Loading...
Larger font
Smaller font
Copy
Print
Contents
  • Results
  • Related
  • Featured
No results found for: "".
  • Weighted Relevancy
  • Content Sequence
  • Relevancy
  • Earliest First
  • Latest First
    Larger font
    Smaller font
    Copy
    Print
    Contents

    ३. स्‍वर्गदूतहरू को हुन् ?

    (अंग्रेजी पुस्तक अध्याय ३१ पृष्‍ठ ५११)

    दृश्‍‍य र अदृश्‍‍य संसारको सम्बन्धमा परमेश्‍‍वरका स्‍वर्गदूतहरूका सेवाकार्य र दुष्‍ट आत्माहरूको माध्यमको विषयमा धर्मशास्‍‍त्रले स्पष्‍ट प्रकट गरेको छ, र यो मानविक इतिहाससँग छुट्‌याउन नसकिने गरी आन्तरिकरूपमा बाटिएको छ । त्यहाँ दुष्‍ट आत्माहरूको अस्तित्‍वमा अविश्‍‍वास बढिरहेको छ, जबकि जुन पवित्र “स्‍वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा” गर्दछन्, (हिब्रू १:१४) धेरैजनाले तिनीहरूलाई मरेकाहरूका आत्माहरू भन्ठानेका छन् । तर धर्मशास्‍‍त्रले दुवै असल र खराब स्‍वर्गदूतहरूको अस्तित्‍वलाई मात्र सिकाउँदैन, तर अखण्डनीय प्रमाण प्रस्तुत गर्दछ कि तिनीहरू मरेका मान्छेहरूका शरीरबाट निस्केका आत्माहरू होइनन् ।MBA 29.1

    मानिसको सृष्‍टिभन्दा अगाड़ि नै स्‍वर्गदूतहरूको अस्तित्‍व थियो; किनकि जब पृथ्वीको जग बसालियो, तब “दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्‍वर्गदूतहरू रमाहटले कराए ।” अय्यूब ३८:७ । मानिसको पतनपछि स्‍वर्गदूतहरू जीवनको रूखमा पहरा दिन पठाइयो, र योचाहिँ कुनै मानवजाति मर्नुभन्दा पहिलेको कुरा हो । स्‍वर्गदूतहरू स्‍वभावले नै मानिसहरूभन्दा उच्‍च छन्, किनकि भजनसंग्रहको लेखक भन्दछन् कि मानिसलाई “स्‍वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो ।” भजनसंग्रह ८:५ (KJV) ।MBA 29.2

    धर्मशास्‍‍त्रले हामीलाई स्‍वर्गीय प्राणीहरूको सङ्ख्या, शक्ति र महिमा, परमेश्‍‍वरको सरकारसँग तिनीहरूको सम्बन्ध, साथै मुक्तिको कामप्रति तिनीहरूको सम्बन्धको विषयमा पनि जानकारी दिएको छ । “परमप्रभुले आफ्‍नो सिंहासन स्‍वर्गमा स्थिर गर्नुभएको छ, र उहाँको प्रभुत्‍वले सबैमाथि शासन गर्दछ ।” अनि अगमवक्ता भन्दछन्, “मैले ... सिंहासन ... वरिपरी धेरै स्‍वर्गदूतहरूका आवाज सुनें ।” तिनीहरू राजाहरूका राजाका प्रतीक्षालयका सामु प्रतीक्षा गरिरहन्छन्—“स्‍वर्गदूतहरू ... , उहाँको वचन पालन गर्ने शक्तिशाली जन हो” “उहाँको इच्छाअनुसार काम गर्ने सेवक हो ।” भजनसंग्रह १०३:१९-२१; प्रकाश ५:११ । दश हजार गुणा दश हजार र हजारौँ-हजार स्‍वर्गीय समाचारवाहकहरू दानिएल अगमवक्ताले देखे । प्रेरित पावलले तिनीहरूलाई “स्‍वर्गदूतहरूका असंख्य जमात” भनी घोषणा गरे । दानिएल ७:१०; हिब्रू १२:२२ (KJV) । जब परमेश्‍‍वरका समाचारवाहकहरू बाहिर जान्छन् तब तिनीहरूको आकृति “बिजुली चम्के जस्तै” हुन्छ, (इजकिएल १:१४) किनकि तिनीहरूका अति तिरिमिरी पार्ने महिमा छ र तिनीहरूका उड़ान अति नै वेगवान् छ । मुक्तिदाताको चिहानमा देखा पर्ने स्‍वर्गदूतको अनुहार “बिजुलीजस्तो र पोशाक हिउँजस्तो सेतो थियो,” त्यसकारण तिनको डरले गर्दा पहरेदारहरू कामे र तिनीहरू “मरेतुल्य भए ।” मत्ती २८:३, ४ । जब अश्‍शूरको हठी राजा सनहेरीबले परमेश्‍‍वरलाई घृणा गऱ्यो र ईश्‍‍वर-निन्दा गऱ्यो, र इस्राएललाई विनाश पार्ने धमाश दियो, तब “त्यस रात परमप्रभुको स्‍वर्गदूत निस्के, र तिनले अश्‍शूरका छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे ।” त्यहाँ सनहेरीबका सेनाबाट “सबै योद्धा, नायक र अधिकृतहरू” मारिए । “तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के ।” २ राजा १९:३५; २ इतिहास ३२:२१ ।MBA 29.3

    परमेश्‍‍वरका सन्तानहरूका लागि कृपाको काम गर्न स्‍वर्गदूतहरू पठाइएका छन् । आशिष्‌का प्रतिज्ञाहरूसाथ अब्राहामकहाँ पठाइए, सदोमका ढोकाहरूमा धर्मी लोतलाई आगामी अग्‍निबाट बचाउन पठाइए; एलियाकहाँ पठाइए, जब तिनी मरूभूमिमा थकाइ र भोकले मर्नै लागेका थिए; एलिशाकहाँ पठाइए, जहाँ तिनी सानो शहरमा तिनका शत्रुहरूद्वारा घेरिएका थिए त्यही बखत अग्‍निमय रथहरू र घोड़ाहरूका साथ पठाइए; दानिएलकहाँ पठाइए, जब तिनी मूर्तिपूजक राजाको दरबारमा दैवीय बुद्धि खोजिरहेका थिए, अर्थात् सिंहको आहाराका लागि बहिष्कृत भएका थिए; पत्रूसकहाँ पठाइए, जब तिनी हेरोदको कालकोठरीमा मृत्युको मुखमा पुगेका थिए; फिलिप्पीमा भएका कैदीहरूकहाँ पठाइए; समुद्रको प्रचण्ड आँधीको रातमा पावल र तिनका साथीहरूकहाँ पठाइए; सुसमाचार स्‍वीकार गरोस् भनी कर्नेलियसको दिमाग खोल्‍नका लागि पठाइए; अपरिचित अन्यजातिलाई मुक्तिको सन्देश पुऱ्याउनका लागि पत्रूसकहाँ पठाइए—यसरी सबै युगहरूमा पवित्र स्‍वर्गदूतहरूले परमेश्‍‍वरका मानिसहरूलाई सेवा पुऱ्याएका छन् ।MBA 30.1

    प्रत्येक ख्रीष्‍टका चेलाको सुरक्षाकर्मी स्‍वरूप एक स्‍वर्गदूत नियुक्त गरिएका हुन्छ । यी स्‍वर्गीय पहरेदारहरूले धर्मीहरूलाई दुष्‍ट जनको शक्तिबाट बचाउँदछन् । शैतानले यो कुरा बुझेर यसरी भन्यो: “अय्यूबले त्यसै परमेश्‍‍वरको डर राखेका हुन् त ? के तिनलाई, तिनका घरना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन ?” अय्यूब १:९, १० । परमेश्‍‍वरले आफ्‍ना मानिसहरूलाई बचाउने माध्यमचाहिँ भजनसंग्रह लेखकका शब्दहरूमा प्रकट भएको छ: “परमेश्‍‍वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।” भजनसंग्रह ३४:७ । मुक्तिदाताले उहाँमा विश्‍‍वास गर्नेहरूको विषयमा बोल्दै भन्नुभयो: “होशियार रहो, तिमीहरूले यी सानाहरूमध्ये एक जनालाई पनि हेला नगर । किनभने म तिमीहरूलाई भन्दछु, स्‍वर्गमा तिनीहरूका दूतहरूले स्‍वर्गका मेरा पिताको दर्शन सदैव गरिरन्छन् ।” मत्ती १८:१० । परमेश्‍‍वरका सन्तानहरूका सेवाकार्यमा नियुक्त भएका स्‍वर्गदूतहरूलाई सँधै उहाँको उपस्थितिमा प्रवेश गर्ने अधिकार हुन्छ ।MBA 30.2

    यसरी परमेश्‍‍वरका मानिसहरूले अन्धकारको राजकुमारको छलपूर्ण शक्ति र निरन्तर शत्रुभावको सामना गर्नुपरेको छ, र तिनीहरूलाई सबै दुष्‍टको शक्तिको संघर्षमा स्‍वर्गीय दूतहरूको अथक सुरक्षाको आश्‍‍वासन प्रदान गरिएको छ । यस्तो आश्‍‍वासन आवश्‍‍यकविना प्रदान गरिएको होइन । यदि परमेश्‍‍वरले उहाँका सन्तानहरूलाई अनुग्रह र सुरक्षाको प्रतिज्ञा गर्नुभएको छ भने त्यहाँ दुष्‍टका शक्तिशाली माध्यमहरूसँग सामना गर्नुपर्नेछ—असङ्ख्य, निर्णायक र अथक माध्यमहरू छन् जसको शत्रुभाव र शक्तिबाट कोही पनि हानिविना नै अन्‍जान वा असावधान हुन सक्दैन ।MBA 31.1

    आदिमा दुष्‍टात्माहरू पनि पापरहित नै सृष्‍टि भएका थिए, तिनीहरू पनि स्‍वभाव, शक्ति र महिमामा अहिलेका परमेश्‍‍वरका समाचारवाहकहरूझैँ पवित्र प्राणीहरू थिए । तर तिनीहरू पापद्वारा पतित भए, त्यसकारण तिनीहरू परमेश्‍‍वरलाई अनादर गर्न र मानिसहरूलाई नष्‍ट गर्न एकमत भएका छन् । तिनीहरू शैतानसँग उसको विद्रोहमा सहमत भए, र ऊसँगै स्‍वर्गबाट खसालिए, त्यसपछि तिनीहरूले सम्पूर्ण युगहरूभरि दैवीय अधिकार विरूद्ध लड़ाइँमा ऊसँगै सहकार्य गरेका छन् । तिनीहरूका संगठन र सरकार, तिनीहरूका विभिन्न दर्जाहरू, तिनीहरूका बुद्धिहरू र चतुऱ्याइँ, र मानिसहरूका खुशी र शान्तिको विरूद्ध घृणित योजनाहरूबारे हामीलाई धर्मशास्‍‍त्रमा जानकारी दिएको छ ।MBA 31.2

    कहिलेकाही पुरानो नियमको इतिहासले तिनीहरूको अस्तित्‍व र माध्यमका विषयमा केही भनाइ प्रस्तुत गर्दछ; तर जब ख्रीष्‍ट यस संसारमा हुनुहुन्थ्यो तब दुष्‍टात्माहरूले सबभन्दा अचम्मलाग्दो तरिकाले तिनीहरूका शक्ति प्रदर्शन गरे । ख्रीष्‍ट यस्तो योजनामा प्रवेश गर्न आउनु भयो जुन मानिसको मुक्तिका लागि रचिएको थियो, र संसारलाई नियन्‍‍त्रण गर्ने अधिकारचाहिँ उसकै हो भनी शैतानले प्रमाणित गर्ने निर्णय गऱ्यो । उसले पलिश्‍‍तिको देशमा शिवाय प्रायः पृथ्वीको प्रत्येक क्षेत्रमा मूर्तिपूजा स्थापना गरेर सफलता हासिल गरेको थियो । जुन देश परीक्षाकर्ताको शासनमा पूर्णरूपले समर्पित भएको थिएन त्यही नै ख्रीष्‍ट त्यहाँका मानिसहरूमाथि स्‍वर्गीय ज्योति चम्काउन आउनुभएको थियो । यहाँ दुई प्रतियोगी शक्तिहरूले सर्वोच्‍चता दाबी गरे । येशूले आफ्‍नो प्रेमको हात फैल्याएर उहाँमा क्षमा र शान्ति खोज्‍नेहरू सबैलाई निमन्‍‍त्रणा दिइरहनु भएको थियो । अन्धकारका दलहरूले देखे कि तिनीहरूसँग असीमित नियन्‍‍त्रण थिएन, र तिनीहरूले यो कुरा बुझे कि यदि ख्रीष्‍टको कार्य सफल हुन्छ भने तिनीहरूको शासन चाँडै नै अन्त हुन्थ्यो । तब शैतान साङ्‍लाले बाँधिएको सिंहझैँ रिसायो र अहङ्कारसाथ मानिसहरूका शरीरहरू साथै प्राणहरूमाथि उसको शक्ति प्रदर्शन गऱ्यो ।MBA 31.3

    मानिसहरू भूत लागेका छन् भन्ने तथ्य नयाँ करारमा स्पष्‍ट उल्‍लेखित गरिएको छ । यसरी कष्‍ट भोगेका मानिसहरू केवल प्राकृतिक कारणहरूद्वारा रोगी भएका होइनन् । ख्रीष्‍टले केसँग व्यवहार गर्दै हुनुहुन्थ्यो उहाँलाई रत्यसको पूर्ण ज्ञान थियो, र उहाँले दुष्‍टात्माहरूको नप्रत्यक्ष उपस्थिति र माध्यम चिन्नुभयो ।MBA 32.1

    तिनीहरूको सङ्ख्या, शक्ति, र शत्रुभाव साथै ख्रीष्‍टको शक्ति र कृपाको एक हृदयस्पर्शी उदाहरण धर्मशास्‍‍त्रमा प्रकट गरिएको छ, जुन गरासेनसमा भूत लागेका मानिसहरू निको भएको अभिलेखमा पाइन्छ । ती दयनीय पागलहरू सबै नियन्‍‍त्रणलाई निन्दा गर्दै, पछारिँदै, फिँज काढ्‍दै र रिसाउँदै त्यतिकै कराइरहेका थिए, तिनीहरू आफैलाई हानि पुऱ्याउँदै, र तिनीहरूको नजीक आउनेहरूलाई पनि जोखिममा पारिरहेका थिए । तिनीहरूका रक्ताम्य र अङ्गभङ्ग शरीर र खलबलिएका दिमागहरूचाहिँ अन्धकारको राजकुमारको लागि एक रमणीय दृश्‍‍यको रूपमा प्रकट भयो । भूतहरूमध्ये एउटाले पीड़ितहरूलाई नियन्‍‍त्रणमा लिएर भन्यो: “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं ।” मर्कूस ५:९ । रोमका सिपाहीहरूका एउटा फौजमा तीनदेखि पाँच हजार मानिसहरू समावेश हुन्थे । शैतानका दलहरू पनि समूहमा क्रमबद्ध गरिएका छन्, र यी प्रेतहरूका एउटा समूहको सङ्ख्या फौजभन्दा कम थिएन ।MBA 32.2

    येशूको आज्ञाले दुष्‍टात्माहरू ती पीड़ितहरूदेखि निस्केर आए, ती मानिसहरू मुक्तिदाताको चरणमा शान्तसाथ बसिरहे साथै सज्‍जन, विवेकी र नम्र अवस्थामा छोड़िए । तर भूतहरूले सुँगुरको बगाललाई समुद्रमा हाल्‍ने अनुमति पाए; र गरासेनसका बासिन्दाहरूले तिनीहरूका नोक्सान नै ख्रीष्‍टले प्रदान गर्नु भएका आशिष्‌हरूभन्दा धेरै महत्‍वपूर्ण ठाने, त्यसर्थ दैवीय आरोग्यकर्तालाई त्यो ठाउँबाट जाने अनुरोध गरे । शैतानले यस्तै परिणाम ल्याउन चाहेको थियो । तिनीहरूको नोक्सानको दोष येशूलाई लगाएर उसले मानिसहरूका स्‍वार्थी डरहरूलाई उक्सायो र त्यसरी तिनीहरूलाई उहाँका वचनहरू सुन्नबाट बाधा दियो । शैतानले नोक्सान, दुर्घना, र कष्‍टको दोष इसाईहरूलाई नै दिइरहेको छ, तर ती कुराहरू जसको हो—शैतान र उसका माध्यमहरू—तिनीहरूमाथि निन्दा पर्न दिँदैन ।MBA 32.3

    तर ख्रीष्‍टका उद्देश्‍‍यहरू निष्फल भएनन् । जसले यी अशुद्ध पशुहरू फाइदाका लागि पालेका थिए ती यहूदीहरूलाई एक चेतावनी स्‍वरूप उहाँले दुष्‍टात्मालाई सुँगुरको बगाल विनाश गर्ने अनुमति दिनुभयो । यदि ख्रीष्‍टले भूतहरूलाई रोक्‍नुभएको थिएन भने सुँगुर मात्र होइन, तर तिनीहरूका गोठालाहरू र मालिकहरू पनि समुद्रमा डुब्‍ने थिए । गोठालाहरू र मालिकहरू दुवैको सुरक्षाचाहिँ उहाँकै शक्तिद्वारा मात्र भएको थियो जुन उहाँले तिनीहरूको बचावटका खातिर कृपासाथ प्रयोग गर्नुभयो । त्यति मात्र नभएर, चेलाहरूले मानिस र पशुमाथि शैतानको निर्दयी शक्ति देख्‍न सकोस् भनी यो घटना घट्‍ने अनुमति दिनुभयो । उहाँका चेलाहरूले समाना गर्नुपर्ने त्यस शत्रुको विषयमा ज्ञान हासिल गरोस्, साथै तिनीहरू उसका युक्तिहरूद्वारा भ्रममा नपरोस् र परास्त नहोस् भन्ने मुक्तिदाताको चाहना थियो । उहाँले यस्तो पनि इच्छा गर्नुभएको थियो कि त्यो इलाकाका मानिसहरूले उहाँको शक्तिद्वारा शैतानको बन्दी तोड़िएको र उसका कैदीहरू स्‍वतन्‍‍त्र पारिएको देख्‍न सकोस् । अनि येशू आफै त्यहाँबाट जानुभएतापनि यति अचम्मलाग्दो तरिकाले छुटकारा पाएका मानिसहरू तिनीहरूका उपकारकको कृपा घोषणा गर्न त्यहीँ नै बसे ।MBA 33.1

    धर्मशास्‍‍त्रमा उस्तै प्रकारका अरू घटनाहरू पनि उल्‍लेखित गरिएका छन् । सिरियाको फोनिकेको स्‍‍त्रीकी छोरीलाई भूतले दुःखलाग्दो तरिकाले समातेको थियो, जसलाई येशूले उहाँको वचनैले धपाउनुभयो । (मर्कूस ७:२६-३०) “भूत लागेको एक जना अन्धो र गूँगो मान्छे” थियो (मत्ती १२:२२); त्यहाँ गूँगो आत्मा लागेको एक जना युवक पनि थियो, “यसलाई नाश गर्न त्यस आत्माले घरीघरी यसलाई आगो र पानीमा पनि फालेको” थियो । (मर्कूस ९:१७-२७) “अशुद्ध भूतात्मा” द्वारा सताइएको पागल व्यक्तिले (लूका ४:३३-३६), कफर्नहुमको सभाघरमा भइरहेको शान्तमय शबाथमा खलबल मच्‍चायो—त्यहाँ सबैजना दयालु मुक्तिदाताद्वारा निको भए । झण्डै प्रत्येक घटनामा ख्रीष्‍टले भूतलाई एक विवेकीशील अस्तित्‍वझैँ सम्बोधन गर्नुभयो, उहाँले उसको शिकारबाट निस्कने र उसलाई अबदेखि यसो यातना नदिने आदेश दिनुभयो । कफर्नहुमका आराधकहरू उहाँको शक्तिशाली सामर्थ्य देखेर “तिनीहरू सबै छक्‍क परे, र आपसमा यसो भने, ‘यो कस्तो वचन हो ? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन् ।’” लूका ४:३६ ।MBA 33.2

    ती भूत लागेकाहरूलाई प्रायः ठूलो कष्‍टको अवस्थामा परेका छन् भन्ने भनाइ थियो; तापनि यस नियममा अपवादहरू पनि थिए । अलौकिक शक्ति प्राप्‍त गर्नका लागि कतिजनाले शैतानको प्रभावलाई स्‍वागत गरे । निश्‍चय नै तिनीहरूले भूतहरूसँग युद्ध गर्नुपर्दैनथे । यही दर्जासँग मन्‍‍त्रतन्‍‍त्रको आत्मा हुन्थ्यो—सिमोन मगस, एलिमस जादूगर, र फिलिप्पीमा पावल र सिलासलाई पछ्‌याउने ठिटी ।MBA 34.1

    जसले धर्मशास्‍‍त्रको गवाही प्रत्यक्ष र पर्याप्‍त मात्रामा प्राप्‍त गरेतापनि दियाबलस र उसका दूतहरूको अस्तित्‍व र माध्यमहरूलाई इन्कार गर्छन्, अरू कोही पनि दुष्‍ट आत्माको प्रभावबाट तिनीहरूभन्दा ठूलो खतरामा परेको हुँदैन । जबसम्म हामी तिनीहरूका चतुऱ्याइँहरूमा अजान हुन्छौं, तबसम्म तिनीहरूले झण्डै कल्पना गर्न नसकिने लाभ उठाउँछन्; कतिजनाले तिनीहरूको आफ्‍नै बुद्धिको आदेशलाई अनुकरण गरेको भन्ठानेतापनि तिनीहरूका सुझावहरूमा ध्यान दिन्छन् । त्यसैकारण जब हामी समयको अन्तको नजीकै आएका छौं, जब शैतानले बहकाउन र नष्‍ट पार्नका लागि अझै ठूलो शक्तिले काम गर्नुपर्नेछ, तब उसले जताततै यस्तो विश्‍‍वास फैल्याउँछ कि उसको अस्तित्‍व नै छैन । ऊ आफैलाई तथा उसको कार्य-विधिलाई लुकाउने यो उसको एक युक्ति हो ।MBA 34.2

    जब हामीले उसका युक्तिहरूको जानकारी प्राप्‍त गर्नेछौं तब त्यो महान् ठगाहा अरू कुनै कुरामा भन्दा त्यसमा चाहिँ धेरै डराउँछ । उसको वास्तविक चरित्र र उद्देश्‍‍यहरू राम्ररी लुकाउन उसले अन्य कुनै ठूलो भावुकता जागृत गर्नुभन्दा बरु आफैलाई निन्दा र घृणाको पात्र स्‍वरूप प्रकट गरेको छ । ऊ हास्यजनक वा घिनलाग्दा वस्तु, वा कुरूप, आधा जनावर र आधा मान्छेको रूपमा कोरिन अति नै खुशी हुन्छ । जसले आफैलाई विवेकशील र शिक्षित ठान्छन् तिनीहरूले उसको नाम ठट्टा र तिरस्कारमा प्रयोग गरेको सुन्दा ऊ अति नै खुशी हुन्छ ।MBA 34.3

    उसले आफैलाई उत्कृष्‍ट सीपसाथ मुकुण्डो लाएको कारणले जहीँतहीँ यस्तो प्रश्‍न सोधिएको छ: “वास्तवमा यस्तो प्राणी छ र ?” यो उसको सफलताको एक प्रमाण हो, किनकि धर्मशास्‍‍त्रको स्पष्‍ट वचनलाई झूटो वर्णन गरेका शिक्षाहरू धार्मिक संसारमा सर्वत्र स्‍वीकार भएको छ । अनि जोजो उसको प्रभावप्रति अजान छन् तिनीहरूका दिमागहरूलाई शैतानले अति सजिलो नियन्‍‍त्रण गर्न सक्छ, त्यसकारण परमेश्‍‍वरको वचनले उसको निन्दाजनक कामको धेरै उदाहरण दिएको छ र उसको रहस्यमय फोैजहरू हाम्रो सामु प्रकट गरेको छ, र यसरी हामी आफैले उसका आक्रमणहरूको विरूद्ध आफ्‍नो सुरक्षा गर्न धर्मशास्‍‍त्रले हामीलाई तयारी पारेको छ ।MBA 34.4

    हामी हाम्रा मुक्तिदाताको अझै उच्‍च शक्तिमा छुटकारा र शरण पाउन सक्छौं, यदि त्यसो नभए, शैतान र उसको दलको शक्ति र घृणाले हामीलाई यथोचितरूपले भयभीत पार्न सक्‍ने थियो । हामीले हाम्रा सम्पत्ति र जीवनहरू दुष्‍ट मानिसहरूबाट बचाउनका लागि हाम्रा घरहरूमा होसियारीसाथ बाल्सिरीहरू र तालाहरू लगाउँदछौं; तर हामीले दुष्‍ट दूतहरूको विषयमा कहिलेकाहीँ मात्र सोच्छौं जोहरू निरन्तररूपमा हामीभित्र आउने प्रयास गरिरहेका हुन्छन्, र जसको आक्रमणको विरूद्धमा हाम्रो आफ्‍नै शक्तिमा सुरक्षाको उपाय केही छैन । यदि तिनीहरूले आदेश पाएको भए, हाम्रा दिमागहरू अलमलमा पार्न सक्छन्, हाम्रा शरीरहरूलाई अस्‍वस्थ बनाउन र यातना दिन सक्छन्, हाम्रा सम्पत्तिहरू र जीवनहरू नष्‍ट पार्न सक्छन् । तिनीहरू शोक र विनाशमा मात्र हर्षित हुन्छन् । जसले दैवीय दाबीहरूलाई प्रतिकार गर्छन् र शैतानका परीक्षाहरूमा पर्छन् तिनीहरूको अवस्था डरलाग्दो हुन्छ, यहाँसम्म कि परमेश्‍‍वरले तिनीहरूलाई दुष्‍टात्माहरूको अधीनमा छोड़िदिनुहुन्छ । तर जसले ख्रीष्‍टलाई अनुसरण गर्छन् तिनीहरू सदासर्वदाका लागि उहाँको पालनपोषणमा सुरक्षित हुन्छन् । अत्यन्तै शक्तिशाली स्‍वर्गदूतहरू तिनीहरूलाई बचाउन स्‍वर्गबाट पठाएको हुन्छ । दुष्‍ट जनले त्यस सुरक्षालाई तोड्‍न सक्दैन जुन परमेश्‍‍वरले उहाँका मानिसहरू वरिपरी तैनाथ गर्नुभएको छ ।MBA 35.1

    Larger font
    Smaller font
    Copy
    Print
    Contents