Loading...
Larger font
Smaller font
Copy
Print
Contents

भीषण प्रतिद्वन्द्व

 - Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    अध्याय - ३२
    हलचल

    मैले कतिजनालाई दृढ़ विश्‍‍वास र बोझसहित परमेश्‍‍वरसित अर्ज विन्ती गरिरहेको देखें । उनीहरूका चेहरा हेर्दा फीका देखिन्थे, जसबाट उनीहरूको हृदयान्तरमा उकुसमुकुसिएका पीर-व्यथाहरू भावमुद्रित भएका पाइँदै थिए । उनीहरूका निधारबाट खलखली पसिनाका धारा छुटेका दृश्‍‍यभित्र उनीहरूको प्रार्थनामा दृढ़ विश्‍‍वास र उत्कटता स्पष्‍टतया चिन्हित भइरहेको थियो । घरि-घरि उनीहरूका चेहरामा परमेश्‍‍वरको प्रसन्नताको ज्योति चम्कँदै थियो अनि फेरि गम्भीर मुद्रामै फर्कंदै थिए ।1BP 188.1

    उनीहरूले परमेश्‍‍वरमाथि अविश्‍‍वास जनाएर गनगनाऊन् भनेर शैतानिक दूतहरूले उनीहरूको दृष्‍टिलाई आफ्‍नै अन्धकारतर्फ खिँच्‍न अनि येशूलाई उनीहरूको दृष्‍टिदेखि ओझल पारिदिनलाई चारैतिरबाट घेरिरहेका थिए । उनीहरूको सुरक्षाको एउटै उपाय थियो - परमेश्‍‍वरतिरै आफ्‍ना नजर उठाइरहनु ! ती परमेश्‍‍वरका जनका निम्ति स्‍वर्गदूतहरू खटाइएका थिए, किनकि शैतानिक दूतहरूले वरिपरि विषाक्त वातावरण सृष्‍टि गरेका थिए, अनि ती चिन्ताग्रस्त जनहरूका निम्ति खटाइएका दूतहरूले त्यो घना अन्धकारलाई पन्छाउन आफ्‍ना पखेटा चालिरहेका थिए । अनि कतिलाई चाहिँ मैले त्यो अर्ज-विन्ती र बोझसहितको प्रार्थनामा भाग लिएको देखिनँ । तिनीहरूलाई केही पर्बाह नै नभएको जस्तो देखिन्थ्यो । घोर अन्धकारले तिनीहरूलाई छोपिरहेको थियो, र पनि तिनीहरूले त्यसको सामना गरेकै थिएनन् । त्यसो हुँदा परमेश्‍‍वरका दूतहरूले पनि तिनीहरूलाई त्यहीँ छोड़िराखेर उतै प्रार्थनामा लीन रहिरहेकाहरूलाई सहायता गर्न गए । परमेश्‍‍वरका दूतगण ता केवल उनीहरूलाई सहायता गर्न हतारिरहेका मैले देखें, जोहरू चाहिँ ती शैतानिक दूतहरूसँग सामना गर्न शक्तिले भियाएसम्म संघर्ष गरिरहेका थिए र परमेश्‍‍वरसित सहायता मागिरहेका थिए । तर ती दूतगणले तिनीहरूलाई चाहिँ छोड़िराखे, जोहरूले अन्धकारसँग सामना गर्न कोशिशै गरेनन् ।1BP 188.2

    ती प्रार्थनामा लीन भइरहेकाहरूले पुकारा गर्दैगर्दा बेलाबेलामा उनीहरूमाथि ख्रीष्‍टको ज्योति चम्कँदै उनीहरूलाई उत्साह दिइरहेथ्यो र उनीहरूका चेहरालाई ज्योतिमर्य तुल्याइरहेथ्यो ।1BP 189.1

    मैले मेरा दूतलाई मैले देखेको त्यो दर्शनको अर्थ सोधें । तब तिनले त्योचाहिँ लाओडिसियाको मण्डलीको साँचो साक्षीको परामर्शद्वारा पारित भएको सत्य गवाहीबाटै यो हुन आउनेछ भनी मलाई बताए । यसले उनीहरूका हृदयमा काम गर्नेछन्, जसले चाहिँ त्यो साक्षी ग्रहण गर्छन्, तर त्यो सत्य गवाहीलाई कतिले सहँदैनन् र त्यसको विरोधमा उठेर परमेश्‍‍वरका जनहरूका बीचमा हलचल मच्‍चाउनेछन् ।1BP 189.2

    अनि मैले देखें कि उक्त सत्य गवाहीलाई आधा प्रतिशत पनि ध्यान नदिइँदो रहेछ र त्यही पवित्र गवाहीलाई - जसमाथि मण्डलीको भविष्य आधारित छ - मानिसहरूले खेलाँची सम्झिदारहेछन्, तर पनि पूरै इन्कार चाहिँ गरेका थिएनन् । त्यस साक्षीले गम्भीर तौरले कायल बनाउनुपर्छ र जतिले त्यसलाई ग्रहण गर्छन्, उनीहरूले त्यो पालन गरेर पवित्र ठहरिनेछन् ।1BP 189.3

    दूतले मलाई भने, “लौ सुन !” तब एकाएक धेरै बाजा-गाजा मीठो धून र तालमा बजिरहेको आवाज सुने । यतिको मीठो संगीत अघि कहिल्यै मैले सुनेकै थिइनँ । त्यस संगीतमय धूनमा मलाई परमेश्‍‍वरको अपार करूणा एवम् स्‍वर्गीय आनन्दको महसूस भइरहेथ्यो । फेरि दूतले भने, “लौ हेर !” तब मेरो ध्यान अघि मैले देखेको त्यो झुण्डपट्टि गयो, जहाँ ठूलो हलचल मच्‍चिएको थियो, र मैले फेरि उनीहरूलाई पनि देखें, जसलाई मैले अघि आत्मामा साह्रै व्यथित भएर रोई-रोई प्रार्थना गरिरहेका थिए । त्यसबेला ता झन् उनीहरूको रखवारी गर्ने दूतहरू अघिभन्दा पनि दुइगुणा बेसी संख्यामा, फेरि भएन, शिरदेखि लिएर पाउसम्मै हतियार धारण गरी सैन्यदल झैं पङ्क्ति बाँधेर तैनाथ भएका देखें । उनीहरूका चेहराको भावले उनीहरू कठिनै संघर्षले घेरिएर तनावपूर्ण स्थितिमा रहेका बुझाइरहेथ्यो, तर पनि यसचोटी चाहिँ उनीहरूका ती चेहराहरूमा नैराश्‍‍यको त्यो कालो कुहिरोलाई पन्छाउँदै सूर्य मुस्कुराइदिए झैं विजयको सन्देश लिएर स्‍वर्गीय महिमा र ज्योति जगमगाएको देखें ।1BP 189.4

    हेर्दाहेर्दै त्यो झुण्डको संख्या घट्‌यो अर्थात् काटछाँट भयो । प्रार्थनारूपी संघर्षमा एकमत र एकजुट नहुनेहरूजति त्यो विजयबाट वञ्‍चित भए, र अन्धकारमै छोड़िए । अनि शैतानिक दूतहरू तिनीहरूमाथि प्रबल भइरहेका थिए ।1BP 190.1

    त्यसपछि मैले ती हतियारधारी दूतहरूका मुखबाट सत्य कुराहरू सामर्थ्यका साथमा प्रस्फुटित भइरहेका सुनें । त्यसबेला कतिपय स्‍वास्‍नी मानिसहरू आफ्‍ना पतिहरूका बन्धनमा र छोराछोरीहरू उनीहरूका बाबुआमाका बन्धनमा परेका थिए । तब कतिजना प्रभुमा ईमान्दार व्यक्तिहरूले, जोहरू बन्धनमा परेर ती सत्य वाणी सुन्न पाएका थिएनन्, उनीहरूले अहिले बड़ो चाख मानेर सुनिरहे । अब सन्तान र समाजको डर पनि उनीहरूबाट हटिसकेको थियो । उनीहरू सत्यका निम्ति यति साह्रो भोकाएका र तिर्खाएका रहेछन्, कि अब ता उनीहरूले यसलाई प्राणभन्दा प्यारो र अमूल्य ठानिसकेका थिए । मैले दूतलाई त्यो अद्‍भूत परिवर्तनको अर्थ सोधें, र तिनले भने, “यो चाहिँ प्रभुको उपस्थितिबाट बर्सेको चंगा पार्ने अन्तिम वर्षा हो, जुनचाहिँ तेस्रो दूतको त्यो बुलन्द आवाज हो ।” ईश्‍‍वरीय सामर्थ्यले ती चुनिएकाहरूलाई साथ दिइरहेको थियो । दूतले भने, “तिमीहरू हेर !” तब मेरो चक्षुगति ती दुष्‍ट र अविश्‍‍वासीहरू पट्टि पर्नगयो । तिनीहरू सब उत्तेजित देखिए । भनौं परमेश्‍‍वरका लोकहरूको जोश र शक्ति देखेर तिनीहरूमा आक्रोश जागेको थियो । चारैतिर गड़बड़ी नै गड़बड़ी थियो । ती परमेश्‍‍वरका लोकहरूविरूद्ध तिनीहरूले कदम उठाइरहेको देखे । फेरि पनि उनीहरूका चारैतिर बाक्‍लो अन्धकार छायो, तथापि परमेश्‍‍वरको कृपादृष्‍टि पाएर उनीहरू उहाँमा भरोसा राख्दै स्थिर बसे । केही क्षणपछि तिनीहरू हड़बड़ाउन थाले । त्यसपछि मैले ती परमेश्‍‍वरका जनहरूलाई यसरी परमेश्‍‍वरसित पुकारा गर्दैगरेको सुने, “हे परमेश्‍‍वर, तपाईंकै इच्छा पूरा होस् ! यदि तपाईंको नाउँको महिमा हुन्छ भने हामीलाई यी अन्यजातिहरूदेखि छुटकारा दिनुहोस् । यिनीहरूले हामीलाई मार्ने नै निश्‍चय गरेका छन् । अब तपाईंकै बाहुबलले मात्र हामीलाई छुटकारा दिनसक्छ ।” उनीहरूले यति भनेका शब्दहरू मात्र मैले मनमा राख्‍न सकें । उनीहरूले आफूलाई अयोग्य सम्झेर सम्पूर्ण तौरले परमेश्‍‍वरको इच्छामा सुम्पिदिए । उनीहरूमध्ये प्रत्येकले नै याकूबले छुटकाराका निम्ति मल्‍लयुद्ध गरैझैं परमेश्‍‍वरसित खुरन्धार लागी अर्जविन्ती चढ़ाइरहेका थिए । अनि उनीहरूले त्यसरी प्रार्थना गरेको सुनेर स्‍वर्गका दूतहरूले सहानुभूति प्रकट गर्दै उनीहरूलाई उद्धार गर्न जाने इच्छा प्रकट गरे, तर उच्‍च कद भएका प्रधान दूतले उनीहरूलाई यसो भन्दै रोके, “अहँ, परमेश्‍‍वरको इच्छा अझै पूरा भएकै छैन । उनीहरूले यस प्यालाबाट पिउनैपर्छ र त्यो बप्‍तिस्मा उनीहरूले लिनैपर्छ ।”1BP 190.2

    त्यसपछि लगत्तै मैले परमेश्‍‍वरको आवाज सुनें, जुन आवाजले आकाश र पृथ्वीमा कम्प छुट्यो । ठूलो भुँइचालो आयो । महलहरू भासिए औ चारैतिर पल्टे । त्यसपछि मैले उच्‍च, स्पष्‍ट र संगीतमय स्‍वरमा विजय-नारा लगाइरहेको आवाज सुनें । तब मेरो दृष्‍टि केही अघि सङ्कट र बन्धनमा परिरहेको त्यो झुण्डपट्टि पुग्‍न गयो । अहिले उनीहरू त्यस बन्धनदेखि मुक्त थिए र दिव्य ज्योति उनीहरूमाथि चम्किरहेको थियो । उनीहरूको चेहरामा त्यो हैरानी र उदासीनताको कालो बादल हटेर ज्योति र सुन्दरता झल्कन थालेछ । उनीहरूका ती शत्रु अन्यजातिहरू मुर्दाझैं लड़िरहेका थिए । कारण तिनीहरू ती पवित्र जनहरूमाथि चम्केको त्यो दिव्य ज्योति र महिमा ख्रीष्‍ट बादलमा देखा पर्नुहुँदासम्मै उनीहरूमाथि चम्किरह्यो । त्यसपश्‍चात् एकै क्षणमा अर्थात् आँखाको निमिषभरमै त्यो विश्‍‍वासयोग्य अनि खारिएको झुण्ड महिमामा परिवर्तित भइहाल्यो । तब चिहानहरू उघ्रे र सन्तहरू अमर रूप धारण गरेर मृत्यु र चिहानमाथि विजयको नारा लाउँदै जिउँदा र बाँचिरहेका सन्तगणसँग मिलेर ख्रीष्‍टलाई बादलमा भेट्‍न माथि उठाइए । त्यसबेला पनि उनीहरूका ती पवित्र र अमर ओठ र जिब्राबाट सुमधुर स्‍वरमा जयजयकारको ध्वनि गुञ्‍जिरहेथ्यो।1BP 192.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents