Go to full page →

१३. पृथ्वीको सर्वनाश अवस्था MBA 177

(अंग्रेजी पुस्तक अध्याय ४१ पृष्‍ठ ६५३)

“त्यसका पापहरू स्‍वर्गसम्मै थुप्रो लागेका छन्, र परमेश्‍‍वरले त्यसका अधर्महरू सम्झनुभएको छ । ... त्यसले प्यालामा जे भरेकी थिई, त्यसको दोब्‍बर कड़ा हुने गरी त्यसलाई देओ । त्यसले जति गौरव र सुःख-विलास गरेकी थिई, त्यतिकै त्यसलाई यातना र शोक देओ । किनकि त्यसले मनमा भन्दछे, ‘महारानी भएर म बसेकी छु, म विधवा होइनँ, मैले कहिल्यै शोक गर्नुपर्नेछैन ।’ ‘यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्—मृत्यु, शोक र अनिकाल । आगोले त्यो भष्म पारिनेछे, किनकि त्यसको इन्साफ गर्ने परमप्रभु परमेश्‍‍वर शक्तिशाली हुनुहुन्छ ।’ त्यससँग व्यभिचार गर्ने र सुःख-विलासमा रहने पृथ्वीका राजाहरू ... त्यसको निम्ति रुनेछन् र विलौना गर्नेछन् । ... तिनीहरूले यसो भन्नेछन्, ‘हाय ! हाय ! तँ महानगरी, तँ शक्तिशाली बेबिलोन ! एकै छिनमा नै तेरो दण्ड तँमाथि पऱ्यो ।” प्रकाश १८:५-१० । MBA 177.1

“पृथ्वीका व्यापारीहरू त्यसको विलासिताको प्रभावले धनी भएका छन्,” “त्यसमाथि परी आउने यातनाको डरले टाढै़ उभिएर यसो भन्दै तिनीहरू ठूलो स्‍वरले रुनेछन् र विलाप गर्नेछन्, ‘हाय ! हाय ! त्यो महानगरी, जो मलमल, बैजनी र चहकिलो रातो वस्‍‍त्र लगाएर सुन, रत्‍न र मोतीहरूले सिङ्गारिएकी थिई । किनभने एकै घड़ीमा यति धेरै धन नष्‍ट भएको छ । ” प्रकाश १८:३, १५-१६ । MBA 177.2

परमेश्‍‍वरको क्रोधको इन्साफको दिनमा बेबिलोनमाथि यस्ता न्यायहरू आइपर्नेछन् । त्यसले आफ्‍नो अधर्मको कचौरा भरेको छ; त्यसको समय आएको छ; त्यो विनाशका लागि तयारी छ । MBA 177.3

जब परमेश्‍‍वरको आवाजले उहाँका मानिसहरूलाई कैदबाट छुटकारा दिन्छ, तब जुन मानिसहरूले सम्पूर्ण थोक जीवनको महान् संघर्षमा गुमाएका थिए तिनीहरूको माझमा एक भयानक जागरण हुन्छ । जबसम्म परीक्षाकालको घड़ी थियो तबसम्म तिनीहरू शैतानका छलहरूले अन्धो भएका थिए, र तिनीहरूले पापमय जीवनलाई असल प्रमाणित गरेका थिए । धनीहरूले सुविधाहीनभन्दा श्रेष्‍ठ भएकोले गोैरव गरेतापनि तिनीहरूले धन आर्जन गर्न परमेश्‍‍वरको व्यवस्था तोडे़का थिए । तिनीहरूले भोकालाई खुवाउन, नाङ्गोलाई पहिराउन, न्यायसङ्गत व्यवहार गर्न र कृपासाथ प्रेम गर्न बेवास्ता गरेका थिए । तिनीहरूले आफैलाई उचाल्‍ने र आफ्‍ना सङ्गीहरूबाट श्रद्धा हासिल गर्ने प्रयास गरेका थिए । अब तिनीहरूबाट महान् तुल्याउने सबै कुराहरू खोसिए र दरिद्र र असहाय मात्र बाँकी रहेका छन् । तिनीहरूले मूर्तिको विनाशलाई भयसाथ हेर्दछन्, जसलाई तिनीहरूका सृष्‍टिकर्ताभन्दा पनि प्रथम प्राथमिकता दिएका थिए । तिनीहरूले आफ्‍ना प्राणहरूलाई संसारका धनहरू र मोजमज्‍जामा बेचेका छन्, र ईश्‍‍वरीय धन प्राप्‍त गर्ने प्रयास गरेका छैनन् । यसको परिणाम स्‍वरूप तिनीहरूका जीवनहरू निष्फल भएका छन्; अब तिनीहरूको सुखविलासचाहिँ पित्तमा र सम्पत्तिचाहिँ विनाशमा परिणत भएको छ । जीवनभरको कमाइ एकैछिनमा उड़ी गएको छ । धनीहरू आफ्‍ना विशाल घरहरू नष्‍ट र सुनचाँदी छरपष्‍ट भएको देखेर विलाप गर्छन् । तिनीहरू आफै ती मूर्तिहरूसँग नष्‍ट हुनुपर्छ भन्ने त्रासले गर्दा तिनीहरूका विलौनाहरू चकमन्न हुन्छन् । MBA 177.4

परमेश्‍‍वर र आफ्‍ना साथीहरूलाई तिनीहरूले पापमय बेवास्ता गरेको कारणले होइन, तर परमेश्‍‍वरको विजय भएको कारणले दुष्‍टहरू धेरै पछुतो गर्छन् । तिनीहरू परिणाम देखेर विलाप गर्छन्, तर तिनीहरूका दुष्‍टतादेखि पश्‍चात्ताप गर्दैनन् । यदि सम्भव भए तिनीहरूले विजय प्राप्‍त गर्न सक्‍ने कुनै पनि उपायहरू बाँकी छोड्‍दैन थिए । MBA 178.1

संसारले जुन वर्गका जनहरूलाई गिल्‍ला र तिरस्कार गरेको थियो, र सर्वनाश गर्न चाहेको थियो, तिनीहरू नै महामारी, विपत्ति र भूकम्पदेखि सुरक्षितसाथ पार भएका छन् । उहाँका व्यवस्था भङ्ग गर्नेहरूका लागि उहाँ भष्म पार्ने आगो हुनुहुन्छ भने उहाँका मानिसहरूका लागि सुरक्षित किल्‍ला हुनुहुन्छ । MBA 178.2

जुन प्रचारकले मानिसहरूको स्‍नेह पाउन सत्यलाई बलिदान गऱ्यो अब त्यसका शिक्षाहरूको चरित्र र प्रभाव थाहा भयो । जब ऊ पुल्पिटमा खड़ा हुन्थ्यो, मूल बाटोतिर हिँड्‍थ्यो, जीवनको विभिन्न दृष्‍टिमा मानिसहरूसँग सङ्गत गर्थ्यो, तब निश्‍चय नै उसमाथि सर्वज्ञानी नजर हरेक घड़ी सँगै थियो । प्राणको प्रत्येक भावना, लिखित प्रत्येक हरफ, उच्‍चारित प्रत्येक शब्द, मानिसहरूलाई झूटोतर्फ अग्रसर गर्ने प्रत्येक कार्यले नै बीउ छरिरहेका छन्; र अब फलस्‍वरूप उसले आफ्‍नो वरिपरी दरिद्र र मरेका मानिसहरू मात्र देख्‍छ । MBA 178.3

परमप्रभु भन्नुहुन्छ: “किनभने तिनीहरूले ‘शान्ति ! शान्ति !’ भन्दै मेरो प्रजाकी छोरीको चोट बाहिर-बाहिर निको पारेका छन्, जबकि शान्ति नै छैन ।” “किनभने झूटद्वारा तिमीहरूले धर्मी जनको हृदयलाई दुःखित पारेका छौ, जसलाई मैले दुःखित पारेको छैनँ; अनि दुष्‍टचाहिँ आफ्‍नो दुष्‍ट चालबाट नफर्कोस् भनेर, त्यसलाई जीवनको प्रतिज्ञा गरेर तिमीहरूले त्यसका हातहरू बलिया तुल्याएका छौ ।” यर्मिया ८:११; इजकिएल १३:२२ (KJV) । MBA 179.1

“धिक्‍कार ती गोठालाहरूलाई, जसले मेरो खर्कका भेडाहरू नाश गर्छन्, र तितरबितर पार्छन् ! ... हेर, तिमीहरूका कामहरूको दुष्‍टताको खातिर म तिमीहरूलाई दण्ड दिनेछु ।” “हे गोठालाहरूहो, रोइकराइ गर, र चिच्याओ ! हे बगालका अगुवाहरूहो, लड़ीबुड़ी गर; किनकि तिमीहरूको काटमार हुने र तिमीहरूका तितरबितर हुने दिनहरू पूरा भएका छन्; ... अनि गोठालाहरूका निम्ति भाग्‍ने बाटो हुनेछैन, न बगालका अगुवाहरूका निम्ति उम्कने बाटो हुनेछ ।” यर्मिया २३:१, २; २५:३४-३५ (KJV) । MBA 179.2

प्रचारकहरू र मानिसहरूले देख्‍छन् कि तिनीहरूले परमेश्‍‍वरसँग असल सम्बन्ध जारी राखेका छैनन् । तिनीहरूले पूर्ण न्यायसङ्गत र धर्मी व्यवस्थाका सृजकको विरूद्ध विद्रोह गरेका छन् भनी थाहा पाउँछन् । दैवीय व्यवस्थालाई हटाएको कारण हजारौँ दुष्‍टता, फूट, घृणा, अधर्मका मूलहरू फुटेका थिए कि पृथ्वी नै लड़ाइँ र भ्रष्‍टताको सर्वनाश स्थल भयो । जसले सत्यतालाई अस्‍वीकार गरी झूटलाई अपनाए अब तिनीहरूको सामुन्ने त्यही दृश्‍‍य देखा पर्छ । जुन कुरा—अनन्त जीवन—अनाज्ञाकारी र राजद्रोहीहरूले सदासर्वदाका लागि गुमाएका थिए सो प्राप्‍त गर्ने तिनीहरूको तिर्सनालाई कुनै पनि भाषाले व्यक्त गर्न सक्दैन । जुन मानिसहरूलाई तिनीहरूका प्रतिभाहरू र भाषणकलाले गर्दा संसारले पूजा गर्दथ्यो अब त्यसका वास्तविक प्रकाशमा यी कुराहरू देखिन्छन् । तिनीहरूले आज्ञा उल्‍लङ्घनद्वारा गुमाएको अधिकार थाहा पाउँछन्, र जसले तिनीहरूको भक्तिको कारण घृणा र गिल्‍ला गरेका थिए, अब तिनीहरू उनीहरूको चरणमा दण्डवत् गर्छन् र स्‍वीकार गर्छन् कि परमेश्‍‍वरले उनीहरूलाई प्रेम गर्नुभएको छ । MBA 179.3

मानिसहरू आफै भ्रममा परेका कुरा देख्‍छन् । तिनीहरू एक-अर्कालाई विनाशतर्फ अगुवाइ गरेको आरोप लगाउँछन्; तर सबै जना एक भएर तिनीहरूले सबभन्दा तीतो निन्दा प्रचारकहरूमाथि थुपार्छन् । अविश्‍‍वासी प्रचारकहरूले शान्तिको भविष्यवाणी गरेका थिए; तिनीहरूले आफ्‍ना श्रोताहरूलाई परमेश्‍‍वरको व्यवस्था रद्द गर्न र जसले त्यसलाई पवित्ररूपमा पालन गर्दछ तिनीहरूलाई सताउन नेतृत्‍व गरेका छन् । यति बेला यी शिक्षकहरू निराश भएर संसारका सामु तिनीहरूका छली कार्यलाई स्‍वीकार गर्छन् । भीड़हरू रिसले चूर भएका हुन्छन् । “हामी हराएका छौं ! र हाम्रो विनाशको कारण तिमीहरू नै हौ;” भनी कराउँदै तिनीहरू झूटा गोठालाहरूमाथि झम्टिन्छन् । एक समयमा जसले यी मानिसहरूको खूब तारिफ गर्दथे तर अब तिनीहरूले नै अति डरलाग्दा सरापहरू दिनेछन् । जुन हातहरू तिनीहरूलाई सुन्दर माला पहिराउन अग्रसर थिए तर अहिले तिनीहरूको विनाश गर्न उठ्‌नेछन् । जुन तरवारहरूद्वारा परमेश्‍‍वरका जनहरूलाई हत्या गर्नुपर्ने थिए अहिले तिनीहरूका शत्रुहरूलाई नष्‍ट गर्न उपयोगी भएका छन् । सर्वत्र लड़ाइँ र रक्तपातले भरिएको हुन्छ । MBA 179.4

“‘पृथ्वीका छेउ-छेउसम्म त्यो कोलाहल पुग्‍नेछ; किनकि जाति-जातिहरूसँग परमप्रभुको मामला छ; उहाँ सब प्राणीसँग मुद्दा लड्‍नुहुनेछ; उहाँले दुष्‍टहरूलाई तरवारको वशमा सुम्पिदिनुहुनेछ ।” यर्मिया २५:३१ (KJV) । छ हजार वर्षदेखि महान् विवाद भइरहेको छ; मानिसहरूका सन्तानहरूलाई चेताउनी दिन, प्रकाश दिन, र बचाउनका लागि परमेश्‍‍वरका पुत्र र उहाँका स्‍वर्गीय सन्देशवाहकहरू दुष्‍ट जनको शक्तिसँग लड़ाइँ गरिरहनुभएको छ । अब सबैले आ-आफ्‍नो निर्णय गरिसकेको छ; दुष्‍टहरू शैतानसँग पूर्ण एकमत भएर परमेश्‍‍वरको विरूद्ध लड़ाइँ गरेका छन् । परमेश्‍‍वरले उहाँको दबिएका व्यवस्थाको अधिकारलाई निर्दोष ठहराउने समय आएको छ । अहिले यो विवाद शैतानसँग मात्र होइन तर मानिसहरूसँग पनि हो । “जाति-जातिहरूसँग परमप्रभुको मामला छ;” “उहाँले दुष्‍टहरूलाई तरवारको वशमा सुम्पिदिनुहुनेछ ।” MBA 180.1

“त्यसको बीचमा गरिएका सबै घृणित कामहरूको कारणले जो-जो सुस्केरा हाल्छन्, र ऐयाआत्था गर्छन्,” तिनीहरूमाथि सुरक्षाको छाप लगाइएको छ । इजकिएलको दर्शनमा उल्‍लेखित काटमारको हतियार धारण गर्ने मानिसहरूलाई प्रतिनिधित्‍व गर्ने एक मृत्युको दूत निस्कन्छ, जसलाई यो आदेश दिइएको छ: “वृद्ध र जवान, अनि कन्याहरू, बालबच्‍चाहरू र स्‍‍त्रीहरूलाई बिलकुलै मारिदेओ; तर त्यो चिनो भएको कुनै पनि मानिसको नजिक नजाओ; अनि मेरो पवित्रस्थानबाट सुरु गर !” अगमवक्ता भन्छन्, “उनीहरूले भवनका सामु भएका बूढ़ा प्रधानहरूबाट सुरु गरे ।” इजकिएल ९:१-६ (KJV) । मानिसहरूका आत्मिकी रखवालाहरू हुन भनि दाबी गर्नेहरूका बीचबाट नै विनाशको काम सुरु हुन्छ । झूटा पहरेदारहरू नै पहिले मारिनेछन् । कुनैमाथि करुणा वा छुट्‍कारा हुँदैन । पुरूष, स्‍‍त्री, कन्याहरू र बालबच्‍चा सबै एकैसाथ नष्‍ट हुन्छन् । MBA 180.2

“पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूको अधर्मका निम्ति दण्ड दिनलाई परमप्रभु आफ्‍ना ठाउँबाट निस्केर आउनुहुन्छ; अनि पृथ्वीले आफ्‍नो रगत प्रकट गर्नेछ, र आफ्‍ना मारिएकाहरूलाई फेरि डाक्‍नेछैनँ ।” यशैया २६:२१ (KJV) । “अनि जुन महामारीले परमप्रभुले यरूशलेमको विरोधमा लड़ाइँ गर्ने सबै जातिहरूलाई हिर्काउनहुनेछ, त्यो महामारी यही हुनेछ: तिनीहरू आफ्‍ना खुट्टाहरूमा उभिरहेकैमा तिनीहरूको मासु कुहुनेछ, तिनीहरूका आँखाहरू तिनका तोड्‍काहरूभित्रै कुहुनेछन्, र तिनीहरूको जिब्रो तिनीहरूको मुखभित्रै कुहुनेछ । अनि त्यस दिनमा यस्तो हुनेछ—तिनीहरूको बीचमा परमप्रभुबाट एउटा ठूलो हलचल मच्‍चिनेछ; अनि तिनीहरू हरेकले आफ्‍नो छिमेकीको हात पक्रनेछन्, र आफ्‍नो हात आफ्‍नो छिमेकीको हातको विरूद्धमा उठ्‌नेछ ।” जकरिया १४:१२-१३ (KJV) । तिनीहरूको आफ्‍नै प्रचण्ड रिसहरूको बौलाहा लड़ाइँमा साथै परमेश्‍‍वरको नमिसिएको क्रोधद्वारा पृथ्वीका दुष्‍ट बासिन्दाहरू—पूजाहारीहरू, शासकहरू र मानिसहरू, धनी र गरीब, उच्‍च र नीच—माथि भयावहसाथ सबै पतन हुन्छन् । “त्यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा—पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन् । उनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्मा गर्नेछैन, नता गाड्‍नेछ ।” यर्मिया २५:३३ । MBA 181.1

ख्रीष्‍टको आगमनमा दुष्‍टहरू सारा पृथ्वीको सतहबाट नष्‍ट हुन्छन्—उहाँको मुखको आत्माद्वारा भष्म हुन्छन् र उहाँको महिमाको उज्‍ज्‍वलताले नष्‍ट हुन्छन् । ख्रीष्‍टले आफ्‍ना मानिसहरूलाई परमेश्‍‍वरका नगरमा लैजानुहुन्छ, र पृथ्वी बासिन्दाहरूरहित रित्तो हुन्छ । “हेर, परमप्रभुले पृथ्वीलाई रित्तो पार्नुहुनेछ, उजाड़ पार्नुहुनेछ, र यसलाई उलटपुलट पार्नुहुनेछ, अनि यसका बासिन्दाहरूलाई तितरबितर पार्नुहुनेछ ।” “देश बिलकुलै रित्तो हुनेछ, र पूरै लुटिनेछ; किनकि परमप्रभुले यो वचन भन्नुभएको छ ।” “किनकि तिनीहरूले व्यवस्था उल्‍लङ्घन गरेका छन्, विधि बदली गरेका छन्, र अनन्त वाचा तोड़ेका छन् । यसैकारण श्रापले पृथ्वीलाई निलेको छ, अनि त्यसमा बस्‍नेहरू उजाड़ भएका छन्; यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन् ।” यशैया २४:१, ३, ५, ६ (KJV) । MBA 181.2

सारा पृथ्वी उजाड़ मरूभूमिझैँ देखिन्छ । गाउँहरू र शहरहरू भूकम्पद्वारा विनाश भएका छन्, र उखेलिएका रूखहरू, समुद्रतले हुत्त्याएका र पृथ्वीबाट फुटेका चट्टानहरू पृथ्वीभरि छरपष्‍ट भएका छन्, जहाँ विशाल गुफाहरूले पहाड़हरूका जगहरूदेखि नै फाटेका सङ्केत देखाएका छन् । MBA 182.1

जुन प्रायश्‍चितको दिनमा अन्तिम गम्भीर सेवाकार्य भएको थियो त्यसको वास्तविक घटना अब परिचालन हुन्छ । जब महापवित्रस्थानको सेवाकार्य पूर्ण भएको हुन्थ्यो, र पापबलीको शक्तिले इस्राएलका पापहरू पवित्रवासस्थानबाट हटाइन्थ्यो, त्यसपछि प्रभुको सामुन्ने छाड़ा बोका जिउँदै ल्याउँदथ्यो; तब समुदायको उपस्थितिमा प्रधानपूजाहारीले “इस्राइलीहरूका सारा अधर्म, अपराध र पाप स्‍वीकार गरेर बोकाको टाउकोमाथि राखी” दिन्थ्यो । लेवी १६:२१ । जब स्‍वर्गीय पवित्रवासस्थानमा प्रायश्‍चितको काम पूरा भएको हुन्छ तब त्यसरी नै शैतानमाथि परमेश्‍‍वर र स्‍वर्गदूतहरू र सम्पूर्ण मुक्ति पाएकाहरूका दलको सामुन्ने परमेश्‍‍वरका मानिसहरूका पापहरू राखिन्छ; उसले तिनीहरूलाई जुन दुष्‍टतामा फसाएको छ उसलाई ती सबका दोषी घोषणा गरिनेछ । जसरी छाड़ा बोका निर्जन भूमिमा लगिन्थ्यो त्यसरी नै शैतान पनि उजाड़ पृथ्वी, निर्जन र उदास उजाड़स्थानमा बहिष्कृत हुनेछ । MBA 182.2

प्रकाशको लेखकले शैतानको बहिष्कारको पूर्ववाणी गर्दछन् र त्यसपछि पृथ्वी एक हजार वर्षसम्म गोलमोल र उजाड़ स्थितिमा रहन्छ भनी तिनले घोषणा गर्छन् । प्रभुको दोस्रो आगमन र दुष्‍टहरूको विनाशको दृश्‍‍य प्रकट गरेपछि, भविष्यवाणीमा अझै भन्दछ: “अतल कुण्डको साँचो र एउटा ठूलो साङ्‍लो हातमा लिएका एउटा स्‍वर्गदूत स्‍वर्गबाट ओर्लेर आएका मैले देखें । तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे । तिनले त्यसलाई अतल कुण्डमा फालिदिए, र त्यो कुण्ड बन्द गरी मोहर लगाइदिए, ताकि एक हजार वर्ष अन्त्य नभएसम्म जाति-जातिहरूलाई त्यसले बहकाउन नपाओस् । त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्‍का गरिनुपर्छ ।” प्रकाश २०:१-३ । MBA 182.3

अन्य बाइबलका पदहरूबाट प्रमाणित भएको छ कि “अतल कुण्ड” भन्ने भनाइ पृथ्वीको भताभुङ्ग र अन्धकार स्थितिलाई प्रतिनिधित्‍व गर्दछ । “आदिमा” पृथ्वीको अवस्थाको सम्बन्धमा बाइबल अभिलेखले बताउँदछ कि “पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो ।” उत्पत्ति १:२ । भविष्यवाणीले सिकाउँदछ कि त्यसलाई झण्डै यस्तै स्थितिमा पुऱ्याउनेछ । परमेश्‍‍वरको महान् दिनलाई पूर्वदृष्‍टि गर्दै अगमवक्ता यर्मिया घोषणा गर्दछन्: “मैले पृथ्वीलाई हेरें, र त्यो त आकारहीन र शून्य थियो । अनि आकाशलाई मैले हेरें, र त्यहाँ ज्योति नै थिएन । मैले पहाड़हरूलाई हेरें, ती कामिरहेका थिए, सबै डाड़ाँहरू यता उता हल्‍लिरहेका थिए । मैले हेरें, र त्यहाँ कोही मानिसहरू नै थिएनन् । आकाशका सबै पक्षीहरू उडे़र गइसकेका थिए । मैले हेरें, र ... फलदायिक जमिन मरुभूमि भएथ्यो, र त्यसको सबै नगरहरू ध्वस्त भएथे ।” यर्मिया ४:२३-२६ । MBA 182.4

शैतान र त्यसका दुष्‍ट दूतहरूको निवासस्थान एक हजार वर्षसम्म यही नै हुनुपर्छ । ऊ पृथ्वीमा कैदी सरह हुन्छ, र अन्य अपतित संसारहरूमा परीक्षा गर्न र दुःख दिन जान पाउनेछैन । यही आशयमा ऊ बाँधिएको छ: त्यहाँ उसको शक्ति प्रयोग गर्न सक्‍ने कोही पनि बाँकी छैन । ऊ धोकेबाज र विनाशको कामबाट पूर्ण बञ्‍चित भएको छ जुन धेरै शताब्दीदेखि उसका लागि हर्षित कार्य हुँदैआएको थियो । MBA 183.1

यशैया अगमवाक्ता शैतानको विनाशलाई पूर्वदृष्‍टि गर्दै आश्‍चर्यसाथ भन्दछन्: “हे लुसिफर, बिहानीको छोरो, तँ कसरी स्‍वर्गबाट खसिस् ! जाति-जातिलाई कमजोर बनाउने तँ, तँ कसरी काटिएर भुइँमा खसिस् ! ... तैंले आफ्‍नो हृदयमा भनेको छस्: ‘म स्‍वर्गमा चढ्‍नेछु, म आफ्‍नो सिंहासन परमेश्‍‍वरका ताराहरूभन्दा माथि उचाल्‍नेछु; ... म परमप्रधानजस्तै हुनेछु ।’ तर तँ अधोलोकमा, खाड़लका पींधहरूसम्म झारिनेछस् । तँलाई देख्‍नेहरूले तँलाई नियालेर हेर्नेछन्, र यसो भन्दै तेरो विषयमा विचार गर्नेछन्: ‘के पृथ्वीलाई थरथर काम्‍न लगाउने र राज्यहरूलाई हल्‍लाउने मान्छे यही हो, जसले संसारलाई उजाड़स्थानजस्तै बनायो, त्यसका शहरहरू नाश पाऱ्यो र आफ्‍ना कैदीहरूलाई घर जान दिएन ?’” यशैया १४:१२-१७ (KJV) । MBA 183.2

छ हजार वर्षसम्म शैतानको विद्रोही कामले “संसारलाई थरथर कमाएको छ ।” उसले “संसारलाई उजाड़स्थानजस्तै बनायो, र त्यसका शहरहरू नाश पाऱ्यो ।” अनि उसले “आफ्‍ना कैदीहरूलाई घर जान दिएन ।” छ हजार वर्षसम्म परमेश्‍‍वरका जनहरू उसको कारागारमा राखिएका छन् र त्यसले तिनीहरूलाई सदासर्वदा कैदी बनाउने थियो; तर ख्रीष्‍टले उसको बन्धन तोड़ेर सदाका लागि कैदीहरूलाई स्‍वतन्‍‍त्रता दिनुभएको छ । MBA 183.3

अब दुष्‍टहरू पनि शैतानको शक्तिदेखि बाहिर छन्, र उसका दुष्‍ट दूतहरूसँगै पापको कारण श्रापित असर मनन गर्न छोड़िन्छन् । “जाति-जातिका सबै राजाहरू, प्रत्येक आ-आफ्‍नै चिहानमा गौरवमा पस्रिरहेका छन् । तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्‍याँकिइस् । ... दफनको समयमा तँ उनीहरूसित मिल्‍ने छैनस्, किनकि तैंले आफ्‍नो देशको संहार गरेको छस्, तैंले आफ्‍ना मानिसहरूलाई मारेका छस् ।” यशैया १४:१८-२० । MBA 183.4

परमेश्‍‍वरको व्यवस्थाको विरूद्ध विद्रोहको परिणाम हेर्न शैतान हजार वर्षसम्म यस उजाड़ पृथ्वीमा यताउता घुमिरहनेछ । यो समयको अवधिमा उसका कष्‍टहरू भयानक हुन्छन् । उसको पतन भएदेखि लगातार क्रियाकलापले गर्दा उसको समझशक्ति गुमेको छ; तर अब त झन उसलाई शक्तिहीन हुन बाध्य बनाएको छ र स्‍वर्गीय सरकारको विरूद्ध उसको प्रथम विद्रोहदेखि यता भएका सम्पूर्ण कार्यमा मनन गर्न, र कम्प र त्राससाथ डरलाग्दो भविष्य हेर्न ऊ छोड़िएको छ जब कि उसको सम्पूर्ण दुष्‍ट कार्य र उसले फसाएका पापहरूको सजाय उसले नै भोग्‍नुपर्छ । MBA 184.1

परमेवश्रका जनहरू शैतानको कैदमाथि आनन्दित र हर्षित हुनेछन् । अगमवक्ता भन्दछन्: “अनि जुन दिन परमप्रभुले तिमीलाई तिम्रो शोकबाट, तिम्रो डर र तिमीमाथि लगाइएको त्यस कठिन दासत्‍वबाट विश्राम दिनुहुनेछ, त्यस दिन यस्तो हुनेछ—तिमीले बाबेलको राजाको [यसले शैतानलाई प्रतिनिधित्‍व गर्दछ] विरोधमा यो आहान टिपेर भन्नेछौ: ‘थिचोमिचो गर्ने कसरी थान्को लाग्यो !’ ... परमप्रभुले दुष्‍टहरूको लौरो, र शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ । जसले जाति-जातिका मानिसहरूलाई क्रोधले निरन्तर हिर्काउँथ्यो, जसले जाति-जातिमाथि रिसले शासन गर्थ्यो, त्यो सतावटमा परेको छ, र त्यसलाई रोक्‍ने कोही छैन ।” यशैया १४:३-६ (KJV) । MBA 184.2

हजार वर्ष भित्र अर्थात् पहिलो र दोस्रो पुनरुत्थानका बीचमा दुष्‍टहरूको इन्साफ हुनेछ । प्रेरित पावलले यो न्यायलाई दोस्रो आगमनपछिको घटना स्‍वरूप केन्द्रित गर्छन् । “तोकिएको समयभन्दा अघि न्याय नगर, प्रभु आउन्‍जेल पर्ख । उहाँले अँध्यारोमा लुकेको कुरालाई प्रकाशमा ल्याउनुहुनेछ, र मानिसका हृदयका अभिप्रायहरू प्रकट गरिदिनुहुनेछ ।” १ कोरिन्थी ४:५ । दानिएल घोषणा गर्छन् कि जब ती अति प्राचीन आउनुभयो, तब “सर्वोच्‍चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा” गर्नुभयो । दानिएल ७:२२ । यो समयमा धर्मीहरू परमेश्‍‍वरका पूजाहारीहरू र राजाहरूको रूपमा शासन गर्छन्, प्रकाशमा यूहन्ना भन्छन्: “मैले सिंहासनहरू र त्यसमाथि बस्‍नेहरूलाई देखें, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो ।” “तिनीहरू परमेश्‍‍वर र ख्रीष्‍टका पूजाहारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन् । प्रकाश २०:४-६ । जसरी पावलले अगमवाणी गरेका थिए, त्यसरी नै यो समयमा “पवित्र जनहरूले संसारको न्याय गर्नेछन् ।” १ कोरिन्थी ६:२ (KJV) । ख्रीष्‍टसँग मिलेर तिनीहरूले व्यवस्थाको किताब, बाइबलसँग दुष्‍टहरूका कार्यहरू तुलना गर्दै, तिनीहरूको शरीरमा गरेको प्रत्येक कामअनुसार तिनीहरूको मुद्दा निर्णय गर्दै तिनीहरूका न्याय गर्छन् । त्यसपछि दुष्‍टहरूले भोग्‍नै पर्ने कष्‍टको अंश तिनीहरूका कामहरूअनुसार तोकिन्छ; र त्यो तिनीहरूका नामहरूको छेउमा मृत्युको पुस्तकमा लेखिन्छ । MBA 184.3

शैतान र उसका दुष्‍ट दूतहरूको पनि ख्रीष्‍ट र उहाँका जनद्वारा न्याय हुन्छ । पावल भन्छन्: “के तिमीहरूलाई थाहा छैन, हामी स्‍वर्गदूतहरूको न्याय गर्नेछौं ?” १ कोरिन्थी ६:३ । यहूदा घोषणा गर्छन् कि “जुन स्‍वर्गदूतहरूले आफ्‍नो पहिलो पद थामेनन्, तर आफ्‍नो वासस्थान छोड़िदिए, तिनीहरूलाई उहाँले त्यस महान् दिनको न्यायका निम्ति अन्धकारमुनि सदाकालका साङ्‍लाहरूमा राख्‍नुभएको छ ।” यहूदा ६ (KJV) । MBA 185.1

हजार वर्षको अन्त्यमा दोस्रो पुनरुत्थान हुनेछ । त्यसपछि ती दुष्‍टहरू मृत्युबाट उठ्‌नेछन् र “लिखित इन्साफको सजाय” भोग्‍न परमेश्‍‍वरको सामु उपस्थित हुनेछन् । यसरी प्रकाशकले धर्मीहरूको पुनरुत्थानलाई वर्णन गरेपछि भन्छन्: “अरू मरेकाहरू चाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन् ।” प्रकाश २०:५ । दुष्‍टहरूको विषयमा यशैया घोषणा गर्छन्: “कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन् । तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ ।” यशैया २४:२२ । MBA 185.2