Go to full page →

अध्याय - ४०
दोस्रो पुनरूत्थान 1BP 221

त्यसपछि येशू साथै उहाँका साथमा हरदम तैनाथ रहिरहने पवित्र दूतगण र ती सन्तगणलाई साथमा लिई नगर छोड़ेर हिँड्‍नुभयो । उहाँ जहाँ जानुहुँदा पनि ती पवित्र दूतगण पनि उहाँका साथ साथै हिँड्‍थे, र पछिपछि ती उद्धार-प्राप्‍त सन्तगणको ताँती । त्यसपछि येशूले डरलाग्दो र क्रुद्ध रूप धारण गर्नुभयो, र मरेका दुष्‍टहरूलाई बौराउनुभयो। तब तिनीहरू जस्तो दुर्बल दशामा चिहानमा गाड़िएका थिए, त्यस्तै अवस्थामा तिनीहरू माथि आए । त्यो दृश्‍‍य अर्कै थियो । पहिलो पुनरूत्थानमा बौरी उठ्‍नेहरूले अजम्भरी रूप धारण गरेका थिए भने दोस्रो पुनरूत्थानमा बौरी उठ्‍नेहरूमा श्रापका प्रत्यक्ष चिन्ह देखिँदै थिए । संसारका चाहे राजा चाहे प्रजा, चाहे पढ़न्ते चाहे अनपढ़ सब सँगै बौरी उठ्‍नेछन् र सबैले मानिसका पुत्र (येशू) लाई देख्‍नेछन्, अर्थात् जस-जसले उहाँलाई गिल्‍ला गरेका थिए र निगालोको लट्ठीले हिर्काएका थिए, तिनीहरूले उहाँलाई देख्‍नेछन्; अनि जस-जसले उहाँको पवित्र शिरमा काँड़ाको मुकुट लगाइदिएका थिए, तिनीहरूका आफ्‍नै आँखाले उहाँलाई राजकीय ऐश्‍‍वर्यमा देख्‍नेछन्, र जसले उहाँलाई थुकेका थिए, तिनीहरूले उहाँको महिमित चेहरालाई आँखा उठाएर हेर्नसक्‍ने छैनन् । जसजसले उहाँका हात र खुट्टामा काँटी ठोकेका थिए, तिनीहरूले उहाँका ती हात र खुट्टाहरूमा काँटीका दाग देख्‍नेछन् र जस-जसले उहाँको कोखामा भाला रोपेका थिए, तिनीहरूले उहाँको शरीरमा भालाको दाग देखेर ‘हामीले कस्तो क्रूर व्यवहार गरेछौं !’ भनी पछितो गर्नेछन् । अनि उनीहरूले असाध्यै शासना र कष्‍ट दिँदै, त्यसमाथि गिल्‍ला र उपहास गर्दै क्रूसमा टाँगीकन मारेका येशू उहाँ नै हुनुहुँदोरहेछ भनेर पक्‍का चिन्नेछन् । तब तिनीहरूले निकै बेरसम्म विलाप गरेपश्‍चात् उहाँ, राजाहरूका राजा औ प्रभुहरूका प्रभुबाट लुक्‍नलाई भाग्‍नेछन् । ती सबजना उहाँको त्यो तेजस्‍वी महिमादेखि लुकेर बाँच्‍ने वृथा प्रयास गर्नेछन् । एक समयमा उहाँलाई तिरस्कार गर्ने तिनीहरू नै थिए । त्यस बेला तिनीहरू नै उहाँको स्‍वर्गीय ऐश्‍‍वर्य र अपार महिमालाई देखेर अत्यन्त चकित भईकन एकै स्‍वरमा यसो भन्दै उच्‍च स्‍वरमा कराइपठाउनेछन्, “परमप्रभुको नाउँमा आउने धन्य हुनुहुन्छ !” 1BP 221.1

त्यसपछि फेरि ती पवित्र दूतगण साथै समस्त सन्तगणलाई साथमा लिएर येशू त्यस नगरमा फर्कनुभयो । तब ती दण्डित दुष्‍टहरूको घोर विलाप र कोलाहलपूर्ण रोदनले त्यहाँको वातावरणलाई नै विरक्तलाग्दो बनाइरहेथ्यो । 1BP 222.1

त्यसपछि फेरि शैतानले आफ्‍नो काम शुरू गऱ्यो । अनि चारैतिर उसका अधीनमा रहेकाहरूलाई दुर्बल अवस्थादेखि शक्तिशाली बनाउन थाल्यो, र तिनीहरूलाई भन्यो, “हामी नै शक्तिशाली छौं ।” अनि उसले ती बौरी उठेका असंख्यौं मानिसहरू देखायो, जोहरू शूरवीर राजाहरू र योद्धाहरू थिए, जसले धेरै-धेरै राज्यहरू जितेका थिए । तिनीहरूमा शक्तिशाली दानवहरू पनि थिए र कहिल्यै कुनै पनि युद्ध हारेका थिएनन् । तीमध्ये नेपोलियन पनि थिए, जसको नाम सुन्दै सबै राज्य काँप्थे । चिहानदेखि बौरी उठेर पनि तिनीहरूमा त्यस्तै जोश, उमङ्ग र उच्‍चाभिलाषा पुनःजागृत भएका थिए । शैतान र उसका दूतहरूले ती राजाहरू र योद्धाहरूसित सल्‍लाह गर्छन् । त्यसपछि त्यो अत्यन्तै विराट् सैन्यदलपट्टि हेर्दै तिनीहरूलाई यसो भन्दै प्रोत्साहन दिन्छ, “त्यो माथिको नगरमा ता सा.......नो झुण्ड छ, त्यही पनि यस्ता बलवान् र लड़ाकुहरू छैनन् । तिमीहरूले गएर त्यो नगर जितेर कब्‍जा गरीकन त्यहाँ भएकाहरूलाई हटाइदिन सक्छौ र त्यहाँ भएका जति पनि ऐश्‍‍वर्य र महिमा तिमीहरूकै हुनेछ । 1BP 222.2

साँच्‍चै तिनीहरू शैतानको बहकावमा परेर युद्धका निम्ति तम्सेर तम्तयारी गर्न थाल्छन् । लड़ाइँका अस्‍‍त्र-शस्‍‍त्र तयार गर्नथाल्छन्, कारण त्यस्ता हतियारहरू चलाउन तिनीहरू ज्यादै निपुण थिए । तत्पश्‍चात् शैतानको नैतृत्‍वमा तिनीहरू अर्थात् त्यो अत्यन्त विराट् सैन्यदल अघि बढ्‍छ । ती राजाहरू र योद्धाहरू शैतानका पछि-पछि पङ्क्ति-पङ्क्ति भएर त्यो उजाड़ भूमिलाई दलीमली पार्दै पवित्र नगर तर्फ प्रस्थान गर्छन् । तब येशूले शहरका फाटकहरू बन्द गर्नुहुन्छ, र त्यो विराट् सैन्यदल नगरवरिपरि घेरा हालेर लड़ाइँ गर्नलाई तयार बस्छ । तिनीहरूसित सबै प्रकारका लड़ाइँका अस्‍‍त्र-शस्‍‍त्रहरू छँदै थिए; तिनीहरूलाई केको डर थियो र ? जित्छौं नै भन्ने पूर्ण आशाले रङ्गीन कल्पना सजाइरहेका थिए । येशू साथै दूतगण आफ्‍ना चमकदार मुकुट पहिरेरै अनि समस्त सन्तगण पनि आफ्‍ना-आफ्‍ना मुकुटहरू पहिरेरै नगरको पर्खालको टुप्पामा पुग्छन् । अनि येशूले तिनीहरूलाई भन्नुहुन्छ, “हेर, हे पापीहरू हो, धर्मीहरूका लागि इनाम !” अनि फेरि आफ्‍नो जनहरूपट्टि फर्केर भन्नुहुन्छ, “हेर, हे मेरा उद्धारप्राप्‍त प्रियजन हो, ती दुष्‍टहरूको प्रतिफल !” 1BP 223.1

त्यो विराट् दुष्‍ट सैन्यदलले शहर (नगर) माथि त्यो महिमान्वित पवित्र झुण्डलाई हेरि पठाउँछ । त्यो स्‍वर्गीय दलका श्रीपेचहरूको शान र सौन्दर्य अनि उनीहरूका औधि नै उज्‍ज्‍वल मुहार र राजाहरूका राजा औ प्रभुहरूका प्रभुको अपरम्पार महिमा र ऐश्‍‍वर्यलाई देखेर तिनीहरू हरेस खानथाल्छन् । तिनीहरू आफूले तिरस्कार गरेको त्यो स्‍वर्गीय दललाई महिमा, आदर र अनन्त जीवनले विभूषित भएको र आफूहरूलाई चाहिँ नीच र घीनलाग्दा कुराहरू लिएर नगर बाहिरै रहेका पाउँछन् । 1BP 223.2