनु अनि आफ्ना लोकलाई निष्कर्षमा पुऱ्याउनु परमेश्वरको आफ्नो मनसा थियो । विना नियत समय परमेश्वरद्वारा परिकल्पना गरिएका कार्यहरू पनि पूरा भएका थिएनन् । शैतानले धेरैभन्दा धेरैका मनमा यो कुरा ता धेरै टाढाको कुरा हो भन्ने विचार ल्याएको थियो । ख्रीष्टको प्रकट हुवाइको एउटा नियत समय हुनुपर्छ, जस विषयमा प्रचार गर्दा मानिसको मन अहिल्यै तयार हुन आतुरियोस् । जब त्यो चिताइएको समय बित्यो, तब त्यस स्वर्गीय ज्योतिलाई पूर्णरूपले ग्रहण नगर्नेहरूले त्यो स्वर्गीय सन्देशलाई नकार्नेहरूसँग एक भएर ती हतोत्साहित भएकाहरूलाई खिसी-टिउरी र उपहास गर्नथाले । त्यो देखी स्वर्गदूतहरूले ख्रीष्टसँग कुरा गरिरहेका मैले देखें । अनि उनीहरूले ती सब हेरेर लेखेर राखे । जतिपल्ट तोकिएको समय बित्यो, त्यतिपल्टै तिनीहरूलाई जाँचेर प्रमाणित गरिसकिएको थियो, अनि धेरैभन्दा धेरैलाई तराजुमा हालेर तौलिँदा कमी नै पाइयो । ती सबले नै हामी ख्रीष्टियान हौं भनी जोरतोरले ठोकुवा दिए तापनि कार्यरूपमा चाहिँ प्रायः कुनै कुरामा उनीहरू ख्रीष्टका पछि लाग्नसकेका थिएनन् । तिनीहरूको त्यो असफलता देखेर शैतान रमायो । उसले ता तिनीहरूलाई आफ्नो जालमा हालिसकेको थियो । उसले धेरैभन्दा पनि धेरैलाई सीधा र सत्य मार्गदेखि भड्काइदिएकोले तिनीहरू अर्कै बाटो भई स्वर्गमा चढ्ने वृथा प्रयास गरिरहेका थिए । स्वर्गदूतहरूले सियोनमा हेरिपठाउँदा त्यहाँ शुद्ध र पवित्र सन्तगणका साथमा पापीहरू साथै संसारप्रेमी कपटीहरू पनि मिसिन पुगेका देखे । उनीहरूले ख्रीष्टका वास्तविक प्रेमीहरूमाथि दृष्टि लगाइहेर्दा ती भ्रष्ट र दुष्टहरूले पवित्र जनहरूलाई पनि बिगार्न लागेका देखे । 1BP 156.1
ख्रीष्टलाई भेट्ने उत्कट चाहना भएकाहरूलाई पनि आफ्नै संङ्गी-विश्वासी दाजुभाई भनाउँदाहरूले ख्रीष्टको आगमनबारे बोल्ने दिएनन् । स्वर्गका दूतगणले यी सब दृश्य हेरे र ख्रीष्टको आगमनलाई प्रिय मान्ने बाँकी जनमाथि सहानुभूति प्रकट गरे । त्यसपछि ख्रीष्टले अर्को एकजना दूतको हातमा एउटा लिखित पत्र थमाईवरी पृथ्वीतल पठाउनुभयो, अनि तिनी पृथ्वीमा आउनासाथ यसो भन्दै कराउनथाले, “बेबिलोनको पतन भो ! पतन भो !!” तब अघि हतोत्साह भएकाहरू फेरि हँसिला अनुहार पार्दै आफ्ना आँखा स्वर्गतिर उचाले - कतै ख्रीष्ट प्रकट हुँदैहुनुहुन्छ कि भन्ने विश्वासभरि आशा लिएर । तर उनीहरूमध्ये पनि धेरैजना त्यतिञ्जेल पनि निद्रामा परे झैं निष्क्रिय अवस्थामा देखिए र उनीहरूको चेहरामा पनि देखिँदै थिए - गम्भीर सन्तापका साङ्केतिक धर्साहरू । अघि ती निरूत्साहित भएकाहरूले पवित्रशास्त्रबाट हेरिहेर्दा हामी ता प्रतीक्षाको समयाविधिभित्र रहेछौं, र अझै पनि दर्शन पूरा नभइञ्जेल धैर्यसाथ पर्खनुपर्नेरहेछ भन्ने बुझे । 1BP 157.1
ख्रीष्टियानकै नाम धारण गरेर ती हतोत्साहित भएका प्रभुका आगमन-प्रेमी विश्वासीहरूलाई गिल्ला र उपहास गर्नेहरूलाई दूतगणले हेरिरहेका थिए । जब ती गिल्ला गर्नेहरूका मुखबाट ‘खोइ, तिमीहरू अझै पनि स्वर्ग गएका छैनौ ?’ भन्ने शब्दबाण निस्क्यो, तब एकजना दूतले ‘यो चाहिँ तिनीहरूले परमेश्वरलाई नै गिल्ला गरेका हुन्’ भन्दै ती सब लेखेर राखे । 1BP 158.1
त्यसपछि मलाई एलियाह (जिउँदै) स्वर्गमा उठाइएको घटनापट्टि लगेर देखाइयो । एलियाहको आत्मा एलिशामाथि परेको थियो । एकदिन जब शहरका बदमाश ठिटाहरूले एलिशालाई, ‘ए तालुखुइले, जाऊ ! ए तालु खुइले, जाऊ !’ भन्दै गिज्याए, तब त्यसरी परमेश्वरलाई गिल्ला गरेकोमा तिनीहरूले त्यहीँ दण्ड पाए । तिनीहरूलाई तिनीहरूकै बाबुआमाले त्यस्तै सिकाई पठाएका थिए । त्यसैगरी जतिले परमेश्वरका सन्तगणलाई गिल्ला गरे, तिनीहरूमाथि परमेश्वरले अवश्य विपत्ति ल्याउनुहुनेछ, तब मात्रै तिनीहरूले परमेश्वरलाई ठट्टामा उड़ाउनुचाहिँ खेलाँची छैन रहेछ भनी थाहा पाउनेछन् । 1BP 158.2
तत्पश्चात् प्रभु ख्रीष्टले नै आफ्ना लोकको शिथिल हुनलागेको विश्वासलाई पुनजार्गृत गराई उनीहरूलाई स्थिर पार्न अनि दोस्रो दूतको सन्देश बुझ्न र चाँड़ै हुनेवाला स्वर्गयात्राका निम्ति तयार पार्नालाई अरू दूतहरू पनि पठाउनुभयो । ती दूतहरूले ख्रीष्टबाट ठूलो शक्ति र ज्योति पाएर दोस्रो दूतलाई सहयोग गर्ने आफ्ना काम पूरा गर्न उनीहरू वेगले उड़ेर आए । केही क्षणमा परमेश्वरका जनहरूमाथि ज्योति चम्क्यो । त्यसैबेला दूतहरू यसो भनी कराउनथाले, “हेर दुलहा आइरहेछन्; उनलाई भेट्न निस्क !” तब मैले अगि हतोत्साह भएकाहरूलाई जुरूक्क उठेर उनीहरू पनि ती दोस्रो दूतसँग स्वरमा स्वर मिलाएर यसै भन्दै कराइरहेका देखे, “हेर, दुलहा आइरहेछन्; उनलाई भेट्न निस्क !” दूतगणको ज्योतिले चारैतिरको अन्धकारलाई बढ़ारिरहेको थियो । अर्कापट्टि शैतान र उसका दूतहरूले त्यो ज्योति नफैलियोस् भनेर बाधा हालिरहेका थिए । तिनीहरूले परमेश्वरका दूतगणसित यसो भनी बहस गर्नथाले, “परमेश्वरले ता यी मानिसहरूलाई धोकामा पार्दैछन् । यी सब तिमीहरूका ज्योति र शक्तिद्वारा कहिल्यै पनि मानिसहरूलाई ख्रीष्टको आगमन हुँदैछ भनेर विश्वास गराउन सक्दैन, बुझ्यौ ?” तर पनि परमेश्वरका ती दूतगणले आफ्ना काम छोड़ेनन्, यद्यपि शैतानले बाधा हाल्दै मानिसहरूलाई ज्योतिदेखि भड्काइदिन खोजिनै रहेको थियो । साँच्चिनै ज्योतिले ग्रहण गर्नेहरू आनन्दित देखिए अनि उनीहरूले स्वर्गतिर आफ्ना आँखा उठाएर ख्रीष्टलाई भेट्न इच्छा गरिरहेका थिए । अनि कतिचाहिँ घोर सन्तापमा परेर विलाप गर्दै पुकारा गरिरहेका थिए, र अधोमुख लगाएर उँभोतिर हेर्न सहासै गरेका थिएनन् । केही क्षणपछि स्वर्गबाट एउटा ज्योति आईकन तिनीहरू वरिपरिको अन्धकारलाई भगाइदियो र एकाएक तिनीहरूका चेहरामा आनन्दलहरी छायो र तिनीहरू पनि कृतज्ञता र स्वर्गीय आनन्दले भरिएर उँभोतिर हेर्नथाले । 1BP 158.3
पहिलो दूतबाटको ज्योतिलाई विरोध गर्नेहरूले दोस्रो दूतको ज्योतिलाई पनि गुमाए गुमाए, त्यतिमात्र नभएर ‘हेर, दुलहा आइरहेछन् .....’ भन्ने सन्देशमा भएको स्वर्गीय शक्ति र महिमादेखि पनि तिनीहरू वञ्चित हुनुपऱ्यो । तिनीहरूलाई ख्रीष्टले परपरै तर्काउनुभयो, किनभने तिनीहरूले पहिला उहाँलाई नकारेर अपमान गरेका थिए । जतिले ज्योति अर्थात् सन्देशलाई ग्रहण गरेका थिए, उनीहरूलाई महिमाको बादलले ढाकेर राखेको थियो । उनीहरूले परमेश्वरको भय मानेर उहाँको बाटो हेर्दै जागा रही उहाँको इच्छा बुझ्न प्रार्थना गर्दै रहे । अनि मैले देखें, कि शैतान र उसका दूतहरूले ती परमेश्वरका जनदेखि पनि त्यो दिव्य ज्योतिलाई छेल्नु सकेभर कोशिस नगरेको थिएन, तर प्रभुको प्रतीक्षा गर्ने ती ज्योतिप्रेमीहरूले जबसम्म येशूतिरै आँखा उठाइरहे तबसम्म उनीहरूमाथि शैतानको केही सीप चलेन । स्वर्गबाटको त्यो सन्देशले शैतान र उसका दूतहरू क्रोधित भए, र ती ख्रीष्टियान हौं भन्नेहरूलाई चलाए, जसले ‘हामी ख्रीष्टलाई प्रेम गर्छौं’ भन्थे तर उहाँको आगमनको कुरालाई मान्दैन थिए र तिनीहरूले उहाँको आगमनप्रेमीहरूलाई गिल्ला र निन्दा गर्थे । तर एकजना दूतले तिनीहरूले गरेका गिल्ला, निन्दा, अपमान इत्यादि लेखेर राखे । धेरै-धेरैजनाले ‘हेर, दुलहा आइरहेछन्’ भन्ने बुलन्द आवाज उठाए, र ख्रीष्टको आगमनलाइ प्रिय नमान्नेहरू र उहाँको दोस्रो आगमनको विषयमा कुरै गर्न नदिनेहरूको सङ्गतिलाई छोड़िदिए । ख्रीष्टले पनि तिनीहरूदेखि आफ्नो मुण्टो फर्काउनुभयो, जसले उहाँको आगमनको कुरालाई इन्कार गरे, र आफ्ना लोकहरूलाई पनि तिनीहरूले बिगार्ने बेर लाउँदैनन् भनेर तिनीहरूदेखि अलग गर्न स्वर्गदूतहरूलाई अह्राउनुभयो । तब ती ज्योतिर्मय सन्देशका आज्ञाकारी विश्वासीहरू स्वतन्त्र भई एकत्रित भए । उनीहरूमाथि एक दिव्य ज्योति चम्किरहेथ्यो । उनीहरूले संसारलाई र त्यसको मोहलाई परित्याग गरेर सब बलिदान गरेका थिए; यहाँसम्म कि संसारका सम्पति पनि त्यागेर तन-मन दिई आफ्ना प्रिय उद्धारकर्तालाई भेट्न उत्कट चाहना लिएर आफ्नाआँखा स्वर्गतिर उठाइरहे । उनीहरूका चेहरामा देखा परेका अलौकिक आनन्दलहरीले उनीहरूको अन्तः करणमा पनि बास गरेका शान्ति र आनन्दको लक्षण देखाइरहेको थियो । त्यसपछि फेरि ख्रीष्टले आफ्ना दूतहरूलाई आफ्ना लोकहरूकहाँ पठाईकन उनीहरूलाई स्थिर गर्न लाउनुभयो, कारण फेरि उनीहरूको जाँचको समय आउँदै थियो । किनभने उनीहरू जति खारिनुपर्ने, त्यतिको खारिएकै थिएनन् अर्थात् कतिपय भूल-भ्रान्तिहरू उनीहरूबाट पूर्णतः गएकै थिएनन् । मैले देख्दाहुँदि पृथ्वीका मानिसहरूलाई बारम्बार सन्देश पठाई-पठाई उनीहरूले आफैलाई जाँचून्, र मूर्तिपूजकहरू साथै पोपका मण्डलीका परम्परागत भूल-भ्रान्तिलाई फालिदिऊन् भनी चेतावनी दिइरहनुमा परमेश्वरको कत्रो दया र शुभेच्छा रहेछ, बुझिन्छ । यिनै सन्देशहरूद्वारा ती ठाउँहरूबाट परमेश्वरले आफ्ना लोकहरूको उद्धार गर्दै आउनुभयो, जहाँ जहाँ उहाँले आफ्नो महान् शक्ति प्रयोग गरेर काम गर्न पाउनुभयो र जहाँ-जहाँ उनीहरूले उहाँका आज्ञा पालन गर्न सके । 1BP 159.1