त्यसपछि फेरि मैले ती परमेश्वरका जनहरूलाई उनीहरूले चिताएको समयमा प्रभुलाई नदेख्दा हतोत्साहित अवस्थामा देखें । ‘किन प्रभु अझै आउनुभएन ? के अझै भविष्यवाणी गरिएको समय पूरा भएन ?’ इत्यादि प्रश्न गर्दै उनीहरू छक्कै परिरहेका थिए । तब एकजना दूतले भने, “के परमेश्वरको वचन विफल भएको छ र ? के परमेश्वरले आफ्ना प्रतिज्ञा पूरा गर्न असमर्थ हुनुभयो र ? होइन, उहाँले आफ्ना प्रतिज्ञा अक्षरशः पूरा गर्नुभयो” जब ख्रीष्ट बौरी उठ्नुभयो, तब उहाँले स्वर्गीय पवित्रनिवासभित्रको त्यो पवित्रस्थानको ढोकाचाहिँ बन्द गरेर परमपवित्र स्थानको ढोका खोलीकन सिङ्गै पवित्र निवासलाई शुद्ध पार्न उहाँ त्यहाँ पस्नुभयो । फेरि दूतले भने, “जस-जसले धैर्यसाथ उहाँको प्रतीक्षा गर्छन्, उनीहरूले अवश्यै यो रहस्य बुझ्नेछन् । मानिस पो भ्रमित छ ता; परमेश्वरबाट ता केही त्रुटि भएको छैन । परमेश्वरले प्रतिज्ञा गर्नुभएजति ता सब पूरा भए; तर मानिसले पृथ्वीलाई पो त्यो भविष्यवाणी-निर्धारित समय पूरा भएर शुद्ध पारिने पवित्र निवास सम्झ्यो । मानिसले चिताएका कुराहरू विफल भए तापनि परमेश्वरको प्रतिज्ञा चाहिँ कदापि विफल हुन्न ।” त्यसपछि मैले के देखें भने प्रभु येशूले ती हतोत्साहित भएका सन्तगणलाई पथ-दर्शन गरी त्यो परमपवित्र स्थानपट्टि उनीहरूका मनलाई डोऱ्याउन आफ्ना दूतगण पठाउनुभयो, जुन परमपवित्र स्थानमा उहाँ पवित्र निवासलाई शुद्ध पार्न र इस्राएलका निम्ति एक विशेष प्रायश्चित्तको बलिदान चढ़ाउन जानुभएथ्यो । प्रभु येशूले आफ्ना दूतगणलाई भन्नुभयो, “जत्तिले मलाई पाएका छन्, उनीहरू सबले मैले पूरा गर्नुपर्ने कामहरू बुझ्नेछन् ।” ख्रीष्ट त्यो परमपवित्र स्थानमै हुनुहुँदा उहाँको विवाह नयाँ यरूशलेमसित हुनेछ अनि जब परमपवित्र स्थानमा गर्नुपर्ने उहाँको सेवाकार्य पूरा भइसक्छ, तब यहाँ राजा भईकन पृथ्वीमा ओर्लनुहुनेछ र धैर्यसाथ उहाँको प्रतीक्षा गर्ने प्रिय जनहरूलाई लैजानुहुनेछ भन्ने मैले दर्शन पाएँ । 1BP 162.1
त्यसपछि भविष्यवाणी-निर्धारित समयावधि १८४४ मा पूरा भएपछि स्वर्गमा घटेका घटनाक्रमको मलाई दर्शन भयो । मैले यस्तो देखें - जब पवित्र स्थानमा ख्रीष्टको सेवाकार्य सिद्धिएपश्चात् उहाँले त्यस कोठाको ढोका बन्द गर्नुभयो, तब तिनीहरूमाथि घोर अन्धकार छायो, जसले उहाँको आगमनको विषयमा सुनेर पनि त्यस सन्देशलाई नकारे । त्यसपछि तिनीहरूले उहाँलाई देख्नै छोड़े । 1BP 163.1
त्यसपश्चात् प्रभु येशूले अनमोल रत्नजड़ित पोशाक पहिरनुभयो, जसको विवरण यस प्रकार छ: उहाँको पोशाकको मनिल्लो फेरोमा एक-एकवटा घण्टी र एक-एकवटा दारिम मिलाएर झुम्का बनाइएको थियो । उहाँको काँधदेखि सिपालु शिल्पकारले बनाएको छाती-पाटा झुन्डेको थियो र उहाँ यता-उता चल्नुहुँदा त्यो हीरा झैं टल्किरहेथ्यो । अनि त्यसमा हीरा जड़ित अक्षरहरूले नामहरू लेखिए झैं देखिँदैथियो । जब उहाँले शिरमा मुकुट जस्तै केही पहिरनुभएको देखेथें, तब उहाँका वरिपरि स्वर्गदूतहरू आए अनि उहाँ एउटा ज्वालामय रथमा चढ़ेर दोस्रो पर्दाभित्र जानुभयो । त्यसपश्चात् मलाई दूतले त्यो स्वर्गीय पवित्र निवासका दुई कोठाहरूलाई ध्यानपूर्वक हेर्न लगाए । त्यहाँ एउटा पर्दा र एउटा ढोका खुल्ला थियो र मलाई त्यहाँ पस्ने अनुमति पनि मिल्यो । पहिलो कोठामा मैले सातवटा दियाहरू भएको एउटा चहकिलो र शानदार देखिने सामदान, त्यसका साथमा भेटीका रोटी राखिएको टेबल, धूपवेदी र धूपदानी देखें । त्यस कोठामा सजाइएका जति पनि सर-सामग्रीहरू निखुर सुनकै थिए र ऐनामा झैं प्रतिविम्वहरू झल्किरहेका देखिए । दुई कोठाको बीचको पर्दा पनि त्यतिकै शानदार थियो । त्यो विभिन्न रङ र बुट्टाहरूले सुसज्जित थियो, जसको पारी (किनारा)-मा करूबका सुनजड़ित नक्साका बुट्टाहरूले गर्दा खूबै सुन्दर देखिन्थ्यो । त्यसपछि त्यो पर्दा पनि उठ्यो, र मैले अर्को कोठा भित्र पनि हेरें । त्यहाँ मैले एउटा सन्दूक देखें । त्यो पनि खाँटी सुनको जस्तै नै थियो । त्यस सन्दूकको माथि माथिका बिटहरूमा वरिपरि निपुण शिल्पकारले सुन्दर ढङ्गमा मुकुटहरूको आकारका बुट्टाहरू हानेका थिए । उक्त सन्दूकभित्र दश आज्ञाहरू भएका ढुङ्गाका पाटीहरू थिए । सन्दूकका दुइतिर सुन्दर करूबहरूले सन्दूकमाथि पखेटा फिँजाएका थिए । तिनीहरूका पखेटा परस्परमा छोएर सन्दूकको छेउमा उभिरहनुभएको प्रभु येशूको शिरमाथि उठाएर ढाकिरहेका थिए । तिनीहरूका अनुहार आमनेसामने पारेर तल्तिर सन्दूकपट्टि नै हेरिरहेका देखिए, मानौं स्वर्गीय दूतगणले बड़ो उत्सुकतासाथ परमेश्वरको व्यवस्थालाई नियालेर हेरिरहेका थिए । ती करूबहरूका बीचमा एउटा सुनको धूपदानी थियो । सन्तगणले विश्वाससाथ गरेको प्रार्थना माथि ख्रीष्टकहाँ पुगिरहेको थियो, र त्यो प्रार्थनालाई उहाँले सुगन्धित धूपको रूपमा पिताकहाँ अर्पण गर्दैहुनुहुन्थ्यो । त्यस धूपबाट औधि सुन्दर रङको धुवाँ उड्दैगरेको मैले देखें । सन्दूकको सामने ख्रीष्ट उभिनुभएको माथिपट्टि मैले अत्यन्तै उज्ज्वल महिमा देखें, जसलाई मैले एक झलक मात्रै हेर्नसकें; नियालेर हेर्नै सकिनँ । झट्टै हेर्दा त्यो चाहिँ परमेश्वर स्वयम् विराजमान हुनुभएको सिंहासन जस्तो लाग्यो । जब-जब त्यो धूप माथि पिताकहाँ पुग्थ्यो, तब अत्युत्तम स्वर्गीय महिमा पिताको सिंहासनदेखि ख्रीष्टकहाँ पुगेको अनि त्यो महिमा ख्रीष्टले ती सन्तगणमाथि बर्साउनुभएको मैले देखें, जसको प्रार्थन सुगन्धित धूप भई माथि पुगेको थियो । यति उज्ज्वल ज्योति र यति प्रशस्त महिमा ख्रीष्टमाथि बर्सिरहेको र कृपा-आसनलाई ढाकी मन्दिरै परमेश्वरको अपार महिमाले भरिरहेको मैले देखें, जसको वर्णन गर्ने कुनै भाषै छैन । मैले त्यस दृश्यलाई धेरै बेरसम्म हेर्न नसकी दङदास भएर म फर्कें । 1BP 163.2
त्यसपछि मलाई पृथ्वीमै भएको पवित्र निवासस्थानको दर्शन भयो । त्यसका पनि दुवै कोठा थिए । अर्थात् जस्तो स्वर्गमा देखेथें त्यस्तै । दूतले मलाई भने, “यो चाहिँ पृथ्वीमा भएको पवित्र निवासस्थान हो ।” यो पनि स्वर्गीय पवित्र निवासस्थानको पहिलो कोठामा जे-जस्ता सर-सामग्रीहरू देखेथें, ठीक त्यस्तै पृथ्वीको पवित्र निवासस्थानको पहिलो कोठामा देखें । त्यसपछि बीचको छेक्ने पर्दा उघारियो, र मैले त्यहाँको परमपवित्र स्थानभित्र हेरें, अनि त्यहाँ पनि ठीक त्यस्तै किसिमका सर-सामग्रीहरू देखें, जस्तो माथि स्वर्गीय पवित्र निवासस्थानको परमपवित्रस्थानमा देखेथें । पार्थिव पवित्र निवासस्थानका दुवै कोठामा पूजाहारीहरूले सेवा गर्थे । पहिलो कोठामा पूजाहारीले दिनहुँ सेवा गर्थे भने परमपवित्र स्थानमा प्रधान पूजाहारी वर्षमा एकैपल्ट उनीहरूले गरेको पापदेखि त्यसलाई शुद्ध पार्न पस्थे । ख्रीष्टले पनि त्यो स्वर्गीय पवित्र स्थानका दुवै कोठामा सेवाकार्य गर्नुभएको मैले देखें । तर भिन्नता चाहिँ यसैमा छ, कि उहाँले चाहिँ आफ्नै रगत लिएर स्वर्गीय पवित्र निवासस्थानमा प्रवेश गर्नुभयो । पार्थिव पवित्र निवासस्थानका पूजाहारीहरू मरेर गए, तर ख्रीष्ट सदा सर्वदाका पूजाहारी हुनुभयो । 1BP 165.1
कलभरीको त्यो क्रूसमाथि पनि जब उहाँले, ‘अब पूरा भयो’ भनीवरि प्राण-त्याग गर्नुभयो, तब मन्दिरको पर्दा टुप्पादेखि फेदैसम्म दुई फ्याक भएर च्यातियो । त्यसको मतलबचाहिँ अब पृथ्वीमा भएको त्यो पवित्र निवासस्थानको सेवा सधैंको लागि पूरा भयो र अबोप्रान्त बलिदानहरू ग्रहण गर्न परमेश्वरले त्यो पार्थिव मन्दिरमा उनीहरूसित भेट गर्नुहुनेछैन भन्ने थियो । त्यहाँ त ख्रीष्टको आफ्नै रगत बगेको थियो, जुन रगत लिएर उहाँ स्वयम्ले त्यो स्वर्गीय पवित्र निवासस्थानमा सेवा गर्नुपरेको थियो । जसरी ती प्रधान पूजाहारीहरू पार्थिव पवित्र निवासस्थानको शुद्धिकरणका निम्ति वर्षमा एकपल्ट महापवित्र स्थानमा पस्दथे, त्यसरी नै ख्रीष्ट येशू पनि हाम्रा मध्यस्थ बन्न र स्वर्गीय पवित्र निवासस्थानको शुद्धिकरणका निम्ति दानियलको भविष्यवाणी (८:१४) अनुसार २३०० (दुई हजार तीन सय) दिन पूरा हुँदा अर्थात् १८४४ मा स्वर्गीय परम पवित्रस्थानमा प्रवेश गर्नुभयो । 1BP 166.1