Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ८. परमप्रभु बौरिउठ्‍नुभयो

    मत्ती २८:२-४, ११-१५ मा आधारित ।

    हप्‍ताको पहिलो रातको अन्धकार बिस्तारै हट्‍दैथियो । बिहानको मिरमिरेभन्दा अघिको घोर अन्धकारको समय आएको थियो । ख्रीष्‍ट अझ पनि त्यस साँघुरो चिहानमा कैदी हुनुहुन्थ्यो । चिहानको प्रवेशद्वारको त्यो ठूलो ढुङ्गा अझ पनि साविककै स्थानमा थियो; रोमी लालमोहरलाई तोडिएको थिएन; र रोमी पहरेदारहरूले अझ पनि पहरेदारी गरिरहेका थिए । त्यहाँ अदृश्‍‍य अवलोकनकर्ताहरू (स्‍वर्गदूतहरू) उपस्थित थिए । त्यस स्थानमा असंख्य दुष्‍ट दूतहरू भेला भएका थिए । यदि सम्भव भएको भए अन्धकारको राजदूत शैतान तथा उसका विधर्मी सेनाहरूले परमेश्‍‍वरको पुत्रलाई राखिएको चिहानमा सदासर्वदाका लागि लालमोहर लगाई राख्‍नेथिए । तर स्‍वर्गदूतहरूले चिहानलाई घेरेका थिए । शक्तिशाली स्‍वर्गदूतहरूले चिहानलाई पहरा दिइरहेका तथा जीवनको राजकुमारको प्रतिक्षा गरिरहेका थिए ।PAP 159.1

    “ठूलो भूकम्प गयो, किनकि परमप्रभुका एउटा दूत स्‍वर्गबाट तल ओर्ले ।” परमेश्‍‍वरको सजधजका साथ उक्त स्‍वर्गदूत स्‍वर्गदेखि आएका थिए । उनको अघि परमेश्‍‍वरको महिमाको उज्‍जवल ज्योति थियो जसले उनको मार्गलाई उज्यालो पारेको थियो । “तिनको रूप बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो । तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए ।”PAP 159.2

    पूजाहारी तथा शासकहरू, अब तिम्रा पहरेदारहरूका शक्ति कता विलिन भए ? जुन पराक्रमी सेनाहरू कदापि मानव शक्तिदेखि भयभीत भएका थिएनन् तिनीहरू अहिले निशस्‍‌त्र कैदी सरह थिए । तिनीहरूले हेरिरहेका अनुहार कुनै मरणशील योद्धाको होइन; यो त परमप्रभुका स्‍वर्गदूतहरूमध्येका सबैभन्दा शक्तिशाली स्‍वर्गदूतको अनुहार हो । शैतानको पतनपश्‍चात् ती स्‍वर्गदूतहरूले नै सो रिक्त पद ओगटेका थिए । यही स्‍वर्गदूतले बेथलेहेमका डाँडाहरूमा ख्रीष्‍टको जन्मको बारेमा घोषणा गरेका थिए । उनको आगमनद्वारा पृथ्वीमा कम्पन उत्पन्न भयो, अन्धकारका दूतहरू भागे, र जब उनले चिहानको प्रवेशद्धारको ढुङ्गालाई गुडाए तब स्‍वर्ग पृथ्वीमै ओर्लिआएको भान भयो । स्‍वर्गदूतले त्यस विशाल ढुङ्गालाई एउटा सानो कंकड उठाएझैं हटाएको दृश्‍‍यलाई सेनाहरूले देखे तथा “परमेश्‍‍वरको पुत्र, बोरिउठ्‍नुहोस्, तपाईको पिता तपाईलाई बोलाउनुहुन्छ” भन्ने आवाज पनि सुने । तिनीहरूले येशूलाई चिहानदेखि उठेर आउनुभएको तथा भत्किएको चिहानदेखि “पुनरुत्थान र जीवन म नै हुँ” भनी घोषणा गर्नुभएको सुने । जब उहाँ गौरव तथा महिमाका साथ चिहानदेखि उठेर आउनुभयो तब स्‍वर्गदूतका गण उद्धारकर्ताको सामु झुके, र तिनीहरूले स्तुतिगानका साथ उहाँको स्‍वागत गरे ।PAP 160.1

    जब ख्रीष्‍टले आफ्‍नो जीवन बलिदान गर्नुभयो तब त्यस अन्तिम घडीमा भुइँचालो आएको थियो र जब उहाँ मृत्युको विजेताको रूपमा बौरिउठ्‍नुभयो तब पनि पुनः भुइँचालो आयो । उहाँले मृत्युलाई पराजित गर्नुभयो र पृथ्वीको कम्पन, तथा चट्याङ्गको चमक अनि गर्जनबीच एक विजेताको रूपमा चिहानदेखि बाहिर आउनुभयो । जब उहाँ पुनः यस पृथ्वीमा आउनुहुनेछ तब उहाँले “पृथ्वी मात्र होइन, तर स्‍वर्गलाई समेत” हल्‍लाउनुहुनेछ । “पृथ्वी मतवाला मानिसझैं धरमराउँछ । झुप्रोलाई बतासले हल्‍लाएझैं त्यो यताउता हल्‍लिन्छ ।” “आकाशचाहिँ चर्मपत्रको मुठ्ठोझैं बेरिनेछ ।” “तत्‍वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन् ।” “तर परमप्रभु आफ्‍नो प्रजाको निम्ति शरणस्थान, इस्राएलका मानिसहरूका निम्ति गढ हुनुहुनेछ ।” हिब्रू १२:२६; यशैया २४:२०; ३४:४; २ पत्रुस ३:१०; योएल ३:१६ ।PAP 160.2

    येशूको मृत्युको समयमा सिपाहीहरूले दिउँसै पृथ्वी अन्धकारद्वारा ढाकिनपुगेको देखेका थिए; तर पुनरुत्थानको समयमा तिनीहरूले स्‍वर्गदूतहरूद्वारा रात उज्‍ज्‍वल बन्नपुगेको देखेका तथा अपार आनन्द तथा विजयोत्सवका साथ यसरी गाउँदै गरेको सुनेका थिए, “तपाईंले शैतान तथा अन्धकारका शक्तिहरूलाई पराजित गर्नुभएको छ; तपाईले मृत्युलाई विजयमा निल्‍नुभएको छ ।”PAP 161.1

    ख्रीष्‍ट चिहानदेखि महिमितरूपमा आउनुभयो, र रोमी पहरेदारहरूले उहाँलाई देखे । तिनीहरूका आँखा उहाँको अनुहारमाथि एकटक हुनपुगेका थिए जसलाई केही दिन अघि मात्र तिनीहरूले उपहास गरेका तथा खिल्‍ली उडाएका थिए । उहाँको त्यस महिमित शरीरमा तिनीहरूले त्यस कैदीलाई देखे जसलाई तिनीहरूले महलमा देखेका थिए, जसलाई तिनीहरूले काँढे मुकुट लगाएका थिए । उहाँ नै पिलातस तथा हेरोदको सामु कुनै प्रतिरोधबिना खडा हुनुभएको थियो र उहाँको शरीर कोर्राको चोटले भरिएको थियो । उहाँ त्यही ख्रीष्‍ट हुनुहुन्थ्यो जसलाई क्रूसमा टाँगिएको थियो, जसलाई पूजाहारी तथा शासकहरूले आत्मसन्तुष्‍टिका साथ शिर हल्‍लाउँदै यसरी भनेका थिए, “यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन ।” मत्ती २७:४२ । उहाँ त्यही ख्रीष्‍ट हुनुहुन्थ्यो जसलाई युसुफको नयाँ चिहानमा गाडिएको थियो । स्‍वर्गको आदेशले कैदीलाई खुला पारेको थियो । यदि उहाँको चिहानमाथि पहाड नै खसेको भए पनि यसले उहाँलाई चिहानबाट बाहिर आउनुदेखि रोक्‍नसक्‍ने थिएन ।PAP 161.2

    स्‍वर्गदूतका गण तथा महिमित मुक्तिदाताको दृश्‍‍यद्वारा रोमी पहरेदारहरू बेहोस बनी मृततुल्य बन्नपुगेका थिए । जब स्‍वर्गदूतहरूका समुहको दृश्‍‍य तिनीहरूदेखि बिलाएर गयो तब तिनीहरू चेतना लाभ गरी खडा भए, र जतिसक्दो बगैंचाको मुलढोकासम्म गए । जँड्‍याहाहरूझैं लड्‍खडाउँदै तिनीहरू शहरतिर लागे र भेट्‍नेजति सबैलाई त्यस अद्‍‌भुत खबर सुनाए । तिनीहरू पिलातसकहाँ जाँदैथिए, तर तिनीहरूका खबर यहूदी अधिकारीहरू कहाँ पुऱ्याएको थियो; र पूजाहारी तथा शासकहरूले ती सिपाहीहरूलाई सर्वप्रथम तिनीहरूका उपस्थितिमा हाजिर हुन बोलाइपठाए । ती सिपाहीहरूले आफूले देखेका अद्‍‌भुत रूपको बारेमा खबर सुनाए । डरका कारण काँप्दै फिका अनुहारका साथ तिनीहरूले ख्रीष्‍टको पुनरुत्थानको बारेमा गवाही दिए । सिपाहीहरूले आफूले देखेअनुसार सबै घटनाक्रमलाई सुनाए; तिनीहरूसँग सत्यता बाहेक अन्य कुनै कुराको बारेमा सोंच्‍ने वा बोल्‍ने समय नै बाँकी थिएन । कष्‍टपूर्ण बोलीका साथ तिनीहरूले यसरी भने, “क्रूसमा टाँगिनुहुने परमेश्‍‍वरको पुत्र हुनुहुन्छ; हामीले स्‍वर्गदूतहरूले उहाँलाई स्‍वर्गको वैभव, महिमाको राजाको रूपमा घोषणा गरिरहेका सुन्यौं ।”PAP 162.1

    पूजाहारीहरूका अनुहार मुर्दाको अनुहारजस्तै देखा परे । कैयाफाले बोल्‍ने प्रयत्‍न गऱ्यो । उसका ओंठहरू हल्‍लिए तर तिनबाट कुनै आवाज उत्पन्न भएनन् । जब सिपाहीहरू त्यस महासभाको कोठादेखि बाहिर आउन खोज्दैथिए तब तिनीहरूलाई एक आवाजले रोक्‍यो । अन्त्यमा कैयाफाले केही बोल्‍न सक्‍यो । उसले भन्यो, “ पर्ख-पर्ख, तिमीहरूले देखेका कुराहरूका बारेमा कसैलाई पनि नबताऊ ।”PAP 163.1

    सिपाहीहरूलाई झूटो विवरण दिइएको थियो । पूजाहारीहरूले भने, “तिमीहरूले भन्नू, कि हामी सुतिरहेको बेला त्यसका चेलाहरू आएर त्यसलाई चोरेर लगेछन् ।” यहाँ पूजाहारीहरूले स्‍वयम् आफैलाई छले । सिपाहीहरूले आफू सुतिरहेको बेलामा चेलाहरूले येशूको मृत शरीरलाई चोरेर लगेका थिए भनी कसरी भन्न सक्‍नेथिए त ? यदि तिनीहरू सुतिरहेका थिए भने तिनीहरूले कसरी थाहा पाए त ? र यदि चेलाहरूलाई ख्रीष्‍टको शरीरलाई चोरेर लगेको रूपमा दोषी ठहराइएको खण्डमा पूजाहारीहरू नै ती चेलाहरूलाई निन्दा गर्ने पहिलो मानिस हुनेथिएनन् त ? अथवा यदि पहरेदारहरू चिहानमा सुतेका भए के पूजाहारीहरू नै ती पहरेदारहरूलाई पिलातसको सामु दोषी ठहराउने पहिलो मानिस हुने थिएनन् त ?PAP 163.2

    सिपाहीहरू आफूलाई तैनाथ गरिएको स्थानमा सुतेको जस्तो दोष आफूमाथि ल्याउने बिचारद्वारा भयभीत हुनपुगे । यो एक यस्तो अपराध थियो जसको सजाय मृत्युखण्ड हुनसक्थ्यो । मानिसहरूलाई छल्‍नका निम्ति के तिनीहरूले झूटो गवाही दिंदै स्‍वयम् आफ्‍नै जीवनलाई जोखिममा पार्ने त ? के तिनीहरूले नसुतिकन चनाखो रूपमा पहरा दिएका थिएनन् त ? यदि तिनीहरूले पैसाकै खातिर स्‍वयम् आफ्‍नै बारेमा झूटो गवाही बकेका खण्डमा पनि कसरी पुर्पक्षको समना गर्न सक्‍नेछन् त ?PAP 163.3

    जुन साक्षीप्रति पूजाहारीहरू भयभीत थिए त्यसलाई चुप पार्नका निम्ति पूजाहारीहरूले ती पहरेदार सिपाहीहरूलाई यसो भन्दै सुरक्षा प्रदान गर्ने प्रतिज्ञा गरे कि पिलातसले यस विवरणलाई ती पूजाहारीहरूले जस्तै प्रचार गर्ने इच्छा गर्नेछैन । पैसाको खातिर रोमी सिपाहीहरूले यहूदीहरूका सामु आफ्‍ना ईमान्दारी बेचे । तिनीहरू सत्यताको सबैभन्दा अद्‍‌भुत खबरको बोझद्वारा पूजाहारीका सामु आएका थिए; तर तिनीहरू पैसाको बोझका साथ फर्के, र तिनीहरूका जिब्रोमा पूजाहारीहरूद्वारा सिकाइएको झुट्टा विवरण थिए ।PAP 164.1

    त्यसैबीच ख्रीष्‍टको पुनरुत्थानको विवरण पिलातस कहाँ पुऱ्याइसकिएको थियो । यद्यपि पिलातस ख्रीष्‍टलाई मर्न अनुमति दिने मामलामा जवाफदेही थियो, ऊ तुलनात्मक रूपमा निस्फिक्री थियो । जब कि उसले करुणाको भावनाका साथ अनिच्छुकरूपमा मुक्तिदातालाई दोषी ठहराएको थियो, उसले अहिलेसम्म कुनै वास्तविक पछुतोको महसुस चाहिँ गरेको थिए । भयका साथ उसले कसैलाई नभेट्‍ने अठोट गर्दै स्‍वयम् आफैलाई घरभित्र बन्द गरिराखेको थियो । तर पूजाहारीहरू उसको उपस्थितिमा पुगे, र आफूले रचेका कथा सुनाए, र पहरेदारहरूले उपेक्षा गरेको कर्तव्यलाई माफ गर्न अनुरोध गरे । यस कुरालाई स्‍वीकार गर्नु अघि उसले गोप्य रूपमा पहरेदारहरूलाई प्रश्‍न गऱ्यो । पहरेदारहरूले स्‍वयम् आफ्‍नै सुरक्षाको भयका कारण कुनै पनि कुरा लुकाउने सहास गरेनन् र पिलातसले जे जति घटना घटेका थिए ती सबैका विस्तृत विवरण तिनीहरूबाट लियो । उसले यस मामलालाई थप मुद्दाको रूपमा अघि बढाएन, तर त्यस समयपछि उसको मनमा कुनै शान्ति भएन ।PAP 164.2

    जब ख्रीष्‍टलाई चिहानमा राखिएको थियो तब शैतानले विजय हासिल गरेको थियो । मुक्तिदाताले अब आफ्‍नो जीवन पुनः लिनुहुनेछैन भन्ने आशा गर्ने उसले शाहस गऱ्यो । शैतानले परमप्रभुको शरीरलाई दाबी गऱ्यो, र ख्रीष्‍टलाई कैदी बनाइराख्‍ने प्रयास गर्दै चिहान वरिपरि आफ्‍नो पहरेदारहरूलाई तैनाथ गऱ्यो । स्‍वर्गदूतको आगमनमा जब शैतानका दूतहरू भागे तब ऊ अति क्रोधित बन्नपुगेको थियो । जब उसले ख्रीष्‍ट विजेताको रूपमा बौरिउठ्‍नुभएको देख्यो तब उसलाई थाहा भयो कि उसको राज्यको अन्त हुनेछ, र अन्त्यमा ऊ मर्नुपर्नेछ ।PAP 165.1

    ख्रीष्‍टलाई मृत्युदण्ड दिने क्रममा पूजाहारीहरूले स्‍वयम् आफैलाई शैतानको हतियार बनाएका थिए । अब तिनीहरू पूर्णरूपमा शैतानको शक्तिको अधिनमा थिए । तिनीहरू एक यस्तो पासोमा फस्‍न पुगेका थिए कि तिनीहरूले ख्रीष्‍टविरुद्धको आफ्‍नो युद्धलाई जारी राख्‍नु सिवाय त्यसबाट अन्य कुनै छुटकाराको उपाय देखेनन् । जब तिनीहरूले उहाँको पुनरुत्थानको विवरण सुने तब तिनीहरू मानिसहरूका क्रोधप्रति डराए । तिनीहरूले स्‍वयम् आफ्‍नै जीवन खतरामा परेको छ भनी महसुस गरे । तिनीहरूका लागि एकमात्र आशा भन्नु नै ख्रीष्‍ट बौरिउठ्‍नुभएको छ भन्ने कुरालाई इन्कार गर्दै उहाँलाई एक छलीको रूपमा प्रमाणित गर्नु थियो । तिनीहरूले सिपाहीहरूलाई घुस दिए, र पिलातसलाई चुप पारे । तिनीहरूले आफ्‍ना झूटो विवरणलाई सर्वत्र फैलाए । तर त्यहाँ यस्ता साक्षीहरू पनि थिए जसलाई तिनीहरूले निःशब्द तुल्याउन सकेका थिएनन् । धेरैले ख्रीष्‍टको पुनरुत्थानको बारेमा सिपाहीहरूका गवाही सुनेका थिए । ख्रीष्‍टसँगै बौरिउठेका केही मानिसहरू कैयौं मानिसहरूका सामु प्रकट भएका थिए र सो घटना देख्‍ने मानिसहरूले उहाँ बौरिउठ्‍नुभयो भनी घोषणा गरेका थिए । पूजाहारीहरूका सामु बौरिउठेका मानिसहरूलाई देख्‍ने तथा तिनीहरूका बयानलाई सुन्ने मानिसहरूका बारेमा विवरण ल्याइयो । गल्‍लीमा हिंड्‍दा, वा आफ्‍नै घरमा बस्दा समेत ख्रीष्‍टसँग जमकाभेट हुने हो कि भनी पूजाहारी तथा शासकहरूमा निरन्तर त्रासको भावना छाइरहन्थ्यो । तिनीहरूले आफ्‍नो निम्ति त्यहाँ कुनै सुरक्षा नभएको रूपमा महसुस गरे । छेस्कनी तथा गजवारहरू परमेश्‍‍वरको पुत्रको विरुद्धमा अति कमसल सुरक्षा थिए । जब तिनीहरूले “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्” भनी चिच्याए तब महलको त्यस भयनक दृश्‍‍य दिन रात तिनीहरूका मानसपाटलमा गुञ्‍जिरहेको थियो । मत्ती २७:२५ । त्यस दृश्‍‍यको स्मरण तिनीहरूका मनदेखि कदापि हटेर जानेछैन । यस उप्रान्त तिनीहरूले कदापि शान्तिपूर्ण निन्द्रा पाउन सक्‍नेछैनन् ।PAP 165.2

    जब ख्रीष्‍टको चिहानमा शक्तिशाली स्‍वर्गदूतको “तपाईका पिताले तपाईलाई बोलाउनुभएको छ” भन्ने आवाज सुनियो तब मुक्तिदाता चिहानदेखि त्यस जीवनका साथ आउनुभयो जुन जीवन स्‍वयम् उहाँ आफैमा निहित थियो । अब उहाँको वचनको सत्यता यसरी प्रमाणित हुन आए, “म आफ्‍नो प्राण फेरी फिर्ता लिने हेतुले अर्पण गर्छु ... आफ्‍नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरी लिने अधिकार पनि मसित छ ।” उहाँले पूजाहारी र शासकहरूका सामु “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु” भनी बोल्‍नुभएको भविष्यवाणी अब पूरा हुन आएको थियो । यूहन्ना १०:१७, १८; २:१९ ।PAP 166.1

    युसुफको भत्किएको चिहानमा ख्रीष्‍टले विजयोत्सवका साथ यसरी घोषणा गर्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ ।” यसप्रकारको वचन केवल ईश्‍‍वरीय गुणयुक्त अस्तित्‍वले मात्र उच्‍चारण गर्न सक्‍नेथियो । सृष्‍टिएका हरेक प्राणी परमेश्‍‍वरको इच्छा तथा शक्तिद्वारा मात्र जिउँदछन् । तिनीहरू परमेश्‍‍वरमा आश्रित छन् र उहाँदेखि जीवन प्राप्‍त गर्दछन् । सर्वोच्‍च सेरफीमदेखि सबैभन्दा सानो जीवित प्राणी सबै जीवनको मुहान् परमेश्‍‍वरदेखि पूर्ण हुने गर्दछन् । ख्रीष्‍ट, जो परमेश्‍‍वरसँगै एक हुनुहुन्थ्यो केवल उहाँले मात्र “आफ्‍नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ” भन्न सक्‍नुहुनेथियो । आफ्‍नो ईश्‍‍वरत्‍वका कारण ख्रीष्‍टमा मृत्युको बन्धन तोड्‍ने शक्ति निहित थियो ।PAP 167.1

    ख्रीष्‍ट सुतिजानेहरू मध्येका प्रथम फलको रूपमा मृत्युदेखि बौरिउठ्‍नु भयो । उहाँ डोलाइने बलिको बिटाको प्रतिमुखी हुनुहुन्थ्यो, र उहाँको पुनरुत्थान त्यही दिनमा भयो जुन दिनमा परममप्रभुको सामु डोलाइने बलिको बिटा चढाइनुपर्ने थियो । यस सांकेतिक विधिलाई एक हजार वर्षभन्दा बढी समयसम्म सम्पादन गरिएको थियो । कटनी गरिने भूमिबाट पाकेको अन्नमध्ये पहिलो बिटा जम्मा गरिन्थ्यो, र जब मानिसहरू यरुशलेमतर्फ निस्तार-चाड मनाउनका निम्ति जाने गर्दथे तब अन्नको पहिलो बिटालाई परमप्रभुको सामु धन्यवाद भेटीको रूपमा डोलाइने गरिन्थ्यो । यसरी धन्यवाद भेटी नचढाइएसम्म अन्न कटनी गर्नका निम्ति हँसिया चलाउने अनुमति थिएन । परमेश्‍‍वरलाई चढाइने अन्नको बिटाले कटनीको प्रतिनिधित्‍व गर्दथ्यो । यसरी नै प्रथम फल ख्रीष्‍टले परमेश्‍‍वरको राज्यको निम्ति बटुलिनुपर्ने महान् आत्मिक कटनीको प्रतिनिधित्‍व गर्नुभएको थियो । उहाँको पुनरुत्थान नै सबै धर्मी मृतकहरूका पुनरुत्थानको नमूना तथा नासो थियो । “किनकि हामी विश्‍‍वास गर्छौ कि येशू मर्नुभयो र फेरी जिइउठ्‍नुभयो र त्यसरी नै परमेश्‍‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्याउनुहुनेछ ।” १ थेसलोनिकी ४:१४ ।PAP 167.2

    जब ख्रीष्‍ट बौरिउठ्‍नुभयो तब उहाँले चिहानदेखि असंख्य कैदीहरूलाई बौरिउठाउनुभयो । उहाँको मृत्युको समयमा भूइँचालोले तिनीहरूका चिहानलाई खोलेको थियो, र जब उहाँ बौरिउठ्‍नु भयो तब ती चिहानमा भएका मृतकहरू पनि उहाँसँगै बौरिउठे । तिनीहरू परमेश्‍‍वरका सहकर्मी थिए, र जसले आफ्‍नो जीवनलाई दाउमा लगाउँदै सदा सत्यताको गवाही बनेका थिए । अब तिनीहरू उहाँको निम्ति गवाही बन्नुपर्ने थियो जसले तिनीहरूलाई मृत्युदेखि ब्युँताउनुभएको थियो ।PAP 168.1

    येशूले आफ्‍नो सेवाकाइको समयमा मरेकाहरूलाई जीवित पार्नुभएको थियो । उहाँले नाइन शहरको विधवाको छोरा, एक शासककी छोरी, र लाजरसलाई मृत्युदेखि ब्युँताउनुभएको थियो । तिनीहरूलाई ब्युँताइए पश्‍चात् तिनीहरू अझपनि मृत्युको अधिनमा थिए । तर ख्रीष्‍टको पुनरुत्थानको समयमा बौरिउठेका जनहरू अनन्त जीवनका निम्ति बौरिउठाइएका थिए । तिनीहरू मृत्यु तथा चिहानमाथि उहाँको विजयको स्मारकको रूपमा उहाँसँगै स्‍वर्गमा उचालिए । ख्रीष्‍टले भन्नुभयो, “यी मानिसहरू अब शैतानका कैदी होइनन्; मैले तिनीहरूका उद्धार गरेको छु । मैले तिनीहरूलाई चिहानदेखि मेरो शक्तिको प्रथम फलका रूपमा ल्याएको छु, जो मसँगै रहनेछन्, जहाँ तिनीहरूले कदापि मृत्युको मुख देख्‍नेछैनन् तथा शोकको महसुस पनि गर्नेछैनन् ।”PAP 168.2

    यी बौरिउठाइएका मानिसहरू शहरमा प्रवेश गरे, र कैयौं मानिसहरूका सामु देखा परे, र ख्रीष्‍ट मृतकदेखि बौरिउठ्‍नु भएको छ तथा हामीलाई पनि उहाँले नै बौरिउठाउनु भएको हो भनी घोषणा गरे । यसप्रकार पुनरुत्थनको पवित्र सत्यतालाई अमर तुल्याइयो । बौरिउठेका सन्तहरू पवित्रशास्‍‌त्रका निम्‍न वचनहरूका गवाही बने, “तर तपाईका मरिगएका जनहरू जिउनेछन् । तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ ।” तिनीहरूका पुनरुत्थान यस भविष्यवाणीको पूर्णताको उदाहरण थियो, “हे माटोमा बस्‍ने हो, उठ र आनन्दले कराओ । तपाईको शीत बिहानको शीतजस्तै छ, पृथ्वीले आफ्‍ना मरेकाहरूलाई जन्माउनेछ ।” यशैया २६:१९ ।PAP 169.1

    ख्रीष्‍ट विश्‍‍वासीहरूका निम्ति पुनरुत्थान तथा जीवन हुनुहुन्छ । हाम्रा मुक्तिदातामा पापको कारण गुम्‍नपुगेको जीवन पुनः स्थापना गरिएको छ; किनकि उहाँमा अरूलाई प्रदान गर्नका निम्ति जीवन छ । उहाँमा अमरतत्‍व प्रदान गर्ने अधिकार निहित छ । मानव स्‍वरूपमा जुन जीवन उहाँले समर्पण गर्नुभयो सो जीवनलाई उहाँले पुनः लिनुभई मानवजातिलाई दिनुहुन्छ । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन भन्ने हेतुले आँए ।” “जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन । जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ ।” “मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” यूहन्ना १०:१०; ४:१४; ६:५४ ।PAP 169.2

    विश्‍‍वासीहरूका निम्ति मृत्यु केवल एक सानो मामला हो । ख्रीष्‍टले मृत्युलाई एक अल्प पलको रूपमा बताउनुभयो । “यदि कसैले मेरो वचन पालन गऱ्यो भने त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन” “त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।” ईसाइहरूका निम्ति मृत्यु केवल एक निद्रा, निःशब्दता तथा अन्धकारको केही पल मात्र हो । जीवन ख्रीष्‍टसँगै परमेश्‍‍वरमा लुकेको छ, र “ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ ।” यूहन्ना ८:५१, ५२; कलस्सी ३:४ ।PAP 170.1

    “अब सिद्धियो” भनी ख्रीष्‍टले क्रूसमा उच्‍चारण गर्नुभएका शब्दहरू मृतकहरूले पनि सुनेका थिए । यसले चिहानको पर्खाललाई छेड्‍यो र मृत्युमा सुतिरहेकाहरूलाई जगायो । ख्रीष्‍टको दोश्रो आगमनको समयमा जब आकाशदेखि उहाँको आवाज आउनेछ त्यसबेला पनि यस्तै हुनेछ । त्यस आवाजले चिहानहरूलाई छेड्‍नेछ तथा खोल्‍नेछ, र ख्रीष्‍टमा मरेकाहरू बोरिउठ्‍नेछन् । मुक्तिदाताको पुनरुत्थानमा केही चिहानहरू मात्र खुलेका थिए, तर उहाँको दोश्रो आगमनको समयमा उहाँका सबै प्रियजनहरूले उहाँको आवाजलाई सुन्नेछन् र तिनीहरू महिमित अमर जीवनका साथ बौरिउठ्‍नेछन् । जुन शक्तिले ख्रीष्‍टलाई मृतकदेखि ब्युँताएको थियो त्यही शक्तिले उहाँको मण्डलीलाई ब्युँताउनेछ, र यसलाई सबै प्रधानताहरूमाथि, शक्तिहरूमाथि तथा यस संसारमा मात्र होइन आउनेवाला संसारमा दिइने नाउँभन्दा माथि महिमित तुल्याउनुहुनेछ ।PAP 170.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents