Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ४. पिलातसको महलमा

    मत्ती २७:२, ११-३१; मर्कूस १५:१-२०; लूका २३:१-२५; यूहन्ना १८:२८-४०; १९:१-१६ मा आधारित ।

    रोमी शासक पिलातसको महलमा ख्रीष्‍ट एक कैदी सरह हतकडीका साथ खडा हुनुहुन्छ । उहाँ वरिपरि सैनिक पहरेदारहरू छन्, र महल छिटै रमितेहरूद्वारा भरिनपुग्दछ । प्रवेशद्वारको केही दूर पर यरुशलेमको सर्वोच्‍च परिषदका न्यायधीशहरू, पूजाहारी, शासक, अगुवाहरू तथा जनसमूह उपस्थित छन् ।PAP 63.1

    येशूलाई दोषी ठहराइएपछि यरुशलेमको सर्वोच्‍च परिषदका सदस्यहरू दण्डलाई निश्‍चित पार्न तथा त्यसलाई कार्यन्वयन गर्ने हेतु पिलातसकहाँ आएका थिए । तर यी यहूदी अधिकारीहरू रोमी न्याय बैठकमा प्रवेश गर्न चाहँदैनथे । यहूदीहरूका वैधिक व्यवस्थामुताविक यदि तिनीहरूले यसरी प्रवेश गरेको खण्डमा तिनीहरू अपवित्र बन्नपुग्‍ने थिए र निस्तार-चाडमा सहभगी हुनुदेखि बञ्‍चित हुनेथिए । आफ्‍ना अन्धोपनका कारण घातक घृणाले तिनीहरूका हृदयलाई अपवित्र बनाइसकेको थियो भन्ने कुरा तिनीहरूले चाल पाएनन् । ख्रीष्‍ट नै साँचो निस्तार-चाडको थुमा हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले बुझेनन्, र तिनीहरूले उहाँलाई इन्कार गरिसकेका हुनाले यस महान् चाडको महत्‍व गुमेको थियो ।PAP 63.2

    जब मुक्तिदातालाई महलमा ल्याइयो, तब पिलातसले उहाँमाथि मित्रवत् दृष्‍टि लगाएन । रोमी शासकलाई हतारका साथ आफ्‍नो शयनकक्षदेखि बोलाइएको थियो, र उसले आफ्‍नो काम जतिसक्दो शीघ्रताका साथ पूरा गर्ने अठोट लियो । ऊ कैदीसँग स्‍वेच्छाचारी कठोरताका साथ व्यवहार गर्न तैयार थियो । आफ्‍नो सबैभन्दा कठोर अभिव्यक्ति धारण गर्दै उसले कस्तो मानिसलाई छानबीन गर्नुपर्ने रहेछ भनी हेर्न आफ्‍नो अनुहार फर्कायो जसका लागि उसलाई यति सबेरै निद्राबाटै बोलाइएको छ । उसलाई कैदी एक यस्तो व्यक्ति हुनुपर्छ भनी थाहा थियो जसमाथि मुद्दा चलाउन तथा हतारका साथ सजाय दिलाउन यहूदी अधिकारीहरू व्याकुल छन् ।PAP 64.1

    पिलातसले येशूलाई कब्‍जामा लिने मानिसहरूलाई आफ्‍नो नजर लगायो, र उसले एकाग्र हेराइ येशूमाथि केन्द्रित बन्नपुग्यो । उसले हरेक प्रकारका अपराधीहरूका साथ व्यवहार गर्नुपर्ने थियो; तर उसको सामु कहिल्यै पनि यसरी भलाइ तथा कूलिन चरित्रयुक्त मानिसलाई ल्याइएको थिएन । उसले उहाँको अनुहारमा दोषको कुनै चिन्ह, भयको कुनै अभिव्यक्ति, शूरोपन, वा अटेरीपना देखेन । उसले एक शान्त तथा श्रद्धेय स्‍वभावयुक्त व्यक्ति देख्यो जसको अनुहारमा कुनै चिन्हहरूका सट्टा स्‍वर्गको हस्ताक्षर झल्किन्थ्यो ।PAP 64.2

    ख्रीष्‍टको ढाँचाले पिलातसमा एक अनुकूल प्रभाव पाऱ्यो । पिलातसमा असल स्‍वभाव जागेर आयो । उसले येशू तथा उहाँका कार्यहरूका बारेमा सुनेको थियो । एक गालीली भविष्यवक्ताले बिरामीहरूलाई निको पारेको तथा मरेकाहरूलाई ब्युँताएको जस्ता आश्‍चर्य कामहरूका बारेमा पिलातसकी पत्‍नीले उसलाई बताएकी थिइन् । अब यो कुरा उसको मनमा एक सपनाझैं ताजा बन्नपुग्यो । उसले विभिन्न श्रोतहरूबाट सुनेका हल्‍लाहरूलाई पुनः याद गऱ्यो । उसले यहूदीहरूबाट आफ्‍ना कैदीविरुद्ध उनीहरूले जे आरोप लगाएका थिए सो थाहा पाउने अठोट गऱ्यो ।PAP 64.3

    उसले प्रश्‍न गऱ्यो, “यो मानिस को हो, र उसलाई तिमीहरूले किन ल्यायौ ?” “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ ?” यहूदीहरू जिल्‍ल परेका थिए । ख्रीष्‍ट विरुद्ध पर्याप्‍त आरोपहरू प्रस्तुत गर्न नसकिने भनी थाहा भएकै कारण तिनीहरूले सार्वजनिक छानबीन गरियोस् भन्ने इच्छा व्यक्त गरेनन् । तिनीहरूले उहाँ नासरतको येशू भन्ने विश्‍‍वासघाती हुनुहुन्छ भनी बताए ।PAP 65.1

    पिलातसले पुनः यसरी सोध्यो, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ ?” पूजाहारीहरूले उसको प्रश्‍नको जवाफ दिएनन्, तर आफ्‍ना झोंक व्यक्त गर्दै यसो भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं ।” जब सर्वोच्‍च परिषदका सदस्यहरू जस्ता राज्यकै अगुवा व्यक्तित्‍वहरूले तपाईंको सामु मृत्युदण्ड दिइने योग्यको व्यक्ति ल्याउँदछन् भने के उसको विरुद्धमा आरोपको माग गर्नु आवश्‍‍यक छ त ? तिनीहरूले आफ्‍ना प्रतिष्‍ठाको भावद्वारा पिलातसलाई प्रभावित तुल्याई प्रारम्भिक प्रबन्धबिना नै पिलातसलाई तिनीहरूका अनुरोधप्रति मञ्‍जुर गराउने आशा राखे । सर्वोच्‍च परिषदका सदस्यहरू आफ्‍ना दण्डाज्ञालाई कार्यान्वयन गराउन उत्सुक थिए; किनकि तिनीहरूलाई यो थाहा थियो कि ख्रीष्‍टका अद्‌भुत कार्य देख्‍नेजति मानिसहरूले तिनीहरूले अहिले बताइरहेका मिथ्यारोपभन्दा बेग्‍लै प्रकारको कथा बताउन सक्‍नेछन् ।PAP 65.2

    पूजाहारीहरूले यो बिचार लिए कि पिलातस कमजोर तथा फितलो भएको कारण तिनीहरूले आफ्‍ना योजनाहरूलाई कुनै समस्याबिना नै कार्यान्वयन गर्न सक्‍नेछन् । यसअघि उसले मृत्युदण्ड दिन अयोग्य मानिसहरूलाई मृत्युदण्डको दोषी ठहराउँदै हतारपूर्वक मृत्युदण्ड पुर्जामा हस्ताक्षर गरिसकेको थियो । उसको बिचारमा कुनै एक कैदीको जीवन नगण्य थियो; र चाहे कैदी निर्दोष होस् वा दोषी यसप्रति उसलाई कुनै मतलब छैन । पिलातसले पुर्पक्षबिना नै येशूलाई मृत्युदण्ड सुनाउनेछ भनी पूजाहारीहरूले आशा राखेका थिए । यही कुरा तिनीहरूले आफ्‍ना महान् राष्‍ट्रिय पर्वको अवसर स्‍वरूप एक निगाहको रूपमा माग गरे ।PAP 66.1

    तर कैदीमा कुनै यस्तो कुरा थियो जसले पिलातसलाई सो कार्य गर्नुदेखि रोक्‍यो । उसले सो साहस गरेन । उसले पूजाहारीहरूका उद्देश्‍‍यहरूका बारेमा बुझ्यो । उसले याद गऱ्यो कि कसरी येशूले केही समय पहिले मात्र चार दिनसम्म चिहानमा राखिसकिएको लाजरसलाई ब्युँताउनु भएको थियो; र दोषी ठहराउने दण्डाज्ञामा हस्ताक्षर गर्नुअघि उहाँविरुद्ध कुन कुन आरोपहरू लगाइएका थिए तथा तिनलाई प्रमाणित गर्न सकिन्छ कि भनी उसले पत्ता लाउने अठोट लियो ।PAP 66.2

    उसले प्रश्‍न गऱ्यो, यदि तिमीहरूका व्यवस्था पर्याप्‍त छ भने कैदीलाई मकहाँ किन ल्यायौ त ? उसले भन्यो, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्‍नै व्यवस्था बमोजिम यिनको इन्साफ गर ।” (यूहन्ना १८:३१) पिलातसले यसरी करकाप गरे पश्‍चात पूजाहारीहरूले येशूमाथि दण्डाज्ञा घोषित गरिसकेका छन् भनी बताए, तर तिनीहरूका दण्डाज्ञालाई सदर गर्नका निम्ति तिनीहरूले पिलातसको दण्डादेश पाउनु पर्नेछ । “तिमीहरूको दण्डाज्ञा के हो ?” भनी पिलातसले सोध्यो । तिनीहरूले मृत्युदण्ड भनी जवाफ दिए; तर कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन । तिनीहरूले आफ्‍ना वचनलाई ख्रीष्‍टको दोषको रूपमा लिई तिनीहरूका दण्डाज्ञालाई कार्यान्वयन गर्न पिलातसलाई अनुरोध गरे । तिनीहरूले नै यसको परिणामको जिम्मेवारी लिनेछन् ।PAP 66.3

    पिलातस एक निष्पक्ष वा विश्‍‍वसनीय न्यायधीश थिएन; तर नैतिक शक्तिमा कमजोर भएता पनि उसले यस अनुरोधलाई मञ्‍जुर गर्न अस्‍वीकार गऱ्यो । येशू विरुद्ध आरोप प्रस्तुत नगरिएसम्म पिलातस उहाँलाई दोषी ठहराउन राजी भएन ।PAP 67.1

    पूजाहारीहरू धर्मसंकटमा परे । तिनीहरूले आफ्‍ना पाखण्डीपनलाई सबैभन्दा बाक्‍लो भेषद्वारा लुकाउनु पर्नेछ भन्ने कुरालाई बुझे । ख्रीष्‍ट धार्मिक कारणहरूद्वारा पक्राउ पर्नुभएको होइन भनी तिनीहरूले निश्‍चित गर्नुपर्नेछ । यसलाई एक तर्कको रूपमा अगाडी प्रस्तुत गरिएको खण्डमा पिलातसको सामु तिनीहरूका पुर्पक्षका कुनै प्रभाव रहनेथिएन । येशू सार्वजनिक व्यवस्थाविरुद्ध लाग्दै हुनुहुन्थ्यो भनी तिनीहरूले प्रमाण देखाउनुपर्नेछ; तब उहाँलाई एक राजनैतिक अपराधीको रूपमा सजाय दिलाउन सकिनेछ । यहूदीहरूमाझ रोमी सरकारविरुद्ध निरन्तर रूपमा खैलाबैला तथा विद्रोह उत्पन्न भइरहने गर्दथ्यो । यस्ता विद्रोहप्रति रोमीहरूले अति उग्र रूपमा व्यवहार गर्ने गदथे, र शत्रुभाव उत्पन्न गर्न सक्‍ने जति सबै कुराहरूलाई दमन गर्न तिनीहरू निरन्तर रूपमा जागा रहने गर्दथे ।PAP 67.2

    यसभन्दा केही दिन अघि मात्र फरिसीहरूले “हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन ?” भन्ने प्रश्‍नको साथ ख्रीष्‍टलाई फसाउने कोशिस गरेका थिए । तर ख्रीष्‍टले उनीहरूका पाखण्डीपनलाई पर्दाफास गर्नुभएको थियो । त्यहाँ उपस्थित रोमीहरूले षड्‍यन्‍‍त्रकारीहरूका पूर्ण असफलतालाई तथा “यसकारण जे कैसरका हुन् कैसरलाई देओ” भनी जब येशूले जवाफ दिनुभयो त्यसमा तिनीहरूका पराजयलाई देखेका थिए । लूका २०:२२-२५ ।PAP 68.1

    येशूले सिकाउँदै आउनुभएको कुरालाई यस अवसरमा सिकाउनुहुनेछ भन्ने कुरा पूजाहारीहरूले अहिले प्रकट गर्ने इच्छा व्यक्त गरे । तिनीहरूले आफ्‍ना संकष्‍टको घडीमा मद्दतस्‍वरूप झूटा गवाहीहरूलाई बोलाए, “तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन थाले, यस मानिसले हाम्रो राष्‍ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं । यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्‍ट, एक राजा हुँ’ भनी भन्छ ।” उहाँमाथि तीन आधारहीन आरोपहरू गलाइए । पूजाहारीहरूलाई यसबारेमा थाहा थियो, तर तिनीहरू आफ्‍ना उद्देश्‍‍य प्राप्‍तिका लागि झूटो गवाही बक्‍न राजी थिए ।PAP 68.2

    पिलातसले तिनीहरूका उद्देश्‍‍यलाई बुझ्यो । कैदीले राज्यविरुद्ध षड्‍यन्‍‍त्र गरेको छ भन्ने कुराप्रति उसले विश्‍‍वास गरेन । उहाँको सहनशील तथा नम्र ढाँचा उहाँमाथि लगाइएको आरोपदेखि पूर्णरूपमा अमिल्दो थियो । एक निर्दोष व्यक्ति यहूदी प्रतिष्‍ठित व्यक्तिहरूका मार्गमा खडा भएको कारण उक्त निर्दोष व्यक्तिलाई नाश गर्नका लागि एक गहिरो षड्‍यन्‍‍त्र रचिँदैछ भन्ने कुराप्रति पिलातस विश्‍‍वस्त भयो । येशूतर्फ नजर लगाउँदै उसले प्रश्‍न गऱ्यो, “के तिमी यहूदीहरूका राजा हौ ?” मुक्तिदाताले भन्नुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ ।” जब उहाँले यसरी बोल्‍नुभयो तब उहाँको मुहार घामको किरण परेझैं उज्यालो बन्नपुग्यो ।PAP 68.3

    जब तिनीहरूले येशूको जवाफलाई सुने तब कैयाफा तथा उसको सामु भएका मानिसहरूले पिलातसलाई यस कुराको साक्षी बन्न आव्हान गरे कि जुन कुराका लागि येशूमाथि आरोप लगाइएको थियो सो उहाँले स्‍वीकार्नु भएको छ । उहाँलाई क्रूसमा टाँगिनुपर्ने मागका साथ पूजाहारी, धर्मगुरु, तथा शासकहरू चर्को सोरले चिच्याउन थाले । मानिसहरू चर्को आवाजका साथ चिच्याउन थाले र सो होहल्‍ला बहिरो पार्ने तवरको थियो । पिलातस अलमलमा पऱ्यो । येशूले उहाँका वादीहरूलाई कुनै जवाफ नदिनुभएको कारण पिलातसले उहाँलाई “तिम्रो विरुद्धमा तिनीहरूले अनेक कुराहरूको गवाही दिंदैछन्, के तिमी सुन्दनौ ?” भनी प्रश्‍न गऱ्यो ।PAP 69.1

    सबैले देखिने गरि पिलातसको पछाडी कौसिमा खडा रहनुभएको ख्रीष्‍टले दुर्वचनहरू सुन्नुभयो; तर उहाँप्रति लगाइएका यी सबै झूटा आरोपहरूका विरुद्ध उहाँले एक शब्द पनि बोल्‍नुभएन । उहाँको सारा ढाँचाले उहाँको सचेत निर्दोषिताको प्रमाण दिइरहेको थियो । उहाँलाई जुन छालको झोंकले प्रहार गरिरहेको थियो त्यसविरुद्ध उहाँ स्थिररूपमा खडा रहनुभयो । उहाँ वरिपरि क्रोधका विशाल लहरहरू उर्लदो समुद्र खनिएझैं देखिन्थ्यो; तर तिनले उहाँलाई छुन सकेनन् । उहाँ शान्तपूर्वक खडा रहनुभयो, तर उहाँको मौनता नै वाक्पटुता थियो । यो मौनता भित्री मनुष्यदेखि बाहिरी मनुष्यसम्म चम्किरहेको ज्योतिझैं थियो ।PAP 69.2

    पिलातस उहाँको व्यवहारप्रति चकित बन्नपुग्यो । के यस व्यक्तिले आफ्‍नो जीवन बचाउने वास्ता नगर्दै पुर्पक्षप्रति बेवास्ता गरिरहेको हो ? भनी उसले स्‍वयम् आफैलाई प्रश्‍न गऱ्यो । जब पिलातसले बिना बदलाको भावनासाथ अपमान तथा खिल्‍लीलाई सहँदैगर्नु भएको येशूतर्फ हेऱ्यो तब उसले यो महसुस गऱ्यो कि पूजाहारीहरूले हल्‍ला मच्‍चाएअनुसार उहाँ अधर्मी वा अन्यायी हुनुहुन्न । उहाँदेखि सत्य तथ्य पत्ता लाउन तथा भीडको होहल्‍लादेखि बच्‍ने आशाका साथ पिलातसले येशूलाई अलग लगेर “के तिमी यहूदीहरूका राजा हौ ?” भनी पुनः प्रश्‍न गऱ्यो ।PAP 70.1

    येशूले यस प्रश्‍नको जवाफ प्रत्यक्षरूपमा दिनुभएन । उहाँलाई थाहा थियो कि पवित्र आत्माले पिलातसको हृदयमा काम गर्ने प्रयत्‍न गर्दैहुनुहुन्थ्यो, र उहाँले उसलाई आफ्‍नो विश्‍‍वास स्‍वीकार गर्ने मौका दिनुभयो । उहाँले प्रश्‍न गर्नुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने ?” अर्थात् पिलातसले यसरी प्रश्‍न गर्नुको अर्थ पूजाहारीहरूका आरोपका कारण थियो कि ख्रीष्‍टबाट प्रकाश पाउने इच्छाले गर्दा थियो ? पिलातसले ख्रीष्‍टको अर्थ बुझ्यो, तर उसको हृदयमा घमण्ड उत्पन्न भयो । जुन विश्‍‍वासले उसलाई प्रभावित तुल्याइरहेको थियो त्यसलाई उसले स्‍वीकार गरेन । उसले भन्यो, के म यहूदी हुँ र ? “तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए । तिमीले के गऱ्यौ ?”PAP 70.2

    पिलातसको सुनौलो मौका गुम्‍नपुग्यो । तर येशूले उसलाई थप प्रकाशबिना छोड्‍नुभएन । यद्यपि उहाँले पिलातसको प्रश्‍नको जवाफ प्रत्यक्षरूपमा दिनुभएन तर उहाँले आफ्‍नो जीवनको उद्देश्‍‍यको बारेमा स्पष्‍टरूपमा बताउनुभयो । उहाँ संसारिक सिंहासनको खोजीमा हुनुहुन्न भनी पिलातसलाई बुझाउनुभयो ।PAP 70.3

    उहाँले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन । मेरो राज्य यस संसारको हुँदो हो त मेरा सेवकहरू मेरो निम्ति लड्‍नेथिए, र म यहूदीहरूका हातमा पर्ने थिइन । तर मेरा राज्य यस संसारको होइन । पिलातसले उहाँलाई सोधे, के तिमी राजा नै हौ त ? येशूले जवाफ दिनुभयो, म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ । यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ । प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ ।”PAP 71.1

    ख्रीष्‍टले यो कुरा निश्‍चयसँग बताउनुभयो कि उहाँको वचन नै एक यस्तो साँचो हो जसले ग्रहण गर्न तयार हुने जतिलाई रहस्य खोल्‍न सक्‍नेछ । यसमा आत्मतारिफको शक्ति थियो र यही नै उहाँको राज्यको सत्यताको प्रचारको रहस्य थियो । उहाँ पिलातसलाई यो कुरा बुझाउने इच्छा प्रकट गर्दैहुनुहुन्यो कि उचित सत्यतालाई ग्रहण गरिएको खण्डमा मात्र उसको पतित स्‍वभावलाई पुनः निर्माण गर्न सकिनेथियो ।PAP 71.2

    पिलातसमा सत्यता जान्ने इच्छा थियो । उसको मन अलमलिन पुगेको थियो । उसले उत्सुकताका साथ मुक्तिदाताका वचनहरूलाई ग्रहण गऱ्यो, र उसको हृदय यो वचन के हो र यसलाई कसरी ग्रहण गर्न सकिनेछ भनी तीव्र आकांक्षाका साथ प्रभावित बन्नपुग्यो । उसले सोध्यो, “सत्य के हो ?” तर उसले जवाफको प्रतिक्षा गरेन । बाहिरको होहल्‍लाले पिलातसलाई त्यस पलको आवश्‍‍यकताको बारेमा स्मरण गरायो; किनकि पूजाहारीहरू तुरुन्त कारवाही गरियोस् भनी होहल्‍ला गरिरहेका थिए । पिलातसले बाहिर यहूदीहरूका सामु गई “म यिनमा केही दोष भेट्टाउँदिन” भनी जोरदारसाथ घोषणा गऱ्यो ।PAP 71.3

    अन्यजातिमध्येका एकन्यायधीशका यी वचनहरू मुक्तिदातालाई आरोप लगाउने यहूदी शासकहरूका विश्‍‍वासघात तथा झूटप्रति एक खिसीपूर्ण भर्त्सना सावित भए । जब पूजाहारी तथा अगुवाहरूले पिलातसबाट यो कुरा सुने तब तिनीहरूका निराशा तथा क्रोधको सीमा नै रहेन । तिनीहरूले यस अवसरका लागि लामो समयदेखि षड्‍यन्‍‍त्र रच्दै तथा प्रतिज्ञा गर्दै आएका थिए । जब तिनीहरूले येशूलाई फुकुवा गरिने सम्भावना देखे, तब तिनीहरू उहाँलाई टुक्रा टुक्रा हुनेगरी चिर्न तयार रहेजस्तै देखा परे । तिनीहरूले चर्को स्‍वरमा पिलातसको निन्दा गरे, र रोमी सरकारको प्रतिकुल फैसलाका साथ उसलाई धम्की दिए । तिनीहरूले येशूलाई दोषी नठहराएका कारण पिलातसमाथि आरोप लगाए जसले उनीहरूका बिचारमुताविक कैसरको विरोध गरिहेको थियो ।PAP 72.1

    अब क्रोधपूर्ण आवाज सुनियो, र तिनीहरूले येशूको राजद्रोही प्रभाव सारा राज्यभर नै फैलिसकेको छ भनी घोषणा गरे । पूजाहारीहरूले “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्‍काउँदैछ” भनी बताए ।PAP 72.2

    पिलातसले यतिखेर येशूलाई दोषी ठहराउने कुनै बिचार लिएको थिएन । यहूदीहरूले घृणा तथा द्धेषभावका कारण उहाँमाथि आरोप लाउँदैथिए भन्ने कुरा उसलाई थाहा थियो । उसलाई आफ्‍नो कर्तव्यको बारेमा थाहा थियो । इन्साफ मुताविक ख्रीष्‍टलाई तत्कालै मुक्त गरिनुपर्ने थियो । तर पिलातस मानिसहरूका खराब संकल्पप्रति भयभीत थियो । यदि उसले येशूलाई तिनीहरूका हातमा सुम्पन अस्‍वीकार गरेको खण्डमा होहल्‍ला मच्‍चिने थियो र ऊ यही कुराको सामना गर्न डराइरहेको थियो । जब पिलातसले ख्रीष्‍टको जन्म गालीलमा भएको रहेछ भनी सुन्यो तब उसले उहाँलाई त्यस प्रदेशका शासक हेरोद कहाँ पठाउने निर्णय गऱ्यो जो त्यतिखेर यरुशलेममा थियो । यसरी पिलातसले पुर्पक्षको जिम्मेवारी आफूबाट हेरोदमा सार्ने बिचार लिएको थियो । साथै उसले यही कुरालाई आफू र हेरोदबीचको पुरानो विवादलाई साम्य पार्ने असल मौकाको रूपमा लियो । यसले यही प्रमाणित गऱ्यो । मुक्तिदाताको पुर्पक्षमार्फत दुबै न्यायधीशहरूले एक आपसमा मित्रता गाँसे ।PAP 72.3

    पिलातसले येशूलाई पुनः सिपाहीहरूका हातमा सुम्पिदियो, र भीडको खिल्‍ली तथा अपमानबीच उहाँलाई हेरोदको महलतर्फ हतारपूर्वक लगियो । “अब येशूलाई देखेर हेरोद अत्यन्त खुशी भए ।” उसले यसअघि मुक्तिदातालाई भेटेको थिएन, तर “तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्‍चर्थ काम गर्नुभएको हर्ने आशा गर्थे ।” ऊ त्यही हेरोद थियो जसका हातहरू बप्‍तिस्मा-दिने यूहन्नाको रगतद्वारा कलंकित बन्नपुगेका थिए । जब हेरोदले पहिलोपटक येशूको बारेमा सुन्यो तब ऊ अति भयभीत बन्यो, र उसले भन्यो, “यूहन्ना, जसका शिर मैले काट्‍न लगाएँ, त्यही बौरिउठेछ,” “यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन् ।” मर्कूस ६:१६; मत्ती १४:२ । तैपनि हेरोदले येशूलाई देख्‍ने इच्छा व्यक्त गऱ्यो । अब यस अगमवक्तको जीवन बचाउने मौका आएको थियो, र उसको सामु थालमा ल्याइएको रक्ताम्य शिरको स्मरणलाई उसले आफ्‍नो मनको जरैदेखि हटाउने आशा राखेको थियो । उसले आफ्‍नो उत्सुकतालाई पनि तृप्‍त पार्ने इच्छा गरेको थियो, र ख्रीष्‍टलाई छुटकारा दिलाउने कुनै आशा प्रकट गरिएको खण्डमा उहाँसँग माग गरिएको कुनै पनि कुरा उहाँले पूरा गर्नुहुन्छ भनी हेरोदले बिचार लियो ।PAP 73.1

    ख्रीष्‍टलाई हेरोदकहाँ लगिने क्रममा पूजाहारी तथा अगुवाहरूका ठूलो समूहले उहाँलाई पछ्‌याएका थिए । जब ख्रीष्‍टलाई भित्र ल्याइयो तब ती सबै प्रतिष्‍ठित व्यक्तिहरूले उत्तेजितरूपमा बोल्दै उहाँ विरुद्ध आरोपहरू गलाए । तर हेरोदले तिनीहरूका आरोपहरूमाथि कुनै चासो देखाएन । ख्रीष्‍टलाई प्रश्‍न गर्न पाउने उद्देश्‍‍यका साथ उसले सबैलाई शान्त हुने आदेश दियो । उसले ख्रीष्‍टलाई बाँधिएको सिक्री खोल्‍ने आदेश दियो, यसका साथै उहाँमाथि कठोर व्यवहार गरेवापत उहाँका ती शत्रुहरूलाई आरोप लगायो । संसारको उद्धारकर्ताको निर्मल अनुहारतर्फ दयालु नजर लगाउँदै उसले उहाँको त्यस अनुहारमा ज्ञान तथा शुद्धता मात्रै पढ्‍न सक्‍यो । हेरोदका साथसाथै पिलातस पनि यस कुरामा निश्‍चित थियो कि ईर्ष्या तथा शत्रुभावकै कारण ख्रीष्‍टमाथि आरोप लगाईदै थियो ।PAP 74.1

    हेरोदले ख्रीष्‍टलाई अनेक प्रश्‍नहरू गऱ्यो, तर मुक्तिदाताले पूरा समयावधिभर नै गम्भीर मौनता कायम राख्‍नुभयो । राजाको आदेश अनुसार निर्बल तथा लुला लङ्गडाहरूलाई भित्र बोलाइयो, र ख्रीष्‍टलाई आफ्‍नो दावी प्रमाणित गर्नका निम्ति एक आश्‍चर्य काम गर्न आदेश दिइयो । हेरोदले भन्यो, “मानिसहरू भन्दछन् कि तिमीले बिरामीहरूलाई निको पार्न सक्छौ । म तिम्रो व्यापक चर्चा झूटो होइन भनी देख्‍न चाहान्छु ।” येशूले केही जवाफ दिनुभएन, र हेरोदले जिद्दीको क्रमलाई यसरी जारी राख्यो: “यदि तिमी अरू मानिसहरूका निम्ति आश्‍चर्य काम गर्न सक्छौ भने सो काम आफ्‍नै भलाइको निम्ति गर, र यसले तिम्रै हित हुनेछ ।” उसले पुनः यसरी आज्ञा दियो, “तिम्रो शक्तिको बारेमा जे जति हल्‍ला सुनिएका छन् त्यसलाई प्रमाणित गर्नका निम्ति हामीलाई एक चिन्ह देखाऊ ।” तर ख्रीष्‍टले त्यस पल सुन्नुभयो तर देख्‍नुभएन । परमेश्‍‍वरको पुत्रले मानव स्‍वभाव धारण गर्नुभएको थियो । यस्ता परिस्थितिहरूमा उहाँले मानिसहरूले जस्तै व्यवहार गर्नुपर्नेछ । तसर्थ उहाँले स्‍वयम् आफैलाई पीडा तथा अपमानदेखि बचाउनका निम्ति आश्‍चर्य काम गर्नुहुनेछैन ताकि मानिसहरूले पनि परिस्थितिमा परेका अवस्थामा तिनको सामना गर्नेछन् ।PAP 74.2

    हेरोदले प्रतिज्ञा गऱ्यो कि यदि ख्रीष्‍टले उसको उपस्थितिमा केही आश्‍चर्य काम गर्नुभएको खण्डमा उहाँलाई छुटकारा प्रदान गरिनेछ । ख्रीष्‍टका वादीहरूले आफ्‍नै आँखाले उहाँको शक्तिद्वारा गरिएका महान् आश्‍चर्य कामहरूलाई देखेका थिए । तिनीहरूले चिहानलाई यसको मृतक बाहिर निकाल्‍ने उहाँको आज्ञालाई सुनेका थिए । तिनीहरूले मृतकले उहाँको वचन पालन गर्दै चिहानदेखि बाहिर आएको देखेका थिए । उहाँले आश्‍चर्य काम गर्नुहुन्छ होला कि भनेर ती सबै मानिसहरू भयभीत बनेका थिए । उहाँले आफ्‍नो शक्ति प्रर्दशन गर्नुहोला कि भन्ने भय नै तिनीहरूका सबैभन्दा ठूलो भय थियो । यस प्रकारको शक्ति प्रर्दशन तिनीहरूका योजनाहरूका विरुद्धमा घातक सावित हुनेथिए, र सायद यसले तिनीहरूका जीवन पनि लिन सक्‍नेथियो । पुनः पूजाहारी तथा शासकहरूले अति व्यग्रताका साथ उहाँ विरुद्ध आफ्‍ना आरोप लगाए । उहाँ राजद्रोही तथा ईश्‍‍वरनिन्दक हुनुहुन्छ भनी तिनीहरूले चर्को सोरमा घोषणा गरे । तिनीहरूले उहाँले भूतहरूका राजकुमार बालजिबुलद्वारा प्राप्‍त गर्नुभएको शक्तिद्वारा आश्‍चर्य कामहरू गर्नुहुन्छ भन्ने आरोप समेत लगाए । सभा गोलमालको दृश्‍‍य बन्नपुग्यो जहाँ मानिसहरू चर्को सोरमा विभिन्न कुराहरू बोल्दैथिए ।PAP 75.1

    हेरोदको अन्तरात्मा अहिले त्यो समयमा भन्दा निकै कम संवेदनशील बन्नपुगेको थियो जब हेरोदियासले उसँग बप्‍तिस्मा-दिने यूहन्नाको शिर ल्याउने अनुरोध गर्दा भयका साथ काँप्‍नपुगेको थियो । आफ्‍नो त्यस घोर कार्यका लागि उसले केही समयको लागि पछुताउको तीव्र पीडालाई महसुस गरेको थियो; तर उसका नैतिक अनुभवहरू आफ्‍नो अनियन्‍त्रित जीवनद्वारा झन् झन् पतित बन्दै गएका थिए । अब उसको हृदय यति कठोर बन्नपुगेको थियो कि उसलाई हप्काउने साहस गरेकै कारण बप्‍तिस्मा-दिने यूहन्नालाई दिएको सजायको बारेमा घमण्ड समेत गर्नसक्‍ने अवस्थामा पुग्यो । हेरोदले आफूसित येशूलाई छुटकारा दिलाउने वा दोषी ठहराउने शक्ति छ भन्ने कुरालाई बारम्बार दोहोऱ्याउँदै उहाँलाई धम्की दिन थाल्यो । तर स्‍वर्गबाट कुनै चिन्ह देखा नपरेको हुनाले यो कुरालाई प्रमाणित गऱ्यो कि उहाँले सो बोलीलाई सुन्नुभयो ।PAP 76.1

    ख्रीष्‍टको यस मौनताद्वारा हेरोद क्रोधित बन्नपुग्यो । यसले उसको अधिकारमाथि पूर्ण बेवास्ता गरिए जस्तो भान भयो । एक घमण्डी तथा रवाफिलो राजाका निम्ति यसरी बेवास्ता गरिनुभन्दा खुला भर्त्सना कम आक्रामक सावित हुनेथियो । यसरी अझै पनि अविचलित रूपमा शान्त रहनुभएको येशूलाई उसले पुनः क्रोधका साथ धम्की दियो ।PAP 76.2

    यस संसारमा ख्रीष्‍टको जीवनको उद्देश्‍‍य फोस्रो जिज्ञासालाई सन्तुष्‍ट पार्नु थिएन । उहाँ भग्‍नहृदयीहरूलाई निको पार्न आउनुभयो । पापद्वारा ग्रसित हृदयको चोटलाई निको पार्ने हेतु भए उहाँ चुप लागेर बस्‍नुहुने थिएन । तर सत्यतालाई आफ्‍ना अपवित्र गोडामुनि कुल्‍चने मानिसहरूका निम्ति उहाँसँग कुनै वचन थिएनन् ।PAP 77.1

    ख्रीष्‍टले हेरोदसँग यस्ता कुराहरू बोल्‍न पनि सक्‍नुहुन्थ्यो जसले कठोर हृदययुक्त राजाको कानहरूलाई छेड्‍न सक्‍नेथिए । उहाँले उसको सामु उसका जीवनका सारा पापहरू तथा आउँदो दण्डलाई प्रकट गरी उसलाई भय तथा कम्पनद्वारा प्रहार गर्न सक्‍नुहुनेथियो । तर ख्रीष्‍टको मौनता नै उहाँले गर्न सक्‍नुहुने सबैभन्दा कठोर भर्त्सना थियो । हेरोदले सबैभन्दा महान् भविष्यवक्ताद्वारा बोलिएको सत्यतालाई इन्कार गरेको थियो, र अब उसले कुनै मानिसको वचनलाई ग्रहण गर्नेवाला थिएन । स्‍वर्गको सर्वशक्तिमान्‌सँग उसको लागि एक शब्द पनि थिएन । उहाँका जुन कानहरू मानवजातिका दुःख कष्‍टहरूप्रति सदा खुलेका थिए तिनमा अब हेरोदका आदेशहरूका निम्ति कुनै स्थान बाँकी थिएन । उहाँका जुन आँखाहरू करुणा तथा क्षमाशील प्रेमका साथ पश्‍चात्तापी पापीहरूमाथि केन्द्रित हुने गर्दथे तिनै आँखाहरूका एक झलक पनि हेरोदमाथि परेनन् । उहाँका जुन ओठहरूले सबैभन्दा प्रभावशाली सत्यताहरूलाई उच्‍चारण गरेका थिए, तथा सबैभन्दा कोमल पुकारक साथ पापी तथा पतित मानिसहरूका निम्ति बिन्ति गरेका थिए ती ओंठ अब त्यस घमण्डी राजाका निम्ति बन्द थिए जसले आफ्‍नो जीवनमा मुक्तिदाताको खाँचोको महसुस नै गरेन ।PAP 77.2

    आवेशका कारण हेरोदको अनुहार अँध्यारो बन्नपुग्यो । भीडतर्फ फर्कंदै उसले क्रोधको साथ येशूलाई एक छलीको रूपमा निन्दा गऱ्यो । तब उसले ख्रीष्‍टलाई यसो भन्यो, “यदि तिमी आफ्‍नो दावीप्रति कुनै प्रमाण दिंदैनौ भने म तिमीलाई सिपाही तथा मानिसहरूका हातमा सुम्पनेछु । सायद तिनीहरूले तिमीलाई बोल्‍न बाध्य तुल्याउन सक्‍नेछन् होला । यदि तिमी छली हौ भने तिनीहरूका हातबाट मृत्युको सामना गर्नु नै तिम्रो लागि योग्य कुरा ठहरिने छ; यदि तिमी परमेश्‍‍वरको पुत्र हौ भने एक आश्‍चर्य काम गरेर स्‍वयम् आफैलाई बचाऊ ।”PAP 78.1

    यी शब्दहरूलाई उच्‍चारण गरिनासाथ मानिसहरू ख्रीष्‍टमाथि जाइलागे । जंगली पशुहरूझैं भीड आफ्‍नो शिकारमाथि जाइलाग्यो । येशूलाई लछारपछार गरियो, र परमेश्‍‍वरको पुत्रलाई अपमान गर्ने क्रममा हेरोद पनि भीडमा सामेल हुनपुग्यो । यदि रोमी सेनाहरूले हस्तक्षेप नगरेका भए तथा आक्रोशित भीडलाई पछि नहटाएको भए मुुक्तिदातालाई टुक्रा टुक्रा पारिनेथियो ।PAP 78.2

    “हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्‍ला गरे । त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए ।” रोमी सेनाहरू पनि यस दुर्व्यवहारमा सामेल भए । हेरोद तथा प्रतिष्‍ठित यहूदीहरूद्वारा उक्साइएका कारण यी दुष्‍ट तथा भ्रष्‍ट सेनाहरू उहाँमाथि जाइलागे । तैपनि उहाँको ईश्‍‍वरीय धैर्यता विफल बन्नपुगेन ।PAP 78.3

    ख्रीष्‍टलाई सतावट गर्ने मानिसहरूले स्‍वयम् आफ्‍नै स्तरमुताविक उहाँको चरित्रलाई नाप्‍ने कोशिस गरेका थिए; र तिनीहरूले उहाँलाई आफूजस्तै दुष्‍ट कल्पना गरेका थिए । तर वर्तमान घटनाक्रममा अर्कै दृश्‍‍यले प्रवेश पायो -एक यस्तो दृष्‍ट जसलाई तिनीहरूले एक दिन यसको पूर्ण महिमामा देख्‍नेछन् । त्यहाँ केही यस्ता मानिसहरू पनि थिए जो ख्रीष्‍टको उपस्थितिमा काँप्‍नपुगेका थिए । जब भीडमा सामेल भएका अशिष्‍ट मानिसहरू उहाँको सामु खिल्‍ली गर्नमा तल्‍लीन थिए, तर तीमध्ये केही जो मानिसहरू सोहि उद्देश्‍‍यका साथ सरिक भएका थिए तिनीहरू डराउँदै चुप लाग्दै पछि हटे । हेरोद विश्‍‍वस्त हुनुपुग्यो । करुणा अन्तिम ज्योति उसको पापद्वारा कठोर बन्नपुगेको हृदयमा चम्किरहेको थियो । यो कुनै साधारण व्यक्ति होइन भनी उसले महसुस गऱ्यो; किनकि मानव स्‍वरूपमा ईश्‍‍वरीय शक्ति चम्किरहेको थियो । जब ख्रीष्‍ट खिल्‍ली गर्ने मानिसहरू, व्यभिचारीहरू, तथा हत्याराहरूद्वारा घेरिनुभएको थियो तब त्यसै बखत हेरोदले एक यस्तो महसुस गऱ्यो कि उसले सिंहासनमा विराजमान हुनुभएको परमेश्‍‍वरलाई देख्दैछ ।PAP 79.1

    हेरोद जति नै कठोर भएता पनि उसले ख्रीष्‍टमाथि लगाइएको प्रतिकूल फैसलालाई लागू गराउन सकेन । उसले त्यस भयानक जिम्मेवारीदेखि छुटकारा पाउने इच्छा गऱ्यो, र यसप्रकार उसले येशूलाई पुनः रोमी महलतर्फ पठायो ।PAP 79.2

    पिलातस अति निराश तथा बेखुसी बन्नपुगेको थियो । जब यहूदीहरू आफ्‍ना कैदीका साथ फर्किए तब पिलातसले धैर्यहीन बन्दै ती यहूदीहरूकै रायअनुसार येशूलाई के गरिनुपर्नेछ भनी प्रश्‍न गऱ्यो । उसले येशूलाई जाँचिसकेको छ र उहाँमा कुनै गल्ती फेला पारेको छैन भनी तिनीहरूलाई स्मरण गरायो; र उनीहरूले उहाँको विरुद्धमा उजुरी गरेता पनि आफूले लगाएका आरोपहरूमध्ये एक आरोपलाई पनि प्रमाणित गर्न सकेका थिएनन् भनी तिनीहरूले बताए । उसले येशूलाई गालीलको शासक हेरोदकहाँ पठाएको थियो जुन तिनीहरूकै राज्यको एक भाग थियो, तर उसले पनि उहाँमा मृत्यदण्ड दिने योग्य कुनै त्यस्तो कुरा फेला पार्न सकेन । “यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु ।”PAP 79.3

    यहाँ पिलातसले आफ्‍नो कमजोरी प्रकट गऱ्यो । उसले येशू निर्दोष हुनुहुन्छ भनी घोषणा गरेको थियो, तैपनि उहाँमाथि आरोप लगाउने मानिसहरूलाई शान्त पार्नका निम्ति ऊ उहाँलाई कोर्रा लगाउन राजी थियो । भीडसित सम्झौता गर्नका निम्ति ऊ न्याय तथा सिद्धान्त त्याग्‍न तयार भयो । यसले उसलाई समस्यामा पाऱ्यो । भीडले उसको अनिर्णयप्रति फाइदा उठायो, र कैदीविरुद्ध अझ थप होहल्‍ला मच्‍चायो । यदि पिलातस यसरी निर्दोष फेला परेको व्यक्तिलाई दण्ड दिन अस्‍वीकार गर्दै पहिलादेखि नै स्थिर रहेको भए उसले त्यो घातक सिक्रीलाई तोड्‍न सक्‍नेथियो जसले उसलाई आजीवनसम्मै पछुताउ तथा दोषमा बाँधिरहनेछ । यदि पिलातसले आफ्‍नो दृढ निश्‍चयमुताविक सत्यलाई अँगालेको भए यहूदीहरूले उसलाई आदेश दिने साहस गर्ने नै थिएन । ख्रीष्‍टलाई मारिने थियो, तर यसको दोष पिलातसमाथि आइपर्ने थिएन । तर पिलातसले पाइलैपिच्छे आफ्‍नो अन्तरात्मालाई भङ्ग गरिरहेको थियो । उसको न्याय तथा पक्षपातरहित फैसला गर्नुदेखि स्‍वयम् आफैलाई छुटकारा दिइएको थियो, र अब आफूलाई पूजाहारी तथा शासकहरूका हातमा असहायप्रायः पायो । उसको दोधारेपन तथा अनिर्णयले स्‍वयम् आफ्‍नै विनाशलाई निम्त्यायो ।PAP 80.1

    पिलातस अहिले पनि अन्धकारमा छाडिएको थिएन । जुन कार्य ऊ गर्न तम्तयार थियो त्यसप्रति परमेश्‍‍वरको सन्देशले उसलाई चेतावनी दिइसकेको थियो । ख्रीष्‍टको प्रार्थनाको जवाफस्‍वरूप पिलातसकी पत्‍नीलाई स्‍वर्गदूूतहरूले भेटिसकेका थिए, र तिनले सपनामा मुक्तिदातालाई देखेसकेकी थिइन्, र उहाँसित वार्तालाप पनि गरेकी थिइन् । पिलातसकी पत्‍नी यहूदी थिइन्, तर जब तिनले आफ्‍नो सपनामा येशूतर्फ हेरिन तब तिनले उहाँको चरित्र तथा जीवनको उद्देश्‍‍यको बारेमा कुनै शंका गरिनन् । तिनले उहाँलाई परमेश्‍‍वरको राजकुमारको रूपमा चिनिन् । तिनले उहाँलाई पुर्पक्षको समयमा महलमा देखेकी थिइन् । तिनले एक कैदीलाईझैं उहाँका हातहरूलाई कस्सिएर बाँधिएको देखिन् । तिनले हेरोद तथा उसका सेनाहरूले आफ्‍ना भयानक कार्यहरू गरिरहेका देखिन् । तिनले पूजाहारी तथा शासकहरूले ईर्ष्या तथा शत्रुभावका कारण उन्मत्त हुँदै आरोप लगाइरहेको देखिन् । “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नेपर्छ ।” उनले आफ्‍नो सपनामा पिलातसले “म यिनमा केही दोष भेट्टाउँदिन” भनी घोषणा गरिसकेपछि येशूलाई कोर्रा लगाइन छाडिएको दृश्‍‍य देखिन् । तिनले पिलातसले दण्डको घोषणा गरेको सुनिन् तथा ख्रीष्‍टलाई उहाँका हत्याराहरूका हातमा सुम्पिएको दृश्‍‍य देखिन् । तिनले कलवरीमा क्रूस टाँगिएको देखिन् । तिनले पृथ्वी अन्धकार बन्नपुगेको देखिन् तथा “अब सिद्धियो” भन्ने रहस्यमयी आवाजलाई सुनिन् । तिनले अर्को दृश्‍‍य पनि देखिन् । तिनले ख्रीष्‍ट विशाल सेतो बादलमा आसन्न हुनुभएको देखिन्, पृथ्वी अन्तरिक्षमा घुमिरहेको थियो भने उहाँका हत्याराहरू उहाँको महिमाको उपस्थितिदेखि भागिरहेका थिए । भयको चित्कारका साथ उनी बिउँझिइन्, र तत्कालै उनले पिलातसलाई चेतावनीपूर्ण कुराहरू लेखिन् ।PAP 81.1

    जसै पिलातस अब के गर्ने भनी हिच्‍किचाइरहेको थियो तब भीडलाई चिर्दै एक सन्देशवाहक अगाडी बढ्‍यो र उसलाई आफ्‍नी पत्‍नीको एक पत्र थमायो जसमा यसरी लेखिएका थियो: “त्यस निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि आज सपनामा तिनको कारण मैले धेरै दुःख भोगेकी छु ।”PAP 82.1

    पिलातसको अनुहार फिका बन्नपुग्यो । ऊ स्‍वयम् आफ्‍नै बाझिँदो भावनाहरूद्वारा अलमलमा पऱ्यो । अब पिलातस मामलालाई पार लगाउन विलम्ब गरिरहेको थियो तब पूजाहारी तथा शासकहरूले मानिसहरूका मनलाई थप उत्तेजित गरिहरेका थिए । पिलातसलाई कार्य सम्पादन गर्नेतर्फ तल्‍लीन रहन बाध्य तुल्याइयो । अब उसले त्यस विधिको बारेमा सोंच्यो जसले सायद ख्रीष्‍टलाई छुटकारा दिलाउनमा मद्दत गर्नेछ । मानिसहरूका रोजाइमुताविक यस चाडमा कैदीलाई छुटकारा प्रदान गर्नु एक चलन थियो । यस चलनलाई मूर्तिपूजकहरूले आविष्कार गरेका थिए; यसमा न्यायको कुनै एक छाया पनि थिएन, तर यहूदीहरूमाझ यो अति नै प्रचलित चलन थियो । रोमी शासकहरूले यतिखेर बारब्‍बा नाउँका एक कैदीलाई मृत्युदण्डको सजाय दिनका निम्ति कैदी बनाइराखेका थिए । यस व्यक्तिले स्‍वयम्‌लाई एक मसिहको रूपमा दाबी गरेको थियो । संसारलाई शुद्ध गर्न तथा अकै सिलसिला स्थापना गर्नका निम्ति उसले अधिकारको दाबी गरेको थियो । शैतानको भ्रमयुक्त प्रभावद्वारा उसले जे-जति हासिल गर्न सक्‍नेछ ती सबै उसकै हुन् भनी दाबी गऱ्यो । उसले शैतानका माध्यमहरूद्वारा अद्‍‌भुत कार्यहरू गरेको थियो र यी मानिसहरूलाई आफ्‍नो पक्षमा जितेको थियो, तथा रोमी सरकारविरुद्ध विद्रोह भड्‍काएको थियो । धार्मिक उत्साहको भेषमुनि ऊ विद्रोह तथा क्रूरतामा तल्‍लीन एक कठोर तथा हिंसात्मक दुष्‍ट थियो । पिलातसले मानिसहरूलाई बारब्‍बा तथा निर्दोष मुक्तिदाताका बीचमा एकलाई रोज्‍ने मौका दिंदै तिनीहरूमा न्यायको चेतना जगाउने बिचार गऱ्यो । पूजाहारी तथा शासकहरूका बिचारविरुद्ध उसले येशूप्रति ती मानिसहरूका सहानुभूति प्राप्‍त गर्ने आशा राखेको थियो । भीडतर्फ फर्कंदै उसले अधिक उत्सुकताका साथ यसरी प्रश्‍न गऱ्यो, “तिमीहरू के चाहान्छौ ? म तिनीहरूका निम्ति कसलाई छोडिदिउँ ? बारब्‍बा कि ख्रीष्‍ट कहलाइने येशूलाई ?”PAP 82.2

    जंगली पशुहरूका गर्जनझैं भीडको जवाफ यसरी आयो, “हाम्रा निम्ति बारब्‍बालाई छोडिदिनुहोस् !” बारब्‍बा ! बारब्‍बा ! भन्दै मानिसहरू झन् झन् चर्को आवाजका साथ चिच्याउन थाले । मानिसहरुले आफ्‍नो प्रश्‍न बुझेनन् कि भनी पिलातसले पुनः यसरी प्रश्‍न गऱ्यो, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ ?” तर तिनीहरू पुनः यसो भन्दै कराए, “यसलाई हटाउनुहोस् र हाम्रा निम्ति बारब्‍बालाई छोडिदिनुहोस् !” पिलातसले “तब ख्रीष्‍ट कहलाइने येशूलाई चाहिँ म के गरुँ त ?” भनी प्रश्‍न गऱ्यो । उर्लदो भीड पुनः भूतहरू जस्तै गर्जन पुग्यो । वास्तवमा भूतहरू मानव रूपमै मानिसहरूका जमातमाझ उपस्थित थिए र तिनीहरूबाट “त्यो क्रूसमा टाँगियोस्” भन्ने जवाफबाहेक अरू के नै आशा राख्‍न सकिन्थ्यो र ?PAP 83.1

    पिलातस संकटमा पऱ्यो । उसले मामला यो अवस्थासम्म आउनेछ होला भनी कल्पना समेत गरेको थिएन । ऊ निर्दोष व्यक्तिलाई सर्वाधिक अपमानजनक तथा क्रूर मृत्युको सामना गराउन भीडको नियन्‍‍त्रणमा सुम्पन चाहँदैनथ्यो । जब मानिसहरूका होहल्‍लाको क्रम बन्द भयो तब उसले तिनीहरूतर्फ फर्कंदै भन्यो, “किन ? तिनले के अपरध गरेका छन् र ?” तर यो मामला विवाददेखि धेरै पर पुगिसकेको थियो । तिनीहरूले ख्रीष्‍टको निर्दोषिताको प्रमाण होइन तर उहाँलाई दोषी ठहराउन चाहेका थिए ।PAP 84.1

    पिलातसले अझै पनि उहाँलाई बचाउने प्रयत्‍न गऱ्यो । उसले तिनीहरूलाई तेस्रोपटक पनि “किन ? तिनले के अपराध गरेका छन् र ?” भनी प्रश्‍न गऱ्यो । तर उहाँलाई मुक्त गर्ने उल्‍लेखले मात्र समेत मानिसहरूलाई दश गुणा बढी क्रोधित तुल्यायो । “त्यो क्रूसमा टाँगियोस्” भन्दै तिनीहरू कराए । पिलातसको अनिर्णयका कारण उत्पन्न भएको तुफानले झन् झन् उग्र रूप लिनपुग्यो ।PAP 84.2

    येशूलाई लगियो, उहाँ थकानद्वारा असक्त बन्नुभएको थियो, उहाँको शरीर चोटै चोटले भरिएको थियो र सबैको सामु उहाँलाई कोर्रा लगाइयो । “सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात् महलभित्र लगे, र सबै पल्टनलाई भेला गराए । अनि तिनीहरूले उहाँलाई बैजनी रंगको बस्‍‌त्र लगाइदिए, र काँढाहरूको मुकुट उहाँको शिरमा लगाइदिए, अनि यहूदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे । र तिनीहरूले ... उहाँलाई थुके, घुँडा टेकेर उहाँलाई दण्डवत् गरे ।” कुनै दुष्‍ट मानिसहरूले मौका छोपेर उहाँको हातमा भएको निगालोलाई खोसे, र उहाँको निधारमा राखिएको काँडे मुकुटलाई दबिनेगरी हल्‍लाए जसका कारण उहाँको अनुहार रक्ताम्य बन्नपुग्यो ।PAP 84.3

    हे स्‍वर्गलोक यो कस्तो अचम्म ! हे पृथ्वी चकित होऊ ! अत्याचारी तथा अत्याचारमा परेका दुबै पक्षतर्फ नजर लगाऊ । उन्माद भीडले संसारको मुक्तिदातालाई घेरेको थियो । ईश्‍‍वर-निन्दक कर्कश शपथहरूमा खिसी अनि ठट्टा मिसिएका थिए । उहाँको निम्‍नस्तरको जन्म तथा नम्र जीनवको बारेमा भीडले भावनारहित तवरले टिप्पणी गरे । परमेश्‍‍वरको पुत्रको रूपमा उहाँले गर्नुभएको दाबीलाई तिरस्कार गरियो, र हरेक ओंठदेखि अभद्र तथा अपमानजनक ठट्टा सुन्न सकिन्थ्यो ।PAP 85.1

    मुक्तिदातालाई दुर्व्यवहार गर्ने क्रममा शैतानले भीडको नेतृत्‍व गऱ्यो । उहाँलाई बदलाको भावनातर्फ उक्साउनु, वा स्‍वयम् आफैलाई छुटकारा दिलाउन एक आश्‍चर्य काम गर्न बाध्य तुल्याउनु र यसप्रकार मुक्तिको योजनालाई तोड्‍नु नै शैतानको उद्देश्‍‍य थियो । उहाँको मावन जीवनमा एकमात्र दाग लागेको भए, उहाँको मानव देह त्यस भयानक जाँचमाथि केवल एकपटक मात्र असफल भएको भए पनि परमेश्‍‍वरको थुमा एक अपूर्ण बलि बन्नुहुने थियो, र मानिसको उद्धारको योजना असफल बन्ने थियो । तर उहाँ, जो केवल एक आदेशद्वारा स्‍वर्गदूतहरूलाई उहाँको सहायतार्थ ल्याउन सक्षम हुनुुहुन्थ्यो— जसले उहाँको ईश्‍‍वरीय महिमाको ज्योतिद्वारा भीडलाई भयका साथ यत्रतत्र भगाउन सक्‍नुहुने थियो, उहाँले मानिसहरूका सबैभन्दा कठोर तिरस्कार तथा हिंसालाई पनि पूर्ण शान्तपूर्वक सहनुभयो ।PAP 85.2

    ख्रीष्‍टका शत्रुहरूले उहाँको ईश्‍‍वरत्‍वको प्रमाणस्‍वरूप एक आश्‍चर्य कामको माग राखेका थिए । तिनीहरूका सामु उनीहरूले खोजेभन्दा धेरै गुणा ठूलो प्रमाण थियो । जसै उहाँलाई तड्‍पाउने मानिसहरूका क्रूरताले तिनीहरूलाई मानवतादेखि तल्‍लो तहसम्म गिरायो, येशूको नम्रता र धैर्यताले उहाँलाई मानवतादेखि माथि उचाल्यो, र परमेश्‍‍वरसँगको उहाँको सम्बधनलाई प्रमाणित गऱ्यो । उहाँको अनादर नै उहाँको उत्कर्षको धितो थियो । उहाँको घाइते निधारदेखि जुन वेदनाका रगतका थोपाहरू उहाँको अनुहारमा परे ती हाम्रा प्रधान पूजाहारीका रूपमा उहाँले “हर्षको तेलद्वारा” (हिब्रू १:९) अभिषेक गर्नुभएको धितो समान थिए ।PAP 86.1

    जब शैतानले मुक्तिदातामाथि खन्याइएको सारा दुर्व्यवहारमार्फत् पनि उहाँको ओंठदेखि न्यून असन्तोषयुक्त बोली पनि उत्पन्न गर्न असफल भएको देख्यो तब ऊ अति क्रोधित बन्न पुग्यो । यद्यपि उहाँले मानव रूप धारण गर्नुभएको थियो, उहाँले ईश्‍‍वरीय सहनशीलतालाई कायम राख्‍नुभयो, र कुनै रितले पनि उहाँको पिताको इच्छालाई उल्‍लङ्घन गर्नुभएन ।PAP 86.2

    जब पिलातसले येशूलाई कोर्रा लगायो तथा खिल्‍ली उडाइनका निम्ति भीडको सामु सुम्प्यो तब उसले भीडको दयालाई उत्तेजित पार्ने बिचार राखेको थियो । भीडले यहीं यथेष्‍ट सजाय हो भनी निर्णय लिनेछन् भनी उसले आशा राखेको थियो । अब पूजाहारीहरूका शत्रुभाव पनि रद्द हुनेछ भनी उसले बिचार लियो । तर तीखो अन्तर्दृष्‍टिका साथ यहूदीहरूले निर्दोष घोषित गरिएको व्यक्तिलाई यसरी सजाय दिने क्रममा कमजोरी देखे । पिलातसले कैदीको जीवन बचाउने कोशिस गर्दैछ भनी तिनीहरूलाई थाहा थियो, र येशूलाई छुटकारा प्रदान गरिनुहुन्न भनी तिनीहरूले निश्‍चय गरे । तिनीहरूले यो सोंचे कि हामीलाई खुशी तुल्याउन तथा सन्तुष्‍ट पार्नका निम्ति पिलातसले येशूलाई कोर्रा लगाएको हो, र यदि हामीले निश्‍चित मामलालाई अझ जोर गरेको खण्डमा हामीले अवश्‍‍य पनि सफलता हात पार्नेछौं ।PAP 86.3

    पिलातसले बारब्‍बालाई अब न्याय सभातर्फ बोलाई पठायो । तब उसले दुई कैदीहरूलाई सँगै उभ्याई मुक्तिदातातर्फ औंल्याउँदै गम्भीर अनुरोधका साथ भन्यो, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्छु, म यिनमा केही दोष पाउँदिन ।”PAP 87.1

    परमेश्‍‍वरको पुुत्र अपमानको बस्‍‌त्र तथा काँढे मुकुटका साथ खडा हुनुहुन्थ्यो । उहाँलाई कम्मरसम्म बस्‍‌त्रहीन तुल्याइएको थियो, र उहाँको आङभरि कोर्राको लामा धर्साहरू देखिन्थे जसबाट अत्यधिकमात्रामा रगत बहिरहेको थियो । उहाँको अनुहार रक्ताम्य थियो, जसमा थकान तथा पीडा झल्किन्थ्यो; तर यसभन्दा पहिले उहाँको मुहार यति सुन्दर कहिल्यै देखापरेको थिएन । मुक्तिदाताको अनुहार उहाँका शत्रुहरूका सामु कुरूप बन्न पुगेन । उहाँको अनुहारका हरेक रूपले उहाँका क्रूर शत्रुहरूप्रति कोमलता, सहनशीलता, तथा करुणा व्यक्त गरेको थियो । उहाँको स्‍वभावमा कुनै कायरपनको कमजोरी थिएन, यसको सट्टा शक्ति तथा सहनशीलताको प्रतिष्‍ठा झल्किन्थ्यो । उहाँसँगै उभिएको कैदीको स्‍वभाव पूर्णरूपमा विपरित थियो । बारब्‍बाको अनुहारको हरेक भावले उसलाई एक कठोर अराजक किसिमको व्यक्तिको रूपमा घोषणा गरिरहेको थियो । हेर्ने जति सबैले सो भिन्नतालाई देखे । केही दर्शकहरू रुँदैथिए । जब तिनीहरूले येशूतर्फ हेरे तब तिनीहरूका हृदय करुणाले भरिनपुगे । पूजाहारी तथा शासकहरू पनि स्‍वयम् उहाँ आफैले दावी गर्नुभएमुताविक परमेश्‍‍वरको पुत्र हुनुहुन्छ भनी विश्‍‍वस्त भएका थिए ।PAP 87.2

    ख्रीष्‍टलाई घेर्नेजति सबै रोमी सेनाहरू कठोर थिएनन्; तीमध्ये केहीले उहाँको अनुहारमा उत्सुकतापूर्वक उहाँ अपराधी वा खतरनाक व्यक्तित्‍व हुनुहुन्छ भन्ने प्रमाणको खोजी गरिरहेका थिए । तिनीहरू कहिलेकाहिँ बारब्‍बामाथि घृणाको दृष्‍टि लगाउने गर्दथे । बारब्‍बाको जीवनीलाई वारपार पढ्‍न कुनै गहिरो अन्तर्दृष्‍टिको आवश्‍‍यकता थिएन । तिनीहरूले पुर्पक्षमा पर्नुभएको ख्रीष्‍टतर्फ पुनः आफ्‍ना नजर लगाए । तिनीहरूले परमेश्‍‍वरको पुत्रतर्फ गहिरो दयाको भावनाका साथ दृष्‍टि लगाए । ख्रीष्‍टको मुख दीनताले तिनीहरूका मनमा एक यस्तो दृश्‍‍यको छाप बसाल्यो जुन छापलाई तिनीहरूले या त उहाँलाई ख्रीष्‍टको रूपमा स्‍वीकार नगरेसम्म वा उहाँलाई इन्कार गर्ने क्रमद्वारा आफ्‍नो भाग्य निर्धारण नगरेसम्म मेटाउन सक्‍नेछैनन् ।PAP 88.1

    पिलातस मुक्तिदाताको गुनासोरहित धैर्यताप्रति अचम्म बनेको थियो । बारब्‍बाको तुलनामा उहाँको व्यक्तित्‍वले यहूदीहरूका सहानुभूतिलाई जगाउनेछ भन्ने बिषयमा उसले शंका गरेन । तर उहाँप्रति पूजाहारीहरूका तीव्र शत्रुताको बारेमा उसले बुझेको थिएन, जसले संसारको ज्योतिको हैसियतले तिनीहरूका अन्धकार तथा भूलहरूलाई प्रकट गर्नुभएको थियो । तिनीहरूले भीडलाई उन्मक्त उग्रतातर्फ डोऱ्याइसकेका थिए, र पुनः पूजाहारी, शासक, तथा मानिसहरू यसरी चर्को स्‍वरमा कराए, “क्रूसमा टाँग्‍नुहोस्, क्रूसमा टाँग्‍नुहोस् ।” अन्त्यमा तिनीहरूका अविवेकशील क्रूरताका कारण सबै धैर्यता गुमाई पिलातसले निराशपूर्वक यसो भन्यो, “तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिन ।”PAP 88.2

    रोमी शासक क्रूर दृश्‍‍यहरूप्रति परिचित भएता पनि पीडित कैदीप्रति (ख्रीष्‍टप्रति) सहानुभूतिको भावनाद्वारा भरिपूर्ण थियो; जसलाई दोषी ठहराइयो, कोर्रा लगाइयो, चोटले भरिएको रक्ताम्य निधार तथा आङका साथ पनि उहाँको अनुहारमा एक राजाको जस्तै ढाँचा झल्किन्थ्यो । तर पूजाहारीहरूले यसरी घोषणा गरे, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्‍‍वरको पुत्र तुल्याएको छ ।”PAP 89.1

    पिलातस चकित बन्नपुग्यो । उसँग ख्रीष्‍ट तथा उहाँको जीवनको उद्धेश्‍‍यको बारेमा कुनै सही धारणा थिएन; तर परमेश्‍‍वरमाथि तथा मानवजाति भन्दा उच्‍च स्तरको अस्तित्‍वमाथि एक अस्पष्‍ट विश्‍‍वास थियो । यसभन्दा पहिले उसको मनमा जुन बिचार उत्पन्न भएको थियो यसले अझ निश्‍चित आकार लियो । अपमानको प्याजी बस्‍‌त्र तथा काँडे मुकुटका साथ उसको सामु उभिनुभएको व्यक्ति एक ईश्‍‍वरीय अस्तित्‍व त हुनुहुन्न ? भनी उसले प्रश्‍न गऱ्यो ।PAP 89.2

    ऊ पुनः न्याय आसनतर्फ गयो अनि “तिमी कहाँका हौ ?” भनी प्रश्‍न गऱ्यो । तर मुक्तिदाताले कुनै जवाफ दिनुभएन । मुक्तिदाताले सत्यताको गवाहीको रूपमा आफ्‍नो जीवनको उद्धेश्‍‍यको बारेमा व्याख्या गर्दै पिलातससँग स्‍वतन्‍‍त्ररूपमा बोल्‍नुभएको थियो । पिलातसले ज्योतिलाई इन्कार गरेको थियो । उसले भीडको मागहरूप्रति आफ्‍नो सिद्धान्त तथा अधिकारलाई समर्पण गर्दै न्यायधीशजस्तो उच्‍च ओहदाको दुरूपयोग गरेको थियो । उसका लागि येशूसँग थप कुनै ज्योति थिएन । उहाँको मौनताप्रति हैरान हुँदै पिलातसले अहंकारपूर्वक यसो भन्यो, “के तिमी मसँग बोल्दैनौ ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्‍ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन ?”PAP 90.1

    येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन । यसकारण मलाई तपाईंको हातमा सुम्पिदिने अझ बढी पापको दोषी छ ।”PAP 90.2

    यसप्रकार करुणामयी मुक्तिदाताले आफ्‍नो तीव्र पीडा तथा शोकका बाबजुद रोमी शासकको त्यस व्यवहारलाई यथाशक्‍य माफ गर्नुभयो जसले उहाँलाई क्रूसमा टाँगिनका निम्ति सुम्पेको थियो । संसारमा सदाका लागि हस्तान्तरण गरिंदै लगिने यो कस्तो दुःखदायी दृश्‍‍य ! यसले सारा जगतका न्यायधीश ख्रीष्‍टको चरित्रमाथि कस्तो प्रकाश छर्दछ !PAP 90.3

    येशूले भन्नुभयो, “मलाई तपाईंका हातमा सुम्पिदिने अझ बढी पापको दोषी छ ।” यहाँ ख्रीष्‍टको तात्पर्य कैयाफा थियो, जसले एक प्रधान पूजाहारीको हैसियतले यहूदी राज्यको प्रतिनिधित्‍व गर्दथ्यो । रोमी शासकहरूलाई कुन सिद्धान्तहरूले नियन्‍त्रित गर्दछ भनी तिनीहरूलाई थाहा थियो । स्‍वयम् ख्रीष्‍टकै शिक्षा तथा आश्‍चर्य कामहरूमार्फत तिनीहरूले ख्रीष्‍टको बारेमा गवाही दिने भविष्यवाणीको प्रकाश पाएका थिए । यहूदी न्यायधीशहरूले जुन ख्रीष्‍टलाई मृत्युदण्डको घोषणा सुनाएका थिए तिनीहरूले उहाँको ईश्‍‍वरत्‍वको बारेमा अचूक प्रमाण प्राप्‍त गरेका थिए तिनीहरूले प्राप्‍त गरेका थिए । र तिनीहरूले प्राप्‍त गरेका प्रकाशमुताविक नै तिनीहरूका इन्साफ गरिनेछ ।PAP 90.4

    राज्यको सर्वोच्‍च ओहदा ओगट्‍ने व्यक्तित्‍वहरू जो पवित्र विश्‍‍वासको जिम्मा लिने मानिसहरू थिए तिनीहरूले नै नीचरूपमा विश्‍‍वासघात गरेका हुनाले तिनीहरू सर्वाधिक दोषी थिए तथा उनीहरूमाथि गहन जिम्मेवारी थियो । पिलातस, हेरोद, तथा रोमी सेनाहरू तुलनात्मकरूपमा येशूको बारेमा अनभिज्ञ थिए । उहाँको दुर्व्यवहार गर्दै तिनीहरूले पूजाहारी तथा शासकहरूलाई प्रसन्न तुल्याउने बिचार लिएका थिए । यहूदी राज्यले प्रचुरमात्रामा जुन ज्योति प्राप्‍त गरेका थिए सो ज्योति रोमी अधिकारीहरूसँग थिएन । यदि सेनाहरूले ज्योति प्राप्‍त गरेका भए तिनीहरूले ख्र्रीष्‍टलाई त्यसप्रकार क्रूररूपमा व्यवहार गर्ने थिएनन् ।PAP 91.1

    पिलातसले पुनः मुक्तिदातालाई फुकुवा गर्ने प्रस्ताव राख्यो । “तर यहूदीहरू यसो भन्दै कराए, यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्न ।” यसरी ती पाखण्डीहरूले कसैरको अधिकार संरक्षणमा व्यग्र भएका रूपमा बहाना बनाए । यहूदी तथा रोमी शासनबीच सर्वाधिक तीतो सम्बन्ध कायम थियो । उपयुक्त समयमा तिनीहरू आफ्‍ना राष्‍ट्रिय तथा धार्मिक दायित्‍वहरूलाई लागू गर्न अति स्‍वेच्छाचारी व्यवहार प्रकट गर्ने गर्दथे; तर जब तिनीहरू क्रूर उद्देश्‍‍यलाई पूरा गर्न चाहन्थे तब कैसरको प्रशंसा गर्ने गर्दथे । यहूदीहरूले ख्रीष्‍टलाई नाश गर्नका निम्ति आफूले घृणा गर्ने विदेशी कानूनप्रति बफादारी जनाए ।PAP 91.2

    “आफैलाई राजा भनी दाबी गर्ने प्रत्येक कैसरको विरुद्धमा खडा हुन्छ” भनी तिनीहरूले बताए । यस कथनले पिलातसलाई उसको एक कमजोर बुँदामा छोइरहेको थियो । पिलातस रोमी सरकारको सन्देशको घेराभित्र थियो, र यसप्रकारको उजुरी उसको लागि विनाश सावित हुनसक्‍नेछ भनी उसलाई थाहा थियो । यदि यहूदीहरूका योजनालाई विफल पार्ने कोशिस गरिएको खण्डमा तिनीहरूका क्रोध स्‍वयम् आफैविरुद्ध आइपर्नेछ भनी पिलातसलाई थाहा थियो । आफ्‍ना बदलाको भावनालाई पूरा गर्नका निम्ति तिनीहरूले कुनै कसर बाँकी छोड्‍नेछैनन् । उसको सामु तिनीहरूका त्यो संकल्पको उदाहरण थियो जुन संकल्पका साथ तिनीहरूले बिनाकारण नै निर्दोष येशूलाई घृणा गरेका तथा उहाँको जीवन लिने चेष्‍टा गरेका थिए ।PAP 92.1

    पिलातसले पुनः आफ्‍नो न्याय आसन ग्रहण गऱ्यो, र यसो भन्दै मानिसहरूका सामु येशूलाई प्रस्तुत गऱ्यो, “हेर, तिमीहरूका राजा !” तब यो गर्जन सुनियो, “लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस् ।” नजिक तथा टाढादेखि सुन्न सकिने आवाजका साथ पिलातसले यसरी प्रश्‍न गऱ्यो, “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ ?” तर अपवित्र तथा ईश्‍‍वर-निन्दक मानिसहरूदेखि यी शब्दहरू आए, “कैसरबाहेक हाम्रो अरू राजा छैन ।”PAP 92.2

    यसप्रकार अन्यजातिमध्येका शासकलाई रोजेर यहूदी राज्य ईश्‍‍वरप्रभुत्‍वदेखि पछि हट्‍दैथियो । तिनीहरूले परमेश्‍‍वरलाई आफ्‍ना राजाका रूपमा इन्कार गरेका थिए, तसर्थ तिनीहरूसँग अब कुनै मुक्तिदाता थिएन । तिनीहरूसँग कैसरबाहेक अन्य कुनै राजा थिएन । पूजाहारी तथा गुरुहरूले मानिसहरूलाई यसै क्रमतर्फ डोऱ्याइरहेका थिए । यसपछि जे जति भयानक परिणामहरू आइपरे त्यसका निम्ति तिनीहरू जवाफदेही थिए । धार्मिक गुरुहरूकै कारण सारा राज्य पापमा डुब्‍नपुगेको तथा विनाश हुनपुगेको थियो ।PAP 93.1

    “तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्‍चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीडको सामु आफ्‍ना हात धोएर भने, तिमीहरू आफै जान, यस मानिसको रगतदेखि निर्दोष छु ।” भय तथा आत्मादोषको भावनाका साथ पिलातसले मुक्तिदातार्फ हेऱ्यो । असंख्य जनसमूहको अनुहारका सामु केवल उहाँको अनुहार मात्र शान्तमय देखिन्थ्यो । उहाँको शिर वरिपरि कोमल ज्योति चम्किएको भान हुन्थ्यो । उहाँ परमेश्‍‍वर हुनुहुन्छ भनी पिलातसले आफ्‍नो हृदयमा भन्यो । भीडतर्फ फर्कंदै उसले यसरी घोषणा गऱ्यो, “म यस मानिसको रगतदेखि निर्दोष छु । तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग । तर पूजाहारी तथा शासकहरू तपाईंहरूले यो कुरालाई ध्यान दिनुहोस् कि मैले यस मानिसलाई निर्दोष घोषणा गरेको छु । जसलाई यस मानिसले आफ्‍नो पिताको रूपमा दाबी गरेका छन् उनले नै मलाई होइन, तर तिमीहरूलाई यस दिनको कार्यको निम्ति इन्साफ गरुन् । यस निर्णयका निम्ति मलाई माफ गर, म तिमीलाई बचाउन सक्तिन ।” र उसले येशूलाई पुनः कोर्रा लगाइसकेपछि उहाँलाई क्रूसमा टाँगिनका निम्ति हस्तान्तरण गऱ्यो ।PAP 93.2

    पिलातसले येशूलाई छुटकारा दिलाउने इच्छा गरेको थियो । तर उहाँलाई छुटकारा पनि दिलाउने अनि आफ्‍नो पद तथा सम्मान पनि कायम राख्‍नु असम्भव छ भन्ने कुरालाई उसले बुझ्यो । आफ्‍नो संसारिक अधिकार गुमाउनुको सट्टा उसले निर्दोष जीवन बलिदान गर्ने रोजाई गऱ्यो । कैयौं मानिसहरू हानि वा पीडादेखि बाँच्‍नका निम्ति यसरी नै सिद्धान्तलाई त्याग्‍ने गर्दछन् । अन्तरात्मा तथा कर्तव्यले एकतर्फ औंल्याइरहेको हुन्छ भन्ने स्‍वार्थले चाहिँ अर्कै दिशातर्फ औंल्याइरहेको हुन्छ । प्रवाह तीव्ररूपमा गलत दिशामा बगिरहेको हुन्छ, र जुन मानिसले दुष्‍टतासित सम्झौता गर्ने गर्दछ ऊ लाई दोषको घोर अन्धकारतर्फ बगाएर लान्छ ।PAP 94.1

    पिलातसले भीडको मागलाई मञ्‍जुर गऱ्यो । आफ्‍नो पदलाई गुमाउने जोखिम उठाउनुको सट्टा उसले येशूलाई क्रूसमा चढाउनका निम्ति सुम्पिदियो । तर आफ्‍नो होशियारीका बाबजुद जुन कुरामाथि उसलाई डर थियो त्यही कुरा ऊमाथि आइलाग्यो । उसका सम्मानहरूलाई खोसियो, उसलाई आफ्‍नो उच्‍च पददेखि बर्खास्त गरियो, र पछुतोले डसेको कारण तथा घमण्डले चोट पुऱ्याएको कारण येशूलाई क्रूसमा टाँगिएको अल्प समयपछि नै उसले स्‍वयम् आफ्‍नै जीवन समाप्‍त पाऱ्यो । तसर्थ पापसित सम्झौता गर्नेहरूले केवल पीडा तथा विनाशको सामना गर्नुपर्नेछ । “कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुऱ्याउँछ ।” हितोपदेश १४:१२ ।PAP 94.2

    जब पिलातसले स्‍वयम् आफैलाई ख्रीष्‍टको रगतप्रति निर्दोष रहेको रूपमा घोषणा गऱ्यो तब कैयाफाले ठाडोरूपमा यसरी जवाफ दियो, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” पूजाहारी तथा शासकहरूले यस उग्र वचनलाई स्‍वीकार गरे, र जनसमूहले पनि चर्को अमानवीय आवाजका साथ यहीं कुरालाई दोहोऱ्याए । भीडबाट पनि यस्तो जवाफ आयो, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।”PAP 94.3

    इस्राएलीहरूले आफ्‍ना रोजाई गरेका थिए । येशूतर्फ औंल्याउँदै तिनीहरूले यसो भने, “यसलाई होइन, तर बारब्‍बालाई ।” बारब्‍बा चोर तथा हत्याराको रूपमा शैतानको प्रतिरूप थियो । ख्रीष्‍ट परमेश्‍‍वरको प्रतिरूप हुनुहुन्थ्यो । ख्रीष्‍टलाई इन्कार गरिएको थियो भने बारब्‍बालाई चाहिँ स्‍वीकार गरिएको थियो । बारब्‍बा तिनीहरूका साथ हुनेछ । यस रोजाइद्वारा तिनीहरूले एक यस्तो व्यक्तिलाई स्‍वीकार गरे जो पहिल्यैदेखि छली तथा हत्यारा थियो । शैतान नै तिनीहरूका अगुवा थियो । एक राज्यको हैसियतले तिनीहरूले उसको आदेशलाई पालना गर्नेछन् । तिनीहरूले उसका कार्यहरूलाई पूरा गर्नेछन् । तिनीहरूले उसको नियमलाई सहनुपर्नेछ । ख्रीष्‍टको स्थानमा बारब्‍बालाई रोजेका कारण तिनीहरूले बारब्‍बाको क्रूरतालाई महसुस गर्नुपर्नेछ ।PAP 95.1

    परमेश्‍‍वरको प्रहार गरिएको थुमातर्फ नजर लगाउँदै यहूदीहरूले चर्को सोरका साथ यसरी भनेका थिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” त्यो भयानक पुकार परमेश्‍‍वरको सिंहासनसम्मै पुग्यो । स्‍वयम् तिनीहरू आफैमाथि उच्‍चारण गरिएको त्यो वाक्‍य स्‍वर्गमा लेखिएको थियो । त्यो प्रार्थनाको सुनुवाई भयो । परमेश्‍‍वरको पुत्रको रगत तिनीहरूका सन्तान तथा भावी पुस्ताहरूमाथि एक निरन्तरको श्रापका रूपमा कायम रहन पुग्यो ।PAP 95.2

    यो कुरा यरुशलेमको विनाशमार्फत् भयानकरूपमा पूरा हुन आयो । यो कुरा यहूदी राज्यको अठार सय वर्षसम्मको अवस्थामार्फत् भयानकरूपमा प्रकट हुन आएको थियो,— जुन राज्य दाखको बोटदेखि अलग हुनपुगेको मृत फलरहित हाँगा सरह थियो, जसलाई बटुलेर जलाइनुपर्ने थियो । तिनीहरू संसारभरि एक ठाउँदेखि अर्को ठाउँमा भौंतारिएर तथा शताब्दीऔंसम्म मरेतुल्य अपराध तथा पापहरूमा डुब्‍न पुगे ।PAP 96.1

    महान् इन्साफको दिनमा त्यो प्रार्थना भयानकरूपमा पूरा हुनेछ । जब ख्रीष्‍ट पुनः यस संसारमा आउनुहुनेछ तब उहाँलाई भीडले घेरेका रूपमा मानिसहरूले देख्‍नेछैनन् । तिनीहरूले उहाँलाई स्‍वर्गको राजाको रूपमा देख्‍नेछन् । ख्रीष्‍ट स्‍वयम् आफ्‍नै महिमाका साथ, उहाँको पिताको महिमाका साथ तथा पवित्र स्‍वर्गदूतहरूका महिमाका साथ आउनुहुनेछ । “दश हजार गुणा दश हजार, तथा हजारौं स्‍वर्गदूतहरूले तथा प्रेम र महिमाले भरिपूर्ण परमेश्‍‍वरका जनहरूले उहाँलाई साथ दिनेछन् । तब उहाँ उहाँको महिमाको सिंहासनमा विराजमान हुनुहुनेछ, र उहाँको सामु उहाँका सारा जनहरू भेला हुनेछन् ।” तब हरेक आँखाले उहाँलाई देख्‍नेछन्, साथै उहाँलाई कोखामा घोंच्‍ने मानिसहरूले पनि उहाँलाई देख्‍नेछन् । काँढे मुकुटको सट्टा उहाँले महिमाको मुकुट लगाउनुहुनेछ । पुरानो बैजनी राजकीय बस्‍‌त्रको सट्टा उहाँले सर्वाधिक सेतो बस्‍‌त्र धारण गर्नुहुनेछ, “यस्तो कि पृथ्वीमा कसैले पनि धोएर त्यतिको सेतो पार्न सक्दैन ।” मर्कूस ९:३ । उहाँका पोशाक तथा तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी लेखिएको हुनेछ । प्रकाश १९:१६ । उहाँलाई तिरस्कार तथा प्रहार गर्ने मानिसहरू पनि त्यहाँ हुनेछन् । पूजाहारी तथा शासकहरूले पुनः महलको दृश्‍‍यलाई देख्‍नेछन् । तिनीहरूका सामु हरेक दृश्‍‍य आगाको अक्षरद्वारा लेखिएझैं देखा पर्नेछन् । तब ज-जसले “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्” भनी प्रार्थना गरेका थिए तिनीहरूले आफ्‍ना प्रार्थनाका जवाफ पाउनेछन् । तब सारा जगतले जान्नेछन् तथा बुझ्‍नेछन । जुन दीन, कमजोर, तथा सीमित व्यक्तिविरुद्ध तिनीहरू लड्‍दैछन् सो अस्तित्‍व को रहेछ भनी तिनीहरूले त्यस दिनमा बुझ्‍नेछन् । भयानक पीडा तथा त्रासका साथ तिनीहरू पहाड तथा चट्टानहरूतर्फ यसरी कराउनेछन्, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खडा हुन सक्छ ?” प्रकाश ६:१६, १७ ।PAP 96.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents