Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    २. पापीलाई ख्रीष्‍टको आवश्‍‍यकता

    मौलिकरूपले मानिस प्रभावशाली शक्ति तथा सन्तुलित विचारद्वारा भरिपूर्ण थियो । ऊ आफ्‍नो अस्तित्‍वमा पूर्ण थियो, र परमेश्‍‍वरसित उसको मेलमिलाप थियो । उसका विचारहरू शुद्ध थिए, र उसका लक्ष्यहरू पवित्र थिए । तर अनाज्ञाकारिताद्वारा उसका शक्तिहरू पथभ्रष्‍ट बन्‍न पुगेका थिए, र स्‍वार्थीपनले प्रेमलाई विस्थापित गऱ्यो । अपराधको कारण उसको स्‍वभाव यति दुर्बल बन्‍न पुग्यो कि उसलाई स्‍वयं आफ्‍नै शक्तिद्वारा दुष्‍टताको शक्ति विरुद्ध सामना गर्नु असम्भव थियो । ऊ शैतानद्वारा कैदी बनाइएको थियो, र यदि परमेश्‍‍वरले विशेषरूपमा हस्तक्षेप नगर्नुभएको हुँदो हो त सदाको निम्ति यही हालतमा रहनेथियो । मानिसको सृष्‍टिमा ईश्‍‍वरीय योजनालाई भताभुङ्ग पार्नु, र पृथ्वीलाई शोक तथा उजाडपनले भर्नु नै शैतानको उद्देश्‍‍य थियो । र यी सबै दुष्कार्य परमेश्‍‍वरले मानिसको उत्पत्ति गर्नुभए वापत उत्पन्‍न भएको नतिजा हो भनी ऊ आैंल्याउन चाहन्थ्यो ।SB 11.1

    आफ्‍नो पापविहीन अवस्थामा मानिसले परमेश्‍‍वरको साथ आनन्दमय वार्तालाप गर्ने गर्थ्यो, जसमा “ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन् ।” कलस्सी २:३ । तर ऊ पापमा डुबेपश्‍चात् उसले पवित्रताबाट कुनै आनन्द प्राप्‍त गर्न सकेन, र उसले परमेश्‍‍वरको उपस्थितिदेखि लुक्‍ने प्रयास गऱ्यो । अपरिवर्तित हृदयको अवस्था अझैपनि यस्तै छ । परमेश्‍‍वरसित मेलमिलापमा नरहेको कारण उसले उहाँको संगतिमार्फत कुनै आनन्द हासिल गर्दैन । पापी मानिस परमेश्‍‍वरको उपस्थितिमा खुशी रहन सकेन; ऊ पवित्र जनहरूका संगतिदेखि पछि हट्‍ने गर्दथ्यो । यदि उसलाई स्‍वर्गमा प्रवेश गर्न अनुमति दिइएको भए पनि यसले उसलाई कुनै आनन्द प्रदान गर्नेथिएन । स्‍वर्गमा निःस्‍वार्थ प्रेमको भावनाले शासन गरेको हुन्छ—जहाँ प्रत्येक आत्मा असीमित प्रेमको हृदयसँगै उत्प्रेरित हुने गर्दछ—यस्तो ठाउँमा उसको आत्माले प्रत्युत्तर स्‍वरूप कुनै समानता प्राप्‍त गर्न सक्‍नेथिएन । उसका विचारहरू, उसका अभिरुचिहरू, उसका उद्देश्‍‍यहरू त्यहाँका पापरहित निवासीहरूका सामु बिरानो सावित हुनेथिए । स्‍वर्गको रागमा ऊ एक प्रतिकूल ध्वनि सावित हुनेछ । स्‍वर्ग उसको निम्ति एक यातनाको स्थान हुनेछ; र उसले परमेश्‍‍वरदेखि लुक्‍ने तीव्र इच्छा गर्नेछ जो स्‍वर्गको ज्योति तथा यसको आनन्दको केन्द्र हुनुहुन्छ । दुष्‍टलाई स्‍वर्गबाट अलग पार्ने परमेश्‍‍वरको स्‍वेच्छाचारी आदेशले होइन; तर तिनीहरू स्‍वयं आफैं अयोग्य ठहरिएर स्‍वर्गदेखि अलग हुन पुग्दछन् । तिनीहरूका निम्ति परमेश्‍‍वरको महिमा एक भस्म पार्ने आगो सावित हुनेछ । तिनीहरूले विनाशलाई स्‍वागत गर्दछन्, ताकि तिनीहरू उहाँको मुहारदेखि लुक्‍न सक्‍नेछन् जो तिनीहरूलाई उद्धार गर्नका निम्ति मर्नुभयो ।SB 11.2

    जुन पापको दलदलमा हामी डुबेका छौं त्यसबाट स्‍वयं आफ्‍नो युक्तिद्वारा छुटकारा पाउनु हाम्रो निम्ति असम्भव छ । हाम्रो हृदय दुष्‍ट छ, र हामीले यसलाई परिवर्तन गर्न सक्दैनौं । “अशुद्धबाट कसले शुद्ध निकाल्‍न सक्छ ? कसैले सक्दैन !” “पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्‍‍वरप्रति शत्रुता हो । परमेश्‍‍वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ ।” अय्यूब १४:४; रोमी ८:७ । शिक्षा, संस्कृति, इच्छाशक्तिको प्रयोग, मानव चेष्‍टा, यी सबैका आ-आफ्‍नै उचित दायरा छन्, तर यहाँ ती सबै शक्तिहीन छन् । तिनले बाह्यरूपमा एक शुद्धताको आचरण उत्पन्‍न गराउन सक्‍लान्, तर तिनले हृदयलाई परिर्वतन गर्न सक्दैनन्; तिनले जीवनको मुहानहरूलाई शुद्ध पार्न सक्दैनन् । मानिसहरू पापबाट पवित्रतामा परिवर्तन हुनु अघि त्यहाँ उनीहरूका आत्मा भित्रबाट एक शक्तिले, तथा माथिबाट एक नयाँ जीवनले काम गरिरहेको हुनुपर्छ । त्यो शक्ति ख्रीष्‍ट हो । उहाँको अनुग्रहले मात्र आत्माको निर्जीव सामर्थ्यहरूलाई जगाउन सक्दछ, र यसलाई परमेश्‍‍वरतर्फ तथा पवित्रतातर्फ खिँच्‍न सक्दछ ।SB 12.1

    मुक्तिदाताले भन्‍नुभयो, “कोही माथिबाट जन्मेन भने” नयाँ जीवनतर्फ डोऱ्याउने नयाँ हृदय, नयाँ इच्छा, अभिप्राय र उद्देश्‍‍यहरू प्राप्‍त नगरेसम्म, “उसले परमेश्‍‍वरको राज्यलाई देख्‍न सक्दैन ।” यूहन्‍ना ३:३ । स्‍वभावद्वारा मानिसमा जुन असलपन रहन्छ । त्यसको मात्र उन्‍नति गरिनुपर्छ भन्‍ने विचारधारा एक घातक छल हो । “जो मानिस आत्मिक छैन, त्यसले परमेश्‍‍वरका आत्माका कुराहरू ग्रहण गर्दैन । किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्‍न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्‍न सकिन्छ ।” “मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान ।” १ कोरिन्थी २:१४; यूहन्‍ना ३:७ । ख्रीष्‍टको विषयमा यसरी लेखिएको छ, “उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो ।” “अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” यूहन्‍ना १:४; प्रेरित ४:१२ ।SB 13.1

    परमेश्‍‍वरको प्रेमको विषयमा ज्ञानबोध गर्नु, र उहाँको चरित्रको परोपकारीता तथा पैतृक कोमलतालाई देख्‍नु मात्र यथेष्‍ट छैन । उहाँको व्यवस्थाको ज्ञान र न्यायको बारेमा थाहा पाउनु तथा यो प्रेमको अनन्त सिद्धान्तमा आधारित छ भनी देख्‍नु मात्र यथेष्‍ट छैन । प्रेरित पावलले यी सबै कुराहरू स्पष्‍ट देखे र उनले यसो भने, “व्यवस्था असल छ भनी म सहमत हुन्छु ।” “व्यवस्था पवित्र छ, र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ ।” तर आफ्‍नो हृदय छुने वेदना र निराशाको तीतोपनमा उनले थप यसो भने, “मचाहिँ शारीरिक छु, र पापैमा बेचिएको छु ।” रोमी ७:१६, १२, १४ । उनले पवित्रता र धार्मिकताको तीव्र अभिलाषा राखेका थिए, जुन उनी स्‍वयं आफैं प्राप्‍त गर्न शक्तिहीन थिए, र उनले यसरी पुकारे, “हाय, म कस्तो दुःखी मानिस ! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” रोमी ७:२४ । सबै राज्यका, र सबै युगका मानिसहरूका बोझले लादिएका हृदयदेखि निस्किएका पुकारहरू यसरी नै माथि स्‍वर्गसम्मै पुग्‍ने गरेका छन् । सबैको निम्ति त्यहाँ केवल एक मात्र यस्तो जवाफ छ, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍‍वरका थुमा !” यूहन्‍ना १:२९ ।SB 14.1

    त्यहाँ अनेकौं यस्ता उदाहरणहरू छन् जसद्वारा परमेश्‍‍वरको आत्माले यस सत्यतालाई चित्रण गर्न तथा जुन मानिसहरू अपराधको बोझबाट मुक्त हुनलाई तीव्र अभिलाषा राख्दछन् तिनीहरूलाई यो कुरा सरल तुल्याउने प्रयत्‍न गर्नुभयो । जब एसावलाई छल गरी आफ्‍नो यस पाप पश्‍चात् याकूब आफ्‍नो पिताको घरबाट भागे तब उनी दोषको भावनाद्वारा लादिन पुगेका थिए । जब उनी एक्‍लो तथा त्यागिएका अवस्थामा थिए, जीवनलाई सुखमय तुल्याउने सारा थोकहरूबाट अलग्गिन पुगेका थिए, तब त्यस अवस्थामा सबै कुराहरूमाथि एउटै मात्र चिन्ता जसले उसको आत्मालाई थिचिराखेको थियो, त्यो यो डर थियो कि उसको पापले उसलाई परमेश्‍‍वरदेखि अलग तुल्याइदिएको छ, कि ऊ स्‍वर्गबाट नै त्यागिएको छ । खिन्‍नताका साथ उनी रूखो भूमिमा विश्राम लिन बसे, उनको वरिपरि केवल एकान्त डाँडाकाँडाहरू थिए भने माथिचाहिँ ताराहरूद्वारा चम्किलो आकाश थियो । जसै उनी निद्रामा परे, तब उनको सपनामा एक अनौठो प्रकारको ज्योति चम्किन पुग्यो; र जुन समतल भूमिमा उनी पल्टिरहेका थिए त्यहीँबाट विशाल छायामय भऱ्याङका खुड्‍किलाहरू स्‍वर्गको प्रवेशद्वारसम्मै पुगेका जस्ता देखिन्थे, र परमेश्‍‍वरका दूतहरू त्यसमा उक्‍लँदै र ओर्लंदै थिए; र महिमीत ज्योतिबाट सान्त्‍वना तथा आशाको सन्देशका साथ ईश्‍‍वरीय वाणी सुनिएको थियो । यसरी याकूबलाई यो कुरा थाहा दिइयो कि मुक्तिदाताले नै उनको आत्माको खाँचो तथा तीव्र अभिलाषालाई पूरा गर्नुभएको थियो । उनले आनन्द र कृतज्ञताका साथ एक मार्ग प्रकट भएको देखे जसद्वारा उनले एक पापीको हैसियतले पनि परमेश्‍‍वरमा सम्बन्ध पुनःस्थापना गर्न सक्‍नेछन् । उनको सपनाको रहस्यपूर्ण भऱ्याङले येशूको प्रतिनिधित्‍व गरेको थियो, जो परमेश्‍‍वर र मानिसबीचको सम्बन्धको एक मात्र माध्यम हुनुहुन्छ ।SB 14.2

    यो त्यही उदाहरण हो जुन ख्रीष्‍टले नथानेलसँग वार्तालाप गर्नुभएको रूपमा उल्‍लेख गर्नुभयो, जब उहाँले भन्‍नुभयो, “तिमीहरूले स्‍वर्ग उघ्रिएको र परमेश्‍‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्‍लँदै र ओर्लंदैगरेका देख्‍नेछौ ।” यूहन्‍ना १:५१ । स्‍वधर्मत्यागद्वारा मानिसले स्‍वयं आफैंलाई परमेश्‍‍वरबाट अलग तुल्यायो; र पृथ्वी स्‍वर्गबाट अलग्गिन पुग्यो । बीचमा जुन खाडी थियो त्यसको वारपार हुनेगरी कुनै सम्पर्क हुन सक्‍नेथिएन । तर ख्रीष्‍टमार्फत पृथ्वी पुनः स्‍वर्गसित जोडिएको छ । स्‍वयं उहाँकै गुणहरूद्वारा ख्रीष्‍टले पापद्वारा बनेको खाडीलाई जोड्‍नुभएको छ, ताकि सेवा गर्न स्‍वर्गदूतहरूले मानवजातिसित परस्पर सम्पर्क कायम राख्‍न सक्‍नेछन् । ख्रीष्‍टले पतित मानिसलाई उसको दुर्बलता र असहायपनदेखि असीमित शक्तिको स्रोतसित सम्बन्ध जोड्‍नुहुन्छ ।SB 16.1

    तर यदि मानिसहरू पतित मानवजातिका आशा र सहायताको एकमात्र स्रोतलाई उपेक्षा गर्दछन् भने तिनीहरूका प्रगति गर्न सपना, र मानवजातिलाई उकास्‍ने सबै प्रयत्‍नहरू व्यर्थ सावित हुनेछन् । “हरेक असल दान र हरेक सिद्ध वरदान” परमेश्‍‍वरबाट आउँदछ (याकूब १:१७) । उहाँमा बाहेक अन्य कसैमा पनि साँचो श्रेष्‍ठताको चरित्र पाईंदैन । ख्रीष्‍ट नै परमेश्‍‍वरकहाँ पुग्‍ने एकमात्र मार्ग हुनुहुन्छ । उहाँ भन्‍नुहुन्छ, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।” यूहन्‍ना १४:६ ।SB 16.2

    परमेश्‍‍वरको हृदय पृथ्वीमा रहेका आफ्‍ना सन्तानहरूप्रति एक यस्तो प्रेमका साथ व्याकुल बन्दछ जुन मृत्युभन्दा पनि मजबुत छ । आफ्‍नो पुत्रलाई हाम्रो निम्ति दिनुभई उहाँले त्यही एक उपहारमार्फत हाम्रो निम्ति सारा स्‍वर्ग नै खन्याउनुभएको छ । मुक्तिदाताको जीवन र मरण, मध्यस्थता, स्‍वर्गदूतहरूका सेवा, पवित्र आत्माको बिन्ती, हरेक तवरद्वारा काम गरिरहनुभएको पिता, स्‍वर्गीय अस्तित्‍वहरूका अटुट अभिरुचि—यी सबै कुराहरू मानिसको उद्धारको पक्षमा कार्यान्वयन गरिएका हुन् ।SB 17.1

    हाम्रो निम्ति जुन आश्‍चर्यजनक बलिदान गरिएको छ त्यसको बारेमा हामी मनन गरौं । हराएकाहरूलाई पुनः प्राप्‍त गर्न र तिनीहरूलाई पिताको घरमा फिर्ता ल्याउनका निम्ति स्‍वर्गले जुन परिश्रम तथा शक्ति खर्च गरेको छ त्यसको हामी प्रशंसा गरौं । असल कार्यका निम्ति इनामहरू, स्‍वर्गको आनन्द, स्‍वर्गदूतहरूका साथ स्थापना हुने सम्बन्ध, परमेश्‍‍वर तथा उहाँको पुत्रसँगको संगत, अनन्तकालसम्म नै हुने हाम्रा सबै शक्तिहरूका विस्तार—यी सबै प्राप्‍तिका निम्ति यो भन्दा मजबुत प्रेरणाहरू, र यो भन्दा शक्तिशाली कार्य कदापि परिचालन गर्न सकिनेथिएन । के यी सबै कुराहरू हाम्रा सृष्‍टिकर्ता तथा उद्धारकर्तालाई हृदयदेखि नै प्रेमपूर्ण सेवा प्रदान गर्नका निम्ति हाम्रा निम्ति महान् प्रेरणा तथा प्रोत्साहनहरू होइनन् त ?SB 17.2

    र अर्को पक्षमा पापको विरुद्धमा घोषणा गरिएका परमेश्‍‍वरका इन्साफहरू, अनिवार्य प्रतिशोध, हाम्रो चरित्रको पतन, र अन्तिम विनाशका घटनाहरू हामीलाई शैतानको सेवाविरुद्ध सचेत गराउनका निम्ति परमेश्‍‍वरको वचनमा उल्‍लेख गरिएका छन् ।SB 17.3

    के हामी उहाँको कृपाप्रति ध्यान नदिने त ? उहाँले यो भन्दा बढी के गर्न सक्‍नुहुन्थ्यो ? हामीले स्‍वयं आफैंलाई उहाँमा एक उचित सम्बन्धमा बाँधौं जसले हामीलाई अद्‌भुत प्रेमका साथ प्रेम गर्नुभएको छ । हाम्रो निम्ति जुटाइएका उपायहरूबाट लाभ उठाऔं ताकि हामी उहाँको स्‍वरूपमा परिवर्तित हुन सक्‍नेछौं, र सेवा गर्ने स्‍वर्गदूतहरूसित संगीपन प्राप्‍त गर्नका निम्ति, तथा पिता र पुत्रसित मधुरो सम्बन्ध र सम्पर्क प्राप्‍त गर्नका निम्ति पुनःस्थापना गरिनेछौं ।SB 18.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents