Go to full page →

१ — येरूशलेमको विनाश MBAJ 1

(अंग्रेजी पुस्तक अध्याय १ पृष्‍ठ १७)

“शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो ! तर अब तेरो दृष्‍टिबाट त्यो लुकेको छ । किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्‍नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्‍नेछन् । तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन । किनकि तैंले आफूमाथि भएको परमेश्‍‍वरको कृपा-दृष्‍टिको समयलाई चिन्‍न सकिनस् ।” लूका १९:४२-४४ । MBAJ 1.1

येशूले जैतुन ड़ाडाको टाकुराबाट यरूशलेमलाई हेर्नुभयो । उहाँको सामु शान्तमय र स्‍वच्छ दृश्‍‍य फिँजिएको थियो । त्यो समय निस्तार चाड़को पर्व थियो, र याकूबका सन्तानहरू हरेक जग्गाबाट त्यही महान् राष्‍ट्रिय चाड़को उत्सव मनाउन आएका थिए । बगैँचाहरू, दाखबारीहरू र हरिया डाँड़ाहरूको बीचमा तीर्थयात्रीका पालहरूसाथै प्रतापशाली दरबारहरू, इस्राएलको राजधानीको किल्‍ला र पहाड़का श्रृंखलाहरू देखिएका थिए । सियोनकी छोरीले आफ्‍नो गौरवमा यसरी उच्‍चारण गरेकी आभास हुन्थ्यो, म रानी भएर बस्छु, म कहिल्यै दुःख भोग्दिनँ; युगौँ पहिले, जसरी स्‍वर्गीय अनुग्रहमा सुरक्षित र मायालुपनको महसुस गरेकी थिई त्यही नै त्यसले भान गर्दथिई, राजकीय गायकले यसरी गाएका थिए: “उचाइमा सुन्दर, सम्पूर्ण पृथ्वीको हर्ष सियोन पर्वत हो, ... जो महाराजाको शहर हो ।” भजनसंग्रह ४८:२ (KJV) । मन्दिरका भव्य महलहरूको दृश्‍‍य पूर्ण देखिन्थ्यो । हिउँ जस्तै उज्‍ज्‍वल मन्दिरको मणिशिलाका पर्खालहरूमा घाम अस्ताउँदा त्यसको प्रकाशले ती पर्खालहरू हिँउ झैँ सेतो भएको कारण उज्‍ज्‍वल हुन्थे र सुनौलो ढोकादेखि लिएर स्तम्भ र त्यसको शिखरसमेत चमकदार हुन्थ्यो । त्यो “सुन्दरताको पूर्णता”-मा नै यहूदी जातिको एक गौरव अवस्थित थियो । यस्तो दृश्‍‍यलाई कुनचाहिँ इस्राएलका सन्तानले आनन्द र खुशीको तरङ्गविना अवलोकन गऱ्यो होला र ! तर त्यति बेला येशूको दिमागमा चाहिँ एकदम फरक विचारले भरिएको थियो । “जब येशू नजिक आइपुग्‍नुभयो, र सहरलाई देख्‍नुभयो, उहाँ त्यसको लागि रुनुभयो ।” लूका १९:४१ । जब विजयी आगमनको सार्वजनिक आनन्दको माझमा खजुरका पातहरू हल्‍लिरहेका थिए, र पहाड़हरूहुँदो खुशीयालीको होशन्‍नाका हजारौँ आवाजहरू प्रतिध्वनि भइरहेका थिए, अनि हजारौँ आवाजहरूले उहाँलाई राजा घोषणा गरिरहेका थिए, त्यति बेला संसारको मुक्तिदाताचाहिँ अचानक रहस्यमय पीड़ाले व्याकुल भइरहनु भएको थियो । उहाँ, परमेश्‍‍वरका पुत्र, इस्राएललाई प्रतिज्ञा गरिएको जन, जसको शक्तिले मृत्युलाई जितेको थियो र चिहानबाट बन्दीहरूलाई बोलाइएको थियो, अब उहाँको आँखाभरि आँसु देखियो, त्यो साधारण पीड़ा थिएन, तर एकदम घोर सन्ताप थियो । MBAJ 1.2

उहाँको आँसु आफ्‍नै निम्ति बगेको थिएन, तापनि उहाँले टेक्‍नु भएका पाइलाहरू कहाँ जाँदैथिए, सो उहाँलाई राम्ररी थाहा थियो । उहाँंको अगाडि गेतसमनी देखिन्थ्यो, र उहाँको सन्ताप निकट थियो । भेड़ाढोका पनि अगाडि नै देखिन्थ्यो, जहाँबाट शताब्दीऔँ पूर्वदेखि नै बलिदानका लागि जनावरहरू लैजाने गर्दथे, जब उहाँ “मारिनलाई लगेको थुमाजस्तै” ल्याइनुहुन्थ्यो तब त्यही बखत उहाँका लागि त्यो ढोका खोलिनु आवश्‍‍यक थियो । यशैया ५३:७ । कलवरी डाँडा, अर्थात् उहाँ क्रूसमा मर्नुपर्ने ठाउँ पनि टाढ़ा थिएन । ख्रीष्‍टले हिँड्‍नै लाग्‍नु भएको मार्ग घोर अन्धकारको भयले ढाकेको थियो जहाँ पापको खातिर उहाँले आफ्‍नो प्राण बलिदान गर्दै हुनुहुन्थ्यो । तापनि यी दृश्‍‍यहरूले गर्दा यो हर्षित घडीमा उहाँ निराश हुनु भएन । उहाँको आफ्‍नै अमानविक पीरको कुनै पनि कल्पनाले निस्‍वार्थी आत्मालाई बादल पारेको थिएन । यरूशलेमका हजारौँ बासिन्दाहरूमाथि दण्ड-घोषित भएको देख्‍नुभयो र उहाँ रुनुभयो, किनभने उहाँले जसलाई बचाउन र आशिष् दिन आउनुभयो, तिनीहरू नै अन्धो र अपश्‍चात्तापी थिए । MBAJ 2.1

एक हजार वर्षभन्दा अगाडिदेखि परमेश्‍‍वरले आफ्‍ना चुनिएका जनहरूलाई गर्नुभएको विशेष अनुग्रह, माया र हेरचाहको इतिहास येशूको आँखामा खुला भएको थियो । मोरिया पहाड़ पनि उहाँको सामुन्‍ने नै थियो जहाँ प्रतिज्ञाको पुत्र, स्‍वयम् एक बलिदान हुन स्‍वीकार गरेर वेदीमा बाँधिएका—परमेश्‍‍वरका पुत्रको बलिदानको चिन्ह—थिए । त्यहाँ विश्‍‍वासको पिताका लागि एउटा महिमित मसीहको प्रतिज्ञा र आशिषको करार सदर भएको थियो । उत्पत्ति २२:९, १६-१८ । त्यहाँ अरौनाको खलाबाट स्‍वर्गतिर गइरहेको बलिदानका ज्‍वालाहरूले नष्‍टकारी स्‍वर्गदूतको तरवारलाई फर्काइ दिएका थिए—मुक्तिदाताको बलिदानको सुहाउँदो चिन्ह र दोषी मानिसहरूका एक मध्यस्थता । (१ इतिहास २१) । सारा पृथ्वीमध्ये यरूशलेमचाहिँ परमेश्‍‍वरको दृष्‍टिमा अति नै सम्मानित थियो । “परमप्रभुले सियोनलाई छान्‍नुभएको छ; उहाँले त्यसलाई आफ्‍नो निवासको निम्ति चाहनुभएको छ ।” भजनसंग्रह १३२:१३ । युगौँ-युगसम्म त्यहाँ पवित्र अगमवक्ताहरूले चेतावनीका सन्देशहरू दिएका थिए । त्यहाँ पूजाहारीहरूले तिनीहरूका धुपौरो हल्‍लाउँदथे, धुपको धुवाँ आराधकहरूको प्रार्थनासँगै परमेश्‍‍वरको सामु पुग्दथ्यो । त्यहाँ दैनिक रूपमा मारिएको थुमाको रगत चढाइन्थ्यो, जसले परमेश्‍‍वरको थुमालाई देखाइरहेको थियो । त्यहाँ कृपा आसनमाथि भएको महिमाको बादलमा यहोवाको उपस्थिति थियो । त्यहाँ एउटा रहस्यमय भऱ्याङ्ग अवस्थित थियो जसमाथि स्‍वर्गदेखि पृथ्वीसम्म स्‍वर्गदूतहरू उर्लने र उक्‍लने गर्दथे, (उत्पत्ति २८:१२; यूहन्‍ना १:५१) अनि यसले संसारलाई महापवित्रस्थानसम्म पुग्‍ने बाटो खोली दिने गर्दथ्यो । यदि इस्राएल, देशको रूपमा परमेश्‍‍वरप्रति बफादारी भएको भए, परमेश्‍‍वरको चुनिएको यरूशलेम नै सदाका निम्ति रहनेथियो । यर्मिया १७:२१-२५ । तर त्यो निगाह-पात्र जाति इतिहासमै विश्‍‍वासबाट पछि सरेको र विद्रोही भएको कुरा लेखिएको थियो । तिनीहरूले स्‍वर्गको अनुग्रहलाई प्रतिकार गरे, तिनीहरूको सौभाग्यलाई हेलचेक्राइँ गरे, र तिनीहरूले अवसरहरू गुमाए । MBAJ 2.2

इस्राएलले “परमेश्‍‍वरका ती दूतहरूलाई खिस्सी गरे, उहाँका वचनहरूलाई तुच्छ ठाने र उहाँका भविष्यवक्ताहरूसित नराम्रो व्यवहार गरे ।” (२ इतिहास ३६:१६ KJV) । तापनि उहाँले आफैलाई “परमप्रभु, परमप्रभु परमेश्‍‍वर टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्‍‍वर, जो क्रोध गर्नमा ढिलो, र प्रेम र विश्‍‍वस्ततामा प्रशस्त हुनुहुन्छ,” (प्रस्थान ३४:६) भनी तिनीहरूकहाँ प्रकट गर्नुभयो; उहाँको कृपालाई बारम्बार अस्‍वीकार गरेतापनि त्यसले निरन्तररूपमा बिन्ती गर्दैथियो । आफूले पालनपोषण गरेको छोरोप्रति बुवाको करुणामय प्रेमभन्दा अधिक मात्रामा परमेश्‍‍वरले चाँडै उठ्‍दै र पठाउँदै “आफ्‍ना दूतहरूको हातद्वारा उनीहरूकहाँ” पठाउनुभएको थियो; “किनभने उहाँले आफ्‍नो प्रजा र आफ्‍नो वासस्थानलाई टिठाउनुहुन्थ्यो ।” २ इतिहास ३६:१५ (KJV) । जब निवेदन, बिन्ती र सल्‍लाह असफल भएका थिए त्यही समयमा उहाँले तिनीहरूकहाँ सबभन्दा उत्तम स्‍वर्गीय उपहार पठाउनुभयो, त्यति मात्र होइन, उहाँले एउटै उपहारमा पूरै स्‍वर्ग नै वर्षाउनुभयो । MBAJ 3.1

परमेश्‍‍वरको पुत्रलाई नै त्यो अपश्‍चात्तापी शहरलाई बिन्ती गर्न पठाउनुभयो । उहीं ख्रीष्‍टले इस्राएललाई मिश्रबाट सुन्दर दाखको बोट जस्तै गरी ल्याउनुभएको थियो । भजनसंग्रह ८०:८ । तिनीहरूका सामुन्‍नेबाट मूर्तिपूजकहरूलाई उहाँको आफ्‍नै हातले निकाल्‍नु भएको थियो । उहाँले “मलिलो डाँड़ामा” त्यसलाई रोप्‍नुभयो । चाकरले त्यसलाई वरिपरि बार लगाएर राम्ररी स्याहार पुऱ्याएको थियो । उहाँका नोकरहरूलाई गोड़मेल गर्न पठाउनुभयो । तब उहाँ आश्‍चर्य मान्दै भन्‍नुहुन्छ, “मेरो दाखबारीको निम्ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‍ता मैले गर्नुपर्ने थियो ?” यशैया ५:१-४ । उहाँले असल अंगुरको प्रतीक्षा गर्नुभएको थियो, तापनि त्यसले त जङ्गली अंगुर पो फलायो, तरै पनि केही फलको अति आशा बोकेर उहाँ आफै व्यक्तिगतरूपमा आफ्‍नो दाखबारीमा आउनुभयो, शायद त्यो विनाशबाट बाँच्थ्यो कि ! उहाँले आफ्‍नो बोट वरिपरी खन्‍नुभयो; उहाँले त्यसलाई छाट्‍नुभयो र त्यसलाई हेरचाह गर्नुभयो । आफ्‍नो दाखबारीलाई स्याहार गर्न उहाँले अत्यन्तै प्रयत्‍न गर्नुभयो । MBAJ 3.2

ज्योति र महिमाका प्रभु, उहाँका मानिसहरूको बीचमा तीन वर्षसम्म भित्र र बाहिर हिँड्‍नुभयो । “उहाँ भलाइ गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्‍नुभयो,” (KJV) टुटेको हृदयलाई मलमपट्टी लाउँदै, बन्धनमा परेकाहरूलाई स्‍वतन्‍‍त्र दिलाउँदै, अन्धाहरूलाई दृष्‍टि दिदै, लङ्गड़ालाई हिँड्‍ने शक्ति दिदै र बहिराहरूको कान खोलिदिदै, कुष्‍ठरोगीहरूलाई शुद्ध पार्दै, मृतकहरूलाई बौरी उठाउँदै र दरिद्रहरूसँग सुसमाचार प्रचार गर्दै हिँड्‍नुभयो । प्रेरित १०:३८; लूका ४:१८; मत्ती ११:५ । उहाँले सबै स्तरका मानिसहरूलाई एउटै अनुग्रही बोलावट गर्नुहुन्थ्यो: “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु ।” मत्ती ११:२८ । MBAJ 4.1

भलाइको बदली खराब, प्रेमको बदला घृणाको इनाम पाउनु भएतापनि (भजनसंग्रह १०९:५) उहाँको कृपामय जीवनोद्देश्‍‍यमा दृढतासाथ लागिरहनुभयो । उहाँको अनुग्रह खोज्‍नेहरू कहिल्यै पनि तिरस्कृत भएनन् । एक घरविहीन बटुवा भई, निन्दनीय र दरिद्रतामा जीवनयापन गर्नु नै उहाँको दैनिक अंश थियो; जो आवश्‍‍यकमा परेका छन् र मानविक शोकले भरिएका छन् तिनीहरूलाई सेवा पुऱ्याउन र तिनीहरूका निम्ति जीवनको उपहार स्‍वीकार्य होस् भनी तिनीहरूसँग बिन्ती गर्नका लागि उहाँले जीवनयापन गनुभएको थियो । कृपाका छालहरूलाई ती अटेरी हृदयहरूले खिल्‍ली उड़ाए, उहाँले त्यसको बदला अझै प्रगाढ र अवर्णनीय दया र प्रेम दिनुभयो । तर आफ्‍नो घनिष्‍ठ मित्र र एउटै मात्र सहायकदेखि इस्राएल टाढ़ा गइसकेको थियो । उहाँको प्रेमको याचनालाई तिनीहरूले घृणा गरे, उहाँका सल्‍लाहहरूलाई लत्याए, उहाँका चेतावनीहरूलाई खिल्‍ली उड़ाए । MBAJ 5.1

आशा र क्षमाका घडी वेगसाथ पार हुँदैथिए; लामो समयदेखि जम्मा भएको परमेश्‍‍वरको क्रोधको कचौरा अब झण्डै भरिसकेको थियो । पतन र विद्रोहीका युगहरूभरि जम्मा भइरहेको बादल अब त्रासले कालो भयो, र जुनचाहिँ दोषी मानिसहरूप्रति डरलाग्दो रूपमा थुप्रिनै लागेको थियो; जसले सन्‍निकट विनाशबाट बचाउन सक्‍नुहुन्थ्यो तिनीहरूले उहाँलाई नै तुच्छ ठाने, दुर्व्यवहार गरे, अस्‍वीकार गरे र उहाँलाई चाँडै नै क्रूसमा चढ़ाउनेथिए । जब ख्रीष्‍ट कलवरी क्रूसमा झुण्डिनुपर्ने थियो, तब इस्राएलले त्यही दिनदेखि देशको रूपमा परमेश्‍‍वरको आशिषित र अनुग्रह-पात्र जातिको मौका गुमाउनुपर्ने थियो । यस संसारका धन र फाइदाहरूभन्दा त एउटै आत्मा नष्‍ट भयो भने पनि असीम आपत्तिको कुरा हुन्छ; तर ख्रीष्‍टले यरूशलेमलाई हेर्नुभयो, र पूरै शहरमा दण्ड-घोषणा भएको थियो, समस्त देशको विनाश नजिकै थियो—त्यही शहर र जाति जसलाई एक समय परमेश्‍‍वरले चुन्‍नुभएको थियो, र जुन उहाँको निजी गाडधन पनि भएको थियो । MBAJ 5.2

इस्राएलको पतन र तिनीहरूको पापले निम्त्याउने डरलाग्दो विनाश देखेर अगमवक्ताहरू रोएका थिए । यर्मियाले इच्छा गरे कि तिनका आँखाहरू आँसुको मूल भए त उहाँका मानिसहरूकी छोरीको संहारको हत्या र प्रभुको बगाल बन्दी भएको अवस्थामाथि दिन रात विलाप गर्न सक्थे । यर्मिया ९:१; १३:१७ । यसको विषयमा अगमवाणीक झलक वर्षौ होइन, तर युगौँ अगाडिदेखि नै पठाउनुभएको थियो, के त्यसो भए उहाँलाई अझै गहिरो चिन्ता थिएन होला र ! धेरै समयसम्म यहोवाको वासस्थान ठहरिएको शहरको विरुद्धमा विनाशकारी स्‍वर्गदूतको तरवार उठेको उहाँले देख्‍नुभयो । जैतुन पहाड़को टुप्पो, जुन ठाउँ तितस र तिनका सेनाहरूले कब्‍जा गर्न गइरहेका थिए, उहाँले उपत्यका पारिपट्टि भएका त्यही पवित्र दलानहरू र बरण्डाहरू देख्‍नुभयो, र यस्ता दृश्‍‍यहरूलाई आँखाभरि आँसु रसाएको मधुरो आँखाले हेर्नुभयो, एउटा यस्तो डरलाग्दो दृश्‍‍य पनि देख्‍नुभयो, कि पर्खालहरू विदेशी फौजले घेरिरहेको थियो । उहाँले लड़ाइँका निम्ति तयारीमा लड़ाकूहरू हिँडेको आवाज सुन्‍नुभयो । ती सेनाद्वारा घेरिएकाे शहरमा आमा र बच्‍चाका स्‍वरहरू खानाकाे लागि कराइरहेकाे सुन्‍नुभयो । त्यसको पवित्र र सुन्दर घर साथै त्यसका दरबारहरू र स्तम्भहरू उहाँले आगलागीमा परेको देख्‍नुभयो र जहाँ तिनीहरू एकपल्ट आवासित थिए, त्यहाँ विनाशको लागि थुप्रेको चुलीबाट धुवाँ मात्रै निस्किरहेको देख्‍नुभयो । MBAJ 5.3

भविष्यका युगहरूलाई हेर्नुहुँदाखेरि उहाँले प्रतिज्ञाका मानिसहरू “समुद्रको किनारमा ध्वंस्त भएको जहाजजस्तै” जताततै “छरिएको” देख्‍नुभयो । त्यसका सन्तानमाथि अस्थायी बदला आउनै लागेको थियो जुनचाहिँ त्यो क्रोधको कचौराको पहिलो घुट्‍को थियो, तर त्यसको अन्तिम न्यायमा थेग्रोसमेत पिउनुपर्ने वास्तविकता उहाँले देख्‍नुभयो । ईश्‍‍वरीय करुणा र तिर्सनात्मक प्रेम, यस्तो दुःखद् शब्दहरूमा उच्‍चारित हुनुपऱ्यो: “ए यरूशलेम, यरूशलेम, तँ जसले अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने ! जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरूलाई बटुल्‍ने इच्छा गरें, तर तैंले मानिनस् ।” ओहो ! तँ नै, सबै अरू जातिभन्दा एक अनुग्रह-पात्र जाति थिइस्, तँ तेरो भेटघाटको समय र शान्तिको विषयमा अनविज्ञ छस् ! मैले इन्साफ ल्याउने स्‍वर्गदूत रोकाएँ, मैले तिमीहरूलाई पश्‍चात्ताप गर्न आह्वान गरें, तर यी सबै व्यर्थ भयो । तैंले दासहरू, प्रतिनिधिहरू र अगमवक्ताहरूलाई मात्र अस्‍वीकार गरेनस्, तर इस्राएलको पवित्र जन, तेरै उद्धारकर्तालाई नै अस्‍वीकार गरिस् । यदि तँ नष्‍ट भएको भए, तँ आफै जिम्मेवारी हुनेथिइस् । “तिमीहरू जीवन प्राप्‍त गर्न मकाहाँ आउन इन्कार गर्छौ ।” मत्ती २३:३७; यूहन्‍ना ५:४० । MBAJ 6.1

ख्रीष्‍टले यरूशलेममा एउटा सङ्केत देख्‍नुभयो, जसमा कि संसारले पनि अविश्‍‍वास र कठोर विद्रोहद्वारा परमेश्‍‍वरको प्रतिशोधकारी न्याय नितान्त निकट बनाइरहेको थियो । पतित जातिको चिन्ताले उहाँको प्राणलाई दबाइरहेको थियो, त्यसैले उहाँको ओठबाट अत्यन्तै तीतो चित्कार निकाल्‍न बाध्य हुनुभयो । उहाँले मानवजातिको इतिहास देख्‍नुभयो, जहाँ दुःख, आँसु र रगत लेखिएको थियो; उहाँको अनन्त दयाले भरिपूर्ण भई संसारका दुःख र कष्‍टमा परेकाहरू सबैलाई छुटकारा दिन चाहनुभयो । तर उहाँको हातले पनि मानिसहरूका तीव्रगतिमा बढिरहेको दुःखलाई शायद रोक्‍नु सक्‍नुहुनेथिएन; तिनीहरूको एक मात्र सहायताको स्रोतलाई थोरैले मात्र खोज्‍नेथियो । तिनीहरूको मुक्तिका लागि उहाँ आफै मर्न तयार हुनुहुन्थ्यो; तर तिनीहरू जीवन पाउनका खातिर थोरै मात्र उहाँकहाँ आउनेथियो । MBAJ 6.2

स्‍वर्गीय ऐश्‍‍वर्यको गहभरि आँसु भयो ! अनन्त परमेश्‍‍वरको पुत्र बेचैन हुनुभयो, उहाँ अधिक सन्तापले झुक्‍नुभयो ! यो दृश्‍‍यले सम्पूर्ण स्‍वर्ग नै अचम्मित हुन पुग्यो । त्यस्तो दृश्‍‍यले हामीलाई पापको घोर अपराध प्रकट गराउँदछ; त्यसले देखाउँछ कि परमेश्‍‍वरकाे व्यवस्था भङ्ग गरेको परिणामबाट, अनन्त शक्तिलाई पनि, दोषीहरूलाई बचाउन कति कठिन भएको थियो । येशूले अन्तिम पुस्तालाई हेर्नुभयो, र संसार पनि उस्तै भ्रममा परेको देख्‍नुभयो जसको कारण यरूशलेमको विनाश भएको थियो । ख्रीष्‍टलाई अस्‍वीकार गर्नु नै यहूदीहरूको भयङ्कर पाप थियो; त्यसरी नै परमेश्‍‍वरकाे व्यवस्थालाई अस्‍वीकार गरेर इसाईजगतले सबभन्दा भयङ्कर पाप गर्नेछ; तीचाहिँ स्‍वर्ग र पृथ्वीका शासन गर्ने आधारहरू हुन् । यहोवाका विधानहरूलाई घृणा गरिनेछ र केही मूल्यको गनिने छैन । लाखौँ मानिसहरू पापको बन्धनमा परेका छन्, शैतानका दासहरू भएका छन्, दोस्रो मृत्युको कष्‍ट भोग्‍न तयार भएका छन्, तिनीहरूले आफ्‍नो भेटघाटको दिनमा पनि सत्यता सुन्‍न इन्कार गर्नेछन् । कति डरलाग्दो अन्धोपन ! कस्तो अनौठो मुर्खता ! MBAJ 7.1

निस्तार चाड़भन्दा दुई दिन अगाडि, जब येशूले यहूदी शासकको पाखण्डीपनलाई निन्दा गर्नुभयो, त्यसपछि सँधैका लागि उहाँ मन्दिरबाट निस्कनुभयो, तब उहाँ फेरि जैतुन पहाड़मा आफ्‍ना चेलाहरूसँग जानुभयो र उहाँ तिनीहरूसँग शहरको दृश्‍‍य देखिने चउरमा बस्‍नुभयो । फेरि एक पल्ट त्यसका पर्खालहरू, स्तम्भहरू र महलहरूलाई हेर्नुभयो । उहाँले फेरि एक पल्ट मन्दिरलाई हेर्नुभयो, त्यसको महिमा झल्किरहेको थियो, र पवित्र पहाड़ सुन्दर मुकुटले पहिरिएको जस्तै थियो । MBAJ 7.2

एक हजार वर्ष अघि नै भजन लेखकले इस्राएलको पवित्र घर, अर्थात् उहाँको वासस्थान बनाएर त्यसप्रति परमेश्‍‍वरको दयालाई प्रशंसनीय बनाएका थिए । “शालेममा उहाँको वासस्थान, र उहाँको बस्‍ने ठाउँ सियोनमा छ ।” उहाँले “यहूदाको कुललाई चुन्‍नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो । उहाँले आफ्‍नो पवित्रस्थान उच्‍च स्‍वर्गझैँ बनाउनुभयो ।” भजनसंग्रह ७६:२; ७८:६८, ६९ । प्रथम मन्दिरचाहिँ इस्राएलको इतिहासको सबभन्दा उन्‍नतिशील समयमा स्थापना भएको थियो । यो मन्दिर बनाउन दाऊद राजाले अत्याधिक मात्रामा धन-सम्पत्ति जम्मा गरे, त्यसको निर्माण कार्यको परियोजना ईश्‍‍वररीय प्रेरणाद्वारा भएको थियो । १ इतिहास २८:१२, १९ । इस्राएलका राजाहरूमध्ये सबभन्दा बुद्धिमान सलोमनले उक्त मन्दिर निर्माण-कार्य सु-सम्पन्‍न गरेका थिए । त्यो मन्दिर सबभन्दा ऐश्‍‍वर्यपूर्ण भवन भयो जस्तो कि संसारले यस्तो कहिल्यै पनि देखेको थिएन । तर अगमवक्ता हाग्गैद्वारा परमप्रभुले दोस्रो मन्दिरको विषयमा यसो भन्‍नुभएको थियो: “यस पछिल्‍लो भवनको महिमाचाहिँ पहिलो भवनको भन्दा बढ़ी हुनेछ ।” “म सबै जातिहरूलाई हल्‍लाउनेछु, अनि सबै जातिहरूको चाहना आउनेछ; अनि म यस भवनलाई महिमाले भरिदिनेछु, सेनाहरूको परमप्रभु भन्‍नुहुन्छ ।” हाग्गै २:९, ७ (KJV) । MBAJ 7.3

नबुकदनेसरद्वारा मन्दिर नष्‍ट भएदेखि यता मानिसहरू जीवनभरि नै बन्दी भएर बसेका थिए र ख्रीष्‍ट जन्मनुभन्दा पाँच सय वर्ष अगाडि तिनीहरू त्यो मरूभूमि जस्तो देशमा फर्केर गए, अनि मन्दिर पुनर्निर्माण गरे । त्यहाँ तिनीहरूमध्ये केही उमेरमा पाका मानिसहरू पनि थिए जसले सलोमनको महिमित मन्दिर देखेका थिए, र तिनीहरू नयाँ भवनको जग बसाल्‍ने बेलामा रोए, किनकि यो मन्दिर अघिल्‍लो भन्दा कमसल हुन्छ भनी थाहा थियो । अगमवक्ताले प्रबलतासाथ प्रचलित अनुभव वर्णन गरेका छन्: “तिमीहरूमध्ये अब को बाँकी रहेको छ, जसले यो भवनको अघिको महिमामा देखेको छ ? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ ?” हाग्गै २:३; एज्रा ३:१२ । त्यही समयमा प्रतिज्ञा गरिएको थियो कि अघिल्‍लो भन्दा पछिल्‍लो मन्दिरको महिमाचाहिँ महान् हुनेछ । MBAJ 8.1

तर पछिल्‍लो चाहिँ भव्यताको तुलनामा अघिल्‍लो मन्दिर समान थिएन; न ता ती ईश्‍‍वरीय उपस्थितिका दृश्‍‍य स्मारकहरू नै थिए जसले अघिल्‍लो मन्दिरलाई पवित्र पारेका थिए । त्यसको समर्पणमा ईश्‍‍वरीय शक्तिको प्रदर्शन भएन । नव-निर्मित पवित्रवासस्थानलाई ढाक्‍न कुनै पनि महिमित बादल देखिएन । स्‍वर्गबाट आगो खसेर त्यसको वेदीमा भएको बलिदानलाई भष्म पारेन । महापवित्रस्थानभित्र करूबहरूको बीचमा शिकैनाले [परमेश्‍‍वरको उपस्थिति] बास गरेको थिएन; त्यहाँ गवाहीको पाटी, कृपा आसन र सन्दुक पनि थिएनन् । पूजाहारीले यहोवाको इच्छा बुझ्‍न सोधपुछ गर्थे, तर स्‍वर्गबाट कुनै पनि जवाफ आउँदैनथ्यो । MBAJ 8.2

हाग्गैद्वारा गरिएको परमेवरको प्रतिज्ञा यहूदीहरूले व्यर्थमा पुस्तौँसम्म पूरा भएको देखाउन खोजे; तापनि अगमवक्ताको वचनको सत्य आशयप्रति अविश्‍‍वास र घमण्डले तिनीहरूका दिमागहरू अन्धा भएका थिए । दोस्रो मन्दिर यहोवाको महिमाको बादलद्वारा सम्मानित भएन, तर जीवित व्यक्तिको उपस्थितिद्वारा सम्मानित भयो जो त्रिएक परमेश्‍‍वरमध्ये एक हुनुहुन्थ्यो—जो आफै परमेश्‍‍वर हुनुहुन्थ्यो र शरीरमा अवतार हुनु भएको थियो । जब नासरतको मानिसले पवित्र कम्पाउण्डमा शिक्षा दिनुभयो र निको पार्नुभयो तब “सबै जातिहरूको इच्छा” निश्‍चय नै उहाँको मन्दिरमा प्रवेश भएको थियो । दोस्रो मन्दिरचाहिँ ख्रीष्‍टको उपस्थितिले मात्र प्रथमभन्दा अत्यन्तै महिमित भएको थियो । तर इस्राएलले स्‍वर्गबाट टक्र्याएको उपहारलाई वास्ता गरेन । जुन दिन नम्र शिक्षक सुनौलो ढोकाबाट निस्कनुभयो, त्यही दिन महिमा पनि मन्दिरबाट सदैवका निम्ति उहाँसँगै प्रस्थान भएको थियो । त्यहाँ मुक्तिदाताका वचनहरू पूरा भइसकेका थिए: “हेर, तिमीहरूको घर उजाड़ छोडिएको छ ।” मत्ती २३:३८ । MBAJ 8.3

ख्रीष्‍टले त्यो मन्दिर विनाश हुन्छ भनेर अगमवाणी गर्नुभयो, त्यसकारण चेलाहरू अचम्मित र चिन्तित भएका थिए, त्यसपछि तिनीहरूले उहाँको वचनका अर्थहरू अझै राम्ररी बुझ्‍ने इच्छा प्रकट गरे । चालिस वर्षभन्दा अधिक समयसम्म त्यसका महिमाहरूलाई प्रशस्त गरी बढाउन धन, परिश्रम, हस्तकला जस्ता कुराहरू लगानी गरेका थिए । त्यसमा महान् हेरोदले पनि रोमी र यहूदीहरूकाे अर्थ भण्डारबाट प्रशस्त मात्रामा लगानी गरेका थिए, र संसारका सम्राटले पनि तिनको उपहारद्वारा त्यसलाई धनी तुल्याएका थिए । त्यसैका लागि सबभन्दा विशाल र गहन सेतो मणिशिला रोमबाट पठाइएको थियो र जसले बनावटको एक भागलाई आकार दिएको थियो; यी नै कुराहरूमा चेलाहरूले उनीहरूका मालिकको ध्यान यसो भनेर आर्कषित गर्ने प्रयत्‍न गरे, “हेर्नुहोस्, गुरुज्यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्य भवनहरू ।” मर्कूस १३:१ । MBAJ 9.1

येशूले यी शब्दहरूमा गम्भीर र झस्कने जवाफ दिनुभयो: “ तिमीहरूलाई भन्छु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्येक भत्काएर फालिनेछ ।” मत्ती २४:२ । MBAJ 9.2

ख्रीष्‍टको सांसारिक महिमाकाे लागि व्यक्तिगत आगमन, विश्‍‍व साम्राज्यको सिंहासन प्राप्‍त गर्ने, अपश्‍चात्तापी यहूदीलाई सजाय दिने, र रोमको जुवा त्यो जातिबाट भाँच्‍ने जस्ता कुराहरू चेलाहरूले यरूशलेमको विनाशसँगै समावेश गरेका थिए । प्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो कि उहाँको दोस्रो आगमन हुनेछ । तसर्थ यरूशलेममाथि आउने न्यायहरूको छलफल गर्दा तिनीहरूका दिमागहरूचाहिँ त्यो आगमनतर्फ फर्किए; र जब तिनीहरू मुक्तिदाताको वरिपरि जैतुनको पहाड़मा भेला भए, तब तिनीहरूले यसरी सोधे: “यी कुरा कहिले हुनेछन् ? र तपाईंको आगमन र संसारको अन्त्यको चिन्ह के हुनेछ ?” मत्ती २४:३ । MBAJ 9.3

भविष्यचाहिँ चेलाहरूको नजरबाट कृपासाथ लुकिएको थियो । यदि त्यति बेला तिनीहरूले ती दुई ओटा डरलाग्दा वास्तविकताहरू पूर्णरूपले थाहा पाएको भए—मुक्तिदाताका कष्‍टहरू र मृत्यु, र शहर र मन्दिरको विनाश—तिनीहरू डरले व्याकुल हुनेथिए । ख्रीष्‍टले तिनीहरूलाई समयको अन्तभन्दा अगाडि हुने मुख्य घटनाहरूको रूपरेखा प्रकट गरिदिनुभयो । उहाँका शब्दहरू त्यही समयमा पूर्णरूपले बुझेनन्; तर त्यसका अर्थहरू उहाँका मानिसहरूलाई शिक्षाको आवश्‍‍यक परेअनुसार प्रकट हुनुपर्ने थियो । उहाँको अगमवाणीमा दुई गुणा आशयहरू रहेका थिए; यरूशलेमको विनाशको विषयमा पूर्व जनाउ गर्नुका साथै त्यसले अन्तिम महान् दिनको आतंकित समयलाई पनि सङ्केत गरेको थियो । MBAJ 10.1

येशूले आफ्‍ना स्रोता चेलाहरूलाई ती न्यायहरूको विषयमा घोषणा गर्नुभयो जुन पतित इस्राएलमाथि आउनै लागेका थिए, विशेष गरी तिनीहरूमाथि प्रतिशोधकारी दण्ड आउँदैथियो, किनकि तिनीहरूले आफ्‍ना मसीहलाई अस्‍वीकार गरे र क्रूसमा चढ़ाए । यी निश्‍चित चिन्हहरूले कष्‍टको चरमसीमामा पुऱ्याउनेथिए । त्यो डरलाग्दो घडी वेगसाथ र अचानक आउँदैथियो । अनि मुक्तिदाताले आफ्‍ना चेलाहरूलाई चेतावनी दिनुभयो: “यसकारण जब दानिएल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोकलाई तिमीहरूले पवित्रस्थानमा उभिएको देख्‍नेछौ (पाठकले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून् ।” मत्ती २४:१५-१६; लूका २१:२०-२१ । जब रोमका मूर्तिपूजक झण्डाहरू शहरको पर्खालबाट पर पवित्र भूमिमा खडा भएका हुन्थे तब ख्रीष्‍टका चेलाहरूले सुरक्षित ठाउँहरूमा भाग्‍ने मौका लिनुपर्ने थिए । जब चेतावनीको चिन्ह देखा पर्दथ्यो तब तिनीहरू ढिलो नगरी भाग्‍नुपर्ने थिए । यहूदियाको देशभरि साथै यरूशलेममा पनि भाग्‍ने चेतावनीको चिन्हलाई तुरुन्तै पालन गरिनुपर्दथ्यो । घरको कौसीमा हुनेहरू आफ्‍नो अति बहुमूल्य गाडधन लिन घरभित्र पस्‍नु हुँदैन थिए । जोजो मध्यदिनको घाममा खेत वा दाखबारीमा परिश्रम गर्दथे तिनीहरूले निकालेर राखेको खास्टो लिन जानु हुँदैन थियो । तिनीहरूले क्षणभर पनि दोधार गर्नु हुँदैन थियो नत्रता तिनीहरू पनि असाधारण विनाशमा फस्‍ने थिए । MBAJ 10.2

हेरोदको शासनकालमा, यरूशलेम सुन्दरताले मात्र भरिएको थिएन, तर त्यसको स्‍वभाविक अवस्थाकाे सामर्थ्यका लागि थप धरहराहरू, पर्खालहरू र किल्‍लाहरू पनि खडा गरेका थिए जहाँ शत्रु प्रवेश गर्न नसकिने प्रकारको प्रबन्ध मिलाइएकाे थियो । यदि यो समयमा त्यसको विनाशको विषयमा सार्वजनिक भविष्यवाणी बोलेको भए, नोआको दिनमा नोआलाई झैँ तिनीहरूले चेतावनी दिने व्यक्तिलाई बौलाहाको उपनाम दिनेथिए । तर ख्रीष्‍टले भन्‍नुभएको थियो: “आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचनहरू कुनै रीतिले बित्‍नेछैन ।” मत्ती २४:३५ (KJV) । त्यसको पापको कारणले यरूशलेममाथि क्रोधको घोषण भएको थियो, र त्यसको अटेरी अविश्‍‍वासको कारण दण्ड-घोषित भएको थियो । MBAJ 10.3

मीका अगमवक्ताद्वारा परमप्रभुले घोषणा गर्नुभयो: “हे याकूबका घरानाका अगुवाहरू र इस्राएलका घरानाका शासक हो, यो सुन, तिमीहरू, जसले न्यायलाई घृणा गर्दछौ र सबै ठीक कुरालाई बङ्ग्याउँछौ, जसले रगत बगाई सियोनलाई र दुष्‍टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ । त्यसका अगुवाहरू घूस खाएर न्याय गर्दछन् । त्यसका पूजाहारीहरूले ज्याला लिएर सिकाउँदछन् । त्यसका अगमवक्ताहरू पैसाको लागि अगमवाणी कहँदछन् । तापनि तिनीहरू परमेश्‍‍वरको आड़ लिएर भन्छन्, ‘के परमप्रभु हाम्रो बीचमा हुनुहुन्‍न र ? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।’” मीका ३:९-११ । MBAJ 11.1

यरूशलेमकाे भ्रष्‍ट र स्‍वधर्मी बासिन्दाहरूको विषयमा यी शब्दहरू विश्‍‍वासयोग्यसाथ वर्णन गरिएकाे थियो । तिनीहरूले परमेश्‍‍वरको व्यवस्थाका विधानहरू कडा रूपमा पालन गर्ने बहाना गरेर सबै व्यवस्थाहरूलाई भङ्ग गर्दथे । ख्रीष्‍टको शुद्धता र पवित्रताले तिनीहरूको अशुद्धतालाई प्रदर्शन गर्दथ्यो त्यसकारण तिनीहरूले उहाँलाई घृणा गर्थे; तिनीहरूले उहाँलाई सबै कष्‍टहरूकाे कारकको रूपमा दोष लगाउथे जबकि ती सब तिनीहरू कै पापको परिणाम थिए । तिनीहरूलाई थाहा थियो कि उहाँ पापरहित हुनुहुन्छ, तापनि तिनीहरूका सम्पूर्ण जातिको सुरक्षाका लागि उहाँको मृत्यु हुनुपर्छ भनी तिनीहरूले घोषणा गरेका थिए । यहूदी अगुवाहरूले भने, “यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍‍वास गर्नेछन्, र रोमीहरूले आएर हाम्रो पवित्रस्थान र जाति दुवैलाई नष्‍ट पार्नेछन् ।” यूहन्‍ना ११:४८ । यदि ख्रीष्‍टलाई बलिदान गर्नु पाएको भए तिनीहरू फेरि एक पटक बलियो र एकत्रित जाति हुनेथिए । तिनीहरूले यसरी सोचे; र प्रधान पूजाहारीको निर्णयमा नै सबैले समर्थन जनाए, किनकि सारा जाति नै नष्‍ट हुनु भन्दा त बरु एउटा मानिस मर्नु नै असल हुन्छ । MBAJ 11.2

यसरी यहूदी अगुवाहरूले “सियोनलाई रक्तपातले र यरूशलेमलाई अधर्मले निर्माण” गरेका थिए । मीका ३:१० (KJV) । मुक्तिदाताले तिनीहरूका पाप औल्याउनुहुन्थ्यो, त्यसकारण तिनीहरूले उहाँलाई मारे, किनकि तिनीहरूले आफैलाई धर्मी ठानेका थिए, तापनि तिनीहरूले आफैलाई परमेश्‍‍वरको अनुग्रह-पात्र जातिको रूपमा नै मान्यता दिए र शत्रुहरूबाट परमप्रभुको बचावटको प्रतीक्षा गरिरहे । अगमवक्ता अझै भन्छन्: “यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, र यरूशलेमचाहिँ ढुङ्गा-रोडाको थुप्रो बन्‍नेछ, मन्दिरको डाँड़ाचाहिँ झाढ़ीहरू बढेर आएको ढिस्कोझैँ हुनेछ ।” मीका ३:१२ । MBAJ 11.3

ख्रीष्‍ट आफैले यरूशलेमकाे विनाशको अगमवाणी गर्नुभयो, र त्यस जाति र त्यस शहरमा परमेश्‍‍वरले उहाँका इन्साफहरू करिब चालिस वर्षसम्म ढिलो गर्नुभयो । सुसमाचार अस्‍वीकार गर्नेहरू र उहाँकै पूत्रका हत्याराहरूप्रति परमेश्‍‍वरको धैर्य अचम्मलाग्दो थियो । फलरहित रूखको दृष्‍टान्तले यहूदी जातिप्रति परमेश्‍‍वरको व्यवहारलाई प्रतिनिधित्‍व गरेको थियो । यस्तो आदेश आयो, “यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्‍ने ?” (लूका १३:७) तर ईश्‍‍वरीय कृपाले अझै केही समय प्रदान गरिएको थियो । ख्रीष्‍टकाे काम र चरित्रप्रति यहूदीहरूमध्ये धेरै जना अझै पनि अन्‍जान थिए । अनि तिनीहरूका छोराछोरीहरूले अवसरहरू वा ज्योति प्राप्‍त गरेका थिएनन् जुन तिनीहरूका बाबाआमाले घृणा गरेका थिए । प्रेरित र तिनीहरूका संगीहरूको प्रचारद्वारा परमेश्‍‍वरले तिनीहरूमाथि ज्योति चम्काउनु भयो; र तिनीहरूलाई अगमवाणी पूरा भएको ज्ञान प्रदान गरियो, त्यसरी ख्रीष्‍टको जन्म र जीवनमा मात्र होइन तर उहाँको मृत्यु र पुनरूत्थानमा पनि त्यसको पूर्णता तिनीहरूले देखे । बाबाआमाका पापहरूमै छोराछोरीहरू पनि दोषी ठहरिएका थिएनन्, तर बाबाआमालाई प्रदान गरिएको सम्पूर्ण ज्योतिका ज्ञानहरू, र तिनीहरूलाई दिइएको अतिरिक्त ज्योति जब तिनीहरूले अस्‍वीकार गरे, तब तिनीहरू पनि बाबाआमाका पापहरूमा समावेश भए, अनि तिनीहरूको अपराधको कचौरा भरियो । MBAJ 12.1

परमेश्‍‍वरले यरूशलेमप्रति धैर्यता प्रकट गर्नुभएको थियो, त्यसकारण यहूदीहरू झन अटेरी र अपश्‍चात्तापी भए । येशूका चेलाहरूलाई घृणा र क्रूरता गरेको कारण तिनीहरूले अन्तिम कृपाको दान पनि अस्‍वीकार गरे । त्यसपछि परमेश्‍‍वरले उहाँको सुरक्षा तिनीहरूदेखि लैजानुभयो र शैतान र त्यसका दूतहरूलाई प्रतिबन्ध गर्ने शक्ति तिनीहरूबाट हटाउनुभयो, अनि त्यो जाति त्यसले चुनेको शासकको शासनमा छाड़ियो । त्यसका सन्तानले ख्रीष्‍टको अनुग्रहलाई घृणा गरेका थिए, जसले तिनीहरूकाे खराब अभिलाषाहरूलाई वशमा राख्‍न सक्षम तुल्याउनेथियो, अब ती अभिलाषाहरू तिनीहरूमाथि विजयी भए । शैतानले मानिसको सबभन्दा नीच र तीव्र रिसहरू उक्सायो । मानिसहरूले बुद्धि प्रयोग गरेनन्; ती कुराहरू तिनीहरूकाे समझदेखि बाहिर थिए अर्थात्—अभिलाषा र अन्धो रिसद्वारा नियन्‍त्रित भए । तिनीहरूकाे क्रूरतामा तिनीहरू शैतान जस्तै भए । परिवार र देशसाथै सबभन्दा उच्‍च र नीच स्तरका मानिसहरूको बीचमा जताततै शंका, घृणा, डाह, झगड़ा, विद्रोह, हत्याले भरिएको थियो । कहीँ पनि सुरक्षा थिएन । साथीहरू र आफन्तहरूले एक-अर्कालाई धोका दिन्थे । बाबाआमाले तिनीहरूका छोराछोरीलाई हत्या गर्थे र छोराछोरीले बाबाआमालाई मार्थे । मानिसका अगुवाहरूसँग आफैलाई नियन्‍‍त्रण गर्ने शक्ति थिएन । अनियन्‍त्रित रिसहरूले तिनीहरूलाई तानाशाही बनायो । यहूदीहरूले परमेश्‍‍वरको निर्दोष पुत्रलाई दोषी ठहऱ्याउन झूटो साक्षी स्‍वीकार गरेका थिए । अब झूटो दोषले तिनीहरूका जीवनहरू नै अनिश्‍चित बनाइदियो । यसरी अघिदेखि नै तिनीहरूको व्यवहारले भनिरहेको थियो, “इस्राएलका पवित्र जनलाई हाम्रो सामुबाट हटाओ !” यशैया ३०:११ (KJV) । अब तिनीहरूकाे इच्छा प्रदान गरियो । तिनीहरूलाई परमेश्‍‍वरको भयले अब विचलित पारेन । शैतान नै राज्यको अगुवा भएको थियो, राष्‍ट्र र धर्मका सर्वोच्‍च अधिकारहरू उसकै अधीनमा थियो । MBAJ 12.2

तिनीहरूका घृणित मानिसहरूलाई बेला-बेलामा लुट्‍न र यातना दिन विरोधी दलहरूका अगुवाहरू जम्मा हुन्थे, अनि तिनीहरूले एक-अर्काका दलहरूलाई आक्रमण गरेर कृपाविना मारकाट गर्थे । मन्दिरको पवित्रताले पनि तिनीहरूको डरलाग्दो निर्दयीतालाई थाम्‍न सक्दैनथ्यो । आराधकहरू वेदीको सामुन्‍ने ढले र पवित्रस्थान मरेका लाशहरूले दूषित भए । तापनि तिनीहरूको अन्धो र ईश्‍‍वर-निन्दक दुःसाहसमा घिनलाग्दा कामका सृजकहरूले सार्वजनिक रूपमा घोषणा गरे कि यरूशलेम विनाश हुने कुनै डरै थिएन किनकि यो त परमेश्‍‍वरको आफ्‍नै शहर थियो । तिनीहरूको शक्ति अझै सुदृढ पार्नका लागि तिनीहरूले झूटा अगमवक्ताहरूलाई झूटो अगमवाणी बोल्‍न घूस दिए, कि रोमीका फौजले शहरलाई घेरेतापनि मानिसहरूले चाहिँ परमेश्‍‍वरको बचाव पर्खिरहनुपर्ने थिए । भीडहरूले अन्तिमसम्म, सर्वोच्‍च परमेश्‍‍वरले सहायता गर्नहुन्छ र तिनीहरूका शत्रुहरूलाई पराजय गर्नुहुन्छ भन्‍ने दृढ विश्‍‍वास राखे । तर इस्राएलले ईश्‍‍वरीय बचावटलाई अस्‍वीकार गरेको थियो, अब त्यसको सुरक्षा केही पनि थिएन । बिचरा दुःखी यरूशलेम ! आन्तरिक झगड़ाहरूले नै विभाजन भयो, एक-अर्काको हातद्वारा मारिएका छोराछोरीहरूकाे रगतले सड़कहरू राता भए, त्यही बेला विदेशी सेनाहरू आएर तिनीहरूको किल्‍ला भत्काए र त्यसका लड़ाकहरूलाई मारे ! MBAJ 13.1

यरूशलेमको विनाश सम्बन्धी ख्रीष्‍टद्वारा गरिएको सम्पूर्ण अगमवाणीहरू पूरा भए । यहूदीहरूले उहाँको चेतावनीका शब्दहरूमा सत्यता अनुभव गरे: “जुन नापले तिमीहरू नाप्‍तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ ।” मत्ती ७:२ । MBAJ 13.2

चिन्हहरू र अचम्मलाग्दा कामहरू देखा पर्न थाले, विपत्ति र दण्ड-घोषणाका चिन्हहरू देखिए । मध्यरातमा एउटा असाधारण ज्योति मन्दिर र वेदीमाथि चम्कियो । बेलुकातिर बादलमाथि रथहरू र लड़ाकूँहरू लड़ाइँ गर्न जम्मा भएको जस्तो देखिए । राती पवित्रस्थानमा पूजा गरिरहेका पूजाहारीहरू रहस्यमय आवाजले भयभीत भए; पृथ्वी काम्यो, र भीडहरू चिच्याइरहेका आवाज सुनियो: “हामी यहाँबाट भागौं ।” पूर्वतिर एउटा विशाल ढोका थियो, जुन बीस जना मानिसले पनि थुन्‍न गाह्रो पर्थ्यो, र त्यसलाई विशाल फलामको डण्डाले जड़ान गरिएको थियो र भुँइमा पूरा ढुङ्गा छापिएको थियो, त्यो मध्यरातमा कुनै पनि दृश्‍‍य हातविना नै खुल्यो । —Milman, The History of the Jews, book 13. MBAJ 13.3

शहरमाथि आउनै लागेका विपत्तिहरू घोषणा गर्दै एकजना मानिस यरूशलेमका सड़कहरूमा सात वर्षसम्म तल-माथि हिँड्‍दै रह्यो । ऊ दिन रात विलौना गर्दै हिँड्यो: “एउटा आवाज पूर्वबाट ! अर्को आवाज पश्‍चिमबाट ! एउटा आवाज चारै दिशाबाट ! एउटा आवाज यरूशलेम र मन्दिरको विरुद्धमा ! एउटा आवाज दुलहा र दुलहीको विरुद्धमा ! एउटा आवाज सम्पूर्ण मानिसको विरुद्धमा !” —Milman, The History of the Jews, book 13. त्यो बिरानो प्राणी जेलमा हालियो र कोर्रा लगाइयो, तर उसको ओठबाट कुनै गनगनको शब्द निस्केन । घृणा र अत्याचारमा प्रतिउत्तर यहीँ मात्र थियो: “धिक्‍कार, यरूशलेमलाई धिक्‍कार !” “धिक्‍कार, त्यहाँका बासिन्दाहरूलाई धिक्‍कार !” उसले अगमवाणी गरेको त्यही घेराबन्दीमा ऊ मारियो, त्यसपछि उसको चेतावनीको आवाज बन्द भयो । MBAJ 14.1

यरूशलेमको विनाशमा इसाईहरूमध्ये कोही पनि नाश भएन । ख्रीष्‍टले आफ्‍ना चेलाहरूलाई चेतावनी दिनुभएको थियो, र ज-जसले उहाँको वचनमा विश्‍‍वास गरे तिनीहरू सबैले उहाँको प्रतिज्ञाको चिन्हलाई हेरिरहेका थिए । येशूले भन्‍नुभयो, “जब यरूशलेमलाई सेनाहरूले घेरिएको देख्‍छौ, तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्‍ने जान । तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून् । सहरभित्र हुनेहरू बाहिर भागिजाऊन्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् ।” लूका २१:२०, २१ । अब रोमको सोनापति सेस्टसको निर्देशनमा सहर घेरियो, र तुरुन्तै आक्रमण गर्न सक्‍ने सबै अनुकूल प्रबन्ध पनि मिलेको थियो, तर अचानक तिनीहरू फर्कनुपऱ्यो । जब कुनै प्रत्यक्ष कारणविना नै रोमको सेनापतिले उसका सेनाहरूलाई फर्कायो, तब ती घेरिएका सेनाहरूचाहिँ प्रतिकार गर्न नसक्‍ने अवस्थामा पुगिसकेका थिए र समर्पण गर्न तयार भइसकेका थिए । तर परमेश्‍‍वरको कृपापूर्ण प्रबन्धले उहाँकाे आफ्‍ना मानिसहरूको भलाइका खातिर घटनाहरूलाई अगुवाइ गर्दैथियो । यी प्रतीक्षारत इसाईहरूलाई प्रतिज्ञाको चिन्ह प्रदान गरिएको थियो, अब मुक्तिदाताको चेतावनी पालन गर्ने अवसर सबैलाई दिइयो । परमेश्‍‍वरले घटनाहरूलाई यसरी अगुवाइ गर्नुभयो कि रोमी वा यहूदी कसैले पनि इसाईहरूलाई रोक्‍न सकेन । जसरी यहूदीहरूले सेस्टस भागिरहेका देखे, त्यति नै बेला तिनीहरू यरूशलेमबाट हमला गर्दै र उसको भाग्दै गरेका सेनाहरूलाई खेदाउँदै गए; यसरी दुवै सेनाहरूका बीचमा भीडन्त भइरहेकै बखत इसाईहरूले शहर छोड्‍ने मौका पाए । त्यो समयमा शत्रुहरूबाट मुक्त भएका थिए जसले तिनीहरूलाई हस्तक्षेप गर्ने प्रयास गर्दथे । त्यो घेराउका समयमा यहूदीहरू छाप्राबासको चाड़ मान्‍न यरूशलेममा भेला भएका थिए, यसरी देशभरिका इसाईहरू कुनै हानिविना नै उम्कन सफल भए । बियाँलो नगरिकन तिनीहरू सुरक्षित ठाउँ—पेलाको शहर, परियाको देश, यर्दनको पारिपट्टि—भागे । MBAJ 15.1

यहूदी सिपाहीहरूले सेस्टस र उसका सिपाहीहरूलाई खेदाउँदै लगे, यहूदीहरूले पछाड़ि भएकाहरूलाई यस्तो भिषण आक्रमण गरे कि पूरै नष्‍ट पार्ला जस्तै गरी जाइलागे । रोमीहरूलाई आफ्‍नो ज्यान जोगाउन पनि अति कठिन भयो । यहूदीहरूलाई प्रायः केही हानि भएन, अनि तिनीहरू आफ्‍नो लुटको माल लिएर यरूशलेममा विजयसाथ फर्के । तापनि यस्तो प्रत्यक्ष सफलताले तिनीहरूमाथि खराबी मात्र ल्यायो । यसले गर्दा तिनीहरूलाई रोमीहरूप्रति त्यही अटेरी प्रतिकारक आत्मामा प्रेरित गरायो जसले दण्ड-घोषित शहरमाथि अवर्णनीय दुःख चाँडै नै ल्यायो । MBAJ 15.2

जब तितसद्वारा शहर फेरि घेराउमा पऱ्यो तब यरूशलेममाथि अति डरलाग्दा विपत्तिहरू आए । निस्तार-चाड़को समयमा त्यो शहर घेरिएको थियो, जबकि लाखौँ यहूदीहरू त्यसका पर्खालहरूभित्र जम्मा भएका थिए । तिनीहरूले गोदामहरू बन्दोबस्त गरेका थिए, जुनचाहिँ राम्ररी सुरक्षित राखेको भए त्यहाँका बासिन्दाहरूलाई वर्षौसम्म पुग्‍ने थियो, तर विरोधी दलहरू उत्पन्‍न भए, जसको डाह र बदला लिने कामद्वारा पहिले नै सबै नष्‍ट भइसकेको थियो, अनि यसरी तिनीहरूले सबै अनिकालका कष्‍टहरू अनुभव गर्नुपऱ्यो । एक माना गहुँ एक सिक्‍कामा बिक्री हुन्थ्यो । भोकको वेदना यति डरलाग्दो थियो कि मानिसहरूले आफ्‍ना छालाका पेटीहरू, चप्पलहरू र ढालका खोलहरू पनि चपाए । धेरै जना मानिसहरू शहरका पर्खालहरूद्वारा जङ्गली झारपातहरू बटुल्‍न राति लुकेर बाहिर जान्थे, तापनि कतिजनालाई शत्रुहरूले पक्रेर क्रूर यातनाकासाथ मारिदिन्थे र कतिजना सुरक्षित स्थानमा उम्केर आउथे, तापनि जुन खाने कुरा तिनीहरूले आफ्‍नो जीवनको ठूलो जोखिम अवस्थामा बटुलेका थिए, त्यो पनि सबै अरूले नै लुटिदिन्थे । अधिकारीहरूले अति नै निष्‍ठूर अमानवीय यातनापूर्ण कष्‍ट दिए किनकि अभावका पीड़ित मानिसहरूले बल्‍लतल्‍ल जुटाएको अल्प खाद्य पनि खोस्‍न चाहन्थे । अनि यी मानिसहरूले यस्ता क्रूरताहरू बारम्बार प्रयोग गर्थे, जुनहरूले चाहिँ राम्ररी खाएर पनि भविष्यका लागि एक भण्डारको प्रबन्ध मिलाउने चाहना गर्दथे । MBAJ 16.1

हजारौँ मानिसहरू अनिकाल र विपत्तिले मरे । मानिसका स्‍वाभाविक स्‍नेहहरू नष्‍ट भएको जस्तो देखिन्थ्यो । पतिहरूले तिनीहरूका पत्‍नीहरूका, र पत्‍नीहरूले तिनीहरूका पतिहरूका सामान लुट्‍ने गर्दथे । छोराछोरीले तिनीहरूका वृद्ध बाबाआमाको मुखबाट खाना खोसेर खाइदिने गर्दथे । अगमवक्ताको प्रश्‍नचाहिँ, “के कुनै आमाले आफ्‍नो दूधेबालकलाई बिर्सन सक्छे र ?” त्यो दण्ड-घोषित शहरका पर्खालहरूभित्रबाटै उत्तर प्राप्‍त भयो: “कोमल हृदयका स्‍‍त्रीहरूले आफ्‍नै हातले बालकहरूलाई पकाए । मेरा प्रजाको सर्वनाशमा नानीहरू नै आफ्‍ना आहारा भए ।” यशैया ४९:१५; विलाप ४:१० । चौधऔँ शताब्दी पूर्वको चेतावनीपूर्ण अगमवाणी फेरि पूरा भएको थियो: “तिमीहरूमध्ये कोमल र शिष्‍ट स्‍‍त्री, जसले कोमलता र शिष्‍टताको कारणले भूइँमा आफ्‍नो पैतालोले टेक्‍न पनि चाहँदिनथिई, त्यस्ती स्‍‍त्रीले त्यसका लोग्‍ने र आफ्‍नै छोराछोरीलाई त्यसको कोखबाट निस्केको साल र त्यसले जन्माएका बालकहरूको मासु पनि खान दिन मान्‍नेछैन । ... त्यस घेराउको बेलामा र शत्रुले तिमीहरूका सबै सहरमा तिमीहरूमाथि ल्याउने सङ्कष्‍टमा त्यसले गुप्‍तमा त्यो मासु आफै खाने इच्छा गर्नेछे ।” व्यवस्था २८:५६, ५७ । MBAJ 16.2

रोमीहरूका अगुवाहरूले यहूदीहरूलाई आतंकित तुल्याउने प्रयास गरेका थिए र यसरी तिनीहरूलाई आत्म-समर्पण गराउन चाहेका थिए । कैदीहरू जसले कैद बनाएर लैजाँदा प्रतिकार गरे तिनीहरूलाई कोर्रा लगाए, यातना दिए र शहरको पर्खाल अगि क्रूसमा चढाए । यसरी नै दैनिकरूपमा सयौँ मानिसहरूको मृत्यु हुन्थ्यो, र यस्तो डरलाग्दा कामहरू भइरहेका थिए कि यहोशापातको उपत्यका र कलवरीको छेउतिर धेरै क्रूसहरू खडा गरिएका थिए, यहाँसम्म कि तिनीहरूको बीचमा वरिपरि सर्नेसम्म ठाउँ पनि थिएन । पिलातसको न्याय आसन अगि उच्‍चारण भएको भयावह अभिशाप अति नै असह्य तरिकाले आइपऱ्यो: “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” मत्ती २७:२५ । MBAJ 17.1

त्यो डरलाग्दो दृश्‍‍य समाप्‍त गर्न तितस तयारी नै थिए, यसरी त्यो दण्ड-घोषित यरूशलेम त्यसको पूर्ण परिणामबाट बाँच्‍ने थियो । तिनले लाशहरूका रासहरू उपत्यकाभरि देखे र भयभीत भए । तिनले जैतुन पहाड़को टुप्पोबाट एक मुर्छा परेको मान्छेले जस्तै भव्य मन्दिरलाई हेरे र तिनले त्यसको एउटै ढुङ्गा पनि हानि नगर्ने आज्ञा दिए । तिनले त्यो किल्‍लाको धन हात पार्ने प्रयास गरिरहेका थिए तर त्यसो गर्नुभन्दा अघि नै यहूदी अगुवाहरूलाई त्यो पवित्रस्थानलाई दूषित तुल्याउन बाध्य नबनाउने एक विनम्र अपिल गरेका थिए । यदि तिनीहरू बाहिर निस्केर अन्तै लडाइँ गरेको भए, कुनै रोमीले पनि त्यस मन्दिरको पवित्रतालाई अशुद्ध पार्ने थिएनन् । योसीफस आफैले पनि तिनको भाषणकलाको सबभन्दा पोख्त सीपले तिनीहरूलाई आत्मसमर्पण गरेर तिनीहरूको ज्यान, शहर र मन्दिर बचाउने अपील गरेका थिए । तर तिनका वचनहरूको प्रतिउत्तर स्‍वरूप तीता सरापहरू मात्र फर्किए । तिनीहरूको अन्तिम मानविक मध्यस्तथकर्तालाई तीरले प्रहार गरे जो तिनीहरूका सामु बिन्ती गर्दैथिए । यहूदीहरूले परमेश्‍‍वरको पुत्रका निवेदनहरूलाई अस्‍वीकार गरेका थिए, र अब तर्क-वितर्क र निवेदनहरूले गर्दा तिनीहरूलाई अन्तिमसम्म प्रतिकार गर्न निर्णायक बनायो । तितसले व्यर्थमा मन्दिरलाई बचाउने प्रयास गरे; तिनीभन्दा महान् व्यक्तिले यसरी घोषण गर्नुभएको थियो, त्यहाँ एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि रहनेछैन । MBAJ 17.2

यहूदी अगुवाहरूको अन्धो एकोहोरोपन, र घृणित अपराधहरू घेराउमा परेको शहरभित्र नै भइरहेका थिए, त्यसकारण रोमीहरूका घृणा र रिस झन उत्तेजित भयो, अन्तिममा तितसले शक्तिद्वारा नै मन्दिर हात पार्ने निर्णय गरे । तर पनि तिनले यो निर्णय गरे कि सम्भव भएअनुसार त्यस मन्दिरलाई चाहिँ विनाशबाट बचाउने प्रयास गर्नैपर्छ । तर तिनका आज्ञाहरूको वास्ता गरिएन । राति तिनी आफ्‍नो पालमा गइसकेका थिए, र यहूदीहरूले मन्दिरभित्रबाट बाहिरका सिपाहीहरूलाई एक्‍कासि आक्रमण गरे । त्यही संघर्षको क्रममा एउटा सिपाहीले दलानमा अगुल्टो फालिदियो, र तुरुन्तै धुपीको काठको पवित्र घरका कोठाहरू जल्‍न थाले । तितस हतारिएर तिनका सेनापतिहरू र अरू सेनाहरूसँगै त्यहाँ आइपुगे, र सिपाहीहरूलाई आगो निभाउने आज्ञा दिए । तिनको कुरालाई वास्ता गरिएन । सिपाहीहरू रिसले चूर भए र मन्दिरसँग सटिएका कोठाहरूमा जलिरहेका राँकोहरू फ्‍याँकिदिए, र सुरक्षाको निम्ति त्यहाँ आएर बसेकाहरू धेरैलाई तरवारले काटेर मारे । मन्दिरका खुड्‍किलाहरूमा रगत पानी-जस्तै बग्यो । हजारौँ हजार यहूदीहरूको विनाश भयो । लडाइँको भन्दा पनि यसरी चिच्याएका सोरहरू ठूलो सुनिन्थ्यो: “एकाबाद !”—महिमा प्रस्थान भयो । MBAJ 17.3

“तितसले थाहा पाए कि अब सिपाहीहरूको रिसलाई नियन्‍‍त्रण गर्न सकिदैन; तिनी आफै आफ्‍ना कर्मचारीहरू लिएर प्रवेश गरे, र पवित्र महलभित्र निरीक्षण गरे । त्यसको महिमाले तिनीहरूलाई अचम्मित तुल्यायो; अनि पवित्रस्थानमा आगो प्रवेश नगर्दै तिनले त्यसलाई बचाउने अन्तिम प्रयास गरे, र बाहिर छिटो निस्केर सिपाहीहरूलाई आगलागीलाई बढ्‍न नदिने अनुरोध गरे । लिबरलिस कप्‍तानले आफ्‍ना कर्मचारीहरूसँग मिलेर तिनको आज्ञा पालन गर्ने प्रयास गऱ्यो; तर तिनीहरू यहूदीहरूप्रति अति भयानक विरोधी र क्रोधित भएका थिए, जसको कारण लड़ाइँ अति नै तीव्र भइरहेको थियो, अनि लड़ाइँको झोँक अझै तृप्‍त भएकै थिएन, यहाँसम्म कि तिनीहरूले सम्राटको कुराधरि ध्यान दिएनन् । वरिपरि भएका सबै थोकमा सिपाहीहरूले सुनौलो चमक देखे, जुनचाहिँ आगोको ज्‍वालाले चम्किरहेको थियो, र पवित्रस्थानमा नगण्य सम्पति थियो भनी तिनीहरूले अनुमान गरे । एक सिपाहीले चालै नपाइकन ढोकाहरूका कब्‍जाहरूमा राँको घुसारी दिएछ: त्यसपछि तुरुन्तै पूरै भवन आगोको ज्‍वालाले ढाक्‍यो । धुँवाले गर्दा कर्मचारीहरूले देख्‍नसम्म पनि सकेनन् र जसको कारण तिनीहरू भाग्‍न बाध्य भए, र आदर्श भवन ध्वंस भयो । MBAJ 18.1

“रोमीहरूका लागि त्यो एक भयानक दृश्‍‍य भयो—यहूदीहरूका लागि झन कस्तो भयो होला ? शहरको हातामा भएको पहाड़को पूरै टाकुरा ज्यालामुखी जस्तै उज्‍ज्‍वल भएको थियो । एकपछि अर्को गर्दै भवनहरू भयानक तरिकाले नष्‍ट भए, र डरलाग्दो अग्‍निकुण्डमा गाडिए । धुपीका छानाहरू ज्‍वालाका तन्‍नाहरू जस्ता देखिन्थे; शिखरमा रहेका सुनका जलपहरू रातो बत्ती जस्तै चम्किरहेका थिए; ढोकामा भएका स्तम्भहरू भयंकर धुँवाले भरिएर आगोका ठूला चिराहरूले नष्‍ट भए । नजिकका पहाड़हरू पनि उज्‍ज्‍वल भए; त्यहाँ अँध्यारोमा मानिसहरू देखिन्थे जोहरू दुःखलाग्दो र डरलाग्दो विनाशको दृश्‍‍य हेरिरहेका थिए; त्यसका पर्खालहरू र शहरको माथिल्‍लो भागतिर भीडका भीड मानिसहरूका अनुहारहरू देखिन्थे, कतिजना निराशको पीड़ाले गर्दा पहेलो भएका थिए, अरूचाहिँ व्यर्थँमा प्रतिहिंसाको भावनाले क्रोधित भएको थिए । रोमी सिपाहीहरू वारिपारि गर्दै चिच्याउँदैथिए, र आगोमा नष्‍ट भइरहेका विद्रोहीहरू स्यालझैँ कराइरहेका थिए, यसका साथै अग्‍निकुण्डको आवाज गर्जिरहेको थियो र काठहरू झर्दा गर्जनको आवाज-जस्तै आइरहेको थियो । मानिसहरूका चित्कारहरू पहाड़को उचाइमा ठोकिएर प्रतिध्वनि हुने गर्दथे; चित्कारहरू र विलौनाहरू सबै पर्खालहरूमा प्रतिध्वनित भइरहेका थिए; जो मानिसहरू अनिकालले मर्न आँटेका थिए तिनीहरूले आफ्‍नो अन्तिम बल लगाएर विनाश र सन्तापको चित्कारमा जोड़साथ कराए । MBAJ 18.2

“बाहिरको दृश्‍‍यभन्दा शहरभित्रको काटमार झन अति नै भयानक थियो । स्‍‍त्री र पुरूष, वृद्ध र जवान, पूजाहारी र विद्रोही, लडाकूँ र कृपाको आवेदकहरू सबै जथाभावी हत्या गरिए । हत्याराहरूभन्दा पनि हत्या भएकाहरूका सङ्ख्या अधिक थियो । सिपाहीहरू लाशको रासमाथि टेक्दै विनाशको काम अघि बढ़ाउन लागिरहे ।” —Milman, The History of the Jews, book 16. MBAJ 19.1

मन्दिर नष्‍ट भएपछि सम्पूर्ण शहर रोमीहरूको हातमा पऱ्यो । यहूदी अगुवाहरूले तिनीहरूका अजय किल्‍लाहरूलाई त्यागिदिएका थिए, र तितसले त्यसलाई निर्जन स्थान भेटाए । तिनले त्यसलाई अचम्मित नजरले हेरे, र तिनको हातमा परमेश्‍‍वरले नै सुम्पिदिनुभएको कुरा स्‍वीकार गरे; किनकि कुनै पनि साधन, जति नै शक्तिशाली भएपनि ती शानदार किल्‍लाहरूलाई जित्‍न असम्भव थियो । शहर र मन्दिर दुवै जगसम्मै विनाश भयो, र जुन जग्गामा पवित्र भवन अवस्थित थियो अब त्यहाँ “खेतझैँ जोतिनेछ ।” यर्मिया २६:१८ । त्यो घेराउ र संहारमा दश लाखभन्दा ज्यादा मानिसहरूले ज्यान गुमाए; बाँचेकाहरूलाई बन्दी बनाएर लगे, र कोही दासको रूपमा बेचिए, र विजयीको रूपमा रोममा घिसारेर लगिए, रंगभूमिमा जङ्गली जनावरहरूमाझ फ्‍याँकिए र संसारभरि घरविहीन डुलुवाहरू जस्तै छरपष्‍ट भए । MBAJ 19.2

यहूदीहरू आफैले तिनीहरूका हातकढ़ीहरू आगोमा खारेर बनाएका थिए; तिनीहरूले आफ्‍नो प्रतिशोधको कचौरा भरेका थिए । तिनीहरू राष्‍ट्रको रूपमा पूर्ण नष्‍ट भए, र तिनीहरूले छरपष्‍ट अवस्थामा सबै कष्‍टहरू भोगे, र तिनीहरूले आफ्‍नो हातले जे छरेका थिए त्यसैको कटनी गरे । अगमवक्ता भन्छन्, “हे इस्राएल, तँ नाश भएको छस्;” “किनभने तँ आफ्‍नै अधर्मले गर्दा ढलेको छस् ।” होशे १३:९; १४:१ (KJV) । तिनीहरूका कष्‍टहरू परमेश्‍‍वरको प्रत्यक्ष आदेशद्वारा आएको सजाय स्‍वरूप वर्णन गरिएको छ । यसरी नै त्यो मुख्य धोकेबाजले उसको काम लुकाउन चाहन्छ । यहूदीहरूले परमेश्‍‍वरको ईश्‍‍वरीय प्रेम र करुणाप्रति अटेरी भएर अस्‍वीकार गरे, त्यसकारण उहाँको सुरक्षा हटेर गयो, र शैतानले उसको इच्छाअनुसार शासन गर्ने मौका पायो । यरूशलेमको विनाशमा भयंकर क्रूरताहरू प्रयोग भएका थिए, त्यसमा शैतानको वास्तविक शक्तिको प्रदर्शन भएको थियो, जसले त्यसको नियन्‍‍त्रणमा समर्पण गर्दछ त्यसले तिनीहरूमाथि त्यसरी नै शासन गर्छ । MBAJ 19.3

हामीले ख्रीष्‍टको शान्ति र सुरक्षा उपभोग गरेका छौं, र त्यसैले हामी उहाँप्रति कति ऋणी छौं भनी थाहा पाउन सक्दैनौं । परमेश्‍‍वरको नियन्‍त्रित शक्तिले नै मानवजातिलाई शैतानको पूर्ण शासनबाट बचाउँछ । अनाज्ञाकारी र अकृतज्ञ मानिसहरूले परमेश्‍‍वरलाई कृतज्ञता प्रकट गर्नुपर्छ किनभने उहाँले नै घातक दुष्‍ट जनको शक्ति र क्रूरतालाई करुणा र धैर्यतासाथ थामिराख्‍नुभएको छ । तर जब मानिसले ईश्‍‍वरीय सहनशीलताको सीमा पार गर्छ तब परमेश्‍‍वरको नियन्‍‍त्रण हटेर जान्छ । परमेश्‍‍वर पापीको विरुद्धमा उठेर अपराधीलाई दण्ड दिनुहुन्‍न; तर जसले उहाँको कृपालाई अस्‍वीकार गरेका छन्, तिनीहरूलाई आफैले रोपेको ठाउँमा कटनी गर्न एकलै छोडिदिनुहुन्छ । प्रत्येक ज्योतिकाे किरण अस्‍वीकार गरियो, प्रत्येक चेतावनीलाई बेवास्ता गरियो वा घृणा गरियो, प्रत्येक अभिलाषाहरूमा लिप्‍त भइयो, प्रत्येक परमेश्‍‍वरको व्यवस्था भङ्ग गरियो, यसैद्वारा सबै बीउ छरिएको छ जसले सफलतापूर्वक फल फलाउँछ । परमेश्‍‍वरको आत्मालाई निरन्तर अस्‍वीकार गरेपछि पापीबाट लगिन्छ, र त्यहाँ मानिसको खराब अभिलाषा नियन्‍‍त्रण गर्न र शैतानको घृणा र दुश्‍‍मनीबाट बचाउन कुनै पनि शक्ति हुँदैन । जसले ईश्‍‍वरीय कृपाको निवेदन र अनुग्रहलाई हल्का ठानेर अस्‍वीकार गरिरहेका छन् यरूशलेमको विनाशचाहिँ तिनीहरू सबैका लागि एक डरलाग्दो र गम्भीर चेतावनी हो । त्यहाँ दोषीहरूमाथि निश्‍चित सजाय आइपऱ्यो र पापप्रति परमेश्‍‍वरको घृणा प्रकट भयो जबकि यस्तै पक्‍का गवाही कहिल्यै पनि प्रकट गरिएको थिएन । MBAJ 20.1

मुक्तिदाताले यरूशलेमका इन्साफहरूको विषयमा जुन अगमवाणी बोल्‍नुभयो, त्यो फेरि अर्कोचोटि पनि पूरा हुनेछ, जुनचाहिँ डरलाग्दो उजाड़ अवस्थाको एक हल्का छाया मात्र थियो । यस चुनिएको शहरको विनाशमा हामीले संसारमाथि भएको दण्ड-घोषित अवस्थालाई अवलोकन गर्न सक्छौं, किनकि मानिसहरूले परमेश्‍‍वरको कृपालाई अस्‍वीकार गरेका छन् र उहाँको व्यवस्थालाई कुल्‍चीमिल्‍ची गरेका छन् । मानवजातिका दुखद इतिहासहरूचाहिँ अँध्यारा नै थिए जुन त्यसका लामा शताब्दीहरूभरि पृथ्वीले देखेको छ । हृदय व्याकुल हुन्छ, दिमागले मनन गरेर बेचैन हुन्छ । स्‍वर्गीय अधिकारलाई अस्‍वीकार गरेर डरलाग्दो परिणाम भोगेको छ । तर भविष्यकाे दृश्‍‍य त झनै अँध्यारो गरी प्रकट भएको छ । भूतकालका अभिलेखहरूमा अशान्ति, लड़ाइँ, र विद्रोहको लामो जुलूस थिए, “लड़ाइँ होहल्‍लापूर्ण छ र रगतमा गुड़िको लुगा” छ (यशैया ९:५ KJV)—ती त अगामी दिनहरूका तुलनामा एउटा सानो दृश्‍‍य मात्र हो, जब परमेश्‍‍वरको नियन्‍त्रित आत्मा दुष्‍टहरूबाट पूर्णरूपले हटेर जान्छ तब आतंक झन बढ्‍दोरूपमा फैलिन्छ, शैतानको क्रोध र मानिसको रिसको वेग कुनै पनि साधनले रोकिँदैन ! त्यो बेला संसारले कहिल्यै पनि नदेखेको शैतानिक शासनको परिणाम देख्‍नेछ । MBAJ 20.2

तर जसरी यरूशलेमको विनाशमा मानिसहरू बाँचेका थिए, त्यसरी नै जीवितहरूको बीचमा नाम लेखिएका परमेश्‍‍वरका जनहरू बचाइनेछन् । यशैया ४:३ । ख्रीष्‍टले घोषणा गर्नुभएको छ कि उहाँ फेरि दोस्रोचोटि विश्‍‍वासीहरूलाई आफूकहाँ जम्मा गर्न आउनुहुनेछ: “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसका पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन् । उसले आफ्‍ना स्‍वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछन् ।” मत्ती २४:३०-३१ । तब ज-जसले सुसमाचारलाई पालन गर्दैनन् तिनीहरू उहाँको मुखको आत्माले भष्म पारिनेछन् र उहाँको आगमनको उज्‍ज्‍वलताले नष्‍ट हुनेछ । २ थेसलोनिकी २:८ । प्राचीनकालका इस्राएलीहरूले झैँ दुष्‍टहरू आफैले विनाश ल्याउँछन्; तिनीहरू आफ्‍नै अधर्मद्वारा पतन हुन्छन् । तिनीहरूले पापी जीवनयापन गरेका कारण परमेश्‍‍वरसँग मिलाप गर्न सकेनन्, तिनीहरूका स्‍वभावहरू दुष्‍टताले गर्दा नीच भएका छन्, त्यसकारण तिनीहरूका लागि उहाँका महिमाको प्रदर्शन एक भष्म पार्ने आगो हुनेछ । MBAJ 21.1

होसियार बसोस् ! नत्रता मानिसहरूले ख्रीष्‍टका वचनहरूमा प्रदान गरिएका शिक्षाहरू हेलचेक्राइँ गर्नेछन् । जसरी उहाँले चेलाहरूलाई यरूशलेमको विनाशको विषयमा चेतावनी दिनुभयो, र तिनीहरूलाई आउनेवाला विनाशको चिन्ह दिनुभयो ताकि तिनीहरू भाग्‍न सकून्; त्यसरी नै उहाँले संसारको अन्तिम विनाशको विषयमा चेतवानी दिनुभएको छ र त्यसको आसपासमा देखा पर्ने चिन्हहरू पनि दिनुभएको छ, ताकि आज्ञाकारीहरू आगामी क्रोधबाट भाग्‍न सकून् । येशू भन्‍नुहुन्छ: “सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछन्, र ... पृथ्वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्याकुल हुनेछन् ।” लूका २१:२५; मत्ती २४:२९; मर्कूस १३:२४-२६; प्रकाश ६:१२-१७ । जसले उहाँको आगमनका अगुवाइ चिन्हहरू हेर्दछ त्यसले ऊ “नजिकै छ अर्थात् ढोकामै छ भनी” जान्‍नेछ । मत्ती २४:३३ । “यसकारण तिमीहरू पनि जागा रहो,” यी चाहिँ उहाँको उपदेशका शब्दहरू हुन् । मर्कूस १३:३५ । ज-जसले चेतावनी ध्यान दिन्छन् तिनीहरू अँध्यारोमा छोडिनेछैनन्, किनकि त्यो दिन नचिताएको घडीमा आउँनेछ । तर जो जागा रहदैन, “प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ ।” १ थेसलोनिकी ५:२-५ । MBAJ 21.2

मुक्तिदाताले यहूदीहरूलाई यरूशलेमको विषयमा चेतावनी दिनुभयो तर तिनीहरूले वास्ता गरेनन्, त्यसरी नै यस संसार पनि वर्तमान सन्देशलाई वास्ता गर्न तयार छैन । यस्तो समय आउनेछ, जब परमेश्‍‍वरको दिन अविश्‍‍वासीहरूकहाँ अचानक आउनेछ । जब जीवन आफ्‍नै चक्रमा घुमिरहेको हुन्छ; जब मानिसहरू सुखविलासमा, व्यापारमा, पैसा कमाउने धुनमा हुन्छन्; जब धार्मिक अगुवाहरू संसारको उन्‍नति र सभ्यतामा बढिरहेका हुन्छन्, तब मानिसहरूले झूटो सुरक्षाको सान्त्‍वना पाउनेछन्—तब जसरी चोरले मध्यरातमा पालेविनाको घर फोर्छ, त्यसरी नै लापरबाही र विधर्मी मानिसहरूमा अचानक विनाश आइपर्नेछ, “तिनीहरू कुनै रीतिले उम्कनेछैनन् ।” १ थेसलोनिकी ५:३ । MBAJ 22.1