Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First

    अध्याय - २०
    धर्म-सुधार अभियान

    जति नै सन्तहरूलाई खेदो गरी गरी मारे तापनि चारैतिर जिउँदा साक्षीहरू उठे । परमेश्‍‍वरका दूतहरूले आफ्‍ना आफ्‍ना काम गरिरहेकै थिए । उनीहरूले अन्धकारपूर्ण स्थानहरूमा पनि खोजी खोजी सच्‍चा हृदयकाहरूलाई परमेश्‍‍वरका निम्ति चुनी-छानीकन निकाले । ती मानिसहरू सब भ्रमित अवस्थामै थिए त्यस्ताहरूलाई परमेश्‍‍वरले बद्‍लाईकन आफ्‍ना साक्षी बन्न र हामी परमेश्‍‍वरका जन हौं भन्नेहरूलाई तिनीहरूका पाप दर्शाइदिन आफ्‍ना चुनिएका पात्रहरू तुल्याइदिनुभयो । उदाहरणस्‍वरूप मार्टिन लूथर, मेलांकथन आदिलाई लिनसकिन्छ, जसका हृदयमा परमेश्‍‍वरका दूतहरूले परमेश्‍‍वरको वचनको लागि तृष्णा जगाइदिनुभयो । बाढ़ झैं शत्रु उर्ल्यो, तर ती सब सामना गर्दै अघि बढ्‍न र पतित मण्डलीको प्रकोप सहँदै पवित्र सेवाकार्यमा विश्‍‍वासयोग्य रहेका अल्पसंख्यक झुण्डलाई स्थिर गराउन लूथर नै एक चुनिएको पात्र थिए । उनि सधैँ परमेश्‍‍वरको भय मान्थे । शुरु-शुरुमा ता तिनले आफ्‍ना धर्म-कर्मद्वारा परमेश्‍‍वरको निगाह प्राप्‍त गर्न खोजिरहेका थिए, र पनि तिनी कहिल्यै सन्तुष्‍ट हुन सकेनन् । तर जब स्‍वर्गबाट एउटा दिव्य ज्योति चम्कीकन तिनको मनको अन्धकार हटाइदियो, तबमात्र तिनले परमेश्‍‍वरको कृपाका पात्र बन्नु धर्म-कर्ममा होइन तर ख्रीष्‍टको रगतमा विश्‍‍वास गरेर पोप अथवा दोष सुन्ने पुरोहित वा पादरीद्वारा होइन, तर केवल ख्रीष्‍ट येशूद्वारा परमेश्‍‍वरकहाँ जानुपर्ने रहेछ भनी बुझे । अहो, कस्तो अमूल्य ज्ञान पाए लूथरले ! तिनले यस नयाँ प्रकाशलाई सारा सांसारिक वैभवभन्दा मूल्यवान सम्झे । तिनले नयाँ गरी परमेश्‍‍वरको वचनको प्रकाश पाए । सबै कुरा नयाँ भएको अनुभव गरे । जुन पुस्तक (बाइबल)-को महत्त्‍व थाह नपाएर तिनी डराउने गर्थे, त्यो पुस्तक अब तिनको निम्ति जीवनदायक बन्यो । यसमै तिनले आनन्द र शान्ति पाउनथाले र यही पुस्तक तिनका निम्ति पथ-प्रदर्शक बन्नथाल्यो । तिनले यसलाई अध्ययन गरिरहे र कुनै कुराले पनि तिनलाई बहकाउन सकेन । पहिला तिनी मृत्युदेखि डराउँथे, तर परमेश्‍‍वरको वचन पढ़ेपछि सबै डर हरायो । तब तिनले परमेश्‍‍वरको तारीफ गरे । त्यसरी दिनहुँ तिनले परमेश्‍‍वरको वचनबाट खोजी गरे । यसमा लुकेको त्यो अमूल्य धन आफूले मात्र उपयोग नगरेर मण्डलीको निम्ति पनि खोजी गरे । तर पहिला उद्धार (मुक्ति)को लागि जोहरूमाथि तिनले भरोसा गरेका थिए, तिनीहरूको कर्तुत देखेर तिनी विरक्त मान्थे । तिनले धेरै धेरैलाई त्यही अन्धकारभित्र हराएका देख्थे, जुन अन्धकारभित्र एक समयमा आफू पनि हराएका थिए । तिनीहरूलाई कसरी संसारका पाप हरण गर्ने परमेश्‍‍वरका थुमाकहाँ जानलाई बाटो देखाऊँ भनी तिनले मौका खोजिरहेका थिए । तिनले पोपको मण्डलीको भूल शिक्षा र दोषको आलोचना गर्दै आवाज उठाए, र जुन अन्धकाररूपी साङ्‍लोले हजारौं-हजारौंलाई बाँधेर राखेको थियो, त्यसलाई तोड़ी उद्धार (मुक्ति) का निम्ति धर्म-कर्मद्वारा होइन, तर परमेश्‍‍वरको अनुग्रहको धनअनुसार केवल ख्रीष्‍ट येशूमा पाइने उत्तम मुक्तिबारे उनीहरूलाई बुझाइदिन अत्यन्तै उत्सुक रहे । ती मण्डलीका अगुवाहरूका दोषहरू विरुद्ध पवित्रात्माको सामर्थ्यमा जोड़तोड़ले तिनले आवाज उठाए । मण्डलीका पुरोहितहरूबाट विरोधको आँधी चल्दा तिनी किञ्‍चित् पनि हल्‍लेनन्, किनकि तिनले ती सबमाथि विजयी हुनालाई परमेश्‍‍वरकै सामर्थी भुजबलमाथि भरोसा राखेका थिए । तर तिनले जतिनै संघर्ष गरे तापनि बरु ती अगुवाहरू तिनीसित झन् अग्‍निशर्मा भए तर सुधारात्मक मार्गमा आउन चाहेनन् । तिनीहरू सुख चैन एवम् दुष्‍टतामै रहेर मण्डलीलाई पनि अन्धकारमै राख्‍न चाहे ।1BP 123.1

    लूथर साह्रै उत्साही र आँटिला खालका थिए, र दोषीहरूलाई खुलेआम तिनीहरूको दोष देखाइदिन र सत्यको पक्षमा बोल्‍न तिनी डराउँदैन थिए । तिनी भन्थे, “जत्तिकै दुष्‍ट मानिस अथवा शैताननै किन नआओस्, मलाई पर्वाह छैन । मसित एकजना हुनुहुन्छ, जो ती सबभन्दा शक्तिशाली हुनुहुन्छ ।” लूथरमा जलन, जोश र आँट ज्यादै भएकोले कहिले-काहीँ ता तिनी अति नै उत्तेजित भइहाल्थे, तर पनि तिनलाई त्यस सुधार-अभियान कार्यमा सहयोग पुऱ्याउन परमेश्‍‍वरले अर्को एकजना व्यक्ति खड़ा गर्नुभयो, जसको स्‍वभाव लूथरको स्‍वभावको ठीक विपरीत अर्थात् डर राख्‍ने, होशियार र धैर्यवान् थिए । तिनको नाउँ थियो मेलांकथन । तिनी पनि परमेश्‍‍वरका प्रिय पात्र थिए । तिनलाई धेरै धर्म-शास्‍‍त्रको ज्ञान थियो र तिनको न्यायसंगत काम र बुद्धि प्रशंसनीय थियो । तिनले र लूथरले परमेश्‍‍वरलाई बराबरै प्रेम गर्थे । यी दुई हृदयलाई परमेश्‍‍वरले कहिल्यै नछुट्‍ने गरी गाँसिदिनुभएको थियो र उनीहरू सधैँ मिलीजुली बस्थे । मलांकथन भयभीत र निष्क्रिय हुँदै जाँदा लूथरले तिनलाई सम्हाल्थे भने लूथर अत्युत्तेजित हुँदै जाँदा मलांकथनले तिनलाई सम्हाल्थे । लूथरलाई मात्र छोड़िदिँदा जुन खतरनाक स्थिति पैदा हुन्थ्यो, त्यो खतरा मलांकथनको दूरदर्शिता र साबधानीले गर्दा टरेर पनि जान्थ्यो । अनि मलांकथनलाई मात्रै छोड्‍दा पनि काम अघि सर्न सक्‍तैन थियो । उक्त सुधार अभियानको लागि यी दुई भिन्न स्‍वभावका मानिसलाई चुन्नुमा परमेश्‍‍वरको बुद्धिमत्ता कति महान् रहेछ देख्‍न सकें।1BP 125.1

    त्यसपछि मलाई प्रेरितहरूको जमानाको दृष्‍टान्त देखाइयो, जुन समयमा परमेश्‍‍वरले त्यस्तै जोशिला र उत्साही पत्रुस अनि नरम मिजासका, धैर्यशील र नम्र यूहन्नालाई सहचर मित्र बनाउन चुन्नुभयो । त्यसैगरी पत्रुस पनि कहिले काहीँ अत्युत्तेजित भइहाल्थे, र यूहन्नाले तिनलाई सम्हाल्थे, तर पनि तिनमा सुधारात्मक परिवर्तन आएको थिएन । जब तिनले आफ्‍ना प्रभुलाई इन्कार गरेपश्‍चात् फेरि पश्‍चाताप गरेर तिनी परिवर्तित भए, तब देखि मात्र तिनलाई यूहन्नाले होश गराउँदा तिनी जोशदेखि होशमा फर्कन्थे । त्यसको लागि यूहन्नाले नै तिनलाई नम्रतापूर्वक चेतावनी दिनुपर्थ्यो । फेरि कति कुरामा पत्रुसको जोशपूर्ण कदमको पनि आवश्‍‍यकता पर्थ्यो । कतिचोटी आइपरेका आपत्तिहरूलाई पत्रुसले नै आफ्‍नो साहस र बलद्वारा भगाइपठाएर शत्रुहरूलाई पनि ठण्डा पारे भने यूहन्नाले आफ्‍नो धैर्य, नम्रता र शिष्‍ठताद्वारा धेरै धेरैजनाका आत्मालाई जितेर ख्रीष्‍टमा ल्याइरहेका थिए ।1BP 126.1

    पोपको मण्डलीमा भइरहेका पापहरूविरुद्ध आवाज उठाउन र धर्म-सुधार अभियानलाई सुचारु रूपले अघि बढ़ाउँदै लैजान परमेश्‍‍वरले मानिसहरू खड़ा गर्नुभयो । शैतानले ती जिउँदा साक्षीहरूलाई नाश गर्न खोजे तापनि परमेश्‍‍वरले बार हालीदिनुहुन्थ्यो । अनि उनीहरूमध्ये कतिपयलाई उहाँकै महिमाका निम्ति उनीहरूको रगत साक्षी होस् भन्ने हेतुले शहीद पनि हुन दिइयो । तर यी दुई लूथर र मलांकथन जस्ता वीर पुरुषहरूले बाँचेरै पोपको मण्डलीका अगुवाहरू र राजाहरू समेतका पापहरूविरुद्ध घोर प्रतिवाद गरे । लूथरको आवाज सुनेर तिनीहरू सब लगलग काँप्थे । यी परमेश्‍‍वरबाट चुनिएका मानिसहरूद्वारै अन्धकारलाई भगाउँदै ज्योति छरिनथाल्यो अनि धेरै धेरैले सहर्ष ज्योतिलाई अपनाए र यसमा हिँड्‍नथाले । अनि तिनीहरूले एउटा साक्षीलाई मारिहाले भने पनि उसको सट्टामा दुईभन्दा बढ़ी साक्षीहरू खड़ा भइहाल्थे ।1BP 126.2

    जत्ति नै कोशिश गर्दा पनि शैतान कहिल्यै सन्तुष्‍ट हुन सकेन, किनकि उसले मानिसको शरीरमाथि मात्रै प्रभुत्‍व जमाउनसक्‍यो, तर विश्‍‍वासीहरूको विश्‍‍वास र आशामाथिचाहिँ लेशमात्र पनि दखल गर्नसकेन । मरेर पनि धर्मीजनको बौरिउठाइमा अमर र अविनाशी जीवन पाउने ज्‍वलन्त आशा छँदैछ उनीहरूको । उनीहरूले परमेश्‍‍वरका ती हतियार भिरेर आत्मिक शत्रुहरूसित मात्रै होइन, तर ‘तेरो विश्‍‍वास त्याग्, नत्रभने मर्छस्’ भनी निरन्तर धम्की दिइरहने मानिसरूपी शैतानसित पनि लड्‍न उनीहरू तयार थिए । संसारको आधा भागले नै ख्रीष्‍टको नाम धारण गरे तापनि उहाँको नाउँको खातिर दुःख भोग्‍न डराउँछन्, तर त्यतिबेलाका ख्रीष्‍टियानहरू अति अल्प-संख्यक भए पनि उनीहरू परमेश्‍‍वरमा सामर्थ्यशाली र उहाँको दृष्‍टिमा अति बहुमूल्य थिए । जति मण्डलीमाथि सतावट आउँथ्यो त्यति नै ती विश्‍‍वासीहरू एकता र प्रेममा बद्ध हुन्थे । भ्रष्‍टाचारीहरू यसमा शामिल हुन पाउँदैन थिए, न ता ठग्‍ने र ठगिनेहरूले नै पाउँथे । ख्रीष्‍टको निम्ति सबै कुरा त्याग्‍ने र त्याग्‍न इच्छुकहरू मात्र उहाँका चेलाहरू हुन सक्थे । उनीहरू ख्रीष्‍टझैं दीन र नम्र थिए ।1BP 127.1