Go to full page →

अध्याय - ३६
याकूबको संकष्‍टकाल 1BP 207

परमेश्‍‍वरका जनहरू आफ्‍ना शहर र गाउँहरू छोड़ेर एकजुट भईकन निर्जन ठाउँहरूहुँदा बस्‍न थालेका मैले देखें । उनीहरूलाई स्‍वर्गदूतहरूले नै खाने र पिउने कुराहरूको प्रबन्ध गर्दारहेछन्, तर यता ती दुष्‍टहरू भोक र तिर्खाले आकुल भइरहेका थिए । त्यसपछि पृथ्वीका मानिसहरूले एकत्रित भईकन सर-सल्‍लाह गर्नथाले र तिनीहरूका वरिपरि शैतान र उसका दूतहरू पनि आफ्‍ना काममा व्यस्त थिए । मैले देशका विभिन्न भागहरूमा एउटा लिखित घोषणापत्रका प्रतिलिपिहरू पठाइएका देखें, जसमा यस्तो उर्दी घोषित गरिएको थियो, “तिनीहरूले (अर्थात् सन्तहरूले) आफ्‍नो हठधर्म छोड्‍दैनन्, अनि शबाथ-दिन-(विश्राम दिन) लाई छोड़ेर सप्‍ताहको पहिलो दिनलाइ पालन गर्दैनन् भने तिनीहरूलाई झ्यालखानको सजाय नदिएर एकैचोटि मृत्यु-दण्ड दीइयोस् ।” तर त्यस्तो समयमा पनि ती सन्तहरू शान्त रहीकन परमेश्‍‍वरमाथि नै भरोसा राखेर उहाँको प्रतिज्ञालाई दावा गर्दै बाँच्‍ने उपायका निम्ति प्रार्थना गरिरहेका थिए । त्यो उर्दी घोषित हुनुभन्दा पहिले पहिले पनि कतिचोटी दुष्‍टहरूले उनीहरूलाई मार्न झम्टे, तर स्‍वर्गदूतहरूले योद्धा मानिसहरूका रूपमा उनीहरूका पक्षमा लड़िदिएका थिए । परमप्रधान परमेश्‍‍वरका सन्तगणलाई नाश गर्न पाउनु नै शैतानले आफ्‍नो ठूलो सफलता र विजय ठानेको थियो, तर प्रभुले आफ्‍ना लोकहरूका रक्षार्थ आफ्‍ना दूतगण खटाउनुभयो, कारण ती वरिपरिका अन्यजातिहरूका दृष्‍टिमा आफ्‍ना लोकसँग बाँधेको करार पूरा गर्नुमै परमेश्‍‍वरको महिमा थियो । 1BP 207.1

केही क्षणपश्‍चात् ती सन्तहरूका चेहरामा फेरि उदासीनताको कालो बादल छाएको देखियो । ती दुष्‍ट पृथ्वीवासीहरूले यिनीहरूलाई फेरि घेरेछन् भनेर मैले लख काटिहालें । कतिजनाले त परमेश्‍‍वरले ‘हामीलाई अब दृष्‍टहरूकै हातमा मर्नलाई छोड़िदिनुभएको हो कि क्‍या हो’ भन्ने पनि सम्झें । तर उनीहरूका आत्मिक आँखा खुलेका भए आफ्‍ना वरिपरि स्‍वर्गदूतहरूले पहरा दिँदै घेरिराखेका देख्‍ने थिए । 1BP 208.1

त्यसपछि ती सन्तहरूलाई मार्न भनी शैतानिक दूतहरूको दलले ती क्रोधित दुष्‍टहरूको जमातलाई हतार लगाइरहेको थियो । तर ती पवित्र र शक्तिशाली स्‍वर्गदूतहरूको भीड़बाट पार भएर ती सन्तहरूसम्म पुग्‍नु तिनीहरूका लागि सम्भव नै थिएन । ती स्‍वर्गदूतहरूले गर्दा तिनीहरू अघि बढ्‍न सकेनन् र शैतानिक दूतहरू पनि पछि हटे । ती सन्तहरूका निम्ति बड़ो तनाउपूर्ण र भयावह स्थिति थियो । त्यसैले उनीहरूले दिनरात परमेश्‍‍वरलाई पुकारिरहेका थिए । बाहिरबाट हेर्दा उनीहरूका निम्ति बाँच्‍ने उपाय नै देखिँदैन थियो । त्यही देखेर दुष्‍टहरूले खुच्‍चिङ मच्‍चाउँदै उनीहरूलाई भने, “खोइ तिमीहरूका परमेश्‍‍वरले तिमीहरूलाई हाम्रा हातदेखि बचाएको ? खोइ तिमीहरू स्‍वर्गमा उठाइएर तिमीहरूको ज्यान बाँचेको ?” तर ती परमेश्‍‍वरका लोकले सुनेर पनि नसुनेझैं गरे । उनीहरू याकूब झैं परमेश्‍‍वरसित प्रार्थनाद्वारा मल्‍लयुद्ध गरिरहेका थिए । स्‍वर्गदूतहरूले ता उनीहरूलाई छुटकारा दिन खोजिरहेका थिए, तर प्रधान दूतले फेरि पनि उनीहरूलाई रोकीकन भने, “यिनीहरूले अझै केही समयसम्म धैर्य धारण गरेर त्यो प्याला पिउनैपर्छ, र त्यो बप्‍तिस्मा लिनैपर्छ ।” तब ती दूतहरूले विश्‍‍वासयोग्यतापूर्वक सन्तगणको रक्षार्थ पहरा दिँदै रहे । त्यसपश्‍चात् परमेश्‍‍वरका जनहरूको छुटकाराको निम्ति परमेश्‍‍वरको सामर्थ्य पनि प्रकट हुने बेला आइपुग्यो । परमेश्‍‍वर आफैले पनि ती दुष्‍टहरूका सामने आफ्‍नो नाउँको बदनाम भएको चाहनुहुन्नथ्यो; किनकि आफ्‍नो नाउँको महिमाकै निम्ति उहाँले उनीहरू हरेकलाई छुटकारा दिनुहुन्छ, जसले धैर्यपूर्वक उहाँको बाटो हेर्छ र जसको नाम पुस्तकमा लेखिएको छ । 1BP 208.2

त्यसपछि फेरि दृष्‍टान्तस्‍वरूप मलाई नूह बाजेपट्टि लगे, जो परमेश्‍‍वरको दृष्‍टिमा विश्‍‍वासयोग्य थिए। मुसलधारे पानी बर्स्यो र भल-बाड़ी आएर डुबाउ हुनथाल्यो । नूह र उनको परिवार मात्रै जहाजभित्र पस्‍न पाए र परमेश्‍‍वर स्‍वयम्‌ले जहाजको ढोका बन्द गरिदिनुभयो । नूहले पनि त्यस जमानाका पृथ्वीवासीहरूलाई चेतावनी नदिएका थिएनन्, तर तिनीहरूले उनको कुरालाई हाँसोमा उड़ाउँदै गिल्‍ला गरे । अनि जब-जब पानीले जमिन भरिँदै गयो र मानिसहरू डुब्‍नलागे, तब तिनीहरू आफैले त्यो जहाज - जसको बिषयमा तिनीहरूले खूब खिल्‍ली उड़ाएका थिए - पानीमाथि माथि तैरिँदै गरेको र नूह साथै उनको परिवार त्यसभित्र सुरक्षित रहेका देखे । त्यस्तै गरी परमेश्‍‍वरका जनहरूले पनि - जसले संसारलाई आउनेवाला परमेश्‍‍वरको क्रोधको बारेमा चेतावनी दिए - छुटकारा पाउनेछन् । उनीहरूले पनि विश्‍‍वासयोग्यतापूर्वक पृथ्वीवासीहरूलाई चेतावनी दिएका छन् । परमेश्‍‍वरले दुष्‍टहरूद्वारा आफ्‍ना ती जनहरूलाई नाश हुन दिनुहुन्न, जोहरूले धैर्यपूर्वक उहाँको महिमित आगमनको बाटो हेर्छन् र त्यो जनावरको सामु झुक्दैनन् र त्यसको छाप लिँदैनन् । यदि ती दुष्‍टहरूले परमेश्‍‍वरका जनहरूलाई मार्न पाएका भए परमेश्‍‍वरका घोर विरोधी शैतान र उसका सब दूतहरू अति सन्तुष्‍ट हुनेथिए । अनि त्यतिञ्‍जेलसम्म धैर्यसाथ आफ्‍ना प्रिय प्रभुको बाटो हेर्ने सन्तहरूमाथि त्यो अन्तिम संग्राममा प्रबल भईकन उनीहरूमाथि अधिकार जमाउन पाएको भए शैतानले कस्तो धुमधामले विजयोत्सव मनाउने थियो होला ! तर परमेश्‍‍वरको जनहरूको स्‍वर्गमा उठाइने कुरालाई गिल्‍ला र उपहास गर्नेहरूले पनि परमेश्‍‍वरले आफ्‍ना लोकप्रति यति ख्याल राखेर उनीहरूलाई उद्धार गरी आफ्‍नो महिमा लिनुभएको आफ्‍नै आँखाले देख्‍नेछन् । 1BP 209.1

जब सन्तहरूले आफ्‍ना शहर र गाउँ-घर छोड़ेर हिँड़े, तब ती दुष्‍टहरू उनीहरूका पिछा लागे, अनि उनीहरूलाई मार्न भनी तरवार उजाएका मात्र के थिए, तिनीहरूका तरवार भाँचिएर परालको त्यान्द्रो झैं कामै नलाग्‍ने भए । त्यसरी परमेश्‍‍वरका दूतहरूले उहाँका जनहरूको निम्ति ढाल भईकन रक्षा गरे, किनकि उनीहरूले छुटकाराको लागि निरन्तर परमेश्‍‍वरलाई पुकारिरहे र उनीहरूको पुकारा परमेश्‍‍वरको सिंहासनसम्म पुग्यो । 1BP 210.1