त्यसपछि मैले एउटा झुण्डलाई देखें, जो सतर्क र विश्वासमा स्थिर भएर आफ्नो विश्वासलाई खल्बलाएर मण्डलीमा फूट र अस्थिरता ल्याउने कुराहरूलाई हेर्दैन थिए । परमेश्वर पनि उनीहरूसँग प्रसन्न हुनुहुन्थ्यो । त्यहाँ मैले तीनवटा खुड्किलाहरू देखें, जुनचाहिँ पहिलो, दोस्रो र तेस्रो दूतका सन्देशहरू थिए । दूतले भने, “जसले यी सन्देशहरूलाई बाधा दिन्छ वा विरोध गर्छ त्यो श्रापित होस् ! यी सन्देशहरू सबैले ठीकसँग बुझ्नु अति आवश्यक छ, किनकि तिनीहरूले जस्तो प्रकारले ग्रहण गर्छन् त्यही अनुसारको प्रतिफल पाउँछन् ।” त्यसपछि फेरि मलाई ती सन्देशहरूकै सम्बन्धमा दर्शन भयो, तब मैले बुझें, परमेश्वरका लोकहरूले कस्तो बलिदान गरेर धेरै दुःख र संघर्षबाट भईकन यी अनुभवहरू प्राप्त गरेका रहेछन् । परमेश्वरले उनीहरूलाई एक-एक खुड्किलो अघि बढ़ाउँदै अन्तमा बलियो मञ्चमाथि ल्याउनुभयो । तब मैले के देखें भने - कतिजनाले त्यहाँ मञ्चमाथी पाइला राख्नअघि त्यसको जग कतिको बलियो रहेछ भनेर जाँच्दारहेछन् । अनि कति चाहिँ रमाउँदै त्यहाँ चढ्दारहेछन् । अनि बाँकीले चाहिँ ‘यो मञ्चको जग ठीकसँग बसालिएको रहेनछ; यसलाई अझ राम्ररी बसाल्नुपर्छ, ताकि यो मजबुत होस् र मानिसहरू पनि खुशी होऊन्’ भनी आलोचनात्मक मन्तव्य पोख्न थाले । कतिजना चाहिँ मञ्चदेखि निस्केर फेरि जाँच्दै भन्नथाले, “अहँ, यसको जग ता ठीकसँग बसालिएन रहेछ ।” मैले देख्दाहुँदि ता त्यस मञ्चमाथि प्रायः सबै नै खड़ा उभिरहेका थिए र मञ्चदेखि ओर्लेर शिकायत गर्नेहरूलाई भनिरहेका थिए, “भो, अब शिकायत नगरिबस, कारण यसको जग बसाल्ने मूल स्थापक नै परमेश्वर स्वयम् हुनुहुन्छ, र तिमीहरू परमेश्वरको विरूद्धमा उठ्दैछौ ।” उनीहरूले परमेश्वरको आश्चर्यकर्मको गुणानुवाद गरे, जसद्वारा उनीहरू त्यो दृढ़ मञ्चमा पुगेका थिए, र प्रायः सबले एकसाथ स्वर्गतर्फ आँखा उठाएर उच्च स्वरमा परमेश्वरलाई महिमा दिए । त्यसले गर्दा अघि शिकायत गर्नेहरू लज्जित भएर मञ्चदेखि गएका थिए, र फेरि नम्र भएर मञ्चमाथि उक्ले । 1BP 173.1
त्यसपछि फेरि मलाई त्यतिबेलाको दर्शन दिइयो, जुनबेला ख्रीष्टको पहिलो आगमन (जन्म)को पूर्व सूचना उद्घोषित भइरहेथ्यो । एलियाको आत्मा औ सामर्थ्यमा ख्रीष्टको शुभागमनको बाटो तयार गर्नार्थ यूहन्ना पठाइएका थिए । तिनताक पनि यूहन्नाको साक्षीलाई रद्द गर्नेहरू प्रभु येशूको शिक्षाद्वारा लाभान्वित हुनसकेनन् । ख्रीष्टको पहिलो आगमनको उद्घोषणाको तिनीहरूले विरोध गरेको कारणवश नै तिनीहरूले प्रतीक्षा गरेको मसीह ख्रीष्ट नै हुनुहुन्छ भन्ने साक्षीलाई ग्रहण गर्नसकेनन् । अनि ती यूहन्नाको सन्देशलाई इन्कार गर्नेहरूलाई नै शैतानले सुऱ्याएर ख्रीष्टलाई रद्द गर्न र क्रूसमा झुण्ड्याउन लगायो । त्यसैले गर्दा, तिनीहरू आफै पेतिकोसको त्यो दिनको आशिष्देखि वञ्चित भए । नत्र त्यो दिन तिनीहरूले स्वर्गीय पवित्र निवासस्थानको मार्गदर्शन पाउने थिए । मन्दिरको पर्दा च्यातिनु नै त्यहाँदेखि यसो यहूदीहरूको बलिदान र विधिविधान परमेश्वरद्वारा ग्रहण नगरिने कुराको सङ्केत थियो । ख्रीष्ट स्वयम्ले त्यो महान् बलिदान चढ़ाइसक्नुभएको थियो र पिताले सो ग्रहण पनि गरिसक्नुभएको थियो, अनि पेन्तिकोसको दिनमा पवित्र आत्मा ओर्लीकन चेलाहरूका मनलाई पार्थिव पवित्र निवासस्थानदेखि स्वर्गीय पवित्र निवासस्थान तर्फ डोऱ्याइसक्नुभएको थियो, जहाँ ख्रीष्ट स्वयम् आफ्नै रगत लिएर प्रवेश गरीकन आफ्नो प्रायश्चित बलिद्वारा आफ्ना चेलाहरूलाई लाभान्वित तुल्याइरहनुभएको थियो । उता ती यहूदीहरू धोकै-धोका र घोर अन्धकारमै थिए । तिनीहरूका निम्ति परमेश्वरले ठहऱ्याउनुभएको त्यो महान् उद्धारको योजनालाई इन्कार गरेर अझ पनि तिनीहरूले त्यही परम्परागत बलिदान र भेटीहरूमाथि निर्भर गरिरहेका थिए । त्यस पवित्र स्थानमा ख्रीष्टले गर्नुभएको मध्यस्थताबाट तिनीहरू लाभान्वित हुनसकेनन् । परमेश्वरको महिमा पार्थिव पवित्र निवासस्थानदेखि स्वर्गीय निवासस्थानमा सरिसकेको थियो, तर पनि तिनीहरूलाई स्वर्गीय निवासस्थान तर्फ जाने मार्गको ज्ञानै थिएन । 1BP 174.1
तिनताक यहूदीहरूले ख्रीष्टलाई खेदो र तिरस्कार गरेको अनि क्रूसमा झुन्ड्याई मारेको मार्मिक कहानी पढ्दा वा सुन्दा धेरै ती विरोधी यहूदीहरूप्रति घृणात्मक दृष्टिले हेर्लान् अनि भन्लान् “यदि हामी हुँदा हौं ता ती यहूदीहरूले जस्तो ख्रीष्टलाई मार्ने थिएनौं अथवा पत्रुसले जस्तो उहाँलाई इन्कार पनि गर्ने थिएनौं ।” तर उनीहरूले ख्रीष्टलाई साँच्चै प्रेम गर्दारहेछन् कि रहेनछन्, परमेश्वरले जाँचेर प्रमाणित गर्नुहुन्छ । 1BP 175.1
ती सन्देश कस कसले ग्रहण गर्दारहेछन् भनेर बड़ो उत्सुकतासाथ समस्त स्वर्गले विचार गरिरहेको थियो । तर ती ख्रीष्टलाई प्रेम गर्छु भन्ने तर उहाँको आगमनको सन्देशलाई चाहिँ सहर्ष ग्रहण नगरेर क्रूसको कथा पढ़ेर कृत्रिम आँसु झार्नेहरूले नै क्रोधित भएर ख्रीष्टको आगमनको सन्देशको खिल्ली उड़ाउँदै ‘यो उड़न्ते कुरा मात्रै हो’ भनेर इन्कार गरे । ख्रीष्टको आगमनलाई प्रिय मान्नेहरूलाई उनीहरूसित सङ्गति राख्न चाहेनन् र उनीहरूलाई मण्डलीबाट बहिष्कार गरे । पहिलो सन्देशलाई इन्कार गर्नेहरू दोस्रो सन्देश र त्यस मध्यरातको बुलन्द आवाजद्वारा लाभान्वित हुनसकेनन्, जुन आवाजको उद्देश्य उनीहरूलाई स्वर्गीय पवित्र निवासस्थानको परमपवित्र स्थानभित्र प्रवेश गर्न विश्वासद्वारा ख्रीष्टलाई पछ्याउनलाई तयार पार्नु थियो । उनीहरूले पहिलेका दुई सन्देशहरूलाई इन्कार गरेकाले गर्दा तेस्रो दूतको सन्देशको ज्योति नै देख्न सकेनन्, जसद्वारा उनीहरूले स्वर्गीय परमपवित्र स्थानभित्र प्रवेश गर्न मार्ग-दर्शन पाउने थिए । अनि मैले देखें - जसरी यहूदीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे, त्यसरी नै तथाकथित ईसाइ मण्डलीहरूले ती सन्देशहरूलाई क्रूसमा टाँगे । त्यसैले उनीहरूलाई स्वर्गीय गतिविधिबारे केही ज्ञान छैन, न ता उनीहरूले त्यो स्वर्गीय परमपवित्र स्थानमा प्रवेश गर्ने मार्ग नै चिन्दछन् । त्यहाँ ख्रीष्टले चढ़ाउनुभएको अन्तर्विन्तीले उनीहरूलाई केही लाभ हुँदैन । जसरी यहूदीहरूले आफ्ना व्यर्थका बलिदानहरू चढ़ाइबसे, त्यसैगरी उनीहरूले ख्रीष्टले छोड़ीवरी जानुभएको कोठालाई व्यर्थै प्रार्थना चढ़ाइरहन्छन् । अनि शैतान पनि ती तथाकथित ईसाइहरूलाई धोकामा पार्न पाउँदा खुशी हुँदै धर्मी जनको रूप धारण गर्छ र ती ईसाइहरूलाई अझ प्रभावित पारीकन फँसाउन झूटा चिन्ह र चमत्कारहरू पनि देखाउँदछ । उसले सबैलाई समान प्रकारले ठग्दैन । कसैलाई एक प्रकारले ठग्यो भने अर्कोलाई अर्कै प्रकारले ठग्दछ । उसका भिन्नाभिन्नै प्रकारका अनैकौं युक्तिहरू हुन्छन् । उसले एक प्रकारले ठग्दा ‘यो ता शैतानिक जाल हो’ भनेर कतिजना परपरै हुन्छन् भने उसैले अर्कै युक्तिले ठग्दा त्यसलाई सहर्ष अँगाल्छन् पनि । कतिलाई शैतानले अध्यात्मवादको माध्यमद्वारा पनि ठग्दछ । त्यस्ताहरूका लागि उसले ज्योतिर्मय स्वर्गदूतको रूप पनि धारण गरेर मानिसलाई प्रभावित पार्नसक्छ। साँच्चै मैले चारैतिर मिथ्या जागृति भएको देखें । ती मण्डलीहरू ‘परमेश्वरले हाम्रा बीचमा अद्भूत प्रकारले काम गर्दैहुनुहुन्छ’ भन्दै फुरूक्कै भएका थिए, जबकि त्यहाँ अर्कै आत्माले काम गरेको उनीहरूलाई पत्तै थिएन । त्यसले ता संसार र मण्डलीलाई पहिलेभन्दा खराब स्थितिमा पुऱ्याएर आफै पनि हराएर जानेछ । 1BP 175.2
त्यसपछि मैले के देखें भने, ती नामधारी ख्रीष्टागमनवादीहरूका बीचमा पनि परमेश्वरका ईमान्दार छोराछोरीहरू रहेछन् अनि विपत्तिहरू खन्याइनअघि ती पतित मण्डलीहरूबाट पनि मानिसहरूलाई बोलावट हुनेछ, तब उनीहरूले सत्यतालाई सहर्ष अँगाल्नेछन् । शैतानलाई त्यो थाह छ, र नै तेस्रो दूतको त्यो बुलन्द आवाज हुनअघि नै सत्यलाई नकार्नेहरूले पनि “परमेश्वर हामीसित हुनुहुँदोरहेछ” भन्ने सम्झून् भनेर ती मण्डलीहरूमा उसले एउटा उत्तेजना सृष्टि गर्छ । खाँटी-खाँटी विश्वासीहरूलाई पनि धोखामा पार्नसक्ने आशाले उसले ठग्नेछ, तर त्यहाँ पनि ज्योति चम्कने हुनाले उनीहरू ती पतित मण्डलीहरूलाई त्यागेर बाँचेका ज्योतिका सन्तानसित शामिल भई खड़ा भइहाल्नेछन् । 1BP 177.1