११. तिमीहरूलाई शान्ति
परमेश्वरको अद्भुत प्रेम
- ContentsSearch Results
- Results
- Related
- Featured
- Weighted Relevancy
- Content Sequence
- Relevancy
- Earliest First
- Latest First
- Exact Match First, Root Words Second
- Exact word match
- Root word match
- EGW Collections
- All collections
- Lifetime Works (1845-1917)
- Compilations (1918-present)
- Adventist Pioneer Library
- My Bible
- Dictionary
- Reference
- Short
- Long
- Paragraph
No results.
EGW Extras
Directory
११. तिमीहरूलाई शान्ति
लूका २४:३३-४८; यूहन्ना २०:१९-२९ मा आधारित ।
यरुशलेमको पुगिसकेपश्चात दुई चेलाहरू पूर्वी मूलद्वारमा प्रवेश गरे जुन द्वार चाडको अवसरमा रातको समयमा पनि खुला रहने गर्दथ्यो । घरहरू अन्धकार तथा सुनसान देखिन्थे, तर ती दुई यात्रीहरू चन्द्रमाको प्रकाशको सहारामा साँघुरा गल्लीहरूमा अघि बढ्दै गरे । तिनीहरू माथिल्लो कोठामा गए जहाँ येशूले आफ्नो मृत्युको अन्तिम साँझ बिताउनु भएको थियो । त्यस कोठामा तिनीहरूले अन्य चेलाहरूलाई फेला पार्नेछन् भनी तिनीहरूलाई थाहा थियो । जति नै अबेर किन नहोस् अन्य चेलाहरू आफ्ना परमप्रभुको मृत शरीरलाई के भयो भनी निश्चित नभएसम्म सुत्नेछैनन् भनी तिनीहरूलाई थाहा थियो । तिनीहरूले माथिल्लो कोठाको ढोकालाई भित्रबाट चुकुल लगाएको भेट्टाए । तिनीहरूले भित्र प्रवेश गर्ने अनुमति प्राप्त गर्नका निम्ति ढोका घचघच्याए, तर भित्रबाट कुनै जवाफ आएन । सबैजना स्तब्ध थिए । तब तिनीहरूले आफ्ना नाम बताए । तब सावधानीपूर्वक ढोका खोलियो, तिनीहरू कोठाभित्र प्रवेश गरे, अनि तिनीहरूका साथ अर्को अदृश्य व्यक्तिले पनि प्रवेश गऱ्यो । अनि जासूसहरूले प्रवेश गर्न नपाऊन् भनी ढोकालाई पुनः बन्द गरियो ।PAP 190.1
यात्रीहरूले माथिल्लो कोठामा उपस्थित सबै चेलाहरूलाई आश्चर्यजनक चहलपहलयुक्त माहोलमा भेट्टाए । कोठामा भएका मानिसहरू धन्यवाद तथा प्रशंसाका साथ यसो भन्दैथिए, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोन कहाँ देखा पर्नुभएको हो रहेछ ।” तब दुई यात्रीहरू हतारका साथ यात्रा गरेका कारण स्वाँ स्वाँ गर्दैथिए र तिनीहरूले कसरी येशू तिनीहरूका सामु देखा पर्नुभयो भनी अन्य चेलाहरूलाई बताए । तिनीहरूले आफ्ना कुरालाई भर्खरै समाप्त गर्नासाथ अन्य मानिसहरूले सो कुरा साँचो हुनै सक्तैन भनी बाताइरहेका मात्र के थिए अर्को व्यक्ति (ख्रीष्ट) तिनीहरूका सामु खडा हुनुभयो । हरेक आँखा अपरिचित व्यक्तिमाथि केन्द्रित हुनपुग्यो । कसैले पनि प्रवेश पाउनका निम्ति ढोका घचघच्याएको थिएन । कसैले पनि पाइला सुनिएको थिएन । चेलाहरू झस्किए, र यसको अर्थ के हो भनी आश्चर्यचकित बन्नपुगे । तब तिनीहरूले एक यस्तो आवाज सुने जुन तिनीहरूका गुरुको सिवाय अरू कसैको पनि हुन सक्तैनथ्यो । उहाँको ओंठदेखि “तिमीहरूलाई शान्ति होस्” भन्ने स्पष्ट आवाजहरू आए ।PAP 190.2
“तिनीहरू तर्से, र डरले आत्तिए, र हामीले त प्रेत देखिरहेछौं भन्ने सम्झे । तर उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन विचलित हुन्छौ, र तिमीहरूका हृदयमा किन शंका उत्पन्न हुन्छ ? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर । किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन् । यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो ।”PAP 191.1
तिनीहरूले क्रूर कीलाद्वारा कुरूप बन्न पुगेका हात पाउहरू देखे । तिनीहरूले उहाँको आवाजलाई अन्य मानिसहरूका आवाजको तुलनामा चाँडै नै चिने । “तर खुशीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूसित यहाँ केही खानेकुरो छ ? तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए । अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो ।” विश्वास तथा हर्षले अविश्वासको स्थान ओगट्यो, र अवर्णनीय भावनाहरूका साथ तिनीहरूले आफ्ना बौरिउठ्नुभएको मुक्तिदातालाई स्वीकार गरे ।PAP 191.2
येशूको जन्मको समयमा स्वर्गदूतहरूले “पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” भनी घोषणा गरेका थिए । र अहिले पुनरुत्थान पश्चात उहाँ चेलाहरूका सामु पहिलोपटक देखा पर्नुहुँदा मुक्तिदाताले तिनीहरूलाई यसरी सम्बोधन गर्नुभयो, “तिमीहरूलाई शान्ति होस् ।” जुन मानिसहरू शंका तथा भयको बोझद्वारा दबिएका छन् येशू तिनीहरूसँग बोल्न सदा तत्पर हुनुहुन्छ । उहाँ हामीद्वारा हाम्रो हृदयको ढोका उहाँको निम्ति खुला गरिएको तथा उहाँलाई हृदयमा बास गर्न आमन्त्रण गरिएको देख्न प्रतिक्षारत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हेर, म ढोकामा उभिएर ढकढक्याउँछु । कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ ।” प्रकाश ३:२० ।PAP 192.1
येशूको पुनरुत्थान उहाँमा सुतेका मानिसहरूका अन्तिम पुनरुत्थानको प्रतिरूप थियो । बौरिउठ्नु भएको मुक्तिदाताको मुहार, उहाँको स्वभाव, तथा बाली जस्ता सबै कुराहरूप्रति उहाँका चेलाहरू परिचित थिए । जसरी येशू मृत्युदेखि बौरिउठ्नुभयो त्यसरी नै उहाँमा सुतेकाहरू पनि पुनः बौरिउठ्नु पर्नेछ । जसरी चेलाहरूले येशूलाई चिने त्यसरी नै हामीले पनि आफ्ना मित्रहरूलाई चिन्नेछौं । हाम्रा मित्रहरू मरणशील शरीरमा अपाङ्ग, रोगी, वा कुरूप थिए होलान्, तर पुनरुत्थानको समयमा तिनीहरू पूर्ण स्वास्थ्य तथा रूपका साथ बौरिउठ्नेछन्; तैपनि महिमित शरीरमा पनि तिनीहरूका परिचयलाई पूर्णरूपमा सुरक्षित राख्नेछ । “त्यस बेलाचाहिँ पूरै बुझ्नेछौं, जसरी हामी पनि पूर्ण रूपले चिनिएका छौं ।” १ कोरिन्थी १३:१२ । जुन मुहार येशूको मुहारको ज्योतिद्वारा चम्किरहेको हुन्छ त्यसमा पनि हामीले आफ्ना प्रियजनहरूका व्यक्तिगत रूपलाई चिन्नेछौं ।PAP 192.2
जब येशूले उहाँका चेलाहरूलाई भेट्नुभयो तब उहाँले तिनीहरूलाई उहाँको मृत्युअघि उहाँको बारेमा मोशाद्वारा लिखित पुस्तकहरू, भविष्यसूचक पुस्तकहरू, तथा भजनसंग्रहमा उल्लिखित सबै कुराहरू पूरा हुनुपर्नेछ भनी बोल्नुभएका कुराहरूलाई स्मरण गराउनु भयो । “तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ अनि यरुशलेमबाट शुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ । तिमीहरू यी नै कुरामा साक्षी हौ ।”PAP 193.1
चेलाहरूले आफ्ना कार्यको स्वभाव तथा विस्तारको बारेमा चाल पाए । तिनीहरूले ख्रीष्टद्वारा तिनीहरूलाई सुम्पिएको अद्भुत सत्यताहरूलाई यस संसारमा घोषणा गर्नुपर्ने थियो । तिनीहरू उहाँको जीवन, उहाँको मृत्यु, तथा पुनरुत्थान; यी घटनाक्रमहरूलाई औंल्याउने भविष्यवाणीहरू, परमेश्वरको व्यवस्थाको पवित्रता, मुक्तिको योजनाका रहस्यहरू तथा पाप क्षमा गर्न सक्ने येशूको शक्ति जस्ता सबै कुराहरूका गवाही हुन् र ती चेलाहरूले यिनै कुराहरू सबै मानिसहरूलाई अवगत गराउनुपर्ने थियो । तिनीहरूले पश्चात्तापद्वारा तथा मुक्तिदाताको शक्तिद्वारा शान्तिको सु-समाचार घोषणा गर्नुपर्ने थियो ।PAP 193.2
“अनि यति भनेर उहाँले तिनीहरू माथि श्वास फुकेर भन्नुभयो, पवित्र आत्मा लेओ । जसको पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौं क्षमा हुनेछैन ।” ख्रीष्ट अझै पनि महिमित नहुनुभएकोले पवित्र आत्मा पूर्णमात्रामा प्रकट गरिएको थिएन । ख्रीष्ट स्वर्गमा नउचालिनुभएसम्म पूर्णमात्रामा पवित्र आत्माको वर्षा भएन । पवित्र आत्मा ग्रहण नगरिएसम्म चेलाहरूले संसारमा सु-समाचार प्रचार गर्ने आज्ञालाई पूरा गर्न सक्ने थिएनन् । तर अहिले विशेष उद्देश्यका साथ पवित्र आत्मा दिइएको थियो । चेलाहरूले मण्डली सम्बन्धी आफ्ना औपचारिक कर्तव्य पूरा गर्नुअघि ख्रीष्टले तिनीहरूलाई पवित्र आत्मा दिनुभयो । उहाँले तिनीहरूलाई सर्वाधिक पवित्र जिम्मेवारी सुम्पँदै हुनुहुन्थ्यो, र पवित्र आत्माबिना यस कार्यलाई पूरा गर्न सक्नेछैनन् भन्ने तथ्यताको छाप तिनीहरूका मनमा बसाल्ने इच्छा गर्नुभएको थियो ।PAP 194.1
पवित्र आत्मा मानिसहरूका निम्ति आत्मिक जीवनको सास हो । पवित्र आत्मा ग्रणह गर्नुको अर्थ ख्रीष्टको जीवन ग्रहण गर्नु हो । पवित्र आत्मा ग्रहण गर्ने व्यक्तिले ख्रीष्टको चरित्र हासिल गरेको हुन्छ । जुन मानिसहरू परमेश्वरद्वारा सिकाइएका छन्, जसको जीवनमा पवित्र आत्माको बास भएको हुन्छ, तथा जसको जीवनमा ख्रीष्टको स्वभाव प्रकट भएको हुन्छ केवल त्यस्ता व्यक्तिहरूले मात्र मण्डलीको पक्षमा सेवाकाइ गर्नका निम्ति ती विश्वासी जनहरूका प्रतिनिधित्व गर्नुपर्नेछ ।PAP 194.2
“अनि यति भनेर उहाँले तिनीहरू माथि श्वास फुकेर भन्नुभयो, पवित्र आत्मा लेओ । जसको पाप तिमीहरू क्षमा गछौं, तिमीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौं क्षमा हुनेछैन ।” ख्रीष्टले यहाँ कसैलाई पनि अन्य मानिसहरू माथि इन्साफ गर्ने छुटकारा दिनुभएको छैन । डाँडाको उपदेशमा पनि उहाँले यसो गर्न निषेध गर्नुभयो । यो त केवल परमेश्वरको विशेषअधिकार हो । तर मण्डलीमा एक संगठित हैसियतले प्रत्येक व्यक्ति विशेषलाई उहाँ जिम्मेवारी सुम्पने गर्नुहुन्छ । जुन मानिसहरू पापमा डुब्नपुगेका छन् तिनीहरूलाई चेतावनी दिनु, शिक्षा दिनु, तथा यदि सम्भव भएसम्म पुनः स्थापित गर्नु मण्डलीको कर्तव्य हो । परमप्रभु भन्नुहुन्छ “वचन प्रचार गर, समय र बेसयमा तत्पर बस, अर्ति देऊ, हप्काउ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक ।” २ तिमोथी ४:२ । गतल कार्यमा संलग्न मानिसहरू सित साँचोरूपमा व्यवहार गर्नुहोस् । खतरामा परेका हरेक व्यक्तिलाई चेतावनी दिनुहोस् । कुनै पनि व्यक्तिलाई स्वयम् आफ्नै छलमा फस्नेगरी एक्लै नछोड्नुहोस् । पापालाई यसको वास्तविक नामद्वारा पुकार्नुहोस् । झूट बोल्नु, शबाथ-दिन पवित्र नमान्नु, चोर्नु, व्यभिचार गर्नु तथा अन्य सबै पापहरूका बारेमा परमेश्वरले के भन्नुभएको छ त्यसको बारेमा घोषणा गर्नुहोस् । “जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन् ।” गलाती ५:२१ । यदि तिनीहरू पापमै जोर गरिरहेका खण्डमा तपाईले परमेश्वरको वचनदेखि घोषणा गर्नुभएको इन्साफ स्वर्गमा तिनीहरू माथि सुनाइनेछ । पाप गर्ने रोजाइ गरेर तिनीहरूले ख्रीष्टलाई इन्कार गरेका हुन्छन्; मण्डलीले यस्ता मानिसहरूका कार्यहरूलाई मान्यता दिंदैन भनी मण्डलीले देखाउनुपर्नेछ अन्यथा स्वयम् मण्डलीले नै परमप्रभुको अनादर गरिरहेको हुनेछ । परमेश्वरले पापको बारेमा जुन कुरा भन्नुभएको छ सोहि कुरा मण्डलीले पनि बताउनुपर्नेछ । मण्डलीले परमेश्वरको निर्देशनमुताविक पापसँग व्यवहार गर्नुपर्नेछ, र यसप्रकार स्वर्गमा मण्डलीको कार्यलाई औपचारिक मञ्जूरी दिइनेछ । जुन व्यक्तिले मण्डलीको अधिकारलाई तिरस्कार गर्दछ त्यसले स्वयम् ख्रीष्टकै अधिकारलाई तिरस्कार गरिरहेको हुन्छ ।PAP 195.1
तर त्यहाँ चित्रको अझ चहकिलो अंश छ । “जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ ।” यस बिचारलाई सर्वोच्च स्थान दिइयोस् । बरालिएका मानिसहरूका निम्ति परिश्रम गर्ने हरेक व्यक्तिका आँखा उहाँमाथि केन्द्रित हुनपुगोस् । परमप्रभुको खर्कका भेडाहरूमाथि गोठालाहरूले कोमल हेरचाह गरून । बरालिनपुगेका मानिसहरूप्रति तिनीहरूले मुक्तिदाताको क्षमाशील करुणाको बारेमा बोलून । तिनीहरूले पापीलाई पश्चात्ताप गर्न तथा क्षमा गर्नुहुने परमेश्वरमाथि विश्वास गर्न प्रोत्साहन दिऊन् । तिनीहरूले परमेश्वरको वचनको यस अधिकारलाई घोषणा गरून्, “यदि हामीले आफ्ना पापहरू स्वीकार गऱ्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ ।” १ यूहन्ना १:९ । पश्चात्ताप गर्नेजति सबैका निम्ति यो आश्वासन छ, “हामीलाई तपाईले फेरी टिठ्याउनुहुनेछ । तपाईले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ ।” मीका ७:१९ ।PAP 196.1
मण्डलीले पापीहरूका पश्चात्तापलाई आभारी हृदयका साथ स्वीकार गरुन् । पश्चात्तापीलाई अविश्वासको अन्धकारदेखि विश्वास तथा धार्मिकताको ज्योतिसम्म डोऱ्याउनुहोस् । पश्चात्तापीको काँप्दैगरेको हातलाई येशूको प्रेमिलो हातमा थमाउनुहोस् । यसप्रकारको पाप क्षमालाई स्वर्गमा औपचारिक मञ्जूरी दिइन्छ ।PAP 196.2
केवल यस मामलामा मात्र मण्डलीसित पापीलाई माफी गर्ने अधिकार छ । केवल ख्रीष्टको योग्यताद्वारा मात्र पापदेखि क्षमा प्राप्त गर्न सकिनेछ । कुनै व्यक्तिविशेष वा समूहलाई पाप क्षमा गर्ने शक्ति प्रदान गरिएको छैन् । ख्रीष्टले उहाँका चेलाहरूलाई सारा संसारमा उहाँको नाउँमा पाप क्षमा प्राप्त गर्न सकिने विषयमा प्रचार गर्ने जिम्मा दिनुभयो; तर तिनीहरूलाई पापको एक दाग पनि हटाउने शक्ति प्रदान गरिएको थिएन । “अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” प्रेरित ४:१२ ।PAP 197.1
जब येशूले चेलाहरूलाई माथिल्लो कोठामा पहिलोपटक भेट्नुभयो तब थोमा तिनीहरूका साथ उपस्थित थिएनन् । उसले अन्य मानिसहरूका विवरणलाई सुन्यो, र येशू बौरिउठ्नुभयो भनी पर्याप्त प्रमाण हासिल गऱ्यो; तर उसको हृदय खिन्नता तथा अविश्वासले भरिएको थियो । जब थोमाले चेलाहरूद्वारा बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा अद्भूतरूपमा प्रकट गरिएका कुराहरू सुन्यो तब ऊ अझ गहिरो खिन्नतामा डुब्नपुग्यो । यदि येशू वास्तवमै मृत्युदेखि बौरिउठ्नुभएको हो भने अब त्यहाँ वास्तविक संसारिक राज्यको आशा गर्न सकिनेछैन । उनको गुरु आफ्नो सामुबाहेक अन्य सबै चेलाहरूका सामु प्रकट हुनुभएकोले यसले उसको अहंकारमाथि ठेस पुऱ्यायो । उसले विश्वास नगर्ने अठोट लियो, र ऊ पूरा एक हप्तासम्म आफ्नो दुर्गतिमाथि सुर्ता मान्दै बस्यो, जुन दुर्गति उसका अन्य मित्रहरूका आशा र विश्वासको तुलनामा अझ अन्धकार देखिए ।PAP 197.2
यस अवधिमा थोमाले बारम्बार यसो भन्यो, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिन, र कीलाहरूका डोबमा मेरा औंला हाल्दिन, उहाँको कोखामा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्नेछैन ।” उसले आफ्ना मित्र चेलाहरूका आँखामार्फत हेर्न सकेन, न त तिनीहरूका गवाहीमाथि नै विश्वास गर्न सक्यो । उसले व्यग्रताका साथ आफ्नो परमप्रभुलाई प्रेम गर्ने गर्दथ्यो, तर उसले आफ्नो मन तथा हृदयमा ईर्ष्या तथा अविश्वासलाई कब्जा जमाउने अनुमति प्रदान गरेको थियो ।PAP 198.1
केही चेलाहरूले परिचित माथिल्लो कोठालाई अब आफ्ना अस्थायी घर नै बनाए, र हरेक साँझ थोमाबाहेक सबै चेलाहरू त्यस कोठामा भेला हुने गर्दथे । एक साँझ थोमाले अन्य चेलाहरूलाई भेट्ने अठोट गऱ्यो । आफ्नो अविश्वासको पर्वाह नगर्दै शुभ खबर सत्य पनि हुनसक्छ भन्ने झिनो आशा उसले मनमा अझै बाँकी थियो । जब चेलाहरू बेलुकिको भोजन सेवन गर्दैथिए तब ख्रीष्टले तिनीहरूलाई भविष्यवाणीमा दिनुभएका प्रमाणहरूका बारेमा तिनीहरू बातचीत गर्दैथिए । “ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्नुभयो” तिमीहरूलाई शान्ति !”PAP 198.2
थोमातर्फ फर्कनुहुँदै उहाँले भन्नुभयो, “तिम्रो औंला यहाँ राख, र मेरा हातहरू हेर । तिम्रो हात बढाएर मेरो कोखामा हाल । शंका नगर, तर विश्वासी होऊ ।” यस समयमुताविक यो कुरा प्रकट हुनआयो कि उहाँ थोमाको बिचार तथा शब्दहरूप्रति परिचित हुनुहुन्थ्यो । शंकालु थोमालाई यो कुरा थाहा थियो कि उसका मित्र चेलाहरूमध्ये कसैले पनि येशूलाई एक हप्तासम्म देखेका थिएनन् । तिनीहरूले आफ्ना गुरुलाई थोमाको अविश्वासको बारेमा बताएका थिएनन् । थोमाले आफ्नो सामु उपस्थित व्यक्तिलाई आफ्नो परमप्रभु भनी चिन्यो । उसले थप प्रमाणको इच्छा राखेन । उसको हृदय आनन्दले प्रफुल्लित भयो, अनि “मेरा प्रभु, र मेरा परमेश्वर !” भन्दै येशूको गोडामा लम्पसार पऱ्यो ।PAP 198.3
येशूले उसको स्वीकारोक्तिलाई स्वीकार गर्नुभयो, तर उसको अविश्वासलाई भने शान्त भावले यसरी हप्काउनुभयो, “तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ: धन्य हुन् तिनीहरू, जसले मलाई देखेका छैनन्, र पनि विश्वास गर्छन् ।” यदि थोमा आफ्ना सह-चेलाहरूका गवाहीलाई विश्वास गर्न राजी भएका भए उसको विश्वास ख्रीष्टको सामु अझ बढी योग्य ठहरिनेथियो । यदि संसारले थोमाको उदाहरणलाई पछ्याउने हो भने कसैले पनि मुक्तिप्राप्तिका निम्ति विश्वास गर्ने छैनन्; किनकि ख्रीष्टलाई ग्रहण गर्नेजति सबैले अरूकै गवाहीद्वारा ग्रहण गर्नुपर्नेछ ।PAP 199.1
शंकाको वशमा परेका कैयौं मानिसहरूले यदि तिनीहरूले पनि थोमाले आफ्ना मित्रहरूदेखि प्रमाण पाएझैं प्रमाण पाउन सकेका खण्डमा अवश्य विश्वास गर्नेथिए भनी सफाइ दिने गर्दछन् । तिनीहरूले यो कुरा बुझ्दैनन् कि तिनीहरूसँग त्यो मात्र नभई अझ धेरै प्रमाण छन् । कैयौं मानिसहरू जो थोमालेझैं सबै शंकाका कारणहरू हटाउने प्रयत्न गरिरहेका हुन्छन् तिनीहरूका इच्छा कदापि पूरा हुनेछैन । तिनीहरू क्रमिकरूपमा अविश्वासतर्फ दृढ बन्दै जानेछन् । जुन मानिसहरूले स्वयम् आफैलाई अँध्यारो पक्षतर्फ हेर्न, तथा गनगनाउन र शिकायत गर्न अभ्यस्त गराउँदछन् तिनीहरूले आफूले के गरिरहेका छन् भनी चाल समेत पाउँदैनन् । तिनीहरूले शंकाको बीउ रोपीरहेका हुन्छन् र शंकाकै कटनी गर्नेछन् । जब विश्वास र भरोसाको खाँचो परिरहेको हुन्छ तब कैयौंले आफूलाई त्यस समयमा आशा तथा विश्वास गर्न शक्तिहीन अवस्थामा पाउँदछन् ।PAP 199.2
येशूले थोमासँग गर्नुभएको व्यवहारमार्फत उहाँलाई पछ्याउने जति सबै विश्वासीहरूका निम्ति एक पाठ सिकाउनुभयो । जुन व्यक्तिको विश्वास कमजोर हुन्छ, र जसले आफ्नो शंकालाई महत्व दिने गर्दछ त्यस्तो व्यक्तिप्रति हामीले कस्तो व्यवहार गर्नुपर्नेछ भनी उहाँले दिनुभएको उदाहरणले प्रकट गर्दछ । येशूले थोमालाई भर्त्सनाको बोझद्वारा दबाउनुभएन, न त उसित विवाद नै गर्नुभयो । उहाँले शंका गर्ने थोमाको सामु स्वयम् आफैलाई प्रकट गर्नुभयो । थोमा आफ्नो विश्वासको अवस्थाहरूका बारेमा व्यक्त गर्नमा अति अविवेकशील थियो, तर येशूले आफ्नो उदार प्रेम तथा दयाद्वारा सबै बन्देजहरूलाई भत्काउनुभयो । अविश्वासलाई विरलै विवादद्वारा परास्त गर्न सकिनेछ । यसको सट्टा अविश्वासले आत्मरक्षा धारण गर्दछ र यसले नयाँ समर्थन तथा निहुँ फेला पार्ने गर्दछ । तर येशूलाई उहाँको प्रेम तथा करुणाका साथ क्रूसमा टाँगिनुभएको मुक्तिदाताको रूपमा मानिसको जीवनमा प्रकट हुन दिनुहोस्, र धरै मानिसहरूका ओंठदेखि थोमाको जस्तै “मेरा प्रभु, र मेरा परमेश्वर” भन्ने स्वीकारोक्ति आउनेछ ।PAP 200.1