Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ६. अब सिद्धियो

    ख्रीष्‍ट जुन कार्य पूरा गर्ने उद्देश्‍‍यका साथ यस पृथ्वीमा आउनुभएको सो कार्य पूरा नगर्नुभएसम्म उहाँले आफ्‍नो जीवन समर्पण गर्नुभएन, र अन्तिम सासका साथ उहाँले “अब सिद्धियो” भनी उच्‍चारण गर्नुभयो । यूहन्ना १९:३० । उहाँले लडाइँ जितिसक्‍नुभएको थियो । उहाँको दाहिने हातले, अर्थात् उहाँको पवित्र बाहुलीले उहाँलाई विजय हासिल गराएको थियो । एक विजेताको हैसियतले उहाँले अनन्तको उँचाइमा आफ्‍नो झण्डा गाड्‍नुभयो । के त्यहाँ स्‍वर्गदूतहरूका बीचमा हर्षको वातावरण छाएको थिएन होला त ? मुक्तिदाताका विजयप्रति सारा स्‍वर्गले विजयोत्सव मनायो । शैतानको हार भयो, र उसको राज्य पराजित हुनपुगेको छ भन्ने कुरा उसलाई थाहा थियो ।PAP 126.1

    स्‍वर्गदूत तथा अपतित जगतका निम्ति “अब सिद्धियो” भन्ने कथनको ठूलो महत्‍व थियो । तिनीहरूका साथसाथै हाम्रो लागि उद्धारको महान् कार्य पूरा गरिएको थियो । तिनीहरूले पनि हामीसँगै कलवरीको विजयको फल भोगिरहेका छन् ।PAP 126.2

    ख्रीष्‍टको मृत्युको समयसम्मै स्‍वर्गदूत तथा अपतित जगतसामु शैतानको चरित्रको बारेमा स्पष्‍टरूपमा प्रकट गरिएको थिएन । शैतानले धूर्तताद्वारा स्‍वयम्‌लाई यसरी लुकाएको थियो कि स्‍वर्गदूतहरूले समेत उसका सिद्धान्तहरूका बारेमा बुझेका थिएनन् । तिनीहरूले उसको विद्रोहको स्‍वभावलाई स्पष्‍टरूपमा देखेका थिएनन् ।PAP 126.3

    ऊ अद्‍‌भुत शक्ति तथा महिमायुक्त अस्तित्‍व थियो जसले स्‍वयम् आफैलाई परमेश्‍‍वरको विद्रोहमा उताऱ्यो । परमप्रभु भन्नुहुन्छ, “हे लुसिफर, तँ त सिद्धान्तको एक नमूना थिइस्, र बुद्धिले पूर्ण सर्वाङ्गसुन्दर ।” इजकिएल २८:१२ । लुसिफर अभिभावक करुब थियो । ऊ परमेश्‍‍वरको उपस्थितिको ज्योतिसामु उपस्थित रहने गर्दथ्यो । ऊ सृष्‍टिएका अस्तित्‍वहरूमध्ये सर्वोच्‍च थियो, र सारा जगतमा परमेश्‍‍वरको उद्देश्‍‍य प्रकट गर्ने क्रममा अगुवा रहँदै आएको थियो । ऊ पापमा डुबेपश्‍चात उसको धूर्त्याइँ शक्तिमा वृद्धि आयो, र परमेश्‍‍वर सामु उसको उच्‍च पदका कारण उसको चरित्र प्रकट हुनमा अझ मुश्‍‍किल सावित भयो ।PAP 127.1

    मानिसले सजिलै ढुङ्गा फ्‍याँकेझै परमेश्‍‍वरले शैतानलाई नाश गर्न सक्‍नुहुनेथियो; तर परमेश्‍‍वरले यसो गर्नुभएन । विद्रोहलाई वलजफ्तीरूपमा पराजित गरिनुहुन्न । बाध्य गराउने शक्ति केवल शैतानको शासनमा मात्र विद्यमान हुन्छ । परमप्रभुका सिद्धान्तहरू यसप्रकारका हुँदैनन् । उहाँको अख्तियार भलाई, करुणा, तथा प्रेममा आधारित हुन्छन्; र हामीले पनि यिनै सिद्धान्तहरूका प्रयोग गर्नुपर्नेछ । परमेश्‍‍वरको शासन नैतिक तवरको हुन्छ र सत्यता अनि प्रेम नै यसको स्थिर शक्ति हुनुपर्नेछ ।PAP 127.2

    कुनैपनि कुरालाई जमानीको अनन्त आधारमा राख्‍नु परमेश्‍‍वरको उद्देश्‍‍य थियो, र शैतानलाई उसको शासन प्रणालीको आधारमुताविकका सिद्धान्तहरू विकास गर्ने समय दिइनुपर्छ भनी स्‍वर्गको महासभामा निर्णय लिइयो । उसले आफ्‍ना सिद्धान्तहरू परमेश्‍‍वरका सिद्धान्तहरू भन्दा उत्कृष्‍ट छन् भनी दाबी गरेको थियो । शैतानका सिद्धान्तहरूलाई कार्यान्वयन गर्ने समय दिइएको थियो ताकि सारा जगतले ती सिद्धान्तहरू देख्‍न सक्‍नेछन् ।PAP 127.3

    शैतानले मानवजातिलाई पापतर्फ डोऱ्यायो र उद्धारको योजनालाई परिचालन गरियो । ख्रीष्‍टले चार हजार वर्षसम्म मानवजातिको उन्नतिको लागि कार्य गर्दैहुनुहुन्थ्यो भने शैतानले चाहिँ विनाश तथा पतनको कार्य गर्दैथियो । सारा जगतले यी सबै घटनाक्रमहरूलाई अवलोकन गरिरहेको थियो ।PAP 128.1

    जब येशू यस संसारमा आउनुभयो तब शैतानको शक्ति उहाँविरुद्ध केन्द्रित पारिएको थियो । उहाँ बेथलेहेममा एक बालकको रूपमा देखा पर्नुभए लगतै शैतानले उहाँलाई नाश गर्ने प्रयत्‍न गऱ्यो । हरेक सम्भाव्य तरिकाद्वारा उसले येशूलाई पूर्ण बाल्यपनसम्म विकास हुन पाउनुदेखि, निर्दोष व्यक्ति बन्नुदेखि, एक पवित्र सेवाकाइको कार्य गर्नुदेखि, तथा एक निष्खोट बलिदान बन्नुदेखि रोक्‍ने प्रयत्‍न गऱ्यो । तर शैतानको हार भयो । उसले येशूलाई पापतर्फ डोऱ्याउन सकेन । उसले उहाँलाई निरुत्साहित पार्न वा जुन कार्य गर्न आउनुभएको थियो त्यस कार्यदेखि उहाँलाई धपाउन सकेन । उजाडस्थानदेखि कलवरीसम्म नै शैतानको क्रोधको तुफानले उहाँमाथि प्रहार गऱ्यो, तर सो प्रहार जति बढी निर्ममतवरले उहाँ माथि पऱ्यो उति नै बढी मजबुतरूपमा परमेश्‍‍वरको पुत्रले आफ्‍नो पिताको हात पक्रनुभयो, र रक्ताम्य मार्गमा अघि बढ्‍दै गर्नुभयो । उहाँलाई दमन गर्ने तथा उहाँलाई पराजित गर्ने शैतानका सबै प्रयासहरूले उहाँको निष्खोट चरित्रलाई अझ शुद्ध प्रकाशमा ल्यायो ।PAP 128.2

    सारा स्‍वर्ग तथा पापविहीन जगत यस विवादको गवाही बनेका थिए । तिनीहरूले यस विवादको अन्तिम दृश्‍‍यलाई अति तीव्र रुचिका साथ पछ्‌याए । तिनीहरूले मुक्तिदाता गेतसमनीको बगैंचामा प्रवेश गर्नुभएको, तथा महा अन्धकारको भयद्वारा उहाँको आत्मा झुक्‍नपुगेको देखे । तिनीहरूले उहाँको यो वेदनायुक्त पुकार सुने, “हे मेरा पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस् ।” मत्ती २६:३९ । जब पिताको उपस्थिति हटेर गयो, तब तिनीहरूले उहाँलाई त्यस तितोपनद्वारा दुःखित हुनुभएको देखे जुन मृत्युको अन्तिम संघर्षभन्दा अधिक थियो । उहाँको शरीरदेखि रगतको थोपा मिश्रित पसिना बहे । उहाँले छुटकाराका लागि तीनपटक वेदनायुक्त प्रार्थना गर्नुभयो । स्‍वर्गले यस दृश्‍‍यलाई अझ बढी सहन सकेन, र परमेश्‍‍वरको पुत्रकहाँ शान्त्‍वनाको दूत पठाइयो ।PAP 129.1

    सारा स्‍वर्गले शिकार (येशू) घातक भीडको हातमा धोखा पाउनुभएको तथा तिरस्कार र हिंसाका साथ एक इजलासदेखि अर्को इजलाससम्म हतारपूर्वक लगिएको दृश्‍‍य देख्यो । यसले उहाँको निम्‍नस्तरको जन्मका कारण उहाँलाई खेदो गर्नेहरूका उपहासलाई सुन्यो । यसले उहाँका सर्वप्रिय चेलाहरूमध्ये एक चेलाले उहाँलाई त्यागेको तथा सरापेको पनि सुन्यो । यसले शैतानको उन्मक्त कार्य तथा मानिसहरूका हृदय जित्‍ने उसको शक्तिलाई देख्यो । यो अति भयानक दृश्‍‍य थियो । मुक्तिदाता गेतसमनीमा मध्यरातको समयमा पक्राउ पर्नुभएको थियो, राजमहलदेखि न्याय आसनसम्म जबर्जस्तीरूपमा यताउता लगिनुभएको थियो, पूजाहारीको सामु, यरुशलेमको उच्‍च परिषदको सामु, तथा पिलातसको सामु दुईपटक तथा हेरोदको सामु एकपटक अभियोग लगाइनुभएको थियो, कोर्रा खानुभएको, दोषी ठहराइनुभएको, क्रूसको भारी बोझ स्‍वयम् आफै बोक्दै क्रूसमा टाँगिनका निम्ति लगिनुभएको थियो र यी सबै घटनाहरू यरुशलेम निवासीहरूका रुवाबासी तथा उपहासबीच घट्‍नपुगेका थिए ।PAP 129.2

    स्‍वर्गले शोक तथा आश्‍चर्यपूर्वक ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको, उहाँको निधारदेखि रगत मिसिएको पसिना बहेको देखेको थियो । उहाँको हात गोडादेखि रगत बगे, र थोपा-थोपा गर्दै त्यस चट्टानमाथि परे जहाँ क्रूस टाँगिनका निम्ति प्वाल पारिएको थियो । उहाँको शरीरको बोझका कारण उहाँको हातमा कीलाले बनाएको चोट झन्-झन् फाट्‍दैगयो । जब उहाँको आत्मा संसारको पापको बोझका कारण निसासिन थाल्यो तब उहाँको कठिन स्‍वासप्रश्‍‍वास तीव्र तथा गहिरो हुनथाल्यो । आफ्‍नो त्यस भयानक पीडाको समयमा जब ख्रीष्‍टले “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” भनी प्रार्थना गर्नुभयो तब सारा स्‍वर्ग आश्‍चर्यचकित बन्नपुग्यो । लूका २३:३४ । तैपनि स्‍वयम् परमेश्‍‍वरकै स्‍वरूपमा रचिएका मानिसहरू उहाँको एकमात्र पुत्रको जीवन निर्चोने उद्देश्‍‍यका साथ भेला भए । यो स्‍वर्गीय जगतको निम्ति अति भयानक दृश्‍‍य थियो ।PAP 130.1

    अन्धकारका शासक तथा शक्तिहरू मानिसका हृदयमा अविश्‍‍वासको नरकीय छायाको छाप पार्दै क्रूसको सामु भेला भएका थिए । जब परमप्रभुले ती अस्तित्‍वहरूलाई उहाँको सिंहासनको सामु खडा हुनका निम्ति रच्‍नुभएको थियो तब तिनीहरू सुन्दर तथा महिमित थिए । तिनीहरूका प्रेमिलोपन तथा पवित्रता तिनीहरूका उच्‍च पदमुताविक थिए । तिनीहरू परमेश्‍‍वरको ज्ञानद्वारा भरिपूर्ण थिए, र स्‍वर्गको सजधजका साथ सुसज्‍जित थिए । तिनीहरू यहोवे परमेश्‍‍वरका सेवक थिए । तर त्यस पतित स्‍वर्गदूत, महिमित सेराफिम जसले कुनै एक समय स्‍वर्गीय सभामा सेवाकाइ गरेको थियो ऊ यसरी पापमा फस्‍नेछ भनी कसले सोंचेको थियो र ?PAP 130.2

    ख्रीष्‍ट पापीहरूका मूख्य हुनुहुन्छ तथा उहाँ घृणाको पात्र हुनुहुन्छ भनी मानिसहरूलाई विश्‍‍वस्त पार्ने क्रममा शैतानका सहायकहरू दुष्‍ट मानिसहरूका सहयोगी बन्नपुगे । क्रूसमा टाँगिनुभएको ख्रीष्‍टलाई उपहास गर्ने मानिसहरू प्रथम महा विद्रोहीको (शैतानको) स्‍वभावद्वारा भरिपूर्ण बन्नपुगेका थिए । शैतानले तिनीहरूका मनलाई नीच तथा घृणास्पद शब्दहरूद्वारा भरिदियो । उसले तिनीहरूमा छेडछाडको भावनालाई उत्तेजित गराइदियो । तर यी सबै क्रमद्वारा उसले केही लाभ हासिल गर्न सकेन ।PAP 131.1

    यदि ख्रीष्‍टमा केवल एक मात्र पाप फेला परेको भए, वा त्यस भयानक यातनादेखि बाँच्‍नका निम्ति स्‍वयम्‌लाई शैतानको हातमा सुम्पनुभएको भए पनि परमेश्‍‍वर तथा मानिसको शत्रुले (शैतानले) विजय हासिल गर्नेथियो । ख्रीष्‍टले आफ्‍नो शिर निहुराउनुभयो अनि उहाँको मृत्यु भयो, तर उहाँले आफ्‍नो विश्‍‍वास तथा परमेश्‍‍वर प्रतिको आफ्‍नो अधीनतालाई कायम राख्‍नुभयो । “तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, अब हाम्रा परमेश्‍‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ । किनकि भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍‍वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्‍याँकिएको छ ।” प्रकाश १२:१० ।PAP 131.2

    शैतानले आफ्‍नो कपटवेश च्यातिनपुगेको छ भन्ने कुरालाई बुझ्यो । उसको शासन पद्दति अपतित स्‍वर्गदूतहरूका सामु तथा सारा स्‍वर्गीय जगतको सामु खुलस्त हुनपुग्यो । उसले स्‍वयम्‌लाई एक हत्याराको रूपमा प्रकट गरेको थियो । परमेश्‍‍वरको पुत्रको रगत बहाई उसले स्‍वयम्‌लाई स्‍वर्गीय जगतको सहानुभूतिदेखि हटाएको थियो । यस उप्रान्त उसको कार्य सीमित हुनपुग्यो । शैतानले जस्तो बिचार धारण गरेपनि उसले अब स्‍वर्गदूतहरूका प्रतिक्षा गर्न सक्‍नेथिए जुन स्‍वर्गदूतहरू स्‍वर्गको न्यायालयदेखि आएका थिए र ख्रीष्‍टका जनहरूले पापको कालो, अपवित्र बस्‍‌त्र धारण गरेका कारण उसले त्यस सभामा तिनीहरूलाई दोष लगाएको थियो । शैतान तथा स्‍वर्गीय जगतबीच विद्यमान सहानुभूतिको अन्तिम जोर्नी चुडिनपुगेको थियो ।PAP 132.1

    तैपनि शैतानलाई त्यतिखेर नै नाश गरिएन । स्‍वर्गदूतहरूले त्यतिखेर त्यस महा विवादको घेराभित्र परेका सबै कुराहरूलाई बुझ्‍नसमेत सकेनन् । दाउमा परेका सिद्धान्तहरूलाई अझ पूर्णरूपमा प्रकट गरिनु पर्नेथियो । मानवजातिकै खातिर शैतानको अस्तित्‍वलाई कायम राखिनुपर्नेछ । मानिसका साथसाथै स्‍वर्गदूतहरूले पनि ज्योतिको राजकुमार तथा अन्धकारको राजकुमारका बीचमा भएको भिन्नतालाई देख्‍नुपर्नेछ । मानवजातिले कसको भक्ति गर्ने भनी रोज्‍नुपर्नेछ ।PAP 132.2

    महा विवादको प्रारम्भमै शैतानले परमेश्‍‍वरको व्यवस्था पालन गर्न सम्भव छैन, इन्साफ करुणाको विरुद्धमा छ, र यदि व्यवस्था भङ्ग गरिको खण्डमा पापीले क्षमा प्राप्‍त गर्न असम्भव सावित हुनेछ भनी घोषणा गरेको थियो । हरेक पापले यसको सजाय पाउनैपर्छ; र यदि परमेश्‍‍वरले पापविरुद्धको सजायलाई माफी गर्नुहुन्छ भने उहाँ सत्यता तथा इन्साफको परमेश्‍‍वर हुनुहुनेछैन भनी शैतानले जिद्दी गऱ्यो । जब मानिसहरूले परमेश्‍‍वरको व्यवस्था भङ्ग गरे तथा उहाँको इच्छालाई बिटुलो पारे तब शैतान अति प्रसन्न भयो । परमेश्‍‍वरको व्यवस्थालाई पालन गर्न सकिनेछैन तथा मानिसले क्षमा प्राप्‍त गर्न सक्‍नेछैन भन्ने कुरा प्रमाणित भइसक्‍यो भनी शैतानले घोषणा गऱ्यो । आफ्‍नो विद्रोहपछि उसलाई स्‍वर्गदेखि निष्कासन गरिएको हुनाले मानवजातिलाई सदाको निम्ति परमेश्‍‍वरका निगाहदेखि बन्द गरिनुपर्छ भनी शैतानले दाबी गऱ्यो । उसले परमेश्‍‍वर न्यायप्रेमी हुनुको साथसाथै पापीहरूलाई करुणा पनि प्रकट गर्नुहुने अस्तित्‍व बन्न सक्‍नुहुने छैन भनी जिद्दी गऱ्यो ।PAP 132.3

    एक पापीको हैसियतले समेत मानिस शैतानदेखि बेग्‍लै अवस्थामा थियो । लुसिफरले स्‍वर्गमा परमेश्‍‍वरको महिमाको ज्योतिमा पाप गरेको थियो । उसलाई जस्तो अन्य कुनै पनि सृष्‍टिएका प्राणीलाई परमेश्‍‍वरको प्रेमको प्रकाशन दिइएको थिएन । परमेश्‍‍वरको चरित्र तथा भलाईको बारेमा जानीबुझिकन पनि शैतानले स्‍वयम् आफ्‍नै स्‍वार्थी तथा स्‍वतस्‍‌त्र बिचारलाई पछ्‌याउने रोजाइ गऱ्यो । यही नै उसको अन्तिम रोजाइ थियो । उसलाई बचाउनका निम्ति परमेश्‍‍वरसँग अरू कुनै विकल्प नै बाँकी रहेन । तर मानिस त धोखामा परेको थियो; उसको मन शैतानको वाक्छलद्वारा अन्धकार बन्नपुगेको थियो । ऊ परमेश्‍‍वरको प्रेमको उँचाइ तथा गहिराइको बारेमा अनभिज्ञ थियो । उसका निम्ति परमेश्‍‍वरको प्रेमको ज्ञानमाथि आशा थियो । परमेश्‍‍वरको चरित्रलाई हेर्दै ऊ परमेश्‍‍वरतर्फ पुनः आकर्षित बन्न सक्‍नेथियो ।PAP 133.1

    येशूमार्फत मानवजातिलाई परमेश्‍‍वरको प्रेम प्रकट गरिएको थियो; तर करुणाले इन्साफलाई हटाउँदैन । व्यवस्थाले परमेश्‍‍वरको चरित्रका गुणहरूलाई प्रकट गर्दछ, र मानिसको पतित अवस्थाका मागहरूलाई पूरा गर्नका निम्ति व्यवस्थादेखि एक मात्र वा एउटा बिन्दु पनि टल्‍नेछैन । परमेश्‍‍वरले आफ्‍नो व्यवस्थालाई परिवर्तन गर्नुभएन, तर मानिसको उद्धारका निम्ति उहाँले ख्रीष्‍टमार्फत स्‍वयम्‌लाई बलिदान गर्नुभयो । “स्‍वयम् ख्रीष्‍टमा हुनुभएर परमेश्‍‍वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो ।” २ कोरिन्थी ५:१९ ।PAP 134.1

    व्यवस्थाले धार्मिकता, एक धर्मी जीवन, तथा एक पूर्ण चरित्रको माग गर्दछ जुन गुणहरू मानिसमा छैनन् । उसले परमेश्‍‍वरको पवित्र व्यवस्थाका मागहरूलाई पूरा गर्न सक्तैन । तर ख्रीष्‍ट यस पृथ्वीमा एक मानिसको रूपमा आउनुभई पवित्र जीवन जिउनुभयो, र पूर्ण चरित्र विकास गर्नुभयो । यिनै कुराहरू उहाँ ती सबै मानिसहरूलाई सित्तैको उपहारको रूपमा दिनुहुन्छ जो ती उपहारहरूलाई ग्रहण गर्न तैयार छन् । उहाँको जीवन मानिसको जीवनकै खातिर उपस्थित छ । यसप्रकार परमेश्‍‍वरको धर्यताद्वारा मानिसहरूले आफ्‍ना विगतका पापदेखि क्षमा पाउन सक्‍नेछन् । यसभन्दा अझ महान् कुरा के छ भने ख्रीष्‍टले मानवजातिलाई परमेश्‍‍वरका चरित्रहरूद्वारा भरिपूर्ण तुल्याउनुहुन्छ । उहाँले मानव शरीरमा इश्‍‍वरीय स्‍वभावको चरित्र स्थापना गर्नुहुन्छ, जुन आत्मिक शक्ति तथा सुन्दरताको असल रचना हो । यसप्रकार ख्रीष्‍टमा विश्‍‍वास गर्ने मानिसहरूमा व्यवस्थाकै धर्मिकता पूरा हुनआउँछ । “परमेश्‍‍वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्‍‍वास राख्‍नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ ।” रोमी ३:२६ ।PAP 134.2

    परमेश्‍‍वरको प्रेम उहाँको करुणाका साथसाथै उहाँको इन्साफमा पनि व्यक्त गरिएको छ । इन्साफ नै उहाँको सिंहासनको जग तथा उहाँको प्रेमको फल हो । करुणालाई सत्यता तथा इन्साफदेखि अलग पार्नु नै शैतानको उद्देश्‍‍य रहँदै आएको थियो । परमेश्‍‍वरको धार्मिकता शान्तिको शत्रु हो भनी उसले प्रमाणित गर्ने प्रयत्‍न गरेको थियो । तर ख्रीष्‍टले यो देखाउनुभएको छ कि परमेश्‍‍वरको योजनामुताविक ती एक आपसमा स्थिररूपमा जोडिएका छन्; एउटा अर्कोबिना रहन सक्तैन । “प्रेम र विस्‍वस्तता आपसमा मिल्छन्, धार्मिकता र शन्तिले एक-अर्कालाई चुम्बन गर्छन् ।” भजन ८५:१० ।PAP 135.1

    ख्रीष्‍टले आफ्‍नो जीवन र मृत्युद्वारा इन्साफले उहाँको करुणालाई नाश गरेको छैन, पापदेखि क्षमा पाउन सकिन्छ, र व्यवस्था धर्मी छ र यसलाई पूर्णरूपमा पालन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभयो । शैतानका आरोपहरूलाई अप्रमाणित गरिए । परमेश्‍‍वरले मानिसलाई उहाँको प्रेमको अचूक प्रमाण दिनुभएको थियो ।PAP 135.2

    अब अर्को छल प्रस्तुत गरिनेवाला थियो । करुणाले इन्साफलाई नाश गरेको छ तथा ख्रीष्‍टको मृत्युले परमेश्‍‍वरको व्यवस्थालाई रद्द गरेको छ भनी शैतानले घोषणा गऱ्यो । यदि व्यवस्थालाई परिवर्तन वा रद्द गर्न सकिने भए ख्रीष्‍टलाई मृत्युको सामना गर्नु आवश्‍‍यक पर्ने थिएन । तर व्यवस्थालाई रद्द गर्नुको अर्थ पापलाई अमर बनाउनु तथा संसारलाई शैतानको नियन्‍‍त्रणमा राख्‍नु सावित हुने थियो । व्यवस्था अपरिवर्तनीय भएकै कारण तथा मानिस यसको सिद्धान्तहरूलाई पालन गरेर मात्र बाँच्‍न सक्‍ने हुनाले येशू क्रूसमा टाँगिनुभयो । तैपनि जुन उपायद्वारा ख्रीष्‍टले व्यवस्था स्थापित गर्नुभएको थियो त्यसलाई उहाँले नाश गर्नुभएको छ भनी शैतानले प्रकट गऱ्यो । यसैमार्फत ख्रीष्‍ट र शैतानबीचको महान् विवादको अन्तिम संघर्ष प्रकट हुनेछ ।PAP 135.3

    स्‍वयम् परमेश्‍‍वरकै वाणीद्वारा बोलिएको परमेश्‍‍वरको व्यवस्था अपूर्ण छ तथा त्यस व्यवस्थाको केही शर्तलाई हटाइएको छ भनी शैतान अहिले दाबी गर्दैछ । यही नै शैतानले यस संसारमा उत्पन्न गर्ने अन्तिम छल हुनेछ । उसले सबै व्यवस्थामाथि आक्रमण गर्नु आवश्‍‍यक छैन; यदि उसले मानिसलाई केवल एकमात्र आज्ञामाथि उपेक्षा गर्नेतर्फ डोऱ्याउन सकेको खण्डमा पनि उसको उद्देश्‍‍य पूरा हुनेछ । “किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ ।” याकूब २:१० । केवल एकमात्र आज्ञालाई भङ्ग गर्न सहमत भएको खण्डमा पनि मानिसहरू शैतानको शक्तिको वशमा पर्नेछन् । शैतानले परमेश्‍‍वरको व्यवस्थालाई मानिसको व्यवस्थाद्वारा विस्थापित गरी संसारमाथि नियन्‍‍त्रण गर्ने प्रयत्‍न गर्नेछ । यस कार्यको बारेमा अग्रिमरूपमा भविष्यवाणी गरिएको छ । शैतानको प्रतिनिधित्‍व गर्ने यस महा विधर्मी शक्तिको बारेमा यसरी घोषणा गरिएको छ, “उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहऱ्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्‍न गर्नेछ । पवित्र जनहरू साढे तीन वर्षसम्म उसको हातमा सुम्पिइनेछन् ।” दानिएल ७:२५PAP 136.1

    मानिसहरूले परमेश्‍‍वरको व्यवस्थाविरुद्ध हमला गर्नका निम्ति अवश्‍‍य पनि आफ्‍ना व्यवस्थाहरूलाई स्थापित गर्नेछन् । तिनीहरूले अन्य मानिसहरूका अन्तरात्मालाई बाध्य गराउने प्रयत्‍न गर्नेछन्, यी व्यवस्थाहरूलाई लागू गर्ने उत्साहका साथ तिनीहरूले अरूमाथि दमन गर्नेछन् ।PAP 137.1

    स्‍वर्गमा शुरु भएको परमेश्‍‍वर विरुद्धको लडाइँ अन्त्यसम्मै जारी रहनेछ । हरेक व्यक्तिले यस परीक्षाको सामना गर्नेछ । आज्ञाकारिता वा अनाज्ञाकारिता नै सारा जगतद्वारा निधो गरिनुपर्ने प्रश्‍न हो । सबै मानिसहरूलाई परमेश्‍‍वरको व्यवस्था वा मानिसको व्यवस्थाबीच एकलाई रोजाइ गर्नका निम्ति आव्हान गरिनेछ । यहीं विभाजनको रेखा कोरिनेछ । त्यहाँ केवल दुई वर्गका मानिसहरू हुनेछन् । हरेक चरित्रको पूर्णरूपमा विकास हुनेछ; र सबै मानिसहरूले वफादारीको पक्षलाई वा विद्रोहको पक्षलाई रोजेका छन् भनी प्रकट गर्नेछन् ।PAP 137.2

    तब अन्त्यको समय आउनेछ । परमेश्‍‍वरले आफ्‍नो व्यवस्थालाई सिद्ध गर्नुहुनेछ र उहाँका जनहरूलाई उद्धार गर्नुहुनेछ । शैतान तथा उसको विद्रोहको पक्षमा लागेका मानिसहरूलाई अलग तुल्याइनेछ । पाप तथा पापीहरू जरा तथा हाँगाहरूका समेत विनाश हुनेछ (मलाकी ४:१), जहाँ शैतान जरा हो भने उसका चेलाहरू चाहिँ हाँगाहरू हुन् । वचनमा लेखिएको यो कुरा अन्धकारको राजकुमारमा पूरा हुन आउनेछ, “तैंले आफूलाई एउटा देवताजत्तिकै बुद्धिमान् ठान्छस्; ... हे अभिभावक करुब, मैले तँलाई अग्‍निमय पत्थरहरूका बीचदेखि धपाइदिएँ । ... तँलाई चिन्नेहरू तँलाई देखेर भयभीत हुन्छन् । तँ फेरि कहिल्यै रहनेछैनस् ।” “दुष्‍टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन् ।” “तिनीहरू कहिल्यै नभएजस्तै हुनेछन् ।” इजकिएल २८:६-१९; भजन ३७:१०; ओबदिया १६ ।PAP 137.3

    परमेश्‍‍वरको पक्षमा यो कुनै अतार्किक शक्तिको कार्य होइन । उहाँको करुणालाई उपेक्षा गर्ने मानिसहरूले त्यही कुराको कटनी गर्नेछन् जुन स्‍वयम् आफैले छरेका थिए । परमेश्‍‍वर जीवनको मुहान हुनुहुन्छ; र जब कुनै व्यक्तिले पापपूर्ण कार्य गर्ने रोजाइ गर्दछ तब ऊ परमेश्‍‍वरदेखि अलग हुन पुग्दछ, र यसप्रकार स्‍वयम् आफैलाई जीवनदेखि अलग पार्दछ । ऊ “परमेश्‍‍वरको जीवनदेखि बिरानो” भएको छ । ख्रीष्‍ट भन्नुहुन्छ, “मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्‍छ ।” एफिसी ४:१८; हितोपदेश ८:३६ । परमेश्‍‍वर तिनीहरूलाई बाँच्‍ने केही समय प्रदान गर्नुहुन्छ ताकि तिनीहरूले आफ्‍ना चरित्र विकास गर्न तथा सिद्धान्तहरू प्रकट गर्न सक्‍नेछन् । यो कार्य पूरा भइसकेपछि तिनीहरूले स्‍वयम् आफ्‍नै रोजाइका प्रतिफल पाउन सक्‍नेछन् । विद्रोही जीवनमार्फत शैतान तथा उसँग सम्मिलित हुनपुगेका सबै मानिसहरूले स्‍वयम्‌लाई परमेश्‍‍वरको अनुरूपतादेखि यति टाढा पुऱ्याउनेछन् कि तिनीहरूका निम्ति परमेश्‍‍वरको उपस्थिति समेत भस्म पार्ने आगो सावित हुनेछ । प्रेमिलो परमेश्‍‍वरको महिमाले तिनीहरूलाई नष्‍ट पार्नेछ ।PAP 138.1

    महा विवादको आरम्भमा स्‍वर्गदूतहरूले यसको बारेमा केही पनि बुझेका थिएनन् । यदि शैतान तथा उसका सहायकहरूलाई त्यतिखेर आफ्‍ना पापको पूर्ण परिणाम भोग्‍न छाडिएका भए तिनीहरू मर्नेथिए; तर यो पापको अचूक परिणाम हो भन्ने कुरालाई स्‍वर्गीय जनहरूले बुझ्‍ने थिएनन् । तिनीहरूका मनमा परमेश्‍‍वरको भलाइप्रतिको शंका एक दुष्‍ट बीउको रूपमा रहनेथियो जसले पाप तथा सरापको भयानक फल फलाउने थियो ।PAP 138.2

    तर महा विवादको अन्त्यको समयमा यस्तो हुनेछैन । त्यसबेला उद्धारको योजना पूरा भइसके पश्‍चात सृष्‍टिएका अस्तित्‍वहरूका सामु परमेश्‍‍वरको चरित्र प्रकट गरिनेछ । उहाँका व्यवस्थाका सिद्धान्तहरू पूर्ण तथा अपरिवर्तनीय देखिनेछन् । त्यस समय पापले यसको स्‍वभाव तथा शैतानले आफ्‍नो चरित्र प्रकट गरिसकेको हुनेछ । तब पाप उन्मूलनले परमेश्‍‍वरको प्रेमलाई सिद्ध गर्नेछ र ती अस्तित्‍वहरूका सामु उहाँको सम्मान स्थापित गर्नेछ जसले उहाँको इच्छामुताविक गर्न आनन्द मान्दछन् र जसका हृदयामा उहाँको व्यवस्था पाइन्छ ।PAP 139.1

    तब मुक्तिदाताको क्रूसतर्फ हेर्दै स्‍वर्गदूतहरूले आनन्द मनाउनेछन् किनकि यद्यपि तिनीहरूले त्यस समय सबै कुरा बुझ्‍न असमर्थ भएता पनि तिनीहरूलाई यो कुरा थाहा थियो कि पाप तथा शैतानको विनाशलाई सदाको निम्ति निश्‍चित तुल्याइएकोछ, कि मानवजातिको उद्धारलाई निश्‍चित तुल्याइएको छ, र जगतलाई सदाको निम्ति सुरक्षित तुल्याइएको छ । स्‍वयम् ख्रीष्‍ट आफैले पनि कलवरीमा गरिएको बलिदानको परिणामहरूका बारेमा पूर्णरूपले बुझ्‍नुभयो । उहाँले यी सबै कुराहरूका प्रतिक्षा गर्नुहुँदै क्रूसमा “अब सिद्धियो” भनी कराउनुभयो ।PAP 139.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents