जब पवित्र स्थानभित्रको सेवाकार्य सिद्धिएपश्चात् प्रभु येशू परमपवित्र स्थानपट्टि पसीवरि परमेश्वरको व्यवस्था भएको सन्दूकको सामु खड़ा हुनुभयो, तब उहाँले तेस्रो सन्देश लिएर अर्का एकजना सामर्थ्यशाली दूतलाई पृथ्वीमा पठाउनुभयो । उहाँले तिनको हातमा एउटा चर्मपत्र पनि थमाइदिनुभयो, अनि बड़ो महिमा र शक्तिका साथमा पृथ्वीमा ओर्लेर तिनले यस्तो भयावह चेतावनीपूर्ण सन्देश दिनथाले, त्यतिको डरलाग्दो चेतावनी मानिसले पहिले सुनकै थिएन त्यस सन्देशको तात्पर्यचाहिँ परमेश्वरका जनलाई आउनेवाला अग्निमय जाँचहरू र पीड़ाहरूका बारेमा जानकारी दिएर उनीहरूलाई सतर्क गराउनु थियो । दूतले मलाई भने - “तिनीहरूलाई जनावर र त्यसको मूर्तिसित सामना गराइनेछ । त्यसमा स्थिर भए भने मात्रै तिनीहरू अनन्त जीवनको भागी हुनेछन् । तिनीहरूको ज्यान सियोको टुप्पोमा भए पनि तिनीहरूले सत्यतालाई थामिराख्नुपर्नेछ ।” यति भनेर ती तेस्रो दूतले सन्देशलाई बन्द गरे । यसैमा छ सन्तगणको धैर्य । परमेश्वरका आज्ञाहरू पालन गर्ने र ख्रीष्टको विश्वासलाई थामिराख्ने यिनै हुन् । यिनै कुराहरू दोहोऱ्याउँदै तिनले त्यो स्वर्गीय पवित्र निवासस्थानतर्फ सङ्केत गर्दै भने, “यस सन्देशलाई ग्रहण गर्नेहरू सबका मनलाई त्यो स्वर्गीय परम पवित्रस्थानतर्फ मार्गदर्शन गरिन्छ, जहाँ ख्रीष्ट स्वयम् तिनीहरूका निम्ति जसका निम्ति अझै अनुग्रह रहेको छ, र उनीहरूका निम्ति पनि, जसले अनजान अवस्थामा परमेश्वरको व्यवस्थालाई भङ्ग गरेका छन् - अन्तिम अर्ज - विन्ती चढ़ाउँदै सन्दूकको सामने उभिरहनुभएको छ । यो प्रायश्चित दुवै मरेका र जिउँदा धर्मी जनका निम्ति चढ़ाइन्छ । प्रभु ख्रीष्टले उनीहरूका निम्ति पनि प्रायश्चित चढ़ाउनुहुन्छ, जसले परमेश्वरको आज्ञारूपी ज्योति नभेटीकन अनजानमै पाप गरेर मरे ।” 1BP 167.1
अनि जब येशू प्रभुले परमपवित्र स्थानको ढोका खोल्नुभयो, तब त्यहाँ शबाथ-दिनको ज्योति चम्केको देखियो, र परमेश्वरका जनहरूले उहाँको व्यवस्था पालन गर्दारहेछन् कि नगर्दारहेछन् भनी जाँचेर पत्ता लगाइने काम भयो, जसरी प्राचीनकालमा पनि परमेश्वरले इस्राएलीहरूलाई जाँच्नुभएको थियो । त्यसपछि मैले के देखें भने, तेस्रो दूतले मास्तिर औंल्याउँदै ती हतोत्साहित भएका सन्तगणलाई स्वर्गीय पवित्र निवासस्थानको परमपवित्र स्थानतर्फ जाने बाटो देखाए । उनीहरू पनि विश्वाससाथ ख्रीष्टलाई पछ्याउँदै परमपवित्र स्थानतर्फ लागे । उनीहरूले ख्रीष्टलाई फेरि पाउँदा उनीहरूको हर्ष र आनन्दको सीमा रहेन । त्यसपछि उनीहरूले अतीततिर फर्कँदै ख्रीष्टको दोस्रो आगमनको सन्देश पाएर उहाँको प्रतीक्षामा रहँदा-रहँदा त्यो निर्धारित म्याद १८४४ पनि बितेर गएको कुरा सम्झें । उनीहरू किन त्यसरी हतोत्साहित हुनुपरेको थियो त्यसको स्पष्टीकरण पनि पाएर उनीहरू आनन्दित र ढुक्क भए । 1BP 168.1
त्यसपश्चात् बाँकी लोकहरूले ख्रीष्टको पछि पछि हिँड्दै त्यो स्वर्गीय परमपवित्र स्थानमा पुगेर त्यहाँको सन्दूक र कृपा-आसनलाई हेरी त्यहाँको महिमालाई देखेर दङदास परेको मैले देखें । जब येशूले त्यो वाचाको सन्दूकको ढकनी उघार्नुभयो, तब उनीहरूले त्यहाँ ढुङ्गाका ती पाटीहरू देखे, जसमा परमेश्वरका दश आज्ञाहरू अङ्कित थिए । त्यहाँ उनीहरूले परमेश्वरका जीवित वचनहरूलाई मेलैसँग हेर्दै र पढ्दै गए । पढ्दै जाँदा एकाएक उनीहरू भयभीत भएर लगलग काँप्दै पछि सरे, जब उनीहरूको दृष्टि दश आज्ञामध्ये चौथो आज्ञामा ठोक्किन पुग्यो, जुनचाहिँ अरू नौवटा आज्ञाभन्दा पनि चहकिलो ज्योति र महिमाले जाज्वल्य थियो । शबाथ-दिन हटाइएको अथवा हप्ताको पहिलो दिनमा सारिएको कुराको उनीहरूलाई केही जानकारी थिएन । जब त्यो सिनै पर्वतमा गम्भीर र भयप्रद चालमा परमेश्वर स्वयम् बोल्दैहुनुहुन्थ्यो र आफ्नै पवित्र औंलाले त्यस ढुङ्गाको पाटीमा लेख्दैहुनुहुन्थ्यो, त्यसबेला बिजुली चम्क्यो अनि आकाश गर्ज्यो । ‘छ दिनसम्म परिश्रम गर र आफ्ना सब काम गर; सातौं दिनचाहिँ परमप्रभु तिमीहरूका परमेश्वरको विश्राम दिन हो,’ उहाँको वाणी थियो । दश-आज्ञाप्रति परमेश्वरले त्यति बिघ्न वास्ता राखी त्यसलाई आफ्नै छेउमा सुरक्षितसाथ आफ्नो पवित्र महिमाले ढाकीकन राख्नुभएको देखेर उनीहरू अवाक भए । तब हामीले ता दश आज्ञाको चौथो आज्ञालाई चाहिँ लत्याएर यहोवाले पवित्र पार्नुभएको दिनको सट्टामा अन्य जाति मूर्तिपूजकहरूले साथै पोपहरूले ठहऱ्याएको दिनलाई पो पालन गर्दै आएका रहेछौं भनी उनीहरूले बुझे । अनि आफूहरूले गरेका ती अतीतका भूल-अपराधहरू सम्झेर उनीहरू नम्र बन्दै पश्चाताप गरे । तब मैले धूपदानीबाट सुगन्धित धूँवा उठिरहेको देखें, कारण त्यहाँ उनीहरूले गरेको भूल-स्वीकार र प्रार्थनालाई प्रभु येशूले पिताकहाँ पुऱ्याउँदैहुनुहुन्थ्यो । अनि जुन बेला प्रार्थनारूपी सुगन्धित धूप माथि उठिरहेथ्यो, त्यसबेला एक उज्ज्वल ज्योति प्रभु येशू र कृपा-आसनमाथि चम्क्यो, अनि ती बोझसहित प्रार्थना गर्नेहरू, जो आफूले विगत दिनहरूमा परमेश्वरको व्यवस्था भङ्ग गरेका कुरा बुझेर पछुताइरहेका थिए, उनीहरूले फेरि आशिष् पाए र उनीहरूको चेहरामा आशा र आनन्द उदायो । 1BP 168.2
त्यसपश्चात् उनीहरू पनि तेस्रो दूतसँग त्यो चेतावनीपूर्ण आवाज उठाउने काममा शामिल भए । शुरू-शुरूमा थोरैले मात्र त्यस सन्देशलाई ग्रहण गरे, तापनि चेतावनीको त्यो सन्देशलाई प्रचार गर्न उनीहरूले छोड़ेनन् । त्यसपछि धेरैले तेस्रो दूतको सन्देशलाई सहर्ष ग्रहण गरे र पहिले प्रचार गर्नेहरूसँग हातमा हात काँधमा काँध मिलाएर त्यो चेतावनी-सन्देशलाई प्रचार गर्नथाले अनि परमेश्वरले शुद्ध तुल्याउनुभएको विश्राम-दिन पालन गरेर उहाँलाई महिमा दिए । 1BP 170.1
तेस्रो सन्देशलाई ग्रहण गर्नेहरूमध्ये धेरैलाई अघिल्ला दुई सन्देशहरूका बारेमा केही थाह थिएन । शैतानले यो बुझेर उनीहरूलाई चित पार्ने दाउ हेरिरहेको थियो; तर तेस्रो दूतले उनीहरूलाई परम पवित्र स्थानपट्टि देखाइरहेका थिए, र उता अघिल्ला सन्देशबारे ज्ञान भएकाहरूले चाहिँ उनीहरूलाई स्वर्गीय पवित्र निवास स्थानतर्फ मार्ग-निर्देशन गरिरहेका थिए । धेरैले नै ती दूतहरूका सन्देशलाई सत्यतापूर्ण पाए, र ती सहर्ष ग्रहण गरे । अनि उनीहरूले ती ठीक-ठीक रीतिले अँगालीकन विश्वासद्वारा ख्रीष्टको पछि लाग्दै त्यो स्वर्गीय पवित्र निवासस्थानभित्र प्रवेश गर्न हिँड़े । ती सन्देशहरू नै देहलाई थामिराख्ने लङ्गर हुन् भनी मलाई बताइएको थियो । त्यसै हुनाले जतिले ती सन्देशलाई बुझीकन ग्रहण गर्छन्, यिनैले उनीहरूका निम्ति ढाल बनेर शैतानका नाना प्रकारका जालझेलदेखि उनीहरूलाई जोगाउँदछन् । 1BP 170.2
१८४४ मा विश्वासीहरूमा निराशाको आँधी चलेपश्चात् शैतान र उसका दूतहरूले त्यस झुण्डको विश्वासलाई खल्बल्याउन अनेक जाल फिजाँए । कतिले पहिलो र दोस्रो सन्देशलाई अदलबदल गरेर ती अनिश्चित भविष्यमा पूरा हुने देखाए भने अरूहरूले चाहिँ ती सब ता पहिल्यै पूरा भइसके भनेर बताए । त्यसरी तिनीहरूले ती अनभिज्ञ विश्वासीहरूको मनलाई ओल्ट्याङगपल्ट्याङग पारिदिँदै उनीहरूको विश्वासको जग हल्लाइदियो । फेरि कतिले चाहिँ त्यस स्थापित झुण्डदेखिन् छुट्टै आफ्नै संस्था खड़ा गर्ने अभिप्रायले बाइबलबाट बहानाका उपायहरू खोजिरहेका थिए । ती सब देखेर शैतान खुशी भयो, किनकि त्यस लङ्गरदेखि छुटेकाहरूलाई झूटा शिक्षारूपी बतासले यत्रतत्र उड़ाइदिनु उसलाई सुविस्ता भयो । त्यसपछि पहिलो र दोस्रो सन्देशको प्रचार धावामा नैतृत्व गर्नेहरूमध्ये पनि धेरैले इन्कार गर्नथाले । त्यसो हुँदा त्यहाँ विच्छिन्नता र विभाजन सृष्टि भयो । 1BP 170.3
त्यसपछि मैले विलियम मिल्लरलाई देखें । तिनी आफ्नै झुण्डका मानिसहरूले गर्दा व्याकुल र विरक्त भएका तिनकै चेहराले लक्षण दिइरहेको थियो । त्यही झुण्ड जो १८४४ मा एकता र प्रेममा बद्ध थियो, त्यहीभित्र एक-अर्काप्रति घृणा र विरोध उत्पन्न भयो । तिनीहरू सेलाएका र आत्मिक तौरले पतित अवस्थामा देखिए । ती सब देखेर तिनी चिन्ताग्रस्त थिए । अरू अगुवाहरूले तिनलाई विचार गरिरहेका थिए, कारण तिनले तेस्रो दूतको सन्देश तथा परमेश्वरको आज्ञलाई अपनाइहाल्छन् कि भन्ने तिनीहरूलाई डर थियो । तर तिनी स्वर्गीय ज्योतिपट्टिभन्दा मानिसपट्टि नै ज्यादा प्रभावित भएको देखें । आखिरमा तिनले पनि उक्त स्वर्गीय ज्योतिलाई इन्कार गरे, जुन ज्योतिद्वारा तिनले आफ्नो नैराश्यको कारण बुझेर सन्तुष्ट हुनेथिए अनि तिनको निराशा पुनः आशामा परिणत हुनेथियो र तिनीद्वारा परमेश्वरको महिमा हुनेथियो । तर तिनले परमेश्वरको इच्छामाभन्दा आफ्नो बुद्धि र बठ्याइँमाथि निर्भर गरे । तर जे होस, तिनले आफ्ना प्रभुका निम्ति वृद्धावस्थासम्म कठोर परिश्रम गरे । त्यसै हुनाले पनि तिनलाई त्यस ज्योतिदेखि वञ्चित गराउनेहरूले जति लेखा दिनुपर्नेछ, त्यति तिनले दिनपर्ने छैन । यति हो, यदि विलियमले त्यो तेस्रो दूतको ज्योति पनि देख्न पाएका भए, तिनका निम्ति रहस्यमयी बनेर बसेका धेरै कुराहरू प्रस्ट हुनेथिए । तिनको आफ्ना सङ्गी-विश्वासीहरूभित्र कति प्रगाढ़ प्रेम थियो । हामी कहिल्यै एक-अर्कादेखि छुट्नेछैनौं भनी तिनी सोच्थे । तिनीहरूले मलाई कुमार्गतिर लैजालान् भन्ने शङ्कालु विचार आउनु ता टाढाकै कुरा थियो । अन्तमा परमेश्वरले नै तिनलाई शैतानको हातमा सुम्पिदिनुभयो, र मृत्युले तिनीमाथि राज्य गरेर तिनलाई परमेश्वरदेखि टाढा खिँचिरहनेहरूदेखि लुकाएर टाढै लगी माटोभित्र लुकाइदियो । हो, मोशाले पनि त्यो प्रतिज्ञा गरिएको देशमा पस्ने बेलामा भूल गरेका थिए । त्यस्तै गरी भनौं, विलियम मिलरले पनि त्यो स्वर्गीय कनानमा प्रवेश गर्ने-गर्ने बेलामा भूल गरिपठाए । त्यसमा अरूहरूकै हात थियो । तिनीहरूले नै त्यसको लेखा दिनुपर्ने छ । तर यी परमेश्वरका दासलाई दिइएको बहुमूल्य मट्टीको स्वर्गदूतहरूले ख्याल राखेका छन् र उनीचाहिँ त्यो अन्तिम तुरहीको आवाजमा उठ्नेछन् । 1BP 171.1