शैतानले ख्रीष्टलाई परीक्षा गरिसकेपछि केही समयको लागि उहाँलाई छोड़ेर गयो । त्यसपछि उजाड़स्थानमै स्वर्गदूतहरूले उहाँका निम्ति भोजन जुटाइदिए अनि उहाँलाई शक्ति दिए र उहाँमाथि पिताको आशिष् पनि रह्यो । शैतानले उहाँलाई जति नै अग्नि-परीक्षा लिएर पनि ऊ सफल हुन ता सकेन, तापनि उहाँको सेवाकार्यावाधिमा विभिन्न प्रकारले चाल खेलुँला भन्ने दाउ हेरिरहेकै थियो । उहाँलाई ग्रहण गर्न नचाहनेहरूलाई सुऱ्याएर उहाँप्रति द्वेषपूर्ण भावना जगाएर उहाँलाई नाश गराई विजयी हुँला भन्ने पनि उसले सोचेको थियो । त्यस सोचका कारण शैतानले आफ्ना दूतहरूसित परामर्श लिन एउटा विशेष सभा राख्यो । त्यति गर्दा पनि तिनीहरूको केही सीप नलाग्दा तिनीहरू हतोत्साहित र क्रोधित पनि भए । त्यसपछि फेरि तिनीहरूले अझ धूर्त्याइँसाथ सकेसम्म आफ्ना शक्ति प्रयोग गरेर उहाँका आफ्नै सजातीय मानिसहरूका मनमा उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने कुराप्रति अविश्वास जगाएर उहाँलाई उहाँका सेवाकार्यमा निरूत्साहित तुल्याउनुपर्छ भन्ने निश्चय गरे । 1BP 31.1
यहूदीहरू आफ्ना धार्मिक विधी एवम् बलिदान वा भेटी आदिका विषयमा जत्ति नै निष्ठावान् किन नहोऊन्, तर यदि उनीहरूले भविष्यवाणीहरूप्रति गंभीर अन्तर्दृष्टि नलाएका भए, अनि ती भविष्यवाणीहरू पूरा गर्न आउने कुनै सामर्थी सांसारिक राजा नै हुनुपर्छ भन्ने विश्वासमै अड़ान लिइरहेका भए कहिलेसम्मन् ‘मसीह आउनुहुन्छ, मसीह आउनुहुन्छ’ भन्दै प्रतीक्षामै रहने थिए, कुनै टुङ्गो थिएन । 1BP 31.2
त्यसपछि मैले शैतान र उसका दूतहरूलाई ख्रीष्टको सेवाकार्यमा व्यवधानहरू खड़ा गर्न मानिसहरूका मनमा उहाँप्रति अविश्वास एवम् घृणा र तिरस्कारपूर्ण भावना जगाई उनीहरूलाई उल्काउने काममा व्यस्त भएका देखें । जब-जब येशूले उनीहरूका पापहरू देखाउँदै सत्य-सत्य कुरा भन्नुहुन्थ्यो, तब उनीहरू रीसले चूर हुन्थे । त्यस मौकामा शैतान र उसका दूतहरूले उहाँको हत्या गर्न उनीहरूलाई सुऱ्याउँथे । एकपल्ट उनीहरूले उहाँलाई ढुङ्गाले हान्न खोजे, तर स्वर्गदूतहरूले त्यस क्रोधित भीड़देखि उहाँलाई बचाएर एउटा सुरक्षित ठाउँमा अलग्गै लगेर राखे । फेरि अर्कोपल्ट, जब उहाँका पवित्र मुखारविन्दबाट प्रस्फुटित भएको सीधा औ सत्य वचन उनीहरूको मर्ममा पर्न गयो, तब क्रोधित भीड़ले उहाँलाई भीरबाट खसाइदिने हेतुले पहाड़को टाकुरामा लैजान आँटेको थियो । तर त्यति नै बेला उनीहरूमाझ सल्लाह नमिलेर आपसमै वाद-विवाद हुनथाल्यो, त्यसै बीच दूतहरूले उहाँलाई उनीहरूको दृष्टिदेखि छलिदिनुभयो, र उहाँ उनीहरूकै बीचबाट छिरेर जानुभयो । 1BP 32.1
त्यस महान् उद्धारको योजनालाई विफल गराउने शैतानको प्रयास जारी नै रह्यो । उसले आफ्नो भएभरको शक्ति प्रयोग गरेर सबै मानिसहरूका हृदय कठोर पार्ने र ख्रीष्टप्रति घृणा र तिरस्कारपूर्ण भावना उब्जाउने प्रयास गऱ्यो । उसले विचार गऱ्यो, म सब मानिसहरूलाई भड्काउने छु, र येशूलाई परमेश्वरका पुत्र भनी ग्रहण गर्नेहरूको संख्या यति कम होस्, ताकि त्यति थोरै मानिसको निम्ति कष्ट सहेर त्यति ठूलो बलिदान गर्नु येशूका निम्ति हरेस खाने कारण होस् । तर केवल दुइजना नै किन नहोस्, जसले आफ्ना आत्मा-बचावका निम्ति येशूलाई ग्रहण गर्लान्, उनीहरूकै निम्ति भए पनि आफ्नो काम उहाँले पूरा गरेरै छोड्ने - मैले देखें । 1BP 32.2
शैतानको शक्तिलाई तोड्दै येशूले आफ्नो काम शुरु गर्नुभयो । भूतात्माले सताएकाहरूलाई निको पार्नुभयो । रोगीहरूलाई स्वास्थ्य दान गर्नुभयो । लङ्गड़ाहरूलाई निको पारेर बड़ो आनन्दसाथ परमेश्वरको महिमा गाउँदै र उफ्रँदै कुद्ने बनाउनुभयो । अन्धाहरूलाई देख्ने बनाउनुभयो । धेरै वर्षदेखि शैतानका क्रूर शक्तिद्वारा जकड्याइएका अशक्त रोगीहरूलाई आफ्नो शक्तिद्वारा निको पारिदिनुभयो । निर्धा, भयातुर र निरुत्साहित भएकाहरूलाई आफ्ना अनुग्रहमय वचनद्वारा सान्त्वना दिनुभयो । मुर्दाहरूलाई आफ्नो शक्तिद्वारा जीवन दिनुभयो, जसका निम्ति उनीहरूले परमेश्वरको महिमा गरे । अनि शैतानले जकड्याइराखेका ती कमजोर औ निर्धाहरूलाई येशूले शैतानको बन्धनदेखि छुटाएर तन्दुरुस्त र आनन्दित तुल्याइदिनुभयो । 1BP 33.1
ख्रीष्टको पार्थिव शारीरिक जीवन पनि उत्तिकै उपकार, सहानुभूति र प्रेमपूर्ण थियो । आफूकहाँ शरण लिन आउनेहरूको पुकार सुन्न र उनीहरूको दुःख-कष्ट हरण गर्न उहाँ सधैं नै उद्यत हुनुहुन्थ्यो । भीड़का भीड़ मानिसहरूले उहाँको ईश्वरीय शक्तिलाई देखेका थिए, तापनि जब काम सिद्धियो, तब उनीहरूमध्ये धेरैले उहाँजस्ता नम्र तर सामर्थी गुरुलाई चाँड़ै भूले र शर्म मान्न थाले । उनीहरू आफ्ना अविश्वासी शासकहरूसित डराए, र ख्रीष्टसित दुःख भोग्न चाहेनन् । उहाँ आफै पीर-मर्काभोगी मानिस बन्नुभएकोले दुःखसित उहाँ चिरपरिचित हुनुहुन्थ्यो । तर थोरैले मात्र उहाँको अति संयमी एवम् आत्मत्यागी जीवनद्वारा प्रभावित भएर उहाँका अनुयायी हुन तयार भए । अरु सबैले संसारले दिने सुख र मानमर्यादा नै रोजे । जे भए पनि धेरैजना उहाँ अर्थात् परमेश्वरका पुत्रका पछि लागे र उहाँका मुखारविन्दबाट उहाँका उपदेशहरू सुने र अनुग्रहमय वचनरूपी भोजनले परितृप्त भए । उहाँका वचनहरू अर्थपूर्ण साथै यति सरल र सुबोध अर्थात् कमजोर भन्दा कमजोरहरूले पनि बुझ्नसक्ने खालका हुन्थे । 1BP 33.2
अर्कातिर शैतान र उसका दूतहरू पनि आफ्ना विद्रोहात्मक कामहरूमा व्यस्तै थिए । तिनीहरूले यहूदीहरूको समझशक्तिलाई अन्धा तुल्याइसकेका थिए । उहाँको ज्यान लिनालाई शैतानले त्यहाँका मानिसहरूका नेताहरू र शासकहरूलाई सुऱ्यायो, र तिनीहरूले येशूलाई पक्रेर ल्याउनू भनी सैनिक अधिकारीहरू पठाए । तर जब उनीहरू उहाँकहाँ आइपुगे, तब दुःखित र पीड़ित मानिसहरूप्रति उहाँको अनुपम सहानुभूति र दया-माया देखेर उनीहरू अवाक् भए । उनीहरूले उहाँलाइ ती दुःखित र पीड़ितहरूसित प्रेम र दयासाथ प्रेरणा र प्रोत्साहनदायक वचन दिइरहनुभएको देखे । त्यतिमात्र होइन, उहाँलाई अधिकारका साथमा बोल्दै, शैतानको शक्तिलाई हपार्दै अनि शैतानले आफ्नो कब्जामा परेकाहरूलाई पनि मुक्त गराउँदैगर्नुभएको उनीहरूले आफ्ना आँखाले देखे । अनि उनीहरूले आफ्नै कानले उहाँका मुखारविन्दबाट अपार ज्ञानका वचनहरू सुनेर मुग्ध भए । त्यसो हुँदा उनीहरूले उहाँलाई पक्रनै सकेनन्, र उनीहरू त्यसै फर्के । ती सैनिक अधिकारीहरू रित्तै फर्केका देखेर पूजाहारीहरू र बूढ़ा प्रधानहरूले उनीहरूलाई सोधे, “तिमीहरू किन येशूलाई नलिई आयौ ?” तब उनीहरूले आफूले देखेका उहाँका आश्चर्यकर्महरू, र आफूले सुनेका उहाँका अपूर्व ज्ञान, बुद्धि र प्रेमका पवित्र वचनहरूबारे तिनीहरूलाई सुनाइदिए, र अन्तमा यसो पनि भने, “त्यस मानिसले जस्तो ता कुनै मानिसले पनि कहिल्यै बोलेको थिएन ।” तर मुख्य पूजाहारीहरूले उनीहरूलाई भने, “लौ, तिमीहरू पनि भ्रममा परेछौ !” त्यसो भनिदिँदा उनीहरूमध्ये कतिजना उहाँलाई पक्रेर ल्याउन नसकेकोमा लज्जित पनि भए । त्यसमाथि पनि मुख्य पूजाहारीहरूले फेरि खिसी गर्दै भने, “के हामि तिमीहरूका शासकहरू अथवा फरिसी, शास्त्री र पूजाहारीहरूमध्ये खोइ कसैले त्यस (येशू)माथि विश्वास गरेको छौं ?” तर मैले त देखें - शासनकर्ता र बूढ़ा प्रधानहरूमध्ये धेरैले येशूमाथि विश्वास गरे; तर शैतानले उनीहरूलाई प्रकट रूपमा स्वीकार गर्नदेखि रोकिदिएको थियो । उनीहरूले परमेश्वरकोभन्दा बेसी मानिसहरूको डर माने । तथापी शैतानका त्यस्ता द्वेष र छलकपटपूर्ण चालले त्यो उद्धारको योजनालाई कति पनि बिथोल्न सकेन । त्यसो हुँदाहुँदै उहाँको त्यो अन्तिम लक्ष्य पनि पूरा गर्नुपर्ने समय आइपुग्यो, जसका निम्ति उहाँ संसारमा आउनुभएको थियो । तब शैतान र उसका दूतहरूले आपसमा सल्लाह गरे, र उहाँका आफ्नै जातिका मानिसहरूलाई उहाँको खून गरियोस् भनी आवाज उठाउन अनि उहाँमाथि क्रूर र तिरस्कारपूर्ण व्यवहार गर्न सुऱ्योए, किनकि त्यस्तो खालको दुर्व्यवहार र अत्याचार ता येशूले कतै सहनु नसकेर आफ्नो त्यो दीनता र नम्रता पनि कायम राख्न नसक्लान् कि भन्ने शैतानले सोचेको थियो । 1BP 34.1
जब शैतान उता आफ्ना योजनाहरू तयार गर्नमा व्यस्त थियो, तब यता येशूले आफ्ना चेलाहरूलाई आफू कसरी कष्ट र पीड़ाहरूबाट भईकन जानुपर्छ, अनि क्रूसमा टाँगिएर मर्नुपर्छ र फेरि तेस्रो दिनमा बौरी उठ्नुपर्छ, सो खुलस्तै रूपमा जानकारी दिँदै हुनुहुन्थ्यो । तर उनीहरूको समझशक्ति चाहिँ यति मन्द देखियो, कि उहाँले बताउनुभएको कुरा उनीहरूले बुझ्नै सकेनन् । 1BP 35.1