Go to full page →

११. सङ्‌कष्‍टको घड़ी MBA 137

(अंग्रेजी पुस्तक अध्याय ३९ पृष्‍ठ ६१३)

“अनि त्यस समयमा तिम्रो जातिका सन्तानहरूको पक्षमा खड़ा हुने ती महान् प्रधान माइकल खड़ा हुनेछन्; अनि यस्तो सङ्‌कष्‍टको समय हुनेछ, जो कुनै जातिको उत्पत्ति भएको समयदेखि त्यस बेलासम्म कहिल्यै भएको हुँदैन; अनि त्यस समयमा तिम्रो जाति—हरेक जन, जसको नाम पुस्तकमा लेखिएको पाइनेछ, छुटाइनेछ ।” दानिएल १२:१ (KJV) । MBA 137.1

तेस्रो स्‍वर्गदूतको सन्देशको अन्त भएपछि दोषी पृथ्वीका बासिन्दाहरूका खातिर कृपाले विन्ती गर्दैन । परमेश्‍‍वरका मानिसहरूले तिनीहरूका काम गरिसकेका छन् । तिनीहरूले “पछिल्‍लो वर्षा,” “परमप्रभुको उपस्थितिबाट शीतलता” प्राप्‍त गरेका छन्, र तिनीहरू अगामी सङ्‌कष्‍टको घड़ीका लागि तयारी छन् । स्‍वर्गदूतहरू स्‍वर्गमा यता र उता दौड्‍दैछन् । एउटा स्‍वर्गदूत पृथ्वीबाट फर्कन्छन् र तिनको काम पूरा भएको घोषणा गर्छन्; संसारमाथि अन्तिम जाँच आउनै लागेको छ, र ज-जसले आफैलाई दैवीय विधानहरूमा बफादारी प्रमाणित गरेका छन् तिनीहरू सबैले “जीवित परमेश्‍‍वरको मोहोर” प्राप्‍त गरेका छन् । त्यसपछि येशूले माथिको पवित्रवासस्थानको मध्यस्थ-कार्य समाप्‍त गर्नुहुन्छ । उहाँले आफ्‍ना हातहरू उठाएर चर्को सोरले भन्नुहुन्छ, “अब सिद्धियो;” जब उहाँले सो गम्भीरतासाथ घोषणा गर्नुहुन्छ तब समस्त स्‍वर्गीय दूतहरूले आ-आफ्‍ना मुकुट निकालेर राख्‍छन्: “जो अधर्मी छ, त्यो अझै अधर्मी होओस्; अनि जो अशुद्ध छ, त्यो अझै अशुद्ध होओस्; अनि जो धर्मी छ, ऊ अझै धर्मी होओस्; अनि जो पवित्र छ, ऊ अझै पवित्र होओस् ।” प्रकाश २२:११ (KJV) । जीवन वा मृत्युको प्रत्येक मुद्दाको निर्णय भइसकेको छ । ख्रीष्‍टले उहाँका मानिसहरूको प्रायश्‍चित गर्नुभएको छ र तिनीहरूका पापहरू मेटाउनु भएको छ । उहाँका जनताहरूको सङ्ख्या पुगिसकेको छ; “राज्य, प्रभुत्‍व र सम्पूर्ण आकाशमनिका राज्यहरूको महानता” मुक्तिको उत्तराधिकारीहरूलाई प्रदान गर्ने समय आउनै लागेको छ, र राजाहरूका राजा र प्रभुहरूका प्रभुको रूपमा येशूले नै शासन गर्नुपर्नेछ । MBA 137.2

जब उहाँ पवित्रवासस्थानबाट निस्केर जानुहुन्छ, तब पृथ्वीका बासिन्दाहरूमाथि अन्धकारले ढाक्दछ । त्यो डरलाग्दो समयमा धर्मीहरू एक पवित्र परमेश्‍‍वरको अघि कुनै मध्यस्थताविना नै जिउनुपर्नेछ । दुष्‍टमाथि भएको नियन्‍‍त्रण हटिगएको हुन्छ, र अन्तिमसम्म पश्‍चात्ताप नगर्ने मानिसहरूलाई शैतानले पूर्ण नियन्‍‍त्रणमा लिएको हुन्छ । परमेश्‍‍वरको धैर्य समाप्‍त भएको हुन्छ । संसारले उहाँको कृपालाई अस्‍वीकार गरेको हुन्छ, उहाँको प्रेमलाई घृणा गरेको हुन्छ, र उहाँको व्यवस्थामाथि कुल्‍चीमिल्‍ची गरेको हुन्छ । दुष्‍टहरूले तिनीहरूका पश्‍चात्ताप गर्ने अवसर गुमाएका हुन्छन्; परमेश्‍‍वरको आत्मालाई नियमितरूपमा प्रतिकार गरेको कारण अन्तिममा उहाँ हटेर जानुभएको हुन्छ । दैवीय अनुग्रहको रक्षाविना दुष्‍ट जनबाट सुरक्षित हुन सकिँदैन । त्यसपछि शैतानले पृथ्वीका बासिन्दाहरूलाई एक अन्तिम ठूलो सङ्‌कष्‍टमा डुबाउनेछ । जब परमेश्‍‍वरका दूतहरूले मानविक रिसको प्रचण्ड हुरी छोड़िदिन्छन्, तब सबै लड़ाइँका साधनहरू सर्वत्र विस्फोटन हुनेछन् । त्यसपछि समस्त संसार प्राचीन यरूशलेमको विनाशभन्दा पनि डरलाग्दो विनाशमा पर्नेछ । MBA 138.1

मिश्रीहरूका सबै जेठा छोराहरू एउटै स्‍वर्गदूतद्वारा नष्‍ट भए र देशभरि विलाप फैलियो । जब दाऊदले जनगणना गरेर परमेश्‍‍वरको विरूद्ध काम गरे तब एउटा स्‍वर्गदूतले डरलाग्दो विनाश ल्याए, र त्योचाहिँ तिनको पापको सजाय थियो । जब परमेश्‍‍वरले आज्ञा गर्नुहुन्छ तब पवित्र स्‍वर्गदूतहरूले जुन विनाशकारी शक्ति प्रयोग गर्दथे, दुष्‍ट दूतहरूले पनि अनुमति पाएको खण्डमा त्यही शक्ति प्रयोग गर्नेछन् । त्यहाँ शक्तिहरू तयारी छन्, र सर्वत्र सर्वनाशका लागि दैवीय अनुमति मात्र प्रतीक्षा गरिरहेका छन् । MBA 138.2

ज-जसले परमेश्‍‍वरको व्यवस्थालाई आदर गर्दछन् तिनीहरूलाई नै संसारमाथि आउने इन्साफहरूको कारक स्‍वरूप दोष लगाउँछ, जस्तै: डरलाग्दा प्रकृतिका हलचलहरू, लड़ाइँ र मानिसहरूको बीचमा रक्तपात जसले पृथ्वीलाई वेदनाले भरेको हुन्छ । दुष्‍टहरूलाई अन्तिम चेतावनीको शक्तिले क्रोधित पारेको छ; ज-जसले यो सन्देश प्राप्‍त गरेका छन् तिनीहरू सबै जनाको विरूद्धमा तिनीहरू क्रोधित भएका छन्, त्यति मात्र नभई शैतानले अझै ठूलो प्रचण्डतासाथ घृणा र सतावटको आत्मा उत्तेजित पार्नेछ । MBA 138.3

जब अन्तमा परमेश्‍‍वरको उपस्थिति यहूदी जातिहरूबाट हटेर गयो तब पूजाहारीहरू र मानिसहरूले सो थाहै पाएनन् । शैतानको नियन्‍‍त्रणमा सबभन्दा डरलाग्दा र घिनलाग्दा रिसहरूद्वारा तिनीहरू चलेका थिए, तापनि तिनीहरू आफैलाई परमेश्‍‍वरका चुनिएका जनहरू नै भनी ठाने । त्यो मन्दिरमा सेवाहरू निरन्तर भइरहे; त्यसका दूषित वेदीहरूमा बलिदानहरू अझै पनि चढाउँदथे, र परमेश्‍‍वरका प्रिय पुत्रको रगतका दोषीहरू र उहाँका सेवकहरू र प्रेरितहरूलाई हत्या गर्न चाहने मानिसहरूमाथि दैनिक रूपमा दैवीय आशिष् विन्ती गरिन्थ्यो । त्यसरी नै जब पवित्रवासस्थानको अपरिवर्तनीय निर्णय घोषणा गरिसकेको हुन्छ र संसारको गन्तव्य सदासर्वदाका निम्ति निर्धारित भइसकेको हुन्छ, तब पृथ्वीका बासिन्दाहरूलाई सो थाहा हुनेछैन । मानिसहरूले कृतिम धर्महरूलाई निरन्तरता दिनेछन्, अन्तमा तिनीहरूबाट परमेश्‍‍वरको आत्मा हटिसकेको हुन्छ; दुष्‍टको राजकुमारले उसका घातक योजनाहरू पूरा गर्न जुन शैतानिक जोश तिनीहरूभित्र उत्साहित पार्नेछ सो परमेश्‍‍वरको जोश अनुरूप देखिनेछ । MBA 138.4

जब इसाईजगतभरि शबाथको विषयचाहिँ विशेष विवादको केन्द्रविन्दु हुन्छ, तब धार्मिक र सरकारी अधिकारीहरू एकमत हुन्छन् र तिनीहरूले आइतबारको नियम लागू गर्छन्, र अल्प संख्याले मात्र प्रचलित मागलाई अटलतासाथ इन्कार गर्छन् र तिनीहरूलाई नै विश्‍‍वव्यापी अभिशापको केन्दीकरण बनाउनेछ । यस्तो दबाब आउनेछ कि जोजो चर्चको विधि र राज्यको व्यवस्थाको विरोध उभिन्छन् ती अल्प संख्यालाई बाँकी राख्‍नु हुँदैन; किनकि सम्पूर्ण राज्यहरू गोलमोल र व्यवस्थाबिहीन हुनुभन्दा त बरु तिनीहरूले कष्‍ट भोग्‍नु नै असल हुन्छ । अठार सय वर्षअघि “मानिसहरूका शासकहरूले” ख्रीष्‍टको विरूद्ध एउटै विवाद प्रस्तुत गरेका थिए । कपटी कैयाफाले भन्यो, “सारा जाति नष्‍ट नहोस् भनेर यस जनताका निम्ति एकजना मानिस मर्नु नै हाम्रा लागि फाइदा छ ।” यूहन्ना ११:५० (KJV) । यो विवाद फेरि पनि निर्णायक जस्तै देखा पर्नेछ; र जसले चौथो आज्ञाको शबाथलाई पवित्र राख्दछ, अन्तमा, तिनीहरूको विरूद्ध एउटा आदेश घोषणा हुनेछ, र तिनीहरू कड़ा सजायको योग्य भएझैँ तिनीहरूलाई निन्दा गर्नेछ र निर्धारित समयपछि मानिसहरूलाई तिनीहरूको हत्या गर्न स्‍वतन्‍‍त्रता प्रदान गर्नेछ । जसले सम्पूर्ण दैवीय विधानहरूको आदर गर्दछन्, प्राचीन संसारमा [युरोप] रोमी धर्मले अनि वर्तमान् संसारमा [अमेरिका] पतित प्रोटेस्टेन्ट धर्मले तिनीहरूको विरूद्धमा एउटै गोहो पैल्याउनेछ । MBA 139.1

त्यसपछि परमेश्‍‍वरका मानिसहरू यस्तो कष्‍ट र नैराश्‍‍यको दृश्‍‍यमा डुब्‍नेछन् कि जसलाई अगमवक्ताले याकूबको सङ्‌कष्‍टको समयद्वारा वर्णन गरेका थिए । “परमप्रभु यसो भन्नुहुन्छ: ‘हामीले थरथराहटको आवाज सुन्यौं—एउटा डरको आवाज, शान्तिको आवाज होइन । ... सबै अनुहारहरूको रङ उडे़को छ । हाय ! त्यो दिन कति डरलाग्दो छ ! यसैले त्योजस्तो अरू कुनै दिन छैन; त्यो ता याकूबको सङ्‌कष्‍टको समय हो; तर त्यसबाट ऊ बचाइनेछ ।”” यर्मिया ३०:५-७ (KJV) । MBA 139.2

जुन रात याकूबले एसावको हातबाट बाँच्‍नका लागि प्रार्थनामा लडन्त गरे, त्यो तिनको घोर संतापको रात थियो जसले सङ्‌कष्‍टको समयमा परमेश्‍‍वरका मानिसहरूले पाउने अनुभवलाई प्रतिनिधित्‍व गर्दछ । (उत्पत्ति ३२:२४-३०) । जुन आशिष् बुवाले एसावका निम्ति निर्दिष्‍ट गरेका थिए सो प्राप्‍त गर्नका लागि तिनले छल गरे, त्यसकारण तिनी आफ्‍नो दाजुको घातक धम्कीबाट आफ्‍नो ज्यान बचाउन तर्सेर भागे । तिनी धेरै वर्षसम्म घरबाट बहिष्कृत अवस्थामा रहेपछि परमेश्‍‍वरको आज्ञानुसार तिनका पत्‍नीहरू र छोराछोरीहरू, बगालहरू र बथानहरू लिएर आफ्‍नो मातृ भूमितर्फ यात्रा सुरु गरे । तिनी देशको सीमानासम्म मात्र के आइपुगेका थिए, एसाव लड़ाकूँहरूको एक समूह लिएर आफूतिर आइरहेको खबरले तिनलाई अति नै आतङ्‌कित तुल्यायो, र निश्‍चय नै तिनले बदला लिने निर्णय गरेका थिए । याकूबको समूहचाहिँ हतियारहीन र सुरक्षाहीन थियो, र हिंसा र संहारमा असाह्‌य शिकार भई ढल्‍नै लागेको जस्तो देखिन्थ्यो । अनि चिन्ता र डरको बोझमाथि थप चकनाचूर पार्ने आत्म-घृणाको भारी पनि थपिएको थियो, किनकि तिनको आफ्‍नै पापले गर्दा यो खतरा आएको थियो । तिनको आशा परमेश्‍‍वरको कृपामा बाहेक अरू कसैमा पनि थिएन, तिनको सुरक्षा भन्नु नै प्रार्थना मात्र हुन सक्थ्यो । यद्यपि तिनले दाजुप्रति गरेको गलतको प्रायश्‍चित गर्न र आउनै लागेको खतरालाई फर्काउन आफ्‍नो पक्षबाट यथाशक्‍य केही पनि बाँकी राखेनन् । त्यसरी नै ख्रीष्‍टका चेलाहरू, जब तिनीहरू सङ्‌कष्‍टको समयको नजिक आइपुग्छन्, तिनीहरू आफैले मानिसहरूको सामु उचित ज्योति राख्‍ने, मतभेद् शान्त पार्ने, र विवेकको स्‍वाधीनतामाथि आउनै लागेको खतरादेखि बचाउने प्रत्येक प्रयास गर्नुपर्छ । MBA 140.1

तिनका चिन्ताहरू परिवारबाट लुकाउनका निम्ति तिनले तिनीहरूलाई अगाड़ि नै पठाउँछन्, र याकूबचाहिँ एकलै परमेश्‍‍वरसँग मध्यस्थता गर्न पछाड़ि बस्छन् । त्यहाँ तिनले आफ्‍नो पाप स्‍वीकार गर्छन् र तिनका खातिर परमेश्‍‍वरले गर्नुभएका कृपाप्रति आभारी भई मानिलिन्छन्, जबकि तिनका पिताहरूसँग बाँधेको करार तथा बेथेलको रात्रि दर्शनमा अर्थात् तिनको निर्वासित देशमा तिनीसँग गरिएका प्रतिज्ञाहरूका निम्ति तिनले गहिरो नम्रतासाथ विन्ती गर्छन् । तिनको जीवनको सङ्कटको घड़ी छ; अब सम्पूर्ण कुरा जोखिममा छ । अन्धकार र एकान्त ठाउँमा तिनले परमेश्‍‍वरको सामु आफैलाई नम्र पारेर प्रार्थना गरिरहेछन् । अचानक एउटा हातले तिनको कुममा च्याप्पै पक्रन्छ । कोही शत्रुले तिनको प्राण खोजिरहेको होला भनी तिनी विचार गर्छन्, र तिनको आक्रमणधारीसँग तिनले सम्पूर्ण निराशाको बलसाथ लड़न्त गर्छन् । उज्याला हुनै लाग्दा त्यो बिरानो व्यक्तिले आफ्‍नो अमानविक शक्ति प्रयोग गर्छन्; तिनको छुवाइले गर्दा त्यो बलियो मान्छे पनि पक्षघात् भए जस्तो देखिन्छ, र तिनी असाह्‌य भई रुँदै र विन्ती गर्दै तिनको रहस्यमय विरोधीको घाँटीमा लड्‍छन् । अब याकूबलाई थाहा हुन्छ कि जससँग तिनले लड़ाइँ गरे तिनी ता करारको दूत पो रहेछ । तिनी अपाङ्ग भएर सबभन्दा तीखो दुखाइको कष्‍ट सहेतापनि तिनले आफ्‍नो उद्देश्‍‍य भने छोड्‍दैनन् । तिनले आफ्‍नो पापको चिन्ता, पछुतो र कष्‍ट लामो समयसम्म भोगिरहेछन्; अब तिनले क्षमाको भरोसा पाउनुपर्नेछ । त्यो दैवीय पाहुना जानै लागेको जस्तो देखिन्छ; तर याकूबले आशिष् माग्दै तिनलाई पक्रिरहन्छन् । स्‍वर्गदूतले अनुरोध गर्दछन्, “मलाई जान देओ; किनकि उज्यालो हुँदैछ;” तर अग्रगामी यसो भन्दै चिच्याउँछन्, “जबसम्म तपाईंले मलाई आशिष् दिनुहुन्न, तबसम्म म तपाईंलाई जान दिनेछैनँ ।” कस्तो विश्‍‍वास, कस्तो दृढता, र लगनशीलता यहाँ प्रदर्शन भएको छ ! यदि त्यो अभिमानी, दुःसाहसी दाबी भएको भए याकूब तुरून्तै नष्‍ट हुने थियो; तर जसले आफ्‍नो कमजोरीपन र अयोग्यता स्‍वीकार गर्छन् त्यो आश्‍‍वासन तिनकै लागि थियो, तापनि एक करार स्थिर राख्‍ने परमेश्‍‍वरको कृपामाथि भरोसा गर्नुपर्दछ । MBA 140.2

“स्‍वर्गदूतसँग उसले कुश्‍‍ती लड्‌यो र प्रबल भयो ।” होशे १२:४ । यो पापपूर्ण तथा गलतपूर्ण मरणशीलले स्‍वर्गका ऐश्‍‍वर्यलाई नम्रता, पश्‍चात्ताप र आत्म-समर्पणद्वारा पराजित गरे । तिनले परमेश्‍‍वरका प्रतिज्ञाहरू कम्पसाथ समातिरहेका थिए, र असीम प्रेमको हृदयले पापीको विन्तीलाई इन्कार गर्न सक्दैनथ्यो । तिनको विजयको प्रमाण देखाउन तथा अरूलाई तिनको उदाहरण अनुसरण गर्नतर्फ उत्प्रेरित गर्न तिनको नाम परिवर्तन भयो जसले तिनको पापको सम्झना दिलाउँदथ्यो, अब तिनको विजयको स्मरणमा परिणत भयो । याकूब परमेश्‍‍वरसँग विजय भयो भन्ने वास्तविकताचाहिँ एक यस्तो भरोसा थियो कि अब तिनी मानिससँग पनि विजय हुने थियो । त्यसपछि तिनी आफ्‍नो दाजुको रिस सामना गर्न डराएनन्, किनकि तिनको सुरक्षा परमप्रभु नै हुनुहुन्थ्यो । MBA 141.1

शैतानले याकूबलाई तिनको पापको कारण तिनको विनाशको अधिकार दाबी गर्दै परमेश्‍‍वरका दूतहरूको सामु दोष दिएको थियो; त्यसले एसावलाई तिनको विरूद्धमा युद्धयात्रा गर्न प्रयोग गरेको थियो; शैतानले अग्रगामीको लामो रातको लड़न्तभरि तिनलाई निराश पार्ने र परमेश्‍‍वरप्रति भएको भरोसा तोड्‍नका लागि तिनको दोषप्रति सचेत गराउने भरमग्दुर प्रयास गऱ्यो । याकूबलाई झण्डै हताशमा डुबायो; तर तिनलाई थाहा थियो कि स्‍वर्गको सहायताविना तिनी अवश्‍‍य नै मर्नै पर्ने थिए । तिनले सदाचारितासाथ तिनको महान् पाप पश्‍चात्ताप गरेका थिए, र तिनले परमेश्‍‍वरको कृपाका लागि विन्ती गरे । तिनी आफ्‍नो लक्ष्यबाट फर्कने थिएनन्, तर तिनले त्यो दूतलाई बलियोसाथ समाते र तिनले विजय नपाएसम्म गहिरो, कष्‍टदायी सोरले विन्ती गरे । MBA 141.2

जसरी शैतानले एसावलाई याकूबको विरूद्धमा युद्धयात्रा गर्न प्रभावित पाऱ्यो, त्यसरी नै सङ्‌कष्‍टको समयमा परमेश्‍‍वरको मानिसलाई नष्‍ट गर्न उसले दुष्‍टलाई पनि मच्‍चाउनेछ । जसरी त्यसले याकूबलाई दोष दियो त्यसरी नै उसले परमेश्‍‍वरका मानिसहरूको विरूद्धमा दोषहरू थुपार्नेछ । उसले संसारलाई आफ्‍ना जनता सरह ठान्दछ; तर परमेश्‍‍वरको आज्ञा पालन गर्ने अल्प समूहले उसको सर्वोच्‍चतालाई प्रतिकार गरिरहेको हुन्छ । यदि उसले तिनीहरूलाई पृथ्वीबाट नामेट पार्न सक्थ्यो भने ता उसको विजय पूर्ण हुन्थ्यो । उसले देख्‍छ कि तिनीहरूलाई पवित्र स्‍वर्गदूतहरूले सुरक्षा दिइरहेछन्, र तिनीहरूको पाप क्षमा भएको त्यसले अनुमान गर्छ; तर माथि भएको पवित्रवासस्थानमा तिनीहरूका मुद्दाहरू निर्धारित भएको कुरा उसलाई थाहै छैन । त्यसले पापहरूको ठीक जानकारी प्राप्‍त गरेको छ, तिनीहरूलाई त्यसैमा फसाएको छ, र त्यसले ती कुराहरू परमेश्‍‍वरको सामु जतिसक्दो बढाइचढाइ ज्योतिमा प्रकट गर्दछ, यी मानिसहरू पनि आफैझैँ परमेश्‍‍वरको अनुग्रहबाट बञ्‍चित हुने लायकका छन् भनी वर्णन गर्दछ । उसले घोषणा गर्दछ कि परमप्रभुले न्यायसाथ तिनीहरूका पापहरू क्षमा दिएर ऊ र उसका दूतहरूलाई चाहिँ नष्‍ट गर्न सक्‍नुहुन्न । उसले तिनीहरूलाई उसको शिकारको रूपमा दाबी गर्दछ र तिनीहरू नष्‍ट पारिनलाई उसको हातमा सुम्पिनुपर्ने माग गर्दछ । MBA 142.1

जब शैतानले परमेश्‍‍वरका मानिसहरूलाई तिनीहरूका पापहरूको कारणले दोष दिन्छ, तब परमप्रभुले उसलाई तिनीहरूको घोर जाँच गर्ने अनुमति दिनुहुन्छ । तिनीहरूका परमेश्‍‍वरप्रति भएको भरोसा, तिनीहरूका विश्‍‍वास र दृढता कठोरतासाथ जाँचिनेछ । जब तिनीहरूले विगतका कुराहरूमा पुनर्विचार गर्छन्, तब तिनीहरूका आशाहरू हराउँछन्; किनकि तिनीहरूका सम्पूर्ण जीवनहरूमा असल ता थोरै नै देख्‍छन् । तिनीहरू आफ्‍ना कमजोरीपन र अयोग्यतालाई पूर्णरूपले जान्दछन् । शैतानले तिनीहरूका मुद्दाहरू आशाहीन छन् र तिनीहरूको दोषको दाग कहिले पनि धोएर जानेछैन भन्ने विचारद्वारा तर्साउने प्रयास गर्दछ । यसरी उसले तिनीहरूका विश्‍‍वास नष्‍ट पार्ने आशा गर्दछ ताकि तिनीहरू उसका परीक्षाहरूमा परोस् र परमेश्‍‍वरप्रति भएको बफादारिताबाट फर्कोस् । MBA 142.2

तिनीहरू परमेश्‍‍वरका मानिसहरूको विनाशमा लागी परेका शत्रुहरूद्वारा घेरिएतापनि तिनीहरूले भोगेको संताप सत्यताका खातिर त्यति भयानक सतावट हुँदैन; तिनीहरूले बरु प्रत्येक पाप पश्‍चात्ताप गरेका छैनन् कि, तथा तिनीहरूमा भएका कुनै दोषले गर्दा मुक्तिदाताको प्रतिज्ञा पूरा गर्न असफल होला कि भनी डर मात्र हुन्छ: “म पनि तिमीलाई परीक्षाको घड़ीबाट जोगाउनेछु, जुनचाहिँ पृथ्वीमा बस्‍नेहरूलाई जाँच्‍नाका निम्ति सारा संसारमाथि आउनेछ ।” प्रकाश ३:१० । यदि तिनीहरूले क्षमाको भरोसा प्राप्‍त गर्न सक्थे भने तिनीहरू यातना वा मृत्युबाट धरि डराउँदैनथे; तर यदि तिनीहरू अयोग्य प्रमाणित भएर तिनीहरूका आफ्‍नै चरित्रको खोटको कारणले जीवन गुमाउछन् भनेता परमेश्‍‍वरको पवित्र नाम निन्दित हुने थियो । MBA 142.3

तिनीहरूले चारैतिर राजद्रोहका षड्‌यन्‍‍त्रहरू सुन्छन् र विद्रोहको क्रियाशील कार्य देख्‍छन्; र तिनीहरूभित्र एक गहिरो इच्छा, एक आत्माको तृष्णा जागृत भएको हुन्छ, ताकि यो महान् पतन समाप्‍त भएको होस् र दुष्‍टको दुष्‍टता अन्त्य भएको होस् । तर जब तिनीहरूले परमेश्‍‍वरलाई विद्रोहको काम रोक्‍न विन्ती गर्दछन् तब आत्म-निन्दाको तीक्ष्ण चेतना जागृत हुन्छ किनकि तिनीहरू आफैमा शक्तिशाली दुष्‍टको वेगलाई प्रतिकार गर्ने र हटाउने केही शक्ति हुँदैन । तिनीहरूले महसुस गर्छन् कि यदि सबै क्षमताहरू सदा ख्रीष्‍टको सेवामा प्रयोग गरेको भए, र बलदेखि बलमा अगाड़ि बढ़ेको भए तिनीहरूको विरूद्धमा शैतानका शक्तिहरू कमै मात्र विजय हुने थिए । MBA 143.1

तिनीहरूले परमेश्‍‍वरको सामु विगतका धेरै पापहरूको पश्‍चात्तापलाई देखाउँदै र मुक्तिदाताको प्रतिज्ञालाई विन्ती गर्दै आफैलाई इन्कार गर्दछन्: “मसँग मेलमिलाप गर्नलाई त्यसले मेरो बल समातोस् ! अँ, त्यसले मसँग मेलमिलाप गरोस् !” यशैया २७:५ (KJV) । तिनीहरूका प्रार्थनाहरूको उत्तर तुरून्तै आएन भने पनि तिनीहरूको विश्‍‍वासचाहिँ असफल हुँदैन । तिनीहरूले व्यग्र चिन्ता, आतङ्क र हताश सहनु परेतापनि आफ्‍नो मध्यस्थता गर्न छोड्‍दैनन् । जसरी याकूबले स्‍वर्गदूतलाई समातेका थिए त्यसरी नै तिनीहरूले पनि परमेश्‍‍वरको शक्तिलाई समात्छन्; र तिनीहरूका आत्माको भाषाचाहिँ: “जबसम्म तपाईंले मलाई आशिष् दिनुहुन्न, तबसम्म म तपाईंलाई जान दिनेछैनँ ।” MBA 143.2

यदि याकूबले जेष्‍ठ अधिकार प्राप्‍त गर्ने छलको पाप पहिले नै पश्‍चात्ताप नगरेको भए परमेश्‍‍वरले तिनको प्रार्थना सुन्नुहुने थिएन साथै कृपापूर्णसाथ तिनको जीवन बचाउनुहुने थिएन । त्यसर्थ सङ्‌कष्‍टको समयमा, यदि परमेश्‍‍वरका जनहरूका अपश्‍चात्तापी पापहरू तिनीहरूका सामु देखिन्छन् भने तिनीहरूका डर र संतापको यातना तथा तिनीहरू व्याकुल हुने थिए; तिनीहरूको हताशले विश्‍‍वासलाई कमजोरी पार्ने थियो, र परमेश्‍‍वरसँग छुटकाराका निम्ति विन्ती गर्ने तिनीहरूमा साहस नै हुँदैनथ्यो । तर तिनीहरूमा अयोग्यताको गहिरो चेतना भएतापनि तिनीहरूभित्र प्रस्तुत नभएको कुनै पनि गलत लुकिएको हुँदैन । तिनीहरूका पापहरूको न्याय पहिले नै भइसकेको हुन्छ र ती मेटिसकेका हुन्छन्, र तिनीहरूले फेरि सम्झन सक्दैनन् । MBA 143.3

शैतानले धेरै जनालाई यस्तो विश्‍‍वास दिलाउँदछ कि परमेश्‍‍वरले तिनीहरूका जीवनको सानोतिनो अविश्‍‍वासीपनलाई वास्ता गर्नुहुन्न; तर परमप्रभुले याकूबप्रति गर्नुभएको व्यवहारबाट देखाउनुभयो कि उहाँले दुष्‍टतालाई कुनै रीतिले पनि समर्थन गर्नुहुन्न वा सहन गर्नुहुन्न । जसले पापहरू लुकाउने वा बहाना बनाउने प्रयास गर्दछन् र ती पापहरू स्‍वर्गका पुस्तकहरूमा पश्‍चात्तापहीन र क्षमाहीन स्‍वरूप टिप्पणी गरिएका हुन्छन्, र शैतानले तिनीहरू सबैमाथि विजय प्राप्‍त गर्नेछ । तिनीहरूको जति नै उच्‍च धर्म-विश्‍‍वास र आदरर्णीय पद भए पनि परमेश्‍‍वरको दृष्‍टिमा तिनीहरूका काम त्यति नै दुःखमय हुन्छ र तिनीहरूको महान् दुश्‍‍मनको विजय त्यति नै निश्‍चित हुन्छ । जसले परमेश्‍‍वरको दिनका निम्ति तयार गर्न ढिलाइ गर्दछन्, तिनीहरूले सङ्‌कष्‍टको समयमा वा कुनै पनि आगामी दिनहरूमा सो प्राप्‍त गर्न सक्‍नेछैनन् । यस्ताहरू सबैका अवस्था आशाहीन हुन्छ । MBA 144.1

ती इसाई नामक मानिसहरू जो अन्तिम डरलाग्दो संघर्षसम्म तयारीविना नै आइपुग्छन्, तिनीहरूले आफ्‍नो नैराश्‍‍यमा जलिरहेका संतापका शब्दहरूले पापहरू स्‍वीकार गर्नेछन्, जबकि दुष्‍टहरू तिनीहरूका निराशमा हर्षित हुनेछन् । यी पाप स्‍वीकारहरूचाहिँ एसाव र यहूदाको जस्तै हुन्छन् । जसले यसरी स्‍वीकार गर्छन् तिनीहरूले अधर्मको परिणामले गर्दा विलाप गर्दछन्, तर त्यसको दोषका निम्ति चाहिँ होइन । तिनीहरूले कुनै सत्य पछुतोको महसुस गर्दैनन्, दुष्‍टतालाई केही घृणा गर्दैनन् । तिनीहरूले आफ्‍नो डर र सजायद्वारा पाप स्‍वीकार गर्छन्; तर प्राचीनको फारोझैँ, यदि इन्साफहरू रोकिएको भए तिनीहरू फेरि स्‍वर्गलाई चुनौती दिन फर्कने थिए । MBA 144.2

याकूबको इतिहास पनि एउटा यस्तो भरोसा हो कि परमेश्‍‍वरले पापमा बहकिएका र परिक्षित भएका र धोका पाएकाहरूलाई इन्कार गर्नुहुनेछैन, तर तिनीहरू उहाँकहाँ सत्य पश्‍चात्तापसाथ फर्कनुपर्छ । जब शैतानले यो दर्जालाई नष्‍ट पार्ने प्रयास गर्दछ, तब परमेश्‍‍वरले जोखिमको समयमा तिनीहरूलाई सान्त्‍वना दिन र बचाउन उहाँका स्‍वर्गदूतहरू पठाउनुहुनेछ । शैतानका आक्रमणहरू हिंस्रक र निर्णायक छन्, त्यसका छलहरू भयङ्कर छन्; तर परमप्रभुका आँखा उहाँका जनहरूमाथि छ, र तिनीहरूका पुकारहरू उहाँको कानले सुन्छ । तिनीहरूको कष्‍ट भयङ्कर छ, भट्टीका ज्‍वालाहरूले तिनीहरूलाई भष्म पार्न खोजेको जस्तो देखिन्छ; तर सुनुवारले तिनीहरूलाई आगोमा खारिएको सुन जस्तै निकाल्‍नेछ । तिनीहरूका सबभन्दा कड़ा कष्‍टको समयावधिमा पनि परमेश्‍‍वरको प्रेम उहाँका छोराछोरीहरूका लागि अति नै उज्‍ज्‍वल उन्नतिका दिनहरू जस्तै बलियो र कोमल हुन्छ; तर तिनीहरूलाई आगोको भट्टीमा राख्‍नचाहिँ आवश्‍‍यक नै छ; तिनीहरूको सांसारिक स्‍वभाव भष्म हुनुपर्छ ताकि ख्रीष्‍टको प्रतिरूप पूर्णरूपमा प्रतिबिम्बित हुन सकोस् । MBA 144.3

हाम्रो सामु भएको निराश र वेदनाको समयमा विश्‍‍वासको आवश्‍‍यकता पर्नेछ जसले थकितपन, ढिलाइ र भोक सहन सक्छ—जुन विश्‍‍वास कठोर परीक्षामा पनि स्थिर रहन्छ । त्यो समयको तयारीका लागि सबैलाई अनुग्रहको समयावधि प्रदान गरिएको छ । याकूबले विजय प्राप्‍त गरे किनकि तिनले अथक प्रयास गरे र तिनी निर्णायक भए । तिनको विजयचाहिँ अतियाचना प्रार्थनाको शक्तिको प्रमाण हो । जसले परमेश्‍‍वरका प्रतिज्ञाहरूलाई बलियो गरी समात्छन्, जसरी तिनले समातेका थिए, र उत्सुक र अथक प्रयास गर्छन् जसरी तिनले पनि गरेका थिए, तिनीहरू सबैले सफलता हासिल गर्नेछन् जसरी तिनले पनि हासिल गरेका थिए । जोजो आत्म-इन्कार गर्न, परमेश्‍‍वरको अघि वेदना भोग्‍न, उहाँको आशिष्‌का लागि लामो र उत्सुक प्रार्थना गर्न तयारी छैनन्, तिनीहरूले सफलता हासिल गर्नेछैनन् । परमेश्‍‍वरसँग लड़न्त गर्नु—कति थोरैले मात्र यसको अर्थ जान्दछन् ! कति थोरै मानिसहरूले मात्र तिनीहरूका प्रत्येक शक्ति नतन्किएसम्म इच्छाको तीव्रतासाथ त्यसलाई परमेश्‍‍वरको पछि लगाएका छन् । जब कुनै भाषाले व्यक्त गर्न नसकिने निराशका छालहरू ती निवेदकहरूमाथि बजारिन्छन्, तब कति थोरैले मात्र परमेश्‍‍वरका प्रतिज्ञाहरूको विश्‍‍वासलाई नछोड़िकन पक्रन्छन् । MBA 145.1

जसले वर्तमानमा थोरै विश्‍‍वास प्रयोग गर्दछन् तिनीहरू शैतानका छलहरूको शक्तिमा पर्ने र विवेकलाई बाध्य पार्ने आदेशको अधीनमा पर्ने भयानक खतरामा छन् । तिनीहरूले जाँच सहन गरेतापनि तिनीहरू सङ्‌कष्‍टको समयमा अझै गहिरो निराश र वेदनामा डुब्‍नेछन्, किनकि तिनीहरूले कहिले पनि परमेश्‍‍वरमाथि भरोसा राख्‍ने आदत् बनाएका छैनन् । जुन विश्‍‍वासका पाठहरू तिनीहरूले सिक्‍ने वास्तै गरेनन्, तिनीहरू डरलाग्दो नैराश्‍‍यको दबाबमा ती सिक्‍न बाध्य हुनेछन् । MBA 145.2

अब हामी परमेश्‍‍वरसँग उहाँका प्रतिज्ञाहरूको प्रमाणद्वारा परिचित हुनुपर्दछ । स्‍वर्गदूतहरूले प्रत्येक उत्सुक र सदाचारी प्रार्थनाको दर्ता गर्छन् । हामीले परमेश्‍‍वरसँग वार्तालाप गर्न लत्याउनु हुँदैन, बरु स्‍वार्थी सन्तुष्‍टताहरू त्याग्‍नुपर्छ । उहाँको सहमतविना धन-सम्पत्तिहरू, आदरहरू, सुखविलास र मित्रताहरू आर्जन गर्नुभन्दा त उहाँको सहमतअनुसार अत्यन्तै घोर दरिद्रता, सबभन्दा ठूलो आत्म-इन्कार नै उत्तम हुन्छ । हामीेले प्रार्थनामा समय बिताउन अति आवश्‍‍यक छ । यदि हामीले आफ्‍ना दिमागहरूलाई सांसारिक उद्देश्‍‍यहरूमा डुबाउँछौं भने परमप्रभुले हामीबाट आफ्‍ना सुन, घरहरू र उर्वरा भूमिहरूका मूर्तिहरू हटाएर हामीलाई समय प्रदान गर्न सक्‍नुहुन्छ । MBA 145.3

यदि युवाहरूले परमेश्‍‍वरको आशिष्‌रहित मार्गमा प्रवेश गर्न इन्कार गरेको भए तिनीहरू पापमा फस्‍ने थिएनन् । यदि संसारमा अन्तिम गम्भीर चेतावनी दिने समाचारवाहकहरूले उत्साहहीन, इच्छाहीन र अल्छी तरिकाले होइन तर याकूबले झैँ जोशपूर्ण साथ र विश्‍‍वासका साथ परमेश्‍‍वरको आशिष्‌का लागि प्रार्थना गर्छन् भने तिनीहरूले यसो भन्न सक्‍ने यस्ता धेरै ठाउँहरू पाउने थिए: “मैले परमेश्‍‍वरलाई आमने-सामुन्ने देखेको छु, र पनि मेरो प्राण बचेको छ ।” उत्पत्ति ३२:३० । स्‍वर्गले तिनीहरूलाई परमेश्‍‍वर र मानिसहरूसँग विजयी राजकुमारहरूझैँ ठान्ने थियो । MBA 146.1

“कहिले नभएको सङ्‌कष्‍टको समय” अब चाँडै नै हामीमाथि आउनै लागेको छ; हामीलाई यस्तो अनुभव आवश्‍‍यक पर्नेछ जुन हामीले अहिले प्राप्‍त गरेका छैनौं र धेरै जना यसलाई प्राप्‍त गर्न अति नै अल्छे छन् । प्रायः जसो वास्तविक सङ्‌कष्‍टभन्दा त्यसको अनुमानचाहिँ झन ठूलो हुन्छ; तर यो हाम्रो सामु भएको विपत्तिको घड़ीमा यो सत्य हुनेछैन । त्यसको सबभन्दा स्पष्‍ट वक्तव्यले पनि अग्‍निमय कष्‍टको महत्‍व वर्णन गर्न सक्दैन । त्यो कष्‍टको घड़ीमा प्रत्येक मानिस परमेश्‍‍वरको अघि एकलै उभिनुपर्नेछ । “त्यस देशमा नूह, दानिएल र अय्यूब नै भए तापनि, प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको कसम ! उनीहरूले न छोरालाई छुटाउन सक्‍ने थिए, न छोरीलाई; उनीहरूले आफ्‍नो धार्मिकताद्वारा आफ्‍नै प्राणहरू मात्र छुटाउने थिए ।” इजकिएल १४:२० (KJV) । MBA 146.2

अब, जबकि हाम्रा प्रधान पूजाहारी हाम्रा निम्ति प्रायश्‍चित गरिरहनुभएको छ, त्यही घड़ी ख्रीष्‍टमा हामी पूर्ण हुने प्रयास गर्नुपर्छ । हाम्रा मुक्तिदाता कुनै सोच-विचारद्वारा पनि परीक्षामा फस्‍नुभएन । जब शैतानले मानविक हृदयहरूमा पाइला राख्‍ने कुनै ठाउँ पाउँदछ; तथा कुनै पापपूर्ण अभिलाषालाई आश्रय दिएको हुन्छ, तब त्यही माध्यमहरूद्वारा त्यसका परीक्षाहरूले तिनीहरूको शक्ति प्रयोग गर्ने चेष्‍टा गर्दछन् । तर ख्रीष्‍टले आफ्‍नै विषयमा घोषणा गर्नुभयो: “यस संसारको शासक आउँदैछ, अनि ममा त्यसको केही पनि छैन ।” यूहन्ना १४:३० । शैतानले परमेश्‍‍वरका पुत्रमाथि विजय प्राप्‍त गर्न सक्‍ने त्यस्तो केही पनि पाउन सक्दैन थियो । उहाँले आफ्‍ना पिताका आज्ञाहरू पालन गर्नुभएको थियो, र शैतानले उसको फाइदाका लागि प्रयोग गर्न सक्‍ने कुनै पाप उहाँमा थिएन । जो सङ्‌कष्‍टको समयमा उभिएका भेटाउनेछन् तिनीहरूको पनि यस्तै अवस्था हुनुपर्दछ । MBA 146.3

हामीले ख्रीष्‍टको प्रायश्‍चितयुक्त रगतमा विश्‍‍वास गरेर यो जीवनमै हामीबाट पाप अलग गर्नुपर्दछ । हाम्रा बहुमूल्य मुक्तिदाताले उहाँसँग सम्बन्ध जोड्‍न, हाम्रो कमजोरीपन उहाँको सामर्थ्यमा, हाम्रो अन्‍जानपन उहाँको बुद्धिमा, हाम्रो अयोग्यता उहाँको योग्यतामा एकत्र पार्न निमन्‍‍त्रणा गर्नुहुन्छ । परमेश्‍‍वरको दयालु कार्यचाहिँ एक पाठ्‌शाला हो जसमा हामीले येशूको दीनता र नम्रता सिक्‍नुपर्छ । परमप्रभुले हामीलाई सजिलो र आनन्दमय देखिने हाम्रो इच्छाअनुसारका मार्गहरू हामी अघि कहिले पनि राखिदिनुभएको छैन, तर सँधै उहाँले हाम्रो अगाड़ि जीवनका सत्य लक्ष्यहरू राख्‍नुहुन्छ । ती माध्यमहरूसँग मिलेर सहकार्य गर्नुचाहिँ हाम्रो उत्तरदायित्‍व हो जुन स्‍वर्गले हाम्रा चरित्रहरू दैवीय ढाँचामा परिवर्तन गर्न प्रयोग गर्दछ । यदि तिनीहरूले यस कामलाई लत्याउँछन् वा स्थगित राख्‍छन् भने तिनीहरूका प्राणहरू ठूलो जोखिममा हुन्छ । MBA 146.4

प्रेरित यूहन्नाले दर्शनमा एक चर्को सोर स्‍वर्गमा कराइरहेका सुने: “पृथ्वी र समुद्रका बासिन्दाहरूलाई हाय ! किनकि शैतान रिसले आगो भएर तल तिमीहरूकहाँ आएको छ, किनकि त्यससँग समय छोटो छ भनी त्यसलाई थाह छ ।” प्रकाश १२:१२ (KJV) । स्‍वर्गीय सोरले आश्‍चर्यसाथ उच्‍चारण गरेका दृश्‍‍यहरू भयङ्कर छन् । जसरी शैतानको समय अल्प हुँदै जान्छ त्यसरी उसको क्रोध बढ्‍दै जान्छ, र सङ्‌कष्‍टको समयमा त्यसको छल र विनाशको काम चरमविन्दुमा पुग्‍नेछ । MBA 147.1

अप्राकृतिक तरिकाका डरलाग्दा दृश्‍‍यहरू, अचम्मलाग्दो काम गर्ने भूतहरूको शक्तिका चिन्हहरू चाँडै नै आकाशमा देखा पर्नेछन् । पृथ्वीका राजाहरू र सारा संसारका मानिसहरूलाई भ्रममा पार्न भूतहरूका आत्माहरू जानेछन्, र स्‍वर्गीय प्रशासनको विरूद्धमा शैतानको अन्तिम संघर्षमा ऊसँग एकत्रित हुन दबाब गर्नेछन् । यी माध्यमहरूद्वारा शासकहरू र जनताहरू उस्तै गरी बहकिनेछन् । मानिसहरू आफै ख्रीष्‍टको रूप धारण गरेर आउनेछन्, र संसारको मुक्तिदातालाई मात्र सुहाउने शिर्षक र सेवाका दाबी गर्नेछन् । तिनीहरूले अचम्मलाग्दो निको पार्ने कामहरू गर्नेछन् र धर्मशास्‍‍त्रका गवाहीहरूको विरोधमा स्‍वर्गबाट प्रकाश पाएका दाबी गर्नेछन् । MBA 147.2

छलको महान् नाटकमा प्रमुख कार्यको रूपमा शैतान आफै ख्रीष्‍टको रूप धारण गरेर आउनेछ । चर्चले त्यसका आशाहरूका पूर्णताको रूपमा लामो समयदेखि मुक्तिदाताको आगमनलाई प्रतीक्षा गरेको दाबी गरेको छ । अब महान् ठगाहाले ख्रीष्‍टको आगमनलाई नकल गर्नेछ । शैतानले आफैलाई पृथ्वीका विभिन्न भागहरूमा चम्किलो रोशनीको ऐश्‍‍वर्य प्राणीझैँ मानिसहरूका माझ प्रकट गर्नेछ, त्यो प्रकाशमा यूहन्नाद्वारा गरिएको परमेश्‍‍वरको पुत्रको वर्णन अनुरूप आउनेछ । प्रकाश १:१३-१५ । मरणशील आँखाहरूले कहिले नदेखेको महिमा त्यसको वरिपरी हुनेछ । हावामाथि विजयको आवाज गुञ्‍जिनेछ: “ख्रीष्‍ट आउनु भएको छ ! ख्रीष्‍ट आउनु भएको छ !” जसरी ख्रीष्‍ट यस पृथ्वीमा हुँदा उहाँका चेलाहरूलाई उहाँले आशिष् दिनुहुन्थ्यो त्यसरी नै उसले आफ्‍ना हात उठाएर तिनीहरूमाथि आशिष् घोषणा गर्नेछ र मानिसहरूले त्यसको सामुन्ने लम्पसार परेर आराधना गर्नेछन् । उसको सोर मधुरो र धीमा, तापनि लयपूर्ण हुनेछ । नरम, दायालु सुरहरूमा उसले कुनै-कुनै त्यस्तै अनुग्रहकारी स्‍वर्गीय सत्यताहरू प्रस्तुत गर्नेछ जुन मुक्तिदाताले उच्‍चारण गर्नुभएको थियो; उसले मानिसहरूका रोगहरू निको पार्नेछ, र त्यसपछि उसले ख्रीष्‍टको नकल चरित्रमा शबाथलाई आइतबारमा परिवर्तन गरेको दाबी गर्नेछ, र सबैलाई उसले आशिषित पारेको दिनलाई पवित्र राख्‍ने आज्ञा गर्नेछ । जसले सातौं दिन लगातार पवित्र राख्दछन्, तिनीहरूले उसको नाम निन्दा गरेको छ किनकि ज्योति र सत्यतासाथ तिनीहरूकहाँ पठाइएको उसका दूतहरूलाई अस्‍वीकार गरेका छन् भनी घोषणा गर्नेछ । योचाहिँ बलियो र झण्डै सर्वनियन्‍त्रित छल हो । जसरी सामरियाका बासिन्दाहरू सानादेखि ठूलासम्म भीड़का भीड़ मानिसहरूले ती मन्‍‍त्रतन्‍‍त्रहरूमा ध्यान दिए, र सिमोन मगसद्वारा यसो भन्दै बहकिए: यी “परमेश्‍‍वरका महान् शक्ति हुन् ।” प्रेरित ८:१० । MBA 147.3

तर परमेश्‍‍वरका मानिसहरू बहकिने छैनन् । यो झूटो ख्रीष्‍टका शिक्षाहरू धर्मशास्‍‍त्र अनुरूप छैनन् । उसका आशिष्‌हरू पशु र त्यसको मूर्तिलाई पूजा गर्नेहरूमाथि घोषणा भएका हुन्छन्, त्यही मानिसहरू जसमाथि बाइबलले घोषणा गर्दछ कि परमेश्‍‍वरको केही नमिसाई तयार गरिएको क्रोध खन्याइनेछ । MBA 148.1

अनि त्यति मात्र नभएर, यता शैतानलाई ख्रीष्‍टको दोस्रो आगमनको तरिका नकल गर्ने अनुमति दिइएको छैन । मुक्तिदाताले उहाँका मानिसहरूलाई यस छलको विरूद्धमा चेतावनी दिनुभएको छ, र उहाँको दोस्रो आगमनको तरिका स्पष्‍टरूपमा पूर्ववाणी गर्नुभएको छ । “झूटा ख्रीष्‍टहरू र झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र ठूला-ठूला चिन्हरू र चमत्कारहरू देखाउनेछन्; यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन् । ... यसकारण तिमीहरूलाई तिनीहरूले ‘हेर, उनी उजाड़स्थानमा छन्’ भनी भने भने तिमीहरू निस्केर नजाओ; ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनी भने भने विश्‍‍वास नगर । किनभने जसरी बिजुली पूर्वबाट निस्केर पश्‍चिमसम्म चम्कन्छ, मानिसका पुत्रको आगमन पनि त्यसरी नै हुनेछ ।” मत्ती २४:२४-२७, ३१; २५:३१; प्रकाश १:७; १ थेसलोनिकी ४:१६, १७ (KJV) । यो आगमनलाई नकल गर्न सक्‍ने सम्भावना नै छैन । यो विश्‍‍वव्यापीरूपमा थाहा हुनेछ—सारा संसारले देख्‍नेछ । MBA 148.2

जोजो धर्मशास्‍‍त्रका मेहनती विद्यार्थीहरू भएका छन्, र जसले सत्यताको माया प्राप्‍त गरेका छन् तिनीहरू मात्र संसारलाई कैदी पार्ने शक्तिशाली छलबाट सुरक्षित हुनेछन् । बाइबलको गवाहीबाट तिनीहरूले ठगाहालाई उसको छलमा पत्ता लगाउनेछन् । सबैलाई जाँचको समय आउनेछ । परीक्षाको चाल्‍नोद्वारा वास्तविक इसाई प्रकट हुनेछ । के परमेश्‍‍वरका जनहरू तिनीहरूका ज्ञानेन्द्रियहरूको प्रमाणलाई अर्पण नगर्न अहिले नै उहाँको वचनमाथि बलियोसाथ स्थापित भएका छन् त ? के तिनीहरू यस्तो सङ्‌कष्‍टमा पनि बाइबल र बाइबलमा मात्र अडिग रहन्छन् त ? शैतानले त्यो दिनमा उभिनका लागि आवश्‍‍यक तयारी प्राप्‍त गर्न यथाशक्त प्रतिबन्ध गर्नेछ । उसले यस्तो प्रबन्ध मिलाउनेछ कि तिनीहरूका मार्गलाई बन्द पार्नेछ, तिनीहरूलाई सांसारिक सम्पत्तिले अल्झाई दिनेछ, र गह्रो र थकितपूर्ण भारी बोकाउनेछ ताकि यस जीवनका चिन्ताहरूले तिनीहरूका हृदयहरू भरियोस् र तिनीहरूमाथि कष्‍टको दिन चोरझैँ आइपरोस् । MBA 148.3

जब आज्ञा पालन गर्नेहरूको विरूद्धमा विभिन्न इसाईजगतका शासकहरूले आदेश जाहेर गर्नेछन्, तब सरकारी सुरक्षा हटाइनेछ र तिनीहरूका विनाश गर्न चाहनेहरूका हातमा तिनीहरू छोड़िनेछन्, त्यसपछि परमेश्‍‍वरका जनहरू शहरहरू र गाउँहरूबाट समूहहरूमा जम्मा भएर अति उजाड़ र दुर्गम क्षेत्रहरूतिर वास गर्न भाग्‍नेछन् । धेरैले पहाड़हरूका किल्‍लाहरूमा शरणस्थान पाउनेछन् । पिडमन्ट उपत्यकाहरूका इसाईहरूझैँ तिनीहरूले पृथ्वीका उच्‍च स्थानहरू आफ्‍ना पवित्रवासस्थान बनाउनेछन् र “चट्टानहरूका गढ़ीहरू” का निम्ति परमेश्‍‍वरलाई धन्यवाद दिनेछन् । यशैया ३३:१६ । तर सबै जातिहरू र दर्जाहरूका धेरै जना उच्‍च र नीच, धनी र गरीब, कालो र गोरो सबभन्दा नराम्रो अन्याय र क्रूर दासत्‍वमा फालिनेछन् । परमेश्‍‍वरका प्रिय जनहरूले थकित दिनहरू बिताउनेछन्, साङ्‍लाहरूमा बाँधिनेछन्, र जेलमा थुनिनेछन्, मृत्यु-दण्डमा पर्नेछन्, र कति जना शायद अन्धकार र अरुचिकर कालकोठरीहरूमा भोकले मर्न छोड़िनेछन् । तिनीहरूका वेदनाहरू सुन्न कुनै मानविक कान खुल्‍ला रहँदैन; कुनै पनि मानविक हातले तिनीहरूलाई सहायता गर्न तयार छैन । MBA 149.1

के परमप्रभुले उहाँका जनहरूलाई यो जाँचको घड़ीमा बिर्सनुहुनेछ र ? के उहाँले जलप्रलयभन्दा अगाड़िका संसारमाथि न्याय आइपर्दा विश्‍‍वासयोग्य नोआलाई बिर्सनुभएको थियो र ? जब मैदानका शहरहरूलाई भष्म पार्न स्‍वर्गबाट आगो बर्सेको थियो तब के उहाँले लोतलाई बिर्सनुभयो र ? के उहाँले मिश्रमा भएका मूर्तिपूजकहरूको बीचमा योसेफलाई बिर्सनुभयो त ? इजबेलले बालका अगमवक्ताहरूको विनाशको कसम खाएर धम्कि दिएको बखत के उहाँले एलियालाई बिर्सनुभयो र ? के उहाँले यर्मियालाई तिनको जेल घरको अँध्यारो र उदास खाल्डोमा बिर्सनुभयो र ? के उहाँले तीन प्रतिष्‍ठित व्यक्तिहरूलाई आगोको भट्टीमा बिर्सनुभयो र ? अथवा दानिएललाई सिंहको खोरमा बिर्सनुभयो र ? MBA 149.2

“सियोनले भन्यो: ‘परमप्रभुले मलाई त्याग्‍नुभएको छ; अनि मेरो प्रभुले मलाई बिर्सनुभएको छ ।’ के कुनै स्‍‍त्रीले आफ्‍नो दूध चुस्‍ने बालकलाई बिर्सन सक्छे, र आफ्‍ना गर्भको छोरामाथि नटिठाउली ? अँ, यिनीहरूले बिर्सन सक्छन्, तर मचाहिँ तँलाई बिर्सनेछैन । हेर्, मैले तँलाई आफ्‍ना हत्केलाहरूमा खोपेको छु ।” यशैया ४९:१४-१६ (KJV) । सेनाहरूका परमप्रभु भन्नुहुन्छ: “जसले तिमीहरूलाई छुन्छ, त्यसले उहाँको आँखाको नानीलाई छुन्छ ।” जकरिया २:८ (KJV) । MBA 150.1

शत्रुहरूले तिनीहरूलाई जेलहरूमा खाँदेपनि कालकोठरीहरूका पर्खालहरूले ख्रीष्‍ट र तिनीहरूका आत्मा बीचको वार्तालाप विच्छेद गर्न सक्दैनन् । एक जना हुनुहुन्छ, जसले तिनीहरूका सम्पूर्ण कमजोरीपनहरू देख्‍नुहुन्छ, जो प्रत्येक कष्‍टसँग चिरपरिचित हुनुहुन्छ उहाँ पृथ्वीका समस्त शक्तिहरूभन्दा पनि उच्‍च हुनुहुन्छ; र स्‍वर्गदूतहरू तिनीहरूका उदासी जेलका कोठाहरूमा स्‍वर्गबाट ज्योति र शान्ति लिएर तिनीहरूलाई भेट्‍न आउनेछन् । जेलचाहिँ एक दरबारझैँ हुनेछ; किनकि प्रशस्त विश्‍‍वास भएकाहरू त्यहाँ बस्छन्, निराशजनक पर्खालहरू स्‍वर्गीय ज्योतिले उज्यालो हुनेछ, जसरी पावल र सिलास फिलिप्पीको कालकोठरीमा मध्यरातमा प्रार्थना गर्दै र प्रशंसा गाइरहेका थिए । MBA 150.2

जसले परमेश्‍‍वरका जनहरूलाई अत्याचार गर्न र ध्वंश गर्न खोजिरहेका छन् तिनीहरूमाथि उहाँका इन्साफहरू आइपर्नेछन् । उहाँले दुष्‍टहरूप्रति गर्नुभएको सहनशीलताले मानिसहरूलाई अधर्ममा प्रोत्साहन दिन्छ, तर धेरै ढिलो भएतापनि तिनीहरूको सजाय निश्‍चित र डरलाग्दो नै हुनेछ । “परमप्रभु पराजिम पहाड़मा झैँ उठ्‌नुहुनेछ; गिबोनको बेंसीमा झैँ उहाँ क्रोधित हुनुहुनेछ, आफ्‍नो काम, आफ्‍नो अनौठो काम गर्नलाई, र आफ्‍नो कार्य, आफ्‍नो अद‌्भूत कार्य पूरा गर्नलाई ।” यशैया २८:२१ (KJV) । हाम्रा कृपामय परमेश्‍‍वरलाई सजाय दिने कामचाहिँ अनौठो काम हो । “प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको कसम ! दुष्‍टको मृत्युमा मलाई पटक्‍कै आनन्द छैन ।” इजकिएल ३३:११ (KJV) । “परमप्रभु, परमप्रभु परमेश्‍‍वर दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो अनि करुणा र सत्यताले भरपूर ! ... अधर्म, अपराध र पाप क्षमा गर्नुहुने ।” तापनि उहाँले “दोषीलाई कुनै रीतिले निर्दोष नठहराउनुहुने ।” “परमप्रभु रिसाउनमा ढिलो हुनुहुन्छ, अत्यन्तै शक्तिशाली हुनुहुन्छ र दोषीलाई कुनै रीतिले निर्दोष ठहराउनुहुन्न ।” प्रस्थान ३४:६, ७; नहूम १:३ (KJV) । धार्मिकताका डरलाग्दा कुराहरूद्वारा उहाँले आफ्‍नो दबिएको व्यवस्थाको अधिकारलाई निर्दोष साबित गर्नुहुनेछ । अपराधीमाथि आइपर्ने बदलाको प्रचण्डतामा न्याय पूरा गर्न प्रभु हिचकिचाउनुहुन्छ, त्यसद्वारा न्यायको कार्य थाहा पाउन सक्छ । जुन जातिसँग उहाँले लामो समयसम्म सहनुहुन्छ, र जसलाई उहाँले परमेश्‍‍वरको अभिलेखमा त्यसको अधर्मको नाप नभरिएसम्म प्रहार गर्नुहुनेछैन, त्यसले अन्तिममा कृपासँग नमिसाएको क्रोधको कचौरा पिउनेछ । MBA 150.3

जब ख्रीष्‍टले पवित्रवासस्थानमा उहाँको मध्यस्थताको काम बन्द गर्नुहुन्छ, जसले पशु र त्यसको मूर्तिलाई पूजा गर्छन् र त्यसको छाप लिन्छन् तब तिनीहरूका विरूद्धमा आउनै लागेको केही नमिसाएको क्रोध खन्याइनेछ । (प्रकाश १४:९, १०) । परमेश्‍‍वरले इस्राएललाई बचाउन लाग्‍नुभएको बेलामा मिश्रमाथि जस्तो विपत्तिहरू परेका थिए परमेश्‍‍वरका जनहरूको अन्तिम बचावभन्दा अलिक अगाड़ि संसारमाथि त झन अझै डरलाग्दा र प्रचण्ड न्यायहरू आइपर्नेछन् । ती भयभीत आपद्‍हरूलाई वर्णन गर्दै प्रकाशक भन्दछन्: “त्यस पशुको निशान लिने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूमा खराब र कष्‍टपूर्ण घाउ-खटिरा निस्क्‍यो ।” समुद्र “मरेको मानिसको रगतजस्तै भयो, र समुद्रमा हरेक जिउँदो प्राणी मऱ्यो ।” अनि “नदीहरू र पानीका मुहानहरू ... रगत भए ।” यस्ता डरलाग्दा कष्‍टहरू भएपनि परमेश्‍‍वरको न्याय पूर्णरूपले निर्दोष ठहरिन्छ । परमेश्‍‍वरको दूत घोषणा गर्दछन्: “तपाईं धर्मी हुनुहुन्छ, हे प्रभु, ... किनभने तपाईंले यसरी न्याय गर्नुभएको छ । किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्ताहरूको रगत बहाएका छन्, अनि तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; किनकि तिनीहरू यसका योग्य छन् ।” प्रकाश १६:२-६ (KJV) । परमेश्‍‍वरका जनहरूलाई मृत्युको दोषी ठहराएर तिनीहरूका आफ्‍नै हातले रगत बगाएझैँ वास्तवमा तिनीहरू नै त्यसको दोषी ठहरिएका छन् । त्यसरी नै ख्रीष्‍टले उहाँको समयका यहूदीहरूको विषयमा घोषणा गर्नुभयो कि तिनीहरू हाबिलको दिनदेखि रक्तपात भएका सबै पवित्र मानिसहरूका रगतका दोषी छन्; किनकि तिनीहरूले यी अगमवक्ताहरूका हत्याराहरूको त्यही आत्मा लिएका थिए र त्यस्तै काम गर्न खोजिरहेका थिए । MBA 151.1

निम्‍नलिखित विपत्तिमा सूर्यलाई “मानिसहरूलाई आगोले खहऱ्याउने” शक्ति दियो । अनि “भारी रापले गर्दा मानिसहरू खहरिए ।” प्रकाश १६:८, ९ (KJV) । अगमवक्ताहरूले यो डरलाग्दो समयमा पृथ्वीको अवस्थालाई यसरी वर्णन गर्छन्: “जमिनले विलाप गर्दछ; ... किनभने खेतबारीको फसल नष्‍ट भएको छ । ... मैदानका सबै रूखहरू ओइलिएका छन्; किनकि मानिसका सन्तानहरूबाट आनन्द सुकेर गएको छ ।” “बीउहरू तिनका डल्‍लाहरूमनि सडे़, भण्डारहरू उजाड़ भए, ... पशुहरू कति कराउँछन् ! गाई-बस्तुका बथानहरू आत्तिएका छन्; किनकि तिनीहरूका निम्ति खर्क छैन् । ... पानीका नदी-नालाहरू सुकेका छन्, र आगोले उजाड़स्थानका खर्कहरू भष्म पारेको छ ।” “त्यस दिन मन्दिरका गीतहरू बदलेर रोइकराइहरू बन्नेछन्, प्रभु यहोवा भन्नुहुन्छ; हरेक ठाउँमा धेरै लासहरू हुनेछन्; तिनीहरूले तिनलाई चुपचाप फालिदिनेछन् ।” योएल १:१०-१२, १७-२०; आमोस ८:३ (KJV) । MBA 151.2

यी विपत्तिहरू विश्‍‍वव्यापीरूपमा हुँदैन नत्रता पृथ्वीका बासिन्दाहरू पूर्णरूपमा नामेट हुने थिए । तापनि मरणशील मानिसले जानेको भन्दा अत्यन्तै डरलाग्दा आपत्तिहरू हुनेछन् । प्रायश्‍चितको समयको अन्त हुनुभन्दा अघि मानिसहरूमाथि परेका सम्पूर्ण न्यायहरू कृपासँग मिसिएका हुन्छन् । ख्रीष्‍टको याचनात्मक रगतले पापीलाई त्यसको दोषको पूर्ण नाप पर्नदेखि बचाएको छ; तर अन्तिम न्यायमा क्रोध कृपासँग नमिसाइ खन्याइनेछ । MBA 152.1

त्यो दिनमा भीडौँले परमेश्‍‍वरको कृपाको आश्रय चाहना गर्नेछन् जसलाई तिनीहरूले लामो समयसम्म घृणा गरेका छन् । “परमप्रभु परमेश्‍‍वर भन्नुहुन्छ, ‘यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु—जुनचाहिँ नता अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ । मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्म, र उत्तरदेखि पूर्वसम्म धरमरिँदै हिँड्‍नेछन् । तर तिनीहरूले त्यो पाउनेछैनन् ।’” आमोस ८:११-१२ । MBA 152.2

परमेश्‍‍वरका जनहरू कष्‍टमुक्त हुनेछैनन्; तर जब सतावट भोग्दै र निराश सहँदै तिनीहरू अभाव र खानाको कमीले कष्‍ठित हुन्छन् तब तिनीहरू नष्‍ट हुन छोड़िनेछैनन् । जुन परमेश्‍‍वरले एलियालाई वास्ता गर्नुभयो उहाँले आत्म-बलिदान गर्ने उहाँका छोराछोरीहरूलाई बेवास्ता गर्नुहुन्न । जसले तिनीहरूका शिरका कपाल गन्ती गर्नुहुन्छ उहाँले तिनीहरूलाई वास्ता गर्नुहुन्छ, र तिनीहरू अनिकालको समयमा तृप्‍त हुनेछन् । जहाँ दुष्‍टहरू भोक र महामारीले मरिरहेका हुन्छन्, त्यहाँ स्‍वर्गदूतहरूले धर्मीहरूलाई सुरक्षा दिएर तिनीहरूका आवश्‍‍यकताहरू पूरा गरिदिनेछन् । “जो धार्मिकतासाथ हिँड्‍दछ” त्यसका लागि प्रतिज्ञा यही हो: “त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन ।” “गरीब र दरिद्रहरूले पानी खोज्छन्, तर केही पानी हुँदैन, तिनीहरूको जिब्रो प्यासले सुक्‍नेछ । तर म परमप्रभुले तिमीहरूलाई जवाफ दिनेछु । म इस्राएलका परमेश्‍‍वरले तिनीहरूलाई त्याग्‍नेछैनँ ।” यशैया ३३:१५, १६; ४१:१७ । MBA 152.3

“चाहे अञ्‍जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्‍जाओस्, खोरमा भेड़ा बाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,” परमेश्‍‍वरका भय मान्नेहरूले “रमाहट” गर्नेछन् र तिनीहरूका परमेश्‍‍वरको मुक्तिमा आनन्द मनाउनेछन् । हबकूक ३:१७, १८ । MBA 152.4

“परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ । दिउँसो घामले तिम्रो हानि गर्नेछैन, नता जूनले राती तिम्रो कुनै हानि गर्नेछ । परमप्रभुले तिमीलाई सब विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ ।” “निश्‍चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ । उहाँले तिमीलाई आफ्‍ना प्वाँखहरूले छोप्‍नुहुनेछ, र उहाँका पखेटामुनि तिमीले शरण पाउनेछौ । उहाँको विश्‍‍वासनीयता [सत्यता] तिम्रो ढाल र पर्खाल हुनेछ । तिमी रातको ठूलो त्रासदेखि, र दिनमा उडे़र आउने वाणदेखि डराउनेछैनौ, नता अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्यदिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ । एक हजार जना तिम्रो नजीक लोट्‍लान्, र तिम्रो दाहिने हाततर्फ दश हजार जना, तर तिम्रो नजीक त्यो आउनेछैन । तिमीले आफ्‍ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ, र दुष्‍टहरूको प्रतिफल देख्‍नेछौ । यदि तिमीले सर्वोच्‍च प्रभुलाई आफ्‍नो वासस्थान बनायौ भने—परमप्रभुलाई, जो मेरो शरणस्थान हुनुहुन्छ—तिम्रो कुनै अनिष्‍ट हुनेछैन, तिम्रो घरको नजीक कुनै विपत्ति आउनेछैन ।” भजनसंग्रह १२१:५-७; ९१:३-१० । MBA 153.1

तापनि मानविक दृष्‍टिमा, परमेश्‍‍वरका जनहरूले अघिका शहिदहरूले झैँ तिनीहरूका गवाही आफ्‍नै रगतले मोहोर लगाउनु नै पर्ने अवस्था देख्‍नेछन् । तिनीहरू आफै डराउन थाल्छन् कि प्रभुले तिनीहरूलाई शत्रुहरूको हातदेखि पतन हुन छोड़िदिनुभएको छ । योचाहिँ मानसिक तनावको डरलाग्दो समय हो । तिनीहरूले परमेश्‍‍वरसँग बचावटका लागि दिन रात पुकार्नेछन् । दुष्‍टहरू हर्षित हुन्छन्, र उपहासजनक चित्कार सुनिन्छ: “अब तिमीहरूको विश्‍‍वास कहाँ छ ? यदि तिमीहरू साँच्‍चै उहाँका जनहरू भएको भए किन परमेश्‍‍वरले तिमीहरूलाई हाम्रो हातबाट बचाउनुहुन्न ?” तर प्रतिक्षारत जनहरूले येशू कलवरी क्रूसमा मरिरहनुभएको कुरा सम्झन्छन् र प्रधान पूजाहारीहरू र शासकहरू गिल्‍ला गर्दै कराइरहेको सम्झना गर्दछन्: “यसले अरूलाई बचायो; आफैलाई चाहिँ यसले बचाउन सक्दैन । यो इस्राएलको राजा हो भने अब क्रूसबाट ओर्ली आओस्, र हामी यसलाई विश्‍‍वास गर्नेछौं ।” मत्ती २७:४२ (KJV) । याकूब जस्तै सबैजना परमेश्‍‍वरसँग लड़न्त गरिरहेका हुन्छन् । तिनीहरूका मुहारले आन्तरिक संघर्ष व्यक्त गर्दछ । प्रत्येक मुहार पहेलो देखिन्छ । तापनि तिनीहरूले उत्सुक मध्यस्थता गर्न छोड्‍दैनन् । MBA 153.2

यदि मानिसहरूले स्‍वर्गीय दृष्‍टि पाएको भए तिनीहरूले अत्याधिक सामर्थ्यशाली स्‍वर्गदूतहरूका दलहरू ख्रीष्‍टका धैर्यको वचनलाई पालन गर्नेहरूका वरिपरी तैनाथ भएका देख्‍ने थिए । सहानुभूतियुक्त स्‍नेहसाथ स्‍वर्गदूतहरूले तिनीहरूका व्याकुलतालाई देखेका छन् र तिनीहरूका प्रार्थनाहरू सुनेका छन् । तिनीहरूका जोखिमबाट हटाउन तिनीहरूका कप्‍तानको वचन प्रतिक्षा गरिरहेछन् । तर तिनीहरूले अझै पनि केही समयसम्म प्रतिक्षा गर्नुपर्नेछ । परमेश्‍‍वरका मानिसहरूले त्यो कचोैरा पिउनुपर्नेछ र त्यही बप्‍तिस्मा लिनुपर्नेछ । तिनीहरूका अति दुःखदायी ढीलाइ नै तिनीहरूका विन्तीहरूको उत्तम जवाफ हो । जब तिनीहरूले परमप्रभुलाई काम गर्न भरोसासाथ प्रतिक्षा गर्ने प्रयास गरिहेका हुन्छन्, तब तिनीहरूले विश्‍‍वास, आशा र धैर्य प्रयोग गर्न सिक्छन्, जुन तिनीहरूको धार्मिक अनुभवको अवधिमा कमै अभ्यास गरेका थिए । तापनि चुनिएकाहरूका खातिर सङ्‌कष्‍टको समय घटाइनेछ । “के परमेश्‍‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्‍ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र ? ... म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ ।” लूका १८:७, ८ । मानिसहरूले सोचेको भन्दा पनि चाँडै नै अन्त्य आउनेछ । गहुँ जम्मा पारिनेछ र परमेश्‍‍वरको ढुकुटीका लागि बिटा बाँधिनेछ; सामाहरू विनाशको आगोका लागि दाउराको बिटोजस्तै बाँधिनेछन् । MBA 153.3

ती स्‍वर्गीय पालेहरूले तिनीहरूका पहरेदारको कार्यमा विश्‍‍वासयोग्यसाथ निरन्तर कर्तव्य निर्वाह गर्छन् । तिनीहरूका शत्रुहरूले आज्ञा पालन गर्नेहरूलाई मृत्युदण्ड दिन सक्‍ने विश्‍‍वव्यापी आदेशको समय निर्धारित हुनुभन्दा अगाड़ि नै कुनै-कुनै ठाउँहरूमा तिनीहरूका ज्यान लिने प्रयास गर्नेछन् । तर प्रत्येक विश्‍‍वासयोग्य प्राणको वरिपरी पहरा गरेका शक्तिशाली पहरादारद्वारा कोही पनि छिर्न सक्‍नेछैन । कति जनालाई शहरहरू र गाउँहरूबाट भाग्‍नेक्रममा आक्रमण गर्नेछन्; तर तिनीहरूका विरूद्धमा खड़ा भएका तरवारहरू परालजस्तै टुक्रिनेछन् र शक्तिहीन भई खस्‍नेछन् । अरूहरूलाई स्‍वर्गदूतहरूद्वारा लड़ाकूँको रूपमा सुरक्षा गरिनेछ । MBA 154.1

परमेश्‍‍वरले सारा युगहरूमा उहाँका पवित्र दूतहरूद्वारा उहाँका मानिसहरूका खातिर सहायता गर्ने र बचाउने काम गर्नुभएको छ । स्‍वर्गीय प्राणीहरूले मानिसहरूका कामहरूमा क्रियाशील भूमिका खेलेका छन् । तिनीहरू बिजुली चम्केझैँ चम्किलो पोशाकमा देखा परेका छन्; तिनीहरू मानिसहरूजस्तै बटुवाहरूको पोशाकमा आएका छन् । स्‍वर्गदूतहरू परमेश्‍‍वरका मानिसहरूकहाँ मानिसको रूपमा देखा परेका छन् । तिनीहरू थकित भएझैँ दिउँसो फलाँटको वृक्षमुनि विश्राम गरेका छन् । तिनीहरूले मानविक घरहरूमा अतिथिसत्कारहरू स्‍वीकार गरेका छन् । तिनीहरू रात परेको अवास्थामा अलमल्‍लमा परेका यात्रीहरूका अगुवा भएका छन् । तिनीहरूले आफ्‍नै हातद्वारा वेदीमा आगो बालेका छन् । तिनीहरूले जेलका ढोकाहरू खोलेका छन् र परमप्रभुका दासहरूलाई स्‍वतन्‍‍त्र पारेका छन् । तिनीहरू स्‍वर्गीय कवच धारण गरेर मुक्तिदाताको चिहानबाट ढुङ्गा गुड़ाउन पनि आएका थिए । MBA 154.2

स्‍वर्गदूतहरू मानिसको रूपमा प्रायःधर्मीका भेलाहरूमा जान्छन्; र तिनीहरू दुष्‍टहरूका भेलाहरूमा पनि जान्छन्, जसरी तिनीहरूले परमेश्‍‍वरको सहनशीलताको सिमाना नाघेका छन् कि छैनन् भनी निश्‍चित गर्न र तिनीहरूका कार्यहरूका टिप्पणी गर्न सदोममा गए । परमप्रभु कृपामा खुशी हुनुहुन्छ; र उहाँले आफ्‍ना सेवा गर्ने थोरै जनहरूका खातिर भएपनि विपत्ति रोक्‍नुहुन्छ र भीड़हरूको शान्ति अझै बढ़ाइदिनुहुन्छ । परमेश्‍‍वरको विरूद्धमा भएका पापीहरूले कम नै बुझ्छन् कि तिनीहरू थोरै विश्‍‍वासीहरूप्रति आफ्‍नो जीवनको खातिर कति ऋणी छन् जसलाई तिनीहरूले गिल्‍ला गर्न र अत्याचार गर्न हर्षित हुन्छन् । MBA 155.1

यस संसारका शासकहरूले थाहा नपाएपनि प्रायः तिनीहरूका परिषद्‍हरूमा स्‍वर्गदूतहरू नै वक्ता भएका छन् । मानविक आँखाहरूले तिनीहरूलाई देखेका छन्; मानविक कानहरूले तिनीहरूका आव्हानहरू सुनेका छन्; मानविक ओठहरूले तिनीहरूका सुझावहरूको विरोध गरेका छन् र तिनीहरूका सल्‍लाहहरूलाई ठट्टा गरेका छन्; तिनीहरूले मानविक हातहरूबाट अपमान र अत्याचारको सामना गर्नुपरेका छन् । यी स्‍वर्गीय सन्देशवाहकहरू परिषद् सभा र न्यायालयमा मानविक इतिहाससँग घनिष्‍ठ परिचित भएको देखा परेका छन्; तिनीहरूका सबभन्दा सक्षम र भाषणकलामा पोख्त रक्षकहरूले भन्दा पनि अत्याचारमा परेकाहरूको मामलालाई विन्ती गर्न तिनीहरू अझै सक्षम प्रमाणित भएका छन् । तिनीहरूले उद्देश्‍‍यहरूलाई पराजित गरेका छन् र दुष्‍टहरूलाई रोकेका छन् जसले परमेश्‍‍वरको कामलाई ठूलो रूपमा बाधा दिने थिए र उहाँका जनहरूमाथि ठूलो कष्‍ट ल्याउने थिए । जोखिम र वेदनाको घड़ीमा “परमेश्‍‍वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।” भजनसंग्रह ३४:७ । MBA 155.2

परमेश्‍‍वरका जनहरूले उत्कट चाहनासाथ तिनीहरूका आउनेवाला राजाका चिन्हहरूका प्रतीक्षा गर्दछन् । जसरी पहरेदारहरूलाई सम्बोधन गरिएका छ, “रातको खबर के छ ?” तुरून्तै जवाफ यसरी दिइएको छ, “बिहानी आउँछ, र रात पनि आउँछ ।” यशैया २१:११, १२ । पहाड़का टाकुराहरूमाथि बादलहरूमा ज्योति चम्किरहेछ । चाँडै नै उहाँको महिमा प्रकट हुन गइरहेछ । धार्मिकताको सूर्य उदाउनै लागेछ । बिहान र रात दुवै आइसकेको छ—धर्मीको अनन्त दिनको आरम्भ, र दुष्‍टमाथि अनन्त रात आउँदैछ ।” MBA 155.3

जसरी संघर्ष गरिरहेका जनहरूले परमेश्‍‍वरको सामु तिनीहरूका विन्ती प्रस्तुत गर्दछन् त्यसरी तिनीहरूलाई अदृश्‍‍यदेखि विभाजन गर्ने पर्दा लगभग हटिएको जस्तो देखिन्छ । आकाश अनन्त दिनको प्रभातसाथ चम्कन्छ, र स्‍वर्गदूतहरूका गीतहरूको धुनजस्तै यस्ता शब्दहरू कानमा पर्दछन्: “तिम्रो बफादारितामा दृढ भई खड़ा होओ । सहायता आउँदैछ ।” शक्तिशाली विजेता ख्रीष्‍टले एक अमरत्‍व महिमाको मुकुट उहाँका थकित सिपाहीहरूलाई पसार्नुहुन्छ; र अलिकति उघ्रेको ढोकाबाट उहाँको सोर आउँछ: “हेर, म तिमीहरूसँग छु । नडराओ । तिमीहरूका सबै दुःख म जान्दछु; मैले तिमीहरूका चिन्ताहरू बोकेको छु । तिमीहरू अपरिचित शत्रुहरूसँग लड़ाइँ गरिरहेका छैनौ । मैले तिमीहरूका खातिर लड़ाइँ लड़िसकेको छु, र मेरो नाममा तिमीहरू विजयीहरूभन्दा पनि ज्यादा छौ ।” MBA 156.1

बहुमूल्य मुक्तिदाताले हाम्रो आवश्‍‍वकताको समयमा नै सहायता पठाउनुहुन्छ । स्‍वर्ग जाने मार्ग उहाँको गोड़ाका पाइलाहरूले अर्पण गरिसकेका छन् । हाम्रो गोड़ालाई घाउ पार्ने प्रत्येक काढ़ाहरूले उहाँको गोड़ालाई पनि चोट पारिसकेका छन् । हामीले बोक्‍नुपर्ने प्रत्येक क्रूस उहाँले अघि नै बोकिसक्‍नुभएको छ । परमप्रभुले मानिसलाई शान्ति प्रदान गर्नका लागि संघर्षहरू आउन दिनुहुन्छ । सङ्‌कष्‍टको समय परमेश्‍‍वरका मानिसहरूलाई एक डरलाग्दो अग्‍निमय परीक्षा हो; तर यो समयमा चाहिँ प्रत्येक सत्य विश्‍‍वासीले माथिको कुरालाई हेर्नुपर्छ, र उसले विश्‍‍वासद्वारा प्रतिज्ञाको धनुष उसको वरिपरी देख्‍न सकिन्छ । MBA 156.2

“परमप्रभुले मोल तिरेर छुट्‌याउनुभएकाहरू फर्केर आउनेछन् । तिनीहरू सियोनमा गीत गाउँदै पस्‍नेछन्; र तिनीहरूका शिरको मुकुट सदासर्वदाको आनन्द हुनेछ । तिनीहरूले आनन्द र हर्ष प्राप्‍त गर्नेछन् । अनि शोक सुस्केरा दूर हुनेछ । तिमीहरूलाई सान्त्‍वना दिने म नै हुँ । मरणशील मानिसदेखि, घाँसजस्तै ओइलाउने मानिसका सन्तानदेखि डराउने तँ को होस् ? आकाशलाई फैल्याउनुहुने र पृथ्वीको जग बसाल्‍नुहुने आफ्‍ना सृष्‍टिकर्तालाई भुलेर अत्याचारीका क्रोधको कारण, जसले तँलाई नाश गर्न खोज्छ, तँ किन दिनदिनै त्रासमा जीवन बिताउँछस् ? झुकेर लत्रक्‍क परेका कैदीहरू चाँडै़ मुक्त हुनेछन् । तिनीहरू झ्यालखानको खोरभित्र मर्नेछैनन्, नता तिनीहरूलाई खानेकुराको कमी हुनेछ । किनकि म परमप्रभु तेरा परमेश्‍‍वर हुँ, जसले समुद्रलाई [विभाजन गर्छ] घोल्छ, र छालहरू गर्जन्छन् । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु र मेरो हातको छायाले तँलाई ढाकेको छ ।” यशैया ५१:११-१६ । MBA 156.3

“यसैकारण यो कुरा सुन्, तँ दुःखित र मात्तिएकी, तर दाखमद्यले त होइन । तेरा परमप्रभु, तेरा परमेश्‍‍वर, जसले आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्छ, उहाँ यो भन्नुहुन्छ: ‘हेर, मैले तेरो हातबाट त्यो धरमराइदिने कचौरा लिएको छु, त्यो मेरो क्रोधको कचौरा ! तैंले त्यो फेरि कहिल्यै पिउनेछैनस् । म त्यो तँलाई सताउनेहरूका हातमा दिनेछु, जसले तँलाई भने, “घोप्‍टो पर्, र हामी तँमाथि टेकेर हिँड़ौं ।” अनि तैंलेचाहिँ आफ्‍नो पीठ भुइँ र हिँड्‍ने सड़कजस्तै तुल्याइदिइस् ।’” यशैया ५१:२१-२३ । MBA 157.1

परमेश्‍‍वरले आगामी युगहरूमा नजर लगाउनुभयो जुन उहाँका जनहरूले सामना गर्नुपर्ने सङ्‌कष्‍टमा निर्धारित भएको थियो, जबकि पृथ्वीका शक्तिहरूले तिनीहरूको विरूद्धमा युद्ध गर्नेछन् । बहिष्कृत कैदीझैँ तिनीहरू पनि भोक र आतङ्कद्वारा आउने मृत्युदेखि डराउनेछन् । तर पवित्र जन, जसले इस्राएलको सामु लाल समुद्रलाई विभाजन गर्नुभयो, उहाँले नै शक्तिशाली सामर्थ्य प्रकट गर्नुहुनेछ, र तिनीहरूको बन्धन तोड्‍नुहुनेछ । “‘जुन दिन म मेरो निजी धन बनाउनेछ, तिनीहरू मेरा हुनेछन्,’ सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । ‘जसरी कुनै मानिसले आफ्‍नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्‍नेछु ।’” मलाकी ३:१७ । यदि यो समयमा ख्रीष्‍टका विश्‍‍वासयोग्य साक्षीहरूले रगत बगाएको भए पनि परमेश्‍‍वरका निम्ति कटनी उत्पादन गर्ने शहिदहरूका रगत रोपिएको बीउ जस्तै हुनेथिएन । तिनीहरूका भक्ति अरूलाई सत्यतातर्फ विश्‍‍वास दिलाउने गवाही हुनेथिएन; किनकि तिनीहरूले कड़ा हृदयसाथ फर्केर नआउने गरी कृपाका छालहरू फर्काएका छन् । यदि धर्मीहरू तिनीहरूका शत्रुहरूका शिकार बन्न छोड़िए भने त्यो अन्धकारको राजकुमारले एक विजय प्राप्‍त गर्नेथियो । भजनसंग्रहको लेखक भन्दछन्: “सङ्‌कष्‍टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्‍नुहुनेछ, आफ्‍नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ ।” भजनसंग्रह २७:५ । ख्रीष्‍टले भन्नुभएको छ: “हे मेरो प्रजाहो, आओ, आफ्‍ना कोठाहरूभित्र पस, र आफ्‍नोपछि आफ्‍ना ढोकाहरू थुन; क्रोध नहटुञ्‍जेल, थोरै क्षणसम्म लुकिबस ! किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनलाई परमप्रभु आफ्‍नो ठाउँबाट निस्केर आउनुहुन्छ ।” यशैया २६:२०-२१ (KJV) । उहाँको आगमनलाई धैर्यसाथ प्रतीक्षा गर्नेहरू र जीवनको पुस्तकमा लेखिनेहरूको मुक्ति महिमित हुनेछ । MBA 157.2