Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ९. नारी किन रुन्छ्‌यौ ?

    मत्ती २८:१, ५-८; मर्कूस १६:१-८; लूका २४:१-१२; यूहन्ना २०:१-१८ मा आधारित ।

    ख्रीष्‍टको क्रूस वरिपरि भेला भएका स्‍‌त्रीहरू शबाथ-दिनको सयम बितेर जाओस् भनी प्रतिक्षा गरिरहेका थिए । हप्‍ताको पहिलो दिन सबेरै तिनीहरू मुक्तिदाताको शरीरलाई अभिषेक गर्नका निम्ति बहुमूल्य मसलाका साथ चिहानतर्फ लागे । तिनीहरूले उहाँ मृत्युदेखि बौरिउठ्‍नुहुनेछ भनी सोंचेका थिएनन् । तिनीहरूका आशाको सूर्य अस्ताइसकेको थियो, र तिनीहरूका हृदयमा अन्धकार छाइसकेको थियो । जसै तिनीहरू अघि बढ्‍दैथिए तिनीहरूले ख्रीष्‍टका करुणामयी कार्यहरूका बारेमा तथा उहाँका शान्त्‍वनायुक्त वचनहरूलाई स्मरण गरे । तर तिनीहरूले “म फेरि तिमीहरूलाई देख्‍नेछु” भन्ने उहाँको वचनलाई याद गरेनन् । यूहन्ना १६:२२ ।PAP 171.1

    त्यतिखेर घटिरहेको घटनाको बारेमा चालै नपाई तिनीहरू “हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला ?” भन्दै बगैंचातर्फ लागे । तिनीहरूलाई थाहा थियो कि तिनीहरूले त्यस विशाल ढुङ्गालाई गुडाउन सक्‍ने थिएनन्, तैपनि तिनीहरू अघि बढ्‍दै गरे । र अचानक आकाश एक यस्तो महिमाका साथ चम्कियो जुन ज्योति सुर्योदयका कारण उत्पन्न भएको थिएन । पृथ्वीमा कम्पन उत्पन्न भयो । तिनीहरूले सो विशाल ढुङ्गा गुडेको देखे । चिहान खाली हुनपुग्यो ।PAP 171.2

    ती सबै स्‍‌त्रीहरू चिहानमा एकै स्थानबाट आएका थिएनन् । मेरी मग्दालिन चिहानमा पुग्‍ने पहिलो स्‍‌त्री थिइन्; र ढुङ्गा हटेको देख्‍नासाथ तिनी हतारिंदै चेलाहरूलाई सो कुरा बताउन गइन् । त्यही समय अन्य स्‍‌त्रीहरू पनि त्यहाँ उपस्थित भए । चिहान वरिपरि ज्योति चम्किरहेको थियो तर येशूको शरीर त्यस चिहानमा थिएन । जब तिनीहरू त्यहाँ विलम्ब गरिरहेका थिए तब अचानक तिनीहरूले यस कुराको चाल पाए कि तिनीहरू त्यहाँ एक्‍लै थिएनन् । एक जवान व्यक्ति चम्किलो बस्‍‌त्रका साथ चिहानको छेवैमा खडा थिए । उक्त स्‍वर्गदूतले नै सो विशाल ढुङ्गालाई गुडाएका थिए । सो स्‍वर्गदूतले मानव रूप धारण गरेका थिए ताकि उनले येशूका मित्रहरूलाई भयभीत तुल्याउने छैनन् । तैपनि उनको वरिपरि स्‍वर्गीय महिमाको ज्योति अझैपनि चम्किरहेको थियो, र यसप्रकार स्‍‌त्रीहरू भयभीत बन्नपुगेका थिए । जसै तिनीहरू त्यहाँदेखि भाग्‍ने तर्खर गर्दैथिए तब स्‍वर्गदूतको वचनले तिनीहरूका कदमलाई रोक्‍यो । उनले भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्दैछौ । उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएबमोजिम उहाँ जीवित भई उठ्‍नुभएको छ । आओ, उहाँलाई राखिएको ठाउँ हेर । तब चाँडो गएर उहाँका चेलाहरूलाई खबर देओ ।” तिनीहरूले पुनः चिहानतर्फ हेरे, र पुनः तिनीहरूले यो अद्‍‌भुत खबर सुने । मानव रूपमा उपस्थित अर्को स्‍वर्गदूतले पनि यसो भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ ? उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्‍नुभएको छ । गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर, कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्‍नु आवश्‍‍यक छ ।”PAP 172.1

    ती स्‍‌त्रीहरूले “उहाँ बौरिउठ्‍नुभयो, उहाँ बौरिउठ्‍नुभयो” भनी बारम्बार दोहोऱ्याइरहे । अब अभिषेक गरिने मसलाको कुनै आवश्‍‍यकता छैन । मुक्तिदाता मृत होइन, जिउँदै हुनुहुन्छ । उहाँ पुनः बौरिउठ्‍नुहुनेछ भनी उहाँले आफ्‍नो मृत्युको बारेमा बताउनुभएको कुरालाई तिनीहरूले याद गरे । यस संसारको लागि यो महान् दिन ! ती स्‍‌त्रीहरू “डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे ।”PAP 173.1

    मरियमले शुभ खबर सुनेकी थिइनन् । तिनी “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्दैनौं” भन्ने शोकपूर्ण खबरका साथ पत्रुस र यूहन्नाकहाँ पुगिन् । चेलाहरू चिहानतर्फ हतारपूर्वक गए र मरियमले भनेअनुुसारकै कुरा फेला पारे । तिनीहरूले उहाँको शरीर बेरिएको कात्रो त फेला पारे, तर आफ्‍ना परमप्रभुलाई भने भेट्टाएनन् । उहाँ बौरिउठ्‍नु भयो भन्ने प्रमाण यहाँ पनि भेट्टियो । चिहानमा प्रयोग गरिएका कपडाहरूलाई लथालिङ्ग फालिएको थिएन तर तिनलाई होशियारीपूर्वक पट्याएर राखिएको थियो । यूहन्नाले “देखे अनि विश्‍‍वास गरे ।” ख्रीष्‍ट मृत्युदेखि बौरिउठ्‍नुपर्नेछ भन्ने पवित्रशास्‍‌त्रको वचनलाई यूहन्नाले बुझेनन्; तर मुक्तिदाताले आफ्‍नो पुनरुत्थानको बारेमा गर्नुभएको भविष्यवाणीको बारेमा उनले याद गरे ।PAP 173.2

    स्‍वयम् ख्रीष्‍ट आफैले नै उहाँलाई चिहानमा बेरिएको कपडालाई यति जतनका साथ राख्‍नुभएको थियो । जब शक्तिशाली स्‍वर्गदूत गब्रिएल चिहानमा आए तब उनीसँग अर्को स्‍वर्गदूत पनि आएका थिए जसले परमप्रभुको शरीरलाई पहरा दिइरहेका थिए । जब एक स्‍वर्गदूत चिहानको विशाल ढुङ्गालाई गुडाए तब अर्को स्‍वर्गदूत चिहानमा प्रवेश गरे अनि येशूलाई बेरिराखेको कपडालाई फुकाले । तर मुक्तिदाताले आफ्‍नै हातद्वारा ती कपडालाई पट्याएर हिफाजतसाथ राख्‍नुभयो । हाम्रा मुक्तिदाता जसले तारा मण्डल वा अणुलाई समानरूपमा सम्हाल्‍नुहुन्छ, उहाँको नजरमा कुनै पनि कुरा महत्‍वहीन छैनन् । उहाँको सारा कार्यहरूमा नियमितता तथा पूर्णता झल्किन्छन् ।PAP 173.3

    मरियमले यूहन्ना र पत्रुसलाई चिहानसम्म पछ्‌याएकी थिइन्; र जब तिनीहरू यरुशलेम फर्के तब तिनीचाहिँ त्यही रोकिइन् । जब तिनले खाली गुफातर्फ हेरिन् तब तिनको हृदय शोकले भरिनपुग्यो । जब तिनले चिहान भित्र हेरिन् तब तिनले येशूलाई गाडिएको चिहानको टाउकोतर्फ एक तथा गोडातर्फ अर्को स्‍वर्गदूत गरी दुई स्‍वर्गदूतहरूलाई देखिन् । ती स्‍वर्गदूतहरूले तिनलाई, “नारी किन रुन्छ्‌यौ ?” भनी प्रश्‍न गरे । तिनले यसरी जवाफ दिइन्, “तिनीहरूले मेरा प्रभुलाई लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, म जान्दिन ।”PAP 174.1

    तब मरियम ती स्‍वर्गदूतहरूदेखि समेत तर्किएर गइन्, र तिनले एक यस्तो व्यक्तिलाई फेला पार्नुपर्नेछ भनी बिचार लिइन् जसले येशूको मृत शरीरलाई के गरिएको छ भनी बताउन सक्‍नेछ । तब अर्को आवाजले तिनलाई यसरी सम्बोधन गऱ्यो, “नारी, तिमी किन रँदैछ्‌यौ ? कसलाई खोज्दैछ्‌यौ ?” आँसुले धमिलिन पुगेका आँखाका साथ मरियमले एक व्यक्ति देखिन् र उक्त व्यक्तिलाई एक माली ठान्दै तिनले यसो भनिन्, “हजूर, तपाईले उहाँलाई यहाँबाट लैजानुभएको भए कहाँ राख्‍नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु ।” यदि यस धनी मानिसको चिहान येशूको लागि अति सम्मानयोग्य चिहान ठानिएको भए स्‍वयम् मरियम आफैले उहाँको निम्ति सो स्थान उपलब्ध गराउन सक्‍नेथिइन् । त्यहाँ एक यस्तो चिहान थियो जसलाई स्‍वयम् ख्रीष्‍टकै आवाजले रिक्त तुल्याएको थियो, जहाँ लाजरसलाई गाडिएको थियो । के उनले आफ्‍नो परमप्रभुको निम्ति दफन गर्ने स्थान पाउन सक्‍ने थिइनन् त ? क्रूसमा चढाइएको उहाँको शरीरलाई हेरचाहा गर्न पाउनु तिनको त्यस शोकाकुल घडीका निम्ति एक ठूलो सान्त्‍वना सावित हुनेथियो भनी उनले महसुस गरिन् ।PAP 174.2

    तर अब येशूले आफ्‍नो त्यस चिरपरिचित सोरका साथ उनलाई “मरियम” भनी पुकार्नुभयो । तब तिनलाई यो थाहा भयो कि उनलाई सम्बोधन गर्ने व्यक्ति कुनै अपरिचित व्यक्ति होइन्, र तिनले आफ्‍नो सामु जीवित ख्रीष्‍टलाई देखिन् । आफ्‍नो हर्षमा तिनले उहाँ क्रूसमा टाँगिनुभएको कुरालाई भुलिन् । उहाँलाई अँगालो मार्न हाम फाल्दै तिनले “रब्‍बोनी” भनी पुकारिन् । तर ख्रीष्‍टले आफ्‍नो हात उठाउँदै यसो भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गकएको छैन । तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्‍‍वर र तिमीहरूका परमेश्‍‍वर कहाँ गइरहेछु ।” अनि मरियम हर्षको सन्देशका साथ चेलाहरू कहाँ गइन् ।PAP 175.1

    येशूले आफ्‍नो बलिदानलाई पिताले स्‍वीकार्नुभएको छ भन्ने आश्‍‍वासन प्राप्‍त नर्गनुभएसम्म उहाँका जनहरूदेखि श्रद्धाञ्‍जलि ग्रहण गर्न अस्‍वीकार गर्नुभयो । उहाँ स्‍वर्गको चोकमा उक्‍लिजानुभयो, र मानिसको पापको खातिर उहाँको बलिदान पर्याप्‍त छ तथा उहाँको रगतद्वारा सबैले अनन्त जीवन पाउन सक्‍नेछन् भनी स्‍वयम् परमेश्‍‍वर आफैबाट आश्‍‍वासन पाउनुभयो । पिताले पश्‍चात्तापी तथा आज्ञाकारी मानिसहरूलाई ग्रहण गर्नुहुनेछ, र जसरी उहाँले आफ्‍नो पुत्रलाई प्रेम गर्नुभएको छ त्यसरी नै तिनीहरूलाई पनि प्रेम गर्नुहुनेछ भनी ख्रीष्‍टसँग गर्नुभएको करारलाई औपचारिक मञ्‍जूरी जनाउनुभयो । ख्रीष्‍टले आफ्‍नो कार्य पूरा गर्नुपर्ने थियो, र “म मान्छेलाई निखुर सुनभन्दा दुर्लभ र ओपीरको सुनभन्दा पनि अझ अप्राप्य बनाउनेछु” भन्ने उहाँको प्रतिज्ञालाई चरितार्थ गर्नुपर्ने थियो । यशैया १३:१२ । जीवनको राजकुमारलाई स्‍वर्गको सारा शक्ति प्रदान गरिएको थियो, र उहाँ यस पापी संसारमा भएका आफ्‍ना चेलाहरू कहाँ फर्किनुभयो ताकि उहाँले तिनीहरूलाई आफ्‍नो शक्ति तथा महिमा प्रदान गर्नसक्‍नुहुनेछ । PAP 175.2

    जब मुक्तिदाता आफ्‍नो मण्डलीको लागी उपहार प्राप्‍त गर्दै परमेश्‍‍वरको उपस्थितिमा हुनुहुन्थ्यो तब चेलाहरू भने उहाँको खाली चिहानको बारेमा चिन्ता लिई शोक मनाउँदै रोइरहेका थिए । जबकि सो दिन सारा स्‍वर्गको लागि हर्षोल्‍लासको दिन थियो तर चेलाहरूका लागि भने त्यो एक अनिश्‍चित, अन्योल, तथा विचलित समय थियो । स्‍‌त्रीहरूका गवाहीप्रति तिनीहरूले व्यक्त गरेका अविश्‍‍वासले तिनीहरूका विश्‍‍वास कति मात्रामा डुबिसकेको रहेछ भनी प्रमाणित गर्दैथियो । ख्रीष्‍टको पुनरुत्थानको खबर तिनीहरूले राखेका आशाभन्दा यति फरक थियो कि तिनीहरूले यसलाई विश्‍‍वास गर्नै सकेनन् । तिनीहरूले यो कुरा साँचो हुनै सक्तैन भन्ने बिचार लिए । तिनीहरूले धर्मगुरुहरूका यति धेरै नियम तथा कथित वैज्ञानिक सिद्धान्तहरूलाई सुनेका थिए कि पुनरुत्थानको बारेमा तिनीहरूका मनमा बसेको छाप अस्पष्‍ट थियो । मृतकदेखि पुनरुत्थान हुनुको अर्थ के हो भनी तिनीहरूलाई कमै थाहा थियो । तिनीहरू यस महान् विषयको बारेमा बुझ्‍न असफल थिए ।PAP 176.1

    स्‍वर्गदूतले स्‍‌त्रीहरूलाई यसो भने, “जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अघि-अघि गालीलमा जाँदैहुनुहुन्छ । उहाँले तिमीहरूलाई भन्नुभए बमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्‍नेछौ ।” ती स्‍वर्गदूतहरू ख्रीष्‍टले पृथ्वीमा बिताउनुभएको जीवन अवधिभर नै रक्षक स्‍वर्गदूतका रूपमा उहाँलाई साथ दिँदै आएका थिए । तिनीहरूले उहाँको पुर्पक्षको क्रम तथा क्रूसमा चढाइएको घटानालाई देखेका थिए । ख्रीष्‍टले उहाँका चेलाहरूलाई बोल्‍नुभएका शब्दहरूलाई ती स्‍वर्गदूतहरूले सुनेका थिए । यो कुरा तिनीहरूले चेलाहरूसित बोलेका सन्देश मार्फत प्रकट भएका थिए र यसको सत्यताले तिनीहरूमा विश्‍‍वास जगाउनुपर्ने थियो । यस्ता वचन केवल तिनीहरूका बौरिउठ्‍नुभएको परमेश्‍‍वरको दूतहरूमार्फत मात्र आउनुपर्ने थियो ।PAP 177.1

    स्‍वर्गदूतहरूले भने, “उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ ।” ख्रीष्‍टको मृत्युपश्‍चात पत्रुस पछुतोका कारण शिर झुकाउँदैथिए । परमप्रभुलाई उसल लाजमर्दो तवरले इन्कार गरेको, तथा मुक्तिदाताले उनीप्रति प्रेम तथा वेदनाका साथ हेर्नुभएको दृश्‍‍य सदा उनको नजरसामु झल्किरहेको थियो । चेलाहरूमध्ये उनी नै सबैभन्दा बढी मात्रामा पीडित थिए । उनको पश्‍चात्तापलाई स्‍वीकार गरिएको छ तथा पापलाई माफी गरिएको छ भनी उनलाई ढाढस दिलाइयो । उनलाई नाम काढी पुकारिएको थियो ।PAP 177.2

    “उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अघि-अघि गालीलमा जाँदैहुनुहुन्छ ।” सबै चेलाहरूले येशूलाई त्यागिसकेका थिए, र उहाँलाई पुनः भेट्‍ने आव्हानले ती सबै चेलाहरूलाई समेट्‍दछ । उहाँले तिनीहरूलाई त्याग्‍नुभएको छैन । जब मरियम मग्दालिनले आफूले परमप्रभुलाई देखेकी थिइन् भनी तिनीहरूलाई बताइन् तब तिनले उहाँलाई गालीलमा भेट्‍नुपर्ने आव्हानलाई पुनः दोहोऱ्याइन् । र अब तेश्रोपटक तिनीहरूकहाँ खबर पठाइयो । पिता कहाँ पुगेर आउनुभएपछि ख्रीष्‍ट अर्कै स्‍‌त्रीको सामु देखापर्नुभयो र यसो भन्नुभयो, “शान्ति ! तिनीहरू नजीक आएर उहाँका पाउ पक्रेर दण्डवत् गरे । तब येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन् ।”PAP 177.3

    ख्रीष्‍टको पुनरुत्थानपछि उहाँले गर्नुपर्ने प्रथम कार्य भन्नु नै उहाँका चेलाहरूप्रति उहाँको अक्षीण प्रेम तथा तिनीहरूप्रति उहाँको कोमल वास्ताको बारेमा विश्‍‍वस्त पार्नु थियो । उहाँ तिनीहरूका जीवित मुक्तिदाता हुनुहुन्छ । भनी तिनीहरूलाई प्रमाण दिन, उहाँले चिहानको सिक्रीलाई तोड्‍नुभएको छ र यस उप्रान्त मृत्युले उहाँलाई छेक्‍न सक्‍नेछैन; र उहाँ तिनीहरूका प्रिय गुरु हुनुहुँदा जुन प्रेमले भरिएको हृदय उहाँमा थियो सोहि हृदय अहिले पनि उहाँमा विद्यमान छ भनी प्रकट गर्नका निम्ति उहाँ बारम्बार तिनीहरूका सामु देखा पर्नुभयो । उहाँले तिनीहरूलाई प्रेमको बन्धनद्वारा खिँच्‍नुहुनेछ । उहाँले भन्नुभयो, “गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन् ।”PAP 178.1

    जब चेलाहरूले यति निश्‍चितरूपमा दिइएको आज्ञाको बारेमा सुने तब उहाँले तिनीहरूलाई आफ्‍नो पुनरुत्थानको बारेमा गर्नुभएको भविष्यसूचक वचनहरूमाथि मनन गर्न थाले । तर तिनीहरूले अहिलेसम्म पनि आनन्द मानेनन् । तिनीहरूले आफ्‍ना शंका तथा अन्योललाई हटाउन सकेनन् । स्‍‌त्रीहरूले परमप्रभुलाई देखेका रूपमा घोषणा गरेता पनि चेलाहरूले यस कुरालाई विश्‍‍वास गरेनन् । ती चेलाहरूले स्‍‌त्रीहरू भ्रममा परिरहेको छन् भनी सोंचे ।PAP 178.2

    चेलाहरूलाई समस्यामाथि समस्या थपिंदै गएझैं भान भयो । हप्‍ताको छैठौं दिनमा तिनीहरूले आफ्‍ना गुरुको मृत्यु भएको देखेका थिए; हप्‍ताको पहिलो दिनमा तिनीहरूले आफूलाई उहाँको शरीरदेखि बञ्‍चित भएको पाए र मानिसहरूलाई छल्‍नका निम्ति उहाँको मृत शरीर तिनीहरूले नै चोरका हुन् भनी तिनीहरूमाथि आरोप लगाइयो । तिनीहरू आफ्‍ना वरिपरि फैलिरहेको भ्रमपूर्ण प्रभावहरूलाई सच्याउन समेत हरेस मान्दैथिए । तिनीहरू पूजाहारीहरूका वैरभाव तथा क्रोधिप्रति डराए । तिनीहरूले येशूको उपस्थितिको अभिलाषा राखे जसले तिनीहरूलाई हरेक अन्योलग्रस्त अवस्थामा सहायता गर्नुभएको थियो ।PAP 179.1

    तिनीहरूले बारम्बार यसो भने, “इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं ।” एक्‍लोपनको महसुस गर्दै तिनीहरूले उहाँका निम्ति वचनलाई सम्झे, “तिनीहरूले रूख हरियो हुँदा यी काम गर्छन् भने सुख्‍खा हुँदा के गर्लान् ।” लूका २४:२१; २३:३१ । तिनीहरू माथिल्‍लो कोठामा भेला भए, अनि कुनै समय पनि तिनीहरू माथि पनि आफ्‍ना प्रिय गुरुलाईझैं विपत्ती आइलाग्‍ने पो हो कि भनी ढोका बन्द गरी चुकुल लगाएर बसे ।PAP 179.2

    तिनीहरू बौरिउठ्‍नुभएको मुक्तिदाताप्रति पूरै समय हर्षोल्‍लास मनाइरहनुपर्ने थियो । गेतसमनीको बगैंचामा येशू मरियमकै सामु खडा रहनुहुँदा समेत उनी रुँदैथिइन् । आँसुका कारण मरियमका आँखा यति अन्धो बन्नपुगेका थिए कि तिनले उहाँलाई चिन्न समेत सकिनन् । र चेलाहरूका हृदय यति पूर्णरूपमा शोकले भरिएको थियो कि तिनीहरूले स्‍वर्गदूतहरूका खबर वा स्‍वयम् ख्रीष्‍टकै वचनलाई समेत विश्‍‍वास गरेनन् ।PAP 179.3

    कैयौं मानिसहरू आज पनि यिनै चेलाहरूले जस्तै व्यवहार गरिरहेका छन् । कैयौं मानिसहरू मरियमको यो निराशाजनक पुकारलाई दोहोऱ्याउँदैछन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्दैनौं !” मुक्तिदाताले कैयौंलाई यसो भन्नुभएको छ होला, “तिमी किन रुन्छौ ? कसलाई खोज्दैछौ ?” उहाँ तिनीहरूकै सामु हुनुहुन्छ, तर आँसुद्वारा अन्धो बन्नपुगेका तिनीहरूका आँखाले उहाँलाई चिन्न सक्त्तैनन् । उहाँ तिनीहरूसित बोल्‍नुहुन्छ, तर तिनहरूले उहाँले बताउनुभएको कुरा बुझ्दैनन् ।PAP 180.1

    झुक्‍नपुगेका शिर माथि उठून, हरेक आँखाले उहाँलाई हेरुन् तथा हरेक कानले उहाँको आवाजलाई सुनून् ! “चाडो गएर उहाँका चेलाहरूलाई खबर देओ कि उहाँ मृतकबाट जीवित भई उठ्‍नुभएको छ ।” मानिसहरूले विशाल ढुङ्गाद्वारा ढाकिएको तथा रोमी लालमोहरद्वारा सीलबन्दी गरिएको युसुफको नयाँ चिहानतर्फ नजर नलगाउन् । ख्रीष्‍ट त्यहाँ हुनुहुन्न । त्यस खाली चिहानतर्फ नजर नलगाउनुहोस् । आशाहीन तथा बेसाहारा मानिसझैं शोक व्यक्त नगर्नुहोस् । येशू जीवित हुनुहुन्छ, र उहाँ जीवित हुनुभएकै कारण हामी पनि जीवित हुनेछौं । धन्यवादी हृदयका साथ, तथा पवित्र आत्माले भरिपूर्ण हृदयका साथ ख्रीष्‍ट बौरिउठ्‍नुभयो भनी खुशीको भजन गाउनुहोस् ! उहाँ हाम्रो मध्यस्थताका निम्ति जीवित हुनुहुन्छ । यस आशालाई समात्‍नुहोस् र यसले आत्मालाई एक निश्‍चित लङ्गरले झैं स्थिर राख्‍नेछ । विश्‍‍वास गर्नुहोस् र तपाईले परमेश्‍‍वरको महिमा देख्‍न सक्‍नुहुनेछ ।PAP 180.2

    Larger font
    Smaller font
    Copy
    Print
    Contents