त्यसपछि मैले यस्तो देखें - असंख्यौ स्वर्गदूतहरूले पवित्र नगरबाट ती सन्तहरूका निम्ति एक-एकवटा महिमाको मुकुट ल्याइदिए, जसमा प्रत्येकको नाउँ लेखिएको थियो । तब प्रभु येशूले उनीहरूका हातबाट ती मुकुटहरू लिएर आफ्नै बाहुलीबाट सन्तहरूका शिरमा लगाइदिनुभयो । त्यस्तै गरी ती दूतहरूले वीणाहरू लिएर आए । ती वीणाहरू पनि प्रभुले सन्तहरूलाई नै दिनुभयो । त्यसपछि प्रमुख दूतहरूले बजाउन शुरू गरे, र पछि-पछि सबैले बड़ो दक्षतापूर्वक वीणाका तारहरूमाथि आफ्ना औंलाहरू नचाउँदै मधुर धुनका साथमा कृतज्ञतासहित स्तुति र प्रशंसाका गीतहरू गाउनथाले । त्यसपछि ख्रीष्टले ती उद्धार-प्राप्त झुण्डलाई शहरको फाटकनेर लिएर जानुभयो, अनि त्यो अति नै सुन्दर र चमकदार फाटकलाई खोलीकन उनीहरूलाई भित्र आउने आदेश दिनुभयो, जोहरूले विविध जाति, भाषा र कुलबाट बाँचीकन त्यस सत्यलाई थामेका थिए । त्यहाँका सबै थोक हेर्नमा उसै - उसै सुन्दर र मनमोहक थिए । त्यसपश्चात् उहाँले आफ्ना ती उद्धार-प्राप्त सन्तहरूका महिमाले प्रकाशमान भएका अनुहारपट्टि हेर्दै मधुर स्वरमा भन्नुभयो, “मेरो प्राणमा प्रसव-पीड़ाझैं भएको अनुभव गर्छु, तथापि म सन्तुष्ट छु । यी सब भव्य महिमा ता सदा-सर्वदा भनूँ अननसम्म तिमीहरूकै हुन् । तिमीहरूका दुःख, कष्ट र पीड़ा आदिको अन्त भयो । अब यहाँ मृत्यु हुनेछैन, न शोक न रूवाइ हुनेछ, न ता यहाँ कुनै किसिमको दर्द नै हुनेछ ।” तब उनीहरूले आफ्ना चमकदार मुकुट खोलेर येशूको पाउमा परी दण्डवत् गरे । अनि उहाँले आफ्ना सुन्दर र प्रेमी हातले उनीहरूलाई उठाउनुभयो । तब उनीहरूका औंलाहरू सुनौला वीणाका तारमाथि खेल्नथाले र सम्पूर्ण स्वर्गलाई नै वीणाको मधुर ध्वनिले गुञ्जायमान पार्दै थुमाका गीतहरू ध्वनित - प्रतिध्वनित हुनथाले । 1BP 216.1
त्यसपश्चात् मैले यी उद्धार-प्राप्त सन्तगणलाई प्रभु येशूले जीवनको वृक्ष भए ठाउँ लैजाँदैगर्नुभएको देखें । अनि फेरि मैले आजन्म नसुनेको मधुर संगीतात्मक स्वरमा यस्तो वाणी सुने, “यस वृक्षका पातहरू जाति-जातिलाई निको पार्ने औषधि हुन् । तिमीहरू सबैले यसबाट खाओ ।” उक्त जीवनको वृक्षमा खूबै सुन्दर फल थियो, जुनचाहिँ सबै सन्तगणले स्वतन्त्रतापूर्वक खानसक्थे । त्यस नगरमा एउटा खूबै शानदार र भव्य सिंहासन थियो, र त्यस सिंहासनको मन्तिरबाट विल्लौर जस्तै सङ्लो जीवनको पानीको स्वच्छ नदी निस्किरहेको थियो । यति सुन्दर र मनोहर थियो स्वर्गको दृश्य, जसको वर्णन गर्नालाई यहाँ कुनै भाषा वा शब्द छैन । जब ती दृश्यहरू मेरा आँखाअघि झल्कन्छन्, तब म त्यसको परम सौन्दर्य र अपार महिमालाई देखेर अवाक बन्छु र दङ पर्छु, औ आफ्नो कलम बन्द गरेर छक्क पर्दै कल्पनामा डुब्छु: अहो, कस्तो अजीव प्रेम ! त्यो स्वर्गको महिमा र मुक्तिदाता ख्रीष्टको प्रेमको गहिराइको वर्णन गर्नु ता संसारको सबभन्दा धनी भाषामा पनि त्यो खालको शब्द पाइन्न । 1BP 217.1